मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली रैथाने चौरासी व्यञ्जन । 

नारायण घिमिरे 

चौरासी व्यञ्जन के हो ? चौरासी व्यञ्जन प्रतिकात्मक मात्रै हो कि खासमा हुन्छ नै ? 

चौरासी व्यञ्जन केवल कुनै साङ्केतिक भनाइ मात्र नभएर कम्तीमा चौरासी प्रकारका विशिष्ट खानाका परिकार तथा पेयहरू संलग्न गरी तयार गरिएको खानाको थाली हो । यसमा अयुर्बेदको चर्क संहिता सुत्रस्थानाको अन्न पना विधिले तोकेको मानिसको हरेक छाकमा अनिबार्य संलग्न गर्न सल्लाह दिइएको  दश प्रकारका खाना मुख्य आधार परिकारमा रहन्छ। जन्म दिनको अवसरमा गरिने  देवसी  शाकाहारी थालीका रूपमा बनाइने ५६ भोग अन्तर्गतका ५६ प्रकारका खाद्य तथा पेय यसको साझा परिकार हो।

भोजन ग्रहण कर्ताको तत्कालीन शारीरिक, मानसिक, मनोवैज्ञानिक जरुरत तथा निजी इच्छा को पूर्ति हुने गरी उपलब्ध गराइने कम्तीमा  अन्य १८ वटा अतिरिक्त पौष्टिक, कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म  स्वाभिमान  प्रदायक शाकाहारी तथा मांसाहारी परिकार संलग्न राजसी परिकारहरू संलग्न गरी बनाइने परम्परागत  भव्य थालीको रूपमा चौरासी व्यञ्जन स्थापित भएको बुझिन्छ।

 

परम्परागत रूपको सात्त्विक, राजसी र तामसी व्यञ्जनको वर्गीकरण केहो ? यो केका आधारमा गरिएको छ ?

परम्परागत रूपमा खानालाई सात्त्विक, राजसी र तामसी गरी तिन गुण दिने परिकारमा विभाजन गर्ने गरिन्थ्यो। सात्त्विक गुण दिने खाना मानिस लाई जीवित राख्न जरुरी हुने जीवन्त शक्ति, जीवन यापनको लागि जरुरी हुने शरीर सञ्चालनको शक्ति, स्वस्थ शरीरको स्वस्थ नियमित कायम राख जरुरी शक्ति तथा आधारभूत आनन्द एवं धन्य ताको महसुस गर्न जरुरी हुने मनोवैज्ञानिक सन्तुष्टिको जरुरतको पूर्ति गर्ने प्रकृतिको हुन्छ।

 

सात्त्विक गुणका खाना प्राकृतिक रूपमा पैदा गरिएका, ताजा, काँच्चै वा बफाएका वा हल्का प्रोसोधन गरिएका, प्राकृतिक रूपमा जस्तो स्वादमा उपलब्ध हुन्छन् त्यस्तै स्वाद दिने, स्वादिला, समय लिएर स्वाद लिई लिई ठिक्क मात्रामा खाइने खाद्य पदार्थ हुने गर्छन। यसमा पूर्ण गेडा हुने गहुँ, पोलिस नगरिएको चामल, जौ, दाल, गेडागुडी, नट, सिड, पर्दछ। मिलमा पिसेको तेल, ताजा फलफूल, ताजा सागपात, हर्ब, मह, म्यापल, गुड, सख्खर जस्ता प्राकृतिक चिनी, दूध, क्रिम, नौनी, घिउ, दही, लस्सी आदि राखिएका छन्। यिनीहरू लाई दैनिक जीवनको आधारभूत आवश्यकता पूर्ति गर्न सक्षम रहने परिकारको रूपमा लिने गरिन्थ्यो।

 

राजसी गुणका खानाहरू शारीरिक भन्दा धेरै कुनै निश्चित प्रकारको पौष्टिकता दिने र दिमाग लाई जरुरत भन्दा धेरै उत्तेजक प्रभाव दिने प्रकृतिका रहन्छन। यस्ता खानाले अधिक नशा दिने, उच्च कामुकता उत्पन्न गरी दिने, कुनै चिज प्राप्त गर्न उच्च अभिलाषा बढाई दिने, जोस वृद्धि गर्ने, लोभ पैदा गरिदिने, स्वार्थ पैदा गरिदिने, प्रतिस्पर्धी भावना जगाई दिने, क्रोध वृद्धि गर्ने, ईर्ष्या वृद्धि गरिदिने आदि जस्ता कुनै एक वा सो भन्दा धेरै स्वभावहरू विकास गर्न सहायक हुने गर्छन।

 

प्रशस्त मसला, सस, ड्रेसिङ तथा कण्डीमेन्टहरु प्रयोग गरी बनाइएका तिष्ण खाना जस्तै: पिरो, तितो, टर्रो, नुनिलो, अमिलो प्रकृतिका खानाहरू यस्ता गुणका ठानिन्छ। तितो, सुख्खा र खडा मुख पोल्ने वा मुखमा एक प्रकारको झड्का दिने खाना यो वर्गका चर्चित खाना हुन। हतार हतार कम समय लिएर मिठो, च्याट्ट – चुट्ट मिठो खाएर आफ्नो गन्तव्य तिर लाग्न सकिने गरी यस्ता खानाहरू बनेका भेटिन्छ।

 

सङ्क्षेपमा राजसी गुणको परिकार मार्फत मानिसको विवेक निर्माण गर्ने दिमागको लिम्बिक भाग ह्याक गर्ने र समय संदर्बको जरुरत अनुरूप प्रभावमा लिने नियत रहन्छ। यसमा मुलत: सकारात्मक नतिजा दिने नियतमा शरीरको तागत, यौन वा क्रिडा, मानसिक, मनोवैज्ञानिक र निर्णय शक्ति आदि वृद्धिमा सिधै योगदान पुर्‍याउने भोजन वा उक्त खुबी थप्ने हैसियत राख्ने पूरक खाद्य पदार्थहरू (सप्लिमेन्ट) संलग्न भोजनहरू निर्माण गर्ने गरिन्छ।

 

यस्ता खानामा प्याज, लसुन, मुला, अमिला फलफूल, कागती, कफी, चिया, सफ्ट ड्रिङ्क, सुर्ती, गाँजा जस्ता नशा तथा उत्तेजना दिने पदार्थहरू राखिएको छ। नुनिलो, धेरै मर-मसला (तोरीको सस, केचप, अन्य ड्रेसिङ तथा कण्डीमेन्टहरु,  टिम्मुरको छोप, तिलको छोप, खुर्सानीको धुलो आदि) हालिएका खाना, कोशे तरकारीहरू, जङ्गली प्राकृतिक मासु जस्तै बन कुखुरा, मृग, जरायो, बनेल, कालिज, परेवा, ढुकुर आदिका मासु, अण्डा र माछा आदि पर्दछन।

 

राजसी गुणका खानाहरू शारीरिक र मनोवैज्ञानिक उत्प्रेरणा मार्फत मानिसलाई आनन्द र धन्य महसुस गराउने प्रकृतिको हुन्छन्। परम्परागत रूपमा भोजन ग्रहण कर्ताको जरुरत अनुसार शरीर लाई तताउने, जोस बढाउने, यौन शक्ति बढाउने, नसा बढाउने, यौन निर्बलता हटाउने, शारीरिक शक्ति बढाउने आदि गुण दिने खानाहरू छानी छानी राजसी गुणका भोजका परिकारहरूमा समावेश गरी भोजनालयहरूमा उपलब्ध गराउने चलन रहेको देखिन्छ।

 

तामसी गुणका खानाहरूको हकमा भने तामसी गुणको परिकार मार्फत मानिसको तत्काल आइपरेको परिस्थिति सँग सकेसम्म भिड्ने नसके भाग्ने निर्णय लिने दिमागको रेप्टेलियन भाग ह्याक गर्ने र समय संदर्बको जरुरत अनुरूप प्रभावमा लिने नियत रहन्छ। यसमा मुलत: फौजी दक्षता विकास गर्ने हिंस्रक, आक्रामक, दिक्क लगाउने प्रवृत्ति विकास गर्ने भोजनहरू संलग्न गरिन्छ।

 

जरुरत अनुसार मानिसमा क्रूरपन, सुस्तपन, नशालुपन, पागलपन, अल्छीपन, लोभीपन, पापीपन समेत बनाउने गुणहरूको विकास गर्न तामसी गुणका भोजनहरूको सहयोग लिने गरिन्छ। भोजनलाई तामसी गुण युक्त बनाउन दिमागमा अशुद्ध विचारहरू पैदा गराउने, उदास बनाउने, अज्ञानी बनाउने र युद्ध र प्रेममा मानवता हेरिँदैन भन्ने मान्यता विकास गर्ने नियत लिइएको हुन्छ।

 

यसमा खानपान मार्फत भोजन ग्रहण कर्तामा आफ्नू लागिरहेको कार्य सफलता पूर्वक सम्पन्न गर्नु वा जित्नु एक मात्र विकल्प आफूसँग सुरक्षित छ भन्ने गहिरो विश्वास विकास गर्ने कोसिस गरिन्छ। तत्कालीन परिस्थिति सँग कि भिड्ने हो नसके मर्ने हो भन्ने उच्च अनुशासन भित्र तीव्र वा उग्र लडाकु पन वृद्धि गर्न तामसी गुनका भोजनहरू बनाइन्छ।

 

जसका लागि भोजनमा तामसी गुण उपलब्ध गराउन योगदान पुर्‍याउन सक्ने खाद्य बस्तु प्रयोग गर्ने वा उक्त खुबी थप्ने हैसियत राख्ने पूरक खाद्य पदार्थहरू (सप्लिमेन्ट) उक्त भोजनमा संलग्न गराएर तामसी गुणबाट भरिपुर पारि उचित भोजनहरू निर्माण गरिने गरिन्छ।

 

प्राय: गरी पहिले नै तयार गरी सुरक्षित राखिएको, फर्मेन्टेसन गरिएको गुन्द्रुक, अमिल्याइएको मिसो, नाटो, तामा जस्तो गन्ध दिने खाद्य, प्रशोधित, सुकाइएको, प्याकेट गरिएको, धेरै पटक तातो चिसो बनेको, फ्रोजन तथा लामो समय बजारमा बस्ने अत्यधिक प्रसोधि खाद्य हरुमा तामसी गुणहरूको विकास भएको पाइन्छ। प्याज, लसुन, च्याउ, धेरै पाकेको वा पकिनसकेको फलफूल, केही कन्दमूलहरू, बदाम, रक्सी, वाइन, बियर (जाँड), गाडेको अचार, पररक्षी राखिएको खाना, स्वतन्त्र हिँड डुल गर्न नपाएको जनावरको मासु र दूध, चुरोट, धुवा आउने गरी पिउने गाँजा बाहेकका सबै धूम्रपान आदि खानामा तामसी गुण विकास गर्न उपयोगमा आउँछ।

 

यहाँनिर ध्यान पुर्‍याउन पर्ने कुरा के छ भने गुन्द्रुक, मुलाको सिन्की, गाडेको अचार, मिसो, नाटो, तामा जस्ता कतिपय खाद्यहरू कतिपय अवस्थामा तत्काल तामसी गुण दिन प्रयोग हुने भएता पनि यिनीहरूको पेटको माइक्रोबायोम वा गट माइक्रोबायोमको लागि लाभदायक रहने हुँदा लामो समयमा दिमाग र शरीरको लागि लाभदायक रहन्छन। त्यस्तै ठिक्क मात्रामा खाइने रक्सी, वाइन, बियर (जाँड) राजसी गुणको हुन सक्छ भने धेरै अनि लामो समय खादा तामसिक गुणको हुने गर्छ।

 

परम्परागत रूपको भोजनको वर्गीकरण र चौरासी व्यञ्जन बन्ने विधि सँगको सम्बन्ध  के हो ? यिनीहरू बिचमा के कुनै समन्जस्यता देखिन्छ

 

परम्परागत तरिकामा खानामा आयुर्वेदिक अनुशासन कायम गर्ने नियतको एउटा नियमावली जस्तो हो। चौरासी व्यञ्जनमा भने जरुरत अनुसार खानपान व्यवस्थापनमा युद्ध मा जस्तै साम, दाम, दण्ड, भेद र आधारभूत नैतिक जिम्मेवार समेतको ख्याल गरी बनाएको देखिन्छ।

 

जस्तै ऊ बेला रातभर सुरा र सुन्दरी सँगै झुमेका राजा लाई बिहानको राज भेलामा सामान्य रूपमा उपस्थित गराउन राम्रोसँग धुलो परिएको गैँडाको खागको (सिङ) पाउडरलाई रक्सी र पनिमा घोली खान दिएर बेलुकीको हेङ्गओभर पनि जाने र सरिरमा तागत आउने विश्वासमा पिउन दिइन्थ्यो। आफ्नो पाहुना बनी आएका अर्का देशका राज खलकका वयस्क सदस्यलाई गैँडाको खागको पाउडर वाइन सँगै हाली पिउन दिई रात्रि भोगको लागि आफ्नो दरबार को सुन्दरी सु-कन्या सुम्पेर खुसी बनाउने चलन भएको समेत देखिन्छ। उति बेला गैँडाको खाग हालिएको परिकार चौरासी व्यञ्जनमा समेत संलग्न हुने गरेको बुझिन्छ।

 

वैज्ञानिक अनुसन्धानमा गैँडाको खागमा भेटिने मुख्यतः केराटिन नै रहेको पुष्टि भयो। केराटिनले भनिए जस्तो शरीरमा क्रिडा शक्ति दिने भियाग्राको काम नगर्ने बरु कीटाणुको सङ्क्रमणमा आउने सामान्य ज्वरो ठिक गर्ने देखियो। उक्त गुण त भैँसीको सिङको समेत रहेछ। उक्त यथार्थता यकिन भएपछि यो चलन बिस्तारै हराउँदै गएको बुझिन्छ। बुझ्दै जाँदा उच्च घरानामा गैँडाको खाग यौन उत्तेजनामा आएको पुरुषको लिङ्गको साङ्केतिक रूप मानेर ठुला बडाको खासखुस गोप्य कुरा कानी दरबारका भाइ भारदारमा भ्रम पूर्वक गलत मान्यताका रूपमा बुझ्न पुग्दा कालान्तरमा गलत मान्यता स्थापित भएको अनुमान निक्लियो। त्यस पछिको परिकारमा अब गैँडाको खाग समावेश गर्नुको संदर्ब छुट्ने नै भयो। संक्षिप्तमा बताउँदा चौरासी व्यञ्जन आयुर्वेदिक भूमिकामा समय अनुकूल सुध्रिँदै  गएको बैज्ञानि पद्धतिको आज सम्म मैले जाने बुझे अनुरूप  संसारकै सबैभन्दा उत्कृष्ट कूटनैतिक र सांस्कृतिक आहारको सँगालो हो।

  चौरासी व्यञ्जनको अवधारणा कसरी आयो ?

परम्परागत रूपमा राजा, सेना र युद्धका खातिर सक्रिय युद्धमा होमिने जनता सबै नै सामूहिक भोजनालयमा खानपान गर्ने चलन भएको देखिन्छ। लडाइमा तथा वैदिक कला विकाशमा उचित खानपानको ठुलो प्रभावकारिता रहने विश्वास राज पुरोहित र राजाहरूमा देखिन्छ। त्यो समयमा विगतका राम्रा कुराहरू सुचारु गर्ने र विगतका त्रुटि पूर्ण गतिविधि बाट सिकेर उक्त त्रुटि हुन नदिने सुधारिएको प्रक्रिया विकास गर्ने परम्परा बसेको देखिन्छ।

 

उति बेला राज्यको रूपमा समूहमा बस्ने मानिसहरू युद्ध बाहेक परिस्थिति अनुरूप चाड वाड मान्ने, जन्म, बर्त बन्ध, विवाह, पूजा आज आदिमा रमाइलो तथा मनोरञ्जन गर्ने गरेको देखिन्छ।

 

युद्धमा लड्ने क्रममा कतिपय अवस्थामा मानसिक ऊर्जा वर्धक, नशा वर्धक खाद्यहरूको प्रयोग जरुरी हुन्थ्यो। युद्ध जितेको बेला लगायतका हर्ष बढाइहरूमा कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, आत्म स्वाभिमान  प्रदायक शाकाहारी तथा मांसाहारी परिकारहरूको माग हुन्थ्यो। जन्म दिन, शुभ तिथि, पूजा आज आदिमा देवसी शाकाहारी थालीका रूपमा छपन्न भोग ग्रहण गर्ने चलन बस्यो।

 

उति बेला   दरबार र  सैनिकको अन्न प्रसाद क्षेत्र हेर्ने बिज्ञहरु अयुर्बेदाको चर्क संहिता सुत्रस्थानाको अन्न पना विधिमा हस्त भएका मानिसहरू हुने गर्थे। लिपि बद्ध गरिएको अन्न पना विधि बाट सकेसम्म धेरै फाइदा उठाउन सकिने गरी समय परिस्थिति अनुरूप ब्यवाहारिंक रूपमा भोजनहरू तयार गरिन्थ्यो। आफ्नो उत्कृष्ट सिपलाई संस्थागत  गर्दै गल्ती बाट सिक्दै उन्नत तरिकाको विकास गर्दै विशिष्ट परिकारहरू बनाउने र विशिष्ट तरिका बाट प्रस्तुत गर्ने कला विकास गर्ने क्रममा उक्त समयको विशाल, विशिष्ट र  उत्कृष्ट भोजनको रूपमा चौरासी व्यञ्जनको न्वारान हुन पुगेको बुझिन्छ।

 

यसको पहिलो चर्चा कहाँ भएको छ? यसको मुख्य सूत्रपात  कर्ता भनौ वा आविष्कारक को हो?

 

समय अनुसार आफ्नो खानपानमा हुन सकेको विकास र युद्ध कला तत्कालीन राज्यको नितान्त गोप्य कला अन्तर्गत लिइने हुँदा देवसी शाकाहारी थालीका रूपमा प्रयोगमा आउने छपन्न भोग बारे बजारमा निकै चर्चा भएको देखिन्छ। भारतमा आफ्नो मेनुमा छपन्न भोग खाना प्रस्ताव गर्ने दर्जन बढी भोजनालय र धर्मशाला अस्तित्वमा छन्।

 

चौरासी व्यञ्जन अन्तर्गतको दश प्रकारका खानाका मुख्य आधार परिकार र अतिरिक्त कम्तीमा १८ प्रकारका राजसी परिकार बारेको ज्ञान हाल सम्म पनि सुत्रस्थानाको अन्न पना विधिमै सीमित बनेको देखिन्छ। तत्कालीन अवस्थामा सैन्य कला र बहादुरीमा नेपाल अग्रणी रहेको देखिन्छ। नेपालको सैनिक सँग चौरासी व्यञ्जन बारेको के ज्ञान छ मलाई अवगत भएन। नेपालको जनस्तरमा आज पनि चौरासी व्यञ्जनको निकै चर्चा हुने गर्छ। जे होस नेपालमा धेरै ले यो बारेमा सुनेका छन्।

 

भारत लामो समय ब्रिटिस शासकको उपनिवेश बनेको बेला त्यहाँ विकसित खानपान र युद्ध कला तहस नहस बनेको देखिन्छ। ब्रिटिस राज बाट मुक्त बने पछि भारतमा खानाको बारे हुने चर्चाहरूमा चौरासी व्यञ्जनको  दश प्रकारका खानाका मुख्य आधार परिकार समेत जोडी जम्मा जम्मी छपन्न प्रकारका खाना मिली बनेको देवसी शाकाहारी थालीलाई छपन्न भोग भन्ने गरेको पाइन्छ। भारतमा नेपालमा जस्तो चौरासी व्यञ्जनको त्यति चर्चा र सोध खोज हुन्छ जस्तो मलाई लाग्दैन। किनकि यो नेपालको रैथाने खाना हो भन्ने मेरो विश्वास छ।

 

अयुर्बेद चर्क संहिता सुत्रस्थानाको अन्न पना विधिबारे केही बतईदिनुस न।

अयुर्बेदको चर्क संहिता सुत्रस्थानाको अन्न पना विधि अध्यायमा खाद्य पदार्थको सेवनको कोड अफ कन्डकट, वर्गीकरण, पौष्टिक, कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म  स्वाभिमान  प्रदायक  क्षमता, खाद्य  विज्ञान, स्वस्थ र जीवन बारेको समग्र सम्बन्ध बारे विस्तृत जानकारी दिइएको छ। अन्न पना विधिमा भोजनहरूको महत्त्व, खानाको तैयारी, भोजन ग्रहण पछिको पाचन, शरीरको समग्र स्वस्थमा खानाको भूमिका, जीवन्त शक्ति बारेको अत्यन्त गहिरो यथार्थता प्रस्टाइएको छ।

 

बताइए अनुसार जुन भोजन हेर्दा आकर्षक देखिन्छ, वासनादार र स्वादिष्ट हुन्छ। हामीले खाने भोजन अन्ततः हाम्रो शरीरमा परिवर्तन हुने र यसैले हाम्रो प्राणको रक्षा गर्ने हुँदा यिनीहरूलाई निर्धारित विधि अनुसरण गरेर ग्रहण गर्नु जरुरी हुन्छ। आनन्द महसुस गरेर खाद्य तथा पेय पदार्थ खाने अवस्था रहदा मात्र खानाको सम्पूर्ण पाचन हुने र शरीरले सकारात्मक ऊर्जा प्राप्त गर्ने हुन्छ।

 

खानाले दिने पोषण तत्त्व बाट  सकारात्मक  मनोवैज्ञानिक ऊर्जा प्राप्त हुन सक्दाका अवस्थामा  मात्र हाम्रो स्नायु स्वस्थ रहन सक्छ। मानिसलाई जिज्ञासु र सकारात्मक सोचको बनाउन स्वस्थ  स्नायु चाहिन्छ। अन्न पना विधिले  सुझाए अनुसार ढङ्ग पुर्‍याएर स्वाद लिई लिई खाइने खानपानले शरीरको तन्तु हरूलाई पोषण दिने, शरीरको रोगसँग लड्ने आन्तरिक क्षमता बढाउने, छालाको जटिलता निर्मूल पार्ने र  इन्द्रियका अङ्ग प्रत्यङ्गहरू लाई स्फूर्त राख्ने गर्दछ। अन्यथा खाना आफ्नै शरीरको लागि प्रतिकूल वा हानिकारक हुन सक्छ।

 

चौरासी व्यञ्जन फर्मूलेशनको आधारको अवधारणा के रहेछ? यो खाना कसरि बन्छ?

मेरो अत्यन्त सागुरो घेराको अनुसन्धानको निचोडका अनुसार अयुर्बेद्को मुख्य सल्लाह  यो  छ  कि  मानिसले आफूले आफ्नै अवस्थालाई ध्यान दिएर खाना खानु पर्छ। शारीरिक र मानसिक  स्फ़ुर्तता तपाइले कति खानु भयो हैन कि के खानुभयो भन्ने कुराले धेरै अर्थ राख्छ।

 

अयुर्बेद्को अनुसार सबै मानिसले चामल, दाल, हिमाली नुन, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीऊ र मह गरी कम्तीमा नौ प्रकारको भोजन जीवन भर आफ्नो प्रत्येक छाक खानामा समावेश गरी खान जरुरी छ। रातको खानामा दही समेत समावेश गर्नु पर्छ। जसलाई म चौरासी व्यञ्जनको दश प्रकारका खानाको मुख्य आधार परिकार भन्न रुचाउँछु।

 

खानामा समावेश गरिने दही, मह, नुन, भुटेको अन्नको पिठोको परिकार र घिउ ताजा तैयारी हुनु जरुरी मान्छ आयुर्वेद। सग्लै वा टुक्रेको खाद्य पदार्थ लाई पिएर वा सामान्य दाल भात जस्तो खाने वा मकै भट्ट जस्तो चपाएर वा आइसक्रिम जस्तो चाटेर वा चुसेर खान मिल्ने गरी खाना तैयार गरिन्छ।

 

हामीले दिनभर खाइने खानामा अनिबार्य रूपमा छ स्वाद (१. गुलियो – पिठो, बोसो, रोटी, चिनी आदि २. अमिलो – दही, चिज, सिट्र्स फलफूल, गोलभेँडा आदि ३. नुनिलो – नुन आदि ४. तितो वा बिटर – अल्कालोइड र ग्लुकोसाइड हुने हरियो तरकारी जस्तै करेला ५. टर्रो वा एसट्रिनजेन्ट – टेनिन हुने गेडागुडी, दाल, अनार, चिया, कफी आदि ६. पिरो वा पनजेन्ट – वासना दिने तेल आउने खुर्सानी, मसला, जिरा, अदुवा, मरीच आदि) दिने (रसका) खाद्य पदार्थहरू संलग्न हुन अनिबार्य छ। पानीलाई भने सबै स्वादको महसुस हुनको लागि अनिबार्य पृष्ठभूमिमा रहनु पर्ने पदार्थ वा पेय ठानिन्छ।

 

चौरासी व्यञ्जनमा प्रमुख २० गुणस्तर भएका खानाहरू (१. कोदो, मुङ, चिनी जस्ता हल्का पोषण तत्त्व दिने – खसीको मासु, चिज, घिउ, गहुँ जस्ता  उच्च पोषण तत्त्व दिने; २. दूध, काँक्रो, कुल्फी जस्तो चिसो – खुर्सानी, रक्सी जस्तो तातो; ३. बटर, क्रिम, नटस, तेल जस्ता तेलमय वा चिल्लो – भुटेको मकै, सुख्खा रोटी जस्तो चिल्लो विहीन; ४. अल्नो वा सदा स्वादको – तिष्ण वा अति स्वादिलो; ५. शाकाहारी – मांसाहारी; ६. भिडी जस्तो चिप्लो – सुक्खा चना जस्तो ओभानो; ७. नरम वा मुलायम – कडा वा साह्रो; ८. पिठो जस्ता मिहिन पदार्थ निर्मित – कनिका वा सुजी जस्ता खस्रा पदार्थ निर्मित – फलफूल, सलाद जस्ता सग्ला चिज निर्मित; ९. सर्बत जस्तो तरल – क्रिम जस्तो लसाइलो – दही जस्तो बाक्लो)  अटाउनु  अनिबार्य मानिन्छ।

 

खानामा शरीर र दिमागको लागि हितकर हुने, तत्कालीन सिजन अनुसार फल्ने र भोजको समयमा स्थानीयतामा उपलब्ध हुन सक्ने खाद्य बस्तु बाट तैयार गर्न सकिने गरी परिकारहरूको निर्धारण गरिन्छ।

 

चौरासी व्यञ्जन खुवाउन चाहनेको आफ्नै विशेष इच्छा, चौरासी व्यञ्जन ग्रहण गर्नेको  शरीरको दोष, भोजको मुड, मन पर्ने परिकार आदिको पूर्व अन्दाज गर्दै भोजनको समयमा इच्छाएको खाना उपलब्ध हुने लगभग निश्चित हुने अनुमानमा चौरासी व्यञ्जनका खानाका परिकार बनाइएको हुन्छ।

 

व्यञ्जन ग्रहण गर्नेको तत्कालीन रोग, व्याध, व्रत, सामाजिक मान्यता, चलन, निजी इच्छा, बानी आदि अनुकूल हुने  गरी  शारीरिक, मानसिक, मनोवैज्ञानिक जरुरतको पूर्ति हुने अनुरूपको स्वाद, पोषण र रवाफमा खानको परिकार उपलब्ध गराइन्छ।

 

राजसी परिकार छनौटमा भने भोजन ग्रहण गर्ने व्यक्तिको निजी चाहना अनुरूप कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म स्वाभिमान प्रदायक खाद्य तथा पेय पदार्थहरूको संलग्नता नछुटाउन निकै होसियार पूर्वक गहिरो अतिरिक्त आन्तरिक गृहकार्य मार्फत खानका परिकार हरुको छनौट गरिन्छ।

 

भोज भतेरहरूमा उपलब्ध गराइने चौरासी व्यञ्जनको हकमा भोज भतेर लाई एक विस्तारित सामूहिक भोजन गृह मानी सामूहिक भान्सामा ठुलो मात्रामा चौरासी व्यञ्जनमा जाने परिकारहरू छुट्टा छुट्टै पकाएर, छुट्टा छुटै भाडामा राखिन्छ। ठुलो टपरी वा चौरासी व्यञ्जन उपलब्ध गराइने ठुलो तामा वा चरेसको थालमा साना-ना दुना वा कटौरामा चौरासी व्यञ्जन उपलब्ध गराइने मानिसको जरुरत वा आवश्यकता अनुरूपका परिकारहरू हाली चौरासी व्यञ्जन तैयार गरी उपलब्ध गराइन्छ।

 

सामूहिक चौरासी व्यञ्जन ग्रहण गर्ने सहभागी आफैले आफ्नो आहार विहार, बानी (जस्तै शाकाहारी, मांसाहारी, सर्वाहारी, फला हारी आदि) तथा आफ्नो शरीरमा रहेको (पित्त, कफ, वात) दोष सबैलाई ध्यानमा राखी आफ्नो खानामा उपलब्ध मध्येको कस्तो कस्तो प्रकारको परिकार संलग्न गरी  चौरासी व्यञ्जन खान चाही रहेको हो भन्ने बताउने मान्यता राखिन्छ।

 

सामूहिक चौरासी व्यञ्जन तैयारी गर्दाका बखत सहभागीको इच्छा अनुसार तत्काल खाना उपलब्ध गराउन सकिने अनुकूलता मिलाउन लचिलो प्रकृतिको कम्तीमा ८४ प्रकारको भोजन अनिबार्य तैयारी हुन सक्ने अवस्थामा रहने र त्यसको कम्तिमा बिस प्रतिशत मतलब १८ राजसी परिकारहरू उपलब्ध गराउन सकिने मनोविज्ञान लिएर चौरासी व्यञ्जनको भोज भतेर व्यवस्थापन गर्ने गरिन्छ।

 

चौरासी व्यञ्जन बनाउँदा कस्तो अवधारणा लिएर कुन कुन भोजनहरू विशिष्ट राजसी परिकार भित्र समावेश गर्ने भनी निर्क्योल गरिन्छ? बुझिने उदाहरण सहित प्रस्तुत गर्न सकिन्छ ?

 

अन्न पना विधिमा खानाले हाम्रो शरीरमा पुर्‍याउने भूमिका अनुसार खानाको  वर्गीकरण गरिएको छ। जसअनुसार पानीले हाम्रो शरीरका तन्तुहरूलाई ओसिलो राख्ने काम गर्छ। नुनले झोल पदार्थलाई तरल राख्न, झोलिलो बने राख्न र बाक्लिएर जम्न नदिन सहयोग गर्छ। निश्चित बिरुवाहरूको पानीमा नाघुलनेक्षारिय गुणका खरानी वा लवणहरूले पाचन शक्ति बढाउने र घाऊ खटिरा निको गर्ने गर्छ। महले शरीर भित्रका टुटे फुटेका वा च्यातिएका तन्तुहरू एकापसमा जोडेर निको गर्न सहयोग पुर्याउछ। घिऊले तन्तुहरूलाई लयालो, तेलीय चिप्लो र मुलायम बनाउँछ। दूधले शिथिलता हटाउने, शक्ति दिने, जीवन स्फूर्त पारि बचाएर राख्न भूमिका खेल्छ। मासुले मोटोपन बढाउने र पोषण उपलब्ध गराउने काम गर्छ।

 

अयुर्बेद्को अनुसार अण्डा, माछा, मासु खानु वा नखाने मानिसको नितान्त निजी छनौटको विषय हो। मान्छेले आफ्नो निजी चाहना, धर्म, चालचलन, नैतिक मान्यता, पारिवारिक वा स्वस्थको जरुरत आदिले अण्डा, माछा,  मासु खाने वा नखाने त्यसमा पनि के खाने के नखाने निर्णय गर्नुपर्ने मान्यता छ।

 

मानिसको आफ्नै सम्पूर्ण जटिलता, स्पष्टता, राम्रो स्वर, लामो जीवन, बुझ्ने क्षमता, खुसी, सन्तुष्टि, शारीरिक वृद्धि, कुशलता निर्माणमा खानाको उच्च भूमिका रहन्छ। अन्य खाना ले जस्तै अण्डा, माछा, मासुले  पनि मानिसमा पोषण र जीवन्त शक्ति उपलब्ध गराउँछ। मासुको रूपमा मानिसलाई उपलब्ध भिन्दा भिन्दै  जनावर, चरा र माछा सबैको मानिसको भोजनमा आफ्नै प्रकारको भूमिका देखिन्छ।

 

मयुरको मासुले आँखाको तेज र कानको सुन्ने शक्ति बढाउँछ। स्वर सुधार्न, कार्य कुशलता बढाउन, क्षमता वृद्धि गर्न र मानिस सँग प्रिय रूपमा घुलमिल हुन गाह्रो गर्ने जटिल ब्यहोरा हटाउन मयुरको मासु खाने गरिन्छ।

 

खसीको फल मासुले मानिस मोटाउँछ तसर्थ मासुको सुप खान सल्लाह दिइन्छ। खसीको मासुको एकातर्फ शरीरमा नकारात्मक र सकारात्मक पक्षको सन्तुलन मिलाउन उपयोगी देखिने र अर्को तर्फ यो मासु पाचन  हुने क्रममा शरीर भित्र निकै कम विषाक्त पदार्थ निक्लने हुँदा उच्चबर्गको  छनौटमा पर्ने गरेको छ। बाख्राले खाने हरेक घाँस मानिसको कुनै न कुनै आयुर्वेदिक ओखती रहेकाले बाख्राको मासु मानिसको   को शरीरले सबैभन्दा धेरै सहने ओभानो मासु मानिन्छ।

 

माछा, झिँगे माछा अनि प्राउनले शरीर लाइ तताउने, अधिक पोषण दिने, सजिलै पच्ने, फाइदा जनक चिल्लो पदार्थ र खनिज, भिटामिन दिने र यौन शक्ति उच्च राखिदिन्छ। धेरै रोगलाई झन् बढवा दिने हुँदा माछा, झिँगे माछा अनि प्राउन उक्त रोगका बेला नखान सल्लाह दिइन्छ। धेरै शारीरिक रोगमा प्राउनको भूमिका नकारात्मक देखिन्छ।

 

दिमाग र स्नायु प्रणाली सञ्चालन गर्न चाहिने शक्ति उत्पादनका लागि रातो रक्त केशिकामा हुने पाचन प्रक्रियामा भूमिका खेल्ने भिटामिन बि-१२ को माछा राम्रो श्रोत हो। रङ्गिन माछाको शरीरमा हुने रातो सुन्तला-रङ्गको अस्ता-जान्थिन नामक पिगमेन्टको मात्रा अनुसार माछा रातो वा सुन्तला रङ्गको देखिन्छ।

 

जुन एक प्रकारको केरोटिनोईड भएको र यसले शरीरमा आन्तरिक दर्द हुँदा एन्टीअक्सिडेन्टको काम गरी आन्तरिक दुखावत रोक्न सहयोग गर्ने हुँदा क्यान्सर जस्ता रोगमा यो निकै सहयोगी हुन्छ। निलो रङ्गको माछामा बिलिभेरडिन नामक पिगमेन्ट हुने गर्छ। जुन पकाउँदा फेरी सेतै बन्छ। यो माछामा भिटामिन बि-६, बि-१२, भिटामिन-ए र पोटासियमको राम्रो श्रोत हुने गर्छ।

 

रेन्बो ट्राउट माछा भने ओमेगा – ३, भिटामिन बि- ६ र  भिटामिन बि-१२ का अलावा राम्रो पोटासियम र सिलेनियमको श्रोत भएका कारण धेरै खोजिने गरिएको हो। सिलेनियमले शरीरमा आन्तरिक दर्द हुँदा आराम दिने गर्छ।  यसको  एन्टी अक्सिडेटीब स्ट्रेस विरुद्ध लड्ने र  आर्सेनिक सँग मिलेर क्यान्सर सँग जुध्ने क्षमता निकै सराहनीय छ।

 

मृग र बनेलको मासुमा नुन कम हुने, राम्रो प्रोटिनको श्रोत रहेको, ओमेगा-३, ओमेगा-६,  थियामिन, नियासिन, भिटामिन बि – ६ , सेलेनियम आदि पाइने हुँदा मानव स्वस्थको लागि उच्च गुणस्तरको हुने मानिएको हो।

 

खरायो चार खुट्टे भए पनि यसको मासुलाई सेतो मासु भनिन्छ। यसले शरीरमा कम क्यालोरी दिने तर राम्रो गुणस्तरको प्रोटिन, आइरन, फस्फोरस उपलब्ध गराउँछ। यसको मासुमा पनि सेलेनियम पाइन्छ। साथै खरायोको मासुमा नियासिन नामक भिटामिन हुने गर्छ जसले कार्बोहाइड्रेट बाट इनर्जी निकाल्छ र धेरै प्रकारका यौन हार्मोनहरुको निर्माण गर्छ। सेलेनियमले शरीरको नशालाई बन्द हुन बाट समेत रोक्छ।

 

मासुका सुपहरू मानिसको शरीर को लागि सबैभन्दा राम्रो मानिन्छ। मासुको सुपले रोग प्रतिरोधक शक्ति विकास गर्ने, प्रतिभा प्रस्फुटन गराउने, स्वर राम्रो बनाउने, ऊर्जा वृद्धि गर्ने, उमेर तन्देरी देखाउने, बुद्धि विकास गर्ने, इन्द्रियहरू सकुशल राख्ने र यौन क्षमता बढाउन भूमिका खेल्छ।

 

शुद्ध गाई वा भैँसीको घिऊमा शरीरमा खाना पचाउने क्रममा विकसित हुने विषाक्त पदार्थलाई घेरेर शरीरको संवेदनशील अङ्गलाई हानी हुन नदिने गुण हुने हुँदा सम्भव भएसम्म मासुलाई पकाउँदा शुद्ध घिऊमा पकाउन सल्लाह दिइन्छ। नभए शुद्ध तोरीको तेलमा।

 

मासुलाई उमालेर, पोलेर, बटर सँग रोस्ट गरेर, तारेर, केक वा मिट बल बनाएर वा तोरीको तेलमा मर मसला बनाएर महको रङ जस्तो हुने सम्म पोलेर खान सुझाइएको छ।

 

हास, कुखुरा र बट्टाईको अन्डामा ओमेगा ३ समेत गरी ९ प्रकारका शरीरलाई अत्यन्त जरुरी हुने फ्याटीएसिडहरु हुने गर्छ। लामो खोकी लाग्ने समस्यामा हटाउन, वीर्यमा शुक्र किटको सङ्ख्या बढाउन, टिबीको सङ्क्रमण विरुद्ध क्षमता बढाउन, मुटुको रोगमा अण्डा अति उपयोगी हुने गर्छ। बच्चाको बौद्धिक विकास र शारीरिक वृद्धिमा अन्डाको ठुलो भूमिका हुन्छ।

 

राम्रो निद्रा नपर्नेहरूलाई राँगोको मासु खान भनिन्छ। बनेल र बुन्गुरको मासुले यौन शक्ति र शारीरिक तागत वृद्धि गर्छ। सुगाको मासुले पाचन शक्ति बढाउँछ। पखाला लाग्दा गोटा पार्न पनि सहयोगी हुन्छ। परेवाको मासु धेरै पिसाब लाग्ने समस्या रोक्न र रगत छादने हुँदा रगत रोक्ने खाइन्छ। कछुवाको मासुले दिमाग लाई तागत दिने र यौन शक्ति बढाउने खुबी रहन्छ। कुखुराको मासुले यौन चाहना बढाउने, शक्ति दिने, स्वरको गुणस्तर वृद्धि गर्ने र शरीरमा पसिना निकाल्न सहयोग गर्छ।

 

चौरासी व्यञ्जनमा कुन कुन खाना पर्छन्।

चौरासी व्यञ्जनमा कुन कुन खाना पर्छन् भन्ने सरल रूपमा उल्लेख गर्न यसलाई तिन भागमा छुट्टाएर प्रस्तुत गर्दा सजिलो हुने गर्छ।

क)  मुख्य आधार भाग: जसमा कम्तीमा दश प्रकारका शाकाहारी खाना समेटिएको छ। जुन यस प्रकार छ:

१.अन्न: अन्नले  शरीरको आधार शक्ति र सहन शक्ति निर्माण गर्छ। अन्न अन्तर्गत साधा भात वा जिरा पुलाउ वा गहुँको रोटी; आँटाको नान रोटी वा कोदोको रोटी; फापरको रोटी वा मकैको भात राख्ने चलन छ।

२.हरियो सागपात: हरियो सागपातले शरीरलाई जीवन्त शक्ति दिने, तन्दुरुस्ती  राख्ने र रगत सफा गर्ने गर्छ। हरियो सागपात अन्तर्गत  पालुङ्गो वा गान्टे मुला, मुलाको साग, चाइनिज साग; मिसाएको हरियो सागको जुस वा सलाद खाने सागहरू; रायोको साग वा बन्दा, गाजर, तोरीको साग आदि सागहरू राखिन्छ।

३.ताजा तरकारी: ताजा तरकारीले शरीरलाई जीवन्त शक्ति दिने, तन्दुरुस्ती  राख्ने र रगत सफा गर्ने गर्छ। ताजा तरकारी अन्तर्गत  कुरिलो, मुला वा सलगम; करेला, बरेला, भिडी, भन्टा, हरियो सीबी; आलु, काउली, बन्दा, गाजर आदिको तरकारी राखिन्छ।

४.फलफुल: फलफूलले शरीर लाइ दरिलो राख्ने र शुद्ध गर्ने काम गर्छ। फलफूल अन्तर्गत सिजन अनुसार आप, मेवा, सुन्तला, केरा वा अङ्गुर; स्याउ, नरिवल, चेरी, खर्बुजा; अनार, बेरी, हलुवाबेद, खुरपानी, सरिफा राख्ने चलन छ।

५.दूध तथा दुग्ध पदार्थ: दूध तथा दुघ्द पदार्थ बलिष्ठ अस्थिपञ्जर प्रणालीको निर्माण गर्छ।तागत दिन्छ। घिउ शरीरमा उत्पन्न हुने विषादी लगायतका विकारहरूबाट शरीरको अति संवेदन शील स्वचालित अङ्गहरूको रक्षा गर्छ। दूध तथा दुग्ध पदार्थ अन्तर्गत दूध, दही, कफिर; घिउ, बटर वा सौंफ, दालचिनी, धानिया र सख्खर हालिएको लस्सी; बाख्राको दूध, फ्याट निकालिएको दूध, मरीच वा खुर्सानीको धुलो हालिएको लस्सी राखिन्छ।

६.दलहन बलि वा दाल: प्रमुख प्रोटिनको श्रोत हुने गर्छ। शरीरको तन्तुहरू लाई शक्ति वा ओज प्रधान गर्छ। दाल अन्तर्गत मुङ दाल, कालो दाल; चना, केराउ, बोडी, सीबीको दाल; गेडागुडीको दाल, क्वाटिको सुप, विभिन्न गेडागुडीको सुप आदि राखिन्छ।

७.कोशेबालि वा गेडा-गुडी को तरकारी: प्रमुख प्रोटिनको श्रोत हुने गर्छ। शरीरको तन्तुहरू लाई शक्ति वा ओज प्रधान गर्छ। गेडा-गुडी अन्तर्गत मुङको गेडा, भटमास, तोफु; चना, केराउ, बोडी, सीबी; राजमा, सेतो सीबीको गेडा, कालो गेडागुडी आदिको सुख्खा तरकारी राखिन्छ।

८.नट्स (सुख्खा फल) र सिड (सुख्खा बीउ): सुख्खा फल र बिउमा हुने तेलले हाम्रो शरीरमा दैनिक गतिविधिका क्रममा उत्पन्न हुने फोहर पदार्थ र बिसधिहरु शरीर लाइ हानी गर्न नदिने गरी शरीर बाहिर फाल्ने काम गर्छ। शरीर लाइ शक्ति प्रदान गर्छ। शरीरमा उत्पन्न हुने रेडिकल आयोनहरुबाट संवेदन शील अङ्गहरूको सुरक्षा गर्छ। यस अन्तर्गत कालो नुन, हल्का मसला समेतको नरिवल, तिल, अमेरिकी बदाम, काजु, वा ओखर; सूर्यमुखी फुलको,  आलसको, वा फर्सीको भुटेको गेडा; मरीच र खुर्सानीको धुलो लगाएको भुटेको कटहरको गेडा, कटुसको गेडा, बदाम आदि राखिन्छ।

९.गुलियो वा सख्खर: गुलियोले मुख्यतय तत्काल शक्ति प्रधान गर्छ। गुलियो अन्तर्गत सख्खर, ज्यागरी, ताजा मह; खुदो, भातको गुलियो रस, फुलको गुलियो रस; फलफूलको रस, पुरानो मह, बन मौरीको मह आदि राखिन्छ।

१०.वर्षाको पानी वा शुद्ध पानी: पानीले सम्पूर्ण शरीरको आन्तरिक गतिविधि हुनको लागि मुख्य स्थान वा आधार उपलब्ध गराउँछ।

ख) साझा देवसी भाग : जसमा कम्तीमा छपन्न प्रकारका शाकाहारी खाना (छपन्न भोग) समेटिएको छ। जुन यस प्रकार छ:

क) मुख्य अन्न अन्तर्गत:

१) खिचडी २) मसलादार बासमतीको पुलाऊ ३) खसखस, पनिर, चुकन्दर, गाजर, धनियाँ सलाद ४) उसिनेको कोदोको गेडा र तिलको सलाद ५) बेसार पुलाऊ ६) मसलेदार भुटेको चिउरा।

ख) तरकारी अन्तर्गत:

७) गाजर सब्जी ८) आलु काउली तरकारी ९) क्रिमि निऊरो सलाद वा क्रिमि मूलाको डुकु र ब्रोकाउली सलाद १०) घिऊमा हल्का भुटेको चुकन्दर र गाजरको सुख्खा तरकारी ११) मिसमास तरकारीको सब्जी १२) हरियो – रातो-निलो-कालो बन्दाको सलाद १३) कुरिलोको टुसाको मसलादार सलाद

ग) सुप अन्तर्गत:

१४) गाजर-धानियाको सुप वा आलु मस्यौराको सुप १५) दुधिलो मकैको सुप वा कान्जी १६) ओखर र काउलीको सुप १७) आलु फर्सी र नरिवलको मसलादार सुप १८) सग्लो मस्याङको दाल।

घ) पेय पदार्थ:

१९) मरीच र अदुवाको चिया २०) दूधको चिया वा मसला चिया २१) काँक्रो र नरिवलको दूध चिया २२) मरीच र बेसार सहितको दूध २३) अदुवा र सिन्कौली हालिएको मसलेदार दही २४) हर्बल सर्बत २५) बेलको सर्बत।

ङ) रोटी अन्तर्गत:

२६) दुधिलो मकैको रोटी २७) चामलको पिठोको रोटी २८) उम्रेको मुङ, गाजर, कैड़ो फर्सीको मसलेदार परौठा २९) भक्का ३०) मासको पिठोको रोटी।

च) चटनी अन्तर्गत:

३१) धनियाँको चटनी ३२) नरिवलको  चटनी ३३) काँक्रोको रैता ३४) शुद्ध  स्थानीय गाइको घीऊ ३५) भोगटेको चटनी ३६) आरु वा लप्सीको चटनी ३७) हलेदो र अदुवाको चटनी ३८) मुरब्बा ।

ङ) रोटी अन्तर्गत:

२६) दुधिलो मकैको रोटी २७) चामलको पिठोको रोटी २८) उम्रेको मुङ, गाजर, कैड़ो फर्सीको मसलेदार परौठा २९) भक्का ३०) मासको पिठोको रोटी।

च) अचार र ड्रेसिङ अन्तर्गत:

३१) धनियाँको चटनी ३२) नरिवलको  चटनी ३३) काँक्रोको रैता ३४) शुद्ध  स्थानीय गाइको घीऊ ३५) भोगटेको चटनी ३६) आरु वा लप्सीको चटनी ३७) हलेदो र अदुवाको चटनी ३८) मुरब्बा ।

ज) खाजा अन्तर्गत:

३९) कचौरी  ४०) फुल्की  ४१) निम्की वा सेल रोटी ४२) फुरौला  ४३) पकौडा ४४) मासको बारा ४५) बटुक ४६) भन्टाको पकौडा  ४७) करेला – भिडी को पकौडा।

छ) मिठाई र डिजर्ट अन्तर्गत:

४८) माल पुवा  ४९) अर्सा रोटी ५०) लड्डु वा जुलेबी  ५१) रस वरी वा दूध वरी वा पेडा-बर्फी वा मन-भोग ५२) बदाम-सुख्खा फलको खिर ५३) खुर्पानी, छोकडा र खानायोको मिठाई ५४) तिलको लड्डु ५५) मिश्री, सौप, ल्वाङ, सुकुमेल, दालचिनी, सुपारी, अलैँची आदिको सेटको थाली ५६) पान वा सुपारी वा सुर्ती वा गाँजा वा गाँजाको लड्डु।

ग) विशिष्ट राजसी भाग: जसमा मांसाहारी तथा शाकाहारी गरी कम्तीमा अठार विशिष्ट खाना समेटिएको छ। जुन यस प्रकार छ:

१) भाँङ्गको अचार वा आलसकोको गेडाको अचार गाडेको (आलु गोलभेँडाको वा काँचो आप वा अमला वा कागती वा भोगटे वा लप्सीको वा करेला वा गोलभेँडाको) अचार वा फरमेन्टेड  (तामा वा गुन्द्रुक वा सिन्कीको) अचार वा खुर्सानी वा टिम्मुर वा तिल वा गुन्द्रुक वा पिनाको छोप

२) भाँङ्गको लड्डु वा भाङ-महको घिउ खट्टे वा नरिवलको लड्डु वा दूध केक वा चिज/पनिर केक वा सुजी वा गाजरको हलुवा वा कुरौनी

३) शाकाहारी (भेजी वा पनिर वा च्याउको) कबाब वा मांसाहारी (बनेल वा कुखुरा वा खसीको) कबाब

४) अमिल्याएको दूधको दही वा मोही मसला

५) बनेल वा खसी वा कुखुरा – उसिनेको वा तारेको वा भुटेको वा सॉधेको

६) बनेल वा खसी वा कुखुरा वा माछा वा अन्डाको झोल तरकारी

७) उसिनेको अन्डा वा अम्लेट वा मसला अम्लेट

८) शाकाहारी मम (पनिर वा तोफु वा च्याउ) वा मांसाहारी मम (बनेलको वा खसीको वा कुखुराको मम) र मम अचार

९) शाकाहारी (भेजी वा च्याउ) बिरियानी वा मांसाहारी (बनेल वा माछा वा कुखुरा वा खसीको) बिरियानी

१०) तारेको वा चप बनाएको वा भुटेको माछा वा झिँगे माछा वा प्राउन

११) तारेको पुरा सग्लो सुन्तला वा रातो वा निलो माछा वा ट्राउट माछा

१२) माछा वा कुखुरा वा खसी वा बनेलको तास वा सेकुवा वा सुकुटी

१३) तन्दुर गरेको माछा वा कुखुरा वा खसी वा बनेल

१४) कुनै एक प्रकारको खरायो वा हरिण वा मृगको मासुको परिकार

१५) पोलेका वा उसिनेका वा रोस्ट गरेको कुनैपनि कन्दमुलहरु

१६) हल्का मदिरा: वाइन (पातीको वा गाँजाको वा फलफूलको वा ऐसेलुको वा अन्नको जाड वा तोंङ्वा वा छाङ वा निगार) वा ताडी वा बियर (सोमलताको बियर वा अन्न वा फलफूल वा गुणको बियर)

१७) कडा मदिरा: रक्सी (हुस्कि वा ब्रान्डी वा रम वा भड्का वा टेकुला) वा भाङको बियर

१८) अम्मल – गाँजा वा चुरोट वा तमाखु वा बिँडी वा नशालु हर्ब्स

 

 यो खाना कतै एकमुष्ट खान पाइने ठाउँ कतै छ?

 खै हाम्रो मान्यताको चौरासी व्यञ्जन बनाउने कुनै ठाम त मैले हाल सम्म चाल पाएको छैन। त्यस्तो भए जस्तो पनि लाग्दैन। यसको विकसित रूपमा ठुला ठुला एकै पटक ३०० – ४०० भन्दा धेरै खानका परिकारको बफेट राख्ने, दुई घण्टा भित्रमा भर पेट खाने तोकेको मूल्य तिर्ने चलन भएको बफेट रेस्टुरेन्टहरू चैँ संसारमा हजारौँ देखिन्छ। नेपालमा कसैले यो एउटा नेपाली परम्पराको चुलो चलाउँदा चैँ हुने हो।

 

चौरासी व्यञ्जन सबै खान सकिन्छ त ? यसमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट लगायतकाले विन्यास के कस्तो हुन्छ, मोटामोटी।

 

दिइएको वा खानाको लागि उपलब्ध गराइएको सबै खाना खाने भन्ने विचारधारा बाट चौरासी व्यञ्जन बनाइने वा पस्कने गरिएको हुँदैन। दिएको खाना मध्ये जे जे जति जति मन पर्छ त्यही खाना तेती तेती खाने हो। खाना खादा हाम्रो आमाशयमा जब खानाले पुरै भरिन्छ त्यति बेला त पुरै अटस मटस हुने गरी अघाएको महसुस हुन्छ। आयुर्वेदको अनुसार हाम्रो आमाशयमा अटाउने खानाको एक तिहाइ भाग बराबर ठोस पदार्थ, एक तिहाइ भाग तरल पदार्थ र एक तिहाइ भाग खाली नै रहने गरी खाना खानु पर्ने मान्यता छ। परापूर्व कालमा प्राय सबैमा नै यो कुरा पुगेको देखिन्छ। जति खादा खाना सजिलै पचेको महसुस हुन्छ तेती खाने भन्ने हो।

 

जसमा अत्यन्त पोषण तत्त्व हुने खसीको मासु, रोटी, दूध, चना, तिल, बदाम-मक्खन जस्ता गर्हां पदार्थ भएका खाना खान पर्दा  एक तिहाइ वा आधा अघाउन पाएको के हुन्न खान बन्द गर्ने भनिन्छ। पोषण तत्त्व कम रहेको भात, मुङको दाल,  कुखुराको वा माछाको मासु, फलफूल, घिउ आदि जस्ता  हल्का प्रकृतिको खाना खादै गर्दा भने ठिक्क अघाए पछि छोड्ने तर कोची कोची नखाने भन्ने मान्यता छ। चौरासी व्यञ्जन ग्रहण गर्नेले आफ्नो ईच्क्षा अनुरूप खाने हुँदा अन्य खानामा जस्तो कति क्यालोरी खायो र केके तत्त्व प्राप्त भयो भन्ने हिसाब गर्नु सान्दर्भिक रहँदैन।

(जटिबुटी हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै संसारभर उद्यमशीलताको लागि जरुरी ज्ञान, सिप प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन।)

 

WRITE COMMENTS FOR THIS ARTICLE