मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जिरा कि हिरा !

नारायण घिमिरे

संसारमा कोभिड – १९ को ओखती छैन। जीवन नै जोखिममा पुगेका मानिसलाई अस्पतालमा गरिने भनेको भेन्टिलेटरमा राखी अक्सिजन दिने, ज्वरो आए सिटामल, एस्प्रिन, निमोनियामा एन्टी बायो टिक, रगतमा अक्सिजन घुलाउन स्टेरोइड दिने, र जे अन्य रोगको लक्षण देखिन्छ त्यो लक्षणकै उपचार गर्ने र अन्ततः बिरामीकै शरीरको रोग प्रतिरोधी क्षमता बाट बिरामीलाई रोग जित्न सफल बनाउने उपाय मात्रै उपलब्ध थियो। र छ।

 

पछिल्लो समयमा कोभिड-१९ को भाइरसको सङ्क्रमण पश्चात् सङ्क्रमित मान्छे मर्नुको मुख्य कारक रगतमा अक्सिजनको कमी हुनु र तागत शून्य बन्न जानु निश्चित बने पछि रगतमा कसरि अक्सिजनको कमी हुने क्रम घटाउन सकिन्छ र मानिसलाई तागतिलो बनाएर कोभिड-१९ को भाइरसको महामारी हुँदा कम्तीमा मर्नबाट बचाउन सकिन्छ भन्ने बारे धेरै अनुसन्धानहरू गरिए। बिरामीमा देखिएको लक्षणको ओखती दिने र त्यसलाई कम गर्दै रोगीको शरीरलाई आफ्नै रोग प्रतिरोध क्षमता विकास गर्न समय उपलब्ध गराएर रोगमुक्त गराउने अस्पतालले गर्ने तरिका घरमै गर्न सकिने बनाउन धेरै अनुसन्धानहरू गरिए।

 

फलतः आज जीवन जोखिममा परि नसकेको सामान्य सक्रमणमा रहेका अधिकतम कोभिड-१९ को बिमारीको लागि सबैभन्दा उत्तम विकल्प आफ्नै घरमा आइसोलेसनमा बस्ने र सामान्य उपचार लिने विधि बन्न पुग्यो। जुन हाल सम्मको सबैभन्दा प्रभावकारी उपाय पनि बनिरहेको छ।

 

तत्काल औषधि र खोपको विकल्पको आशा गुम्दै जाने क्रममा संसारभर सामान्य खानपान र मानिसको दैनिकीमा सुधार मार्फत कोभिड-१९ को भाइरस प्रतिरोधी क्षमता बढाउने तरिकाको व्यापक खोजी भयो। यो क्रममा हजारौँ वर्ष यता चिकित्सकीय रूपमा रोग प्रतिरोधी क्षमता र उपचारात्मक क्षमता प्रयोग गरिएको जिराको अन्य पक्ष बारे पनि अनुसन्धान गरिए।

 

हामीले हाम्रो भान्सामा प्रयोग गर्ने जिरालाई एउटा जडीबुटी अन्तर्गत राखिन्छ। हाल जिराको गेडाको धेरै औषधी बनाउने काममा प्रयोग हुने गरेको छ। मानिसलाई पखाला लाग्दा, शूल उठ्दा, पेट कटक्क काट्दा र पेटमा ग्यास बढ्दा निको गर्ने आयुर्वेदिक ओखती हो जिरा। परम्परागत काल देखि आजको वैज्ञानिक युग सम्मनै जिरा मानिसलाई पिसाब लगाउने, ठुस्स पेट फुलेको निको गर्न, महिनावारी गडबड हुने समस्यामा समयमै महिनावारी गराउने, यौन तागत तथा यौन इच्छा बढाउने ओखतीको रूपमा प्रयोग हुने गरेको हो।

 

लामो समयदेखि जिराको प्रयोग मुख्यतः खान पानमा हुने गर्थ्यो। किनकि यसले पाचन क्षमता अभिवृद्धि गर्दथ्यो र खानामा स्वाद र मिठास समेत थपी दिन्थ्यो।

 

हाल सम्म गरिएका ४०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानले जिरामा अनगिन्ती औषधीय गुण समेत रहेको प्रमाणित गरिदियो। हामीले खाने खानामा रहेका पोषण तत्त्व हरुलाई शरीरले आन्द्रा बाट सोसेर लिन जिराका सारतत्वहरू अत्यन्त सहयोगी हुने पाइएको छ। जिराको सार तत्त्व शरीरको सामान्य तागत बढाउन र जुझारु राख्न सहयोगी हुने गर्छन। खानामा जिरा संलग्न गरी खाने गर्दा मानिसको सामान्य पाचन शक्ति बलिष्ठ पार्न सकिने कुरा आधुनिक अनुसन्धानले पुष्टि गरिदियो।

 

अनुसन्धानका अनुसार पित्तले पेटमा पुगेको खानाको चिल्लो र चिल्लोमा घुल्ने पोषण पदार्थ पचाउन मद्दत गर्दछ। जिरामा हुने सार तत्त्वले कलेजो बाट आउने पित्तको क्षमता वा रसिलोपन बढाउन प्रभावकारी भूमिका खेल्ने र पाचन प्रोटिनको गतिविधि बढाउँदै खाना पचाउन र सरिरमा सोस्न समेत सहयोग पुर्‍याउने गर्दछ। फलतः खाना खाए पछि पेट पोल्ने वा गडबड महसुस हुने कतिपय लक्षणहरूलाई जिराले ठिक पार्न सकेको हो। यो सम्बन्धमा भएको एउटा अध्ययनमा समावेश गरिएका ५७ बिरामीहरूको ईरिटेवल वउल सिन्ड्रोम मात्र दुई हप्ता धेरै मात्रामा जिरा खानामा मिलाएर खान दिँदा उक्त रोगका लक्षणहरूमा उल्लेखनीय रूपमै सुधार आएको पाइएको थियो।

 

फिजियोलोजीकल रूपमा हेर्दा जिरामा हुने किउमिन अल्डीहाइडले मुखमा र्‍याल निकाल्न सहयोग गरी मुखमै खानामा रहेको कीटाणु मार्न र अर्ध-पाचन गर्न सहयोग गर्ने भेटिएको छ। पेटमा पुगिसकेपछि भने यसको सार तत्त्व थाईमोलले आमाशय र आन्द्रामा चिल्लो पचाउने पित्त रस बनाउन कलेजोलाई उत्प्रेरित गर्छ। जिरामा उल्लेख्यरूपमै रहने म्याग्नेसियम र सोडियमले पचेको खाना सोस्न ठुलो भूमिका खेलिदिन्छ। हुन पनि र्‍याल र खानामा टुक्रिएर भिजेको जिराको घोलमा शरीरका फ़ाइटेज, लाइपेज, प्रोटिएज, एमाईलेज जस्ता महत्त्वपूर्ण इन्जाइमहरू लाई गति दिने चरित्र भेटिन्छ। जसका कारण  जिरा शरीरको प्रतिरोधी क्षमता विकास गर्न निकै महत्त्वपूर्ण बन्न गएको देखिन्छ।

 

जिरा सूक्ष्म तत्त्व फलामको धेरै राम्रो स्रोत हो। फलाम शरीरमा एक कोशिका बाट अर्को कोशिकामा अक्सिजन ढुवानी गर्न अत्यावश्यक ठानिन्छ। अनुसन्धानमा खानामा हुने ४ ग्राम जिराबाट औसत १.४ मिलिग्राम फलाम आन्द्रामा पुग्ने जस मध्ये वयस्क मानिसको शरीरले १७.५ प्रतिशत प्राप्त गर्ने भेटिएको थियो। निमोनिया तथा खोकी जस्ता समस्यामा मानिसको छाती र फोक्सोको उपचारमा जिराको  प्रयोग हुने गरेको छ।कतिपय बच्चाहरूमा जन्मँदै आइरनको कमी हुने भेटिन्छ। भर्खरै महिनावारी हुने किशोरीहरुले समेत रगतमा आइरनको कमी हुँदा थकित महसुस गर्छन। त्यो बेला जिराको झोल वा जिरा हालिएको खाना मार्फत किशोरीमा वा दूधपान गराउने आमा मार्फत बच्चामा फलामको जरुरत पूर्ति गर्न सल्लाह दिँदै आइएको हो।

 

कलेजो र आन्द्राको टिउमरको उपचारमा जिराको प्रभावकारी भूमिका देखिएका कारण अनुसन्धानकर्ताहरू हाल जिराबाट हुने अन्य क्यान्सरको उपचार बारे पनि अनुसन्धानमा लागेको देखिन्छ। जिराको पिनेको गेडा र तुलसीको तेलबाट बनाएको मलम पेटमा दल्दा पेट दुखेको र कलेजो सुन्निएको अवस्थाको उपचारमा सहयोगी बनेको देखिएको छ।

 

जिराले पाद आउने, पेट फुल्ने, वायुको विकार र पेटको गडबडी लाई सन्चो गरेको भेटिन्छ। जिराको सार तत्त्व र तेल रोकिएको पिसाब खुलाउने, शिथिल रहेको मांसपेशीलाई आनन्द दिलाउने, बाउँडिएको निको गर्ने, स्तनपान गराउने आमाहरूको दूध बढाउने गरेको भेटिएको छ। त्यसो त जिरा आफैमा रोगका कीटाणुहरू मार्ने एन्टी ब्याक्टेरिया गुण युक्त हुने गर्छ। गर्भवती आमाहरूमा हुने वाकवाकी र दोजिया बिमरिपन जिराको सेवनले घटाएको देखाऊछ।

 

परापूर्व कालमा जिरालाई प्रेम र ईमान्दारीको प्रतीकको रूपमा लिने गरिन्थ्यो। जिरालाई खाना र  पेय पदार्थको लागी स्वाद वर्धक मसलाको रूपमा प्रयोग गरिन्थ्यो। पोषणको हिसाबमा जिरामा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट र घुलनशील डाइटरी फाइबर हुने गर्छ। थाइमिन, राइबोफ्लेभिन र नियासिन जस्ता भिटामिनहरू हुने जिरा राम्रो फलाम तथा जिङ्क, म्याग्नेसियम जस्ता खनिजहरूको समृद्ध स्रोत हो । जसले मानिसमा ऊर्जा उत्पन्न गर्न, प्रतिरक्षा प्रणाली विकास गर्न र छाला विकारहरू विरुद्ध लड्न शरीरलाई सहयोग गर्छ।

 

वास्तवमा खैरो जिरामा भन्दा कालो जिरामा धरै औषधीय गुण रहने गर्छ। त्यसैले कालो जिरा संसारभर अत्यन्त खोजिने मसालमा समेत पर्छ। संसारको प्राय सबै विकसित मुलुकहरूमा सेन्थेटिक ड्रगले लागेको रोग तुरुन्त निको हुन सहयोग गर्ने भएता पनि यो स्लो पोइजन रहेको निश्चित रहेकाले रोग लाग्दा सकेसम्म वा हत्त-पत्त डाक्टरहरुले ओखती दिदैनन। बिरामी लाई आफ्नो रोग प्रतिरोधात्मक क्षमता विकास गर्न उपलब्ध हर्बल तरिका अपनाउन सल्लाह दिन्छन।

 

आज मानिसहरू आफ्नो पाचन शक्ति बढाउन एक कप पानीमा एक चिया चम्चा जिरा हाली उमालेर छानी दिनको तीन पटक सम्म खाने गर्छन। जिराले शरीरमा पाचनका इन्जाइमहरू बनाउन उत्प्रेरित गर्ने हुँदा कब्जियत बाट छुटकारा पाउन उपयोगी हुने हुँदा एक चम्चा खैरो गाडा हुने गरी भुटेको जिराको धुलो एक चम्चा मह सँग मिसाएर पानीमा घुली हरेक बिहान खाली पेटमा पिउने चलन छ। जुन पाइसल्को समेत उपचार विधि हो।

 

जिराको कीटाणु नाशक एन्टीब्याक्टेरियल गुण रुवा-खोकीको नियन्त्रणमा उपयोगमा आउने गर्छ। तसर्थ आज विकसित भनिएका देशमा समेत एक गिलास पानीमा एक चम्चा जिरा र आधा चम्चा खस्रो गरी काटेको ताजा अदुवा उमालेर छानी दिनको तिन पटक सम्म पिउन डाक्टरहरू सल्लाह दिन्छन। दोजिया महिलालाई वाकवाकी हुने, कब्जियत हुने जस्ता समस्या कम गर्न एक गिलास तातो दूधमा आधा चम्चा  जिराको पाउडर र एक चम्चा मह मिसाएर दैनिक पिउन सल्लाह दिइन्छ।

 

आज हाम्रा शिक्षित महिला तथा पुरुषहरू उज्ज्वल भविष्य बारे लामो समय सम्म मनमा गाडेर रहेको चिन्ताको कारण रातमा राम्ररी सुत्न नसक्ने समस्या बाट ग्रसित देखिन्छन। कोभिड-१९ ले उक्त चिन्तालाई झन बढाइदिएको छ। जिरामा मेलाटोनिन नामक एक यौगिक हुन्छ। जुन पाकेको केरा सँग मुछ्दा जिराबाट हाम्रो शरीरले प्राप्त गर्ने अवस्थामा पुग्छ। तसर्थ आज संसारभर चिन्ता आदिका कारण निन्द्रा नपर्ने अवस्थाको निदानको लागि आधा चम्चा जिराको पाउडर एक चम्चा पाकेको केरा सँग मिसाएर सुत्न अघि दिने गरिन्छ। लगभग एक हप्ता प्रयोग गर्दा यसले मानिसमा राम्रो निद्रामा जगाउन मद्दत गरेको भेटिएको छ।

 

मह र जिराको मानिसको अनुहारको छाला चमकदार र चिल्लो बनाई दिन्छ। महले छालाका तन्तुहरू लाई लसाइलो बनाई दिन्छ भने जिराको धुलोले छालालाई सुक्खा हुनबाट जोगाउने र छाला भित्र हुने सेवम सहित फोहर निकाली अनुहारमा चमक थपीदिन्छ। तसर्थ आज भोलि चार चम्चा बेसार, आधा चम्चा जिराको धुलो र एक चम्चा मह मिसाएर अनुहारमा दली १० मिनेट रहन दिने र मनतातो पानीले अनुहार सफा गर्ने तरिका हप्ताको दुई वा तिन पटक नाम चलेका सेलिब्रेटीहरुले आफ्नो अनुहारमा प्राकृतिक तरिकाबाट चमक थप्ने उपायको रूपमा प्रयोग गरेको भेटिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE