मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

फर्केर हेर्दा पहिलो ज्ञान भेला २०१८ ।

नारायण घिमिरे

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने दोस्रो भर्चुअल विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्दैछन् । यसै सन्दर्भमा पहिलो विश्व ज्ञान सम्मेलनको प्रभाव कस्तो रह्यो र त्यसबाट सिकेर यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने चर्चा गर्नु सान्दर्भिक हुनेछ।

ज्ञान-भेला सुरु गर्दाको पृष्ठभूमि

सन् २०१४ मा अस्ट्रेलियाको एनसीसीले स्किल नलेज र इनोभेसन ट्रान्सफर वा स्किलको नाममा एउटा राष्ट्रिय भेला राख्यो। उक्त भेलाले गैर आवासीय नेपालीहरूमा संसारमा विकास हुँदै गएको आधुनिक सीप, ज्ञान र प्रविधिमा खासै पहुँच नरहेकाले हस्तान्तरण योग्य स्किल नलेज र इनोभेसन ट्रान्सफरको क्षमता वा हैसियत छैन भन्दै नेपालका लागि प्रवासी नेपालीको सीप, ज्ञान र प्रविधिमा नेपाल भित्राउने प्रकृतिका विज्ञ भेलाहरूको कुनै महत्त्व नहुने भनी सम्मेलनको घोषणापत्र जारी भयो।

उक्त घोषणापत्रलाई संसारका विज्ञहरूले उक्त भेलालाई आफ्नो प्रभावमा लिन सफल प्राज्ञहरूको आफ्नै अनुभवको परावर्तन मात्र रहेको अर्थमा बुझे।

२०१७ मा आइपुग्दा जर्मनीमा जीवा लामिछाने, कुमार पन्त र डा. बद्री केसी संलग्न एउटा सानो छलफलमा नेपाली डयोस्पोराहरुको ज्ञान, सीप र प्रविधिमा रहेको पहुँचलाई नेपालको विकाससँग जोड्न सकिन्छ भन्ने निचोड निकाल्यो।

फलतः डा. हेमराज शर्मा, डा. रुद्र अर्याल र गौरी जोशी आदि सँगको परामर्श पछि तत्कालीन एनआरएनए उपाध्यक्ष कुमार पन्तले प्रवासी नेपालीले विदेशमा सिकेको ज्ञान, सिप र उनीहरूको पहुँचमा रहेको प्रविधि नेपाल भित्राउन एनआरएनएले उच्च भूमिका खेल्न पर्ने भन्दै कार्यक्रमसहित प्रस्तुत भए।

तत्कालीन महासचिव डा. बद्री केसीले यसमा साथ दिए। इनोभेसन र ज्ञानको महत्त्व बुझेका तत्कालीन एनआरएनए अध्यक्ष भवन भट्टले यो कार्यक्रम लाई स्वीकृत गरे।

डा. हेमराज शर्मा, डा. रुद्र अर्याल र गौरी जोशी आदिको सुरुको सक्रियता रहने गरी एनआरएनए आइसीसीले कार्यक्रम नै घोषणा गरेपश्चात् संसार भरका नेपाली डाएसपोरामा नयाँ तरङ्ग पैदा गरिदियो।

अमेरिकाको सनफ्रान्ससिस्कोमा गौरी जोशीको योजनामा पहिलो क्षेत्रीय ज्ञान भेला आयोजना भयो। डा. रुद्र अर्याल लगायतको ठूलो टिमको सक्रियतामा कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

लगतै अन्य क्षेत्रीय भेलाहरू समेत भए। गैर आवासीय नेपाली हरुमा आधुनिक सीप, ज्ञान र प्रविधिमा खासै पहुँच नरहेकाले उनीहरूमा हस्तान्तरण योग्य सिप, ज्ञान र प्रविधि हस्तान्तरणको क्षमता वा हैसियत राख्दैनन् भनी लिखित निचोड दिने अग्रज प्राज्ञहरू अघि सरेर २०१८ को ग्लोबल विज्ञ सम्मेलनको मुख्य भूमिका आफैले लिए।

हुँदै गरेको २०२० को ग्लोबल सम्मेलनमा समेत प्राय तिनै अग्रजहरू मुख्य आयोजकको भूमिकामा देखिन्छन्।

कुमार पन्त र हेमराज शर्मा लाई संयुक्त नेतृत्व लिएर आयोजना गर्न भनिएको सबै क्षेत्रका कार्यक्रमहरूमा भवन भट्टले सेलीब्रिटि स्टाइलमा स्वागत पाए। अन्ततः ग्लोबल सम्मेलन भयो। नेपालका प्रधान मन्त्रीले  ग्लोबल सम्मेलनको उद्घाटन गरे।

ज्ञान-भेला सुरु गर्दाका उद्देश्यहरू

ज्ञान भेला सुरु गर्दा मूलत ६ उद्देश्यहरू रहेको देखिन्छ।

१) दक्ष र अनुभव साट्न इच्छुक प्रवासी नेपालीहरूको पहिचान गर्ने।
२) प्रवासी नेपालीहरूको पहुँचमा रहेको ज्ञान, सिप र प्रविधि साट्ने उपयुक्त विधि र पद्धतिको पहिचान गर्ने।
३) ज्ञान, सिप र प्रविधि साटा-साट गर्न उच्च सम्भावना देखिएका अवसरहरू पहिचान गर्ने।
४) दक्ष प्रवासी नेपाली र नेपाल सरकार तथा यसका विकासका उपयुक्त साझेदारबीच सम्बन्ध स्थापना गराउने।
५) उचित संरचना विकास गरी ज्ञान सिप र प्रविधि हस्तान्तरण र अनुभव साटासाट गर्ने।
६) ज्ञान, सीप र प्रविधि हस्तान्तरण र अनुभव साटासाट गर्ने स्थायी संरचना र पद्धतिको विकास गर्ने।

पहिलो ज्ञान भेला नेपालमा प्रवासी विज्ञहरुको सेवा कसरी पुर्‍याउने भन्दा पनि प्रवासमा रहेका नेपालीहरूमा कस्तो कस्तो क्षेत्रको ज्ञान, सिप र प्रविधिमा पहुँच छ र तीमध्ये कुन कुन नेपालको आवश्यकता अनुरूप छ, सो को यकिन गर्ने रहेको बुझिन्छ।

जसको पहिचानपछि कस्तो संरचना र पद्धतिमार्फत दक्ष प्रवासी नेपालीहरूलाई नेपालको विकाससँग जोड्न सकिन्छ भनी यकिन गर्न सकिने एनआरएनए आइसीसीको धारणा रहेको देखिन्छ।


विज्ञ भेला २०१८ को वस्तुगत मूल्यांकन

२०१८ मा ज्ञानमा आधारित अर्थतन्त्र बनाउन सहजीकरण गर्ने उद्देश्य दिइएको विज्ञ भेलामा ४ प्लेनरी, १५ सिम्पोसियम र २७ सेसन चलेका थिए। जसमा १६६ विज्ञ र ७८ प्रतिष्ठित प्यानल सदस्यहरूले आफ्नो प्रस्तुति दिएका थिए। २१ देशबाट ५०० हाराहारीमा सहभागिता थियो।

ग्लोबल ज्ञान भेलामा २०१८ मानै सम्पन्न गरिएका विभिन्न क्षेत्रीय सम्मेलनहरूको निचोड र सिफारिसहरूबारे कुनै छलफल वा पुनरावलोकन भएन। जुन गम्भीर त्रुटि थियो।

 

ग्लोबल ज्ञान भेला आधारमा विज्ञ भेला २०१८ ले सरकार र उसका विकासका साझेदार हरुलाई २३ बुँदे सिफारिस तयार गरी बुझाएको थियो।


चुरो मूल्यांङ्कन गर्दा ५ वटा तत्काल लागु गर्ने प्रकृतिको र १७ वटा दीर्घकालीन रूपमा लागु गर्न सकिने प्रकृतिका सुझावहरु समेटिएको उक्त सिफारिसका एउटा बुँदा भने एनआरएनए आफैभित्र हुनुपर्ने सुधारका कुराहरू लेखिएका थिए।

एनआरएनएबाट सरकारलाई दिन तयार गरिएका सुधारका बुँदाहरू यो यो क्षेत्रमा यो यो काम यसरी गर्नु पर्‍यो भन्ने विज्ञ प्रकृतिको भन्दा पनि अलि भेग, प्राज्ञ प्रकृतिका विषयगत भन्दा नीतिगत गोल-मटोल सहितका लाग्ने भए तापनि सरकारी तवरबाट यसको मर्म सानो-सानो टुक्रामा बुझेर ग्रहण गरिएको देखिन्थ्यो।

 

नेपालको सङ्घीय सरकारको नीति तथा कार्यक्रम, बजेट, र सरकार अन्तर्गतको प्रदेश सरकारहरूको बजेट तथा कार्यक्रममा आएको नौलोपनको आधारमा मूल्याङ्कन गर्दा एनआरएनएबाट सरकारलाई दिइएको सुझावको भावना समावेश हुने गरी गरी निम्न कुराहरू सरकारको विभिन्न तहका कार्यक्रममा आएको देखिन्छ।

1. हरेक गाविसमा कम्तीमा एक प्राविधिक शिक्षालय
2. प्राविधिक र व्यावसायिक शिक्षाको शैक्षिक जनशक्ति तयार गरिने
3. हरेक प्रदेशमा एक विश्वविद्यालय बनाउने
4. चीनसँग हर्बल र चाइनिज ट्रेडिसनल मेडिसिनको प्रविधि हस्तान्तरणमा प्राविधिक र आर्थिक सहयोग लिने
5. आयुर्वेद, सिद्ध र युनानी तालिम तथा अनुसन्धान केन्द्र बनाउने
6. नेपाल फर्केका युवाहरुका लागि तालिम र व्यवसाय गर्न सहुलियत ऋण
7. ४५ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने
8. सार्वजनिक जग्गाहरूको संरक्षण गरी आयमुलक काममा प्रयोग गर्ने
9. कम्पनी दर्ता र खारेजी प्रक्रिया सहज गर्ने
10. निर्यातमुलक उद्योगलाई प्रोत्साहन र संरक्षण दिने
11. सबै प्रदेशमा जडीबुटी प्रशोधनको व्यवस्था गर्ने
12. वन उत्पादनलाई उद्यमशील गर्ने
13. इनोभेसन कार्यक्रम लागु गर्ने, स्टार्ट आप फन्ड, च्यालेन्ज फन्डको व्यवस्था
14. टेक्नोलोजीको प्राथमिकता तोक्ने स्मार्ट प्रविधिमा जोड, ज्ञान सिकाइ केन्द्र खोल्ने
15. उद्यमशीलता विकासका कार्यक्रमहरू लागु गर्ने
16. इजरायलसँग एग्रो सेन्टर अफ एक्सलेन्सका लागि सहकार्य गर्ने
17. सोलार, हावा, हाइड्रो, बायो ग्यास जस्ता वातावरण मैत्री दिगो ऊर्जाका व्यवस्थापन
18. लामो र छोटो समयको योजना र वैज्ञानिक सदुपयोगका नीति
19. फोहोरलाई ऊर्जामा परिवर्तन गर्ने, ऊर्जा खपत काम गर्ने प्रविधि र उपायबारे नीति
20. विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्धारमा गैर आवासीय नेपालीको सहयोग लिइने घोषणा

प्रवासी नेपालीका लागि सबैभन्दा गौरवको विषय त्यतिबेला भएको थियो, जतिबेला मुलुककै सबैभन्दा सर्वोच्च निकाय राष्ट्रपतिबाटै संसद्लाई सम्बोधन गर्दै ‘गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गरिने’ घोषणा आएको थियो (क्लज २८३, सरकारको नीति तथा कार्यक्रम २०२०)।

कार्यान्वयनको पक्षबाट मूल्याङ्कन गर्दा निम्न कुराहरू सरकारका विकासका साझेदार, प्रदेश तथा स्थानीय सरकार मार्फत सम्पूर्ण सातै प्रदेशसम्म पुगेको महसुस गर्न सकिन्छ :

1. प्रदेश ५ सरकार – मानव पुँजी निर्माण गर्न विज्ञान, प्रविधि, गणित र इन्जिनियरिङ (स्टिम) लागु
2. युवाहरुको सिप स्तरोन्नतिका लागि प्राविधिक शिक्षालयमा सीपमुलक तालिम र परामर्श केन्द्र स्थापना
3. प्रदेश स्तरसम्म जडीबुटी प्रशोधन केन्द्र पुग्दै
4. प्रदेशको योजना आयोगमा निजी क्षेत्रमा नवप्रवर्तन, सक्षमता, स्रोत साधन तथा उद्यमशीलताको अभिवृद्धि गर्ने नीति लागु
5. सरकार र निजी क्षेत्रबीचको साझेदारीमार्फत राष्ट्रिय पुँजी निर्माण कार्यक्रम सञ्चालनमा
6. स्थानीय तहमा उद्योग ग्रामहरू स्थापना गर्ने
7. नास्टको आफ्नै आइडिया इन्कुबेसन सेन्टर र इनोभेसन केन्द्र, उद्यमशीलता विकास केन्द्र विकास
8. बाग्मती प्रदेश र गण्डकी प्रदेशमा प्रविधि कोरल्ने केन्द्र (इन्कुबेसन केन्द्र) बनाउने
9. नयाँ प्रकृतिको सीपमुलक अध्यापन र तालिमको लागि जरुरत पर्ने तालिम प्याकेज/पाठ्यक्रम स्वीकृत गर्ने विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना
10. गण्डकी प्रदेशमा नयाँ आविष्कार केन्द्र
11. स्थानीय माग देखिएको तालिम कार्यक्रमको गुणस्तर पहिचान गरी सीधै तालिम सञ्चालन गर्न अनुमति दिने व्यवस्था
12. प्रदेशले स्थानीय विकासका साझेदारहरूसँग समन्वय गर्ने
13. स्थानीय तहसम्म ब्रोड ब्यान्ड इन्टरनेट पुर्‍याउन पूर्वाधार बनाउने
14. महाविश्वविद्यालय र नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने
15. औद्योगिक सम्भावना बोकेका स्थानमा औद्योगिक ग्राम निर्माण गर्न पूर्वाधार तयार गर्ने

ज्ञान भेला २०१८ तथा उक्त ज्ञान भेलामार्फत सरकारका विभिन्न तहका विकास साझेदारहरूसँग जोडिएका विज्ञहरूको प्रत्यक्ष – अप्रत्यक्ष सहभागितामा २३+ सामरिक महत्त्वका योजनाहरू, १५+ चाखलाग्दा नीतिहरू र अनगन्ती निजी र अर्ध-सरकारी निकायको योजनाहरू अस्तित्वमा भेटिएका थिए।

त्यो बाहेक पुनरावलोकनमा नपरेका तथा अन्य प्रवासी नेपालीहरूको निजी स्तरको सहभागितामा चलिरहेको अन्य कार्यक्रमहरू अस्तित्वमा रहेको यथार्थता कसैमा छिपेको छैन।

गैर आवासीय नेपालीको पहुँचमा रहेको ज्ञान, सीप र प्रविधि आदानप्रदानको नियतमा आयोजित २०१८ को ज्ञान भेला प्राय: केन्द्रीय सरकार र स्थानीय सरकारको बजेट केन्द्रित देखिएको छ।

मुलुकको इनोभेसनको मुख्य सरोकारवालाहरू जसमा मूलतः निजी क्षेत्र, अनुसन्धान प्रतिष्ठान, विश्वविद्यालय, अन्य प्रकृतिका अर्ध सरकारी क्षेत्र जस्तैः वन उपभोक्ता समिति, नास्ट आदिसँग समेत ओपन युनिभर्सिटीसँग जस्तै पहुँच पुग्नु जरुरी देखिन्छ।

एनआरएनएका आन्तरिक समस्याहरु

पहिलो ज्ञान भेलाको विविध कार्यक्रमहरूले एनआरएनएका आफ्नै आन्तरिक समस्याहरू व्यक्तिगत तथा संरचनागत विषयहरूका कारण भएका विकृतिहरू समेत बाहिर ल्याइदियो।

जसमा मूलतः तल दिइएका विकृतिहरू प्रमुख थिए।

एनआरएनएको कार्यकारी हुन एनआरएन एनसीसीमा रहेको हुनुपर्ने र एनआरएन एनसीसीमा नेतृत्व लिन कम्तीमा एक कार्यकाल बाई डिफल्ट, बाई डिजाइन चाहिने जरुरत एकातर्फ नेतृत्वमा जान सान्दर्भिक भए तापनि विज्ञतर्फ नेतृत्व लिन भने रोड ब्लकरको भूमिका खेल्ने महसुस गरायो।

एनआरएनएका विज्ञहरूका नाममा नेपालमा खोजिएको विज्ञता, प्राविधिज्ञ र एप्लाइड सेक्टरमा नलेज र टेक्नोलोजी हस्तान्तरणमा उल्लेखनीय योगदान दिन सक्ने सम्भावनै नभएकाहरूको विभिन्न समिति, उपसमिति नाममा समानान्तर समितिहरू अस्तित्वमा देखिनु, बेलगाम घोडा जस्तो ती समितिहरू नेपाल सरकारका उच्च तहमा वार्ता गर्दै गफ हाँक्दै हिँड्ने गरेको भेटिनु आदिले घिनलाग्दो अवस्थाको सिर्जना गरिदिएको भेटियो।

परम्परागत शैलीका खेतीपाती, पत्रिका पसल, प्रेस, इन्स्युरेन्स एजेन्सी, डिपार्टमेन्टल स्टोर, मासुको कोल्ड स्टोर, रेस्टुरेन्ट, माछा पालन, कालीमाटी तरकारी बजारमा आफ्नो स्टल राख्ने काम आदिलाई नै एनआरएनएको विज्ञता र सिप हस्तान्तरणको स्वरूप दिन खोज्नु नेपाली जनताको सामु डायस्पोराहरुको गम्भीर अपमानको आभास दिलाएको थियो।

संस्थाकै जानकारीबिना संस्थाको आधिकारिक निकाय रहेको दाबी गर्दै स-साना समूह वा प्रतिष्ठान खोल्ने तर समानान्तर गतिविधि चलाउने दूषित गतिविधि बढेको देखिन्थ्यो।

आफ्नो निजी व्यवसायको हितका लागि एनआरएनएका सदस्यहरूको मान्यताविपरीत सरकारी सुविधा माग्न जाने, निजी जागिर वा कामका लागि संस्था दुरुपयोग गर्न खोज्ने प्रवृत्ति झ्याङ्गिएको गुनासाहरू भेटिएका थिए।

आफू र आफ्नो साथीभाइ बस्ने अनि आफैले आफैलाई एनआरएनएको थिङ्क ट्याङ्क घोषणा गर्ने गैरजिम्मेवार लज्जास्पद प्रयासहरू समेत भेटिए।

नेपाल सरकारका योजना आयोग लगायतमा निकायमा संस्थाको जानकारी बेगर एनआरएनएको आधिकारिक भन्दै अनधिकृत राय बुझाउने विकृतिहरू नरोकिएको सरकार तवरबाट गुनासाहरू आएका थिए।

एनआरएनएका विभिन्न समिति र कार्यक्रममा दशकौँदेखि उही अनुहार फरक फरक नामधारी विज्ञको रूपमा देखिने, जसका कारण नयाँ र प्रतिभाशाली, मुलुकका लागि उल्लेखनीय काम गर्न सक्ने पुस्ताको पहुँच बाहिर पुगेको प्रस्ट थियो।

क्षेत्रीय भेलाहरूमा त्यो अवस्था क्रमशः चिर्दै गए पनि ग्लोबलमा भने उक्त रोग कायमै रहेको गुनासो भेटिन्छ।

सिप, ज्ञान र प्रविधि हस्तान्तरणका नाममा गरिएका भेलाहरू वास्तविक नतिजा प्राप्तिभन्दा नेपाली करमा आधारित आय हुने गरी आफ्नो भूमिका र सम्मानित जागिर वा परामर्शदाताको भूमिका खोज्नेहरूको बाक्लो उपस्थिति देखिएकोमा सोको हद भने पछिल्लो समयमा घट्दै गएको देखिन्थ्यो।

पहिलो ज्ञान भेला २०१८ वाट दोस्रो ज्ञान भेला २०२० सम्म आइपुग्दा व्यक्तिगत तथा संरचनागत विषयका यस्ता विकृतिहरू निकै ठूलो हदसम्म सुधारिएको महसुस हुन्छ। तर पनि नियमित सुधारको अवसरहरू हरेक स्थानमा रहने हुँदा यहाँ पनि प्रशस्त रहेको र त्यसमा आगामी दिनमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ।

 

ज्ञान भेला विश्लेषणको निचोड

समग्रमा ज्ञान भेला २०१८ को प्रभावको सारांश तल दिइएको छ। यो अनुभव र पाठबाट सिकेर नयाँ शिराबाट प्रवासी नेपालीको पहुँचमा रहेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासका साझेदारहरूसँग जोड्ने प्रयासलाई अझ परिष्कृत गर्न यसले सहयोग नै गर्ला।

WRITE COMMENTS FOR THIS ARTICLE