मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बलात्कार संस्कृतिको नै उन्मुलन जरुरी !

नारायण घिमिरे

विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले  देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ।

 

बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय पश्चिममा मुलुकमा भएका अनुशन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कार बारे बलात्कारीहरूमा अर्थपूर्ण अनुसन्धान गर्न नसकिएकोले बलात्कार जन्य गतिबिधिहरुको नियन्त्रणको लागि बलात्कारीलाई अपराधी करार गरी दण्डित गर्नुमा सीमित बनिदिएकोले समस्या समाधान तर्फ नभएर दिन प्रतिदिन मौलाउँदो क्रममा छ।

 

एक बलात्कारी जब एउटा बलात्कारमा सफल हुन्छ उसमा अर्को बलात्कार गर्ने रहर विकास हुन्छ। ऊ जति पटक सफल बलात्कार गर्दै जान्छ उसमा पुन बलात्कार गर्ने मनोवैज्ञानिक आदत विकास हुन्छ। परिणाम स्वोरुप  उसको अपराध पटक पटक दोहरिने गर्छ। ऊ सिरियल बलात्कारीमा परिवर्तन हुन्छ।

 

भारतको नयाँ दिल्लीको तिहार जेलमा २४२  बलात्कारीहरूमा गरिएको अध्ययनमा ७२ प्रतिशत सिरियल बलात्कारीहरू बलात्कारको नसाले ग्रस्त मनोबैज्ञानिक रोगी भेटिएका थिए।

 

देखिएका प्राय: कुख्यात बलात्कारीहरू हेर्दा अत्यन्त भद्र, राम्रो आत्मविश्वास भएको, आफू प्रति महिलालाई धेरै आकर्षण उत्पन्न गर्न सक्ने  स्वभाव भएका, महिलाहरूले प्राय: मन पराइ हाल्ने  बाहिरी गुण बोकेका मानिसहरुनै देखिए। ९० प्रतिशत भन्दा धेरै बलात्कृतहरू उनीहरूको चिने जानेको नजिककै मानिस भएको थाहा लागेको थियो।

 

ठुलो सङ्ख्यामा नजिककै आफन्त, आफ्नो चिकित्सक, प्रभावशाली नेता, योग गुरु, धर्म गुरु,  शिक्षक जस्ता पीडितको मान्यजन,  संरक्षक वा पीडितले ठुलो भरोसा गर्ने गरेको नजिकको मानिस नै बलात्कारी बनेको देखिएको थियो।

 

समाजमा उच्च प्रतिष्ठा रहेको मृदु भाषी देखिएता पनि दोषी करार भएपछि तिनै बलात्कारीहरू उनीहरूले जसको बलात्कार गरे उनीहरू बारे अत्यन्त घृणित र अपमानजनक शब्द प्रयोग गर्ने, क्रोध ओकल्ने, तिनीहरू बलात्कार कै लागि योग्य रहेको जस्ता कुरा खुले आम बताउने गरेको भेटिन्छ।

 

बलात्कार हुन अघि वा नियमित हुँदै गर्दा ती बलात्कारी हरुले आफ्नो समय प्राय ती बलात्कृतहरूको आफूप्रति देखाएको यौन अनिक्षा वा आफ्नो भन्दा राम्रो अन्य विशेष खुबी आदि बाट उदास भएर ईर्ष्यालु बन्ने, यौन कल्पना गर्ने गर्दै दैनिकी बिताउने गरेको अनुभव बताउँथे। बलात्कारको बिन्दुमा उनीहरू जङ्गली जनावर जस्तो आशक्ति र आक्रोश देखाउने, यौन मुठभेडमा उत्रने,  रक्तपातपूर्ण परिस्थिति पैदा गरेरै बलात्कार गर्न तम्सने, अत्यन्त  हिंस्रक छवि देखा परेको बुझिन्थ्यो।

 

एक सामान्य व्यक्ति भन्दा नितान्त फरक देखिने बलात्कारीहरु पिडित लाइ  बलात्कार गर्न कतिपय अवस्थामा उपयुक्त समयको पर्खाइमा बर्सौँ वर्ष कुर्नु परेको राज खोलेका थिए।

 

उनीहरू लाई बलात्कार लगायतका अन्य असामाजिक गतिविधि गर्दा मनभित्र वाट आनन्द लाग्ने र सो हुन नपाउँदा छटपट हुने गर्थ्यो भन्ने अनुभव सुनाए। ६८ प्रतिशत  बलात्कारीहरू अत्यन्त पिडा युक्त, हिंसा वा खराब अभिभावकको चपेटामा आफ्नो बाल्यकाल गुजारेका र दमनको सिकार बनेका भेटिए।

 

तिनीहरूमा आफ्नो कर्मप्रति आफू हैन मुलत: पिडित आफै, तत्कालीन परिस्थिति र समाज दोषी भएकोले आफूले गरेको कर्ममा आफूलाई पश्चात्ताप नलागेको बताएका थिए। उनीहरूका अनुसार उनीहरूले बलात्कार गर्दै गर्दाको बिन्दु  उनीहरूले जीवनको उच्च आनन्दको बिन्दुको रूपमा उनीहरूलाई महसुस हुने गरेको बताउँथे ।

 

अध्ययनहरू वाट प्राय: सबै बलात्कारीहरूमा तिन मिल्दो जुल्दो विशेषताहरू रहेको भेटिएको छ। पहिलो उनीहरूमा मानव सहानुभूतिको कमी, दोस्रो मादकत्व र तेस्रो महिला प्रति मनभित्र गडिएर रहेको शत्रुताको भावना।

 

मात्र क्षणिक यौन तृष्णा मेट्न वा यौन चासोका कारण महिला बलात्कृत भएको घटनाहरू संसारमा निकै कम रहेको बरु बलात्कृत माथि अधिकार जमाउने नियतले धेरै बलात्कारीहरूले आफू बलात्कार गर्ने निर्णयमा पुगेको  स्वीकारोक्ति आउनुले बलात्कार जस्ता अपराधको नियन्त्रण बलात्कारीलाई अपराधी करार गरी दण्डित गर्नुमा मात्र सीमित गरेर नहुने तर्फ सङ्केत गर्छ।

 

सामाजिक सञ्जालको विकास सँगै संसारको सम्ब्रिद्दि देख्न पाएको तर अनुभव र महसुस गर्न नपाएको निकै ठुलो वर्गको जीवन शैली एकाएक आडम्बरी बनिदिएको प्रतीत हुन्छ।

 

मानिसले बताएको कुन कुन कुरा वा समाजलाई देखाउने कुन कुन जीवन शैली फगत आडम्बर मात्र हो र कुन कुन उसका वास्तविकता वा प्रतिबद्धता भन्ने कुरा सुनेर, हेरेर वा अनुमान गरेर यकिन गर्न सकिने स्थिति छैन।

 

न त त्यसको मापनको लागि कुनै यन्त्र वा क्षमता नै हालसम्म विकास हुन सकेको छ। दुई बिचको फरक यही हो भनेर सैद्धान्तिक बाहेक व्यवहारिक गुण दोषका आधारमा छुट्टाउन सक्ने कुनै जादुको छडी समेत हामीसँग छैन।

 

मानिस वास्तविक  जीवन शैली मै रमाउँछ वा देखावा जीवन शैली र तड्क भडक रोज्ने गर्छ  त्यसले अन्ततोगत्वा उसको जीवनका निजी आदतहरू निर्माण गरिदिन्छ। व्यक्तिका निजी आदतहरूले ऊ बस्ने समाज र छिमेक प्रभावित गरिदिन्छ।

 

हाम्रो समाजमा हुने र भई रहेको बलात्कारको पछाडि फरक फरक मनसाय रहेको भेटिएकाले यो कारण वाट बलात्कार जस्ता घटना हुने गर्छ भनी यकिनका साथ भन्न सकिने अवस्था छैन।

 

पहिलो चरणमा पीडक, पीडित वा दुवै मनोबैज्ञानिक विकृतिहरूको सिकार बन्ने र अप्रत्याशित रूपमा घरेलु हिंसाका घटनाहरू देखिने गरेका छन्। मनोबैज्ञानिक विकृति चरम निराशा र चरम असन्तुष्टिको हद सम्म पुग्दै गर्दा  मनोबैज्ञानिक असन्तुलन उत्पन्न हुने र बहु-सङ्ख्यक बलात्कार जस्ता जघन्य अपराधको कारक बन्ने गरेको तितो अनुभव हाम्रो समाज सँग छ।

 

आज पनि युवा अवस्थामा आफ्नो धेरै महिला सँग धेरै पटक यौनको अनुभव रहेको बताउन पाउँदा  पुरुष साथीहरू माझ आफ्नो हैकम र प्रभाव जमाउन सफल भइने वातावरण हामीबिच बाचेकै भेटिन्छ। यौनको अनुभव नभएको युवाले आफ्नो साथीहरू बाट लाजमर्दो नामर्द पुरुषको ट्याग भेट्ने वातावरण समाजको भित्री तप्का सम्म निकै गहिरो सँग स्थापित भएको भेटिन्छ।

 

युवा उमेरका पुरुषहरू बलात्कार र अन्य यौन जन्य दुर्व्यवहार गरेरै भए पनि यौन अनुभव लिएर आफ्नो साथीभाइ बिच आफ्नो प्रतिष्ठा कायम गर्नका खातिर त्यस्ता जघन्य अपराध गर्न उक्सिएको युवा बलात्कारीहरू कानुनको कठघरामा उभिँदा बताई रहेको सुनिने गर्छ।

 

जसरी सुकै होस, जब बलात्कार हुन्छ तब त्यसलाई महिलाको बेईज्यति सँग जोडेर हेरिन्छ। जुन बलात्कारी अथवा अपराधीहरू लाई सहानुभूति दिने वातावरण नै हो।

सामान्य अनौपचारिक सोधपुछका क्रममा सार्वजनिक बस वा माइक्रो चढी स्कुल वा कलेज जानुपर्ने भर्खरका युवतीहरू धरैले भर्खरको केटा बरु लाज मान्ने तर अधबैँसे विवाहित केटा मान्छे आफूसँग विभिन्न बहानामा टाँसिन, झुन्डिएको वा समातेको डन्डीमा हात समात्न आइपुग्ने र उत्तेजित यौनांगले आफ्नो शरीर छुवाउन आउने हरकत धेरै पटक बेहोर्न परेको बताए।

 

प्रस्ट खुलेका अधिक वयस्क महिलाहरूले समेत आफूसँग टाँसिन आइपुग्ने चिने जानेकै प्राय: विवाहित पुरुषहरू नजिकिने वातावरण मिल्ने बित्तिकै एकान्त वातावरण पाउँदा आफूसँग यौन प्रस्ताव राख्ने गरेको तितो अनुभव आफूसँग रहेको भनेका थिए।

 

हाम्रो समाजमा एक पटक बलात्कारको सिकार भएकी महिला तथा धेरै विधवा एकल महिलामा समाजमा रहेका निकै धेरै सङ्ख्याका पुरुषहरू त्यसमा पनि प्राय: विवाहित पुरुषहरू यौन पिपासु आँखाले आफूलाई हेर्ने र व्यवहार गर्ने गरेको अनुभव वा महसुस गरेको भेटिन्छ।

 

उनीहरूका अनुसार यौन प्रस्ताव रखिएकि परस्त्री महिला सँग हामी यौन सम्पर्क गरौँ है भनी राखिएको प्रस्तावको जवाफमा महिलाले मन्जुरी नदिनु वा स्तब्ध बनेर उत्तर दिन नसक्नु वा रिसले मौन बस्नुलाई हुन्छ भन्ने आशयकै कोड भाषाको रूपमा बुझ्नु पर्छ भन्ने मान्यता प्राय: सबै व्यभिचारी पुरुषहरूमा रहेको भेटिन्छ।

 

व्यभिचारी पुरुष बाट आफ्नो इज्जतमा खेलबाड हुँदै गर्दा महिलाको तर्फको सामान्य प्रतिकार, आवाज वा आनाकानी स्वीकृतिको घोतक मानी यौन दुर्व्यवहार बलात्कार सम्म पुग्ने गरेको बताउँछन पीडित महिला।

 

महिलाले कहाँ सिधै हुन्छ भन्छन् र । हुन्न हुन्न भनेको नै हुन्छ भनेको हो भनी बुझ्नु पर्छ भनी आज पनि एक व्यभिचारी पुरुष अर्को पुरुषलाई काममा, मेला पातमा वा दाइ हाल्ने जस्ता पुरुषहरू मात्र भेला भएर गरिने काम वा खेल खेल्ने क्रममा गफिँदै गरेको हाम्रो समाजमा यत्र तत्र सुन्न पाइन्छ।

 

समाजले प्रशिक्षित गरेको महिला मनोविज्ञानको नामको गलत अवधारणा बोकेको पुरुष वाट हुने दुर्व्यवहार वाट बच्न एउटा महिला सँग सशक्त विद्रोहमा उत्रनुको अर्को विकल्प देखिँदैन।

 

जब एक महिला आफ्नो इज्जतको लागि सशक्त विद्रोहमा उत्रन्छिन्, उनको सशक्त प्रतिकार लाई  पीडक व्यभिचारी पुरुषले आफ्नो आत्म सम्मानमा ठेस लागेको रूपमा लिने गरेको भेटिन्छ।

 

पीडकको यौन प्रस्ताव कुनै पनि मध्यम वाट समाजमा चुहिन पुग्दा पीडक झन् हिंस्रक बनेको र बदलाको भावना लिएर उचित मौकाको पर्खाइमा रहेको अनुभूति मिल्छ।

 

जसको प्रतिफलमा आफू सुनियोजित बलात्कारको सिकार बनेको विश्वास चिनजानकै वा आफन्त पुरुष बाटै बलात्कृत बनेका अत्यधिक महिलाहरूको विश्वास बनेको भेटिन्छ।

 

बताइए अनुसार समाजमा कतिपय अवस्थामा उमेर पुगेका महिलाको पर पुरुष सँग लामो समय सहमतिको सहवास चल्ने गरेको पनि भेटिन्छ। जायज नाजायज जे होस् समाजले नाजायज सम्झने त्यस्ता सम्बन्धहरू कुनै कारण वाट केटी पक्षलाई चित्त नबुझ्दा सहमतिमा भएको सहवास लाई समेत बलात्कारको प्रयास भनी अतिरञ्जित गरिदिने गरेको समाचार धेरै नै सुनिने गरेको छ।

 

सहमतिको सहवासका कुराहरू समाज र अदालत सम्म पुग्दा समेत दुवै पक्षको बदनामी गराउने तर उपलब्धि खासै केही नहुने, अन्ततः दुवैले हार्ने प्रकृतिको रहन्छ।

 

 

फ्याट्ट फुट्ट समाजमा देखिने यस्ता घटनाहरूको समेत भुक्तभोगी समाजले प्राय: सबै नै प्रकारका बलात्कार जस्तो जघन्य अपराधको घटनालाई समेत सहजै सहमतिकै मुद्दा होला भनी ठानीदिने गरेको भेटिन्छ।

 

जब घटना समाजमा पुग्छ समाजले मिलापत्र तिर जान सल्लाह, सुझाव र दबाब दिने गरेको भेटिन्छ। समाजमा  जायज नाजायज यौन सम्बन्ध र आपराधिक यौन कार्यको फरक बारे जरुरी स्तरको संवेदनशिलाता विकसित भएको खासै देख्न सकिँदैन।

बलात्कार वा बलात्कारको प्रयासको अवस्थामा भने यस्ता गतिविधिहरूले अपराधी लाई संरक्षण दिने र यस्तै प्रकृतिका अन्य अपराधहरू समेत पटक पटक गर्ने मनोबल उपलब्ध गराउने गरेको भेटिएको छ।

 

कतिपय अवस्थामा उक्त अपराधीको बढ्दो कुण्ठा र दबदबाका सामु बलात्कार पीडित महिला पीडक अपराधी सामु घोडा टेक्नुपर्ने र पटक पटक वैवाहिक बलात्कारको फन्दामा परे जस्तै उसको बलात्कार स्विकारी बसिदिनुपर्ने हालतमा पुगेको समेत देखिएको छ।

 

प्राकृतिक रूपमा मानिस एक सामाजिक प्राणी हो। जन्मजात रूपमा  मानिस हिंस्रक प्रवृत्तिको हुने गर्दैन। समाजले आफू प्रति गरेको व्यवहार र समाज सँगको उठबसको अनुभवबाट मानिसको मनोवृत्ति र विश्वासले आकार लिने गर्छ। जुन मानिसको आफ्नो आकाङ्क्षा निर्माण गर्न निर्णायक बनिदिन्छ।

 

नेपाली समाजको शताब्दीयौं देखिको पितृ सत्ता जसले पुरुष नारी भन्दा श्रेष्ठता रहने सामाजिक मान्यतामा दिलाउन र महिलाहरू लाई हीन र पुरुषमा आश्रित प्राणीको रूपमा रहदा मात्र आदर्श नारी कहलिने सामाजिक मापदण्ड विकास गर्न वेद जस्ता परम्परागत विज्ञानको नियोजित रूपमै पुरुष अनुकूल व्याख्या गर्न र घर घरमा पुगेर पण्डितले गर्ने कर्म काण्ड मार्फत समाजको भित्री तह सम्म स्थापित गरियो।

 

धेरै भन्दा धेरै महिला पुरुष वाट बलात्कृत हुने तर महिला वाट कतै कतै मात्र पुरुष बलाकृत हुने स्थितिको लागि जग पैदा गरिदियो।

 

व्यावसायिक मदिरा, धूम्रपान, सिनेमा, कस्मेटिक उद्योग, मिडिया, मनोरञ्जन र खेलकुद जस्ता विषयहरू  समेत महिलाहरू लाई नङ्गाएर समाजमा विज्ञापन गर्दा फस्टाउने मनोवृत्ति वाट ग्रसित बने।

 

“आमा भन्दा छोरी तरुनी, लिपस्टिक पाउडरले, लान्छ क्यारे घुमाउन झिल्के डाईवरले” भन्ने ठाडे  गीत होस् वा “कति बस्छौ माइतीको कौसीमा, लाग्ला आँखा पाकेको लप्सीमा” भन्ने लोक गीत अथवा “पोइल जान पाम, पाम” भन्ने आशक्ति दिने तीजका कोमल भाका सबै नै महिलालाई पुरुषमा आश्रित प्राणीको रूपमा समाजमा चित्रित गर्न सहयोगी बने।

 

“सारी लाउने जातको रुद्र घण्टी हुँदैन त्यसैले उनीहरूलाई कूटनीतिक नियोग र जिम्बेबार काममा विश्वास गर्न सकिन्न। सुखको समयको लागि धन सम्पत्ति जस्तै घर भित्रै सीमित गरी रक्षा गरी राख्नु पर्छ” भन्ने  भन्ने आचार्य चाणक्यको भनाइ होस वा  “छोरा पाए खसी, छोरी पाए फर्सी” भन्ने नेपाली उखान  वा  “गुन्द्रुक लाई पकाउन पर्दैन, साली लाई फकाउन पर्दैन” भन्ने हाम्रो समाजका चर्चित  उक्ति  सबै महिला भनेको  पुरुषहरू लाई उपभोग गर्न बनेको जीवित सम्पतिको रूपमा सामाजिक मनोविज्ञान पैदा गर्न  प्रेरक बनिदिए।

 

नेपाली समाजमा महिलाहरूमा आफू समाजको दोस्रो श्रेणीको मानिस हो भन्ने हीनता बोध विकास गर्ने देखि हिंसा लाई स्विकारेर  बाँच्न सिकाउने  वा सहन बाध्य पार्ने भूमिकामा पुर्‍याउन  पुरुष सँगै महिलाहरू को समेत सक्रिय भूमिका भेटिन्छ।

 

सासूले बुहारीलाई गर्ने हिंसा, बुहारीको सासू माथिको अत्याचार, सौतिने बच्चाहरू माथि आमाले गर्ने विभेद, घरमा काम गर्न राखिएकी महिलामा लाई मालिक्नीको व्यवहार आदि समेत समाजमा हुने विविध हिंसामा र समतामूलक समाज निर्माणका लागि बाधक बनेको प्रष्ट छ।

 

सिधै भन्नु पर्दा आज पनि हाम्रो समाजका निकै धेरै स्थानहरूमा यौन दुर्व्यवहार भर्खरको लक्का जवानको सामाजिक प्रतिष्ठा कमाउने रहरको माध्यम बनिरहेको छ।

 

नाजायज यौन सम्बन्ध कायम गर्न सक्नु साथी भाइ बिचको गर्वको विषयमा परिणत हुन्छ। बलात्कृत हुनबाट बचेकी पीडित पीडकको चरम दुष्मनीको दायरामा तानिन्छिन।

 

सचेत वर्ग ठानिएकाहरूको मनोविज्ञान ती पीडित तथा एकल महिलाहरू यौन तिर्खा मेट्ने साधन मानिन्छन। पीडित तथा एकल महिलाहरू लाई समाजले बोक्सीको बिल्ला भिराउँछ। व्यभिचारी पुरुषहरूको हाँसोका पात्र बन्ने वातावरण छ।

पीडितले चरम बेईज्यति बेहोर्नु पर्छ।पीडक वा अपराधीहरूले प्रत्यक्ष अप्रत्यक्ष सहानुभूति पाउने वातावरण रहन्छ। बलात्कृतहरू जब आफ्नो आवाज उठाउँछन् तब अन्य गम्भीर अपराध सिकार बनाएर समाजमा टाउको उठाउन नसकिने हदमा पुर्‍याइन्छ।

पीडित महिलाको बिना दोष बदनामी गर्न स्वयं अर्की महिला पीडकको रूपमा उपस्थित बनी दिन्छिन्। फलतः त्यस्तै घटनाका सिकार बनेकाहरू बाहिर आउन र थप बदनामी सहन तैयार नहुने परिस्थिति निर्माण हुन्छ।

 

जुन समाजमा माथि बताइएका एउटा मात्र पनि प्रवृत्ति संस्थागत बनेको छ भने त्यो समाजलाई “बलात्कार संस्कृति” युक्त समाज भनिन्छ। बलात्कार संस्कृति बोकेको समाज सरकार, पुलिस र अदालती कारवाहीले सुधार्न सक्ने हद बाहिर पुगिसकेको मानिन्छ।

 

बलात्कार संस्कृति वाट ग्रस्त समाज बलात्कारीलाई मृत्युदण्ड दिँदैमा बलात्कार र महिला हिंसा मुक्त समाज बन्न सक्दैन। समाजमा फैलिएको सामाजिक वितृष्णा निराकरण गर्न, मनोबैज्ञानिक सबलता अभिबृद्दि गर्ने नीतिहरू, योजनाहरू, कार्यक्रमहरू चाहिन्छ। जसमा समाजका हरेक तप्काको मानिसको  अनिबार्य सक्रिय सहभागिता चाहिन्छ।

 

समाजले गर्न चाहेको बलात्कारको रोकथाम र सजायको व्यवस्था मात्रले यसको स्थायी समाधान दिने अवस्था छैन। यसका लागि सबै सरोकारवालाहरू बलात्कारी पैदा गरिरहेको मुल कारक निवारणमा प्रयासरत हुन जरुरि छ। बलात्कार संस्कृतिको कारकहरू लाई भत्काउन संगठित र योजना बद्ध रूपमा समाजको सबै तप्का लागि नपर्दा सम्म यो मनोरोग वाट नेपाली समाजले मुक्ति पाउने छैन।

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE