मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

उत्कृष्ट पोषण युक्त मात्र हैन औषधीय अमृत पनि रहेछ शुद्ध घिऊ।

नारायण घिमिरे

शुद्ध गाईको घिऊको अकल्पनीय स्वास्थ्य लाभ लिन सफल आयुर्वेदिक उपचार पद्दतिको अनुसरण गरेर आज संसारभर मानिसहरु आफ्नो लागि उपयुक्त घरेलु उपचारका उपायहरु अबलम्बन गरि विभिन्न रोगहरुको औषधी मुलो गरिरहेको भेटिन्छ। आयुर्वेदका प्राचिन उपचारका अभ्यासहरुको महत्व र प्रभाबकारिता धेरै पछि आएर मात्र आधुनिक औषधि विज्ञानले महशुस गर्न थालेकोले यो विषय धेरैलाई नौलो बनेको छ।

आफ्नो शरीरको तौल घटाउन कोसिस गर्दै गरेका प्राय सबै मानिसहरू आफ्नो दैनिक खानाबाट चिल्लो हटाउने जसमा मुलत घिऊ खान बन्द गर्ने गरेको देखिन्छ। जब तपाइ तपाइको शरीरले कसरि काम गर्छ भन्ने बुझ्नु हुन्छ तब तपाइलाइ महसुस हुने छ कि दुब्लाउने रहरमा तपाइको खाना वाट हटाउन पहिलो निशानामा पर्ने घिऊ तपाइको शरीरको लागि एक पौष्टिक स्वास्थ्य लाभ दिने पदार्थ मात्र होइन कि तपाइको शरीरको तौल घटाउन समेत मद्दत गर्ने एक अमृत नै हो।

 

नेपालमा प्राय: उपभोग हुने गाई वा भैँसीको घिऊमा ९९.५ प्रतिशत चिल्लो वा फ्याट र ०.५ प्रतिशत पानी रहने गर्छ। दही मथी निस्केको घिऊमा चिल्लोमा सजिलै घुल्ने भिटामिन र मथेको नौनी तताउँदा बचेको प्रोटिनका महत्त्व पूर्ण अंशहरू समेत रहने गर्छ। चिल्लो पदार्थमा पनि संतृप्त अथवा सेचुरेट चिल्लो पदार्थको भाग धेरै हुने हुँदा कोठाको तापक्रममा राख्दा पनि घिऊ बिग्री हाल्दैन तर प्रकाश र अक्सिजन बाट भने अक्सिडेसन हुने हुँदा हावा र प्रकाश वाट जोगाउन नसक्दा यसको गन्ध खराब हुनसक्छ। त्यसैले घिऊ लाई माटो वा काठको भुँड्को वा सानो ठेकीमा बिर्को बन्द गरेर राख्न भनिन्छ। प्लास्टिक वा सिसाको बट्टामा राख्नु राम्रो मानिँदैन र होइन पनि।

 

आधुनिक वैज्ञानिक अनुसन्धानहरू बाट घिऊमा निकै थोरै मात्रामा भेटिने भएता पनि विभिन्न प्रकारका फ्याट्टी एसिडहरूले शरीरलाई स्वस्थ राख्ने भिन्दा भिन्दै प्रकृतिको तर निकै ठुलो भूमिका खेल्ने प्रमाणित गरिदिएको छ।

 

गाई र भैँसी दुवै जम्मा गरि संकलन हुने दूध वाट बनाएको घिऊमा ओमेगा-३, ओमेगा-६ र ओमेगा-९ फ्याट्टि एसिडहरू कुल औसत क्रमशः १.४४७, २.२४७ र २५.०२६ मिलिग्राम भेटिने गर्छ। ओमेगा-३, ओमेगा-६ र ओमेगा-९ सानो बच्चाको आँखा र दिमागको विकासमा मुख्यतय धेरै सहयोगी हुने गर्छ।

 

ओमेगा-३ मानिसको मुड विकास गर्ने र आन्तरिक दर्द घटाउन चाहिने ईपीए, दिमागको ८% भाग बन्ने र दिमाग लाई ठिक सँग सञ्चालन गर्न सहयोग गर्ने डिएचए तथा पाचन क्रियामा शक्ति पैदा गर्न जरुरी हुने एएलए नामक तिन थरि फ्याट्टि एसिडहरूको रूपमा उपलब्ध हुने गर्छ।

लोकप्रिय ओमेगा-३ को नाममा चिनिने डि-एच-ए नाम दिइएको डोकोसाहेक्जेनोइक एसिड हाम्रो शरीरले शरीर भित्रै आफैले बनाउन सक्दैन। खाना मार्फत नै शरीरलाई अनिवार्य उपलब्ध गराउन पर्ने हुन्छ। घिऊ, ओखर, माछाको तेल र आलसको तेलमा समेत पाइने डिएचए ओमेगा-३ क्यान्सर, हृदय घात, इन्सुलिन प्रतिरोधी समस्या, बाथ रोग तथा एडीएचडी भनिने अरूको कुरामा पटक्कै ध्यान नदिने र आफूले भनेको जस्तो नहुने बित्तिकै सन्कने किसिमको व्यवहार पैदा हुने रोगहरू हुने जोखिम वाट मानिसलाई बचाउन मद्दत गर्दछ।

 

घिऊमा ओमेगा-३ को अलावा मनग्ये ओमेगा-६ (सी-एल-ए) समेत हुने गर्छ। ओमेगा ३ र ६ को संयुक्त उपस्थितिले घिऊ शरीरको तौल घटाउन लोक प्रिय खाद्य बन्न सकेको हो। ओमेगा-६ ले शरीरमा बोसो रहित मासुको भाग बढाउन अत्यन्त प्रभावकारी भूमिका खेल्ने र ओमेगा-३ र ओमेगा-६ ले शरीरमा भएको बोसो लाई बाहिर तानेर शक्तिमा परिवर्तन गरी बोसे फोक्से मासु लाई बोसो रहित दरिलो मासुमा परिवर्तन गर्न सहयोग गर्ने हुँदा मानिस लाई दुब्लाउन मद्दत गर्छ।

 

केहि हप्ता खाना खान छोडी हर कोसिस गरेर दुब्लाउन के पाएको हुन्न १-२ दिन मुख छाडेर खान पुग्दा तुरुन्तै वा छिटै शरीरले बोसो हाली हाल्ने समस्या रहेको आजको डाईटिंग समस्याको चुरो घिऊमा पाइने ओमेगा-३ ले निदान गरिदिन्छ।

 

घिऊ वास्तवमै विभिन्न अमिनो एसिडले भरिपूर्ण भएकाले जब यो शरीरको बोसो सँगै टाँसिन पुग्छ तब बोसे मासुको वास्तविक बोसो बोक्ने कोषहरूको आकार लाई नै सङ्कुचन पारि दिन्छ। किनकि घिऊमा हुने ओमेगा-३ ले बोसे मासु बोकेको शरीर लाई इन्चको तह सम्म सङ्कुचन गर्न सहयोग गर्ने हुँदा पुन तौल प्राप्ति गर्न असहज पारिदिन्छ।

 

घिऊमा हुने बिऊटाईरिक एसिड, भिटामिन ए, डी, ई र के शरीरको रोग प्रतिरोध क्षमता बढाउन, आन्द्रा स्वस्थ राख्न, कपाल स्वस्थ राख्न, हड्डीहरू मजबुत बनाउन र आँखाको स्वास्थ्यमा सुधार गर्न सहयोगी बन्ने प्रमाणित भएको छ। घिऊको तागत दिने र शरीरका विभिन्न प्रणालीहरू वाट विषाक्त पदार्थ हटाउने क्षमताका कारण यो शरीरको लागि अभिन्न खाद्य बस्तु बन्न पुगेको हो।

 

घिऊको जतिसुकै पौष्टिक, औषधीय र वजन घटाउन मद्दत गर्ने तागत भएता पनि अन्तमा यसमा ९९.५% नै चिल्लो हुने कुरा भने बिर्सन हुँदैन। जुन सुकै कुरा पनि अति ले खती नै गर्छ। तसर्थ दैनिक बढीमा एक-दुई चम्चा त्यो पनि धेरै मात्रामा बिहान सिधै घिऊ मात्र वा ब्रेक फास्ट सँगै घिऊ खाने गर्दा यस वाट अधिकतम लाभ लिन सकिने देखिएको छ। हाम्रो खानपानमा चिल्लो अन्य समयको खानामा पनि परिहाल्ने हुँदा दैनिक बिहान बढीमा दुई चिनी चम्चा मतलब ८-१० ग्राम सम्म ढुक्क सँग खान हुन्छ भनिएको हो।

 

औषधि उपचार द्वारा रुग्ण वा बृद्द व्यक्ति लाई तन्दुरुस्त वा युवा बनाउने क्रियालाई नेपालीमा कायाकल्प भन्ने गरिन्छ। आयुर्वेद शरीरको कायाकल्पको लागि संसार भर प्रख्यात बनेको छ।

 

आयुर्वेदिक उपचारमा शुद्ध घिऊ शरीरको कोशीकाहरुको पुनरुत्पादन गर्न सहयोग गर्ने; रति-राग, काम-वासना र सहवासको इच्छाको उत्तेजना बढाउने कामोद्दीपक औषधीहरू बनाउन व्यापक प्रयोग हुने गर्छ।

घिऊ र दूधको संयुक्त प्रयोग वाट शरीरको ओज-सी वा जीवन्त शक्तिमा सुधार गर्न, कोशिकामा हुने क्षयको कारण हुने बुढउलोपन रोक्न तथा रोग प्रतिरोधात्मक क्षमतालाई बढवा दिने धेरै किसिमका औषधि बनाइन्छ।

 

खानामा घिऊ राख्दा यसको तेलीय गुणले अल्सर पीडित बिरामीहरू लाई आराम सँग नरम खाना खान सहयोग गर्ने, खानामा घीऊ हाली खाएर कब्जियतको समस्या वाट मुक्ति लिने, हरेक बिहान आधा चिया चम्चा घीऊ खाने र त्यसपछि एक कप तातो पानी पिउने गरेर आवाज सुमधुर र नरम बनाउने, घिऊकॊ पोषण गुणको सदुपयोग मार्फत तागत उपलब्ध गराई दिमागको स्मरण शक्ति र स्फूर्ति ब्रिद्दिमा घाँस खुवाएर पालिने शुद्ध लोकल गाइको घिऊको माग संसार भर औषधिको जस्तै ह्वात्तै बढ्नु केही नमुना उदाहरणहरू हुन्।

 

आयुर्वेदिक उपचार पद्धतिमा आगोले जलेको घाउको, छाला उप्कने, छालामा फोका उठ्ने हुँदा, पेट घोच्ने, पोल्ने हुँदा, अल्सरमा, विभिन्न अङ्गहरूको र्‍याल पैदा गर्ने ग्रन्थिहरूको सुरक्षा गर्न र अल्सर जस्ता बिमारमा हुने अधिक दर्द वाट मुक्ति पाउन घिऊको प्रयोग गर्ने गरिन्छ।

 

जब घिऊ तन्तुहरू सँगको सम्पर्कमा आउँछ तब यसले तन्तुहरु लाई नरम बनाउने र बाहिरी हानिकारक विषादी र जीवाणुहरुको सम्पर्कमा आउन वाट रोकेर चर्किएको वा च्यातिएको स्थानमा नयाँ कोशीका उम्रन र च्यातिएको स्थान पहिले जस्तै जोडेर निको हुने शरीरको स्व-उपचार पद्दति लाई सहयोग पुर्‍याउने गर्छ।

 

आयुर्वेदिक चिकित्सकहरूले लामो समय देखि घाउहरू निको पार्न प्रयोग गर्ने यो प्राकृतिक चिकित्सा पद्दति आज नवीनतम औषधि विज्ञानले घिऊको कोशीकाहरूको पुनरुत्थानकारी गुणको प्रमाणित गरी आन्तरिक तथा बाहिरी घाउमा निको पार्ने, पोलेको चोटको उपचार गर्ने जस्ता काममा उपयोग गर्न सुरु गरेको छ।

 

शरीरको तन्तुहरूमा रहने बोसोले शरीरले नियमित काम गर्ने क्रममा वा खाना पाचन हुने क्रममा पैदा भएका तर नियमित प्रक्रियामा शरीरबाट बाहिर फाल्न नसकेका कचरा पदार्थ कैद गरी राख्दछ। फलतः उसको क्षमताले भ्याए सम्म ती कचरा वाट शरीरका मुख्य अङ्गहरू हानि हुन वाट जोगाउ। जब शरीरमा त्यस्ता कचरा हरू धेरै जम्मा हुन्छ तब तिनै विभिन्न रोगका चुरो कारण बनी दिन्छन।

 

त्यस्ता विषाक्त तत्त्व शरीर बाहिर निकालेर शरीर लाई भित्रै वाट स्वस्थ बनाउने डिटोक्सिफिकेशन प्रक्रिया अयुर्बेदको पञ्चकर्म विधिमा समेटिएको छ। यो विधिमा हरेक दिन घिऊको मात्रा बढ्ने गरी बिहान बिरामीलाई घिऊ युक्त खाना खान दिइन्छ। साथै दैनिक घिऊले शरीरको मालिस गरी छाला भित्रको तन्तुहरूमा रहने बोसोले सोसेर राखेको विषाक्त पदार्थहरू मालिस गरेको घिऊ हुँदै छाला सम्म पुर्‍याउने र मसाज पछि पानीको बाफले नुहाउने स्टिम थेरापी प्रविधि वाट छालाको सतहमा पुगेको विष शरीर बाहिर पुर्याईन्छ ।

 

शरीरको तन्तुहरूमा रहेको विष छाला सम्म र भित्री तन्तुहरूमा रहेको विष गुदद्वार सम्म पुर्‍याउन सफल बनेपछि विभिन्न प्रविधिहरू लगाएर ती विषाक्त पदार्थहरू शरीरबाट बाहिर निकाल्न सम्पूर्ण प्रणाली नै धुने काम गरिन्छ। जसमा मूलतः शुद्ध घिऊ कै काम आउँछ।

 

दाँतको गिजामा गडेको विष सफा गरी मुखको स्वास्थ्य सुधार गर्नको लागि घिऊ वाट गरिने मुखको कुल्ला वा गार-गल होस् वा दुई ठुलो चम्चा शुद्ध गाईको घिऊ र ६-७ थोपा ईच्च्छा अनुसार कागती वा लेभेन्डरको तेल बाथ टपको न्यानो पानीमा घुलाएर लिइने लाभकारी घिऊ स्नानमा घिऊको उपयोग उत्कृष्ट हुने गर्छ।

 

तातो वा आगोले जलेको अवस्थाको लागि उत्कृष्ट मलहमको रूपमा प्रयोग गर्न, थाकेको आँखाको प्राकृतिक उपचारमा, सुख्खा छाला हुने हरुका लागि अनुहार चिल्लो र रसिलो बनाउने मोइश्चराइजरको रूपमा प्रयोग गर्न र केही थोपा मनतातो घिऊ नाकमा राखी नाथ्री फुट्ने र टाउको दुख्ने समस्याको आयुर्वेदिक समाधानमा घिऊनै प्रयोगमा आउने गर्छ।

 

पश्चिमा औधगिक उत्पादन लाई बिक्री गरी नाफा कमाउने नियतले उच्च शिक्षामा पड्ने पाठ्यक्रममै घिऊ जस्ता पदार्थहरूमा सेचुरेटेड चिल्लो रहने र कोलेस्ट्रोल समेत रहने हुँदा धेरै खान हुँदैन भनी उल्लेख गरिएका कारण ति पाठ्यक्रम पढेर विज्ञ बनेका कतिपय पोषण विद आज पनि तपाई हामीलाई घिऊ खानु भनेको हार्ट-अटेक देखि यो ब्रमाण्डमा रहेका सबै रोग भित्र्याउने चिज हो भनी डर पैदा गरिरहेका भेटिन्छन।

 

उनीहरूले राम्रो हुने सोच्ने विज्ञानले चाऊ चाऊ बनाउँदा प्रयोग गरिने तेल बनाए जस्तो गरी औद्योगिक प्रशोधन मार्फत बनाइएको पश्चिमा औधोगिक तेल र मुलत मर्जेरिनमा हुने औद्योगिक ट्रान्सफ्याटले गाई वा भैँसीको घिऊमा हुने ट्रान्स फ्याटले भन्दा १५ गुणा धेरै मुटुको रोग, मधुमेह र डिप्रेसन जस्ता रोग मानिसलाई दिने वैज्ञानिक प्रमाण विश्व विद्यालयका पाठ्यक्रम मार्फत जान्न र बुझ्न समेत वञ्चित छन।

 

नेपाली शुद्ध घिऊको आयुर्वेदिक मूल्य हाम्रा डाक्टरहरूको शिक्षामा समेटिएको छैन। वैज्ञानिक रूपमै प्रमाणित बनेको घिऊको मोटोपन घटाउने, क्यान्सर जस्ता विकृति विरुद्ध लड्ने, नसा, तन्तु र कोसीकामा फोहर टाँसिन रोक्ने, मधुमेहको नियन्त्रणमा सहयोग गर्ने, शरीरको रोग प्रतिरोधी क्षमता बढाउने, तागत र यौन शक्ति निर्माण गर्ने, दिमाग तन्दुरुस्ती राख्ने र शरीर सफा गर्ने आदि लगायतका हाम्रा रैथाने प्रविधिले दिने घिऊको गुणहरूको बारे ज्ञान पढ्न पाउन बाटै बिद्यार्थीहरु वञ्चित रहेको आठौँ आश्चर्य हामीमा छ।

 

एक जमानामा मुसामा गरिएको टेस्टमा घिउ बाट कोलेस्ट्रोल बढ्ने देखिएको भन्ने नतिजा वाट बजारमा घिउ खान हानिकारक भन्ने बुझेका हरुले पछि पुन मुसामा र सुँगुरमा समेत प्रयोग गर्दा नतिजा उल्टो देखिएको कतिपय हाम्रा विज्ञहरूले पत्तै पाएनन्। हुन त कतिपय जनवारमा गरिने टेस्ट मानिसमा मिल्ने कुनै निश्चय हुदैन।

 

सन् २००९ देखि २०११ सम्म लगाएर ६२८ जना मानिसमै गरिएको परीक्षण वाट घिऊमा हुने कोलेस्ट्रोल वाट मानिसमा मुटुको रोग बढ्ने होइन बरु घट्ने प्रमाणित गरिदियो। परीक्षण बाट घिऊमा अधिक सेचुरेटेड फ्याट्टी एसिड हुने भएता पनि ८९% छोटो चेन हुने फ्याट्टी एसिड बाट निर्मित हुने रहेछ भन्ने पत्ता लाग्यो। चिकित्सकीय रूपमा के प्रमाणित बन्यो भने संतृप्त फ्याटले भन्दा निकै धेरै अक्सिडाईज भएको कम घनत्वको लाइपोप्रोटिन कोलेस्ट्रोलको कारण मानिसमा हार्टएटेक निम्तने रहेछ।

 

घिऊमा गरिएको केमिकल विश्लेषणमा आश्चर्यजनक रूपमा यो पत्ता लाग्यो कि शुद्ध घिऊमा कोलेस्ट्रोल अक्साइड हुँदैन। उल्टो स्वास्थ्य लाभ गर्न सहयोग गर्ने एन्टिऑक्सिडेन्ट हरु रहन्छन। शुद्ध घिऊमा हुने छोटो फ्याट्टी एसिड चेन पचाउन सजिलो हुने, हर्मोन उत्पादनमा सहयोगी हुने, कोशिकाको झिल्लीहरू बलिष्ठ बनाउने र मुटुको रोग घटाउन सहयोग गर्ने प्रकृतिको हुने भेटियो।

 

तरकारीमा भुटुन हाली भुट्न होस् वा तिहारमा सेल रोटी झ्वाइँ पार्ने चिल्लोको लागि हामीलाई धेरै तातो हुने गरी तताउँदा पनि डढेर धुवा नआउने भुटन जरुरी हुन्छ। किनकि जब चिल्लो तातेर धुवा आउने स्मोक पोइट नाघ्छ तब यसले मुटु र स्वस्थलाई हानि हुने तत्त्व निकाल्छ। गाई वा भैँसीको घिउ आफै मात्र २५० डिग्री सेल्सियस भन्दा माथि सम्म तताउदा मात्र स्मोक पोइटमा पुग्ने हुँदा तिहारको सेल रोटी हाल्न सुद्ध घिउ जस्तो राम्रो अरू के नै हुन सक्दो रहेछ र। हाम्रो रैथाने सेल रोटी पकाउने प्रविधि लाई सलाम।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE