मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

हरिवोधनी एकादशी (ठुलो एकादशी) रहेछ सनातन खाद्य दिवस !

नारायण घिमिरे

 

उज्यालो हुने रात जहाँ चन्द्रमाले सूर्यको प्रकाश पृथ्वीमा फर्काएर पृथ्वीलाई उज्यालो बनाउँछ त्यसलाई हामी शुक्ल पक्ष भन्ने गर्छौ। जुन रातमा परावर्तित प्रकाश हुँदैन त्यो रात अध्येरो हुने हुँदा त्यसलाई कृष्ण पक्ष भन्ने  गरिन्छ। कृष्णलाई प्रकाश विहीनता वा कालरात्रिको अर्थमा लिने गरिन्छ।यथार्थमा हरिवोधनी एकादशी (ठुलो एकादशी) को दिन सनातन खाद्य दिवसको रूपमा मनाइन्छ। भगवान् विष्णु लाई चाही खाद्य विज्ञानका प्रवर्तकका रूपमा पुजिन्छ।

 

हाम्रा गाउँ घरमा पण्डितहरू कार्तिक महिनाको शुक्ल नवमी बाट पूर्णिमा सम्म भगवान विष्णुको अमलाको रुखमा बास हुने बताउँछन्। यो शुल्क नवमी लाई कसैले कुष्माण्ड नवमी वा अक्षय नवमी त कसैले अमला नवमी वा धात्री नवमी आदि नाम दिन्छन। यो समयमा दैनिक गरिने नित्य कर्म र स्नान पछि अमलाको रुख, अमला सहित विष्णुको पूजा गर्ने, तर्पण दिने तथा सकिन्छ भने गरिबहरूलाई खाना र दान दिन सुझाउँछ शास्त्र।

 

पण्डितहरू भने प्राय: सबै दानको हकदार पण्डित आफै रहेको आशय आउने बदनियत पूर्ण, कपोकल्पित कथा सुनाउँछन्। लौका दान भनेको छ भने सुनको टुक्रा र लौकी,  खाना दान भनेको छ भने खाना र असर्फी, अनि पूजा गरेको ज्याला दिनु भन्ने आशय रहेछ भने पूजा गरेको ज्यालामा कम्तीमा सुन, चाँदी, तामा, गाई र असर्फी पण्डितलाई दान गर्दा भगवान् प्रसन्न हुने फुर्को जोडी दिन्छन।

हाम्रो परम्परागत मान्यतामा खाना आफै ब्रह्म हो। ब्रह्माण्डका हरेक बस्तु ब्रह्मबाट उत्पत्ति भएर ब्रह्माण्डमा आफ्नो निरन्तरता कायम राख्दछ र अन्तमा ब्रह्म मानै गएर मिल्दछ वा विलीन हुन्छ। त्यस्तै गरी हरेक जीवित बस्तुको उत्पत्ति खानाबाट हुन्छ, खाना खाएरै आफ्नो जीवितताको निरन्तरता गर्छ र अन्तमा खानामै गएर मिल्दछ।

 

खानाको उत्पादन, पाचन र प्रयोगको नियन्त्रण गर्ने प्राकृतिक शक्ति लाई भगवान् विष्णु भनिन्छ। खाना र खानाको उपभोक्ता लाई समेत भगवान् विष्णुकै एक भागको रूपमा चिनिन्छ।

 

शास्त्रीय मान्यतामा विष्णु भन्ने शब्दले मानवको रक्षा गर्न जरुरी हुने शरीरको हरेक सुव्यवस्था पुनर्स्थापित गर्ने वातावरण बनाउन भूमिका खेल्ने शक्ति लाई जनाउँदछ। वैज्ञानिक तथ्य वाट प्रमाणित भएको यथार्थ चाही के हो भने मानिसको शरीरमा ब्रमाण्डमा रहेका हरेक तत्त्वहरू भेटिन्छ। तसर्थ  विष्णु नामक प्राकृतिक शक्तिको ब्रमाण्डको हरेक तत्त्व र त्यहाँ रहेका हरेक सृष्टि सँग जोडिएर रहेको फेला पर्दछ।

 

पाचन प्रणालीमा रहेको अम्लीय र क्षारीय रसको आन्तरिक आगोमा खाना पाक्ने र सोसिने क्रममा खाना पचे पछिको खरानी र उत्पन्न हुने विभिन्न फोहर हामीले मल विसर्जनको क्रममा शरीर बाहिर फाल्ने गर्छौ। त्यस्तै मूत्र त्यागका बखत शरीर लाई हानि गर्ने वा काम नलाग्ने शरीरको सञ्चालन तथा पाचनको क्रममा पैदा हुने उप-उत्पादनहरू र कचराहरूको विसर्जन हुने गर्छ।

 

शरीरको दैनिक गतिविधिको सञ्चालनको क्रममा पसिनाका रूपमा छाला बाट, खपटा वा तेलीय पदार्थको रूपमा रौँ उम्रने प्वाल वाट, अन्य तरल पदार्थहरू लिङ्ग, योनि, गुदद्वार, कान लगायतका प्वाल भएका स्थानहरू वाट बाहिर फालिन्छ। बिहानीको स्नानले तिनै कुराहरू शरीरबाट बाहिर फाल्न सहयोग गर्छ। बिहान सबेरै उठेर दिसा-पिसाब गर्ने, फोहर कपडा धुने, दाँत माझ्ने, गर-गल गर्ने र सफा सुग्घर हुने कार्य नित्य रूपमा शरीरमा उत्पन्न हुने विकारहरूको विसर्जन गरिने कार्य हो।

 

शारीरिक विकार फाल्न श्वास प्रश्वास प्रणाली सुग्घर गर्न र मनोबैज्ञानिक कचरा फाल्न मनोबैज्ञानिक सुदृढता वृद्धि गर्ने गतिबिधिहरुको जरुरत पर्दछ। जसमा मूलतः नाकका प्वालहरू सफा गर्न प्राणायाम गर्ने, दिमाग एकाग्र गर्न ध्यान वा मेडिटेसन गर्ने कार्यहरू पर्ने गर्छन।

 

बिहान केही समय व्यवस्थित रूपमा लामो तर अलि बल लगाएर कपाल भाती जस्ता श्वास फेर्ने प्राणायामका विभिन्न उपायहरू अनुसरण गरेर थुक, र्‍याल, सिँगान आदि नाक, मुख, श्वास नलीहरू बाट हटाएर सफा गर्न सकिन्छ। त्यस्तै कम्तीमा १० मिनेट दिमागलाई एकाग्र गराएर र मौन बसेर मेडिटेसन गर्दा मार्फत दिमागको हिपोक्यापसमा ग्रे वा खैरो भाग बढाउन सहयोग गर्न सकिन्छ।

 

दिमागको हिपोक्यापसको खैरोभाग नकारात्मक सोच त्याग गरी सकारात्मक सोच विकास गर्न जिम्बेवार रहन्छ। हाम्रो परम्परामा सदा सत्कर्ममा रहने प्रण त्यसैको उपज हो। योग, प्राणायाम र मेडिटेसन एकापसमा श्वास-प्रश्वास प्रणाली सफा गर्न र शरीर भित्रका कचराहरू सफा गरी मनोबैज्ञानिक सबलता विकास गर्न जिम्बेबार रहन्छन।

 

हाम्रो परम्परागत संस्कृतिमा मानिसले हरेक दिन दैनिक आफ्नो शरीरलाई बाहिर र भित्र वाट सफा गर्नु अनिवार्य मानिन्थ्यो। त्यो भनेको सबेरै उठेर शौचालयमा हुने त्याग क्रिया, सफा सुग्घर हुने कार्य, योग अभ्यास, प्राणायाम र मेडिटेसन वा ध्यान र स्नान नै हुन्। यी गतिविधिहरु मा स्नान बाहेकका गतिविधिहरू लाई समग्रमा नित्य कर्म भनिन्छ।

 

नित्य कर्म भनेको आफूलाई भित्र र बाहिर वाट सुद्ध राख्नु हो। तसर्थ हाम्रो परम्परामा दैनिक नित्य कर्म र स्नान पछि पूजा पाठ गर्ने, तर्पण दिने र प्रसाद ग्रहण गर्ने गरिन्छ।

 

मानिसमा पूर्ण विकसित रूपमा पाइने लिम्बिक ब्रेनका कारण मानिसले धेरै प्रकारका अनुभूतिहरू स्मरणमा लामो समय सम्म राख्न सक्छ। तपाईँलाई आफूले मन पराएको मानिसले जब आहा तिमि त कस्ती राम्री भनी दिन्छ, लिम्बिक ब्रेनमा डोपामिन उत्पन्न हुन्छ। उक्त डोपामिन दिमागको खैरो भाग हिप्पोक्याम्पस सम्म पुगेको के हुँदैन तपाई भित्र आहा-क्षण पैदा हुन्छ। तपाइले आनन्दको महसुस गर्नु हुन्छ।

 

जब तपाई आफ्नो मेहनतले आर्जेको कुनै कुरा त्यसको जरुरत भएको,  वास्तवमै प्रभावकारी उपयोगमा आउने मानिस वा संस्थालाई दान गर्नुहुन्छ, दानको समय र सम्झनाको क्षणमा तपाइमा न्यानो हार्दिकता पैदा हुन्छ। मस्तिष्कले अन्य व्यक्ति वाट आफूले सम्मान पाएको, उ सँग आफ्नो विश्वास, हार्दिकता र दरिलो भावनात्मक सम्बन्ध विकास भएको अनुभूति एकै साथ गर्न पुग्छ।

 

अधिक डोपामिन उत्पन्न हुने र अधभुत आहा-क्षण विकास हुने यो अवस्थालाई अत्यन्त प्रभावकारी मनोबैज्ञानिक सबलताको चरण मानिन्छ। प्रभावकारी मनोबैज्ञानिक सबलताको बिन्दुमा त्यागको भावना हुने र बदलामा केही नचाहेको अवस्था रहने हुँदा यसलाई मानव मनोविज्ञानको अत्यन्त प्रभावकारी उपचारको अस्त्र ठानिन्छ।

 

हाम्रा नित्य कर्म देखि हरेक शुभ कार्यहरूमा सम्भव रहेमा दान दिने कार्य संलग्न गर्नुको पछाडिको कारण मनोबैज्ञानिक शुद्धता नै हो। दान वाट मानिसले मनोबैज्ञानिक शुद्धता प्राप्ति गर्ने कुरा हाल विज्ञानले समेत प्रमाणित गरिदिएको छ।

 

दानको प्रतिफल आयुर्वेद र विज्ञानले मनोबैज्ञानिक उपचार र शुद्धताको प्राप्ति भएको पहिचान गरेको भएता पनि हाम्रो परम्पराले दान लिने दिने प्रक्रियालाई सहजता दिन, दान दिँदा प्राप्त हुने मनोबैज्ञानिक थेरापीको कारक दान प्राप्त गर्नेले दिएको शुभकामना र आशीर्वादको प्रतिफल मान्दछ। जसले दान प्राप्त गर्नेको समेत मान मर्दन हुन नदिने र उचित सम्मान उपलब्ध हुने अवस्थाको समेत सृजना गरिदिन्छ।

 

हामीले परम्परागत रूपमा गर्ने गरेको विष्णु पूजाहरूमा मात्र तिनै कुराहरू समावेश गरिएका हुन्थे जहाँ हाम्रो आफ्नै सम्पूर्ण स्वस्थको उत्थानमा अत्यन्त प्रभावकारी सहयोग पुग्ने गतिविधिहरू समावेश रहन्थे। हाम्रा नित्यकर्म, स्नान, पुजा-आजा, प्रसाद ग्रहण र दान  तिनै विषय बस्तुका अन्तर्निहित कार्य रहेकाले आज सम्म अस्तित्वमा रहे।

 

आज आएर यो अत्यन्त ठुलो वैज्ञानिक मूल्यको प्रमाणित बनिदिएकाले मनोबैज्ञानिक मान्यतामा सुधारिएको पूजाको रूपमा यसको ग्राहीयता बिस्तारै बढ्दै छ। उल्लेखित वैज्ञानिक गतिविधि मार्फत जब हामी आफ्नो सम्पूर्ण आयुर्वेदिक सबलता प्राप्त गर्छौ त्यो उपलब्धिलाई विष्णु पुजा को प्रतिफलमा प्राप्त आशीर्वादको संज्ञा दिन्छौ। त्यसमा आपत्ति मानु पर्ने कुनै कुरा छैन।

 

 

परम्परागत रूपमा विष्णु पूजा बिहानको नित्य कर्म पछि सकिन्छ भने अमलाको फेदमा बसेर सहभोज या प्रसाद बनाएर खाने, अमला र कुभिन्डो दान गर्ने, हवन, पूजा-आजा गर्ने, भजन कीर्तन लगायतका कार्यक्रमहरू गर्ने, शरीर तङ्ग्राउन र आत्म विभोरता पैदा गर्न विभिन्न मन्दिर जाने, आफ्नै परिवारका आफ्नो आम्दानी नभएको सदस्य तथा गरिब दु:खीलाई  दान दिने चलन हो।

 

यो मौसम अमला, कुभिन्डोको सिजन हो। अमला सेवन आफैमा अमृत समान रहेको, कुभिन्डो मानव शरीरको लागि अत्यन्त हितकारी रहेकाले त्यसको मूल्य समाजलाई महसुस गराउन समेत यो चाड अत्यन्त महत्त्व पूर्ण छ। यो बाहेक खानामा खीर, पुरी, तरकारी र मिठाई आदि, यो मौसममा पाइने कन्दमूल र गेडागुडी समेत आफ्नो नित्य खानाको साथ खान जोड दिने विष्णु पूजाले जाडो मौसममा मानिसलाई जरुरी हुने ओजस्वी खानाको महत्त्व बारे झकझकाउन पनि सहयोग गर्ने गर्दछ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

WRITE COMMENTS FOR THIS ARTICLE