मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्वेदको पन्च तत्व !

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग- १.१)

नारायण घिमिरे

 

आयुर्वेदका अनुसार आकाश, बायु (हावा), अग्नि (आगो), जल (पानी) र  पृथ्वी गरी पाँच फरक फरक गुणका पन्च तत्त्वहरूको फरक फरक संयोजन वाट संसारका सम्पूर्ण सजीव र निर्जीव पदार्थहरूको निर्माण भएको हुन्छ। पन्च तत्त्वका हरेक तत्त्वहरूको फरक गुणहरू हुने हुँदा तिनको फरक फरक मात्राको संयोजन वाट निर्माण पदार्थहरू समेत फरक फरक विशेषता युक्त भेटिन्छ।

 

पन्च तत्त्वको जगको मान्यतामा उभिएको आयुर्वेदमा पन्च तत्त्वको आन्तरिक रहस्य बुझ्न र त्यसको समकक्षी वैज्ञानिक अवधारणा समेत खोतल्न प्रयास गरौँ।

 

पन्च तत्वको संरचना

 

ब्रह्माण्डको सृष्टि अघि कुनै आकार, पिण्ड, चिज वीज र प्रकाश जस्ता चीज अस्तित्वमा थिएन। हटाउन नसकिने, अज्ञात, स्थिर र निष्क्रिय तरल पदार्थ युक्त अँध्यारोले भरिएको थियो। साङ्ख्य दर्शन अनुरूप केवल जीवन र निष्क्रिय अँध्यारो तरल बस्तु सृष्टि अघि अस्तित्वमा थियो। ब्रमाण्डको निर्माणको चरणमा सबै भदा पहिले खाली स्थान अथवा आकाश तत्त्वको सृष्टि भयो।

 

आकाश तत्त्वलाई शब्द वा कम्पन वा आवाज भन्ने गरिन्छ। कसैले यसलाई ओहम् “ऊँ” समेत भन्ने गर्छन। आकाश तत्त्व वाट प्राप्त कणको सङ्कुचन वाट बायु तत्त्वको निर्माण भएको देखिन्छ। बायु तत्वका कणहरु नजिक हुँदै एकापसमा कणको सङ्कुचन एवं घर्षण भएर हुने टकराब वाट ताप र प्रकाश युक्त अग्नि तत्त्वको विकास भएको देखिन्छ। बायु तत्त्वको सङ्कुचन बाट जल तत्त्व र जल तत्त्वको सङ्कुचन वाट पृथ्वी तत्त्वको निर्माण भएको बुझिन्छ।

 

पृथ्वी तत्त्व – अणु

 

पाँच तत्त्वमा हरेकलाई उक्त तत्त्वको गुणको पहिचान गरेर जान्न, बुझ्न र महसुस गर्न सकिन्छ। जस्तै पृथ्वी तत्त्वको स्वोभाबिक गुण गन्ध वा वासना हो। कुनै पनि बस्तुको अत्यन्त सुक्ष्मभाग अथवा अणु / मलिकुल जब हाम्रो नाकमा आइपुग्छ। नाकको छिद्रमा म्युकस वा र्‍यालको सहायता वाट टाँसिएको उक्त अणुका कारण हाम्रो शरीरले उक्त बस्तुको उपस्थितिको महसुस गर्छ।

 

हरेक अणु जसको आफ्नो गन्धको गुण हुने गर्छ त्यसलाई अर्थ वा पृथ्वी तत्त्व भन्ने गरिन्छ। पृथ्वीमा भएको सबै अणुको आफ्नो गन्ध हुने गर्छ तर हाम्रो नाकको सीमित क्षमताका कारण सबैको गन्ध हामी महसुस वा पहिचान गर्न सक्दैनौ। जुन गन्ध हामी महसुस गर्न सक्दैनौ त्यो अन्य जीव जन्तुले महसुस गर्न सक्ने हुन सक्छ।

 

जल तत्त्वआयोनहरु तथा परमाणु

अगतिशील अणुको (मलिकुल) आयोनहरु तथा एटम (परमाणु) हरुका कारण पैदा हुने सबै प्रकारको शान्त प्रकृतिको तरलतालाई अयुर्बेदले जल तत्त्व भन्ने गर्छ। जल तत्त्वको गुण शीतलता हो। शीतलताको मतलब गतिशीलता नहुनु वा आराम सँग रहनु हो।

 

सामान्य अवस्थामा तरल पदार्थका परमाणुहरू प्राकृतिक रूपमा कुनै हलचल नगरी निष्क्रिय रहन्छ। जस्तै जब हामी पानीको अणुलाई तताई दिन्छौ, शक्तिका कारण यसको परमाणुहरू गतिशील भएको देख्न सकिन्छ। परमाणुहरू धेरै गतिशील बन्ने क्रममा पानीका अणुहरू बाफ बन्न थाल्दछ। यदि तरल अवस्थाको पानीको परमाणुहरू बाट ताप निकाली चिसो बनाइन्छ, परमाणुहरू सङ्कुचन भएर ठोस पदार्थको बरफमा परिवर्तन हुन्छ। पानीले आफ्नो तरलता गुमाउँछ।

 

अणुका शान्त प्रकृतिका आयोनहरु र परमाणुहरू लाई अयुर्बेदमा रस भन्ने गरिन्छ। रस दुई प्रकारको हुन्छ। पहिलो आफूलाई तृप्त गराउन सक्ने आयोन प्रति आकर्षण रहने गुण। साथै परमाणु – परमाणु बिचको एक आपसको आकर्षणको गुण। दोस्रो स्वाद दिने गुण।

 

एक शान्त स्वभावको परमाणुले ऊर्जा प्राप्त गर्दा आफ्नो गतिशीलताका कारण अणुलाई एक रूप वाट अर्को रूपमा लैजान भूमिका खेलिदिन्छ। शान्त रहेको परमाणुले अणुलाई समेत शान्त राख्न सहयोग पुर्याउछ। फलतः अणुमा शीतलता उपलब्ध हुन्छ।

 

अणु वाट जब नेगेटिभ आयोनरुपी इलेकट्रोन वा ऊर्जा निकालिन्छ तब पैदा हुने पोजेटिभ आयोनले आफ्नो गतिशीलता गुमाउँछ। आयोन को रूपमा परिवर्तन भएको सक्रिय अणु रहने ऊर्जा गुमेका कारण निष्क्रिय बनेका कारण गतिशील रहन सम्भव बन्दैन। फलतः शान्त रहेर शीतलता उपलब्ध गराउँदछ।

 

अणुका अतृप्त आयोनहरु सदैव आफू अतृप्त रहेको इनर्जी वा आयोन प्राप्त गरी तृप्त अथवा सन्तुष्ट रहने प्रयासमा रहन्छ। परमाणु – परमाणु बिचमा हुने एक आपसको आकर्षण तथा आफ्नो गुमेको नेगेटिभ आयोन प्राप्त गरी तृप्त हुन चाहने आयोनको चरित्र जिब्रोमा स्वादको रूपमा पहिचान हुने गर्छ। मनोबैज्ञानिक रूपमा भने दुवै चरित्रहरू प्रेम, आशक्ति, घृणा आदिको विकास गर्न जिम्बेबार बनिदिन्छ।

 

अयुर्बेदमा दुई अन्योन्याश्रित सम्बन्ध भएका युगल जोडी अथवा पदार्थको बिचमा विकास हुने सम्बन्ध अथवा युग्मको अनुभूतिलाई स्वाद भन्ने गरिन्छ। परमाणु – परमाणु बिचमा हुने एक आपसको आकर्षणका कारण परमाणुहरू मिलेर अणु बन्दछ। अणुहरू मिलेर कुनै पदार्थको निर्माण हुन्छ।

 

पदार्थको परमाणु-परमाणु बिचको अन्तर सम्बन्ध र अणुहरूको अयोनिक अवस्थाको आन्तरिक सम्बन्धको अनुभूति जिब्रोमा स्वाद बाट महसुस हुने गर्छ। हरेक परमाणु र अयोनिक अवस्थाको अणुको अनिबार्य आफ्नै स्वाद रहने गर्छ। कतिपय हाम्रो जिब्रोको स्वाद छुट्टाउने क्षमता बाहिरको मात्रामा उक्त तत्त्वहरू रहने वा कतिपय अवस्थामा जिब्रोको स्वाद पहिचान गर्न सक्ने क्षमता बाहिर रहदा हामीले स्वादको महसुस गर्न नसकेको अवस्था रहने गर्छ।

 

अग्नि तत्त्व प्रकाश र ऊर्जा

 

सबै फोटोन, क्वान्टा, चार्ज, इलेकट्रो-म्यागनेटिक वोयब आदिको शक्ति सबै अग्नि तत्त्व हो। विभिन्न विकिरण र ऊर्जा समेत अग्नि तत्त्वमा पर्दछ। अग्नि तत्त्वको मुख्य गुण प्रकाश र तिब्र गति हो। जसमा ऊर्जा वा तातोपना समेत पर्दछ। अग्नि तत्त्वमा सत तथा रज गुण अधिक हुने गर्छ। प्रकाश लाई सत गुण र क्रियाशीलता तथा गतिशीलतालाई रज गुण मानिन्छ। क्रियाशीलता, गतिशीलता र प्रकाशको गुण अत्यधिक रहने गरी अग्नि तत्त्वको निर्माण भएको हुन्छ।

 

चन्द्रमा तथा ग्रहहरू बाट आउने परावर्तित प्रकाश, कुनै पदार्थ जलेर आउने ताप, प्रकाश, ज्वाला, विभिन्न इन्जाइम र र्‍यालहरूमा संचितहुने शक्ति, जोर्नीका बिचका लुब्रिकेन्ट, यौन लुब्रिकेन्ट, विर्यरहने तरल पदार्थ आदिमा संचितहुने शक्ति, पाचन क्रिया सञ्चालन गर्ने ग्यास्ट्रिक जुस (एसिड-बेस), पाचन ऊर्जा, कोशीका स्तरमा खाना वाट शक्ति निकाल्न प्रयोग हुने ऊर्जा आदि सबैलाई अग्नि तत्त्व मानिन्छ।

 

बायु तत्व – हावा र प्राण

 

अणु र परमाणु भन्दा पनि सानो अणु र परमाणु र आकाश तत्त्वलाई एकापसमा जोडेर राख्ने तत्त्व लाई बायु तत्त्व भनिन्छ। संसारमा हुने हरेक कर्मको संयोजन वाट बायु तत्त्व बन्दछ।  बायु तत्त्वको गुण स्पर्श प्रधान गर्नु हो।  जहाँ स्पर्शले हावाको झोक्का वा कुनै चिज छुँदा हुने धर्षणको  अनुभूति मात्र हैन कि कुनै माया, दया, संवेदना, घृणा, कृतज्ञता आदिको महसुस हुने पक्षलाई पनि बायु तत्त्वकै स्पर्शको परिभाषामा राखिएको छ। विभिन्न इलेक्ट्रो म्याग्नेटिक फिल्ड आदि बायु तत्त्व निर्मित मानिन्छ। सामान्य हावाको गतिशीलता देखि फोटोन, क्वान्टमको निर्माण हुने बस्तु बायु तत्त्व हो। जसवाट हाम्रो जीवन्त शक्ति वा प्राण र  बिज समेत निर्मित भएको ठानिन्छ। सम्पूर्ण ब्रमाण्डमा बायु तत्त्वको कुनै न कुनै भाग रहने गरी भरिएको हुन्छ भन्ने मानिन्छ।

 

आकाश तत्व – सम्पूर्ण खाली भाग

 

ब्रमाण्डको हरेक पदार्थको भित्र, बाहिर सबैतिर पुर्णरुपमा खाली स्थान बनाएर उपस्थित रहने आकाश तत्त्व ब्रमाण्डको हरेक पदार्थलाई प्रभावमा लिन सक्ने हुन्छ। आफू भने ती पदार्थहरू बाट प्रभावित रहँदैन। संसारका अन्य चार तत्त्व आफू रहेको स्थान र समय दुबै वाट प्रभावित हुने गर्दछ। आकाशको भने समय सँग कुनै सम्बन्ध नै रहँदैन। जसका कारण बस्तुको गुरुत्वाकर्षण पैदा गर्ने मुलकारक आकाश बन्ने गर्छ। आकाश तत्त्व आफै स्पेस हो। आकाश तत्त्व बाट नै सबै प्रकारका शक्ति वा क्वान्टम र कणहरू पैदा हुन्छ। आकाशको पोल्टो मानै रहने गर्छ। प्राणको उत्पत्ति समेत आकाश तत्त्व बाट नै हुन्छ। कुनै पनि पदार्थको सम्भव हुने सबैभन्दा सूक्ष्म रूपमा आकाश रहने हुँदा यसले शून्य वा खालि खालीको अनुभूति गराउँदछ।

 

विज्ञानको कोणबाट हेर्दा समेत मानव शरीरका प्रत्येक कोशिकाका हरेक भाग जस्तै डिएनए आदिबाट बिलियन्स एटम निर्मित छन्। हरेक एटम इलेकट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेका छन्। प्रोटोन र न्युट्रोन तुक्राउदा  क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल भेटिन्छ।

इलेकट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन्छन्। जसलाई झन् सानो गर्दा खालि स्थान अथवा आकाश भेटिन्छ। यस्तै इनर्जीका संयोजनका विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फरमेसनको जालोको संयन्त्र आदि बनाएको भेटिन्छ।क्वान्टम फिजिक्सले यसलाई इन्फरमेसन भन्ने गरेको छ। क्वान्टम फिजिक्सले नै हाम्रो  जीवन अन्ततः खाली चिजवाट बनेको प्रमाणित गर्छ।

 

आकाश तत्त्वले ब्रमाण्डको हरेक पदार्थलाई मार्ग निर्देशन गर्ने हुँदा यसलाई शब्द नाम दिइएको छ। जहाँ शब्दको अर्थ अनेकौँ प्रकारको रस र विशिष्ट बन्धन र गाँठोमा समाविष्ट गराई मिलाएर राख्ने तत्त्व भनिएको हो। जसको स्वभाव कम्पन/भाइब्रेसन पैदा गर्ने हुन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE