प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
मनिशको शरीरमा आत्माको प्रवेश कुन समयमा कसरि हुन्छ भन्ने वारे विज्ञान अनविज्ञ रहदै गर्दा संसारमा रहेका फरक फरक दार्शनिक विश्वासहरू के कस्ता छन् तिनीहरु बारे तुलनात्मक विश्लेषणले हामीलाई संसारका मानिस हरुको फरक फरक परम्परागत बिश्वास बारे अबगत हुने छ। फरक फरक मानव सभ्यताले आत्मा (Soul) को अवधारणा र यसको शरीरमा प्रवेश गर्ने समय तथा प्रक्रियालाई फरक फरक दार्शनिक र धार्मिक दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास गरेको भेटिन्छ। आत्माको प्रकृति, जीवनको उद्देश्य, मृत्यु (Death) र पुनर्जन्म (Reincarnation) वा मुक्ति (Liberation) को अवधारणा मानव अस्तित्वको गहिरो रहस्य बुझ्न र उजागर गर्न हरेक सव्यतामा प्रयास भएको देखिन्छ। ति मध्ये मिस्र (Egyptian), ग्रीक (Greek), वैदिक सनातन हिन्दु (Vedic Hindu), बौद्ध (Buddhist), ताओवादी (Taoist) र इसाई (Christian) सम्बन्धमा स्थापित भएका सस्कृतिका दर्शनहरू निकै चाख लाग्दा देखिन्छन। जसमा आत्माको स्वरूप र यसको शरीरसँगको कस्तो सम्बन्ध हुन्छा भन्ने बारे फरक–फरक बुझाइ भएको भेटिन्छ।
उल्लेखित दर्शनहरूले आत्माको उत्पत्ति, त्यसको शरीरमा प्रवेशको समय र मृत्यु पछिको यात्रा समेत लाई बुझ्ने आफ्नै पाराको अद्वितीय दृष्टिकोण दिएको भेटिन्छ। आज हामी तिनै दर्शनहरूले संकेत गर्ने आत्माको अवधारणा, शरीरमा प्रवेशको समय र प्रक्रियालाई विस्तृत रूपमा तुलना गर्न र प्रत्येक दर्शनका चूरा विश्वासलाई स्पष्ट संग बुझ्न कोशिस गर्ने छौ। साथै, ति विश्वासहरूले मानव जीवन र मानवको आध्यात्मिक यात्रालाई कसरी प्रभावित गरिरहेको छ त्यसको समेत विश्लेषण गर्न कोसिस गरिने छ।
मिस्र (इजिप्शियन) आध्यात्मिकता अन्तर्गत प्राचीन मिस्रवासीहरूले आत्मालाई एक जटिल र बहुआयामिक संरचनाको रूपमा हेर्ने गर्दछन। उनीहरूको विश्वासमा आत्मा (Soul) तीन मुख्य भागमा विभाजित हुन्छ। बा (Ba), का (Ka) र अखु (Akhu)। बाले व्यक्तिको व्यक्तित्व (Personality) र जीवित शक्तिको प्रतिनिधित्व गर्छ। यो मृत्यु पछि शरीरबाट अलग भएर स्वतन्त्र रूपमा घुम्न सक्छ।
उदाहरणका लागि, मिस्रवासीहरूले बालाई चराको रूपमा चित्रण गर्दछन। जुन मृतकको समाधिमा फर्कन सक्छ। मिस्रको कला र साहित्यमा बालाई प्रायः मानव शिर भएको चराको रूपमा देखाइन्छ, जसले मृतकको आत्माले आफ्नो परिवार र समाधिलाई भेट्न सक्ने विश्वासलाई झल्काउँछ। का (Ka) भने जीवन ऊर्जा (Life Force) हो, जुन शरीरसँगै रहन्छ । मृत्यु पछि पनि जीवित रहन्छ। मिस्रवासीहरूले मृतकका लागि भोजन र बलिदान (Offerings) चढाउँने गर्दछन। उनीहरुको बिश्वासमा कालाई जीवित राख्न जरुरि हुने शक्ति उपलब्ध गराउन भोजन र बलिदान (Offerings) को आवश्यक रहन्छ। अखु (Akhu) अमर आत्मा हो, जुन पवित्र भएर देवत्व (Divinity) सँग मिल्छ। मिस्रवासीहरूको विश्वास अनुरुप आत्मा गर्भावस्थाको समयमा वा जन्मको समयमा शरीरमा प्रवेश गर्छ। मिस्रका केही ग्रन्थहरूले गर्भमा आत्माको प्रवेशलाई गर्भाधान (Conception) को समय भनी उल्लेख गरेको भेटिन्छ। मृत्यु पछि, बा (Ba) दुआत (Duat) भन्ने पारलौकिक संसारमा जान्छ। मिस्रको धार्मिक विश्वासमा दुआत (Duat) एक पारलौकिक संसार (Underworld) हो, जहाँ मृत्यु पछि आत्माले (Soul) न्यायको सामना गर्ने अभिप्रायले यात्रा गर्दछ। दुआत (Duat) मा रहेको असिरिस (Osiris) को अदालतमा आत्माको न्याय (Judgment) गरिन्छ। यदि आत्मा पवित्र ठहरियो भने, यो आरू (Aaru) नामक स्वर्गमा प्रवेश गर्छ। जसलाई सधैं सुखमय रहने जीवनको प्रतीक ठानिन्छ। तर, यदि आत्मा दोषी ठहरियो भने, त्यसलाई अममित (Ammit) नामक राक्षसले खान्छ र नष्ट हुन्छ।
मिस्रवासीहरूको मृत्यु पछिको जीवन (Afterlife) सम्बन्धमा गहिरो विश्वास जगाउन यहि अबधारणाको मूल भूमिका रहेको भेटिन्छ। जुन मिस्र समाजमा नैतिक जीवनको महत्त्व स्थापित गर्न कोशे ढुंगा बनेको समेत भेटिन्छ।
ग्रीक दर्शन मुख्य रूपमा ग्रीक दार्शनिकहरू, विशेषगरी प्लेटो (Plato), पाइथागोरस (Pythagoras) र ओर्फिक परम्परा (Orphism) को अवधारणाहरूबाट गहिरो रूपमा प्रभावित छ। यी दर्शनहरूले आत्मालाई (Soul) अमर (Immortal), ज्ञानको धारक (Bearer of Knowledge) र शरीरभन्दा अलग तत्त्वको रूपमा परिभाषित गर्छन्।
प्लेटोको दर्शनमा आत्मा (Soul) लाई अमर (Immortal), ईश्वरीय (Divine), र ज्ञानको धारक (Bearer of Knowledge) तत्त्वको रूपमा लिइएको छ। प्लेटोको अनुसार आत्मा आइडियाको संसार (World of Ideas) मा अवस्थित हुने तत्त्व हो। जहाँ आत्माले सत्य (Truth), सुन्दरता (Beauty) र पूर्ण ज्ञान (Perfect Knowledge) को अनुभूति गर्दछ। जब आत्मा मानव जन्मको समयमा शरीरमा प्रवेश गर्छ, तव यो भौतिक शरीरको सीमाहरूमा बाँधिन पुग्दछ। जसलाई प्लेटोले आत्मा भौतिक शरीरलाई कारागार (Prison) मा पर्ने गर्दछ भनी चित्रण हरेका छन्।
प्लेटोको अनुसार शरीरका इन्द्रियहरू (Senses), इच्छाहरू (Desires) र भौतिक आवश्यकताहरूले आत्मालाई सत्य र ज्ञानबाट टाढा राखिदिन्छ। जस्तै उदाहरणका लागि, प्लेटोले आत्मालाई सूर्यको प्रकाशसँग तुलना गर्छन्। आइडियाको संसारमा आत्मा पूर्ण उज्यालोमा रहन्छ। तर जव त्यो शरीरमा प्रवेश गर्दछ तव भौतिक संसारको अंधकारमा पर्छ। शरीरका इन्द्रियहरूले आत्मालाई भौतिक सुख, दुख र मायामा फसाउँछन। जसले गर्दा आत्माले आफ्नो वास्तविक स्वरूप र सत्यको ज्ञानलाई बिर्सिन्छ। प्लेटोको बुझाइ अनुसार, दर्शन (Philosophy), नैतिक जीवन (Ethical Life) र सत्यको खोज (Search for Truth) मार्फत आत्माले यो कारागारबाट मुक्ति (Liberation) प्राप्त गर्न सक्छ। यो मुक्तिलाई प्लेटोले आत्माको आइडियाको संसार मा फर्कने प्रक्रियाको रूपमा हेर्छन्।
पाइथागोरस (Pythagoras) र ओर्फिक परम्परा (Orphism) मा पनि यस्तै समकक्षी विचार पाइन्छ। यी दर्शनहरूले समेत आत्मालाई पुनर्जन्म (Reincarnation) को चक्रमा बाँधिएको चिज मान्दछन। हरेक वा प्रत्येक जन्ममा आत्मा नयाँ शरीरमा प्रवेश गर्छ। हरेक पटक शरीरको अस्थायी बन्धनमा (Temporary Bondage) आत्मा फस्ने अबधारणा स्वीकारिने गर्दछ। उदाहरणका लागि, पाइथागोरसले दाबी गर्थे कि उनले आफ्नो पूर्वजन्मको सम्झना गर्न सक्दथे। उनका अनुसार उनि आफ्नो पूर्वजन्ममा ट्रोजन युद्धमा योद्धा युफोर्बस (Euphorbus) को रूपमा आफ्नो जीवन बिताएका थिए। त्यसको सम्झना उनीसंग तत्कालिन समयमा ताजै थियो।
ओर्फिक परम्परामा समेत आत्माको शुद्धीकरण (Purification) वा एपोकाथार्सिस (Epokatharsis) मार्फत पुनर्जन्मको चक्रबाट मुक्त हुने विश्वास लिने गरिन्छ। पाइथागोरस (Pythagoras) र ओर्फिक परम्परा (Orphism) मा समेत शरीरलाई आत्माको लागि कारागारको रूपमा लिइन्छ। त्यसको कारण आत्मालाई शरीरले भौतिक संसार संग बाँधिदिने भएकोले हो भन्ने विस्वास गरिन्छ।
ग्रीक दर्शनमा आत्मा जन्मको समयमा शरीरमा प्रवेश गर्छ, र यसको मुक्ति नैतिक जीवन र बौद्धिक खोजमा निर्भर हुन्छ। उदाहरणका लागि, ग्रीक दार्शनिकहरूले ध्यान र शुद्ध जीवनशैलीलाई आत्माको मुक्तिको माध्यम मान्दछन। यो विश्वास सनातन वैदिक हिन्दु धर्मको पुनर्जन्मसँग समान छ। तर ग्रीक दर्शनमा भने अधिक दार्शनिक चिन्तन र ज्ञानको खोजलाई महत्त्व दिइन्छ। प्लेटोको सन्दर्भमा आत्मा मुलत: सत्यको खोज र बौद्धिक जागरण (Intellectual Awakening) मा केन्द्रित हुन्छ।
वैदिक सनातन हिन्दु धर्ममा आत्मा (Atman) लाई नाशरहित र अनन्त तत्त्व मानिन्छ। यो कहिल्यै नष्ट हुँदैन, न त यसको जन्म वा मृत्यु हुन्छ। आत्मा सधैं अवस्थित रहन्छ, चाहे शरीर नष्ट भए पनि। उदाहरणका लागि, भगवद्गीता (Bhagavad Gita) मा श्रीकृष्णले अर्जुनलाई बताउँछन् कि आत्मालाई "न हतियारले काट्न सकिन्छ, न आगोले जलाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ, न हावाले सुखाउन सकिन्छ" (गीता २:२३), जसले आत्माको अमर प्रकृतिलाई स्पष्ट गर्छ।
आत्मा अपरिवर्तनीय छ, अर्थात् यो समय, परिस्थिति, वा बाहिरी प्रभावले परिवर्तन हुँदैन। शरीर बुढो हुन्छ, रोगी हुन्छ, वा नष्ट हुन्छ, तर आत्मा सधैं उस्तै रहन्छ। यो शुद्ध, चेतन, र अपरिवर्तनीय तत्त्व हो। उदाहरणका लागि, शरीर जस्तोसुकै अवस्थामा भए पनि (बाल्यकाल, युवावस्था, वा वृद्धावस्था), आत्माको स्वरूपमा कुनै परिवर्तन आउँदैन। यो विचार उपनिषद् (Upanishads) मा बारम्बार व्यक्त गरिएको अबधारणा अनुरुप आत्मा सधैं स्थिर र शाश्वत तत्त्व हुने गर्दछ।
वैदिक दर्शन अनुरुप आत्मा (Atman) परम सत्य वा ब्रह्म (Brahman) को अभिन्न अंश हो। जहाँ ब्रह्म विश्वको परम तत्त्व हो, जुन सर्वव्यापी, अनन्त, र सृष्टिको आधारको रुपमा रहेको छ। आत्मा त्यही ब्रह्मको एक हिस्सा हो, जुन प्रत्येक प्राणीमा अवस्थित छ। उदाहरणको लागि छान्दोग्य उपनिषद् (Chandogya Upanishad) मा "तत्त्वमसि" (तिमी त्यही हौ) भन्ने महावाक्य छ। जसको अर्थ हो आत्मा र ब्रह्म एकै कुरा हो। जस अनुसार आत्मालाई समुद्रको पानी र त्यसको छालसँग तुलना गर्न सकिन्छ। जहाँ छाल समुन्द्र भन्दा अलग देखिए पनि त्यो समुद्रकै एक हिस्सा हो। समुन्द्र भन्दा पृथक कुरा होइन।
आत्मा शरीर (Body) भन्दा पूर्ण रूपमा भिन्न र अलग तत्त्व हो। शरीर भौतिक, नश्वर (नाश हुने) र परिवर्तनशील छ। तर आत्मा अभौतिक, अमर, र अपरिवर्तनीय छ। शरीरलाई आत्माले प्रयोग गर्छ। जसरि एक व्यक्तिले कपडा लगाउँछ र फेर्द्छ त्यसरीनै आत्माले शरीरको बहन गर्दछ। बारम्बार फेर्दछ। त्यसैले जब शरीर नष्ट हुन्छ, आत्माले नयाँ शरीर धारण गर्छ। कठोपनिषद् (Kathopanishad) मा उल्लेख भए अनुसार आत्मा जीवन रुपी रथको मालिकको रुपमा र शरीर भने रथको रूपको भूमिकामा रहन्छ। जहाँ आत्माले शरीरलाई नियन्त्रण गर्छ।
आत्माको स्वरूप अनन्त छ, अर्थात् यो समय र स्थानको सीमाभन्दा बाहिरि सीमामा रहेर कार्यरत रहन्छ। समय र स्थानको यसमा कुनै प्रभाव रहदैन। यो न कुनै निश्चित आकारमा सीमित छ, न त कुनै समयमा बाँधिएको छ। आत्मा सर्वव्यापी (Omnipresent) र सधैं अवस्थित रहने चिज हो। मुण्डक उपनिषद् (Mundaka Upanishad) मा व्यक्त गरिए अनुसार आत्मा अनन्त र सर्वत्र फैलिएको चेतनाको रूपमा रहने गर्दछ। जसलाई ब्रह्माण्ड चेतना समेत भन्न सकिन्छ। जस अनुसार आत्मालाई आकाशसँग समेत तुलना गर्न सकिन्छ। जुन सबैतिर फैलिएको हुन्छ र कुनै भौतिक सीमाले बाँधिँएको हुदैन। न त कुनै आकार नै हुन्छ।
वैदिक सनातन हिन्दु धर्ममा आत्मा (आत्मन्, Atman) को अवधारणा र यसको शरीरमा प्रवेश गर्ने समय तथा प्रक्रियालाई गहिरो दार्शनिक र आध्यात्मिक दृष्टिकोणबाट व्याख्या गरिएको छ। ऋग्वेद (Rigveda) र गर्भोपनिषद् (Garbhopanishad) जस्ता प्राचीन ग्रन्थहरूमा आत्माको शरीरमा प्रवेश र यसको प्रकृतिबारे विस्तृत रूपमा उल्लेख गरिएको छ। यी ग्रन्थहरूले आत्माको गर्भावस्थामा प्रवेश, कर्म (Karma) को नियम, र मोक्ष (Moksha) को मार्गलाई स्पष्ट गर्छन्।
ऋग्वेद (Rigveda) र गर्भोपनिषद् (Garbhopanishad) जस्ता वैदिक ग्रन्थहरूमा उल्लेख गरिएको छ कि आत्मा गर्भावस्थाको तेस्रो महीनामा भ्रूणमा प्रवेश गर्छ। गर्भोपनिषद् मा यो प्रक्रियालाई क्रमिक विकास (Gradual Development) को रूपमा वर्णन गरिएको छ, जहाँ भ्रूणको शारीरिक विकाससँगै आत्माले चेतना (Consciousness) प्राप्त गर्छ। उदाहरणका लागि, गर्भोपनिषद्मा भनिएको छ कि गर्भमा भ्रूणको शारीरिक संरचना बन्दै जाँदा, आत्माले चेतनाको रूपमा प्रवेश गर्छ, जसले भ्रूणलाई जीवन्त बनाउँछ।
यो प्रक्रिया गर्भको तेस्रो महीनामा विशेष रूपमा जोडिएको छ, किनभने यो समयमा भ्रूणको शारीरिक र मानसिक विकास तीव्र हुन्छ। यो विश्वासले आत्मालाई चेतनाको आधारभूत स्रोत (Source of Consciousness) को रूपमा प्रस्तुत गर्छ, जुन भौतिक शरीरमा प्रवेश गरेर जीवको रूपमा प्रकट हुन्छ।
वैदिक दर्शनमा आत्मा कर्म (Karma) को नियमद्वारा निर्देशित हुन्छ। कर्मको आधारमा आत्माले नयाँ शरीरमा प्रवेश गर्छ र मानव, पशु, वा अन्य जीवको रूपमा जन्म लिन्छ। यो प्रक्रिया कुनै संयोग (Coincidence) होइन, बरु आत्माले आफ्नो पूर्वजन्मको कर्मअनुसार नयाँ जन्मको छनौट गर्छ।
उदाहरणका लागि, यदि कुनै व्यक्तिले आफ्नो जीवनमा सत्कर्म (Virtuous Deeds) गरेको छ भने, उसको आत्माले मानव रूपमा उच्च स्तरको जन्म (जस्तै विद्वान वा साधुको रूपमा) प्राप्त गर्न सक्छ। तर, यदि कर्म नकारात्मक छ भने, आत्माले पशु वा दुखमय जीवनको रूपमा जन्म लिन सक्छ।
कर्मको नियमलाई कठोपनिषद् (Kathopanishad) मा पनि जोड दिइएको छ, जहाँ आत्मालाई कर्मको आधारमा विभिन्न गतिहरू (Destinies) मा जाने तत्त्वको रूपमा वर्णन गरिएको छ। यो छनौट आत्माको स्वतन्त्र इच्छा (Free Will) र कर्मको संयोजन हो, जसले आत्माको यात्रालाई निर्देशित गर्छ।
वैदिक दर्शनमा आत्मालाई नाशरहित (Indestructible) र शरीरभन्दा अलग तत्त्व मानिन्छ। भगवद्गीता (Bhagavad Gita) मा श्रीकृष्णले अर्जुनलाई बताउँछन् कि आत्मा अमर छ र शरीरलाई केवल वस्त्र (Garment) को रूपमा प्रयोग गर्छ। जसरी मानिसले पुरानो लुगा फेरेर नयाँ लगाउँछ, त्यसरी नै आत्माले पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्छ।
उदाहरणका लागि, जब कुनै व्यक्ति मर्छ, उसको शरीर नष्ट हुन्छ, तर आत्मा अर्को जन्ममा नयाँ शरीरमा प्रवेश गर्छ। यो प्रक्रिया पुनर्जन्म (Reincarnation) को चक्रको रूपमा चिनिन्छ, जुन कर्मद्वारा संचालित हुन्छ। यो विचारले आत्मालाई अनन्त (Eternal) र शरीरलाई अस्थायी (Temporary) संरचनाको रूपमा प्रस्तुत गर्छ।
वैदिक दर्शनमा जीवनको अन्तिम लक्ष्य मोक्ष (Moksha) हो, जुन आत्माको ब्रह्म (Brahman) सँग एकीकरण (Union) को अवस्था हो। ब्रह्म विश्वको परम सत्य (Ultimate Reality) हो, र आत्मा त्यसकै अंश हो। धर्म (Dharma), ज्ञान (Jnana), र भक्ति (Bhakti) मार्गहरूले आत्मालाई यो एकीकरणतर्फ डोर्याउँछ।
उदाहरणको लागि एक साधकले ध्यान (Meditation) र योग (Yoga) को अभ्यासद्वारा आत्मालाई शुद्ध (Purify) गर्न सक्छ। यो शुद्धीकरणले आत्मालाई कर्मको बन्धन (Bondage of Karma) बाट मुक्त गर्छ र मोक्षको मार्ग खोल्छ। मुण्डक उपनिषद् (Mundaka Upanishad) मा आत्मालाई ब्रह्मसँग एक हुने प्रक्रियालाई नदी र समुद्रको मिलनसँग तुलना गरिएको छ—जसरी नदी समुद्रमा विलीन भएर आफ्नो अलग अस्तित्व गुमाउँछ, त्यसरी नै आत्मा ब्रह्ममा विलीन हुन्छ। त्यो यथार्थमा मोक्षको अवस्था अर्थात् पुनर्जन्मको चक्रबाट मुक्ति हो।
वैदिक दर्शनको पुनर्जन्मको अवधारणा ग्रीक दर्शन, विशेषगरी प्लेटो (Plato) र पाइथागोरस (Pythagoras) को विचारसँग समान देखिन्छ। ग्रीक दर्शनमा पनि आत्मालाई अमर (Immortal) र पुनर्जन्मको चक्रमा बाँधिएको मानिन्छ। तर, वैदिक दर्शनमा कर्म (Karma) र मोक्ष (Moksha) को अवधारणा अधिक केन्द्रित छ। ग्रीक दर्शन, विशेषगरी प्लेटोको दर्शनमा, आत्माको मुक्ति (Liberation) दार्शनिक चिन्तन (Philosophical Contemplation) र सत्यको खोज (Search for Truth) मा निर्भर हुन्छ, जबकि वैदिक दर्शनमा कर्म, धर्म, ज्ञान, र भक्तिको संयोजनले मोक्ष प्राप्त हुन्छ। प्लेटोले बताएको आत्माको आइडियाको संसार (World of Ideas) मा फर्कने लक्ष्य, वैदिक दर्शनमा आत्मा ब्रह्मसँग एकीकरण हुने तर्क समान रुपमा बुझ्न सकिने बिषय बस्तु हुन्। यसले वैदिक दर्शनलाई ग्रीक दर्शनको तुलनामा अधिक आध्यात्मिक (Spiritual) र कर्मकेन्द्रित (Karma-Centric) रहेको कुराको पुष्टि गर्दछ।
छान्दोग्य उपनिषद् (Chandogya Upanishad) को "तत्त्वमसि" (Thou Art That) महावाक्यको अवधारणा ग्रीक दर्शनको तुलनामा अधिक आध्यात्मिक छ, किनभने ग्रीक दर्शनमा आत्मालाई बौद्धिक र दार्शनिक खोजसँग सिमित गरिएको छ। तर वैदिक दर्शनमा कर्म, योग, र भक्तिको माध्यमबाट आत्माको शुद्धीकरण र ब्रह्मसँगको एकीकरण हुने अबधारणा समाबेस छ।
वैदिक सनातन हिन्दु धर्म अनुरुप आत्मा गर्भावस्थाको तेस्रो महीनामा शरीरमा प्रवेश गर्छ। यो तथ्य गर्भोपनिषद् मा वर्णित भ्रूणको क्रमिक विकाससँग सम्बन्धित चर्चाहरुमा उल्लेखित भेटिन्छ। आत्मा कर्मको नियमद्वारा निर्देशित हुन्छ र त्यसैको आधारमा मानव, पशु, वा अन्य जीवको रूपमा जन्म लिन्छ। यो प्रक्रिया कर्मको संयोजनको क्रममा आत्माको स्वयं छनौट वाट हुने गर्दछ।
भगवद्गीतामा आत्मालाई नाशरहित र शरीरलाई वस्त्रको रूपमा वर्णन गरिएको छ, जसले आत्माको अमर प्रकृतिलाई जोड दिन्छ। धर्म, ज्ञान, र भक्ति मार्गहरूले आत्मालाई मोक्ष तर्फ डोर्याउँछ, जुन ब्रह्मसँगको एकीकरण हो। यो विश्वास ग्रीक दर्शनको पुनर्जन्मसँग समान भए पनि, वैदिक दर्शन कर्म र मोक्षको अवधारणामा केन्द्रित छ, जसले यसलाई अधिक आध्यात्मिक र कर्मकेन्द्रित बनाउँछ।
एक साधकले ध्यान र योग द्वारा आत्मालाई शुद्ध गरेर मोक्षको मार्गमा अघि बढ्न सक्छ, जसले आत्मालाई परम सत्यसँग जोड्न सक्दछ भन्ने वैदिक दर्शन ग्रीक दर्शनको तुलनामा अत्याधिक गहिरो कर्म र ब्रह्म सँगको एकतामा आधारित बिकल्प युक्त उच्च आध्यात्मिक विचारधारा हो।
बौद्ध धर्ममा आत्मा (आत्मन्, Atman) को अवधारणा र यसको सम्बन्धलाई वैदिक सनातन हिन्दु धर्मको तुलनामा फरक तरिकाले व्याख्या गरिएको छ। बौद्ध धर्मले परम्परागत आत्माको अवधारणालाई पूर्ण रूपमा अस्वीकार गर्छ र अनात्मन (Anatman) को सिद्धान्तलाई जोड दिन्छ। यो सिद्धान्तले आत्माको स्थायी वा अमर अस्तित्वलाई नकार्छ र चेतनाको धारा (विज्ञान सन्तान, Vijnana Santana) लाई जीवन र पुनर्जन्मको आधार मान्छ।
बौद्ध धर्ममा परम्परागत रूपमा आत्मा (Atman) लाई अमर, अपरिवर्तनीय र स्थायी तत्त्वको रूपमा मान्ने वैदिक विश्वासलाई पूर्ण रूपमा अस्वीकार गरिन्छ। बौद्ध दर्शनले अनात्मन (Anatman) को सिद्धान्तलाई अगाडि सार्छ, जसको अर्थ "आत्माको स्थायी उपस्थिति छैन" भन्ने हो। यसको मतलब यो हो कि कुनै पनि स्थायी, अपरिवर्तनीय, वा स्वतन्त्र आत्मा (Soul) को अस्तित्व हुँदैन। बरु, मानव जीवन र चेतना भनेको पाँच स्कन्धहरू (Pancha Skandhas: रूप, वेदना, संज्ञा, संस्कार, र विज्ञान) को संयोजन हो, जुन निरन्तर परिवर्तनशील र अनित्य (Impermanent) हुन्छ। उदाहरणका लागि, जसरी पानीको नदी निरन्तर बग्छ तर त्यसको पानी हरेक क्षण बदलिन्छ, त्यसरी नै मानव चेतना पनि निरन्तर परिवर्तन हुन्छ, र त्यहाँ कुनै स्थायी आत्मा हुँदैन। यो विचार बुद्धको मूल शिक्षाको केन्द्रमा छ, जसले सबै कुरालाई अनित्य (Impermanent) र परिवर्तनशील मान्छ।
बौद्ध धर्ममा आत्माको सट्टा चेतनाको धारा (Vijnana Santana) लाई जीवन र पुनर्जन्मको आधार मानिन्छ। यो चेतनाको धारा गर्भधारण (Conception) को पहिलो क्षणदेखि नै भ्रूणमा प्रवेश गर्छ। यो चेतनाको धारा स्थायी आत्मा होइन, बरु एक निरन्तर प्रवाह हो, जसले एक जीवनबाट अर्को जीवनमा चेतनालाई स्थानान्तरण गर्छ। बौद्ध ग्रन्थहरूमा यो प्रक्रियालाई दीपकको ज्योति (Flame of a Lamp) सँग तुलना गरिएको छ।
उदाहरणका लागि, जब एउटा दीपकको ज्योति अर्को दीपकमा सर्छ, त्यो ज्योति न त पूर्ण रूपमा उही हुन्छ, न त पूर्ण रूपमा फरक। त्यसरी नै, चेतनाको धारा एक जीवनबाट अर्को जीवनमा सर्छ, तर यो कुनै स्थायी आत्मा होइन। यो निरन्तर प्रवाह पूर्वजीवनको कर्म (Karma) र तृष्णा (Tanha, Craving) मा आधारित हुन्छ। उदाहरण स्वरूप, यदि कुनै व्यक्तिको जीवनमा लोभ, क्रोध, वा अज्ञानता (Ignorance) प्रबल छ भने, त्यो तृष्णाले उसको चेतनाको धारालाई नयाँ जन्ममा दुखमय जीवन (जस्तै गरिबी वा कष्टपूर्ण अवस्था) तर्फ डोर्याउँछ।
बौद्ध दर्शनमा चेतनाको धारा कर्म (Karma) र तृष्णा (Tanha, Craving) द्वारा संचालित हुन्छ। कर्मले व्यक्तिको विगतका कार्यहरू (Actions) लाई प्रतिनिधित्व गर्छ, जसले उसको चेतनाको धारालाई प्रभावित गर्छ। तृष्णा भनेको इच्छा, लोभ, वा आसक्ति हो, जसले चेतनाको धारालाई पुनर्जन्मको चक्र (Samsara) मा बाँध्छ। उदाहरणका लिएर, यदि कुनै व्यक्ति आफ्नो जीवनमा धन, सुख, वा शक्तिको लागि तीव्र इच्छा राख्छ भने, त्यो तृष्णाले उसको चेतनाको धारालाई नयाँ जन्ममा यस्तै परिस्थितितर्फ लैजान्छ। यो नयाँ जन्म सुखमय वा दुखमय हुन सक्छ, तर यो तृष्णाकै कारण निरन्तर हुन्छ। बुद्धले सिकाएका छन् कि यो तृष्णा र अज्ञानता (Ignorance) नै दुख (Dukkha) को कारण हो। यो विचार वैदिक दर्शनको कर्मको अवधारणासँग समान छ, तर वैदिक दर्शनमा कर्मले स्थायी आत्मालाई प्रभावित गर्छ, जबकि बौद्ध धर्ममा कर्मले चेतनाको धारालाई प्रभावित गर्छ।
बौद्ध धर्ममा निर्वाण (Nirvana) चेतनाको धारा रोकिने अवस्था हो। यो तृष्णा (Craving) र अज्ञानताबाट पूर्ण मुक्ति (Liberation) को अवस्था हो, जसले पुनर्जन्मको चक्र (Samsara) लाई अन्त्य गर्छ। निर्वाणलाई वैदिक दर्शनको मोक्ष (Moksha) सँग तुलना गर्न सकिन्छ, तर यी दुईमा आधारभूत भिन्नता छ। वैदिक मोक्षमा आत्मा ब्रह्म (Brahman) सँग एकीकरण हुन्छ, जबकि बौद्ध निर्वाणमा कुनै स्थायी आत्मा हुँदैन, र यो चेतनाको धारा पूर्ण रूपमा शान्त हुने अवस्था हो। उदाहरणको रुपमा बुद्धको जीवनलाई हेरौं: उनले ४५ वर्षसम्म ध्यान (Meditation), शील (Ethics), र प्रज्ञा (Wisdom) को अभ्यास गरेर निर्वाण प्राप्त गरे, जसले उनलाई पुनर्जन्मको चक्रबाट मुक्त गरायो। बौद्ध ग्रन्थहरूमा निर्वाणलाई "ज्योति निभेको" अवस्थासँग तुलना गरिन्छ, जस्तै दीपकको आगो निभ्दा कुनै चिन्ह बाँकी रहँदैन। यो अवस्था प्राप्त गर्न ध्यान, शील, र प्रज्ञा को अभ्यास आवश्यक छ। उदाहरणका लागि, एक बौद्ध भिक्षुले ध्यानद्वारा आफ्नो मनलाई शान्त गर्छ र तृष्णालाई हटाउँछ, जसले निर्वाणको मार्ग खोल्छ।
बौद्ध र वैदिक दर्शनमा पुनर्जन्म (Reincarnation) को अवधारणा समान छ, किनभने दुवैले कर्म (Karma) को आधारमा नयाँ जन्म हुने विश्वास गर्छन्। तर, बौद्ध धर्मले आत्माको सट्टा चेतनाको धारा (Vijnana Santana) र अनित्यता (Impermanence) मा जोड दिन्छ। वैदिक दर्शनमा आत्मा अमर र ब्रह्मको अंश हो, तर बौद्ध दर्शनमा कुनै स्थायी आत्मा हुँदैन, र सबै कुरा अनित्य छ।
बुद्धले आफ्ना शिष्यहरूलाई सिकाए कि "सबै संन्यासी (संस्कार) अनित्य छन्" (सब्बं अनिच्चं, Sabbaṃ Aniccaṃ) र यो अनित्यताको बोध नै निर्वाणको मार्ग हो। वैदिक दर्शनमा आत्मा ब्रह्मसँग एक हुने लक्ष्य राख्छ, तर बौद्ध दर्शनमा तृष्णा र अज्ञानताबाट मुक्ति नै निर्वाण हो। यो भिन्नताले बौद्ध दर्शनलाई वैदिक दर्शनभन्दा फरक बनाउँछ, किनभने बौद्ध धर्मले स्थायी आत्मालाई अस्वीकार गर्छ र अनित्यतामा जोड दिन्छ।
सबै सन्न्यासी (संस्कार) अनित्य छन् (सब्बं अनिच्चं) भन्नुको को अर्थ हो, "सबै कुरा अनित्य छ" वा "कुनै पनि चीज सधैँ रहँदैन।" यो बुद्धले आफ्ना शिष्यहरूलाई सिकाएको कुरा हो। यसले यो बताउँछ कि जीवनका सबै चीजहरू जस्तै मानिस, वस्तु, भावना र अनुभव अस्थायी छन्। निरन्तर परिवर्तन भइरहन्छन्। यो अनित्यताको बोध गर्नु र स्वीकार गर्नु लाई बुद्धले निर्वाण प्राप्त गर्ने जरुरी हुने महत्त्वपूर्ण पूर्वाधार रहेको सन्देश दिए।
बुद्धका अनुसार दुखबाट मुक्तिको अवस्था र अन्तिम शान्ति वाट निर्वाण प्राप्त हुन्छ । बुद्धले सिकाउनु भयो कि संसारमा रहेका कुरा, चाहे त्यो भौतिक होस् (जस्तै रूख वा घर) वा मानसिक होस् (जस्तै भावना वा विचार) कुनै पनि सधैँ एकनास रहँदैन। चीजहरू उत्पन्न हुन्छन्, केही समय रहन्छन् र त्यसपछि नष्ट हुन्छन्। यो सत्य बुझेर हामीले चीजहरू प्रतिको आशक्तिबाट आफूलाई मुक्त राख्न सक्छौँ। जसले दुख कम गर्छ। दर्द वा सफ़रिङ्ग को जन्म हुने वीज निवारण गर्दछ। व्यक्तिलाई निर्वाणको बाटोमा लैजान्छ।
यसलाई सहज रूपमा अनुभूति गर्न कल्पना गर्नुहोस्, तपाईँले एउटा सुन्दर नयाँ फोन किन्नुभयो। तपाईँ त्यसबाट धेरै खुसी हुनुहुन्छ। तपाईँ यो विश्वासमा हुनु हुन्छ कि त्यसले सधैँ तपाईँलाई खुसी बनाइरहन्छ। तर केही समयपछि त्यो फोन पुरानो हुन्छ। ब्याट्री कमजोर हुन्छ वा बिग्रिन्छ। त्यसले तपाईँलाई दुखी वा निराश महसुस गराउन सक्दछ किनभने तपाईँ यो विश्वासमा हुनु हुन्थ्यो कि त्यसले सधैँ तपाईँलाई खुसी बनाइरहन्छ। तपाइको त्यो सोचले तपाईँ त्यो फोनप्रति आसक्त बनाइदिएको थियो।
बुद्धको "सब्बं अनिच्चं" को शिक्षाले तपाइलाई त्यो फोन तपाइको हातमा पर्नु अघि नै महसुस गराउने गर्दछ कि फोन मात्र होइन तपाईँ संग हाल भएको तपाइको शरीर लगायतको सबै कुरा, अनित्य छ। यो नियमित परिवर्तन भई रहन्छ। सधैँ तपाई संग रहिरहदैन। एक दिन यसलाई त्याग्नुपर्ने क्षण आउने छ। जब तपाईँले यो कुरा सुरुमै बुझ्नु हुन्छ, त्यसलाई मनन गरी स्वीकार गर्नु हुन्छ, तव तपाईँको फोन बिग्रनु तपाइको लागि आशा गरिएको घटना बन्छ। त्यस प्रति तपाइ आसक्त हुने परिस्थिति बन्द हुन्छ। फोन गुम्दा खासै दु:ख महसुस हुने गर्दैन। एकै घटना बारे फरक किसिमको बुझाइले तपाईँलाई शान्त र सन्तुलित रहन मद्दत गर्दछ। जुन निर्वाणको बाटोमा तपाइको जीवनको यात्रा हो।
बुद्धको अबधारणा अनुरुप मानौं, एक व्यक्ति आफ्नो जीवनमा धन र सुखको लागि तीव्र तृष्णा राख्छ। जब ऊ मर्छ, उसको चेतनाको धारा, जुन कर्म र तृष्णाले प्रभावित छ, नयाँ जन्ममा प्रवेश गर्छ। यो नयाँ जन्ममा ऊ धनी वा गरिब हुन सक्छ। तर तृष्णाले उसलाई पुनर्जन्मको चक्रमा बाँधिरहन्छ। यो प्रक्रिया दीपकको ज्योति जस्तै हो—जब एक दीपक निभ्छ, त्यसको ज्योति अर्को दीपकमा सर्छ, तर यो उही ज्योति होइन, न त पूर्ण रूपमा फरक। बुद्धले सिकाए कि, यो चक्रलाई तोड्न ध्यान, शील, र प्रज्ञाको अभ्यास आवश्यक छ। एक बौद्ध साधकले त्यसैले ध्यानद्वारा आफ्नो मनलाई तृष्णा र अज्ञानताबाट मुक्त पार्ने कोशिश गर्दछ। जसले उसलाई निर्वाणको अवस्थामा पुर्याउँछ। जहाँ निर्वाण भनेको दुख र पुनर्जन्मको चक्रबाट पूर्ण मुक्ति हो।
बौद्ध धर्मले आत्माको परम्परागत अवधारणालाई अस्वीकार गर्छ र अनात्मन (Anatman) को सिद्धान्तलाई जोड दिन्छ, जसले स्थायी आत्माको अनुपस्थितिलाई संकेत गर्छ। चेतनाको धारा (Vijnana Santana) गर्भधारणको पहिलो क्षणदेखि प्रवेश गर्छ र कर्म (Karma) र तृष्णा (Tanha) द्वारा संचालित हुन्छ। यो धारालाई दीपकको ज्योतिको प्रज्वलनसँग तुलना गरिन्छ। निर्वाण (Nirvana) चेतनाको धारा रोकिने अवस्था हो, जुन तृष्णा र अज्ञानताबाट मुक्ति हो। यो वैदिक मोक्ष (Moksha) भन्दा फरक छ, किनभने बौद्ध धर्ममा आत्माको सट्टा अनित्यता र चेतनाको धारामा जोड दिइन्छ। ध्यान, शील, र प्रज्ञा को अभ्यासले निर्वाण प्राप्त हुन्छ। बौद्ध र वैदिक दर्शनमा पुनर्जन्मको अवधारणा समान भए पनि, बौद्ध धर्मको अनित्यता र अनात्मनको सिद्धान्तले यसलाई वैदिक दर्शनभन्दा पृथक र अधिक अनुभवकेन्द्रित बनाउँछ।
एक गहिरो र प्रकृतिकेन्द्रित आध्यात्मिक दृष्टिकोण ताओवादी दर्शन (Taoist Philosophy) मा भेटिन्छ। ताओवादी दर्शनले व्यक्तिलाई जीवन, आत्मा र समग्र प्राकृतिक नियम (Universal Natural Order) लाई बुझेर त्यसै सँग सामञ्जस्य कायम राखेर जीवन यापन गर्न सल्लाह दिन्छ। ताओवादी दर्शनमा मानव जीवन प्रकृतिको अभिन्न अंगको रूपमा रहेको मान्दछ। ताओ (Dao) को अर्थ ब्रह्माण्डको आधारभूत र अनन्त नियमको अनुसरण द्वारा जीवनमा सन्तुलन र शान्ति प्राप्त गर्न सकिन्छ भन्ने तथ्यमा विश्वास गर्छ। ताओवादी दर्शनमा आत्मालाई दुई मुख्य भागमा विभाजित गरिएको छ। हुन (Hun) र पो (Po)। जसले मानव आत्माको सूक्ष्म र स्थूल पक्षको प्रतिनिधित्व गर्छ। ताओवादी अवधारणा अन्य प्राचीन दर्शनहरू, जस्तै मिस्रवासीहरूको बा (Ba) र का (Ka) सँग मिलेको देखिन्छ। तर ताओवादले पुनर्जन्म (Reincarnation) मा भन्दा पनि दीर्घायु (Longevity) र प्रकृति सँगको एकतामा जोड दिन्छ।
ताओवादी दर्शन अन्तर्गत हुन (Hun) र पो (Po) गरि दुई भिन्न तर परस्पर सम्बन्धित भागमा बाँडिएको आत्माको हुन (Hun) ले आत्माको सूक्ष्म वा दिव्य (Divine) भाग लाइ संकेत गर्दछ। जुन जन्मको समयमा शरीरमा प्रवेश गर्छ र मानवको बौद्धिक, रचनात्मक र आध्यात्मिक पक्षसँग सम्बन्धित हुन्छ भन्ने विश्वास गरिन्छ। हुन (Hun) आत्माको त्यो अंश हो जुन मृत्यु पछि शरीर छोडेर आकाशतिर (Celestial Realm) जान्छ। जव व्यक्तिले हुन (Hun) लाई शुद्ध र परिष्कृत गर्न सक्दछ तव व्यक्तिले आध्यात्मिक उन्नति र ताओ (Dao) सँग एकताको अनुभुति गर्न सक्छ भन्ने मान्यता राखिन्छ।
पो (Po) आत्माको स्थूल (Physical) वा भौतिक पक्षको भाग हो जुन शरीरसँग गहिरो रूपमा जोडिएको हुन्छ। यो पृथ्वीसँग सम्बन्धित हुन्छ। मानिसको शारीरिक इच्छा, भावना, र भौतिक जीवन निर्माण सँग जोडिने गर्दछ। मृत्यु पछि, पो पनि शरीर सँगै पृथ्वीमा मिलन हुदै विलीन हुन्छ।
व्यक्तिको मनमा आउने हरेक रचनात्मक विचार (जस्तै कविता लेख्ने प्रेरणा) आदि लाइ ताओवादी दर्शनमा हुन (Hun) को अभिव्यक्ति मानिन्छ। जुन व्यक्तिको आत्माको सूक्ष्म र आध्यात्मिक पक्षसँग सम्बन्धित रहने विश्वास गरिन्छ। भोक लाग्दा व्यक्तिमा जागृत हुने खाना खाने चाहना वा अन्य शारीरिक सुखको चाहना भने पो (Po) को प्रभाव संग सम्बन्धित छ। जुन व्यक्तिको भौतिक शरीरसँग जोडिएको पक्ष हो। ताओवादी दर्शनले यी दुवै पक्षलाई सन्तुलनमा राखेर ताओ (Dao) को मार्ग अनुसरण गरेर व्यक्तिले आत्मालाई शुद्ध गर्न सक्दछ भन्ने बिश्वास लिने गर्दछ।
ताओवादी दर्शनको केन्द्रबिन्दु ताओ (Dao) हो जसले ब्रह्माण्डको प्राकृतिक नियम (Natural Law) लाई सबै कुराको स्रोत र सन्तुलनको कारक मान्दछ। ताओको अनुसरण गर्नु भनेको प्रकृतिको स्वाभाविक प्रवाहसँग बहनु, अप्राकृतिक तथा अनावश्यक इच्छा र अहङ्कारलाई त्याग्नु तथा जीवनमा सादगी पन सहित सामञ्जस्य कायम गर्नु हो। ताओवादीहरूमा ताओसँग एकाकार भएर आत्माको हुन (Hun) भागलाई शुद्ध गर्न सकिन्छ भन्ने गहिरो विश्वास भेटिन्छ। यसो गर्दा व्यक्तिले दीर्घायु (Longevity) प्राप्त गर्दछ। कतिपय अवस्थामा व्यक्तिले अमरत्व (Immortality) समेत प्राप्त सफल बन्दछ। ताओवादी बुझाइ अनुरूप अमरत्व भनेको शारीरिक रूपमा सधैँ बाँच्नु मात्र नभएर आत्माको आध्यात्मिक उन्नति र ब्रह्माण्ड मैत्री बन्दै ब्रह्माण्ड संग एकता हुन सक्ने अवस्था हो।
यसलाई उदाहरण सहित बुझ्न खोज्दा एक ताओवादी साधकले हरेक बिहान चिकुंग (Qigong) को किन अभ्यास गर्छन् त्यो कुरा बुझ्दा सहज हुने छ। चिकुंग (Qigong) एक प्रकारको शारीरिक तथा श्वासप्रश्वासको व्यायाम हो। यो अभ्यासले व्यक्तिको शरीर र मनलाई सन्तुलनमा राख्छ। जसले व्यक्तिको आत्माको हुन (Hun) भाग लाई शुद्ध गर्न मद्दत गर्छ। साथै, यो अभ्यासमा उनीहरू ध्यान (Meditation) समेत गर्ने गर्दछन्। जसले उनीहरूलाई ताओ (Dao) को गहिरो ज्ञानको अनुभूति गर्न सहज गर्दछ। समग्र अभ्यासले उनीहरूको जीवनमा शान्ति, स्वास्थ्य र प्रकृतिसँग सामञ्जस्य हुने प्रकृति मैत्री जीवन शैली विकास गरिदिने गर्दछ। जस्तै यस्तो अभ्यास अन्तर्गत यदि उनीहरू जङ्गल हुँदै बहने बग्ने नदीलाई हेरिरहने विकल्प छान्छन् भने त्यसको स्वाभाविक प्रवाहबाट उनीहरूले जीवन जिउने प्रेरणा लिन कोसिस गर्दछन्।
जसबाट उनीहरूले सकारात्मक रूपमा यो अनुभूति लिन सफल हुन्छन् कि जीवन पनि नदीजस्तै अविरल बगिरहन्छ। यसरी अविरल बगिरहने जीवन मैत्री भएर मैले जिउन सिक्नु पर्दछ। कसैको कुनै जबरजस्ती बिना यो प्रकृतिको नियम अनुरूप एकनास रूपमा बहने वातावरण लाई मैले स्विकारी त्यसमा सहयोगी बन्न सक्नु पर्दछ। यो प्रकृतिको सोच र त्यसलाई आफ्नो व्यवहारमा उतार्ने विधि लाई ताओ (Dao) को अनुसरण गरिएको ठानिन्छ। यस्तो प्रकृतिको शिक्षा लिने अवसर उनीहरू उनीहरूको जीवनमा सदैव उनीहरूकै करिविमा रहने जुन सुकै प्राकृतिक प्रक्रिया वाट सम्भव तुल्याउन सफल बन्दछन्।
ताओवादी दर्शनको आधारभूत ग्रन्थ ताओ ते चिङ (Tao Te Ching) ताओवादी दार्शनिक लाओत्से (Laozi) ले लेखेका थिए। यो ग्रन्थमा ताओ (Dao) लाई विश्वको आधारभूत नियमको रूपमा वर्णन गरेको छ। उनको अनुसार ताओ (Dao) आफैमा शब्दले पूर्ण रूपमा व्यक्त गर्न सकिने कुरा नभएकोले यसलाई जीवनमा अनुसरण गरेर जीवनमा शान्ति ल्याउन प्रकृति संग सन्तुलनमा ल्याउन जरुरी हुन्छ। ताओ ते चिङ (Tao Te Ching) मा भनिएको छ कि ताओ (Dao) को उपस्थिति सर्वत्र छ, तर यो रहस्यमय र सूक्ष्म रूपमा रहेको छ। यो ग्रन्थ अनुरूप जब व्यक्तिले जीवनमा सादगी, नम्रता र प्रकृति मैत्री रहेर प्रकृतिको स्वाभाविक प्रवाहसँग बाँच्ने जीवन पद्धति अपनाउन सक्दछ तव उसले आफ्नो आत्मालाई ताओ (Dao) सँग एकाकार गर्न सफल बन्दछ।
ताओ ते चिङ (Tao Te Ching) मा चिनियाँ संस्कृति र दर्शनका अत्यन्त प्रभावशाली प्राचीन दार्शनिक तथा लेखक लाओत्से (Laozi) लेख्छन् "ताओ जुन व्यक्त गर्न सकिन्छ, त्यो साँचो ताओ होइन।" यसको अर्थ यो हो कि ताओ (Dao) यति गहिरो र व्यापक छ कि शब्दहरूले यसलाई पूर्ण रूपमा बुझाउन र व्याख्या गर्न सकिँदैन। एक ताओवादी साधकले यो पढेर के बुझ्दछ भने ताओ (Dao) लाई बौद्धिक रूपमा बुझ्ने र व्याख्या तथा परिभाषाको सीमित दायरामा कैद गर्ने प्रयास गर्नुभन्दा व्यक्तिको प्रकृतिसँगको सम्बन्ध र एकाकार बारे गहिरो अनुभूति गर्न प्रकृतिसँगको सम्बन्ध बारे गहिरो ध्यान (Meditation) गरी प्रकृतिसँगको सम्बन्ध बारेको गहिरो अनुभूति गर्न जरुरी पर्ने छ।
जस्तै एक व्यक्तिले हरेक दिन सूर्योदय हेर्ने र त्यसको सुन्दरतामा रमाउने बानी बसाल्ने विधि अपनाउन सक्छ। प्रकृतिको स्वाभाविक सौन्दर्य र सन्तुलन रुपी ताओ (Dao) अनुभूति गर्न सक्दछन्। जसले गर्दा व्यक्तिले गहिरो र व्यापक रूपमा आफूलाई ताओ (Dao) संग परिचित र मैत्री बनाएर आत्मालाई शान्ति र अमरत्व (Immortality) गुणी भावना उन्मुख गर्न सक्दछ।
ताओवादी दर्शनको दुई भागमा बाँडिएको आत्माको अवधारणा मिस्रवासीहरूको बा (Ba) र का (Ka) को दुई भागमा बाँडिएको आत्माको अवधारणा सँग मिल्दछ। तर पुनर्जन्म (Reincarnation) मा विश्वास गर्ने मिस्रवासीहरू बा (Ba) आत्माको व्यक्तित्व र आध्यात्मिक पक्ष रहेको र का (Ka) जीवन शक्ति (Life Force) को पक्ष रहेको मान्यतामा विश्वास गर्दछन्। ताओवादमा पुनर्जन्म (Reincarnation) भन्दा पनि दीर्घायु (Longevity) र प्रकृतिसँगको एकता संग आत्माको साइनो हुने विश्वास गरिन्छ। ताओवादीहरूको विश्वास अनुरूप ताओ (Dao) को अनुसरणले आत्मालाई शुद्ध गर्न सकिन्छ। त्यस वाट यही जीवनमै अमरत्व (Immortality) को अनुभव गर्न सकिन्छ। त्यसको लागि अर्को जन्मको प्रतीक्षा गर्नु पर्दैन। जस्तै एक ताओवादी साधक र मिस्रवासी पुजारी दुवैले आत्मालाई शुद्ध गर्न ध्यान र अनुष्ठान गर्छन्। तर मिस्रवासी पुजारीले बा (Ba) लाई मृत्यु पछिको जीवनमा स्वर्गीय क्षेत्रमा पठाउन अनुष्ठान गर्छन्। जबकि ताओवादी साधकले चिकुंग (Qigong) र ध्यान (Meditation) मार्फत यो जीवनमै ताओ (Dao) सँग आफ्नो एकताको अनुभूति प्राप्त गर्दछन्। एक ताओवादी साधकले हिमालको शान्त वातावरणमा बसेर ध्यान गर्छन् र आफूलाई प्रकृतिको एक हिस्सा भएको महसुस गर्छन्। यो अनुभवले उनको आत्मालाई शुद्ध गर्छ र उनलाई ताओ (Dao) सँग जोड्छ। जुन उनको अमरत्व (Immortality) को एक रूप हो। उनको आत्माको भविष्य हो।
आत्मालाई हुन (Hun) र पो (Po) को रूपमा बुझ्ने ताओवादी दर्शन (Taoist Philosophy) ले ताओ (Dao) को अनुसरणद्वारा यी दुवै पक्षलाई सन्तुलनमा राखेर जीवनमा शान्ति, दीर्घायु (Longevity) र अन्ततः अमरत्व (Immortality) प्राप्त गर्न सकिनेमा विश्वास गर्छ। ताओ ते चिङ (Tao Te Ching) र लाओत्से (Laozi) को शिक्षाले प्रकृतिको स्वाभाविक प्रवाहसँग बाँच्न र सादगी जीवन अपनाउन व्यक्तिलाई गर्छ। चिकुंग (Qigong) र ध्यान (Meditation) जस्ता अभ्यासहरूले शारीरिक र आध्यात्मिक सन्तुलन कायम राख्न सकिने र त्यसो गर्दा आत्मालाई ताओ (Dao) सँग एकाकार गर्न मद्दत पुग्ने विश्वास गरिन्छ। जीवनको वास्तविक लक्ष्य भनेको प्रकृतिसँग सामञ्जस्यमा बाँच्नु र आत्मालाई शुद्ध गरेर विश्वको अनन्त नियम, ताओ (Dao) सँग एक हुनु हो भन्ने मान्यता विकास गर्न भूमिका खेल्दछ।
इसाई धर्ममा आत्मा (Soul) लाई ईश्वर (God) द्वारा सिर्जना गरिएको एक अमर (Immortal) र अदृश्य (Invisible) संरचना मानिन्छ। यो आत्मा मानव शरीर (Body) सँग अस्थायी रूपमा जोडिएको हुन्छ। आत्मा शरीरमा बास गर्छ, तर यो शरीरभन्दा अलग र शाश्वत (Eternal) हुन्छ। यहूदी-ईसाई परम्पराका अनुसार, आत्मा मानवलाई दिइएको विशेष उपहार हो किनभने मानवलाई "ईश्वरको स्वरूपमा" बनाइएको मानिन्छ (उत्पत्ति १:२६–२७)। प्राचीन ख्रीष्टियन दार्शनिकहरू, जस्तै सन्त अगस्टिन (St. Augustine) र थोमस अक्विनास (Thomas Aquinas) ले भनेका थिए कि जनावरहरूमा पनि केही प्रकारको चेतना र जीवन हुन्छ, तर त्यो आत्मा अमर (immortal) हुँदैन। उदाहरणका लागि, मानिस कुनै गल्ती गर्छ भने पश्चात्तापद्वारा आत्मा शुद्ध गर्न सकिन्छ, तर कुकुर वा बिरालोले पाप गरेको र पश्चात्ताप गरेको भन्ने कुरा इसाई शिक्षामा मानिंदैन। यसको मतलब मानवको आत्मा अन्य प्राणीहरूबाट फरक हुन्छ किनभने यो तर्क गर्न सक्छ, नैतिकता (morality) बुझ्छ र ईश्वरसँग सम्बन्ध (relationship with God) स्थापित गर्न सक्छ।
इसाई विश्वास अनुसार, आत्मा ईश्वरको विशेष सिर्जना हो । यो केवल मानवमा मात्र हुन्छ। इसाई धर्ममा परमेश्वरले सिर्जना गरेको एक अमर (immortal) र अदृश्य (invisible) आत्मा (soul) व्यक्तिको चेतना (Consciousness), व्यक्तित्व (Personality) र नैतिकता (Morality) निर्माणको आधार हो।
इसाई धर्ममा आत्मा कसरी शरीरमा आउँछ, आत्माको उत्पत्ति (Origin of the Soul) कसरि हुन्छ भन्ने विषयमा विभिन्न मतहरू छन्। पुरानो विश्वासअनुसार केही इसाईहरूले विश्वास गर्थे कि जब बच्चा गर्भमा हुन्छ, करिब ४० दिनपछि आत्मा शरीरमा प्रवेश गर्छ। गर्भमा बच्चा बनेको ४० दिन पुगेपछि मात्र आत्मा प्रवेश गर्छ । करिब ४० दिन अघि गर्भमा आत्मा हुँदैन भन्ने सोचिन्थ्यो। आधुनिक क्याथोलिकहरू भने गर्भाधान (Conception) को पहिलो क्षणदेखि नै आत्मा शरीरमा हुन्छ भन्ने मान्छन्। यसै कारणले क्याथोलिक चर्चले गर्भपतन (Abortion) लाई पाप (Sin) ठान्छ। गर्भाधानको पहिलो दिनदेखि नै आत्मा गर्भमा रहने भएकोले, गर्भपतनलाई जीवनको हत्या (Murder) को रूपमा लिइन्छ। गर्भवती महिलाले गर्भपतन गर्छिन् भने, क्याथोलिक चर्चको दृष्टिकोणमा यो आत्मा भएको जीवनको अन्त्य हो, जुन गम्भीर पाप ठानिन्छ।
आत्मा मानव शरीर (Body) सँग अस्थायी रूपमा बाँधिएको हुन्छ। जव शरीर मर्छ तव आत्मा ईश्वरको न्याय (Divine Judgment) सामु पुग्छ। स्वर्ग (Heaven), नरक (Hell) वा पर्गेटरी (Purgatory) को अबस्था वाट गुज्रन पर्दछ। जसको निर्धारण उसले जीवनमा गरेका कर्म (Actions) र विश्वास (Faith) मा आधारित हुन्छ। जस्तै यदि कुनै व्यक्ति नियमित रूपमा प्रार्थना गर्छ, आफ्नो पापप्रति पश्चात्ताप गर्छ र ईश्वरको आज्ञा पालना गर्छ भने उसको आत्मा स्वर्ग जान योग्य वन्दछ। कुनै आत्मा थोरै पापी त छ तर प्रार्थनामा विश्वास गर्दछ, ईश्वरको आज्ञा पालना गर्छ भने त्यो आत्मा पर्गेटरीमा शुद्ध भएपछि स्वर्ग जान सम्भव बन्दछ। जस्तै जसले पाप गरेकाछन् तर आफ्नो पाप कर्मको अनुभूति गर्दैनन्, पुन: सो पाप नदोहर्याउने प्रण गर्दैनन्, पापको प्रयास्चित गर्दैनन्, तिनीहरू नरकमा जाकिन्छन्।
इसाई धर्ममा मृत्यु (Death) पछि आत्मा शरीर छोडेर ईश्वरको न्याय (Divine Judgment) सामु पुग्छ। यो न्यायमा आत्माको जीवनकालमा गरेका कर्महरू (Actions) र विश्वास (Faith) को आधारमा उसको गन्तव्य निर्धारण हुन्छ। यदि आत्मा पवित्र (Pure) छ, अर्थात् व्यक्तिले जीवनमा ईश्वरको आज्ञा पालना गरेको छ र पश्चात्ताप (Repentance) गरेको छ भने, आत्मा स्वर्गमा (Heaven) जान्छ। स्वर्गलाई ईश्वरको उपस्थिति रहने अनन्त सुख र शान्तिको स्थान मानिन्छ। यदि आत्मा पापी (Sinful) छ, अर्थात् व्यक्तिले गम्भीर पापहरू गरेको छ र पश्चात्ताप गरेको छैन भने, आत्मा नरकमा (Hell) जान्छ। नरकलाई अनन्त दु:ख र पीडाको स्थान मानिन्छ। क्याथोलिक सम्प्रदायमा पर्गेटरीको अवधारणा छ। यो एक मध्यवर्ती अवस्था हो, जहाँ आत्मा शुद्धीकरण (Purification) भएर मात्र स्वर्ग जान्छ। यदि कसैले साना पापहरू (Minor Sins) गरेको छ, तर उसको विश्वास ईश्वरमा छ, तब उसको आत्मा पर्गेटरीमा केही समय बिताएर शुद्ध हुन्छ। मानौं, कसैले जीवनमा सानातिना गल्तीहरू (जस्तै झूट बोल्ने, स्वार्थी व्यवहार) गरे, तर उसले ईश्वरमा विश्वास राख्छ र सानातिना गल्तीहरू वापत पश्चात्ताप गर्छ भने त्यसलाई उसको आत्मा पर्गेटरीमा गएर शुद्ध वनेको भनिन्छ। जव आत्मा पर्गेटरीमा गएर शुद्ध हुन्छ तव अन्ततोगत्वा स्वर्गमा प्रवेश पाउँछ।
इसाई धर्ममा प्रार्थना (Prayer), पश्चात्ताप (Repentance) र ईश्वरको कृपा (Grace) लाई आत्मा शुद्ध गर्ने प्रमुख माध्यम आत्माको पर्गेटरी मानिन्छ। कुनै व्यक्ति नियमित प्रार्थना गर्छ, आफ्ना पापहरूको लागि क्षमा माग्छ र ईश्वरको मार्गमा हिँड्छ भने, उसको आत्मा शुद्ध हुन्छ। वैदिक हिन्दू धर्ममा आत्मा (Atma) लाई अमर (Immortal), शुद्ध चेतना (Pure Consciousness), र परम सत्य (Ultimate Truth) को अंश मानिन्छ। यो आत्मा परमात्मा (Supreme Soul) को हिस्सा हो र यो कहिल्यै नष्ट हुँदैन। आत्मा शरीर (Body) सँग अस्थायी रूपमा जोडिन्छ, तर यो शरीरको मृत्यु (Death) पछि पनि रहन्छ। वैदिक दर्शनमा आत्मा अनन्त (Eternal) छ र बारम्बार नयाँ शरीर धारण गर्छ, जसलाई पुनर्जन्म (Reincarnation) भनिन्छ।
वैदिक मान्यतामा आत्मा कहिल्यै मर्दैन (Never Dies)। यो केवल शरीर परिवर्तन (Transmigration) गर्छ। यो प्रक्रियालाई संसार (Samsara) भनिन्छ। जुन जन्म र मृत्युको चक्र हो। आत्माले कर्म (Karma) को आधारमा नयाँ शरीर पाउँछ। यदि कसैले जीवनमा राम्रो कर्म (Good Karma) गर्छ, जस्तै दान, सत्य बोल्ने, अरूलाई सहयोग गर्दछ, उसको आत्माले अर्को जन्ममा राम्रो जीवन (जस्तै: धनी, सुखी, स्वस्थ शरीर) पाउँछ। त्यस्तै कुनै व्यक्ति जो सधैं अरूलाई सहयोग गर्छ, सत्य बोल्छ र धर्म पालना गर्छ, उसको आत्माले अर्को जन्ममा सुखी परिवारमा जन्म लिन सक्छ। यदि कसैले नराम्रो कर्म (Bad Karma) गर्छ (जस्तै चोरी, हिंसा, झूट), उसको आत्माले अर्को जन्ममा दुखद जीवन (जस्तै गरीबी, रोग, दु:ख, दर्द) पाउँछ। जस्तै यदि कसैले अरूलाई ठग्छ वा हिंसा गर्छ, उसको आत्माले अर्को जन्ममा पशुको शरीर वा कठिन जीवन पाउन सक्छ।
वैदिक दर्शनमा आत्माको अन्तिम लक्ष्य मोक्ष (Moksha) हो। मोक्ष भनेको जन्म-मृत्युको चक्र (Cycle of Birth and Death) बाट मुक्ति पाउनु र परमात्मा (Supreme Soul) सँग एकाकार हुनु हो। यो अवस्थामा आत्मा संसारको मायाबाट मुक्त हुन्छ र अनन्त शान्ति प्राप्त गर्छ। एक साधुले तपस्या, ध्यान र राम्रो कर्म गरेर आफ्नो आत्मालाई शुद्ध गर्छ। एक व्यवसायी वा पेशेवर व्यक्ति आफ्नो व्यवसाय वा पेसामा विशुद्ध मन्त्र मुक्त रहेर मन कतै विचलित नगरी आफ्नो जिम्मेवारीको कार्य पुरा गर्दछ भने फल जेसुकै आवास त्यसलाई ईश्वरको सर्वोकृष्ट आराधनामा रहेको मानिन्छ। आफ्नो धर्ममा कायम रहेको मानिन्छ। त्यस्तो ईश्वरीय कर्ममा लिप्त सुद्ध आत्मा जिउँदै रहँदा मोक्षको अनुभूति प्राप्त गरिरहेको हुन्छ। जीवनको अन्तमा समेत उसको आत्माले मोक्ष प्राप्त गर्छ। परमात्मासँग मिल्छ। वैदिक धर्ममा आत्मा शुद्ध गर्न ध्यान (Meditation), योग (Yoga), कर्म (Good Deeds) र भक्ति (Devotion) जस्ता उपायहरु लाई मुख्य माध्यम मानिन्छ। उदाहरणका लागि गीता पढेर, ध्यान गरेर, ईश्वरीय कर्ममा लिप्त रहेर (आफ्नो व्यवसाय वा पेसामा विशुद्ध मन्त्र मुक्त रहेर आफ्नो जिम्मेवारी पुरा गर्नु) वा गरीबलाई सहयोग गरेर आत्मालाई शुद्ध गर्न सकिन्छ।
इसाई र वैदिक दर्शनमा आत्माको अवधारणामा केही समानता र धेरै भिन्नताहरू छन्। समानतामा आत्माको अमरता (Immortality of the Soul) छ। दुवै धर्ममा आत्मालाई अमर (Immortal) मानिन्छ। इसाई धर्ममा आत्मा मृत्युपछि स्वर्ग वा नरकमा जान्छ। जबकि वैदिक धर्ममा आत्मा पुनर्जन्म लिन्छ। स्वर्गमा रहेका देवता समेत मोक्ष प्राप्तिको लागि मुक्त हुन मानिसको चोलामा फर्केर उत्तम कर्म र पराक्रम गरेर मात्र मोक्ष सम्भव हुन्छ। त्यसैले सनातनले मानव चोला लाई अमूल्य चोला भन्दछ। दुवै धर्ममा नैतिक जीवनको महत्त्व (Importance of Moral Life) छ। दुवै धर्ममा आत्माको गन्तव्य कर्म वा व्यवहारमा निर्भर गर्छ। इसाई धर्ममा पाप र पुण्यको आधारमा स्वर्ग वा नरक निर्धारण हुन्छ। वैदिक अवधारणामा कर्मको आधारमा मोक्ष वा पुनर्जन्म हुन्छ।
इसाई धर्ममा आत्मा (Journey of the Soul) एकपटक मात्र शरीरमा आउँछ। मृत्युपछि यो ईश्वरको न्याय (Divine Judgment) सामु पुग्छ र स्वर्ग (Heaven), नरक (Hell), वा पर्गेटरी (Purgatory) मा जान्छ। यो प्रक्रिया एक पटकको हुन्छ। उदाहरणको लागि एक व्यक्तिको आत्मा मृत्युपछि स्वर्गमा पुगे पछि त्यो फेरि पृथ्वीमा फर्किंदैन। वैदिक धर्ममा आत्मा अनन्त (Eternal) छ । बारम्बार पुनर्जन्म (Reincarnation) लिन सक्दछ। जबसम्म मोक्ष (Moksha) प्राप्त हुँदैन जन्म-मृत्युको चक्रमा रहन्छ। जस्तै एक व्यक्तिको आत्मा मृत्युपछि कर्मको आधारमा अर्को शरीर (जस्तै फेरी मानिस वा पशुको चोलामा) मा जन्म लिनु स्वाभाविक हुन्छ।
इसाई धर्ममा आत्माको अन्तिम लक्ष्य स्वर्ग (Heaven) मा ईश्वरको उपस्थितिमा अनन्त जीवन बिताउनु हो। एक पवित्र व्यक्तिको आत्मा स्वर्गमा ईश्वरसँग सधैंको लागि रहन्छ। वैदिक धर्ममा आत्माको अन्तिम लक्ष्य मोक्ष (Moksha) हो। जहाँ आत्मा जन्म-मृत्युको चक्रबाट मुक्त भएर परमात्मासँग एकाकार हुन्छ। जस्तै यदि एक साधुले ध्यान र कर्मद्वारा मोक्ष प्राप्त गर्छ र संसारबाट मुक्त हुन्छ भने जन्म-मृत्युको चक्रबाट मुक्त भएर परमात्मासँग एकाकार हुन्छ। स्वर्ग-नरकको अवधारणामा इसाई धर्ममा स्वर्ग र नरक स्थायी गन्तव्य हुन्। आत्मा एकपटक स्वर्ग वा नरकमा गएपछि फर्किंदैन। उदाहरणको लागि एक पापी व्यक्तिको आत्मा नरकमा अनन्त दु:ख भोग्छ। वैदिक धर्ममा स्वर्ग र नरक अस्थायी अवस्था हुन्। आत्माले कर्म अनुसार स्वर्ग वा नरकमा छोटो समय बिताउँछ। पुनर्जन्मको चक्रमा फर्किन्छ। जस्तै राम्रो कर्म गर्ने व्यक्तिको आत्मा स्वर्गमा सुख भोग्छ, तर कर्मको फल सकिएपछि पुनर्जन्म लिन्छ।
इसाई धर्ममा आत्मा ईश्वरद्वारा सिर्जना गरिएको हुन्छ र प्रत्येक व्यक्तिको लागि अलग हुन्छ। प्रत्येक व्यक्तिको लागि आत्मा एकपटक मात्र सिर्जना हुन्छ। जस्तै प्रत्येक मानवको आत्मा जन्मको समयमा ईश्वरले बनाउँछ। वैदिक धर्ममा आत्मा अनादि (Beginningless) र अनन्त (Endless) छ। यो परमात्माको अंश हो र सधैं रहन्छ। जस्तै आत्मा सधैं अविनाशी रहन्छ र केवल शरीर बदल्छ।
इसाई र वैदिक दर्शनमा आत्मा (Soul) को अवधारणा गहिरो तर फरक छ। इसाई धर्ममा आत्मा एकपटकको यात्रा हो, जहाँ यो स्वर्ग, नरक वा पर्गेटरीमा पुग्छ। यो विश्वास ईश्वरको न्याय (Divine Judgment) र पाप-पुण्य (Sin-Virtue) मा आधारित छ। वैदिक धर्ममा आत्मा अनन्त चक्रमा रहन्छ । जुन पुनर्जन्म (Reincarnation) र कर्म (Karma) मा आधारित छ । त्यसको अन्तिम लक्ष्य मोक्ष (Moksha) हो। दुवै दर्शनले आत्मालाई अमर र महत्त्वपूर्ण मान्छन् । तर तिनको यात्रा र गन्तव्यको अवधारणा फरक छ। जस्तै इसाई धर्ममा, एक व्यक्ति जो चर्चमा प्रार्थना गर्छ र पापबाट टाढा रहन्छ, उसको आत्मा स्वर्गमा पुग्छ। वैदिक धर्ममा, एक व्यक्ति जो ध्यान र राम्रो कर्म गर्छ, उसको आत्मा अन्ततः मोक्ष प्राप्त गर्छ। यसरी, आत्माको यात्रा (Journey of the Soul) र अन्तिम लक्ष्य (Ultimate Goal) मा इसाई र वैदिक दृष्टिकोणको स्पष्ट भिन्नता रहेको छ।
इस्लाममा आत्मा (Soul) को अवधारणा महत्वपूर्ण छ, जुन मानवको भित्री संरचना, ईश्वरसँगको सम्बन्ध (Relationship with God), र अन्तिम गन्तव्यको विषय हो। इस्लामले आत्मालाई "रूह" (Ruh) भन्छ। रूह जुन अल्लाहको सिर्जना हो। यो शरीरभन्दा फरक, अदृश्य (Invisible), अमर (Immortal) र शुद्ध (Pure) हुन्छ। कुरानका अनुसार अल्लाहले मानव शरीर माटो बाट बनाए। त्यसपछि उनले आफ्नो रूह (आत्मा) भित्र प्रवेश गराए। यो घटना कुरानको एउटा आयतमा यसरी उल्लेख छ: "तत्पश्चात् मैले उसमा आफ्नो रूह प्रवेश गराएँ " (कुरान 15:29)। इस्लामको आत्माको अवधारणा (Concept of Soul in Islam) वारे कुरानको आयत (कुरान 38:72) मा चिल्लो माटोबाट मानव शरीर बनाएर अल्लाह स्वयंले मानव आत्मालाई फूकेको उल्लेख छ। अल्लाहले नै स्वयं रूह मानव शरीर भित्र प्रवेश गराएका हुन्छन्। आत्मा मानव शरीरमा अस्थायी रूपमा बास गर्छ। यो शरीरभन्दा अलग र शाश्वत (Eternal) हुन्छ। शरीर मर्छ, तर आत्मा अमर रहन्छ। अन्तिम न्याय (Final Judgment) सम्म अलग अवस्थामा रहन्छ।
आत्माको उत्पत्ति (Origin of the Soul in Islam) बारे इस्लाममा केही फरक फरक विचारहरू छन्। सामान्य विश्वास अनुसार, आत्मा गर्भावस्थाको लगभग १२० दिन पछि गर्भमा प्रवेश गर्छ। यसलाई “आत्मा प्रवेश” (Soul Entering the Fetus) भनिन्छ। एउटा हदीसमा (Hadith - the collection of sayings, actions, and approvals of the Prophet Muhammad) नबी मुहम्मद (स.) ले भन्नुभएको छ: "हरेक मानवको सिर्जना ४० दिनमा हुन्छ... त्यसपछि अल्लाहले आत्मा प्रवेश गराउनुहुन्छ। " यसको मतलब, गर्भाधानको पहिलो समयमा आत्मा शरीरमा हुँदैन। तर, १२० दिन पछि आत्मा प्रवेश भएपछि, गर्भपतन (Abortion) लाई ठूलो पाप (Major Sin) मानिन्छ किनभने यसले जीवन लिने कार्य हुन्छ। मृत्युपछि, आत्मा शरीर छोडेर "बरजख" (Barzakh) अवस्थामा जान्छ। बरजख आत्माको कब्र अवस्था हो। कब्र अवस्थामा आत्माले न्यायको पहिलो चरण अनुभव गर्नुपर्छ। यो स्थिति नरक वा स्वर्गको प्रारम्भिक रूप हुन सक्छ। अन्तिम न्याय (Yaum al-Qiyamah) को क्रममा हरेक आत्मालाई फेरि जगाएर अल्लाहको सामु खडा गरिनेछ। व्यक्तिका कर्महरू (Actions) र विश्वास (Faith) को आधारमा उसको अन्तिम गन्तव्य अल्लाहको निर्णयले निर्धारण हुन्छ।
जसले सच्चा विश्वास (Iman) राखेको छ, राम्रा कर्महरू (Good Deeds) गरेको छ, र तौबा (Repentance, पश्चाताप) गरेको छ, उसको आत्मा स्वर्ग (Jannah / Heaven) जान्छ। अनन्त सुख, शान्ति र अल्लाहको सन्तुष्टिको स्थान लाई स्वर्ग मानिन्छ। उदाहरणका लागि एक मुसलमान जसले नियमित नमाज पढ्छ (Performs Prayers), रोजा राख्छ (Fasts), जकात दिन्छ (Gives zakat i.e. gives alms/charity, obligatory Islamic charity) र अन्य मानिसहरूलाई सहयोग गर्छ त्यस्तो व्यक्तिको आत्मा स्वर्गमा जान योग्य मानिन्छ। तर, जसले पाप गरेको छ, विश्वास छोडेको छ, तौबा (आफ्नो गलत कर्ममा पश्चाताप) गर्दैन उसको आत्मा नरक (Jahannam / Hell) मा जान्छ। कुरानका अनुसार नरक अनन्त दु:ख, पीडा र अल्लाहको क्रोधको स्थान मानिन्छ। उदाहरणका लागि एक व्यक्ति झूट बोल्छ, चोरी गर्छ र अल्लाहमा विश्वास गर्दैन, आफ्ना पापहरूबाट पश्चात्ताप गर्दैन भने उसको आत्मा नरकमा धकेलिन्छ।
इस्लाममा आत्मालाई शुद्ध गर्न विभिन्न तरीकाहरू छन्। प्रार्थना (Prayer), रोजा (Fasting), जकात (Zakat), तौबा (Repentance) र ईश्वरको स्मरण (Remembrance of Allah) लाई आत्मा साफ गर्ने मुख्य उपाय ठानिन्छ। उदाहरणका लागि एक व्यक्ति जो नियमित रूपमा नमाज पढ्छ, आफ्ना पापहरूको लागि क्षमा माग्छ, र ईश्वरको मार्गमा हिँड्छ त्यस्तो व्यक्तिको आत्मा शुद्ध हुन्छ र अल्लाहको नजिक पुग्न सक्छ। इस्लाममा जनावरहरूमा चेतना हुन सक्छ तर उनीहरूमा आत्मा (जस्तो मानवमा हुन्छ) हुँदैन भन्ने विश्वास देखिन्छ। जनावरहरूमा आत्मा नहुनाले उनीहरूलाई ईश्वरको सामु न्याय नहुने मानिन्छ। उदाहरणका लागि कुकुरले पाप गर्छ भनेर मानिंदैन। किनभने कुकुरमा नैतिक (Morality) जिम्मेवारी (Responsibility) हुँदैन।
इस्लाममा आत्मा केवल मानवमा मात्र हुन्छ। पशुहरूमा चेतना हुन सक्छ, तर त्यो आत्मा अमर छैन। मानव आत्मा नैतिक रूपमा जिम्मेवार (Morally Responsible) हुन्छ, र यसले ईश्वरको सामु जवाफदेही हुन्छ। जब मानिसले पाप गर्छ, त्यसलाई तौबा (Repentance) गरेर शुद्ध गर्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्ति गल्ती गर्छ र सच्चो दिलबाट पश्चात्ताप गर्छ, त्यसलाई अल्लाहले क्षमा गर्न सक्नुहुन्छ। यसरी, आत्मा ईश्वरसँगको सम्बन्ध (Relationship with God) मार्फत शुद्ध हुन्छ।
इस्लाम र सनातन धर्ममा आत्माको अवधारणामा केही समानताहरू पनि छन्। दुवै धर्ममा आत्मा अमर मानिएको छ। दुवैमा आत्माको गन्तव्य व्यक्तिको कर्म वा व्यवहारमा निर्भर गर्छ। इस्लाममा पाप र पुण्यको आधारमा स्वर्ग वा नरक हुन्छ, भने सनातनमा कर्मको आधारमा पुनर्जन्म हुन्छ।
तर भिन्नता पनि छ। इस्लाममा आत्मा एकपटक मात्र शरीरमा आउँछ, र मृत्युपछि अन्तिम न्यायमा आत्माको अन्तिम गन्तव्य निर्धारण हुन्छ। उदाहरणका लागि, एक मुसलमानको आत्मा स्वर्गमा गएपछि त्यो फेरि पृथ्वीमा आउँदैन। सनातनमा भने आत्मा बारम्बार जन्म लिन्छ जबसम्म मोक्ष प्राप्त नहुन्छ। इस्लाममा स्वर्ग र नरक स्थायी छन्, तर सनातनमा स्वर्ग-नरक अस्थायी छन्, र आत्मा पुनर्जन्मको चक्रमा फर्कन्छ।
इस्लाममा आत्मा ईश्वरको सिर्जना हो, र प्रत्येक मानवको लागि नयाँ आत्मा सिर्जना हुन्छ। तर सनातनमा आत्मा अनादि, अनन्त र परमात्माको अंश हो। यसले शरीर बदल्छ, तर आत्मा स्वयं कहिल्यै मर्दैन।
सम्पूर्ण रूपमा, इस्लाम र सनातन धर्म दुवैले आत्मालाई अमर र महत्वपूर्ण मान्छन्, तर उनीहरूको दृष्टिकोण आत्माको यात्रा र अन्तिम लक्ष्यमा फरक छ। इस्लाममा आत्मा एकपटकको यात्रा हो, जहाँ यो स्वर्ग वा नरकमा जान्छ, जबकि सनातनमा आत्मा अनन्त चक्रमा रहन्छ, जुन पुनर्जन्म र कर्ममा आधारित छ, र अन्तिम लक्ष्य मोक्ष हो।
सनातन धर्म (वैदिक दर्शन) मा आत्मा (आत्मा - Atma) लाई अमर, शुद्ध चेतना र परम सत्यको अंश मानिन्छ। आत्मा परमात्माको हिस्सा हो र कहिल्यै मर्दैन। यो शरीरमा अस्थायी रूपमा बास गर्छ, तर यो शरीरभन्दा अलग हुन्छ। ऋग्वेद र उपनिषदहरूमा आत्मालाई "अविनाशी", "अजर-अमर" र "अनादि" मानिएको छ। उदाहरणका लागि श्वेताश्वतर उपनिषदमा भनिएको छ – “एको वैश्वानरो रूपं बहुधा यो विधाति” – अर्थात् आत्मा एक छ, तर धेरै रूपमा प्रकट हुन्छ। सनातन धर्ममा आत्माले बारम्बार शरीर परिवर्तन गर्छ – यसलाई पुनर्जन्म (Reincarnation) भनिन्छ।
समग्रमा विश्वका विभिन्न सभ्यता र धार्मिक परम्पराहरूले आत्माको अवधारणा, शरीरमा प्रवेशको समय र मृत्युपछिको गन्तव्यको बारेमा फरक–फरक दृष्टिकोण प्रस्तुत गरेका छन्। केहीमा आत्मा ईश्वरीय सिर्जना हो भने केहीमा यो कर्मको चक्रमा बाँधिएको मानिन्छ। केहीमा आत्मा एकपटकको यात्रा हो भने केहीमा यो अनन्त चक्रको रूपमा रहन्छ।
उदाहरणका लागि मिस्रवासीहरूले आत्मालाई बा , का र अखु मा विभाजित गर्छन्, जुन मृत्युपछि ओसिरिसको न्यायमा परीक्षित हुन्छ। ग्रीक दार्शनिकहरूले आत्मालाई शरीरको कारागारबाट मुक्त हुने सत्य स्वरूप मानेका छन्। जुन ज्ञान र तत्वज्ञानबाट मुक्ति पाउँछ। वैदिक हिन्दु धर्ममा आत्मा कर्म र पुनर्जन्मको चक्रमा बाँधिएको हुन्छ र मोक्षको मार्गबाट ब्रह्मसँग एक हुन्छ । बौद्ध धर्मले आत्माको विचार नगरी चेतनाको धारा र निर्वाणको अवस्था मा जोड दिन्छ। ताओवादले आत्मालाई हुन (Hun) र पो (Po) मा विभाजित गर्छ। जहाँ एक आध्यात्मिक र अर्को शारीरिक हुन्छ। इस्लाममा आत्मा (रूह) अल्लाहको सिर्जना मानिन्छ। जुन गर्भावस्थाको १२० दिन पछि शरीरमा प्रवेश गर्छ र मृत्युपछि बरजख र अन्तिम न्याय (Yaum al-Qiyamah) बाट गुज्रेर स्वर्ग (जन्नत) वा नरक (जहन्नम) मा जान्छ। ईसाई धर्ममा आत्मा ईश्वरद्वारा सिर्जित अमर संरचना हो। जुन मृत्युपछि स्वर्ग, नरक वा पर्गेटरीमा जान्छ। यसको गन्तव्य व्यक्तिको कर्म, विश्वास र पश्चात्ताप मा आधारित हुन्छ।
यी सबै दृष्टिहरूले मानव अस्तित्वको गहिरो आध्यात्मिक आयामलाई खोलेर देखाउँछन्। यी विश्वासहरूले नैतिकता, कर्मको असर र आध्यात्मिक मुक्तिको मार्गमा मानिसलाई सोच्न प्रेरित गर्छन्। यी सबैले हामीलाई जीवन र मृत्युको गहिराइमा झल्किन , आत्माको सच्चाइ खोज्न र आध्यात्मिक यात्रामा अगाडि बढ्न प्रेरित गर्छन्। एउटै आत्माको खोजमा, धेरै बाटो छन्। तर सबैको अन्तिम लक्ष्य त्यो शाश्वत सत्यसँग जुड्नु नै देखिन्छ। उल्लेखित सबै दर्शनहरूले समग्र मानव जातिलाई यो सन्देश दिन्छन् कि जीवन मात्र शरीरको होइन, तर आत्माको वा चेतनाको पक्ष समेत हो। मानव सचेतनाले मानव जातिलाई नैतिकताको बाटोमा लैजान्छ। ईश्वर वा प्रकृतिको नियम वा परम सत्यसँग जोड्छ । र अन्तत: मुक्तिको राह देखाउँछ। चाहे हामी ईश्वर, अल्लाह, ब्रह्म, बुद्ध (जागरुकता, Awakens) वा परमात्मामा विश्वास गरौं, आत्माको अवधारणा मानवताको सचेतना आधारको हो । जसले हामीलाई जीवनको गहिराइमा झल्किन, नैतिक जीवन जिउन र अन्तिम सत्यको खोजमा अहिंसा मैत्री र प्रकृति मैत्री रहेर लाग्न प्रेरित गर्छ। जुन वेदको मूल मन्त्र र मान्यता नै हो। जसमा संसारका सबै धर्मका चुरो सिद्धान्त अटाएको छ।