मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्विज्ञान: कफ दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद

मोनो-भौतिक कफ दोष

नारायण घिमिरे

 

अर्थ (पृथ्वी) तत्व र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट कफ दोष निर्माण हुने गर्छ। शरीरमा सन्तुलित रहदा राम्रो र प्रभावकारी नतिजा जस्तै वृद्धि, शक्ति, जटिलता व्यवस्थापन, खुसी आदि दिने कफ, पित्त र वात दोषले सन्तुलन गुमाउँदा भने हानिकारक अवस्थाहरू जस्तै रोग लगायतका विभिन्न विकृतिहरू पैदा गरिदिन्छ।

 

कफ दोषका गुणहरूमा तेलीय (ग्रीजी, सोपी ऒइल्लि), चिसो, गह्रुङ्गो, कम गतिशील, माटो जस्तो स्थिर र बलियो आदि पर्दछ। यस्तो प्रकृतिको मानिसको पूर्ण विकसित मोटो शरीर, ठुलो आँखा र धेरै वजन प्राप्त गर्न सक्ने शरीर हुने गर्छ। मनोबैज्ञानिक रूपमा स्वस्थ रहदा यस्ता मानिसहरू सन्तुलित, वफादार, अनुकम्पापूर्ण, भद्र, सरल जीवन र उच्च सोच राख्ने प्रवृत्तिको हुने गर्छन। दोषहरुको असन्तुलनमा भने यिनीहरू कुनै कुरामा चाहिने भन्दा धेरै लगाव राख्ने, लचिलो र निराश देखिने गर्दछन्।

निष्पक्ष जटिलता, खुलेको अनुहार, चिल्लो छाला, सुन्दर चिल्लो कपाल, आकर्षक शरीर हुने गर्छ। जल र पृथ्वी तत्त्वले बनेको संरचना भएको कारण यिनीहरू मन्द-अग्नि युक्त हुने हुँदा पाचन मन्द हुने, मेटाबोलिजम ढिलो हुने गर्दछ। जसले गर्दा यिनीहरूको तौल बढ्ने सम्भावना धरै हुने गर्दछ।

 

कफ दोषको वृद्धिले शरीरमा अल्छीपन, थकाई, निन्द्रा, सुविधा युक्त जीवन शैली रोज्ने प्रवृत्तिको विकास गर्छ। तेलीय, चिसो र गह्रुङ्गो प्रवृत्तिले कफ दोषको वृद्धि गर्ने हुँदा यसको विकृति रोक्न उपचारको रूपमा चिसो पनको नियन्त्रणको लागि न्यानो, ओसिलो र तेलीयपनको नियन्त्रणको लागि सुख्खापन र गह्रुङ्गो प्रवृत्तिको नियन्त्रणमा हल्कापन बढाउने उपाय खोजिन्छ।

 

समग्रमा कफ दोषले शरीरमा जरुरत हुने तरल पदार्थहरूको व्यवस्था गर्ने, हड्डीका जोर्नीहरूलाई लुब्रिकेट गर्ने, शरीरमा उत्पन्न हुने विषाक्त पदार्थ बाहिर फाल्ने, घाउहरू निको गर्ने, पूर्ण शारीरिक संरचनाको निर्माण गर्ने र शरीरमा शक्तिको जगेर्ना गर्ने कामहरू गर्दछ। कफको महत्त्वपूर्ण गतिविधिमा श्लेष्मलाई लिइन्छ। जहाँ श्लेषको अर्थ अँगालोमा लिनु भन्ने हुन्छ।

 

जस अन्तर्गत शरीरको विभिन्न भागहरूलाई एक आपसमा नजिक ल्याएर जोड्ने र दरिलो सम्पूर्ण संरचना बनाउने कार्य हुने गर्दछ। कफको श्लेष्म गतिविधिको कारण तेलीय (ग्रीजी, सोपी ऒइल्लि), एकापसमा जोडिएको, स्थिर, गह्रुङ्गो, शक्तिशाली, क्षमतावान, सहनशील, धैर्यतायुक्त, जटिल, स्वाभिमानी, निश्चित – नियमित प्रकृतिको शरीरको निर्माण बन्न सम्भव भएको हुन्छ।

 

कफले निर्माण गर्ने सहनशीलता, धैर्यता, आत्म-नियन्त्रण, संयम र सहिष्णुता आदिले गर्दा मनोवैज्ञानिक रूपमा लोभ-लालच रहित माया, दया, करुणा युक्त चरित्रको निर्माण हुने गर्दछ।

 

कफ दोष शरीरको सबै भागमा देखिने गर्छ। तर पनि शरीरको मुख्य पाँच स्थानहरूमा कफ दोष अत्यन्त प्रभावकारी भूमिकामा उपस्थित हुने गर्छ। जसलाई सजिलोको लागि क्लेदक (आमाशयको ग्यास्ट्रिक मिऊकोसल लाइनिङ्ग), अवलम्बक (फोक्सोको प्लुरल फ्लियुड र पेरिकार्डियल फ्लियुड), बोधक (जिब्रोको, मुख र फ्यारनक्स), तर्पक (मस्तिष्कको गहिरो थकानको महसुस गराउने- शुशुमन जल) र श्लेषक (हड्डीको जोर्नीहरू जोड्ने भागहरू) गरी पाँच सह-कफ दोषहरूमा विभक्त गर्न सकिन्छ।

शुसुर्तका अनुसार क्लेदका कफ जूनलाई सूर्यको स्थानमा चन्द्रमा लाई राखी तुलना गर्नु जस्तै हो। यहाँ क्लेदका कफको शीतलताको गुण लाई बताउन खोजिएको हो जसले पाचक पित्तको अग्निको विरुद्ध विभिन्न इन्जाइम हरूबाट कार्य गर्दछ। आमाशयको पेरिटल सेलले पाचक पित्त अन्तर्गतको हाइड्रो क्लोरिक एसिड उत्पादन गर्ने गर्दछ। उक्त एसिडको अग्निले आमाशयको भित्री भागलाई जल्न नदिन र अग्नि प्रुफ बनाइ सुरक्षा गर्न आमाशयमा रहेका म्युकस सेलहरूले पैदा गर्ने म्युकसहरू क्लेदका कफ अन्तर्गत पर्दछन।

 

क्लेद शब्दको अर्थ तरल पदार्थमा परिवर्तन गर्ने भन्ने लाग्दछ। जहाँ म्युकस इन्जाइमहरूले तेलीय पन, चिसो जलयुक्त, लयालोपन पैदा गरी आमाशयको भित्री भागलाई जल्न वाट जोगाउँदछ। जसले गर्दा पाचन प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन हुनको लागि सहयोग पुग्दछ। क्लेदका कफको तरल अवस्थाले गर्दा कडा खाना लाई समेत नरम र पाचन योग्य बनाउँदछ।

 

जसरी चामल पकाउँदा हालिएको पानीले सबैतिर तातोपान बराबर फ़ैलाएर सबै भातको सिता बराबर पाक्ने अवस्था आउँछ त्यस्तै आमाशयमा पुगेको खानामा क्लेदका कफ रुपी इन्जायमहरु मिसिदा खाना पचाउने इन्जाइम र पाचन रसहरू सबै तिर पुर्‍याएर प्रभावकारी पाचन क्रिया सञ्चालन गर्न सहयोग पुग्छ।

 

पाचीका पित्त बढ्दा वा क्लेदका कफ घट्दा आमाशयको भित्री सात पत्रे तहमा घाउ हुन गई पोल्ने वा ग्यास्ट्रिक इन्फ्ल्यामेसन हुने गर्छ। जसलाई ग्यास्ट्रिक भन्ने गरिन्छ। अधिक हुन पुग्दा ग्यास्ट्रिकले आमाशय र डियोडेनममा पेपटिक अल्सर समेत गराउन सक्छ। ग्यास्ट्रिकले वाकवाकी लाग्ने, बान्ता हुने, आमाशय दुख्ने गर्दछ।

 

आन्द्रामा पाचन प्रक्रिया तिन चरणमा पुरा हुन्छ। पहिलोमा आमाशयमा हुने गुलियो चरणको पाचन (कफ) पर्दछ। दोस्रोमा सानो आन्द्रामा हुने अमिलो वा  एसिडिक (पित्त) चरणको र तेस्रो ठुलो आन्द्रामा हुने पिरो /टर्रो वा पन्जेंट (वात) चरणको पाचन प्रक्रिया पर्दछ। मस्तिष्क र इन्डोक्राइन प्रणालीले गर्ने पाचन प्रक्रियाको नियन्त्रणमा दिमागले भोक र तृप्तिको प्रतिक्रियाहरू नियन्त्रण गर्दछ। इन्डोक्राइन प्रणालीहरूले हर्मोन र पाचन पथमा खाना पचाउनको लागि जरुरी हुने इन्जाइम र पाचन रस हरुको नियन्त्रण गर्दछ। क्लेदका कफले मूलतः आमाशयको पाचन प्रक्रियाको क्षारीय वा अल्कलाइन पक्षलाई प्रतिनिधित्व गर्दछ।

 

आमाशयमा हुने गुलियो चरणको पाचन प्रक्रियाले (मधुर अवस्था पाक) पेट भर खाएको, अघाएको वा भोक निवारण भएको सन्तुष्टि, टन्न भएको वा गर्हौ पनको महसुस दिलाउँछ। जुन भोजन गर्नुको भावनात्मक पक्ष हो। तसर्थ जब मानिसमा भय/त्रास, चिन्ता, असुरक्षित, एक्लोपन आदि (वात दोष बढेको अवस्था) हुन्छ उसमा पैदा हुने रिस र भोक (हंग्री प्लस यांग्री ह्याँग्री) दुबैका कारण थकानको महसुस गर्छ। त्यो बेलामा मानिसले अलि धेरै खाना खाने अवस्था हुन सक्छ। जसले बढेको वात दोष नियन्त्रण भएको महसुस गर्दछ।

 

दूध पिउने, नरम कम फाइबर युक्त मसला नभएको खानाले आमाशयमा क्लेदका कफको पुनः जागृत गराउन सक्छ। गुलियो र पातलो झिल्ली बनाउने प्रकारको क्लेदका कफ आमाशयको भित्री तहमा निर्माण गर्न सक्दा यसले हाइड्रोक्लोरिक एसिडवाट भित्री भाग पोलिन वाट जोगाउन सक्छ।

 

अवलम्बक कफ छातीमा रहन्छ। छातीको थोरेक्सिस कयाभिटि लाई सहयोग गर्छ। जस अन्तर्गत मुटुलाई संरक्षण गर्ने पेरिकार्डियम, पेरिकार्डियल फ्ल्युड, फोक्सोको संरक्षण गर्ने प्लुरल टिस्यु, फोक्सोलाई चल्न सजिलो बनाउने प्लुरल टिस्युको पत्र बिचमा रहेर लुब्रिकेट गर्ने प्लुरल फ्ल्युड आदि पर्दछ।

 

फोक्सो मार्फत हावा एलभीओलाइ सम्म पुर्‍याउने नली र शाखा नलीहरू बनाउने फोक्सोको ब्रोङ्कियल तन्तुहरूलाई समेत यसले सहयोग पुर्याउदछ। पेरिकार्डियल फ्ल्युडले मुटुको तन्तुहरूको रक्षा गर्दछ। फोक्सो वाट एलभीओलाइ हुँदै रगत मुटुमा प्रवेश गर्ने हुँदा अवलम्बक कफले श्वास-प्रश्वास र रक्त सञ्चार प्रणालीमा सहयोग पुर्याउदछ।

 

एलभीओलाइहरुलाई नियमित ताजा राखी अक्सिजन दिने र कार्बनडाईअक्साईड लिने प्रक्रिया नियमित गर्ने काम समेत अवलम्बक कफको हो। अवलम्बक कफको चिल्लो ग्रिजी गुणले एलभीओलाइ सदैव ओसिलो हुने गर्छ। च्याप च्याप लाग्ने तरल प्रकृतिले फोक्सोको नसाको भित्री भाग तन्दुरुस्त राख्दछ। छातीको भागको मासु र करङको सुरक्षामा समेत भूमिका खेल्छ।

 

अवलम्बक कफको विकृतिले थोरेक्सिस कयाभिटि साँगुरिने, एलभीओलाइहरु काम गर्न बन्द गर्ने, मानिसलाई छिटो छिटो सास फेर्न पर्ने (ईमफाईसिमा) रोग निम्त्याउन सक्छ। सन्तुलित अवलम्बक कफले मानिसमा निश्चितता, साहस, समस्याको समाधान गर्ने क्षमता जन्माउने र छाती चौडा बनाउने गर्दछ। असन्तुलित हुँदा छातीको क्याभीटिमा चाहिने भन्दा धेरै तरल पदार्थ जम्ने (प्लुरल तथा पेरिकार्डियल ईफिउजन), छाती खुम्चने, आत्मबल, साहस र निर्धक्कता गुमाउने हुन्छ।

 

बोधक कफ जिब्रोमा रहन्छ। यसको मुख्य काम खानाको स्वादको अनुभूति दिलाउनु हो। संस्कृत शब्द बोधक, बोदना वाट आएको हो। जसको अर्थ हुन्छ जानकारी दिनु। बोधक कफ घाटीमा जिब्रोको भित्री जरा जिब्रो र फ्यारनेक्सको बिचमा रहने गर्छ। यसको ओसिलो बनाउने प्रकृतिले गर्दा जिब्रोले सबै प्रकारको स्वादको अनुभूति गर्न सक्छ। बोधक कफमा जिब्रोमा रहेका स्वाद पहिचान गर्ने टेष्ट बढ, लुब्रिकेटिंग गुण बनाउने सिलाइभा र मुख र नाक वाट आउने कीटाणु आदि बाट संरक्षण गर्ने टन्सिल आदि पर्दछ।

मुख र नाकका र्यालहरु कीटाणु नाशक मात्र हुदैनन यिनीहरूको चोटपटक र घाउहरू निको गर्ने क्षमता समेत हुने गर्दछ। अल्सर जस्तो घाउलाई निको पार्न सिलाइभाले ग्रान्युलेशन टिस्यु बनाउन सहयोग गर्दछ। ग्रान्युलेशन टिस्यु नयाँ उम्रने अत्यन्त मसिनो रगतको नसा सहितको तन्तु हो जसले घाऊ वरिपरिको तन्तुहरू लाई जोडेर घाउ निको गर्ने, चोटपटक लागेको स्थानमा बिखालु जीवाणु र चोट ठुलो हुन वाट सुरक्षा गर्ने आदि गर्दछ। सिलाइभाको कीटाणु नाशक एन्टिसेप्टिक गुणका कारण यसले ब्याक्टेरिया हरू मार्ने र तीव्र रूपमा घाऊ हरू निको हुने सहयोग पुर्याउदछ।

 

संस्कृत शब्द तर्पणको अर्थ खुसी, सन्तुष्ट, धन्य र पूर्णताको महसुस गर्दै निश्चित विश्वासमा अडिग रहनु भन्ने लाग्दछ। तर्पक कफ टाउकोमा अवस्थित हुन्छ। यसको लयालो पोषण युक्त गुणका कारण इन्द्रियहरुलाइ सही समयमा सही काम गर्न सहयोग पुर्याउदछ। तर्पक कफले मस्तिष्क र स्पाइनल फलुइड लाई जनाउने विश्वास गरिन्छ। सेरेब्रोस्पिनल फलुइड मस्तिष्क लाई खप्पर भित्र मिलाएर राख्ने, टाउकोमा धक्का आदि लाग्दा दिमाग खलबलिन नदिने, पोषण तत्त्व र रगत वाट छानिएर आएको केमिकल उपलब्ध गराउने, उत्पन्न फोहर पदार्थ दिमाग वाट हटाउने काम गर्दछ। टाउकोमा रहेको साइनस क्याभीटिको कार्यमा समेत तर्पण कफको भूमिका रहने गर्छ।

 

तर्पक कफको अराजकतामा धेरै प्रकारका भौतिक समस्या जस्तै स्ट्रोक प्यारालाइसिस, पार्किन्सन्स डिजिज, ब्रेन टिउमर आदि देखिन सक्छ। रन्थनिने, खुम्चिने, बेहोस हुने जस्ता समस्याको कारण पुरै पर्सनालिटी नै परिवर्तन गरिदिन्छ। दिमागमा पर्ने तीव्र दबाबका कारण स्मरण शक्ति गुम्ने सम्भावना बढाउँदछ। नाक रातो हुने, पानी बग्ने जस्ता समस्या पनि तर्पक कफको असन्तुलनको कारण हुने गर्दछ।

 

स्लेशक कफ शरीर भर मुख्य त अस्थिपञ्जर प्रणालीको मूलतः जोर्नीहरूमा रहन्छ। आफ्नो चिप्लो लुब्रिकेंट गुणका कारण जोर्नी र जोर्नीका टिस्युहरू लाई आफ्नो कार्य गर्न सघाउँदछ। जोर्नीहरू बिचको घर्षण घटाउने र पोषण उपलब्ध गराउने समेत काम गर्दछ। यसको सन्तुलन बिग्रँदा ओस्टियो-अर्थाइटिस जस्तै जोर्नी दुख्ने, हड्डी खिइने, टुक्रने, गठिया आदि हुने गर्दछ।

 

(खाद्य तथा औषधि विज्ञ)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE