मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गीता र प्रेम !!

नारायण नारायण नारायण

प्रेममा  यानेकि प्रेम जालमा पर्न निकै सजिलो हुन सक्दछ। तर त्यसलाई जीवनभर दिगो राख्न, निभाउन निकै गाह्रो हुने गर्दछ। यो भनाइसँग तपाईँ पनि पक्कै सहमत हुनु भयो होला। जब मानिस प्रेममा फस्न पुग्दछ तब उसले प्रेम गरेको व्यक्ति वाट उसले साहसिक कार्य, प्रतिज्ञाहरू र जीवनको सुखद अन्त्यको चाहना गर्दछ। आफू भन्दा आफ्नो प्रेमी दुवैको यस्तो चाहत पुरा गर्न सक्रिय र सक्षम बनोस् बन्ने चाहन्छ। तर सत्य के हो भने, हरेकको जीवन निकै धेरै उतार चढावहरू संलग्न एक रोलर कोस्टरको पद यात्रा जस्तो मार्ग हो।

 

यसलाई धेरै मानिसहरू आफ्नो सम्बन्धमा रहेको समस्याहरूको रूपमा बुझ्ने गर्दछन्। त्यसको समाधानको लागि भनेर उनीहरू आफ्ना भनिएका हाम्रा अनि राम्राहरू लाई सल्लाहकारको रूपमा लिने गर्दछन्। जो आफ्नै जीवनमा त्यो भन्दा ठुलो नागबेली पहाडको चुनौती झेली रहेको हुन्छ तिनै त्यस्ता व्यक्तिका समाधानको लागि सल्लाह लिने राय चन्द बन्ने गर्दछन्। त्यस्ता राय चन्द हरुको सल्लाहले दिने समाधान आफ्नो जीवनको वास्तविक चरित्र महसुस गरेर अघि बढ्ने दिसा वाट व्यक्ति लाई विमुख गरेर आफ्नो जीवनको मित्रता नै अन्त: गर्ने पथमा लगिदिन्छ। त्यसमा पनि अत्यन्त चाख लाग्दो घटना कस्तो हुन्छ भने राय चन्द महाशयको कुरा मानेकोले धन्न उनीहरूको जीवनमा अधिक क्षति हुन पाएन भन्ने भ्रममा त्यता व्यक्ति वाट सल्लाह लिएर चल्ने मनुवाहरूमा पूर्ण विश्वास विकसित भएको हुन्छ।

 

सनातन संस्कृतिले लुटको धनमा मग्न रहेर रमेकाहरू नै इमानदारिताको प्रवचन दिने अखडामा भेटिने, जीवन भर आफ्ना र अर्का सबैलाई धोका बाहेक अन्य नदिएको मनुवा गहिरो प्रेम, करुणा र साहित्यमा लागेर आफूलाई नै आफैले झुटो आवरणमा लपेटेर मग्न रहने मिथ्या जीवन भित्र  झन् नक्कली जीवन जिउनेहरूको समाजमा उच्च सक्रियता हुने बुझेर भगवद गीता जस्ता ग्रन्थमा प्रेम र जीवन बारे मनोवैज्ञानिक उपचारको विधि उल्लेख भएको पाइन्छ।

 

एक सामान्य व्यक्ति जो प्रेम जस्ता समस्याहरूमा नराम्ररी फसेको,  जेलिएको छ, उसको लागि  समस्याहरूको सामना गर्न र प्रेम समस्याबाट मुक्त हुन मद्दत गर्नका खातिर प्रभावकारी शिक्षाहरू भगवद गीतामा समावेश भएको छ। जसले मानव भावना, करुणा र संवेग आदि लाई मानवतामा परिवर्तन गरी मानव ऊर्जाको सदुपयोग गर्न सहयोग गर्दछ।

 

भगवद गीतामा प्रेमको सम्बन्धमा भगवान् श्रीकृष्णले केही गहिरा कुराहरू गर्नु भएको छ। एक स्थानमा श्रीकृष्ण जी अर्जुन लाई भन्नु हुन्छ “मानव जीवनको सार प्रेम र ईश्वरीय ऊर्जा हो। जसले सबै प्राणीहरूलाई सँभाल्छ।” महाभारतको समयमा प्रेम विवाहको बारेमा कृष्णले अर्जुनलाई  प्रस्ट निर्देशन दिनुभएको छ कि “यदि पुरुष र महिलाले एक अर्कालाई साँच्चै माया गर्छन्, तर उनीहरूको परिवार उनीहरूको विवाहको, मिलनको विरुद्धमा छन् भने, उनीहरूको प्रेमलाई धर्म भनिन्छ।”

 

कृष्णको भनाइको तात्पर्य के हो भने जब एक महिला र पुरुष साँच्चै प्रेममा पर्दछन् तर यदि उनीहरूको परिवार उनीहरूको प्रेमको विरुद्धमा छन् भने हरेक मुलुकको आफ्नो राष्ट्रिय धर्म अनुसार, उनीहरूले जबरजस्ती परिवारको सहमति विना आफ्नो विवाह गर्न सक्दछन्।  त्यो अवस्थामा उनीहरूको उद्देश्य पुरा गर्न दिनु राज्यको धर्म हो।

 

गीतमा उल्लेख भएको अर्को कुरा के छ भने “प्रेम सम्बन्धमा रहेको एउटा प्रेमी आफू अर्को प्रेमीलाई कति माया गरिरहेको छु, उसको स्वस्थ र खुसीको कति ख्याल गरिरहेको छु भन्ने ख्याल गरिरहेको हुँदैन। तर उसलाई वा उनीलाई आफ्नो प्रेमीले आफूलाई कसरी र कति ख्याल गरिरहेको छ, कति माया गरिरहेको छ भन्ने मात्र चासो र ख्याल रहने गर्दछ।” यसले के भनिरहेको छ भने हरेक प्रेमीले आफूले आफ्नो प्रेमीलाई गरेको माया र हेरचाह उसमा रहेका शुभकामनाका भावना, सोच वा शब्दहरू जस्ता कम-व्यवहारिक तर्कले होइन कर्म मार्फत आफूले दैनिक देखाएको  व्यवहार मार्फत स्थापित हुन जरुरी छ भनी प्रस्ट गरिदिएको छ।

 

प्रेम सम्बन्ध भावना वा तिर्सनाको  बाँदर नाचमा सीमित हुन सक्दैन। न त यो केटाकेटीको भात कुँडी खेल नै हो। प्रेम सम्बन्ध कर्म मार्फत नै पुष्टि हुनु अनिवार्य हुन्छ भन्ने आशय उल्लेख भएको छ। जीवनमा हरेकले आफ्नो प्रेमीलाई  प्रेम व्यक्त गर्नु महत्त्वपूर्ण त छ, तर प्रेमलाई दैनिक जीवनमा व्यवहार मार्फत प्रकट गर्न सक्दा मात्र सम्बन्ध नियमित र समय क्रममा अझ प्रगाढ हुने छ भन्ने सङ्केत दिन्छ।

 

गीतामा यो पनि भनिएको छ कि “प्रेम ब्रह्माण्डको सबैभन्दा ठुलो शक्ति हो। जुन कठोर भन्दा कठोरतम हृदयहरूलाई समेत परिवर्तन गर्ने तागत राख्दछ। पगाल्न सक्षम बन्दछ।” त्यस्तै गीतामै भनिएको छ “साँचो प्रेम नि:स्वार्थ र निरपेक्ष हुन्छ।  साँचो प्रेममा कुनै अपेक्षा वा इच्छा सर्तको रूपमा रहन सम्भव हुँदैन।”

 

यहाँ कृष्णजीले साँचो प्रेम भनेको के हो भन्ने कुराको परिभाषा दिनु भएको छ। साँचो प्रेम स्वार्थ, अपेक्षा वा अभिप्रायबाट मुक्त हुन्छ भन्ने प्रस्ट गरिदिनु भएको छ। यसमा साँचो प्रेममा भेटिने शुद्धता र निःस्वार्थपनको भाव प्रस्ट छ। जब मानिसले कसैलाई माया गर्छ भने उसले पहिले आफूले जसको माया गर्दछ उसै बारेमा सोच्दछ। कुनै स्वार्थले होइन । कुनै अपेक्षाले होइन । उसको बारे आफूमा जागृत भएको चासो र प्रेम भावको कारण।

 

जहाँ  निःस्वार्थता रहँदैन त्यहाँ बदलामा केही आस गरिन्छ। जब बदलामा केही आस रहेको सम्बन्ध हुन्छ त्यो प्रेम होइन । व्यापारको परिभाषामा पर्न जान्छ। त्यसैले निःस्वार्थ भनिएको प्रेममा केही फिर्ताको चाहत रहन सक्दैन। केवल दिने चाहना भने रहन सक्दछ।

 

प्रेम बारे गीतामा यो पनि भनिएको छ कि ” प्रेम त्यो धागो हो जसले हामीलाई परमेश्वरसँग जोड्छ।  यसको माध्यमबाट हामी आध्यात्मिक एकताको अनुभव गर्न सक्छौँ।” साथै त्यहाँ यो पनि प्रस्ट उल्लेख छ कि “हामी हरेक समय आफ्नो नित्य कर्म संग समेत प्रेममा रहेर आफ्नो कर्म गर्नु पर्दछ। आफूले गरेको प्रेम पूर्वकको उक्त कर्मको परिणाम आफूलाई प्राप्त हुने आशक्ति विहीन रहेर हामी आफ्नो कर्ममा नियमित लिन भएर लाग्नु पर्दछ। आफूले गरेको आफ्नो कर्मको फलमा आशक्ति नरहेर काम गर्ने आफ्नो चरित्रको विकासले  हरेक मानिसले आफूलाई ईश्वरीय इच्छा अनुरूपको साधनको रूपमा परिणत गर्न सक्दछ। जुन अवस्था मानिसको मुक्त अवस्था हो। ”

 

यहाँ दुई प्रेमी बिच मात्र होइन व्यक्तिको हरेक दिन आफूले गर्ने आफ्नो कर्म प्रति समेत सम्मान र प्रेम जरुरत रहेको प्रस्ट गरिएको छ। कर्म गर्नु हरेक व्यक्तिको कर्तव्य हो। तर आफूले गरेको कर्मको फल आफूलाई प्राप्त हुने वा नहुने कर्म गर्ने व्यक्तिको नियन्त्रण भित्रको कुरा होइन। तसर्थ आफूले गरेको कर्म बापतको फल चाहने बानी ब्यहोराले व्यक्तिलाई उक्त फलको प्राप्ति तर्फ आशक्ति विकास गरिदिन्छ।

 

आशक्तिले व्यक्तिलाई आनन्द प्राप्तिको मार्ग विमुख गरिदिन्छ।तल्लीन रहेर नियमित आफ्नो कर्म सम्पन्न गर्ने र त्यसबाट प्राप्त हुने फल बारे आशक्ति नराख्ने बानीले मानिसमा आनन्द प्राप्तिको अवसर उपलब्ध हुन्छ। उक्त अवसर लाई नै सनातन संस्कृतिमा व्यक्ति ईश्वरीय इच्छा अनुरूपको साधनमा परिवर्तन हुन पाएको सौभाग्यको रूपमा चित्रित गर्ने गरिन्छ। प्रेम समेत आफ्नो नियमित कर्मको एक भाग रहेको प्रेमको सन्दर्भमा पनि उही सिद्धान्त लागु हुने गर्दछ।

 

गीताको प्रेम सम्बन्धका उपदेशहरूको निष्कर्षको चुरो के हो भने साँचो प्रेम व्यक्तिगत इच्छाहरू भन्दा बाहिर छ। निजी चाहनाको दायरा बाहिर रहन्छ। निजी नियन्त्रण बाहिर बिना सर्त अर्का लाई दिन तैयार हुने तर बदलामा केही अपेक्षा नगर्ने माया र विश्वासको डोरीमा जीवित रहने गर्दछ। प्रेम सम्बन्ध लाई केही निमेषका इन्द्रिय सुख र मनोवैज्ञानिक तुष्टि पूर्ति गर्ने साधनको रूपमा लिने व्यक्तिको चरित्रगत स्वार्थ मिश्रित व्यक्तित्व उसको  प्रेम सम्बन्ध मात्र होइन उसको जीवनकै अधोगतिको कारक बन्ने गर्दछ। (टोरोन्टो, क्यानडा)।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: