मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भागवत गीतामा नेतृत्व र उद्यमशीलता :

भागवत गीताको अध्याय तिन लाई नेतृत्व र उद्यमशीलताको दृष्टिकोण वाट हेर्दा हामी हाम्रो जीवनको कुन विन्दुमा किन रहेका छौ भन्ने मात्र होइन हामी आफ्नो जीवनको यात्रामा अगाडि बढ्दै गर्दा हाम्रो आफ्ना कर्तव्यहरू विना कुनै विलम्ब पूरा गर्नु कत्तिको महत्त्वपूर्ण हुने रहेछ भन्ने कुरा स्पष्ट हुने गर्दछ।

 

श्रीभगवानुवाच।

लोकेऽस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ ।

ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम् ॥३.३॥

 

हे अर्जुन ! मैले ज्ञानोदय प्राप्त गर्ने दुई मार्गहरूको बारेमा पहिले ले नै वर्णन गरिसकेको छु। जसमा ज्ञान योग उनीहरूको लागि हो जो सोच्न मग्न रहन रुचि राख्छन्। कर्मयोग काम गर्न रुचि राख्नेहरूका लागि उपलब्ध छ।

 

कर्मको आधारमा दुई प्रकारका व्यक्तिहरू सफल व्यक्ति हुने गर्दछन्। पहिलो जसले आफूलाई सम्पूर्ण रूपमा ज्ञान योगमा (बुद्धि योग) समर्पण गर्दछ। वा पूर्ण रूपमा चिन्तन मननमा लाग्दछ। दोस्रो जसले आफूलाई सम्पूर्ण रूपमा कर्मयोगमा लिन गराउने गर्दछ। जसलाई भक्ति योग पनि भनिन्छ।

 

संन्यास लिनेहरूले पूर्ण रूपमा आफूलाई आत्मसमर्पण अर्थात् आफ्नो कर्ममा पूर्ण रूपमा लीन भएर लागेका छन् वा आफ्नो ५ इन्द्रियहरूलाई आफ्नो काबुमा राख्न सकेका छन् भनी यकिन गर्न सकिने कुनै उपाय छैन।

 

यसको अर्थ के हो भने जो आफ्नो कुरुक्षेत्रमा (ज्ञान योग वा  कर्मयोगमा लीन) छन् उनीहरूले निर्विकल्प आफ्नो भित्री जीवनको अद्भुत संरचनाको क्षमताको फलको अनुभूति गर्न सक्छन् र तिनीहरूलाई मात्र आफ्नो सन्तुलित जीवन जिउन पाउने नियमित अवसर प्राप्त हुने गर्दछ।

 

विधि अनुरूप सम्पन्न हुने नियमितको बुद्धि योगले व्यक्तिको अन्त:करणको शुद्धि गर्दछ। शुद्ध अन्तः करण वाट  ज्ञानको प्रकट हुन्छ। अतः ज्ञान योग मार्ग मार्फत प्राप्त बुद्धि सन्तुष्ट प्रवृत्त हुन्छ। त्यस्तै आफ्नो लक्षित कार्यको उद्देश्य प्राप्तिको लागि आफ्नो सम्पूर्ण चिन्तन र मनन लगाएर कर्मयोगमा नियमित लाग्ने व्यक्तिहरू उद्देश्य प्राप्तिमा लीन हुने अवस्थामा तत्कालीन कर्ममा केन्द्रित रहने र त्यसले दिने सकारात्मक नतिजाले समेत सन्तुष्ट रहन पुग्दछ। कार्य नेतृत्व वा उद्यमशीलताको दृष्टिकोण वाट हेर्दा समेत यी कुराहरू अत्यन्त उपयोगी हुने गर्दछ।

 

श्रीभगवानुवाच।

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम्।

जोषयेत्सर्वकर्माणि विद्वान् युक्तः समाचरन्।।३.२६।।

श्री कृष्ण भगवान् भन्नु हुन्छ ज्ञानी व्यक्तिले फलदायी कर्ममा संलग्न रहेका अज्ञानी व्यक्तिहरूको बुद्धिमत्तामा द्वन्द्व पैदा गर्न भूमिका खेल्नु हुँदैन। उनीहरूलाई उनीहरूले गरिरहेको कर्म रोक्ने तर्फ समेत प्रेरित गर्नु हुँदैन। त्यसको ठिक विपरीत प्रबुद्ध ढङ्गले फलदायी कर्मको प्रभावकारिता वृद्धि गर्ने आफ्नो ज्ञान उनीहरूमा हस्तान्तरण गर्ने कर्तव्य निर्वाह गरेर अज्ञानीहरूलाई समेत प्रभवकारी रूपमा आफ्नो निर्धारित कर्तव्य प्राप्त गर्न सक्षम पारि सोको लागि प्रेरित गर्नुपर्छ।

 

असल नेतृत्वको सन्दर्भबाट श्री कृष्ण यहाँ असल र इमानदार नेतृत्व आफैले उदाहरण प्रस्तुत गरेर भई रहेको  फलदायी कर्म लाई झन् प्रभावकारी गर्न (Lead  by  Examples) प्रभावकारी ज्ञान र क्षमता हस्तान्तरण गर्ने खुबी र नियतको  हुन  जरुरत रहेको कुरा गर्नुहुन्छ। जनताले आफूमा रहेको कमी कमजोरी हटाएर आफूलाई सक्षम र संवृद्ध बनाउने खुबी देखेर आफूलाई साथ दिने हुँदा आफूलाई त्यही  हैसियतको  नेताको  रूपमा विकास गरी स्थानीय रूपमा उपलब्ध पूर्ण क्षमताको उपयोग गरेर नेतृत्व लिने क्षमता भएका व्यक्तिले मात्र सोही आशयमा नेतृत्व लिन तम्सन भनिएको छ। साथै नेताको काम अनुसरण गरेर, हेरेर समाजले सिक्ने, अनुभव लिने र त्यस वाट अन्य नयाँ ज्ञान, प्रविधि र सीप सिक्ने अवसर वा उपायको रूपमा उपयोग गर्ने भएकाले नेता उक्त वातावरण निर्माण गर्न अनिवार्य रूपमा सक्षम हुन जरुरी हुने कुरा प्रस्टाइएको छ।

 

श्रीभगवानुवाच।

काम एष क्रोध एष रजोगुणसमुद्भवः ।

महाशनो महापाप्मा विद्धयेनमिह वैरिणम् ॥३.३७॥

 

भगवान् श्रीकृष्ण भन्नुहुन्छ रजोगुणको सम्पर्कमा आएर उत्पन्न हुने वासनाले क्रोध, ईर्ष्या र प्रतिसोध आदिको रूप लिन्छ।  त्यो नै हरेक व्यक्ति लाई सर्वत्र र सम्पूर्ण रूपमा भस्म गरिदिने परम शत्रु रुपी महापाप हो।

 

रजोगुण युक्त काम वा वासना शब्दको अर्थ हिंसा युक्त यौन सुख प्राप्तिको इच्छा मात्र होइन आत्माको भौतिक अवधारणामा आधारित सबै प्रकारका भौतिक सुखहरू प्राप्तिको गलत नियत समेत समावेश छन्। यस अर्थमा रजोगुण युक्त वासनाका धेरै रूपहरू हुन्छन् । जस्तै अनैतिक धनको लालसा, अहिंसा रहित भौतिक इच्छा, अनुचित प्रतिष्ठाको लालसा, अनुचित शक्तिको भोक आदि।

 

रज गुणी इच्छाहरूले क्रोध र निराशा मात्र निम्त्याउने होइन व्यक्तिको संयममा र स्वनियन्त्रण क्षमता समेत स्खलित गरिदिन्छ। यो एक यस्तो  दुष्चक्र हो जसले व्यक्ति आफैले आफ्नो पाँच इन्द्रियलाई आफ्नो काबुमा लिनुको सट्टा पाँच इन्द्रिय सुखको लालचले व्यक्तिलाई नै नियन्त्रणमा लिई दिन्छ। व्यक्ति जीवनको अन्तिम लक्ष्य प्राप्ति तर्फ व्यक्ति अघि बढ्न सक्दैन। आफ्नै इन्द्रिय, मन र बुद्धिले उसलाई बाहिरी रूपमा प्रकट हुने इच्छा आकाङ्क्षाहरू पूर्ति गर्ने कर्ममा व्यस्त राखिदिन्छ। व्यक्ति वास्तवमै राम्रो कर्मको छनौट गर्ने क्षमता गुमेको इन्द्रिय सुख केन्द्रित एउटा उपकरणमा परिवर्तित हुने जोखिम बढ्दछ।

 

बुद्धिमत्ताको सही उपयोग हुन सक्दा यो अवस्थाले व्यक्तिलाई सांसारिक जीवन के रहेछ, इन्द्रिय सुख केन्द्रित अनियन्त्रित इन्द्रिय, मन र बुद्धिको क्षमता र हविगत कस्तो हुने रहेछ भनी अनुभूति मार्फत आफ्नो ज्ञानलाई तिखार्ने अवसर समेत हुन सक्दछ।

 

 

श्लोकले असल नियत र अहिंसा युक्त नियमित कर्म व्यक्तिको वृत्ति विकास र ज्ञान वृद्धिका अचुक उपायहरू हुन् भन्दछ। जसले व्यक्तिलाई सफलता उन्मुख सन्तुष्ट भूमिका तर्फ लैजान्छ। नाफा खोर व्यापारी वा कमिसन खोर नेताको रूपमा नभई यथोचित प्रतिफलको दायरा ननाघ्ने नियतले सबैका लागि मूल्य सृजना गर्ने उद्देश्यका साथ काम गर्ने नेता तथा उद्यमशील व्यवसायी सबैको भविष्य उज्ज्वल हुने गर्दछ।

 

आफ्नो कर्तव्य पुरा गर्ने इच्छुकता सहितको असल नियतको समाजको उदाहरणीय कर्मले समाजमा अनुकूल वातावरण मात्र सिर्जना हुने होइन त्यस्ता सत्कार्यमा लाग्ने व्यक्ति, व्यापारी वा नेता सबैले अन्ततः सफल, सन्तुष्ट र आनन्दित अवस्थामा आफूलाई पाउने गर्दछन्। जुन अकाट्य प्राकृतिक नियमको सिद्धान्त नै हो।

सारांशमा, हरेक व्यक्तिको विगतका कर्महरूले उसको वर्तमानको निश्चय गरिदिन्छ। उ वर्तमानमा संलग्न भई रहेको कार्यहरू तथा ती कार्यहरूमा अन्तर्निहित अभिप्रायहरूले सिर्जना गर्ने परिस्थितिले उसको भविष्यको गन्तव्य सम्म पुग्ने गोरेटो कुदिदिने गर्दछ। जब व्यक्तिले उसको आफ्नै विगतका कर्महरू, तिनमा अन्तर्निहित नियत, हाल संलग्न रहेको कर्म र तिनका वास्तविक नियत आदि सबै कुरा जे थिए वा छन् त्यस्तै रूपमा हेरेर मनन गरि आफूलाई हेर्‍यो भने उसलाई प्रकृतिको कुनै पक्षपात विना ऊ हाल जहाँ जुन अवस्थामा रहन आवश्यक थियो, लायक थियो र न्याय पूर्ण समेत थियो आफूलाई त्यही रहेको भेटाउने भागवत गीताको सन्देशले प्रस्ट गरिदिन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: