प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
जीवन जिउने तीन मार्ग : ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग!!
नारायण नारायण नारायण
वैदिक अवधारणा अनुरूप जीवन जिउने मुख्यतया तीन वटा मार्ग भेटिन्छ। ती मार्गहरूलाई ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग भनी नामकरण गरिएको छ।
महत्त्वको हिसाबमा यी तिनै मार्ग अत्यन्त आवश्यक छ। एउटा मार्ग अर्को मार्ग भन्दा कम महत्त्वको छैन।
तिनै मार्ग मोक्ष ( उद्देश्य प्राप्ति गर्न र त्यसमा दिगो रूपमा कायम रहन सम्भव हुने अवस्था) प्राप्तिको मुख्य साधन हुन। त्यसो भन्दै गर्दा वैदिक अवधारणामा यो पनि प्रस्ट बोलिएको छ कि यी तीन मार्ग एउटा अर्को को प्रतिद्वन्द्वी होइनन।
यी तीन मार्ग अलग अलग समेत छैनन्। बरु एक आपसमा परिपूरक रहेर जोडिएर रहेका छन्।
तपाईँ ज्ञानी हुनुहुन्छ भने त्यो राम्रो कुरा हो। तर यदि तपाईँ आफू सर्वज्ञ ज्ञानी रहेको सोचले ग्रसित हुनुहुन्छ भने तपाईँ महामूर्ख बनिसकेको हुनु हुन्छ। जस्तै हालका हाम्रा ठुला भनिएका राजनैतिक पार्टीका नेता।
तपाईँ ज्ञानी चाहिँ हुनुहुन्न तर भक्ति मार्गमा लग्नु भएको छ भने तपाई लाई एउटा कालीमाटी लाई आफ्नो इच्छा अनुरूप एक कलि गडले आफ्नो मन खुसी चिलिम वा हुक्का वा घैँटो बनाए जस्तो जे बनाइ दियो त्यो बन्नु हुने छ। कलि गडको नियत प्राप्ति गर्ने साधनको रूपमा तपाईँ परिवर्तन हुनुहुने छ।
जस्तै हालका हाम्रा ठुला भनिएका राजनैतिक पार्टीका नेताको मलद्वार लाई हरिद्वार देख्ने झोले कार्यकर्ता।नेताका पछि लागेका ती कलिला मुनाहरूको जस्तै तपाइको समेत दुरुपयोग हुन सक्छ।
यदि तपाईँ सत कर्म गर्नु हुन्न भने ज्ञान र भक्ति दुवै व्यर्थ हुने गर्दछ। यसको उदाहरण रावण हुन्। अथाह ज्ञान, मान र सान भएका उनी भगवान् शिवका भक्त समेत थिए। उनको एक शक्तिशाली, बलियो र ज्ञानी छवि उनको आफ्नै अधर्मको कारण पतन भयो।
रावणको रूपको बुद्धि भएता पनि तपाइमा रहेको खराब आचरण र अधर्मले तपाइको ज्ञान, कुलायनको इतिहास, शक्ति, ऐश्वर्य सबै तुच्छ गनिन पुग्दछ।
आफ्नो स्वार्थ पूर्ति गर्न आफूलाई फरियाबाबुमा परिवर्तन गरेर विद्वानको रूपमा उदाएका हाम्रा आजका ठुला ठुला सरकारी निकायमा नियुक्ति पाएका तर जनता वाट तिरस्कृत राजनैतिक नियुक्ति लिएका व्यक्तिहरू, नेतालाई सलामी चढाएर छरपस्ट देखिने गरी लुट्नमा व्यस्त रहेका मन्त्रालयका सचिवहरू यसका उदाहरण हुन्।
उनीहरू संग योग्यता छ, ज्ञान पनि छ तर कर्म छैन। असल आचरण छैन। धनको लालचमा समाज आफन्त र मुलुक सबै भुलेका छन्। आफ्नै लोभले गलत बाटो वाट प्राप्ति गरेको धनको आगोको ज्वालाले जीवन भर आफैलाई पोल्ने गरी छटपटाहट को यात्रामा आफूलाई होमिरहेका छन्।त्यही अग्निको रापले जीवन भर डामिएर त्यसैको दर्दको पिडा भोग्दा भोग्दै उनीहरूले यस धर्ती वाट आफ्नो इहलीला त्यागिरहेका हुने छन्। यो नै कर्मको फल हो।
तपाइको आदर्श वा गुरु सत मार्गी भेटियो भने भक्ति मार्ग अत्यन्त सही मार्ग हुने गर्दछ। भक्ति मार्गको अनुयायीको रूपमा हनुमान लाई लिने गरिन्छ। ‘हनु’ को अर्थ उल्लङ्घन गर्नु र ‘मान’ को अर्थ अहङ्कार हो। भक्ति मार्गले सबैको अहङ्कार तोड्छ। भक्ति मार्गमा रहेको मानिस अहङ्कारी वा घमन्डविहीन बन्दछ।
आफू कुन कर्म गर्ने प्रयोजनमा आफ्नो अस्तित्व रहेको हो भन्ने उसले बुझ्दछ त्यो कर्म आफ्नो सम्पूर्ण शक्ति लगाएर सम्पन्न गर्न उ नियमित प्रयास रत रहन्छ। यसको उदाहरणमा ठग, बिचौलिया र गलत नियत नबोकी, कसैको झोले नबनी, फरिया बाबुको अवतार नलिई आफ्नो कर्ममा लिन बनेका सम्पूर्ण कर्मठ इमानदार जनताहरू हुन सक्दछ।
ज्ञानको महत्त्व त्यति बेला मात्र प्रमुख हुन्छ जब त्यो ज्ञान अहिंसा वादी र सत्कर्म संग जोडिन्छ। अहिंसा र सत्कर्म बोकेको नियत लाई असल नियत भनिन्छ। वैदिक अपधारणामा पहिला असल नियतको व्यक्ति बन्न सल्लाह दिने गरिन्छ। नियत खराब भएको व्यक्ति ज्ञान युक्त हुनु भन्दा ज्ञानविहीन हुनु नै धार्मिक हुने गर्दछ। नियत खराब नरहेको कर्मले समेत धार्मिक कर्मकै पक्ष लिने गर्दछ।
त्यसैले राजा दशरथ आफैँ मृत्युको मुखमा पुगे बेलामा एउटै कुरा भनेका थिए कि असल नियतले गरिने कर्म नै सबैभन्दा शक्तिशाली हुन्छ। एप्पलका स्टिभ जबले समेत असल नियतले गरिने कर्म भन्दा शक्तिशाली न त कुनै ज्ञान हुन्छ न कुनै सिद्धान्त लाई नियमित रूपमा पछ्याउने भक्ति।
यो कुरा लाई हामी हाम्रो साधारण विज्ञानको क्षेत्र वाट समेत सहज बुझ्न सकिन्छ।
जस्तै तपाई संग कुनै अत्यन्त राम्रो व्यवहारिक ज्ञान वा आइडिया छ (ज्ञान मार्ग) भने पनि जब सम्म तपाई त्यो ज्ञानले राम्रो उत्पादन दिने विश्वास आफूमा हुन्न तब सम्म त्यसलाई व्यवहारमा लागु गरेर उद्यमशीलतामा जाने आँट गर्न सक्नु हुन्न (भक्ति मार्ग)। जब तपाईँमा त्यो विश्वास जागृत हुन्छ तब पनि जब सम्म त्यो विचार लाई तपाइले व्यवहारमा प्रयोग गरेर उत्पादन सुरु गर्नु हुन्न (कर्म मार्ग) तब सम्म तपाइको त्यो विचार वाट उत्पादन सुरु गर्न सक्नु हुन्न।
तपाइले जब त्यो काम सुरु गर्नु हुन्छ तब त्यो काम गर्नको लागि तिनै व्यक्ति उत्साहित हुने छन् जसलाई तपाइको त्यो बिचारले राम्रो सफलता पाउने विश्वास जाग्दछ (भक्ति मार्ग)।
तपाइले काम त सुरु गर्नु भयो, त्यसले सफलता पनि प्राप्त गर्दै थियो तर तपाइले खराब नियतले त्यसको उपलब्धिको दुरुपयोग गर्ने निश्चय गर्नुभयो भने तपाइको त्यो सफलता नै जीवनको सबैभन्दा ठुलो असफलतामा परिवर्तन बनी दिन्छ।
त्यसैले माथिका सबै कुराको दिगोपनको मुख्य सर्त अहिंसा बादी असल नियत बोकेको सत्कर्म नै हुने गर्दछ। उत्पादनको लागि भने, सफलताको लागि भने सबैभन्दा महत्त्वपूर्ण चिज कर्म नै बनिदिन्छ।