Canadian Reporters

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Echo

Weekly Updates

Let's join our newsletter!

Do not worry we don't spam!

दुःख-दर्दले नभएर भ्रमका कारण हुन्छ आत्महत्या : वेद ।
Updated at:- 2024-09-24

दुःख-दर्दले नभएर भ्रमका कारण हुन्छ आत्महत्या : वेद ।

नेपालीमा एउटा शब्द छ प्रारब्ध। जीवनको बर्तमानको अवस्थाको लागि व्यक्तिको विगतका कर्महरूले स्थापित गरेको प्रभावको भूमिकालाई प्रारब्ध भनिन्छ। आत्महत्या जस्ता विषयलाई समेत हामी व्यक्तिको प्रारब्धको फल भनी बुझ्दछौ। व्यक्तिले आफ्नो विगतमा कस्ता कस्ता कर्महरू गर्‍यो त्यसको पछाडि व्यक्तिले लिएको आफ्नै निर्णय जिम्मेवार रहन्छ। व्यक्तिले लिने निर्णयमा उसको भोगाइको मूल भूमिका हुन्छ। भोगाई व्यक्तिको आफ्नो अनुभव र अनुमानको अनुभूति हो।  आफ्नो वरपर स्थापित वातावरण, सामाजिक मूल्य, नैतिकता एवं सामाजिक  मूल्य र मान्यताले स्थापित गरेको संस्कार, कल्चर आदि लाई  व्यक्तिले सकारात्मक वा नकारात्मक रूपमा गरिरहेको ग्रहण आदिले व्यक्तिको अनुभव र अनुमानको पृष्ठ भूमि तैयार गरिदिन्छ।

त्यसैले वैदिक मान्यता अनुरूप व्यक्तिको विगतका कर्महरूले उसको भविष्यको कर्म र गन्तव्यको निर्धारण गर्दछ भन्ने विश्वास गरिन्छ। जब  व्यक्तिले आफ्नो नियन्त्रण क्षमता खुबीभन्दा अधिक गतिमा कारलाई हाँक्ने आदतको विकास गर्दछ, तब उसलाई उपलब्ध कार जतिसुकै आधुनिक, सुविधा सम्पन्न र राम्रो कन्डिसनमा रहेको किन नहोस् , कारको धर्म चालक केन्द्रित रहेर चल्ने रहेकाले त्यहाँ दुर्घटना लगभग निश्चित हुने स्थिति पैदा हुन्छ।

नियन्त्रण क्षमताको खुबी भन्दा अधिक गतिमा हुइँकिई रहेको कारको तत्कालीन समय, परिस्थिति अनुरूप भएको त्यस्तो  दुर्घटनामा सुरक्षा संयन्त्रले गर्न सक्ने अधिक सुरक्षा कवचको कारण चालकले कार दुर्घटना वाट कुन हदमा घाइते हुने भन्ने स्थिति तय हुन सक्दछ।  सायद चालक मर्न पनि सक्नु हुन्छ। यस प्रकारको चालकको आफ्नै आदतका कारण पैदा भएको परिस्थिति लाई वैदिक मान्यतामा चालकको भाग्य हैन कर्मको फल तय भएको विश्वास लिने गरिन्छ।

उल्लेखित परिस्थिति चालकको आफ्नै प्रारब्ध कर्मको पुजी वा धन हो। धन धनात्मक र ऋणात्मक दुवै हुन्छ। चालकको मृत्युको बेला चालकको आफ्नै प्रारब्धले चालकलाई ऋणात्मक आयु आर्जन गरेर दिएको अर्थमा लिने गरिन्छ। चालकको तीव्र गतिमा हुइँकिने समय परिस्थिति अनुरूपको नियत सही होस् वा गलत, जब व्यक्तिले प्राकृतिक नियमको प्रतिकुल, सामाजिक मूल्य र मान्यताको प्रतिकुल, आफ्नै प्रमाणित क्षमता प्रतिकुल कर्महरू गर्दछ, उसलाई त्यस्तो कर्मको प्रारब्धले असहज परिस्थिति बिच जाकिदिन्छ।

असहज परिस्थितिमा सम्पन्न कार्यहरूले दिने असहजताले झन् धेरै असहजता पैदा गरिदिने गर्दछ। त्यो अवस्थामा आफूलाई रोकी, पुनर्विचार गरी पुन अघि बढ्ने धैर्यता लिन नसक्दा जीवनको गति अप्रत्याशित दिशा उन्मुख बन्न सक्दछ। त्यसलाई समेत होस ले भन्दा भावना र बेहोसे जोस उत्प्रेरित भएर गरिने कर्मले तीव्र गतिमा हुत्ताइदिने जीवनलाई व्यक्तिको नियन्त्रण क्षमता बाहिर लगिदिन्छ। यो अवस्थामा पुगेका कतिपय व्यक्तिहरू आत्मा हत्या जस्ता विचलनको बाटो पकड्न पुगेको देखिन्छ। अनर्थ पूर्ण गन्तव्य र अस्वाभाविक इच्छा मृत्युको ग्रहण गर्न पुगेका भेटिन्छन्।

अत्यन्त असहज मोडमा पुग्दा आफ्नै जीवनको हत्या सम्मको सोच पैदा गर्ने ‘आत्मघाती सोचको भ्रूण’ हरेक मानिसको मनमा जन्मजात रोपिएको हुन्छ। हरेक व्यक्तिको अन्तर्यमा हुने आत्मघाती सोचको वीज जोखिमको समयमा व्यक्तिको सुरक्षाको लागि व्यवस्था भएको देखिन्छ। व्यक्तिमा जन्मजात आत्मघाती सोचको वीज रहनुलाई कतिपय मानिसहरूले व्यक्तिले कुनै निश्चित समयमा आत्महत्या गर्ने छ भनी उसको भाग्यमै प्रोग्राम भएर जन्म लिएको अर्थमा बुझेको देखिन्छ। जुन वेदको मान्यतामा सरासर त्रुटि पूर्ण बुझाइ हो।

व्यक्ति जब मानसिक र भावनात्मक रूपमा अस्थिर बन्दछ, उसलाई शून्यताको जरुरत पर्दछ। शून्यताले उसलाई न हर्ष न बिस्मातको अवस्थामा पुर्‍याउने गर्दछ। शून्यतामा मान्छेको मन अर्धचेतनको अवस्थामा पुग्दछ। अर्धचेतनको अवस्थामा मान्छेको मन सामूहिक मन सँग संसर्गमा आउँछ। त्यसो हुँदै गर्दा आफ्नो लागि जिउने सम्पूर्ण ढोकाहरू बन्द भएर निराश बनिरहेको वेला मर्नको लागि उत्प्रेरित गर्ने हजारौँ कारणहरू भन्दा अत्यधिक महत्त्वपूर्ण कम्तीमा एउटा जीवन जिउनै पर्ने, आफ्नो जीवनको सङ्घर्ष आफैले पुरा आयु बाँचेर लड्नै पर्ने र आत्मा हत्या मार्फत पलायन वादी बन्न नहुने, त्यसको जरुरी समेत नभएको आशा र विश्वासको झ्याल फेला पर्दछ। त्यति बेला उसको मनमा आएका आशाका किरणहरूले उसमा सकारात्मकता ल्याएर उसलाई आशाको मोडमा लगि दिन्छ।

शून्यता भनेको अङ्क गणितको जिरो नै हो। जिरो भनेको बरावर मात्राको धनात्मक र ऋणात्मक मात्राको समुच्च जोड हो। भावनाको हिसाबमा शून्यता सकारात्मक सोच र नकारात्मक सोच बिचको सन्तुलन हो। जीवनमा बाँच्ने आशा मानिसको भावनात्मक रूपको धनात्मक पक्ष हो भने मर्ने बिचार ऋणात्मक पक्ष हो। जति बेला मानिसमा ऋणात्मक भावना बढ्दछ, मानिस मृत्युको विकल्प समेत सोच्दछ। जब जीवनका अन्य पक्षले उसको निराशा लाई आशामा बदल्छ, उसले आफू आफ्नो पुरा जीवन जिउनु पर्ने आधार भेट्टाउने गर्दछ।

वेदको अनुसार दुःखले भन्दा सु:खले मानिस आन्तरिक रूपमा धेरै विचलित र खण्डित बन्ने जोखिम रहन्छ। विवेक र अनुशासन हीन सु:ख मानिसको आफ्नो जीवनको सबैभन्दा खतरनाक दुस्मन हुने गर्दछ। स्वार्थ पूर्ण, अविवेकी, नैतिकहीन तथा परपीडक पापको जगमा उभिएको सु:खले मानिसलाई सम्पूर्ण रूपमा सकिदिन्छ। सम्पूर्ण रूपमा सकिएर जिउँदै गरेको मानिसको जीवनलाई (Finished Completely) वेदले नारकीय जीवन भन्ने गर्दछ। नारकीय जीवन जिउँदै गरेको मानिसलाई पापीको संज्ञा दिने गरिन्छ।

विना पापको परिस्थिति जन्य कारणले भोग्नु परेको मानिसको दुःखको (Completely Finished) जीवनलाई नारकीय जीवन नभनेर जीवनको कठिन पहेलीहरूको व्यवहारिक ज्ञान प्राप्तिको समयको रूपमा वर्णन गरिन्छ। दुःखले मानिसलाई अल्प कालको लागि कमजोर र कमसल आत्मबल युक्त पारिदिन्छ। त्यही दुःख वाट उठेर आफ्नो जीवन यापन सहज गर्न पुगेको मानिसले जीवनको यथार्थ बारे गहिरो अनुभूति गरी आफूलाई अविचलित रहने  मानवीयता युक्त मानिसको रूपमा विकास गर्न सकेको हुन्छ। नैतिक हीन, परपीडक प्रकृतिको सुख भोगको जीवन यापन अर्थात पाप कर्मको फल अन्ततः दुखद नै हुन्छ।

क्षणिक सन्तुष्टि दिने प्रकृतिको, जीवनलाई नै  नरक कुण्डमा जाकिदिने अवसर वाट मानिसलाई बचाउन “म पनि एक दिन मर्नु पर्दछ” भन्ने अनुभूति दिने प्रयोजनको लागि, मानिसको सुरक्षा कवचको रूपमा “आत्मघाती सोचको वीज” जन्मजात रूपमै प्रकृतिले मानिसको मनमा रोपिदिएको हुन्छ।

मानिसको मनलाई शून्यतामा लैजान, आपतमा नआत्तिन, सु:खमा नमात्तिन मानिसलाई  ‘मृत्युको सोचको भ्रूण र आशाको किरणको भ्रूण’ दुवैको जरुरी हुन्छ। त्यही द्वन्द्वात्मक बिचार बिच मानिसको जीवनको सुख दुःखको गोरेटो कोरिएको हुन्छ। त्यही सु:ख-दुःखको गोरेटोमा आफूलाई सदैव आनन्दित राख्ने बुटीको रूपमा मानिसले आफ्नो मृत्युको सोचको भ्रूण र आशाको किरणको भ्रूणको बिचमा रहेर आफूलाई आध्यात्मिक बाटो मार्फत आनन्द मार्गमा लैजान सक्दछ।

मानिस प्रकृति भन्दा किन भिन्न छ भने मानिसले बनाएको हरेक कुराको आफ्नै सीमितता हुन्छ। मानिसले आफैले आफ्नो छिटो छरितो यात्राको लागि सुविधा युक्त कार बनाउन सक्दछ। तर जति सुकै खर्च गरोस् दुर्घटना नहुने र यात्रुलाई सत प्रतिशत जोखिम नरहेको  ग्यारेन्टी भएको सवारी निर्माण मानिसको क्षमता बाहिरको कुरा हो। तपाईँको कार जति सुकै सुविधा युक्त होस्, गति बढाउनु हुन्छ भने रोकिने समय र कारमा तपाइको नियन्त्रण क्षमतामा सम्झौता गर्न बाध्य हुनुहुने छ। गति कम गर्नु हुन्छ भने यात्राको लागि समय लामो बन्ने  यथार्थ स्विकार्न पर्ने छ।

हामीले जीवनमा गर्ने हरेक गतिविधिको लाभ र हानिको पक्ष हुने गर्दछ। तुलनात्मक रूपमा अत्यधिक सुरक्षित बनाइएको कारको यात्राको लागत  सर्वसाधारणको क्रय शक्ति बाहिर पारिदिन सक्दछ। तपाईँ मोटर साइकल चढ्नु हुन्छ भने त्यसमा हुने पेट्रोल खर्च र सम्भावित दुर्घटनाको जोखिम मोल्न तयार भएरै तपाईँ मोटर साइकल चढ्ने निश्चय गर्नु भएको हुन्छ। त्यसको बदलामा तपाईँलाई खुट्टाले हिँड्दा वा सार्वजनिक यातायात भन्दा सायद छिटो, तपाईँले चाहेको स्थानमा सहज पुग्ने सुविधा प्राप्त होला। सँग सँगै बिचमा कतै दुर्घटनामा परे जीवन नै जोखिममा पनि पर्न सक्दछ।

यो अर्थमा हाम्रा दैनिकीमा हामीले ग्रहण गर्ने र लिने सम्पूर्ण छनौट लाभ र लागतको तुलनात्मक मापनको आधारमा हुने गर्दछ। हाम्रा जीवनका हरेक छनौटको  ग्रहण सँगै लाभ र हानिको दुवै पक्ष कम्बोको रूपमा हामीले  बेहोर्नु पर्दछ। यो यथार्थता लाई हामीले प्रस्ट रूपमा स्विकार्न सक्नु पर्दछ।  जीवन सञ्चालनको यो रित लाई बुझ्न र स्विकार्न सक्दा असफलताको समयमा आफ्नो नियन्त्रण बाहिरको अन्य पक्षलाई दोष दिएर समय वा जीवन खेर फाल्नु अघि हामीलाई आफ्नै नियन्त्रण भित्र रहेको  यथार्थ पक्षहरूमा केन्द्रित रहेर हिजोको आफू भन्दा सुधारिएको आजको आफूमा आफैले रूपान्तरण गर्न सक्दा हामीलाई आफ्नो जीवन सहज पार्ने सफलता हात लाग्ने अधिक सम्भावना हुन्छ।

तपाईँले प्रकृति (ईश्वर) वाट प्राप्त आफ्नो शरीरलाई प्रकृति (ईश्वर) निर्मित आफ्नै वा अर्को प्राणी हत्यामा प्रयोग गर्नु हुँदैन, चाहे त्यो मानव होस् वा अन्य जनावर।

                ~ यजुर्वेद, खण्ड १२, ऋचा ३२

 

अहिंसा नै सर्वोच्च मानव कर्तव्य हो। अहिंसा परमो धर्म ।

~ महाभारत, अनुशासन पर्व, अध्याय ११५, श्लोक १।

 

आत्म हत्याको मार्ग अवलम्बन गरी मृत्यु वरणको उपाय रोज्ने जो कोहीको कर्मले समाजलाई चरम निराशाको निष्पट अन्धकार तर्फ धकेल्ने भूमिका खेलिरहेको हुन्छ। ~ इसा उपनिषद्, श्लोक ३

केही अपवादका अहिंसा रुपी स्व-मृत्यु वरण बाहेकको प्राय: सबै नै परिस्थिति बिच रोजिएको आत्महत्या लाई  वैदिक अवधारणाले प्रस्ट सँग निन्दा गर्दछ। वैदिक अवधारणामा आत्म आफै शाश्वत (ईश्वरीय) रहेकोले त्यसलाई कसैले मार्न नसक्ने ठानिन्छ। तत्कालीन जीवनको (तत्कालीन चोलाको) अन्त: तर्फ सङ्केत गर्ने अर्थमा आत्महत्या शब्दको वैदिक मान्यता अन्तर्गत चर्चा हुने गरेको भेटिन्छ।

आफ्नै शरीरको  अप्राकृतिक हिंसा युक्त हत्याले समाज लाई निराशा वादी बनाउन ठुलो भूमिका खेल्ने गर्दछ। अप्राकृतिक आत्महत्या मार्फत हुने शरीर नष्ट गर्ने कार्यले अहिंसाको पालन गर्न वाट समेत मानिसलाई विमुख गर्ने गर्दछ।  साथै यो मानव सर्वोच्च कर्तव्य , मानवीयता तथा प्राकृतिक नियमको सिद्धान्त विपरीतको कर्म समेत रहेकोले यसले सम्पूर्ण चराचर जगतको कल्याण विपरीतको नतिजा निम्त्याउने वेदको मान्यता देखिन्छ।

वेदान्त दर्शन अनुसार आत्मा व्यक्तिको मूल व्यक्तित्व हो। आत्माले मन, शरीर र बुद्धिको मुख्य आधारको भूमिकामा रहन्छ। मानिसमा विकसित हुने वासनाले (अन्तर्निहित प्रवृत्ति) मन, शरीर र बुद्धिको प्रकृति र तिनीहरू बाट सम्पन्न गरिने गतिविधिहरूको निर्धारण हुने गर्दछ। मानिसको मानसिक रोग उसको शारीरिक रोग भन्दा नितान्त फरक रहने कुरा बताउने ऋग्वेदले व्यक्तिको व्यक्तित्व सत्त्व, रज, र तम गरी तिन प्रकारको हुने उल्लेख गर्दछ।  यजुर्वेद अनुसार ज्ञानको भित्री ज्योति नै मानिसको मन हो।

अथर्ववेदले मन एक सम्मोहनको साधन समेत रहेको वर्णन गर्दछ। इच्छा शक्ति, भावना, प्रेरणा र चेतनाको बारेमा विस्तृत चर्चा गर्दछ। वेदमा  मनोविकृति लाई “उन्माद” भनिन्छ। उन्मादले मनको भ्रमित अवस्था लाई जनाउने गर्दछ। जैविक कीरा, सूक्ष्म जीव, ज्वरो, इत्यादिको प्रकोप तथा भौतिक संरचनाको कार्यात्मक सिङ्क्रोनाइजको कमी आदि कारणले  मनोविकृतिको उत्पत्तिको हुन सक्ने भनिएको छ। वेदहरूले मनोविकृति, छारे रोग, निद्राको विकार र एग्रिगेसन जस्ता मनोरोगको उपचारको लागि भेषज (औषधि), प्रार्थना (मनश्चिकित्सा) आदिको साथसाथै यम (बीज मन्त्र), नियम (व्यवहार नियन्त्रण), आसन र प्राणायाम (शारीरिक गतिविधिहरू) जस्ता रोकथाम विधिहरू समेत उल्लेख छ।

एक अनुसन्धानले देखाए अनुरूप २०१५ देखि २०१९  बिचको नेपाल प्रहरीको अभिलेखमा पाँच वर्ष भित्र नेपालमा २५,३१६ आत्महत्याको घटना रेकर्ड छ। प्रत्येक दिन औसत १४ मान्छेले आत्मा हत्या गरेको त्यो समयमा ६०% आत्महत्या गर्ने व्यक्ति लगभग १९ देखि ३५ वर्ष उमेर समूहको छन्। पाँच वर्षमा आत्महत्या ३३% ले वृद्धि भएकोमा महिला आत्महत्या २००% ले बढेको देखिन्छ। आत्महत्या गर्न ७०.१३% ले डोरीको पासोमा झुन्डिएर र २६.५५% ले विष सेवनको तरिका अपनाएको देखाउने गर्दछ।

गहिरिएर खोतली खोतली अनुसन्धान गर्दै मनन गर्नुहोस्। आजको युगमा तपाइले सबैलाई  चिन्तित देख्नु हुने छ। सबैलाई कुनै न कुनै चिन्ता वा कुनै न कुनै रोगले सताई रहेको भेट्नु हुने छ। कोही पैसाको अभावमा दु:खी छन्। कोही सँग धन सम्पत्ति छ, आफ्ना पनि छन्। आफन्त छैन। आफ्नो लागि कोही छैन। नाताले आफ्ना भनिएका घर भरि छन्। मन उदास छ। सहर भिड भाडले भरिएको छ। त्यही सडकको गल्लीमा ओहोरदोहोर गरिरहेको हरेक व्यक्ति आफूलाई एक्लो महसुस गरिरहेको हुन्छ। सहर कोलाहलले भरिएको छ। त्यही सहरमा जन्मे हुर्केर, पढी, बढी ठुलो बनेको मान्छे आफ्नै सहरलाई बिरानो अनुभूति गरिरहेको छ। त्यही सहरको कोलाहल भित्र उसको लागि, उसको कल्याण र हितको लागि, उसको दौँतरी बनिदिने आवाज लगभग शून्य रहेको भेट्दछ।

पैसा हुने सँग मन बहलाउने समय छैन। समय हुने सँग मन बहलाउन चाहिने पैसा पनि छैन, मन बहलाउन सहज लाग्ने हितैषी ठानिएकोले पनि छोडी दिए। कसैको आफ्नो लागि मर्न तयार हुने कसम खाएको  प्रेमी छ, प्रेमी सँग जीवन बिताउन परिवारको साथ छैन। कसै सँग आफूले रोजेको सँगै जीवन बिताउन परिवारको स्वीकृति र साथ छ, आफ्नो मनले खाएको, आफूले रोजेको प्रेमीको साथ छैन। कसै सँग न त प्रेमी छ, न परिवार नै। यस्तै यस्तै अनगिन्ती कारणले मानिस दुखी छ। आफ्ना असीमित चाहनाहरूले मानिसहरूलाई दिन दिनै दुःखी र झन् असन्तुष्ट गर्दै लागिरहेको छ। यसको मतलब यो होइन कि, यी र यी भन्दा जटिल परिस्थितिहरूको सामना गर्न जीवनको लड्नै पर्ने लडाइँबाट पलायन भएर कसैले आफैले आफ्नो अस्तित्व सिद्ध्याउने आत्महत्याको बाटो  रोजोस्।

तपाईँ जीवित रहनु भएको मर्त्य लोकको स्थापित सत्य के हो भने कहिले कहीँ मेहनत गरेर पनि पैसा कमाउन सकिँदैन। पैसा नभएकोले आफ्नो सम्पूर्ण शक्ति लगाएर गरेको  मिहिनेत पश्चात् पनि जीविका धान्ने सम्म उपाय जुर्दैन। रोग निको गर्ने प्रयास अनुरूप भएका सबै रोगको उपचार गर्दा समेत लागेको रोग निको हुँदैन। बाँचेका आफ्नै परिवारलाई समेत सुकुम्वासी बनाउने गरी, भएको घर-खेत श्री सम्पत्ति सबै बेचेर, आफ्नो परिवारको प्रिय पात्र बाच्ने आशामा, उपचारमा पैसा लगाउँदा पनि उसलाई बचाउन सकिँदैन।

पैसाको अभाव रहँदा, अवस्था सुध्रेपछि सबै फर्काउने नियतले पैसाको मद्दत मागेको बेला आफ्नै नजिकको मानिसले आफूसँग बोलचाल नै बन्द गरिदिन्छ।  संसारकै नामी र कुशल भनिएकै चिकित्सककै निगरानीमा उपचार गर्न आफ्नै आँखा अगाडी ठमठम हिँडेर उपचारमा अस्पताल गएको आफ्नो प्रियजन अस्पताल पुगेपछि झन् कमजोर बनेर इहलीला समाप्त गरिदिन्छ।

उल्लेखित प्रकृतिका कुराहरू सबै एकै जनाले आफ्नो जीवनमा भोग्नु पर्ने भन्ने  हुँदैन। तर पनि यी कुराहरू हाम्रा समाजका सामान्य दैनिकी हुन्। हाम्रो समाजको मात्र हैन, संसार भर चलिरहेको रित हो। आधुनिक भनिएको वैज्ञानिक युगले तपाईँ हामीलाई पस्केको उपहार हो।

के यस कुराको हामीमा विकल्प वा उपचार छैन होला र ? पक्कै छ।

हाम्रो पुर्खाले आफ्नो आदर्श मान्ने पुरातन वैदिक मान्यता अनुसार मानव दुख र पीडाका (suffering) पाँच मुख्य कारणहरू छन्। अज्ञानता (अविद्या), अहङ्कार (इगो), प्रेम (एट्याचमेन्ट), ईर्ष्या (द्वेष) र डर (फियर)। उल्लेखित पाँच कारणहरू एकापसमा अन्तर सम्बन्धित छन्। किनकि पाँचै प्रकृतिका दुःख र पीडाहरुको (suffering) चुरो कारण (रुटकज) अविद्या (अज्ञानता) हो।

सासारिक जगतको रित तथा जीवनको यथार्थको ज्ञानले मानिसले आफ्नो सम्पूर्ण प्रकारको दुख र पीडा (suffering) लाई सहज रूपमा लिन, त्यसको चुनौती लाई स्विकार्न, सहन र त्यस विरुद्ध भिडेर त्यस वाट मुक्ति प्राप्त गर्न सम्भव हुन्छ।

हाम्रा पुर्खाले हिजो त्यही जित प्राप्तिको लागि आफ्नो गृहस्थी सुचारु राख्दै अध्यात्मको लागि समेत पर्याप्त समय निकालेर आफू सन्तुष्ट रहँदै आफ्नो कर्तव्य समेत पुरा गरे।

हामीले अध्यात्मको समय समेत आफ्नो गृहस्थीलाई झन् सुन्दर बनाउने सपनामा खर्च गरिरहेका छौ। त्यसो गर्दै गर्दा कहिले काहीँ हामी अल्प सुखी समेत बन्ने गरेका पनि छौ। त्यस सँग सँगै आनन्द पथको भने अनुभूति समेत नगरी मरिन्छ की भन्ने यात्राको दोबाटोमा पुगेको अनुभूति गरिरहेका छौ।

अध्यात्मले तपाईँलाई तपाइको भागमा परिरहेको सम्पूर्ण दुःख र पीडा तपाइको हिजोको कर्मको (प्रारब्धको) सह-उत्पादनको रूपमा तपाईँलाई  प्राप्त अवसर भएको यथार्थ बारे परिचित गराउने छ। जीवनको यथार्थ पहिचान गर्न सघाउने छ। आफ्नै प्रारब्धको कारण आफ्नो  भागमा परेको पीडादायक परिणामहरू स्विकार्ने र त्यसको समाधानमा डटेर लाग्ने आत्मबल दिने छ। प्रारब्धको सह-उत्पादनको रूपमा तपाइले झेल्दै गर्नुभएको असहज परिणामहरू सजायको रूपमा नभएर विगतका कार्यमा भएका त्रुटिहरू पुनः दोहरिन नदिन तपाईँलाई परिपक्व गर्ने र एक सफल मानवीय मूल्य र मान्यताको व्यक्तिको रूपमा स्थापित गर्ने सकारात्मक नियतले आएको अवसरको रूपमा लिन तपाईँलाई प्रोत्साहित गर्ने छ।

हिजो आफ्नो खुसीको लागि अर्काको कर्ममा भर पर्ने र सदैव बल्ड्याङ खाने, जिल्लिने, आफूलाई सदैव सबै वाट धोका मात्र आइलाग्ने  भ्रममा पर्ने तपाईँलाई आफ्नो खुसी आफ्नै कर्म र आफ्नै आन्तर्यमा रहेको महसुस गराउने छ। मानव दुख र पीडामा (Suffering) हिजो आत्महत्या जस्ता अमानवीय व्यवहार तर्फ सोचाइ लैजाने आत्मघाती ‘सोचको वीज’ नै आज आत्मज्ञान मार्फत संसारको यथार्थता पहिचान गरी चरम आनन्द पथमा तपाइको जीवनलाई डोर्‍याउन तपाईँलाई सहयोग गर्ने छ।

(प्रस्तुत लेखका लेखक खाद्य तथा औषधि विज्ञ घिमिरे हाल क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गरिरहेका छन।)