प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेद र विज्ञानको आँखामा शिलाजित
नारायण घिमिरे
आयुर्वेद र सिद्ध चिकित्सा प्रणालीमा प्रयोग हुने शिलाजित विभिन्न तत्त्वहरू निर्मित पहाडी क्षेत्रहरूमा प्रचुर मात्रामा भेटिने प्राकृतिक खनिज पदार्थ हो। शिलाजितलाई आयुर्वेद र सिद्ध साहित्यमा रासायन/रासायनम भन्ने गरिएको छ। आयुर्वेद र सिद्ध चिकित्सा प्रणालीले रोग लाग्न वाट रोक्ने, शारीरिक, मनोवैज्ञानिक र यौन क्षमता प्रवर्धनमा जीवनको गुणस्तर बढाउँन सहयोग गर्ने क्षमताको कारण शिलाजितलाई कायाकल्प गर्ने (उमेर घटाउने र तन्दुरुस्ती बढाउने) प्राकृतिक खनिज पदार्थको रूपमा लिने गर्दछ।
आधुनिक औषधि विज्ञानले समेत शिलाजित लाई आयुर्वेदिक र सिद्ध चिकित्सा प्रणालीको ज्ञानको उपहार स्वरूप प्राप्त शरीरको प्रतिरक्षा प्रणालीलाई दमन वा उत्तेजित गरी परिवर्तन गरी स्वस्थ समस्या निम्त्याउने कारकहरूको नियन्त्रण गर्न शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने इम्युनोमोड्युलेटरी (Immunomodulatory Ayurvedic Rasayan) रसायनको रूपमा लिने गर्दछ।
आयुर्वेद र सिद्ध चिकित्सा शिलाजितका धेरै नामहरु भेटिन्छ। शिलाज, शैलपुष्प, अगज, मोमियाई, शैलसम्भव, शिलापुष्प, सर्व, शैलाज, शैलसंभव, शिलाकुसुम, शिलास्वेद, पिण्याक, शिलाजीत, शैलनिर्यास, अश्मज, शिलाजतु, पाषाणजतु, शैलज, गैरेय, शिलानिर्यास, शिलाव्याधि, शैलेय आदि नामले समेत शिलाजित लाई नै जनाउने गर्दछ। शिलाजित लाई जैत्र, दारू, औषध, भैषज्य, दरमन, वीरुधा, जोग, दवा, भैषज, भेषज, जैवातृक, दवाई, दरमान, अगद, दवा-दारू, योग, वीरुध, पशुपति, औषधि, मेडिसिन आदि नाममा आयुर्वेदिक र सिद्ध ओखतीमा हालिने रसायनको सूत्र (फर्मुला) सामग्रीको नामको रूपमा नामकरण गर्ने गरिएको भेटिन्छ।
शिलाजित लाई बनाउँदै गरिएको ओखतीको फर्मुला मैत्री बनाउन कहिले यसको रुप गाडा पार्नु पर्ने, कुनै पातलो हुनुपर्ने, कुनै पाउडर (चुर्ण) हुनुपर्ने, कुनै ईमलसनमा मिल्नुपर्ने, कुनै तेलमा र कुनै पानीमा घुल्नु पर्ने आदि कारण तिनीहरूको संरचनामा हुने परिवर्तित रूप जनाउन प्राकृतिक ओखती विज्ञानमा फरक फरक नाममा उल्लेख भई प्रयोग भएको हो। त्यो बाहेक आफ्नो फर्मुलाको गोप्यता कायम गर्न पनि औषधि विज्ञानले यस्तो छद्म उपाय लिने गर्दछ।
वेद र विज्ञानको आँखा वाट शिलाजित लाई बुझ्न हुमिन (Humins), हुमिक एसिड (Humic Acids) र फुलभिक एसिड (Fulvic Acids) वारेको संरचनाको प्रकृति जान्न जरुरी हुन्छ। प्रकृतिमा रहेका धेरै पदार्थको पृथ्वी तत्त्व (भौतिक पक्ष) माटोमा गएर मिल्दछ। माटोमा मिलेको त्यो तत्त्व माटोको सारतत्वको रूपमा परिवर्तन हुन नियमित विखण्डन हुने काम सुचारु रहन्छ। केही तत्त्व विखण्डित हुँदै गर्दा पनि माटोको निश्चित संरचना कायम रहन्छ। जसलाई माटोको चुरो तत्त्व हुमस भनिन्छ।
नियमित विखण्डनमा रहने माटोको चुरो तत्त्व लगभग एक हजार वर्ष हाराहारीको समयमा पुग्दा त्यसमा रहेको विखण्डन हुन अत्यन्त कठिन पक्ष माटोको प्राकृतिक रूपको निष्क्रिय पक्ष मानिन्। उक्त अवस्थाको माटोको विखण्डन हुन सबैभन्दा जटिल अम्लीय र क्षारीय दुवै वातावरणमा नघुलिने तत्त्व बाँकी रहन्छ। निष्क्रिय गुणको माटोको त्यो रूपलाई माटोको सार तत्त्व भनिन्छ। एसिड र बेस दुबैमा अघुलनशील माटोको उक्त सार तत्त्वलाई हुमिन (Humins) भनिन्छ।
माटोमा मिलेका बिरुवाहरूको भाग त्यहाँ सञ्चालन हुने जटिल रासायनिक तथा जैविक प्रक्रियाले नियमित विखण्डन हुने गर्दछन्। विखण्डनको क्रममा बनेका स-साना विखण्डित पदार्थहरू माटोमा रहेका सूक्ष्म जीवहरूको सक्रियतामा जैविक संश्लेषणका विभिन्न चक्रीय प्रकृतिका क्रिया-प्रतिक्रियाहरू मार्फत क्षारीय माध्यममा (Basic Media) घुलनशील हुने तर अम्लीय माध्यममा (Acidic Media) अघुलनशील रहने जैविक पदार्थहरूको मिश्रण निर्माण हुने गर्दछ। उक्त जटिल प्रकृतिको रासायनिक तथा जैविक विघटन तथा सूक्ष्म जीवहरूको संश्लेषण प्रक्रिया वाट प्राप्त हुने बिरुवाहरूको क्षारीय माध्यममा घुलनशील तर एसिड माध्यममा अघुलनशील अवशेष लाई ह्युमिक एसिड (Humic Acid) भनिन्छ।
ह्युमिक एसिडको (Humic Acid) निर्मित हुने क्रममा त्यहाँ पानीमा तथा अम्लीय र क्षारीय दुवै माध्यममा समेत घुलनशील हुने भागको समेत निर्माण बनेको हुन्छ। जसलाई फुलभिक एसिड (Fulvic Acids) भनिन्छ। आफ्नो हल्का आणविक वजनको कारण फुलभिक एसिडहरू सहजै पानीमा घुल्ने गर्दछन्। साथै अम्लीय र क्षारीय दुवै माध्यममा सहजै मिल्दछन्।
विभिन्न स्थानमा पाइने शिलाजितमा यौगिकहरूको मात्रा फरक फरक हुने गरेको छ। मूलतः शिलाजितमा कुल जैविक ह्युमिक तत्त्व ८०-८५ % र कुल अजैविक गैर-ह्युमिक पदार्थहरू १५-२०% रहने गर्दछ। १४-२०% आर्द्रता (मोइसचर), १८-२०% खनिज; १३-१७% प्रोटिन (अल्फा-एमाईलेज नामले चिनिने); ४-४.५ % चिल्लो (लिपिड); ३.३-६.५% स्टेरोइड; १८-२०% नाइट्रोजन-मुक्त यौगिकहरू; १.५-२% कार्बोहाइड्रेट र ०.०५–०.०८% एल्कालोइड्स, एमिनो एसिड र अन्य यौगिकहरू पाइने गर्दछ।
हालसम्म भएका विभिन्न अध्ययनहरू वाट निस्किएको निचोड अनुसार शिलाजित हुमिनको (Humins) प्रमुख जैविक द्रव्यमानको ८०-८५% खोटो युक्त लेटेक्स र लसाइलो पदार्थ बिरुवाहरूको ह्युमिफिकेशन वाट आउने हुमिक एसिड (Humic Acids) जिम्मेवार रहने गर्दछ। त्यस्तै त्यसमा रहने हल्का आणविक वजनको पानी तथा अम्लीय र क्षारीय दुवै माध्यममा सहजै घुल्ने फुलभिक एसिड (Fulvic Acids) तथा अन्य रासायनिक पदार्थहरू ८-१०% हुने गर्दछन्।
शुद्ध सिलाजित असङ्ख्य मिनिरल र जैविक तत्त्व हरुको खानि नै हो। यसमा भेटिने तत्त्वहरू अल्बुमेन, एल्युमिना, जैविक अम्ल (सिस्टीन, लाइसिन, एलानिन, हिस्टिडाइन, आर्जिनिन, एस्पार्टिक एसिड, ग्लाइसिन, ग्लुटामिक एसिड, सेरीन, टाइरोनिन, थ्रेओनाइन, प्रोलाइन, टायरोसिन, मेथियोनाइन, ल्यूसिन, भलाइन), बेरियम, बेन्जोइक र फ्याटी एसिड, बेरिलियम, बिस्मथ, क्यालसियम, कार्बन-६०, क्रोमियम, कोबाल्ट, तामा, ग्यालियम, सुन, हिप्परिक एसिड, हुमिक र फुल्विक एसिड, प्राथमिक र माध्यमिक एमाइड पेप्टाइड बन्ड युक्त हाइड्रो-अक्सिडाइज्ड, आइरन, लेड, म्याग्नेसियम, म्यांगनीज, मोलिब्डेनम, निकेल फेनोलिक स्टेरोइड र प्रेग्नाने स्टेरोइड, फास्फोलिपिड्स, फास्फोरिक एनहाइड्राइड, पोटासियम, रेजिन र बिरुवाको अवशेष, सिलिकन डाइअक्साइडको सिलिकेट समूह, चाँदी, थोरै मात्रामा स्ट्रन्टियम अक्साइड, सोडियम, सल्फर, टिन, टाइटेनियम, भ्यानेडियम, वाक्स (मैन), जिङ्क आदि हुन्। जुन अत्यन्त कम प्राकृतिक श्रोतका सप्लिमेन्टहरूमा भेटिने गर्दछ।
हुमिक एसिड र फुलभिक एसिड बाहेक हिमालयन शिलाजितका प्रमुख सक्रिय घटक (एक्टिब मलिकुल) मा प्रदूषणको कारण खराब भएको फोक्सोको उपचार गर्ने र शरीरको दर्द नाशक गुनको अक्कुपेरिन (Aucuparins), तौल नियन्त्रण गर्ने अक्सिजिनेटेड डिबेन्जो अल्फापाईरोन (Oxygenated dibenzo-α-pyrones ) र एनालजेसिक प्रकृतिको कलेजोको सुरक्षा गर्ने ट्रीटरपेनिक एसिड (Triterpenic Acids) भेटिने गर्दछ। शिलाजितका तिनै चिकित्सकीय महत्त्वका एक्टिब मलिकुलहरुको कारणले शिलाजित हार्मोनल नियन्त्रण र प्रतिरक्षा प्रणाली नियमनमा शरीरको लागि लाभदायक हुने गर्दछ।
शिलाजितले रगतमा प्रवाह हुने प्रतिरक्षा प्रणाली मजबुत पार्ने हर्मोनको प्रवाह चुस्त पार्ने, मानिसको नियन्त्रण बिना नै नियमित स्वचालनमा रहने मस्तिष्क प्रणालीको स्वचालन क्रिया चुस्त राख्ने र मस्तिष्कको कार्यात्मक प्रभाव चुस्त गर्न भूमिका खेलेको भेटिएको छ। वैज्ञानिक परीक्षणहरूले यकिन गरे अनुरूप शरीरको प्रतिरक्षा क्षमता कमजोर र सुस्त देखिएको वेला प्रतिरक्षा कोशिकाहरूले आफूभित्रको प्रोटिन वाट साइटोकाइनहरूको उत्पादन गर्दछ। प्रोटिन निर्मित साइटोकाइनहरू निष्क्रिय वा सुस्त प्रतिरक्षा प्रणालीलाई तुरुन्त सक्रिय पार्ने तत्त्व हो। साइटोकाइनहरूले गर्दा प्रतिरक्षा प्रणाली त्यहाँ भएको सङ्क्रमण तथा क्यान्सर, अल्सर लगायत अन्य रोगहरूसँग विरुद्ध लडी शरीरलाई नियमित स्वस्थ, तन्दुरुस्त राख्न सफल बन्छ।
परीक्षणले शिलाजितको ह्युमिक एसिड भागका फिनोलिक र ट्राइटरपेनोइड तत्त्वहरू शिलाजितकै फुलभिक एसिड सँग मिलेर साइटोकाइनहरूको उत्पादनमा प्रतिरक्षा प्रणालीका कोशिकाहरूलाई सघाउने तथा सङ्क्रमणको वेला तनावका कारण विकास हुने अल्सर आदि विरुद्ध लड्न महत्त्वपूर्ण सहयोग उपलब्ध गराउने पुष्टि भएको छ। यस्तो गुणको पदार्थ लाई कायाकल्प गर्ने (उमेर घटाउने र तन्दुरुस्ती बढाउने) रसायन भन्ने गरिन्छ।
शिलाजितको पाचन प्रक्रियामा हुने प्रभाव बारे भएको थप परीक्षण वाट एसिड र बेस दुबैमा अघुलनशील घटक हुमिन पाचन प्रक्रियामा सक्रिय रहँदा निस्कने ग्यास्ट्रिक रसमा हुने डीएनए र प्रोटिनको मात्राको सुरक्षा गर्न तथा आन्द्राको भित्री पत्र म्यूकोसाको म्यूकोसल कोशिकाहरूको सुरक्षा गर्न र त्यहाँ छिद्र विकास भएर अल्सर पैदा गर्ने अल्सरोजेन्सका प्रभावहरू विरुद्ध सुरक्षा गर्न सफल बन्ने पुष्टि भयो।
हिस्टामाइन रिलीजर एन्टि-एलर्जिक परीक्षण (मास्ट कोशिकाहरूमा गरिने एलार्जिक हुने नहुने परीक्षण) वाट शिलाजितमा रहेका यौगिकहरू मानिसलाई एलार्जिक नरहेको पुष्टि बन्यो। मुरिन स्विमिङ सहनशीलता अभ्यासको तनाव-विरोधी गतिविधि परीक्षण वाट शिलाजितका यौगिकहरू तनाव अवरोधक रहेको समेत पुष्टि गर्यो।
शिलाजितका रसायनहरूको मानिसमा पुग्ने प्रभावको मापन गर्ने उद्देश्यले सन् २००३ मा तिस स्वयंसेवकहरूमा डाबर कम्पनीले उत्पादन गरेको शिलाजित दैनिक दुई ग्राम ४५ दिनसम्म सेवन गर्न दिइएको थियो। अनुसन्धानको प्रोटोकल अनुरूप परीक्षणमा सहभागी स्वयंसेवकहरूको शिलाजितको सेवन वाट शारीरिक स्वस्थमा पुग्ने असर हेर्न रक्तचाप, पल्स रेट, शरीरको तौल आदिको नियमित मापन गरियो।
रगतको हेमेटोलोजिकल मापदण्डहरूमा आएको फरकको क्रिटिकल अवलोकन मार्फत व्यक्तिमा शिलाजित सेवनले दिएको प्रभाव हेरिएको थियो। जस अनुसार व्यक्तिको रगतमा सीरम ट्राइग्लिसराइड्स तथा सीरम कोलेस्ट्रोलमा उल्लेखनीय कमी आएको थियो। खराब कोलेस्ट्रोलको मात्रामा उल्लेखनीय सुधार भएको भेटियो। शिलाजित सेवनले स्वयंसेवकहरू रगतमा एन्टिअक्सिडेन्टको मात्रामा समेत उल्लेखनीय सुधार भेटियो।
सामान्यतया एक देखि पाँच हजार मिटर अग्ला हिमालयका भिराला चट्टानहरूमा भेटिने शिलाजित एक कालो-खैरो खोटोको रूपको हुन्छ। नेपाल बाहेक यो अफगानिस्तान (हिन्दु कुश), भुटान, चीन, पाकिस्तान, तिब्बत (हिमालय बेल्ट) र सोभियत सङ्घ (तिएन शान, उरल) आदि मुलुकहरूमा भेटिन्छ। नेपालको म्याग्दीको बाबिया चौर, ज्यामरुक कोट, भकिम्ली, कुइने मङ्गले, मुदी, मुना, ताकम, मराङ, बिम आदि गाविसका पहरा आदि स्थान; कास्कीको सिकलेस ताङतिङ हिमाली गाऊ, गोर्खा, बैतडीका विभिन्न स्थानका पहरामा शिलाजित भेटिए वाट राष्ट्रिय रुपमा खोजी गरिए नेपालको धेरै पहराहरूमा शिलाजितको खानी भेटिने निश्चित छ।
तपाई बिमार हुँदा खोपीको बट्टामा भएको ओखती जब सम्म तपाइले खानु हुन्न तब सम्म तपाइको रोग सन्चो हुन्न। औषधि हुद्दैमा बिमारी कम नभए जस्तै शिलाजितको फुलभिक एसिड लगायतका अन्य औषधीय पक्ष मानव स्वस्थको लागि उत्तम रहेता पनि त्यसलाई हाम्रो शरीरले सहज उपलब्ध हुन शिलाजितको सारतत्व हुमिनको जरुरत पर्दछ। मुलत: हुमिन भागको हुमिक एसिडको गुणस्तरले शिलाजित कति उत्तम प्रभावकारि हुने त्यसको निश्चय गर्दछ। हुमिक एसिडको गुणस्तर शिलाजितमा रहेको लसाइलो खोटो युक्त लेटेक्स निर्माणमा अधिकतम कुन वनस्पतिको भूमिका रहेको छ त्यसले निर्धारण गर्दछ।
तपाइलाई फाइदा दिनेको लागि शिलाजितको एउटा अनिवार्य सर्त रहन्छ। बजारमा सुद्ध भनेर बेचिएका शिलाजित हुद्दैमा त्यसले तपाइलाई फाइदा भन्दा हानि गर्ने हुन सक्छ। किनकि स्थानीय सरकारले शिलाजितको गुणस्तरको वैज्ञानिक मापदण्ड नतोकेकोले विष रुपी शिलाजित तपाइको भान्सामा गुणस्तरीय दाबी भएर पुग्ने सम्भावना रहन्छ। शिलाजित खतरा मुक्त हुन अनिवार्य रूपमा हानिकारक हेबी मेटलको मात्रा परीक्षण गरी त्यसको उपस्थिति स्वस्थ नबिगार्ने स्तरमा रहेको यकिन हुन जरुरी छ।
शिलाजितको लिड (Pb), क्याडमियम (Cd), आर्सेनिक (As) र मर्करीको (Hg) अनिवार्य रूपमा परीक्षण भएको हुन पर्दछ। परीक्षणले अनिवार्य क्याडमियम १ पीपिएम भन्दा कम, लिड ५ पीपिएम भन्दा कम, आर्सेनिक ३ पीपिएम भन्दा कम र मर्करी १ पीपिएम भन्दा कम भएको प्रमाणित गरेको हुनु पर्दछ।
टन्टलापुर घाम लागि भएको प्रचण्ड गर्मीका कारण पहाडको पत्थरको कापामा भएको शिलाजित पग्लिएर बाहिर निस्किने र देखिने पदार्थ भएकोले शिलाजित लाई चट्टानको तेल (पर्वतको मणि) समेत भनिन्छ। सुकेपछि तरल शिलाजित ढुङ्गा जस्तै चम्किलो देखिन्छ। यद्यपि शिलाजित र अश्वगन्धालाई लाई यौन स्वास्थ्य मर्मत, सुधार र क्षमता वर्धक ओखतीको रूपमा लिने गरिन्छ तर यो यौनको लागि मात्रै नभएर समग्र स्वास्थ्य सुधारको टनिक हो।
आफ्नो स्वस्थलाई तन्दुरुस्त राख्न परम्परागत रूपमा शिलाजित पानी पिउने, शिलाजित लाई दूध आदिमा मिसाएर खाने नेपाली चलन हामीले हाम्रो वैदिक ज्ञान वाट प्राप्त गरेको हो। समयको विकास सँगै विज्ञानले वैदिक परम्परागत टनिकहरुको तागत पहिचान गर्ने क्रममा हाल अमेरिका र भारतमा कालो अल्कलाइन पानीको नाममा शिलाजित पानी बिक्री हुने र मूलतः सेलिब्रिटीहरूले पिउने पानीको नाम पाएको छ। भारतमा हालै क्रिकेटर विराट कोलि, कलाकार मलाइका अरोरा र शाहरुख़ खान पत्नी गौरी खान सार्वजनिक रूपमा स्वस्थ अल्कलाइन पानी भन्दै कालो पानीको साथ देखिएपछि कालो पानी भनिने आयुर्वेदिक सिलाजित पानीले निकै चर्चा मात्र पाएन त्यसको सर्टेज समेत भयो। विश्व बजारमा हाल कालो पानी ठुला वडा सेलिब्रिटीले पिउने पानी भनी चर्चित हुँदै छोपा छोप महँगोमा बिक्री हुँदै छ।
नेपालको उत्कृष्ट शिलाजित पाइने हिमाली मुलुक भनेर विश्वमा चर्चित छ। शिलाजितले पानीलाई अल्कलाइन अर्थात् क्षारीय गर्दछ। जसको मतलब पानीको पिएच सात भन्दा माथि लैजान्छ। नेपाली शिलाजित निर्मित पानीको पिएच लगभग ८ हुने गर्दछ जुन अत्यन्त सबल पक्ष हो।
त्यसबाहेक यसले शरीरमा दिने अन्य धेरै फाइदा हरू छन्। यथार्थमा नेपालको कतिपय हिमाली पानी समेत उच्च पिएचको पाइन्छ। हिमालको हिउँ पग्लेको पानीको पिएच समेत ८ लगभग सम्म पाइन्छ। कतिपय नेपाली कुवाको पानी ९ देखि १० सम्मको भेटिएको भनिन्छ। ९ देखि १० पिएचको पानी अमृत सरह नै हो। नेपालको चितवन नवलपरासीको पानी सफ्ट ड्रिङ्कको लागि उत्कृष्ट भेटिन्छ।
बजारमा प्रिमियम अल्कलाइन वाटर भनेर आएको ती कालो पानीहरू लाई प्राकृतिक खनिज युक्त शरीरले प्राप्त गर्न सक्ने फुलभिक र हुमिक सारतत्व युक्त क्षारीय पानी भनिएको छ। साथै यसमा सूक्ष्म मात्रामा भएका खनिजहरू र इलेक्ट्रोलाइटसहरुले शरीरको कोशिकाहरू पानीको आपूर्ति गर्न, मर्मत संहार गर्न र पुनर्ताजकी गर्ने भनी दावा गरिएको छ। आफ्नो प्रोपराइटरी गोप्यता जोगाउने प्रयास अनुरूप पानी लाई सिधै शिलाजित पानी नभनेर फुलविक र हुमिक एसिडको सारतत्व युक्त भनिएको छ। मिनिरल र अन्य सप्लिमेन्ट युक्त भनिएको छ।
हामीले आफ्नो प्रयोगको लागि शिलाजित पानी आफै घरमा बनाउन सकिन्छ। त्यसको लागि हामीले अति कालो नम्बरी शिलाजितको दुई थोपा एक गिलास पानीमा हाल्ने र कालो पनि पिउने गर्न सकिन्छ। पानी कालो हुने तर पानीको स्वाद परिवर्तन नहुने गरी शिलाजितको प्रयोग गर्न स्वाद पहिचान नहुने पानी कालो गरिदिने शिलाजितको जरुरी पर्दछ।
त्यसको विकल्पमा बजारमा किन्न पाइने ह्युमिक एसिड र फेल्भिक एसिड दुवै किन्ने र उपयुक्त मात्रामा पानी कालो हुने तर कुनै स्वाद पहिचान नहुने हदको रेसिपी ट्रायल गरी पत्ता लगाउने र त्यसै अनुसार कालो पानी बनाएर पिउने गर्न सकिन्छ।
फेल्भिक एसिडको अत्यन्त तीक्ष्ण गन्ध हुने र अत्यन्त हल्का खैरो रङ्गको हुन्छ। फेल्भिक एसिडले पानीलाई कालो बनाउन खासै भूमिका खेल्न सक्दैन। थोरै धेरै मात्रामा हुँदा समेत फेल्भिक एसिडले पानीमा स्वाद पैदा गरिदिन्छ। पानी अधिक कालो बनाउन तथा पानीकै स्वाद विहीन अवस्थामा रंग मात्र कालोमा परिवर्तन गर्न अधिक गाढा कालो कम गन्ध हुने शिलाजितको जरुरत पर्दछ। जुन त्यति सहज विकल्प हैन।
हुमिक एसिड हेर्दा कार्बन जस्तो कालो देखिने पाउडर हुने गर्दछ। जुन वास्तवमै अत्यन्त कालो हुन्छ। अत्यन्त थोरै लगभग एक चम्चाले झन्डै बिस लिटर पानी लाई कालो गरिदिन्छ। त्यसमा लगभग पाँच थोपा फेल्विक एसिड हाल्दा त्यसले स्वादमा कुनै परिवर्तन दिँदैन। ब्ल्याक वाटर बन्दछ।
औद्योगिक स्तरमा कालो पानी बनाउन शिलाजित तथा हुमिक एसिडको पाउडरको उपयुक्त मिश्रण प्रयोग गरी पानी कालो बनाउने तरिका उत्तम विकल्प हुनेछ। त्यसो गर्दा थोरै फेल्भिक एसिड शिलाजित मार्फत आपूर्ति हुने, सिलाजितको अन्य बेहद फाइदा उठाउन सकिने र पानीको स्वादमा सम्झौता नगरी त्यसलाई कालो पानीमा लैजान समेत सकिन्छ।
कमर्सियल उत्पादन गर्न आफूले हाल बनाउँदै गरेको फिल्टर वा मिनिरल वा रिभर्स अस्मोसिस प्रक्रियाको पानी म्यानुफ्याकचरिङ्ग प्रक्रियामा पानी लाई वोटलिङ्ग गर्नु भन्दा पहिले कालो हुने तर स्वाद पहिचान नहुने गरी शिलाजित तथा हुमिक एसिड पाउडरको मिश्रण हाल्ने, घोल्ने, मिसिन दिने र वतल फिल गरी सिल गर्ने गर्न सकिन्छ।
(खाद्य तथा औषधि विज्ञ, टोरोन्टो, क्यानडा।)