वेदमा विज्ञान: फिजिक्स २०२५ नोबेल पुरस्कार

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-10-12

वेदमा विज्ञान: फिजिक्स २०२५ नोबेल पुरस्कार

फिजिक्सको २०२५ को नोबेल पुरस्कारले क्वान्टम मेकानिक्सका अनौठा नियमहरूलाई प्रयोगशालाका ससाना कणहरूको घेराबाट निकालेर बृहत्, इन्जिनियरिङ गरिएका प्रणालीहरूको संसारमा पुर्‍याएको छ। यसले क्वान्टम कम्प्युटिङ जस्ता क्रान्तिकारी प्रविधिको ढोका खोलेको छ।

 

दार्शनिक दृष्टिकोणबाट हेर्दा, यो खोजले आन्तरिक इन्जिनियरिङ (Inner Engineering) र वैदिक मेटाफिजिक्समा रहेको सूक्ष्म तत्वगुण चैतन्यको भूमिकाको सर्वोच्चताको सिद्धान्तलाई वैज्ञानिक आधार प्रदान गर्दछ।

 

जसरी क्वान्टम सिद्धान्तले भौतिक सर्किटलाई नियन्त्रण गर्छ, त्यसरी नै कर्म, संस्कार, र चेतनाको सूक्ष्म ऊर्जाले हाम्रो विशाल जीवन र नियतिलाई नियन्त्रण गर्छ भन्ने वैदिक ज्ञानको गहिरो वैज्ञानिक पहलुलाई यस खोजले उजागर गरिदिन्छ। यी खोजहरूले विज्ञान (भौतिक) र अध्यात्म (मानसिक) दुवै प्रक्रियाहरू कसरी पूरा हुन्छन् भन्ने विषयको अध्ययन गर्ने क्रममा देखिने अवरोधक तत्त्व मार्फतको सञ्चार बाधालाई खण्डित ऊर्जा (चक्र) ले टनेलिङ मार्फत छलाङ मारेर पार गर्दछ। साथै, सोही प्रक्रियाबाट मानिसमा उच्च चेतनाको प्राप्ति समेत सम्भव हुने 'समानताको सिद्धान्त (Principle of Analogy)' को आधारमा यकिन गर्न सकिन्छ।

 

प्रसङ्ग सन् २०२५ को भौतिक शास्त्र (Physics) तर्फको नोबेल पुरस्कार जोन क्लार्क (John Clarke), मिचेल एच. डेभोरेट (Michel H. Devoret), र जोन एम. मार्टिनिस (John M. Martinis) लाई उनीहरूको महत्त्वपूर्ण खोज "विद्युतीय सर्किटमा बृहत् क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जाको क्वान्टाइजेसनको आविष्कार" को लागि संयुक्त रूपमा प्रदान गरिएको र त्यसको विज्ञान र अध्यात्मको खोजमा पुर्‍याएको सहजताको बारेमा हो।

 

यो खोजले भौतिक विज्ञानको एउटा आधारभूत प्रश्नको जवाफ पहिलाएको छ। के परमाणु र कणहरूको अति सानो मनोवैज्ञानिक अर्थात् वैदिक अध्यात्म विज्ञानको  संसारमा मात्र सीमित मानिएका क्वान्टम (Quantum) प्रभावहरू, मानिसले देख्न र छुन सक्ने ठुलो (Macroscopic) प्रणालीमा पनि लागु हुन् सक्दछ?  भन्ने प्रश्नमा यसले “हो सक्दछ” भनी प्रमाणित गरिदिएको छ। यो खोजको कारण केवल पुस्तकालयको सिद्धान्तमा हिजो सम्म सीमित रहेको क्वान्टम भौतिक विज्ञानको सैद्धान्तिक अवधारणालाई इन्जिनियरिङ गरिएका उपकरणहरूमा उपयोग गरी भौतिक संसारमा व्यवहारिक रूपमा त्यसको उपयोग गर्न बाटो खोलिदिएको छ। जसले भौतिक संसारमा क्वान्टम कम्प्युटिङ (Quantum Computing) को निर्माण गर्न जरुरी हुने भौतिक जग बसालिदिएको छ।

 

परम्परागत भौतिक विज्ञान (Classical Physics) अनुसार, हामीले दैनिक जीवनमा देख्ने वस्तुहरूले निश्चित (Certain), निरन्तर (Continuous) नियमहरू पालना गर्छन्। तर क्वान्टम संसारमा, बृहत् क्वान्टम प्रभाव (Macroscopic Quantum Phenomena) अनुरुप कणहरूले अनौठो नियमहरू मान्छन्।

 

१. सामान्य भौतिक शास्त्र अनुसार, यदि तपाईँसँग कुनै अग्लो पहाड (भौतिक बाधा) माथि चढ्न पर्याप्त ऊर्जा (बल) छैन भने, तपाईँले या त बाटो बदल्नुपर्छ या त्यहीँ रोकिनुपर्छ। तपाईँले त्यो पहाडलाई त्यसमा प्वाल नपारी छिचोलेर अर्कोतर्फ जान सक्नुहुन्न। तर, क्वान्टम संसारमा अति सूक्ष्म कणहरू (जस्तै: इलेक्ट्रोन) ले यो नियम मान्दैनन्। उदाहरणका लागि: कल्पना गर्नुहोस्, एउटा बल (कण) लाई एउटा बलियो पर्खाल (बाधा) पार गर्नुपर्ने छ, तर ऊसँग त्यस पर्खाललाई उछिट्टाएर जानको लागि पर्याप्त तागत छैन। क्वान्टम टनेलिङको नियम अनुसार, यो बलले पर्खालमा नठोकिई वा नउछिट्टीकन नै, चमत्कारी रूपमा पर्खालको बिचबाटै 'अदृश्य सुरङ्ग खने जस्तो गरी विना रोक तोक' अर्कोतर्फ निस्कन सक्छ। कणसँग ऊर्जाको कमी हुँदा पनि त्यो भौतिक बाधालाई पार गर्न सक्ने त्यो विधि जसलाई विज्ञानले भौतिक विज्ञानको क्वान्टम टनेलिङ (Quantum Tunnelling) को नियम भनेको छ। २०२५ को फिजिक्स नोबेल पुरस्कार विजेताहरूले यो 'चमत्कार' अति सानो कणमा मात्र (अर्थात् वैदिक अध्यात्म विज्ञानको  संसारमा मात्र सीमित) नभएर, मानिसले बनाएको बृहत् विद्युतीय सर्किटमा पनि लागु हुने प्रमाणित गरेर ब्रेक थ्रो रुपी क्रान्ति ल्याएका छन्।

 

२. क्वान्टम टनेलिङ (Quantum Tunnelling) जस्तै ऊर्जाको क्वान्टाइजेसन (Energy Quantisation) क्वान्टम भौतिक विज्ञानको अर्को मुख्य सिद्धान्त हो।  जसले हाम्रो दैनिक संसारका नियमहरूलाई पूरै बदलिदिएको छ। ऊर्जाको क्वान्टाइजेसन (Energy Quantisation) नियम अनुसार, प्रणालीले ऊर्जालाई निश्चित र खण्डित (Discrete) मात्रामा मात्र लिन वा दिन सक्छ यसले  ऊर्जालाई निरन्तर अखण्डित रुपमा लिने वा दिने गर्दैन।

 

क्वान्टम टनेलिङलाई भर्‍याङका सिँढीहरू जस्तै बुझ्न सकिन्छ । तपाईं कि त पहिलो सिँढीमा हुनु हुन्छ कि त दोस्रोमा, तपाईं दुई सिँढीको बीचमा 'अस्तित्व' राख्न सक्नुहुन्न। तपाईं कि त पहिलो सिँढीमा (E1) हुनुहुन्छ, कि त दोस्रो (E2) मा, वा तेस्रो (E3) मा। तपाईं दुई सिँढीको बीचमा (जस्तै: १.५ सिँढीमा) रहन वा त्यसको ऊर्जा लिन सक्नुहुन्न। ठुलो (Macroscopic) प्रणालीमा ऊर्जाको खण्डित (Quantised) व्यवहार र टनेलिङ हुने कुरा सैद्धान्तिक रूपमा (Theoretically) भौतिक विज्ञानमा पहिले नै स्थापित गरिएको थियो। पहिले वैदिक अध्यात्म विज्ञानको संसारमा अवधारणाको रुपमा मात्र सीमित यस सिद्धान्त प्रत्यक्ष भौतिक अस्तित्वमै प्रयोग गरेर प्रमाणित गर्न सकिन्छ भन्ने कुरा यस अघि वैज्ञानिकहरू बिच विवादास्पद (Not Unambiguously Proven) बनिरहेको थियो। २०२५ को फिजिक्स नोबेल पुरस्कार विजेताहरूले यी दुवै नियमहरू विद्युतीय सर्किट जस्तो ठूलो (Macroscopic) प्रणालीमा पनि लागू हुन्छन् भन्ने कुरा प्रत्यक्ष रूपमा प्रमाणित गरेर विज्ञानको क्षेत्रमा क्रान्ति ल्याए, जसले क्वान्टम सिद्धान्तलाई सूक्ष्म कणहरूको घेराबाट निकालेर इन्जिनियरिङको बृहत् संसारमा स्थापित गरिदियो।

 

नोबेल पुरस्कार विजेताहरूले गरेको प्रयोगको केन्द्रबिन्दु जोसेफसन जङ्कसन (Josephson Junction) युक्त सुपरकन्डक्टिङ सर्किट (Superconducting Circuit) थियो, जुन आँखाले देख्न सकिने जत्रो ठूलो माइक्रोचिप को रूपमा बनाइएको थियो। उनीहरूको मुख्य चुनौती थियो कि यो बृहत् प्रणालीले पनि क्वान्टम मेकानिक्स का अनौठा नियमहरू मान्छ कि मान्दैन। यसलाई प्रमाणित गर्न उनीहरूले सर्किटलाई परम शून्य नजिकसम्म अत्यन्तै चिसो पारेर तापीय कम्पन (Thermal Noise) लाई शून्यमा झारे। त्यसपछि उनीहरूले सर्किटमा करेन्ट प्रवाह गरेर अवलोकन गर्दा, सर्किटको सामूहिक चार्ज (Collective Charge) ले, पार गर्ने पर्याप्त ऊर्जा नभए पनि, जङ्कसनको कुचालक (Insulator) बाधालाई चमत्कारी रूपमा छिचोलेर (Tunnelling) गयो।

 

यो नै बृहत् क्वान्टम टनेलिङ (Macroscopic Quantum Tunnelling) को निर्णायक प्रमाण थियो। यति मात्र होइन, उनीहरूले सर्किटको ऊर्जाको अवस्था (Energy States) मापन गर्दा त्यो निरन्तर नभई केवल निश्चित र खण्डित (Quantised) सिँढीहरू जस्तो मात्र पायो। यस प्रयोगले वैज्ञानिकहरूलाई यो तथ्य स्वीकार्न बाध्य बनायो कि क्वान्टम नियमहरू ब्रह्माण्डको सबैभन्दा सानो कणलाई मात्र होइन, तर मानिसले बनाएका ठूला उपकरणहरू मा पनि लागू हुन्छन्। यस खोजले क्वान्टम गुणहरूलाई नियन्त्रण गर्न सकिन्छ भन्ने आधार दिँदै क्वान्टम कम्प्युटर (Quantum Computer) को विकासका लागि वैज्ञानिक जग बसालेको हो।

 

नोबेल पुरस्कार विजेताहरूले प्रयोगको मुख्य उपकरणको रूपमा एउटा विशेष प्रकारको माइक्रोचिप (Microchip) को विकास गरे, जुन आँखाले देख्न सकिने हदको ठूलो थियो। यस चिपमा सुपरकन्डक्टरको (Superconductor) प्रयोग गरिएको थियो। सर्किटलाई तापक्रम नियन्त्रण (Temperature Control) मार्फत जब परम शून्य (0 केल्भिन वा −273.15 डिग्री सेन्टिग्रेड C) नजिकसम्म अत्यन्तै चिसो पारिन्छ, तब तापक्रमका कारण हुने तापीय कम्पन (Thermal Noise) हट्छ। यसले गर्दा सुपरकन्डक्टरमा विद्युतीय प्रतिरोध (Electrical Resistance) शून्य भई ऊर्जा खेर जाँदैन, र सर्किटमा क्वान्टम प्रभावहरू कायम रहन्छन्।

 

उनीहरूले दुईवटा सुपरकन्डक्टरहरूबीच एकदमै पातलो बिजुली पास हुन नदिने पदार्थ कुचालक (Insulator) को तहले छुट्याएर जोसेफसन जङ्कसन (Josephson Junction) बनाए, जसले दुई सुपरकन्डक्टरहरूबीच 'भौतिक गतिरोध ' (Physical Barrier) निर्माण गर्ने काम गर्दथ्यो। त्यसपछि उनीहरूले सर्किटमा करेन्ट प्रवाह गरेर अवलोकन गर्दा, सर्किटको सामूहिक चार्ज (Collective Charge) सँग इन्सुलेटरले  विकास गरेको गतिरोध पार गर्ने पर्याप्त ऊर्जा नभए पनि, त्यो जङ्कसनको इन्सुलेसन गतिरोधलाई चमत्कारपूर्ण रूपमा छिचोलेर (Tunnelling) पार भएर गएको भेटियो। सर्किटको सामूहिक चार्ज (Collective Charge) सँग बाधा पार गर्न पर्याप्त ऊर्जा नभए पनि, त्यो चार्जले व्यक्तिगत कणले जस्तै, ऊर्जा नगुमाई त्यस बाधालाई छिचोलेर (Tunnelling) पार गरेको यो निर्णायक प्रमाणलाई बृहत् क्वान्टम टनेलिङ (Macroscopic Quantum Tunnelling - MQT) भनियो। जसले सर्किटको सम्पूर्ण अवस्था ले क्वान्टम व्यवहार देखाएको पुष्टि गर्यो।

 

टननेलिङ (Tunnelling) को प्रमाण जुटाएपछि, नोबेल पुरस्कार विजेताहरूले त्यस सुपरकन्डक्टिङ सर्किटको ऊर्जाको अवस्था (Energy States) मापन गरेर आफ्नो खोजलाई अझ बलियो बनाए। यो गर्नको लागि, उनीहरूले सर्किटलाई माइक्रोवेभ फ्रिक्वेन्सी (Microwave Frequency) जस्ता बाह्य शक्ति (External Energy) दिएर त्यसको प्रतिक्रिया अवलोकन गरे। उनीहरूले फेला पारे कि त्यो सर्किटले ऊर्जालाई निरन्तर (Continuous) रूपमा ग्रहण गरेन, बरु केवल निश्चित र खण्डित (Quantised) मात्रामा मात्र लियो वा दियो। यसको अर्थ यो थियो कि सर्किट भित्रको ऊर्जा भर्‍याङका सिँढीहरू जस्तै निश्चित स्तरहरूमा मात्र 'बस्न' सक्थ्यो र ती स्तरहरूबीच छलाङ (Quantum Jump) मात्र मार्न सक्थ्यो। यो व्यवहार, जसलाई ऊर्जाको क्वान्टाइजेसन भनिन्छ, सामान्य भौतिकशास्त्रको नियमको विपरीत थियो। यो निर्णायक प्रमाणले स्पष्ट गर्यो कि मानिसले बनाएको यो बृहत् (Macroscopic) उपकरण पनि आणविक संसारको नियम अनुसार चलिरहेको छ।

 

यस प्रयोगले वैज्ञानिकहरूलाई यो तथ्य स्वीकार गर्न बाध्य बनायो कि क्वान्टम नियमहरू ब्रह्माण्डको सबैभन्दा सानो कणहरूमा (जस्तै चेतना सन्दर्भमा सूक्ष्म गुण चैतन्य) मात्र नभई, मानव निर्मित बृहत् (Macroscopic) विद्युतीय सर्किटहरूमा पनि लागू हुन्छन्। यो खोजले सुपरकन्डक्टिङ क्वान्टम बिट्सको (Superconducting Qubits) विकासका लागि वैज्ञानिक आधार तयार पार्यो। यही Qubit (क्वान्टम बिट) नै आजको क्वान्टम कम्प्युटरको (Quantum Computer) निर्माणको लागि आधारभूत ब्लक प्रारम्भिक जग हो। यसरी, उनीहरूको प्रयोगशालामा गरिएको ऐतिहासिक प्रयोगले सैद्धान्तिक भौतिक विज्ञानलाई वास्तविक, काम गर्न सक्ने क्रान्तिकारी क्वान्टम प्रविधि (Quantum Technology) मा रूपान्तरण गर्न ठूलो सहयोग पुर्‍याएको छ।

 

भौतिक विज्ञानको यो नोबेल पुरस्कार विजेता खोजले प्रविधिको विकासमा मात्र ठूलो परिवर्तन ल्याएको छैन, यसले एउटा गहिरो दार्शनिक कुरा पनि सिकाउँछ। यसले के देखाउँछ भने व्यक्त भौतिक जीवन र संसारलाई पनि अति सानो र अदृश्य अव्यक्त अभौतिक नियमहरू (जस्तै क्वान्टम नियम) मा आधारित रहेर चलिरहेको छ। यो कुरा सिधै वेदको ज्ञान सँग मिल्छ, जसले भन्छ कि हाम्रो मन, चेतना र भाग्यलाई सूक्ष्म शक्तिहरू (जस्तै कर्म र संस्कार) ले नियन्त्रण गर्छन्। यो खोजले विज्ञान र अध्यात्म बीचको सम्बन्ध बुझ्न नयाँ बाटो खोलिदिएको छ। ऋषिहरूको युगौंदेखिको मनोविज्ञान र मेटाफिजिक्स (Metaphysics) (चेतना र अस्तित्वको गहिरा रहस्य) को वैज्ञानिक आधार प्रदान गर्दछ।

 

फिजिक्सको नोबेल पुरस्कारले प्रमाणित गर्छ कि विद्युतीय सर्किट (एक बृहत्, भौतिक प्रणाली) को व्यवहार क्वान्टम नियमहरू (अति सूक्ष्म, अभौतिक नियमहरू) द्वारा नियन्त्रित हुन्छ। खोजले मनोविज्ञान र मेटाफिजिक्स (Metaphysics) का गहिरा रहस्यहरू बुझ्न सहयोग गर्छ।

 

वैदिक र योगिक दर्शनका अनुसार मानव चेतनामा (The Macroscopic Mind) मन, विचार, भावना र अनुभवहरूको विशाल संसार समावेश छ। जुन एक प्रकारको बृहत् सर्किट जस्तै हो। चेतनाको यो विशाल संसार सूक्ष्म नियम (The Quantum Rules) हरू जस्तै कर्म (Karma), संस्कार (Subliminal Impressions) र वासना (Latent Desires) द्वारा गहिरो रूपमा नियन्त्रित छ। यसै सम्बन्धलाई हेर्दा, जसरी ठूलो सर्किटको व्यवहार सानो क्वान्टमको अनिश्चितता र खण्डितता बाट निर्देशित हुन्छ, त्यसरी नै हाम्रो जीवनका बृहत् घटनाहरू, अनुभवहरू र भाग्यहरू मनको गहिराइमा रहेका सूक्ष्म संस्कारहरू (latent quantum-like imprints) बाट निर्देशित हुन्छन्। यसरी, नोबेल पुरस्कारको यो खोजले बाहिरी भौतिक संसारभन्दा फरक, मनको आन्तरिक संसारमा (Inner World) पनि अदृश्य नियमहरूको सर्वोच्चता रहने कुराको पुष्टि गर्दछ।

 

भौतिक विज्ञानको क्वान्टम टनेलिङ (Quantum Tunnelling) को सिद्धान्तले बाधाको अतिक्रमण र चेतनाको छलाङ लाई दार्शनिक आधार दिन्छ। वैज्ञानिक रूपमा, क्वान्टम टनेलिङमा कुनै कणले पर्याप्त ऊर्जा नभए पनि भौतिक बाधा (The Barrier) लाई छिचोलेर जान सक्छ। यही अवधारणालाई मनोविज्ञान र मेटाफिजिक्स (Metaphysics) मा लागू गर्दा, आध्यात्मिक मार्गमा हाम्रो मनका सीमाहरू (Limiting Beliefs), अज्ञानता (Ignorance), र द्वैतको भ्रम (Illusion of Duality) नै चेतनाको लागि बाधा हुन्। सामान्यतया, यी मानसिक वा वैचारिक बाधालाई पार गर्न लामो समयको कठोर प्रयास आवश्यक हुन्छ, तर टनेलिङ (The Quantum Jump) को समानतामा, ध्यानको गहन अवस्थामा (जसलाई समाधि वा प्रज्ञा भनिन्छ) चेतनाले अचानक छलाङ (Quantum Jump) मार्छ।

 

योग र बोध (Self-Realization) को गहिरो अभ्यासमा, व्यक्तिले आफ्ना पुराना कर्म र संस्कारको भण्डार (जसलाई सामान्यतः पार गर्न असम्भव देखिन्छ) लाई कुनै तर्क वा लामो प्रक्रिया बिना, केवल गहन बोध (Instantaneous Insight) मार्फत छिचोल्न सक्छ। यो आन्तरिक टनेलिङ को अवस्था हो, जहाँ चेतनाले सामान्य मानसिक प्रयासको बाधालाई नटेरी एकै झट्कामा अज्ञानताको सीमा पार गर्छ र आत्मिक सत्य (Ultimate Truth) प्राप्त गर्न सक्दछ।

 

भौतिक विज्ञानको सिद्धान्त ऊर्जाको खण्डीकरण (Quantisation of Energy) ले, जहाँ सर्किटले ऊर्जालाई खण्डित मात्रा (Discrete Packets) मा मात्र लिन्छ र दिन्छ, त्यसले चक्रको जागृति सम्बन्धी वैदिक र तान्त्रिक दर्शनको गहिरो तत्व बोधलाई दार्शनिक आधार प्रदान गर्दछ। वैदिक अबधारणामा (मनोविज्ञान र मेटाफिजिक्स अनुसार) मानव शरीरमा आन्तरिक ऊर्जाको खण्ड अर्थात् ऊर्जा निरन्तर रूपमा नभई खण्डित र निश्चित स्तरहरूमा सञ्चित भएको विश्वास गरिन्छ। जसलाई चक्र (Chakras) भनिन्छ।

 

भौतिक विज्ञानको ऊर्जाको खण्डीकरणको सिद्धान्तको समानताका आधारमा चक्र जागृतिको (Awakening) प्रक्रिया बुझ्न सकिन्छ। जसरी क्वान्टम सर्किटले खण्डित ऊर्जाको स्तरमा मात्र अस्तित्व राख्न सक्छ, त्यसरी नै आध्यात्मिक जागृति (Spiritual Awakening) क्रमिक रूपमा नभई, एक चक्रबाट अर्को चक्रमा ऊर्जाको छलाङ (Quantum Jump) मार्फत हुन्छ। कुण्डलिनी (Kundalini) ऊर्जाको उत्थान यसै खण्डीकृत ऊर्जाको स्थानान्तरणको चरम उदाहरण हो।

 

यसरी, यो सिद्धान्तले पुष्टि गर्छ कि चेतनाको स्तर परिवर्तन (जस्तै: भौतिक शरीरको चेतनाबाट उच्च आध्यात्मिक चेतनामा जानु) क्रमिक रूपमा होइन, बरु निश्चित ऊर्जाको मात्रा वा आवश्यक तयारी पुगेपछि अचानक हुने छलाङ हो।

 

२०२५ को फिजिक्स नोबेल पुरस्कारले प्रमाणित गरेको बृहत् परिधिमा सूक्ष्म क्वान्टम नियमहरूको शासनको दार्शनिक आधारले वेदका ऋचा र आधुनिक भौतिक विज्ञानबीच गहिरो मेल देखाउँछ। कठोपनिषद् (Katha Upanishad) को ऋचामा आत्मा (Self) लाई अणुभन्दा पनि सूक्ष्म तर महान् भन्दा पनि महान् भनिएको छ।

 

अणोरणीयान् महतो महीयान्

आत्मा गुहायां निहितोऽस्य जन्तोः 

तमक्रतुं पश्यति वीतशोको

धातुः प्रसादान्महिमानमात्मनः॥ कठोपनिषद्, वल्ली २, मन्त्र २०॥

 

जसको अर्थ हो आत्मा अणुभन्दा पनि सूक्ष्म छ। र महान् भन्दा पनि महान् पनि महान् छ। त्यो (आत्मा) यस प्राणीको हृदय-गुफाभित्र रहेको छ। जसले इन्द्रिय तथा मनको शुद्धताले (वा ईश्वरको कृपा) शोकमुक्त भएर त्यस (आत्मा) लाई इच्छा-कामना रहित (अक्रतु) देख्दछ। उसले आत्माको वास्तविक महिमा र भव्यतालाई महसुस गर्दछ।

 

यो मन्त्रले आत्माको अपरिमेय (Immeasurable) र सर्वव्यापी स्वरूपलाई दर्शाउँछ। तर साथै यसको अनुभव गर्नको लागि इच्छा र कामनाबाट मुक्त (detached) हुनुपर्ने र मनलाई शुद्ध (purified) पार्नुपर्ने योगिक मार्गको अनिवार्यतालाई पनि जोड दिन्छ।

 

यसको दार्शनिक समानता यो हो कि जसरी विद्युतीय सर्किट (महान् / बृहत्) को नियमन गर्ने क्वान्टम सिद्धान्त (अणु भन्दा सूक्ष्म) हो, त्यसरी नै शरीर र संसारको नियमन गर्ने आत्मा (चेतनाको सूक्ष्मता) हो। यसरि सूक्ष्म सत्ता आत्माको सर्वोच्च नियन्त्रण लाई आधुनिक विज्ञानमा वैधानिकता प्राप्त हुन्छ।

 

त्यसैगरी, ईशावास्योपनिषद् (Ishavasya Upanishad) ले सूक्ष्म सत्ताको (ब्रह्म) गतिको विरोधाभास लाई वर्णन गर्छ

तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके ।

तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यतः ॥ ईशावास्योपनिषद्

 

जसको अर्थ हो त्यो (परम सत्ता / ब्रह्म) चल्छ। र त्यो चल्दैन पनि। त्यो धेरै टाढा छ।  र त्यो धेरै नजिक पनि छ। त्यो यो सम्पूर्ण संसारको भित्र छ। र त्यो यो सम्पूर्ण संसारको बाहिर पनि छ।

 

यस मन्त्रले परम सत्य (Ultimate Truth) लाई मनले तर्क वा सीमित ज्ञान द्वारा पूर्ण रूपमा बुझ्न नसकिने, तर अनुभव र अद्वैत (Non-duality) को माध्यमबाट मात्र महसुस गर्न सकिने सत्ताको रूपमा प्रस्तुत गरेको छ।

 

यसको दार्शनिक समानता क्वान्टम संसारमा पाइन्छ, जहाँ वस्तुहरूले सुपरपोजिसन (Superposition) नामक अवस्थामा एकैसाथ दुई वा धेरै अवस्थामा रहन सक्छन्। यस ऋचाले चेतनाको अवस्थालाई क्वान्टम विरोधाभासको रूपमा व्याख्या गर्छ। जबकि टनेलिङको सिद्धान्तले कुनै वस्तु नजिक नभए पनि (टाढाबाट) सीधा प्रभाव पार्न सक्ने सम्भावनालाई समर्थन गर्छ।

 

समग्रमा फिजिक्सको २०२५ को नोबेल पुरस्कारले क्वान्टम मेकानिक्सका अनौठा नियमहरूलाई प्रयोगशालाका स-साना कणहरूको घेराबाट निकालेर बृहत्, इन्जिनियरिङ गरिएका प्रणालीहरूको संसारमा पुर्‍याएको छ। यसले क्वान्टम कम्प्युटिङ जस्ता क्रान्तिकारी प्रविधिको ढोका खोलेको छ। वैदिक दार्शनिक दृष्टिकोणबाट हेर्दा, यो खोजले आन्तरिक इन्जिनियरिङ (Inner Engineering) र वैदिक मेटाफिजिक्समा रहेको सूक्ष्म सत्ताको सर्वोच्चता को सिद्धान्तलाई वैज्ञानिक आधार प्रदान गरिदिएको छ। वेदमा रहेको विज्ञानको साक्षी बनेको छ।

 

जसरी क्वान्टम सिद्धान्तले भौतिक सर्किटलाई नियन्त्रण गर्छ, त्यसरी नै मेटाफिजिक्समा कर्म, संस्कार, र चेतनाको सूक्ष्म ऊर्जाले हाम्रो विशाल व्यक्त भौतिक जीवन र नियतिलाई नियन्त्रण गर्छ। यो खोजले विज्ञान र अध्यात्म दुवैलाई, बाधा (भौतिक वा मानसिक) लाई टनेलिङ मार्फत पार गर्ने र खण्डित ऊर्जाको (चक्र) छलाङ बाट उच्च चेतनाको प्राप्ति गर्ने मार्गमा एकसाथ सहयोग पुर्‍याउने गर्दछ। अतः, २०२५ को यो वैज्ञानिक खोजले विज्ञान र अध्यात्म दुवै प्रक्रियाहरूलाई एकसाथ जोड्दछ। यसले प्रमाणित गर्छ कि भौतिक वा मानसिक जुनसुकै बाधा लाई पनि टनेलिङ (Tunnelling) मार्फत पार गर्न सम्भव छ। र साथै, खण्डित ऊर्जामा (चक्र) छलाङ (Jump) मार्दै उच्च चेतनाको प्राप्ति गर्न सकिन्छ। यसरी यो सिद्धान्तले वैज्ञानिक र आध्यात्मिक दुवै मार्गमा सफलता पाउनको लागि एउटै आधारभूत नियम काम गर्छ भन्ने कुरा संसारलाई वैज्ञानिक पुष्टि गरेर देखाई दिएको छ।

Recent Blogs