२०२५ को अर्थशास्त्रको नोबेल पुरस्कार।

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-10-14

२०२५ को अर्थशास्त्रको नोबेल पुरस्कार।

वेदमा विज्ञानको दृष्टिले शिव शक्ति तत्वको रूपमा चर्चा हुने सृजनात्मक विनाशको चक्रले पायो २०२५ को अर्थशास्त्रको नोबेल पुरस्कार।

 

सन् २०२५ को अर्थशास्त्र (Economics) तर्फको नोबेल पुरस्कारले नवीनता (Innovation) र निरन्तर आर्थिक विकास बीचको गहिरो सम्बन्धलाई उजागर गरेको छ। पुरस्कारले सृजनात्मक विनाश (Creative Destruction) को चक्र  अर्थात् पुरानोको अन्त्य र नयाँको सिर्जना हुने विधिले मानव समृद्धिमा पुर्‍याउने प्रभावबारे गरिएको अध्ययनलाई मान्यता दिएको छ। यस अध्ययनले सृजनात्मक विनाश नै मानव समृद्धिको प्रमुख आधार हो भन्ने तथ्यलाई वैज्ञानिक रूपमा प्रमाणित गरेको छ। वेदमा रहेको विज्ञानमा सृजनात्मक विनाशको यही चक्र  अर्थात् नयाँ र उत्तम निर्माणका लागि पुरानोको अन्त्य गर्दै नयाँको सिर्जना हुने ऊर्जालाई शिव शक्ति तत्वको रूपमा चर्चा गरिएको देखिन्छ।

 

खोजले अर्थतन्त्रको विकास केवल भौतिक पूँजीको सञ्चयमा मात्र सीमित रहेर प्राप्त नहुने प्रष्ट पारेको छ। यसका लागि ज्ञान (Knowledge), नवीनताको संस्कृति (Innovation Culture) र निरन्तर नयाँ विचारलाई स्वीकार गर्ने चेतनाको (Continuous Improvement) सर्वोच्चता आवश्यक पर्ने मान्यता स्थापित गरेको छ।

 

दार्शनिक दृष्टिकोणमा, यो सिद्धान्तले वैदिक दर्शनमा रहेको सृष्टि र प्रलयको चक्रको (The Cycle of Creation and Dissolution) अवधारणालाई वैज्ञानिक आधार प्रदान गर्दछ। यसले पुरानो 'संस्कार' को विघटन र नयाँ 'बोध' को उदयमार्फत हरेक पल झन् उन्नत विधि ग्रहण गरी चलिरहेको संसारको नियमित सञ्चालन विधि व्यक्तिगत र सामूहिक चेतनाको विकासमा अपरिहार्य हुने मान्दछ। जसरी कुनै सभ्यताको विकास 'सृजनात्मक विनाश' (Creative Destruction) मा निर्भर हुन्छ, त्यसरी नै आत्मिक विकासको यात्रामा पुरानो 'कर्मबन्धन' 'अज्ञान' को विनाश (लय) भएपछि मात्र नयाँ 'बोध' 'मुक्ति' को सृजना (अभ्युदय) सम्भव हुन्छ भन्ने वैदिक ज्ञानको गहिरो वैज्ञानिक पहलुलाई यस नोबेल पुरस्कार प्राप्त गरेको खोजले स्पष्ट पारेको छ।

 

प्रसङ्ग सन् २०२५ को अर्थशास्त्र (Economic Sciences) तर्फको नोबेल पुरस्कार जोएल मोकिर (Joel Mokyr), फिलिप अघियॉन (Philippe Aghion), र पीटर हॉविट (Peter Howitt) लाई उनीहरूको महत्त्वपूर्ण खोज "नवीनताद्वारा सञ्चालित आर्थिक विकासको व्याख्या" को लागि संयुक्त रूपमा प्रदान गरिएको र त्यसको अर्थशास्त्र र अध्यात्मको खोजमा पुर्‍याएको सहजताको बारेमा हो।

 

नोबेल समितिका अनुसार, जोएल मोकिरलाई "प्राविधिक प्रगतिको माध्यमबाट दिगो विकासका लागि आवश्यक पूर्वसर्तहरूको पहिचान गरेकोमा" पुरस्कृत गरिएको छ। उनको कामले ज्ञान, प्रयोग र परिवर्तनलाई महत्त्व दिने सामाजिक संस्कृति (Culture) को महत्त्वलाई उजागर गर्छ। अर्कोतर्फ, फिलिप अघियॉन र पीटर हॉविटलाई "सृजनात्मक विनाश (Creative Destruction) मार्फत दिगो विकासको सिद्धान्त" विकसित गरेकोमा संयुक्त रूपमा पुरस्कृत गरिएको छ।

 

नोबेल पुरस्कार विजेताहरूको को निचोडले संकेत गरे अनुसार आर्थिक विकासलाई गतिहीन अवस्थाबाट निरन्तर प्रगतिको दिशामा लैजाने तीन मुख्य पक्षहरूको पहिचान गर्नु जरुरि छ।

 

पहिलो पक्ष हो, जोएल मोकिरको 'ज्ञानको संस्कृति' (The Culture of Knowledge) को सर्वोच्चता सम्बन्धी आर्थिक सिद्धान्त। मोकिरले ऐतिहासिक अध्ययनहरूबाट यो कुरा देखाएका छन् कि आर्थिक विकास केवल आविष्कारमा मात्र सीमित वा निर्भर रहेर प्राप्त हुँदैन। यसका लागि समाजले 'किन काम गर्छ' भन्ने वैज्ञानिक व्याख्यासहित नयाँ आविष्कारमा निहित उपयोगी ज्ञान र नयाँ विचारलाई स्वीकार गर्न तयार हुनुपर्छ र त्यसलाई समाजले नियमित प्रक्रिया सँग निरन्तर जोड्न सक्नुपर्छ। तब मात्र त्यसले दिगो आर्थिक विकासमा भूमिका खेल्न सक्छ। इतिहास हेर्ने हो भने, औद्योगिक क्रान्तिले सफलता पाउनुमा युरोपमा वैज्ञानिक ज्ञान र प्रयोगात्मक अभ्यास लाई खुला मनले स्वीकार गर्ने संस्कृतिले निर्णायक भूमिका खेलेको भेटिन्छ। यसको विपरीत, यदि समाज ज्ञानप्रति अनुदार हुन्छ र नयाँ विचारलाई अस्वीकार गर्छ भने, त्यहाँ भएका आविष्कार र खोजका प्रक्रियाहरू समेत अवरुद्ध हुन पुग्छन्। यसले अन्ततः सम्पूर्ण अर्थतन्त्रलाई स्थिर र निष्क्रिय बनाउँछ। यसरी, मोकिरको सिद्धान्तले यो कुरा प्रमाणित गर्छ कि जब समाज ज्ञानप्रति अनुदार बन्छ, नवीनताको चक्र टुट्छ र त्यसको सोझो परिणाम आर्थिक गतिहीनता (Stagnation) को रूपमा देखा पर्दछ।

 

विद्या (Vidhya) अर्थात् वेदले ज्ञानलाई नै मुक्तिको आधार मान्दछ।  जसरी आर्थिक विकासलाई निरन्तरता दिन ज्ञानको भण्डार (Useful Knowledge) र त्यसलाई स्वीकार गर्ने खुला संस्कृति (Open Culture) चाहिन्छ, त्यसरी नै आध्यात्मिक विकासलाई निरन्तरता दिन मनको अज्ञानताको अन्धकार (Ignorance) लाई हटाएर शुद्ध चेतना (Pure Consciousness) र योगको धर्म (Dharma of Yoga) को नियमलाई जीवनमा स्थापित गर्नु अपरिहार्य हुन्छ।

 

मोकिरको खोजले सङ्केत गरेअनुरूप, जसरी बाहिरी भौतिक विकासका लागि सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षणबाट प्रमाणित भएको नयाँ वैज्ञानिक सत्यलाई समाजले स्वीकार गरी आफ्नो व्यवहारमा लागू गर्नु अनिवार्य छ, ठीक त्यसै गरी आन्तरिक आध्यात्मिक विकासका लागि पनि नियमित रूपमा विद्या (Vidhya) प्राप्तिले दिने नयाँ 'आत्मिक सत्य' लाई पहिचान गरी त्यसलाई आफ्नो जीवनमा हिजोको आफूभन्दा झन् सुधारिएको आफूको रूपमा रूपान्तरण गर्ने वैदिक संस्कृति (वैदिक कल्चर) हरेक व्यक्ति र समाजले ग्रहण गर्न जरुरी छ। यस प्रकारको वैदिक काइदा अपनाउन सकिने मनको खुलापन र सामाजिक खुलापनले मात्र समाजलाई दिगो मनोवैज्ञानिक र आध्यात्मिक विकासयुक्त समृद्ध समाज बनाउन महत्त्वपूर्ण दार्शनिक आधार प्रदान गर्दछ।

 

दोश्रो पक्ष हो, अर्थशास्त्री जोसेफ शुमपिटरको 'सृजनात्मक विनाशको (Creative Destruction)' अवधारणा लाई गणितीय मोडलमा ढालेर अघियॉन र हॉविटले प्रमाणित गरेको पक्ष। नयाँ र उन्नत प्रविधि वा उत्पादनले (सृजना) पुरानो, अप्रचलित प्रविधि र कम्पनीहरूलाई बजारबाट विस्थापित (विनाश) गर्छ। यो चक्र कहिल्यै पनि रोकिँदैन। यदि यो विनाशको प्रक्रियालाई रोकियो (अर्थात् पुरानो उद्योगलाई जोगाइयो) भने नयाँ आविष्कारका लागि प्रोत्साहन मिल्दैन र अर्थतन्त्र स्थिर (Stagnant) हुन्छ भन्ने वैज्ञानिक रूपमा सिद्ध गरिदिनु। 

 

जहाँ अर्थशास्त्री फिलिप अघियॉन र पीटर हॉविटले एउटा महत्त्वपूर्ण कुरा प्रमाणित गरिदिए। जसले यो प्रमाणित गरिदिन्छ कि कुनै पनि देशको अर्थतन्त्रलाई अगाडि बढाउने वास्तविक शक्ति भनेको त्यसको सृजनात्मक विनाशको क्षमता हो। उनीहरूका अनुसार, यो प्रक्रिया एक यस्तो चक्र हो, जहाँ नयाँ समय संगै नयाँ र उत्कृष्ट प्रविधि वा उत्पादन (सृजना) आउँछ । र त्यसले अनिवार्य रूपमा पुरानो, कमजोर वा अप्रचलित प्रविधि र त्यससँग सम्बन्धित कम्पनीहरूलाई बजारबाट बाहिर निकाल्छ (विनाश)। विस्थापित गरिदिन्छ। उदाहरणका लागि, डिजिटल क्यामेरा (सृजना) आएपछि फोटो खिच्ने फिल्म कम्पनीहरू (विनाश) बन्द भए । वा स्मार्ट फोनले तार भएको ल्यान्डलाइन फोनलाई विस्थापित गर्‍यो। यो सृजनात्मक विनाशको चक्र कहिल्यै पनि रोकिनु हुँदैन। किनकि यसले नै मानिसहरूलाई लगातार नयाँ कुरा आविष्कार गर्न प्रेरित गर्छ। यदि सरकार वा समाजले पुरानो भइसकेका उद्योग वा प्रविधिहरूलाई 'जोगान' खोज्छ र विनाशको प्रक्रियालाई रोक्छ भने, नयाँ समय संगै समयको माग अनुरुप आउने नयाँ आविष्कारकहरूले बजारमा आउने प्रोत्साहन पाउँदैनन्। परिणामस्वरुप, नयाँ खोजहरू र उत्पादनहरू बन्न छाड्छन् । जसले गर्दा अर्थतन्त्र स्थिर (Stagnant) भई थप प्रगति गर्न सक्दैन । पछाडि पर्न थाल्छ। त्यसैले, आर्थिक विकासका लागि पुरानोलाई छोडेर नयाँलाई अङ्गाल्नु अपरिहार्य छ।

 

अर्थशास्त्रको यो सिद्धान्त ब्रह्माण्डको मूल नियम 'सृष्टि-स्थित-लयको चक्र' (The Cycle of Cosmic Dance) सँग अत्यन्त नजिक देखिन्छ। यथार्थमा, यसले समान अवधारणा दिएको छ। जसरी शिवको ताण्डव नृत्यले 'लय' (विनाश) लाई अङ्गालेपछि नै दिगो 'सृष्टि' (नयाँ निर्माण) सम्भव हुन्छ र त्यसको नियमितता समेत सुचारु रहन्छ, त्यसरी नै व्यक्तिगत चेतनाको विकासमा पनि 'सृजनात्मक विनाश' आवश्यक छ।

 

मनोविज्ञान र अध्यात्ममा, 'सृजनात्मक विनाश' भनेको आफूलाई पुरानो संस्कार (Vasanas), विश्वास र पहिचान (Ego/Ahamkara) मा सीमित गर्ने अज्ञानता, जसले व्यक्तिको बौद्धिक, मनोवैज्ञानिक र आत्मिक विकासलाई रोक्छ, लाई ज्ञानले विनाश गर्नु हो। जब व्यक्तिले प्राप्त ज्ञानको आधारमा गहिरो पुनर्मूल्याङ्कन र आत्म-मूल्याङ्कन (ध्यान) गरी आफ्ना कमीकमजोरी, वैगुण र दुर्गुण पहिचान गर्छ र त्यसलाई आफूबाट हटाउने प्रक्रिया पूरा गर्दछ (योग),  तब त्यसले उसको पुराना 'अहंकारी विचार' 'कर्मबन्धन' को 'विनाश' गरिदिन्छ। उक्त 'सृजनात्मक विनाश' ले उसमा 'शुद्ध तत्व बोध' 'उच्च चेतना' रुपी नयाँ 'सृजना' पैदा गरिदिन्छ। त्यो नै उसको जीवनको नियमित प्रगतिका लागि जरुरी हुने समयअनुसार आफूलाई सकारात्मक परिवर्तन गर्न सक्ने क्षमता विकासको जग बनिदिन्छ। यही कुरा समूह र समाजको प्रगतिपथका लागि समेत हुबहु लागु हुन्छ।

 

यो खोजले प्रमाणित गर्छ कि जसरी भौतिक संसारको विकासका लागि पुरानो संरचनाको पतन अपरिहार्य छ, त्यसरी नै आन्तरिक चेतनाको विकासका लागि पनि 'पुरानो जड मानसिक मान्यतामा सकारात्मक विघटन' (Purification/Vairagya) को प्रक्रिया अनिवार्य हुन्छ।

 

तेश्रो वा अन्तिम पक्ष हो, दिगो विकासका लागि द्वन्द्वको वैज्ञानिक व्यवस्थापन। नोबेल पुरस्कार विजेता अर्थशास्त्री अघियॉन र हॉविटले आफ्नो गणितीय मोडलमार्फत दिगो आर्थिक विकासका लागि तेस्रो तथा अत्यन्त महत्त्वपूर्ण पक्षको रूपमा यही 'द्वन्द्वको वैज्ञानिक व्यवस्थापन' लाई अगाडि सारेका छन्। उनीहरूको तर्क छ कि जब सृजनात्मक विनाश को प्रक्रिया सुरु हुन्छ, तब अर्थतन्त्रभित्र दुई शक्तिशाली समूहबीच एक प्रकारको द्वन्द्व (Conflict) जन्मन्छ, जसलाई कुशलतापूर्वक सम्हाल्न सक्नुपर्छ।

 

अनुसन्धान र विकास (R&D) मा लगानीका निर्णयहरू सधैँ जोखिम र अनिश्चितताले भरिएका हुन्छन्। नयाँ कम्पनी (सृजनात्मक पक्ष) हरू R&D मा उच्च जोखिम मोलेर लगानी गर्छन्, किनभने उनीहरू नयाँ आविष्कारमार्फत बजार कब्जा गर्न चाहन्छन्। यसको विपरीत, बजारमा पहिलेदेखि नै राज गरिरहेका स्थापित कम्पनीहरू (विनाशात्मक पक्ष) मा नयाँ प्रविधिबाट बजार गुम्ने डर (Creative Destruction Fear) हुन्छ। त्यसैले, उनीहरू प्रायः नयाँ आविष्कारलाई रोक्न वा ढिलाइ गर्न हरसम्भव प्रयास गर्छन्।

 

अघियॉन र हॉविटका अनुसार, यो द्वन्द्वलाई नीति निर्माताहरूले सन्तुलित तरिकाले व्यवस्थापन गर्न सक्नुपर्छ। यदि नीति निर्माताहरूले स्थापित कम्पनीहरूको डरमा परेर नयाँ प्रविधि वा आविष्कारलाई अवरुद्ध गर्छन् भने, अर्थतन्त्रमा नवीनताको प्रोत्साहन पूर्ण रूपमा मर्छ र आर्थिक गतिहीनता (Stagnation) आउँछ। उदाहरणका लागि, यदि बीस वर्षअघि सरकारले ट्याक्सी कम्पनीको संरक्षण गर्न राइड-शेयरिङ एप (जस्तै: उबर, टुटल वा पठाओ) लाई इजाजत दिएको हुँदैनथ्यो भने, उपभोक्ताले सहज सवारी सेवा पाउँदैनथे र प्रविधि विकासको फाइदाबाट समाज वञ्चित हुन्थ्यो।

 

अर्कोतर्फ, यदि नयाँ आविष्कारलाई मात्र प्रोत्साहन दिइन्छ, तर त्यसबाट विस्थापित भएका पुरानो क्षेत्रका कामदारहरूको व्यवस्थापन गरिएन भने, त्यसले समाजमा चरम बेरोजगारी, आर्थिक मन्दी र आम्दानीको असन्तुलन (सिमित वर्गले मात्र कमाउने) जस्ता सामाजिक दुर्भाग्यको अवस्था निम्त्याउन सक्छ। यो जोखिमले समाजलाई अनैतिक मार्गमा धकेलिदिने प्रेरक बन्न सक्दछ।

 

त्यसैले, दिगो विकासका लागि नीति निर्माताहरूको काम भनेको नयाँ आविष्कारलाई सुरक्षित गर्ने वातावरण (जस्तै: बौद्धिक सम्पत्तिको रक्षा) बनाउने, साथसाथै विनाशबाट प्रभावित वर्गको सामाजिक सुरक्षाको (जस्तै: नयाँ सीप वा प्रविधिको लागि तालिम, नियमित उत्पादन रूपान्तरण, पुराना कम्पनीलाई नवीनताको संस्कृति ग्रहण गर्न प्रोत्साहन, बेरोजगारी भत्ता) व्यवस्थापन गर्नु हो। आपसी द्वन्द्व युक्त परिस्थितिलाई वैज्ञानिक प्रबन्धनमार्फत समाजको बृहत्तर हितमा रूपान्तरण गर्ने यो नै आधारभूत सिद्धान्त र उत्कृष्ट उपाय हो।

 

नोबेल पुरस्कार विजेताहरूको आर्थिक सिद्धान्तले अर्थतन्त्रभित्र 'पुरानो' (स्थापित) र 'नयाँ' (आविष्कृत) बीच जुन अपरिहार्य द्वन्द्व (Conflict) हुन्छ, त्यसको गहन दार्शनिक समानता आध्यात्मिक यात्रामा पनि भेटिन्छ। यस आन्तरिक सङ्घर्षलाई 'द्वैतको सङ्घर्ष र समभाव' (The Struggle of Dualities and Equanimity) को रूपमा बुझ्न सकिन्छ। आर्थिक प्रणालीमा पुँजी र बजारको द्वन्द्व भएझैँ, मानव चेतनाको आन्तरिक संसारमा पनि सूक्ष्म तत्त्वहरूको निरन्तर सङ्घर्ष चलिरहन्छ। जस्तै: अज्ञान' (Ignorance) 'ज्ञान' (Knowledge) को द्वन्द्व। 

 

जहाँ अज्ञानताले पुरानो र सीमित विश्वासहरूलाई समातेर राख्न खोज्छ, जबकि ज्ञानले ती बन्धनहरूलाई तोडेर नयाँ सत्यतर्फ उन्मुख हुन प्रेरित गर्छ। त्यस्तै 'सङ्कल्प' (Intention) 'विकल्प' (Doubt/Wavering) को द्वन्द्व। जहाँ मनको एउटा भाग नयाँ र उच्च लक्ष्यमा केन्द्रित हुन चाहन्छ (सङ्कल्प)। तर अर्को भागले पुरानो बानी र सुरक्षाको घेरामा फर्किन खोज्छ (विकल्प)।

 

भगवद् गीताको केन्द्रीय सन्देश नै यस द्वन्द्वको व्यवस्थापनसँग जोडिएको छ। त्यहाँ भगवान् कृष्णले अर्जुनलाई धर्म र अधर्मको युद्ध (द्वन्द्व) लाई अस्वीकार गर्नुको सट्टा स्वीकार गर्न प्रेरित गर्नुभएको छ। कर्मयोगको माध्यमबाट जीवनका हरेक द्वैतहरू जस्तै सुख-दुःख, जय-पराजय, लाभ-हानि आदिलाई समान दृष्टिले हेरेर समभाव (Equanimity) कायम हुने व्यवहार गर्न अर्ति दिनु भएको छ। जसको अर्थ भावनाशून्य हुनु होइन, बरु परिस्थितिको परिणाममा आसक्ति नराखी केवल 'कर्ममा’ ध्यान केन्द्रित गर्नु हो।

 

आध्यात्मिक सन्दर्भमा, समभावले द्वन्द्व व्यवस्थापनको 'नीति' 'लगानी' दुवैको दोहोरो काम गर्दछ। समभाव नै 'लगानी' हो, किनभने जसरी अर्थशास्त्रीहरूले नवीनता (R&D) मा लगानी गरेर भविष्यको विकास सुनिश्चित गर्छन्, त्यसरी नै योगीले जीवनको द्वन्द्वहरूलाई स्वीकारेर समभावको अभ्यासमा गरेको लगानीले मनमा शान्ति र स्थिरता सुनिश्चित गर्छ। साथै, समभाव नै 'नयाँको सुरक्षा' गर्ने 'नीति' हो, किनभने जब मनले जय र पराजयलाई एकै रूपमा हेर्न थाल्छ, तब पुरानो अहङ्कार (जो विनाश हुन डराउँछ) कमजोर हुन्छ। यसले गर्दा चेतनाको नवीनता (Ultimate Insight), जसलाई योगमा 'बोध' वा 'समाधि' भनिन्छ, को लागि आन्तरिक मार्ग खुला हुन्छ।

 

अतः यो सिद्धान्तले के प्रमाणित गर्छ भने, चाहे बाहिरी अर्थतन्त्रको विकास होस् वा आन्तरिक चेतनाको मुक्ति, परिवर्तन (सृजनात्मक विनाश) सधैँ द्वन्द्व लिएर आउँछ। यस द्वन्द्वलाई परिणामको आसक्ति त्यागेर सन्तुलन र समभाव मार्फत मात्र व्यवस्थापन गर्न सकिन्छ, र यही समभाव नै निरन्तर प्रगति वा मुक्तिको अचूक सूत्र हो।

 

२०२५ को अर्थशास्त्रको नोबेल पुरस्कारले अर्थशास्त्र र वैदिक मेटाफिजिक्स बीचको गहिरो मेललाई पुनः पुष्टि गर्दै भौतिक विकासको पछाडि सूक्ष्म, अभौतिक तत्वहरूको सर्वोच्चता रहेको प्रमाणित गर्दछ। यस खोजले देखाउँछ कि भौतिक सर्किट (अर्थतन्त्र) को सफलता केवल भौतिक पूँजी मा मात्र होइन, तर ज्ञान, संस्कृति र खुलापन (सूक्ष्म तत्व) मा निर्भर हुन्छ। जसरी आर्थिक प्रगति 'सृजनात्मक विनाश' को चक्रमा निर्भर गर्दछ, त्यसरी नै आत्मिक प्रगति पुरानो संस्कार र अहम्को लय मा निर्भर गर्दछ। अतः, यो नोबेल पुरस्कारले स्पष्ट सन्देश दिएको छ: चाहे त्यो भौतिक अर्थतन्त्र होस् वा आन्तरिक चेतनाको संसार, परिवर्तनलाई अङ्गाल्नु, पुरानो बन्धनलाई तोड्नु, र निरन्तर ज्ञानको खोजी गर्नु नै दिगो समृद्धि (भौतिक वा आत्मिक) को एकमात्र बाटो हो। यसरी, विज्ञान (अर्थशास्त्र) र अध्यात्म (वैदिक ज्ञान) दुवैले 'नयाँ विचारको स्वागत र पुरानो संरचनाको लय' लाई सफलताको आधारभूत नियमको रूपमा स्थापित गरेको छ।

Recent Blogs