प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2024-09-24

नेपाली शब्दकोशमा ॐ शब्दको पुनर्बहाली गर !!

ॐ अर्थात् ओमकार।

नारायण नारायण नारायण।

हालैको आफूलाई धर्म निरपेक्ष भन्ने नेपाल  सरकारको आधिकारिक निकायले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णय गरेको, त्यस विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले  ॐ शब्दको व्याख्याका लागि सहयोग आवश्यक देखिएको भन्दै भाषा र कानुनी दक्षता भएको व्यक्ति संलग्न एमिकस क्युरी मगाएको भन्ने समाचारले विश्व भरका वैदिक ज्ञान प्रेमी तथा सनातनी जीवन पद्धति मैत्री विचारक समुदायको ध्यान खिचेको छ।

संस्कृत शब्द  “धर्म” को परम्परागत वैदिक मान्यता अनुरूपको अर्थ कानुन र प्रचलित सामाजिक मान्यता अनुरूपको आफ्नो जिम्मेवारी भित्र रहेको कर्तव्यको पूर्ण पालन गर्नु पर्ने दायित्व हो। निरपेक्षको अर्थ उक्त सम्बन्धमा तटस्थ रहने तथा सो अपेक्षा नगरिएको भन्ने लाग्दछ। संविधान अनुरूप नेपाल राज्य आफ्नो कर्तव्यको पूर्ण पालन गर्नु पर्ने दायित्व वा कर्तव्य बारे आफू निरपेक्ष रहने वा सो को सरकार वाट अपेक्षा नगर्न लिखित रूपमा जनता माझ भनेरै राजकाजको लागि आएको छ।

म मेरो  दायित्व वा कर्तव्य पुरा गर्नुपर्ने राज्यको धर्म प्रति नै उदासीन छु भन्ने संविधान बनाएर सञ्चालित त्यही राज्यको एक  निकायले “हरेक व्यक्तिले आफ्नो  कर्तव्य निभाउनु उसको दायित्व हो। मानवता अन्तर्गत व्यक्तिको पहिलो धर्म आफ्नो कर्तव्यमा इमानदार रहेर अहिंसा युक्त रूपमा सम्पन्न गर्नु हो” भन्ने भावनात्मक सन्देश दिने शब्द  ॐ समेत नेपाली शब्दकोश बाट हटाउने निर्णय आपत्ति जनक छ। यस प्रकारको निर्णय भुल बस नभएर गलत नियत बस मात्र आउने गर्दछ। यसको पछाडि निकै ठुलो सामाजिक कू को नियत लुकेको प्रस्ट बुझिन्छ।

हालै  यति गम्भीर विषयमा सर्वोच्च अदालत प्रवेश गर्दै गर्दा  ॐ शब्दको व्याख्याका लागि मात्र सहयोग लिन नेपाल बारको नाममा एमिकस क्युरी पठाउन आदेश दिँदै दिनु तर यसको चुरो समस्याको रूपमा संविधानमा रहेको धर्म निरपेक्ष शब्द प्रति अदालत मौन देखिनु झन् दुर्भाग्य पूर्ण छ।

अदालतले ॐ शब्दको व्याख्या भन्दै  ॐ शब्दको व्याख्याको विषयमा मात्र सीमित रहेर सहयोग गर्ने कार्य क्षेत्र तोकी एमिकस क्युरी माग गर्ने कार्यले त्यसको जड कारकको रूपमा रहेको “राज्य आफ्नो नैतिक र धार्मिक दायित्व पुरा गर्नको लागि हैन” भनी हाकाहाकी संविधानमा उल्लेख गरिएको धर्म निरपेक्ष शब्द बारे समेत सम्बोधन भएर राज्यमा न्याय स्थापित हुने अवस्था रहँदैन।

यो परिघटनाले मुलुक निकै ठुलो अनैतिकताको खाडलमा जाकिएको तर्फ सङ्केत दिएको भन्ने संसारभरका वैदिक ज्ञान प्रेमी तथा सनातनी जीवन पद्धति मैत्री विचारक समुदायको मनमा परेको छ। राज्यले त्यस प्रकारको अति वादको उपचार तर्फ तुरुन्त भूमिका खेल्न जरुरी छ।

परम्परागत नेपाली प्रचलन अनुरूप संस्कृतको  ॐ शब्द अ + उ + म मिलेर बनेको छ। जसमा “अ” को अर्थ उत्पत्ति हुनु, “उ” को अर्थ उठ्नु वा नियमित विकासको क्रममा चल्नु र “म” को अर्थ मौन हुनु अर्थात् ब्रह्ममा लीन हुनु भन्ने लगाइन्छ।

वैदिक भाषामा जब तपाईँ ईश्वर भन्न चाहनु हुन्छ तब त्यहाँ पुलिङ्गको ईश्वर तथा स्त्री लिङ्ग ईश्वरी शब्द भेट्नु हुन्छ। भगवानको समेत पुलिङ्ग भगवान् तथा स्त्री लिङ्ग भगवती अस्तित्वमा देखिन्छ।

जब तपाईँ ॐ शब्द प्रयोग गर्नु हुन्छ यो न यो स्त्री लिङ्ग, न पुलिङ्ग  न नपुंसक लिङ्ग तर्फ ढल्कने गर्दछ। यो सदाबहार सबैको सम्बोधनमा उपयोग हुन्छ।

यजुर्वेद ४०.१७ को यो मन्त्र हेरौँ:

हि॒र॒ण्मये॑न॒ पात्रे॑ण स॒त्यस्यापि॑हितं॒ मुखम्।

परम सत्य सुनको लेपनले ढाकिएको छ (सुगर कोटेड छ । ईन्द्रिय सुःख, दुःख भित्र लुकेको छ)।

यो॒ऽसावा॑दि॒त्ये पु॑रुषः॒ सो᳕ऽसाव॒हम्।

म सूर्यको किरणमा रहेको अस्तित्व हुँ।

(यहाँ म भनेर सबैले आफूलाई भन्ने “म” अर्थात् आत्मा स्वरूप संकेत गरिएको छ)

ॐ ख़म ब्रह्म॑ ॥ यजुर्वेद ४०.१७ ॥

त्यो ब्रह्म “म” लाइ “ॐ” शब्द वाट चिनिन्छ।

ॐ बारे बृहदारण्यक उपनिषद्को चर्चित श्लोकले भन्दछ:

ॐ पूर्णमद: पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।

पूर्णस्य पूर्णमादाय पूर्ण मेवा: शिष्यते॥

ॐ शान्तिः शान्तिः शान्तिः॥

ॐ (me) is infinite, and this universe is infinite. The infinite proceeds from the infinite. Taking the infinitude of the infinite, it remains as the infinite alone. ॐ is the reason of all kinds of Peace.

ॐ (म) अनन्त छ। ब्रह्माण्ड जस्तै अनन्त छ। अनन्त बाट अनन्त नै प्राप्ति हुन्छ। अनन्तको असीमताले अनन्त वाट अनन्त निकाल्दा समेत त्यहाँ अनन्त नै बाँकी रहन्छ। ॐ (म) सम्पूर्ण प्रकारको शान्तिको प्रतीक हो।

यसको आशय के हो भने ॐ परब्रह्म (अनन्त आत्मा) हो। ॐ अनन्त छ। परब्रह्म ॐ पूर्ण समेत छ। पूर्णताले पूर्णता नै उत्पन्न गर्दछ। कार्यात्मक पूर्णता समेत कार्यात्मक पूर्णता वाट नै प्राप्ति हुन्छ।

पूर्णता वाट पूर्णताको प्राप्ति हुँदा समेत त्यहाँ पूर्णता नै बाँकी रहन्छ। ॐ अर्थात् म लाई पहिचान गर्न सक्दा सम्पूर्ण प्रकारको अभौतिक कष्टहरू जस्तै गैर-शारीरिक, गैर-दैनिक तथा आध्यात्मिक पीडाहरू लाइ शान्त पार्न सकिन्छ।

वेदको अथर्ववेदीय शाखा अन्तर्गतको माण्डूक्योपनिषद तलको श्लोकबाट सुरु हुन्छ: 

ॐ इत्येतदक्षरमिदꣳ सर्वं तस्योपव्याख्यानं

भूतं भवद् भविष्यदिति सर्वमोङ्कार एव

यच्चान्यत् त्रिकालातीतं तदप्योङ्कार एव ॥

जसको हरफ पिच्छेको अर्थ हेर्दा यस्तो देखिन्छ:

ॐ अक्षरको संक्षिप्तमा व्याख्या गर्नु पर्दा यसलाई

भूत, वर्तमान र भविष्य सबै सङ्केत गर्ने शब्द

प्रकृतिका तीन भौतिक मोडहरू भन्दा बाहिर जे जे हुन्छ, ति सबैलाइ जनाउने शब्द  हो भनी बुझ्नु पर्दछ॥

महाशिवपुराणको विद्येश्वर संहिता अध्याय १० मा भगवान् शिवले विष्णु र ब्रह्मालाई पञ्चकृत्य  र ओकार मन्त्रको व्याख्या  गर्ने क्रममा निम्न कुराहरू बताउनु भएको छ। पञ्चकृत्यको अर्थ पाँच कार्यहरू भन्ने लाग्दछ।

पञ्चकृत्यमिदं वोढुं ममास्ति मुखपञ्चकम् । 

चतुर्दिक्षु चतुर्वक्त्रं तन्मध्ये पञ्चमं मुखम्॥ १०.९ ॥

पाँच कार्यहरू सम्पन्न गर्न म सँग पाँच वटा अनुहारहरू छन्। चार दिशामा फर्किएका चार वटा अनुहार र बिचको पाँचौँ अनुहार।

सृष्टिः स्थितिश्च संहारस्तिरोभावोऽप्यनुग्रहः ।

पञ्चैव मे जगत्कृत्यं नित्यसिद्धमजाच्युतौ ॥१०.२॥

सृष्टि, हेरचाह (मर्मत सम्भार), विनाश, जन्म मृत्युको चक्र सञ्चालन  तथा  मुक्ति (जन्म मृत्युको चक्रबाट मुक्त हुनु) सबै मेरो कर्म हो। ब्रह्माण्ड प्रतिका मेरा पाँच कर्तव्यहरू सदैव अटुट रूपमा नियमित सम्पन्न हुने गर्दछन्।

यथार्थमा माथि उल्लेखित शिवका पाँच  फरक फरक कर्तव्यहरू पुरा गर्न नियमित सक्रिय हुने शिवको रूपलाई शास्त्रले क्रमशः ब्रह्मा (सृष्टि), विष्णु (हेरचाह), रुद्र (विघटन), ईश्वर (जन्म र मृत्युको चक्र सञ्चालन कर्ता) तथा महेश्वर वा सदाशिवको (पूर्ण सत्यको प्राप्ति वा मुक्ति)  फरक फरक रूपमा बुझ्ने र आराधना गर्न सल्लाह दिने गर्दछ।

विद्येश्वर संहिता १०.१८ र १०.१९ भन्दछ:  

अकार उत्तरात्पूर्वमुकारः पश्चिमाननात् ।

मकारो दक्षिणमुखाद्‌बिन्दुः प्राङ्मुखतस्तथा ॥१०.१८ ॥

नादो मध्यमुखादेवं पञ्चधाऽसौ विजृम्भितः ।

एकीभूतः पुनस्तद्वदोमित्येकाक्षरोऽभवत् ॥१०.१९ ॥

ॐ  शब्द निर्माण भएको शब्दांश “अ” शक्ति मेरो उत्तरी अनुहारबाट पहिले आयो।  पश्चिमी अनुहार बाट शब्द “ऊ” शक्ति, दक्षिणी बाट “म” शक्ति आयो भने पूर्वी मुख बाट आएको बिन्दु शक्तिले ॐ शब्दको निर्माण भएको हो। यसरी पाँच रहस्यमय शक्ति शक्तिको संयोजन वाट निर्मित कम्पन आवाजको रूपमा (नाद) मेरो बिचको प्रमुख अनुहारको मुखारविंद बाट प्रकट भएको हो।

यसरी सम्पूर्ण पाँच शक्तिको संयोजन वाट बनेको कम्पन ‘ओम’ भौतिक तत्त्व निर्मित हुने पाँच पन्च तत्त्व निर्माण गर्ने शक्ति अर्थात् चेतनाको (आत्मा)  सङ्केतको रूपमा शास्त्रले लिने गर्दछ।

श्रीमद भगवद गीता ८.१३ अनुसार:

ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।

यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ॥ गीता ८.१३॥ 

नियमित ॐ मन्त्र जप्दै योग साधनामा बसेर चञ्चल मनलाई चेतनामा केन्द्रित गरी एकाग्र गर्न सक्दा मानिसले परम चेतन ब्रह्म ॐ को अनुभूति गर्न सक्दछ।

समग्रमा वेदको अवधारणा अनुरूप परम सत्य प्राय:  सुनौलो लेपनको ईन्द्रिय सुःख, दुःखको आवरण  भित्र लुकेको हुन्छ। त्यो सुगर कोटेड हुने गर्दछ। हरेक मानिसले आफूलाई “म” भनेर चिनाउने गर्दछ। त्यो “म” यथार्थमा सूर्यको किरण मार्फत सांसारिक अस्तित्वमा आउने आत्मा स्वरूपको ब्रह्म-रूप हो।

वैदिक अवधारणामा त्यही ब्रह्म रूप “म” लाई जनाउने शब्द “ॐ” हो। 

ॐ  शब्दको परिकल्पना गर्ने वैदिक अवधारणा कै अर्थ खुल्ने गरी नेपाली शब्दकोशमा ॐ को अर्थ खुलाएर पुनः सूचीकृत गरिनु पर्दछ। 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)