प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-01-08

दोष लाग्ने दान निन्दनीय दान।

दोष लाग्ने दान निन्दनीय दान हो। - प्रेत कल्प।

यो सनातन धर्मको मान्यता हो कि जोसँग कर्म गर्ने क्षमता छ, उसले आफ्नो कर्मको मेहनतबाट कमाएको धनमा आफू आश्रित रहनुपर्छ।

काम गरी खाने क्षमता र शक्ति भएको व्यक्तिलाई दान वा भिक्षा वा सहयोग दिने कार्यले उसलाई कर्म नगर्ने मागी वा ठगी खाने वा मनोवैज्ञानिक अत्याचार गरी जीवन जिउने भ्रष्ट राक्षस बनाउने गर्दछ।

यसरी दान वा सहयोगको नाममा उत्पादन शील व्यक्तिलाई अल्छी बनाउन सहयोग गर्नु भन्दा ठुलो महापाप अरू कुनै नहुने हुनाले यो कर्म लाई सनातन मान्यतामा अपराध कर्म भन्ने गरिन्छ।

महापाप वैदिक सनातन मान्यता अनुरूप क्षमा गर्न नसकिने प्रकृतिको निन्दनीय अपराध हो।

कुनै पनि सामाजिक कार्यमा खटिने जजमान, पुरोहित वा पुजारी आदिले उनको समय अनुसारको तत्कालीन श्रम बजारमा त्यही स्तरको काम गर्दा उपलब्ध हुने ज्याला बाहेक अन्यत्र दान लिनु हुँदैन भन्ने सनातन मान्यता हो। आफ्नो फाइदाको लागि त्यस्तो कर्ममा सरिक हुने कर्म काण्ड वा पुराण आदिमा संलग्न व्यक्तिले आफ्नो ज्ञानको दुरुपयोग गरी दान आदिको लागि मनोवैज्ञानिक हिप्नोटिजम गरी श्रम भन्दा अधिक दान दक्षिणा लिने कार्य समेत सनातन मान्यता अनुरूप निन्दनीय अपराध हो।

त्यस्तो निन्दनीय अपराध गर्ने व्यक्ति पुरेत वा जजमान बसेर सम्पन्न भएको कर्मको फल प्राप्त नहुने सनातनको मूल विश्वास हो।

माथि उल्लेखित विषय गरुड पुराण अध्याय ५ प्रेत कल्प ५/४२ को प्रस्ट मर्म हो।

त्यसले समेत सङ्केत गरे अनुरूप वेद र शास्त्रप्रति समर्पित भई त्यसको ज्ञानले समाजलाई फाइदा पुर्‍याउने कार्यमा समर्पित हुनका लागि आफ्नो निर्भरता त्यागेर समर्पित भएका व्यक्तिहरूको दैनिक जीविका आधारभूत जरुरतको पूर्ति गर्ने प्रयोजन बाहेकको काममा जाने अन्य दान वैदिक सनातन संस्कृति अनुसार धर्मको उल्लङ्घन हो।

यो कुरा थाहा नभएर गरिने दान पाप हो भने जानीजानी गरिने यस्तो दान अपराध हो।

त्यसैले सनातन मान्यता अनुरुप आफ्नो मृत्युपछिको जीवनको यात्रा सन्तोष युक्त बनाउन र हाम्रो जीवन मानवीय धर्मले ओतप्रोत पूर्ण गर्न सनातन धर्मको पालन गराउने कर्म काण्डमा संलग्न व्यक्तिले आफ्नो पारिश्रमिक बाहेक अधिक धन वा अन्य दान स्विकार्न मिल्दैन।

दान गर्ने ले समेत त्यो प्रकृतिको दान दिनु अशुभ कर्म हो। धर्मको उल्लङ्घन हो।

वैदिक कर्म काण्डहरू गरिने क्रममा त्यसको लागि खोजिएको पुरेत वा जजमान लाई अनिवार्य पारिश्रमिक दिनु पर्ने र त्यस्तो कर्म योजना गर्नेले चाहेमा नैतिक दान आदि गर्न सक्ने व्यवस्था गरिएको छ।

वेद र शास्त्र प्रति समर्पित भई त्यसको ज्ञानले समाजलाई फाइदा पुर्‍याउने कार्यमा समर्पित सङ्घ, संस्था, गुरुकुल वा अन्य समाजका सदस्यहरूको हित र कल्याणको कार्यमा यस्ता दान जान सक्दछ।

कुनै निजी व्यक्तिको आधारभूत आवश्यकता भन्दा बाहिरको विषयमा यस्ता दान जानु लाई सनातनमा आपराधिक पाप कर्म मानिन्छ।

कर्म काण्डमा संलग्न व्यक्तिलाई मात्र पारिश्रमिक बाहेक अन्य दान जानु समेत सनातन मान्यतामा अपराध कर्मको रूपमा नै लिने गरिन्छ।

मन्दिर आदिमा दानहरू दान पात्रमा नहालेर पुजारीलाई टिको लाएर 'संस्थाले दिने पारिश्रमिक बाहेकको' अन्य दान दिने कार्य समेत अपराध कार्य कै रूपमा बुझ्ने गरिन्छ।

त्यसैले दान जसलाई जरुरत छ उसलाई मात्र दिने र जसले श्रम गरेको छ उसलाई मात्र पारिश्रमिकले दिने कार्यले मात्र व्यक्तिलाई धार्मिक र मानवीयता युक्त मानव बनाउँछ।

त्यस प्रकारको दानले मात्र व्यक्तिको वर्तमान र भविष्य दुवै उज्ज्वल रहन्छ। व्यक्ति र समाज लाई पापी हुन वाट रोक्दछ।

हरेक व्यक्तिलाई सनातन अनुरूप गर्न सकिने दान भनेको दर्द वाट मुक्त हुनको लागि दिन सकिने सहयोग, भोजन दान, सिपको दान, ज्ञानको दान आदि हो।

दान मध्येको सबै भन्दा पुण्यको दान ज्ञानको लागि गरिने लगानी वा दान हो।

स्वमाश्रितं परित्यज्य वेदशास्त्रपरायणम्।

अन्येभ्यो दीयते दानं कथ्यतेऽयमतिक्रमः॥

॥अध्याय ५ प्रेत कल्प ५।४२॥

आफ्नो आश्रित सामग्री त्यागेर वेद / शास्त्रमा समर्पित भई अरूलाई ज्ञान दिने (भर्गो ज्योतिको फैलावटमा समर्पित) पुण्य कार्यमा समर्पित व्यक्तिको उपयोगमा जाने बाहेकको अन्य प्रकृतिको सबै दान दिने कार्य धर्मको उल्लङ्घन हो।

अर्थात् आश्रित ब्राह्मण (वेद शास्त्रमा समर्पित भई अरूलाई ज्ञान दिने पुण्य कार्यमा समर्पित ज्ञानी) लाई बाहेक अन्य श्रमिक ब्राह्मण वा कर्म काण्डको सहज कर्ता ब्राह्मणमा जाने सम्पूर्ण प्रकारको दान निन्दनीय दान हो।

त्यसैले जीवनमा दान पनि दिने र झन् अपराध समेत कमाउनु पर्ने कर्म वाट जोगिन ब्रह्म राक्षसहरू मार्फत प्राप्त हुने ज्ञान आदि वाट जोगिन जरुरी पर्दछ।

सनातनमा त्यसैले हरेक भक्तले आफ्ना लागि आफ्नो मनले स्विकार्ने सही गुरु र हरेक गुरुले सही भक्त खोज्नु अनिवार्य हुन्छ भनिएको हो।

त्यसो हुँदैन भने गुरु विना पनि जीवन भर आफ्नो अन्तरात्माले अर्थात् ब्रह्म ले सत्कर्म ठम्याएको कर्महरू गरेर मुक्ति प्राप्त गर्ने फर्मुला अनुसरण गर्न सकिन्छ।

जुन कुनै रकेट साइन्स होइन।