प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेदमा स्वर्ग नर्क को कुरा छैन। न त मन्दिर भन्ने त्यस्तो कुनै कुरा छ। पूजा आजा भन्ने पनि केही देखिँदैन। जीवनको हरेक गतिविधि र घटना लाई वेदमा यज्ञ भनिएको छ। अहिंसा युक्त करुणामय प्रकृति मैत्री कर्मलाई महायज्ञ भनिएको छ। त्यसैलाई भगवानको भक्ति र सत्कर्म समेत भनिएको छ। त्यसैलाई पूजामा लिन हुनु भन्ने अर्थ वेदको व्याख्या गर्ने पुराण आदिले दिन खोजेका छन्। त्यो विपरीतको कार्य लाई पाप कर्म र त्यसले दिने प्रतिफललाई पाप कर्मफल भनिएको छ। पाप कर्मफलको अनुभूति गरेको अवस्था लाई नरक भन्ने अवधारणा वेदमा होइन पुराण आदिले अघि सारेका छन्। सत्कर्मको प्रतिफलको अनुभूति लाई स्वर्ग भनिएको छ। वेदमा होइन। मात्र पुराण आदिमा। वेदमा मानिस वा जीव बिचको त कुरै छोडौँ कुनै सजीव र निर्जीव बिच समेत विभेद गरिएको छैन।
कारण अहिंसा युक्त करुणामय प्रकृति मैत्री कर्म तर्फ व्यक्तिलाई अभिप्रेरित गर्ने व्यक्तिको इच्छा शक्ति पैदा गर्ने तत्त्व लाई ईश्वर ठान्दछ वेद। त्यो शक्ति अस्तित्वमा रहेको संसारका सम्पूर्ण चिजमा रहेको वेदको विश्वास भेटिन्छ। सम्पूर्ण तत्त्व चैतन्य निर्मित रहेको यकिन गर्ने वेदको अवधारणामा के स्वर्ग, के नर्क, के जीव के निर्जीव सबै सबैमा देव तत्त्व रहन्छ भन्ने निचोड भेटिन्छ। सबै कुराको निर्माण तत्त्व एकै रहेको अवस्थामा तिनीहरू बिच विभेद राख्नु नै अज्ञान हो भन्ने मान्यतामा वेद अडेको छ। त्यसैले ज्ञानी मानिसको लागि के स्वर्ग, के नर्क, के जीवन सबै सबैमा ईश्वरको करुणाको दृष्टि नजर आउँछ। त्यसैले उ जहाँ हुन्छ त्यही स्थान उसको लागि स्वर्ग हुन्छ।
स्वर्ग जानु भनेको तपाईँको नयाँ स्थानको यात्रा होइन। तपाइको वरपरको परिस्थिति परिवर्तन हुनु समेत होइन। यो त तपाइको तत्कालको तपाइकै जीवन लाई तपाइले कसरी लिनु भएको छ र तपाइको तत्कालको परिस्थिति लाई तपाइले कस्तो अनुभूति गर्नु भएको छ त्यसले निर्धारण गर्ने कुरा हो। स्वर्ग जानु भनेको तपाइ नयाँ सहर वा स्थान वा स्वरूपमा पुग्नु पनि होइन। तपाइकै तत्काल कै परिस्थिति लाई तपाइले हेर्ने नजर्रिया हो। फरक नजर्रियाले दिने नयाँ आनन्दित अनुभूति हो। संसारलाई सांसारिक तरिका वाट नै ग्रहण गर्ने कला हो। संसारको यथार्थ तत्त्व बोधको अनुभूति हो।
जीवनको तत्कालीन अवस्थाको अल्पकालीन यथार्थ लाई आफ्नो तत्कालको यथार्थ तर दीर्घकालीन उद्देश्य प्राप्तिको अल्पकालीन अवसर मानेर त्यसैमा रमाउने गुण विकास गरिदिन निकै धेरै ज्ञानीहरूको लागि सहयोगी बन्ने गर्दछ वेद। त्यसैले त वेदमा ज्ञानी रहेका मानिसको लागि यत्र तत्र सर्वत्र ईश्वरको प्रेमको अनुभूति ले आनन्द दिन्छ। हरेक घटनाले उसलाई नयाँ पाठ सिकाउने गर्दछ। अप्रिय घटना वाट उसले जीवन जिउने ज्ञान लिन्छ। प्रिय घटना हरूलाई उसले साक्षात् जीवन अनुभूति गर्ने अवसरको रूपमा ग्रहण गर्दछ।
वेदको अनुसार के स्वर्ग, के नर्क, के जीवन सबै यसै समयमा तपाई सँगै अत्यन्त सामीप्यमा जकडिएर रहेको छ। तपाइकै तपाइको यसै पलमा तपाईँ सँगै रहेको छ। ईश्वर तपाई भित्रै छ। अन्यत्र ईश्वर खोज्नु भनेको सुनको कचौरा लिएर एक छाक टार्ने अन्नको जोगाडमा भौँतारिनु जस्तै हो। यो याद गर्नुहोस् कि ईश्वरले तपाई लाई बनाउनु भएको होइन। तपाई ईश्वरको इच्छाले होइन आफ्नो स्वतन्त्र रोजाइले जीवनको चक्रमा रामिरहनु भएको छ। सुन्दर जीवन जिउनु भएको छ। सुन्दर जीवन अनुभूतिको सोपानमा लट्ठ हुनुहुन्छ। तपाई तपाइको चैतन्य को प्रकट हुने इच्छा अनुरूप प्रकट हुने चक्रीय इनर्जी साइक्लिङ यात्रा रुपी जीवनको खेलमा प्राकृतिक नियम सङ्गत उत्रनु भएको हो।
आफ्नै स्वतन्त्र इच्छामा खेल मैदानमा उत्रनु भएको तपाइ अब खेलको नियम पालन गरी आफ्नो चक्रीय जीवनको यात्रा तपाइले नै पुरा गर्नु पर्दछ। वेदका अनुरूप तपाइको चैतन्यले सगुण र निर्गुण देव र ईश्वरको तपाइको अनुभूतिमा निर्माण गरिरहेको छ। तपाइ कुनै पर्दा भित्र लुकेर यथार्थ संसार चियाउने समेत चेष्टा नगरी तपाइको स्वतन्त्र इच्छा अनुरूप तपाइको जीवन र ब्रह्माण्ड बारे आफ्नो अनुभूतिमा आफ्नो संसार निर्माण गरिरहनु भएको छ। सायद यथार्थ बोधले तपाइलाई झन् उत्कृष्ट तपाईँ बन्ने अवसर दिन सक्ला। अनुभवले अनुभूति लिने र जीवनको नजर्रिया परिवर्तन हुने यात्रामा कोही छिटै कोही अलि ढिलो जीवनको अन्तिम लक्षमा पुग्ने गरी नै यो सांसारिक नियम तय भएको छ।
वेदको अनुसार एक स्वतन्त्र अस्तित्व लिएर जन्मेको व्यक्तिले जीवनमा भोग्ने सबै भन्दा ठुलो सजाय भनेको उसको पुनर्जन्म हो। पुनर्जन्ममा उसले प्राप्त गर्न सक्ने चेतनाको स्तर हो। अहिंसा युक्त करुणामय प्रकृति मैत्री कर्म यज्ञको खुबी हो। जसले एकै वातावरण बिच एकै व्यक्तिले फरक फरक अनुभूति लिएर दुखी वा सुखी बन्ने अवसर प्राप्त गर्दछ। त्यसलाई उसमा विकसित स्वीकार्यता वा अस्वीकार्यताले आफूले आफूलाई सफल वा असफल अनुभूति गरिदिने व्यवहारिक उपलब्धिको कसीमा तौलने बानीमा उसलाई लपेटी दिन्छ। फलतः ऊ एट्याचमेन्ट वा डिट्याचमेन्टको साइकलमा घचेटिन पुग्छ। जीवनमा फेरी सत् ज्ञान भन्दा अलि परको व्यवहारिक दुनियाँको पर्दा भित्र व्यक्ति लाई त्यसैले पुनः कैद गरिदिन्छ।
ईश्वर सर्वत्र हुनुहुन्छ। जब व्यक्तिले सर्वत्र ईश्वरको अनुभूति गर्दछ उसले सर्वत्र वाट नै गहिरो ज्ञान प्राप्ति गर्ने अवसरको फाइदा उठाउन सक्दछ। त्यही यथार्थ बोधलाई वेदले स्वीकारेको छ।
त्यसैले बुद्ध हुन्, कृष्ण हुन् वा मर्यादा पुरुषोत्तम भगवान् रामको नियतको वास हरेक कण कणमा भेटिन्छ। तर निर्जीव मा भन्दा सजीवमा, सजीव मध्येका जनावरमा भन्दा मानवमा चैतन्यको अधिक प्रष्टताको कारण हामी मानवीयता बारे अधिक सचेत हुने गर्दछौ। ईश्वरको खोजीमा आफूलाई सबैभन्दा सहज हुने सर्वत्र नजिक रहने आफै भित्रको ईश्वरको अनुभूतिमा आफूलाई लगाउनु सबै भन्दा उत्तम रहेको विश्वास गर्दछौ।