प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-04-01

अथर्ववेदाचार्य घिमिरेको गर्भोपनिषद् अनलाइनमा उपलब्ध।

गर्भोपनिषदमा मानव जीवनको उत्पत्ति, विकास र आध्यात्मिकताका गहिरा तथ्यहरू उल्लेख भएको छ। वेदको १०८ उपनिषद्हरूमध्ये आधुनिक सङ्ग्रह अन्तर्गत १७औँ स्थानमा गर्भोपनिषद सूची बद्ध भेटिन्छ। केही विद्वानहरूले यसलाई कृष्ण यजुर्वेदसँग सम्बन्धित मान्दछन् भने अरूले अथर्ववेद सँग यसलाई जोडेर हेर्ने गर्दछन्। सामान्य उपनिषद्को श्रेणीमा राखिने  गर्भोपनिषदको अन्तिम श्लोकले ऋषि पिप्पलाद लाई यसको रचयिताको रूपमा उल्लेख गर्दछ।  तर यसको रचना काल र मूल लेखक अज्ञात नै ठानिन्छ। उपलब्ध पाण्डुलिपिहरू अपूर्ण, क्षतिग्रस्त र असङ्गत भेटिएकाले यसको अध्ययन चुनौतीपूर्ण बनेको छ।

तै पनि उपलब्ध पाण्डुलिपिहरूका आधारमा क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत वैज्ञानिक तथा विद्यावारिधि अथर्ववेदाचार्य नारायण घिमिरेले क्रियोल नेपाली भाषामा गर्भोपनिषत् कीर्ति तैयार गरेका छन्। खाद्य तथा औषधि वैज्ञानिक घिमिरेको गर्भोपनिषत् क्यानेडियन वैदिक हेरिटेजले हालै प्रकाशित गरी त्यसको ई - कपि निःशुल्क सबैको लागि अनलाइनमा  उपलब्ध गराएको छ। 

गर्भोपनिषद्ले मानव शरीरलाई पञ्चतत्व — पृथ्वी, जल, अग्नि, वायु, र आकाशबाट निर्मित रहेको सिद्धान्त प्रस्तुत गर्दछ। जस अनुरूप पृथ्वीले शरीरका कडा अङ्गहरू (हड्डी, नङ), जलले तरल पदार्थ (रक्त, र्‍याल), अग्निले पाचन शक्ति र ताप, वायुले श्वासप्रश्वास र गति, तथा आकाशले शरीर भित्रको खाली स्थान (नाक, कान आदिको प्वाल समेत) लाई जनाउने गर्दछ। पञ्चतत्व तत्वहरूको सन्तुलनले शरीरलाई स्थिरता, पोषण र क्रियाशीलता दिन्छ। गर्भ उपनिषद नाम अनुसार नै गर्भधारण बारे बोल्दछ। गर्भधारणको प्रक्रिया लाई पुरुषको शुक्र (वीर्य) र स्त्रीको रज (अण्डकोष) को मिलनबाट सुरु हुने प्रस्ट गर्दछ। गर्भको पहिलो दिनमा यो  सानो गाँठो (Fertilized  Cells) को रूपमा विकसित हुन्छ। नौ महिनासम्म क्रमिक रूपमा अङ्गहरू बन्ने प्रक्रिया चल्दछ। पहिलो महिनामा हृदय, दोस्रोमा मस्तिष्क, तेस्रोमा हात खुट्टा र अन्तिम चरणमा कपाल, नङ, र इन्द्रियहरू पूर्ण हुने जस्ता कुरा यसमा उल्लेख छ।

गर्भ उपनिषद्मा जन्मजात शिशुको लिङ्ग निर्धारणको विशिष्ट सिद्धान्त लेखिएको छ। यदि पुरुषको शुक्र बलियो छ भने (XY) छोरा, स्त्रीको रज बलियो छ भने (XX) छोरी, र दुवै बराबर भए (XX-YY) उभयलिंगी शिशु जन्मिन्छ। शिशुको जन्म दोषहरू आमाबाबुको मानसिक अशान्ति, तनाव वा अशुभ कर्मसँग समेत जोडिएको हुने व्याख्या भेटिन्छ। जुन आधुनिक मनोवैज्ञानिक सिद्धान्तसँग परीक्षण गर्न सकिएको हदमा अधिक रूपमा मेल खान्छ। आठौँ महिनामा भ्रूणले आफ्नो पूर्व जन्मको स्मृति पुनः प्राप्त गर्छ भन्ने विश्वास छ। यस अवस्थामा भ्रूणले "ॐ" को ध्यान गरेर शुभ-अशुभको विवेक प्राप्त गर्छ भनिएको छ। जन्मपछि पनि यो ज्ञान अवचेतन मनमा स्थिर रहन्छ। उक्त विचार आत्माको अमरत्व र पुनर्जन्मको सिद्धान्तसँग जोडिएको भेटिन्छ।

गर्भोपनिषद्मा शरीरका सात धातुहरू— खाद्य रस , रक्त (प्लाज्मा), मांस, मेद (चिल्लो), अस्थि, मज्जा (मासी) र शुक्र हुन्। तीन मलहरूमा पसिना, मल र मूत्र पर्दछ। सात धातुहरू शरीरको रङ्ग, बनावट र स्वास्थ्यलाई प्रभावित गर्ने गर्दछन्। उदाहरणका लागि, रक्तको गुणस्तरले रङ्ग र चमक निर्धारण गर्छ। 

गर्भोपनिषद्मले शारीरिक विज्ञानलाई आध्यात्मिक दर्शनसँग जोडेर जीवनको नश्वरताको बोध गराउँछ। यसले मानव जीवनको सीमिततालाई स्वीकार गरी मोक्ष (मुक्ति) प्राप्तिको महत्त्व बताउँछ। प्राचीन ऋषिहरूले आधुनिक प्रविधि वा अनुसन्धान बिना नै यस्तो गहन ज्ञान कसरी प्राप्त गरे, भन्ने कुरा निकै चाखलाग्दो देखिन्छ। यसले हाम्रो शरीर र आत्माको सम्बन्धबारे गहिरो चिन्तन प्रेरित गर्छ र प्रकृतिको जटिलतामा विश्वास जगाउँछ।

गर्भोपनिषद्को अध्ययनले प्राचीन वैदिक ऋषिहरूको वैज्ञानिक दृष्टिकोण र दार्शनिक गहिराइको प्रमाण दिन्छ। जुन आज पनि मानव जातिको लागि प्रासङ्गिक छ। नेपाली भाषी पाठकको लागि क्रियोल नेपाली भाषामा गर्भोपनिषद्  ग्रन्थको वैज्ञानिक घिमिरेले तैयार गर्नु भएको भावार्थ र त्यसको व्याख्याले वैदिक उपनिषदमा रहेको आध्यात्मिक ज्ञान र विज्ञानको समन्वय रहेको तथ्य बारे पाठक लाई सुसूचित गराउने छ। यसले यसको पाठकलाई आफ्नो जीवनको गहिरो अर्थ बुझ्न सहयोग पुग्ने छ। यस कृतिले नेपाली भाषी पाठकलाई प्रकृति र मानवीय अस्तित्वको अद्वितीय सम्बन्ध बारे राम्ररी बुझ्न र आफ्नो आत्माको शक्ति पहिचान गर्न र शान्ति अनुभव गर्न मद्दत पुर्‍याउने छ।