प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
ब्रह्म सूत्रले हामीलाई चुरा आध्यात्मिक कुराहरू बुझ्न मद्दत गर्छ। यसले वेद र उपनिषादका शिक्षा लाई सरलीकृत गर्दछ। ब्रह्मसूत्रमा वेद र उपनिषादका अल्झिएको जस्तो देखिने पक्षको चुरो पक्ष प्रस्ट गर्ने प्रयास भएको छ। ज्ञानी ऋषि बादरायणले अल्झिएको जस्तो देखिने कुराहरूलाई सजिलो तरिकामा एकताबद्ध गर्न ब्रह्मसूत्र लेखे। जसले हामीलाई भगवान् के हो भनेर बुझ्न मद्दत गर्छ र संसारमा सबै कुरा हरू आपसमा कसरी जोडिएका छन् भन्ने प्रस्ट गर्दछ।
ब्रह्मसूत्रमा चार भाग छन्:
पहिलो भागले वेद र उपनिषद कसरी एकै सत्यताको बारेमा कुरा गर्छन् भन्ने बताउँछ।
दोस्रो भागले यी विद्या प्राप्तिको लागि व्यवहारिक प्रश्नहरूको जवाफ दिन्छ र भ्रमहरू हटाउँछ।
तेस्रो भाग वाट परम सत्य कसरी अनुभूति गर्ने त्यो सिक्न सक्छौँ र उपाय को समेत गायन लिन सकिन्छ।
अन्तिम भागले भगवान् र परम सत्यको अनुभूति पछि हामीले पाउने खुसी र शान्तिको बारेमा कुरा गर्छ।
धेरै ज्ञानी र ऋषिहरूले ब्रह्म सूत्रलाई आफ्नै तरिकाले व्याख्या गरेका छन्, तर सबैको एकमत छ कि ब्रह्म सूत्रले प्रेम र शान्तिको मूल पक्ष पहिचान गर्न मद्दत गर्छ। ब्रह्मसूत्र बुझ्नाले हामी नजान्नेबाट जान्ने, अँध्याराबाट उज्यालो, र दुःखबाट सुखतिर जान सक्ने अवसर दिन्छ। त्यस्तो अवसर जसले हामी आफूलाई आफूलाई हिजोको कम ज्ञानी आफू वाट झन् ज्ञानी र सुधारिएको आफूमा रूपान्तरण गर्न सक्दछौ। यस्तो उज्ज्वल आध्यात्मिक यात्राको लागि हामीलाई मार्गदर्शक गर्ने ब्रह्मसूत्र हामीलाई उपलब्ध हाल सम्मको सबैभन्दा उत्तम अन्तिम ससत्व सत्य बुझ्न मद्दत गर्ने सनातन वैदिक दर्शन हो।
आध्यात्मिक सचेतनाको महासागरमा डुबुल्की मार्न ब्रह्मसूत्रको ज्ञान बिना सम्भव हुदैन। मानवताका लागि अमूल्य उपहारका रूपमा प्राप्त भएका भगवानको वाणी मानिने वेदहरू र उपनिषद्हरू अद्भुत ज्ञानको खजानाले भरिएको छ। वेदहरू र उपनिषद्हरूमा रहेका ज्ञानहरू यति भेग र विशाल छ कि त्यसलाई सहज ढंगले बुझ्न र बुझिएको पक्ष जीवनको जीविका भित्र सम्हाल्न एक संक्षिप्त र संगठित मार्ग दर्शनको आवश्यकता पर्दछ।
उपनिषद्हरूमा उल्लेख भएको कतिपय पक्षहरु फरक फरक सन्दर्भमा आएको परिप्रेक्षमा तिनीहरुको अध्ययन गर्ने क्रममा निकै धेरै स्थान हरुमा आपसी विरोधाभास रहेका कुराहरु रहेको अनुभूति हुन्छ। कतिपय तथ्य वारे एउटा उपनिषद्मा एउटा कुरा भनिएको तर अर्कोमा फरक रुपमा अर्थ निस्कने अबस्था त्यहाँ रहेको छ। फरक फरक सन्दर्भका त्यस्ता विरोधाभासहरू चुरोमा के कुरामा केन्द्रित रहेका छन् भन्ने पक्षको समाधान गर्ने प्रयोजनमा ऋषि बादरायणले ब्रह्मसूत्रको रचना गरे। ब्रह्मज्ञान रुपी प्रकाश दिएर उपनिषद्हरूका विरोधाभासहरूलाई एउटै सूत्रमा समावेस गर्ने उदेश्यले तनहुँ दमौलीको व्यास गुफा र देवघाट क्षेत्रमा विचरण गर्ने ऋषि बादरायणले (वेदव्यास) तयार गरेको ब्रह्मसूत्र नेपाली भूमिमा संकलित र सम्पादित भएको वैदिक दर्शनहरुको सन्देशको चुरो संगालोको रुपको आजको महत्वपूर्ण ग्रन्थ बन्न गएको छ। संसारकै उच्चतम दार्शनिक चिन्तनमध्ये एक मानिने ब्रह्मसूत्रले वेदान्त दर्शनको चुरो सार हो जसले सनातन दर्शनमा वेदान्तलाई सबैभन्दा श्रेष्ठ स्थान दिलाउन सफलता दिलाएको छ।
ब्रह्मसूत्रमा रहेको संदेश हरुको गहिराहीमा चुर्लुम्म डुब्न भने वेद र उपनिषद्हरूको ज्ञानको गहिराइमा पुग्नु अनिवार्य हुन्छ। वेदहरू अपौरुषेय अर्थात् कुनै एक मानव द्वारा निर्मित होइनन्। यो सामुहिक चेतनाको निर्माण हो। सनातन धर्म, संस्कृति र दर्शनका मूल स्रोतको रुपमा रहेको वैदिक कालिन सर्व स्वीकार्य बनेको चिन्तन हो। त्यसैले पुराणहरूमा यसलाई ब्रह्माजीको मुखबाट निस्केका वाणी भनी उल्लेख गरिएको छ। जुन दार्शनिक दृष्टिले सामुहिक चेतनाको अनुभूति मार्फत स्वयंसिद्ध बनेका प्रमाणका रुपमा स्थापित भए। जसको तत्कालिन समय क्रममा समेत गणितका सूत्रहरू मार्फत सत्यता सिद्ध गर्न सम्भव बन्यो।
वेदहरूको संरचना दुई भागमा विभाजित छ। मन्त्रको भाग र ब्राह्मण भाग। मन्त्र भागमा देवता हरुले गर्ने उपासनाका मन्त्रहरू छन्। ब्राह्मण भागमा यज्ञ र कर्मकाण्डका विधिहरू उल्लेख छन्। ब्राह्मण ग्रन्थहरूको अन्त्यमा ऋषिहरूले केही प्रश्नहरु उठाएका छन्। ति प्रस्न हरुमा "हामी कुन देवतालाई आफ्नो प्रार्थना अर्पण गर्ने?" जस्ता अनगिन्ति जिज्ञासा रहेका प्रश्नहरू छ। जसको उत्तर उपनिषद्हरूमा समेटि जिज्ञाशाहरु शान्त गर्ने प्रयास भएको छ।
उपनिषद्हरूमा एक अद्वितीय आध्यात्मिक ऊर्जा भेटिन्छ। जसले मानवतालाई अज्ञानबाट मुक्ति दिन सक्छ। त्यसैले तिनीहरुलाई ज्ञानका भण्डार भनिएको हो। नेपाल कै गुल्मी - अर्घाखाची क्षेत्रमा विचरण गरि हिड्ने बिध्वान पाणिनिले उपनिषद् शब्दको सटिक व्याख्या जुराएका छन्। पाणिनिको अनुसार तीन रूप: तृष्णाको नाश, ब्रह्मतर्फको गति र खोजीको प्राप्ति। यी तीनै उद्देश्यहरू जीवनको शाश्वत शान्ति र सफलताका लागि महत्वपूर्ण ठानिन्छ।
सनातन धर्मी, आर्य समाजी र वैदिक धर्म मान्नेहरूले देवताको आह्वान गर्नका लागि वेदका मन्त्रहरूको प्रयोग गर्छन्। जहाँ हरेक कर्मलाई प्रकृति मैत्री रहेर त्यसको उद्देश्य प्राप्ति गर्ने विधि, पद्धति र प्रविधि पहिचान गर्नु लाई वेदले देवताको आह्वान गर्नु वा सो बारेको ज्ञान प्राप्त गर्नु भन्दछ। जहाँ देवताले त्यसको लागि जरुरी हुने ऊर्जाको श्रोत लाई जनाउने गर्दछ। देवताको आह्वान पछि तिनीहरूको पूजा गर्ने विधि पनि आवश्यक हुन्छ, जुन ब्राह्मण ग्रन्थहरूमा दिइएको छ।कुनै पनि कार्यलाई प्रकृति मैत्री रहेर त्यसको उद्देश्य प्राप्ति गर्न सम्भव हुने पहिचान भएको सबै भन्दा उत्कृष्ट तरिकालाई वेदले पूजा विधि भन्ने गरेको छ। वैदिक ज्ञान अनुरूप पहिचान भएका उत्कृष्ट तरिकालाई पुस्तौँ पुस्ता हस्तान्तरण गर्न तिनीहरू लाई साङ्केतिक रूपमा प्रस्ट गर्न विभिन्न कर्मकाण्डहरू उल्लेख भएका छन्। ब्राह्मण ग्रन्थहरू अन्तर्गत पर्ने गोपथ ब्राह्मण, शतपथ ब्राह्मण र ताण्ड्य ब्राह्मण जस्ता ग्रन्थहरूमा त्यस्ता कर्मकाण्डहरूको विस्तृत वर्णन भएको छ। यी ग्रन्थहरूमा देवताको आह्वानका लागि जरुरी हुने आसन बनाउनेदेखि सबै विधिहरू उल्लेख भएको छ। जसले मानव दैनिक जीवनमा पर्ने फरक फरक व्यवहारिक पक्षको साङ्केतिक रूपमा उपायहरू दिने गर्दछ। प्रत्येक प्राकृतिक रूपमा उपलब्ध शक्ति अर्थात् देवताको गुण र त्यसको उपयोगको लागि जरुरत पर्ने विधि अनुरूप तिनीहरूको छुट्टाछुट्टै आसन बनाइन्छ ताकि तिनीहरूको सम्भव रहेसम्म प्रभावकारी उपयोग गर्न सकियोस्।
ब्राह्मण ग्रन्थहरूमा कर्मकाण्ड र उपासना समेतको वर्णन गरिएको छ।उपासना भन्नाले प्राकृतिक शक्ति भगवानको समीप बस्ने वा निकै गहिरो संग एकाग्रता लिएर अनुसन्धान अर्थात् ध्यान गरी त्यसको मूल जरुरतको रूप र विधिको पहिचान वा आराधना गर्ने गहिरो आध्यात्मिक प्रक्रिया हो।भगवानको आसन निश्चित गरी त्यसको पूजा साधक लाई आफ्नो मनलाई एकाग्र, अनुशासित र भक्ति भाव युक्त (विषय बस्तुमा पुरा केन्द्रित गरी त्यसले दिने नतिजाले आफ्नो उद्देश्य प्राप्तिमा सहयोग गर्ने पूर्ण विश्वास सहित) बनाउने गर्दछ। जसले पूजा–उपासनाको उद्देश्य (चाहे लौकिक होस् या पारलौकिक) प्राप्तिमा प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेलिदिन्छ।
ब्राह्मण ग्रन्थहरूमा ती कुराहरूमा व्यवहारिक रूपमा लागु गर्ने विषयमा प्रष्टता ल्याउन अन्त्यका भागहरूमा ऋषिहरूले केही प्रश्न र जिज्ञासाहरू समेत उठाएका छन्। जस्तै उनीहरूले त्यहाँ सोधेका छन् कि हामी कुन देवतालाई प्रार्थना अर्पण गरौँ? ती भाग हरूलाई अन्तिम भाग उपनिषद् भन्ने गरिन्छ। उपनिषद्हरू ज्ञानका भण्डार हुन्। मानिस जहाँसम्म सोच्न सक्छ, उसको बुद्धि जहाँसम्म पुग्न सक्छ, त्यो सबै उपनिषद्हरूमा छ। त्यसैले भन्ने गरिन्छ कि उपनिषद्हरू जति गहिरो आध्यात्मिक ज्ञान संसारमा अन्य कतै भेटिँदैन। उपनिषद्माले मानव चिन्तनको अन्तिम सीमा तोकिदिएको छ । त्यो भन्दा पछाडि मानव चिन्तन पुग्न सक्दैन। त्यो भन्दा पछाडिको चिन्तनमा पुगेको मानिस मानिस रहँदैन। स्वयं ब्रह्ममा लिन बनी सक्दछ।
उपनिषद्हरू बुझ्नका लागि तिनको उत्पत्ति र अर्थ बुझ्नुपर्छ। पाणिनिको अनुसार उपनिषद् शब्दको उत्पत्ति ‘सद्’ धातुबाट भएको हो, जसका तीन अर्थ छन्। तृष्णाको नाश, ब्रह्मतर्फको गति र अवसादको (आशक्ति वा लगावका कारण हुने दुख, दर्द आदिको) निवारण अर्थात् उद्देश्य प्राप्ति तर्फको यात्रामा पूर्ण बिराम को अवस्था। अर्थात् जीवन जीवित रहनुको उद्देश्य प्राप्ति। जसमा तृष्णाको नाशको अर्थ हाम्रा श्रवण र दृश्य इन्द्रियबाट उत्पन्न हुने तृष्णाको नाश गर्नु हुन्छ। तृष्णा नै सबै दुःखको कारण हुने हुँदा तृष्णाको बीउ लाई अविद्या भनिन्छ। जुन विज्ञान समेत हो। उपनिषद्हरूले अविद्या / विज्ञानको चरण वाट गुज्रिएर विद्याको चरण तर्फ पुग्न अविद्याको चरणमा व्यक्तिलाई सीमित गर्ने दायराको नाश गरिदिन्छन्। ब्रह्मतर्फको गति अर्थात् यात्राको अर्थ उपनिषद्हरूले हामीलाई ब्रह्मतर्फ जान प्रेरणा दिन्छ भनिएको हो। अवसादको निवारणको अर्थ उपनिषद्हरूले हाम्रो जीवनका सबै दुःख, दर्द र त्यसको श्रोत विषय बस्तु सँगको आशक्ति वा लगाव लाई हटाउन ज्ञान उपलब्ध गराएर सहयोग गर्दछ भनिएको हो।
ब्रह्म सूत्र बुझ्नका लागि हरेक व्यक्तिले ११ उपनिषद्हरूको प्रमाणिक ज्ञान बारे आफूलाई शिक्षित गर्न जरुरत पर्दछ। ती ११ उपनिषद्हरू ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डूक्य, ऐतरेय, तैत्तिरीय, छान्दोग्य, बृहदारण्यक र श्वेताश्वतर हुन्। यीमध्ये छान्दोग्य र बृहदारण्यक उपनिषद् धेरै ठुलो छ। बृहदारण्यक उपनिषदको तीन सूत्रमा सबै दार्शनिक ग्रन्थहरूको भाव भेटिने ठानिन्छ। बृहदारण्यक उपनिषदको त्यो तीन सूत्रमा असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, र मृत्योर्मा अमृतं गमय हुन्। ११ उपनिषद्हरू बिच फरक फरक ठाउँमा देखिएको विरोधाभास हरूलाई प्रस्ट गर्न सबै उपनिषद्हरूको अध्ययन गरेर ऋषि बादरायणले विरोधाभास भएका सूत्रहरू बिचको विरोधाभासहरूलाई मात्र ब्रह्म ज्ञानद्वारा समाधान गरेर एउटै सूत्रमा जोडेकोले ब्रह्म सूत्रमा सबै उपनिषद्हरूका सूत्र छैनन्, केवल विरोधाभास भएका सूत्रहरू मात्र व्याख्या गरी समावेश भएका छन्।
ब्रह्मसूत्रको पहिलो अध्यायको नाम समन्वय अध्याय हो। समन्वय अध्यायमा उपनिषद्हरूका सबै विरोधाभासहरू हटाएर एउटै सूत्रमा बाँधिएको छ। यस अध्यायमा ब्रह्मको स्वरूप वर्णन गरिएको छ। दोस्रो अध्यायको नाम विरोध अध्याय हो, जसमा विरोधाभासहरू हटाइएको छ। तेस्रो अध्यायको नाम साधन अध्याय हो, जसमा ब्रह्म ज्ञान प्राप्त गर्ने विभिन्न साधनहरूको वर्णन छ। चौथो अध्यायको नाम फल अध्याय हो, जसमा ब्रह्म ज्ञानको फलको वर्णन छ।
ब्रह्म सूत्र लाई ब्रह्म ज्ञानको सबैभन्दा ठुलो आधार मानिन्छ। वेदान्तीहरूको मान्यता अनुसार जो आचार्यले ब्रह्मसूत्रको भाष्यको मर्म जान्दैन वा व्यवहारमा उतार्न सक्दैन ऊ आचार्य कहलिनु हुँदैन। जो आचार्यले ब्रह्म सूत्रमा भाष्य लेख्न सक्दैन, ऊ आचार्य पदवी ग्रहण गर्न योग्य समेत मानिनु हुँदैन। यहाँ ब्रह्म सूत्रमा भाष्य लेख्नु भन्नाले यसको संक्षिप्त र गूढ अर्थलाई विस्तारपूर्वक व्याख्या गर्ने, दार्शनिक विचारहरू प्रस्तुत गर्ने र विभिन्न वैदिक सिद्धान्तहरूसँग समन्वय स्थापित गर्ने कार्य गर्ने क्षमता हो। जस्तै शङ्कराचार्य, रामानुजाचार्य, मध्वाचार्य, निम्बार्काचार्य, वल्लभाचार्य, चैतन्य महाप्रभु सबैले ब्रह्म सूत्रमा भाष्य लेखेका छन्। सनातन परम्परामा प्रत्येक भाष्यकारले आफ्नो वैदिक सम्प्रदाय (जस्तै अद्वैत, विशिष्टाद्वैत, द्वैत) अनुसार ब्रह्मसूत्रको व्याख्या गरेका उदाहरण भेटिन्छ।
शङ्कराचार्यले अद्वैत वेदान्तको सिद्धान्त अनुसार "ब्रह्म सत्यं जगन्मिथ्या" भन्ने मत राखे। रामानुजाचार्यले विशिष्टाद्वैत दर्शनको आधारमा भाष्य लेखे। मध्वाचार्यले ब्रह्म-जीव भिन्नताको बारेको द्वैत सिद्धान्तको बारे भाष्य लेखे। निम्बार्काचार्यले ब्रह्म र जीव/जगत् बिच अद्वितीय भिन्नता–एकता दिने द्वैताद्वैत लेखे। वल्लभाचार्यले जगत् सत्य, ब्रह्मकै स्वरूप; प्रेम–भक्ति मुख्य भन्ने शुद्धाद्वैत लेखे। चैतन्य महाप्रभुले भगवान्, जीव, जगत् बिच अचिन्त्य भिन्नता–एकता; प्रेम–भक्ति सर्वोच्च आदि वारेको अचिन्त्य भेदाभेदको दर्शन दिए। उल्लेखित सबै आचार्यका भाष्य र दर्शनहरूले ब्रह्मसूत्रको अर्थलाई भिन्न–भिन्न कोणबाट व्याख्या गरेका छन् तर सबैले भक्ति–मार्गलाई विशेष महत्त्व दिएका छन्। आफूलाई ब्रह्म सूत्रमा भाष्य लेख्न सक्ने आचार्यको रूपमा स्थापित गर्न सफल भएका छन्।
ब्रह्म सूत्र पढ्दा अज्ञानको नाश हुन्छ, ब्रह्मतर्फ गति बढ्छ, सबै दुःखको निवारण हुन्छ। उपनिषद्, गीता र ब्रह्म सूत्र लाई ब्रह्म सूत्र प्रस्थानत्रयीको एक अङ्ग मानिन्छ। उपनिषद् ज्ञानको भण्डार हो। गीता उपनिषद्को सार हो। ब्रह्म सूत्र ब्रह्म ज्ञानको अन्तिम आधार हो। ब्रह्म सूत्रमा उपनिषद्हरूको सम्पूर्ण ज्ञान समेटिएकोले शङ्कराचार्यका अनुयायीहरू जो व्यक्तिले ब्रह्मसूत्रको अध्ययन गर्दैन र भाष्य लेख्दैन, उसलाई आचार्य भनेर प्रमाणित गर्दा आत्माको पतन हुने विश्वासमा रहेको भेटिन्छ।
ब्रह्मसूत्रमा भाष्य लेख्ने सबै आचार्यहरूमध्ये शङ्कराचार्यको भाष्य सबैभन्दा उत्कृष्ट ठानिन्छ। शङ्कराचार्यको भाष्यमा सबैभन्दा बढी तर्क रहेकोले यसलाई उत्कृष्ट मानिएको हो। ब्रह्मसूत्रमा चार अध्याय छन्। जसमा हरेक अध्यायलाई पादमा विभाजन गरिएको छ। त्यसमा पहिलो अध्यायको पहिलो पादका चार सूत्र सबैभन्दा महत्त्वपूर्ण ठानिन्छ। यी सूत्र नबुझी वेदान्त बुझ्न गाह्रो हुने विश्वास गरिन्छ। शङ्कराचार्यले ती सूत्रलाई चतुस्सूत्री भने। शङ्कराचार्यको "चतुस्सूत्री" भन्नाले ब्रह्मसूत्रका चार अध्यायमा उनले प्रस्तुत गरेको अद्वैत दर्शनको व्यवस्थित व्याख्या हो। जसमा उनले सत्य, असत्य र मिथ्याको परिभाषा जुराएका छन्। उनका अनुसार सत्य त्यो हो, जुन तीन समय वा काल अनुरूप अपरिवर्तित रहन्छ। असत्य त्यो हो, जुन कहिल्यै अस्तित्वमा थिएन। तर मिथ्या त्यो हो, जुन अस्तित्वमा त छ, तर समय वा काल अनुरूप परिवर्तनशील रहन्छ। जगत परिवर्तनशील रहेकोले शङ्कराचार्यले जगतलाइ मिथ्या भने। उनका अनुसार जगतको आधार ब्रह्म हो। हामी अज्ञानका कारण यसलाई फरक–फरक नाम र रूपमा देख्छौँ।
शङ्कराचार्यले ब्रह्मसूत्रको भाष्यलाई "शारीरिक भाष्य" भनिन्छ। ब्रह्मसूत्रका चार अध्याय (चतुस्सूत्री) मा आधारित उक्त भाष्यमा शङ्कराचार्यको अद्वैत वेदान्तको दृष्टिकोणबाट गहन व्याख्या भेटिन्छ। पहिलो अध्याय, समन्वय अध्याय (सामंजस्य) हो। त्यसमा उनले वेदान्तका वाक्यहरू, विशेष गरी उपनिषद्का वचनहरू, बिच एकरूपता प्रमाणित गर्दै "जन्मादि यतः" (ब्रह्मसूत्र १.१.२) भन्ने माध्यमबाट ब्रह्म नै सृष्टिको मूल कारण हो भन्ने सिद्धान्त प्रस्तुत गरेका छन्। यसै अध्यायमा "तत्तु समन्वयात्" (ब्रह्मसूत्र १.१.४) भनेर उपनिषद्हरूले ब्रह्मको एकै अर्थ स्पष्ट गरेको बताएका छन्, जहाँ ब्रह्म निर्गुण, निराकार र सर्वव्यापी छ।
दोस्रो अध्याय, अविरोध अध्याय (खण्डन), मा शङ्कराचार्यले सांख्य, योग, बौद्ध जस्ता अन्य दार्शनिक मतहरूको खण्डन गरेका छन्। उनले सांख्य दर्शनको प्रकृति–पुरुष सिद्धान्तलाई असत्य ठहर गर्दै ब्रह्म बाहेक कुनै स्वतन्त्र सत्ता नभएको सिद्धान्त प्रतिपादन गरे। साथै, बौद्धहरूको शून्यवादलाई "अस्तित्वहीनताको सिद्धान्त" भनेर खारेज गर्दै जगत् ब्रह्मको मायिक अभिव्यक्ति मात्र हो, वास्तविक होइन (विवर्तवाद) भन्ने अद्वैत सिद्धान्तलाई मजबुत बनाए।
तेस्रो अध्याय, साधन अध्याय (उपाय), मा मोक्ष प्राप्तिका साधनहरू विस्तृत रूपमा वर्णन गरिएको छ। शङ्कराचार्यको मत अनुसार, ब्रह्मको सत्य ज्ञान नै मुक्तिको मुख्य साधन हो। उनले साधन चतुष्टय—विवेक (सत्य–असत्यको विवेचना), वैराग्य (संसारबाट अनासक्ति), षट्सम्पत्ति (शम, दम, उपरति, तितिक्षा, श्रद्धा, समाधान), र मुमुक्षुत्व (मुक्तिको तीव्र इच्छा)—लाई मोक्ष प्राप्तिको आवश्यक चरण बताएका छन्।
चौथो अध्याय, फल अध्याय (परिणाम), मा मोक्षको स्वरूप र त्यसको प्राप्तिको विवेचन गरिएको छ। यस अनुसार, मुक्ति भनेको ब्रह्म साक्षात्कार हो, जहाँ जीवात्मा र ब्रह्म एकताबद्ध हुन्छन्। यस अवस्थामा पुगेपछि संसारको बन्धन र पुनर्जन्म नष्ट हुन्छ। मुण्डक उपनिषद्को उद्धरण "तत्र को मोहः कः शोकः" अनुसार, ब्रह्म ज्ञानीले मोह र शोकलाई पार गर्छ।
शङ्कराचार्यको यी चारै अध्यायहरूले अद्वैत वेदान्तको "ब्रह्म सत्यं जगन्मिथ्या" (ब्रह्म मात्र सत्य, जगत् मिथ्या) भन्ने मूल सिद्धान्तलाई दार्शनिक र शास्त्रीय आधार प्रदान गरेका छन्। उनको यो "चतुस्सूत्री" भाष्यले निर्गुण ब्रह्म र मायाको सिद्धान्तलाई केन्द्रमा राखी अद्वैत दर्शनको व्यवस्थित व्याख्या गरेको छ, जसले गर्दा यसले सनातन हिन्दु दर्शनमा अमूल्य योगदान दिएको विश्वास गरिन्छ।
सारांशमा ब्रह्मसूत्र हाम्रो आध्यात्मिक यात्राको एउटा सुनौला मार्गको द्वार हो। यसले हामीलाई अज्ञानबाट ज्ञानतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमृततर्फ लैजान्छ। ब्रह्मसूत्र ज्ञानको सागरमा डुबुल्की मार्न सक्दा व्यक्तिले मुक्तिको पावन मार्ग उन्मुख ज्ञानको प्राप्ति गर्ने छ।
- नारायण नारायण नारायण।