सोमसूत्रको स्पष्ट र संक्षिप्त व्याख्या

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-06-21

सोमसूत्रको स्पष्ट र संक्षिप्त व्याख्या

सोमसूत्रको मूल श्लोक:

अर्द्ध सोमसूत्रांतमित्यर्थः शिव प्रदक्षिणीकुर्वन सोमसूत्र न लंघयेत्। इति वाचनान्तरात्।

सोमसूत्रको सरल अर्थ:

शिवलिंगको परिक्रमा गर्दा सोमसूत्र (विशेष रेखा) लाङ्घन नगरी अर्धचन्द्राकारमा परिक्रमा गर्नुपर्छ। यसरी गर्दा शास्त्रको निर्देश पालन हुन्छ।

सोमसूत्रको महत्त्व र प्रयोग

व्यावहारिक रूपमा सोमसूत्र (विशेष रेखा) अनुसार शिवलिंगमा जल र दूध चढाउँदा त्यसको निर्मलीकरण हुन्छ र गङ्गा नदीको रूपमा बाहिर वग्छ भनेर समाजमा भन्ने गरिन्छ। यसरी निस्कने धारा (सोमसूत्र) लाई ननाग्ने गरी, चित्रमा देखाइएझैं अर्धचन्द्राकार परिक्रमा गर्नुपर्छ। सोमसूत्रले मानिसहरूलाई मनोवैज्ञानिक सुविधा दिन्छ, सवल संज्ञानात्मक सन्तान पैदा गर्न मद्दत गर्छ, र बीर्य र डिम्बको शक्ति बढाउन सहयोग गर्छ। यो ज्ञान र शक्तिको प्रतीक हो। त्यस्तै हाम्रो व्यवहारमा चन्द्रको प्रकाश पनि यसै अनुरूप महत्त्वपूर्ण छ, त्यसैले यसलाई सोमलता प्रकाश भनिन्छ भनी व्याख्या गरिन्छ।

यथार्थमा वैदिक विज्ञान र योगले पहिचान गरेको तथ्य सन्तान उत्पादन सम्बन्धमा बीर्य र डिम्बको सवलिकरण, लालन-पालन तथा नयाँ सन्तानको शरीरमा हुने वायु प्रवाह उत्तम र सुधारिएको निर्माण होस् भन्नको खातिर सोमसूत्र विधि अपनाउन सल्लाह दिइन्छ। व्यक्तिको शरीर र स्वास्थ्यसम्बन्धी पक्षहरू समाजमा सहज जानकारी गराउन वैदिक परम्पराको वैज्ञानिक बुझाइलाई पछि व्यक्तिको संस्कृतिको एक भागको रूपमा स्थापित गर्न मन्दिर आदि र त्यसमा कस्तो कर्मकाण्ड गर्ने भन्ने विधि बनाएर समाजमा सम्प्रेषण गर्ने कार्य गरियो। तसर्थ वैदिक कालमा आफ्नो शरीर नै मन्दिर र आत्मा नै ईश्वर हो भन्ने बुझाउन मन्दिरलाई व्यक्तिको शरीरको प्रतिनिधित्व गर्ने गरी स्थापित गरियो। जसले प्रकृतिको प्रतिनिधित्व गर्दछ। मन्दिरको प्राणप्रतिष्ठालाई आत्माको रूपमा लिने गरियो, जसले पुरुषको प्रतिनिधित्व गर्दछ। प्रकृति र पुरुषको संयोजनले बनेको नयाँ बालकको मनोवैज्ञानिक स्वास्थ्य बारे परम्परागत वैदिक चलनमा सोमसूत्र संदेश निर्माण गरी सामाजिक रूपमा मन्दिरको एक महत्त्वपूर्ण विधिको रूपमा स्थापित गरियो।

सोमसूत्रको वास्तविक संदेश

शिवलिंगको परिक्रमा गर्दा अर्थात् पृथ्वीमा आफ्नो वंशजको अस्तित्व नियमित कायम गर्नुपर्ने हरेक व्यक्तिको जिम्मेवारी पूरा गर्न सवल सन्तान प्राप्तिको लागि व्यक्तिले आफ्नो दायित्व, अधिकार र मानवीयताको विशेष दायरा रूपी सोमसूत्रको उल्लंघन नहुने गरी आफ्नो कर्म पूरा गर्नुपर्दछ। व्यक्तिको यो यात्रा अर्धचन्द्राकार परिक्रमा रूपको हुनुपर्दछ। जसमा चन्द्रको आधा भागले पुरुष रूपी बीज शक्ति प्रधान गर्ने व्यक्तिको कर्तव्य र जिम्मेवारीको संकेत गर्दछ भने अर्को चन्द्रको आधा भागले प्रकृति वा डिम्ब दान गर्ने र त्यसको हेरचाह लालन-पालन गर्ने नारी वा देवी गुण शक्तिको लागि योगदान गर्ने व्यक्तिको कर्तव्य र जिम्मेवारी हुने गर्दछ। यसो हुन सक्दा मात्र शास्त्रको निर्देश पालन हुन्छ। जहाँ शास्त्रको निर्देशलाई ब्रह्माण्ड संचालनको नियम कानुन मानिन्छ।

व्यावहारिक रूपमा सोमसूत्र (विशेष सम्बन्धको अनुशासन र कर्तव्यको दायरा कोर्ने रेखा) अनुरूप शिवलिंगमा जल (पुरुष) र दूध (प्रकृति) मिलाउँदा पुरुष र प्रकृतिको पर्याप्त निर्मलीकरण गरी गङ्गा नदीको रूपमा बाहिर बहने जीवनको प्राप्तिको लागि (मनोवैज्ञानिक रूपमा बलिष्ठ उत्तम सन्तान) आफ्नो अनुशासन, कर्तव्य र नैतिकताको मानवीय दायरा (सोमसूत्र) ननाग्ने गरी दुबैले आ-आफ्नो भागको जिम्मेवारी (चित्रमा देखाइएझैं अर्धचन्द्राकार परिक्रमा गर्नुपर्ने पथ) पूरा गर्नुपर्दछ। मनोवैज्ञानिक रूपमा सवल समाज निर्माण गर्ने सवल र संज्ञानात्मक रूपमा उत्तम सन्तान पैदा गर्ने अनिवार्य रहेको यथार्थ बारे सोमसूत्रले मानिसहरूलाई ज्ञान दिन्छ। चन्द्रको प्रकाश सूर्यको परावर्तित प्रकाश हो। हाम्रो व्यवहारमा यसलाई सोमलता प्रकाश (मनोवैज्ञानिक सवलता दिने) भनिन्छ, जुन मनोवैज्ञानिक सबलताको लागि उत्तम मानिन्छ। हाम्रो व्यवहारमा सवल सन्तान उत्पादनको लागि सहकार्यमा रहेको व्यक्तिहरू बीच एकले अर्कोलाई आफ्नो जीवनको आधा अंगको रूपमा लिएर उसको अस्तित्व र महत्व स्वीकार्ने र दोस्रोबाट आफूप्रति हुने व्यवहार आफ्नै व्यवहार र नियतको परावर्तित प्रकाशको रूपमा रहने ठानिन्छ। त्यसैले चन्द्रको प्रकाशले एक विवाहित जोडी बीच हुनुपर्ने नैतिक र व्यावहारिक दायित्व रूपी उर्जालाई जनाउने गर्दछ। यस अर्थमा समाजमा उत्तम सन्तान उपलब्ध गराउने दायित्व पूरा गर्न सन्तान उत्पादनको लागि सक्षम बीर्य र डिम्ब उपलब्धता जोडी बीचको आपसी सम्बन्धमा हुने मधुरताले नयाँ सन्ततिको मनस्थितिको समग्र विकास गर्न दिने शक्ति र ज्ञानको भूमिका खेल्दछ भन्ने वैदिक मान्यता हो।

यस अर्थमा वैदिक रीतिथिति र ज्ञानको संयोगले नै आजको आधुनिक जीवन सहज बनाउन जरूरी रहेको विभिन्न उपायहरूको जग हो। यसको व्यावहारिक र अध्यात्मिक नैतिक मूल्यमा ध्यान दिइयो भने मात्र हाम्रो समाजमा नैतिकताको अभाव खड्किने गर्दैन। यसरी सारांशमा सोमसूत्रको अर्थ, महत्त्व र परिक्रमाको सही, स्पष्ट र संक्षिप्त ज्ञान व्यक्तिको निजी जीवनको सबलता र नैतिक र ज्ञानी समाजको निर्माणको लागि महत्त्वपूर्ण छ। यसको चुरो ज्ञान नबुझी यसलाई यान्त्रिक रूपमा बुझ्दा त्यसले व्यक्तिलाई यान्त्रिक मुर्ख रूपको जिउदो लाशमा रूपान्तरण गरिदिन्छ।