इन्द्रिय सुख VS शाश्वत आनन्द !! भज गोविन्द ।

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-06-20

इन्द्रिय सुख VS शाश्वत आनन्द !! भज गोविन्द ।

मानिसको जीवनमा धन, विद्याको नाममा ग्रहण गरिने बौद्धिक अहङ्कार, र इन्द्रिय सुख प्रदान गर्ने भौतिक सुख-सुविधा जस्ता उपलब्धिहरू वास्तवमै अस्थायी प्रकृतिका हुन्छन्। मृत्युको समयमा यी कुनै पनि कुराहरू तपाईँको काममा आउँदैनन्। त्यसैले, जीवनमा प्राप्त भएका भौतिक लाभ र बौद्धिकताको अहङ्कारको पछि लाग्नु भनेको जीवनलाई पूर्ण रूपमा बरबाद गर्नु हो।

मानव शरीर आफैँमा मन र इन्द्रियको संरचना सँग अभिन्न रूपमा जोडिने गरि ईनर-इञ्जिनियरिङ्ग भएको छ। अभिन्न रूपमा जोडिएको इन्द्रिय र मनको अनुभूतिको छायाका कारण मानवीय प्रवृत्तिलाई मायाको जालले छोपेर सुगर-कोटेड गरि भौतिकीकरण गरिदिएको छ।

सुगर-कोटेड मायाको जालले सत्य ज्ञानको आलोचना गर्दा अतृप्त मनलाइ रमाइलो पारिदिन्छ।

वास्तविक ज्ञानमा सुख वा रमाइलो जस्ता क्षणिक अनुभूतिहरू होइनन्, बरु चीर कालिन दिगो शान्ति र आनन्दको अनुभव हुन्छ, जुन ब्रह्मसँग एकाकार हुने आत्मा (आत्मन्) को अंशको प्रतिफल हो।

त्यसैले, जीवनको सुख-दुखको पक्ष र चीर कालिन दिगो शान्ति तथा आनन्द दुवैको स्रोत मानव चेतनाबाट निर्मित अहङ्कार हो। यसको एक भाग सकारात्मकतासँग जोडिएको हुन्छ, जुन सत्य ज्ञान, अध्यात्म र ब्रह्माण्ड सञ्चालनको नियमसँग मैत्री वैदिक ज्ञान गुणको प्रभावमा सक्रिय हुन्छ। अर्को पक्ष भने जीवनको भौतिक सुख-दुख, सुरक्षा र लगावसँग सम्बन्धित नकारात्मक पक्षमार्फत पालित, पोषित र उल्झेलित हुन्छ।

हरेक व्यक्तिको जीवनमा अस्थायी सुख अत्यन्त महत्त्वपूर्ण हुन्छ, तर यो जीवनको आधारभूत आवश्यकताको आपूर्तिमा सीमित हुनुपर्छ। त्यसका लागि हरेक व्यक्तिमा वास्तविक (शाश्वत) र अवास्तविक (अस्थायी) बिच भेद गर्ने क्षमता (विवेक) अर्थात् वैराग्यको पहिचान गरी आधारभूत आवश्यकताको आपूर्तिको सीमितता बुझ्ने गुण र कलाको विकास गर्न आवश्यक छ। यसका लागि वेद र उपनिषदको चुरो मान्यता बुझेको व्यक्तिमा विज्ञानको समयोचित उपयोग गर्ने कला आवश्यक पर्छ।

वेदले संसारका पक्षहरूलाई सत्य र मिथ्या भनेर परिचय दिन्छ। यहाँ सत्य भनेको वास्तविक स्वरूप र मिथ्या भनेको अवास्तविक स्वरूप हो। तर, अवास्तविक स्वरूप भनेको अस्तित्वमा नै नरहेको झूटो वा काल्पनिक चिज भनिएको होइन।

उदाहरणका लागि, तपाईँले देखेको निद्रा तत्कालीन सत्य हो, तर जागृत अवस्थामा तपाईँले देखेको निद्राका गतिविधिहरू अवास्तविक प्रकृतिका रहेछन् भन्ने तपाईँले महसुस गर्नुहुन्छ। यथार्थमा, निद्रा र जागृति दुवै तपाईँले अनुभव गरेको सत्य हुन्, तर ती वास्तविक (शाश्वत) तहको सत्य होइनन्, बरु मात्र तत्कालीन अवस्थामा अनुभव भएको सत्य हुन्।

मानिसको जीवनमा ज्ञान अत्यन्त महत्त्वपूर्ण भए पनि भक्ति मार्गले हरेक व्यक्तिलाई अज्ञान र ज्ञानबाट विकसित हुने अहङ्कारबाट मुक्त गर्न सहयोग पुर्‍याउँछ। त्यसैले, सनातन संस्कृतिले भक्ति मार्गलाई शान्ति प्राप्त गर्ने सबैभन्दा सुलभ र प्रभावकारी मार्ग मानेको छ।

दैवी शक्तिको स्रोततर्फ मन लगाउन र समर्पण गर्न सुझाव दिइएको छ। यही सन्दर्भमा आदि शङ्कराचार्यद्वारा रचित गहन दार्शनिक र भक्तिमय ग्रन्थ "भज गोविन्द" नामक भजन छ, जसले वेदान्तको ज्ञानलाई सरल, काव्यात्मक श्लोकहरूमा प्रस्तुत गर्छ।

पुनरपि जननं पुनरपि मरणं, पुनरपि जननी जठरे शयनम्।

इह संसारे बहुदुस्तारे, कृपयाऽपारे पाहि मुरारे ॥

भज गोविन्द भज गोविन्द गोविन्द भज मूढमते।

नेपाली भावार्थ:

पुनः जन्म, पुनः मृत्यु,

पुनः माताको गर्भमा शयन।

यो संसार अति कठिन छ,

हे मुरारे (कृष्ण),

बचाउ मलाई

अपार कृपाले।

हे मूर्ख मन,

भजन गर,

गोविन्दको

भज गोविन्द,

भज गोविन्द,

गोविन्द भज।

भजनका अनुसार, सांसारिक ज्ञान र कौशल केवल मुक्तिका साधन हुन् । जीवनको उद्देश्य प्राप्तिका साधन हुन्, तर यी साध्य होइनन्। यदि व्यक्तिले प्राप्त गरेको सांसारिक ज्ञान (विज्ञान वा अविद्या) र कौशलले (अविद्या+विद्या) उसको आध्यात्मिक विकास, आत्मसंयम र ज्ञानलाई भक्तिमा परिणत गर्न मद्दत गर्दैन भने त्यो निरर्थक हुन्छ।

अर्थात्, त्यो जीवले आफू जीव हुनुको उद्देश्य प्राप्त गर्न सक्दैन।

व्यक्तिले प्राप्त गरेको सांसारिक ज्ञान र कौशलले आध्यात्मिक विकास, आत्मसंयम र ज्ञानमार्फत भक्ति मार्गमा रूपान्तरण गर्न नसकेसम्म तिनीहरूको प्रभाव सतही रहन्छ र व्यक्ति जन्म-मृत्युको चक्रबाट मुक्त हुन असमर्थ हुन्छ।

त्यसैले, सनातन संस्कृतिले हरेक व्यक्तिलाई ज्ञानी र आध्यात्मिक व्यक्तिहरूको सङ्गत खोज्न, सम्पत्ति, स्थान, र सम्बन्धहरूसँगको आशक्ति घटाउन, ध्यान, आत्मसंयम र आध्यात्मिक ग्रन्थहरूको अध्ययन गर्न सुझाव दिन्छ।

सच्चा मार्गदर्शन (जुन व्यक्ति नै हुनुपर्छ भन्ने छैन) को सान्निध्यमा रही, ईश्वर (वेदमा उल्लेखित ब्रह्माण्ड सञ्चालनको शाश्वत विधि) सँग मैत्री रहँदै, निष्कपट भक्तिमा समर्पित र निर्भर रहन सल्लाह दिन्छ।

यसरी व्यक्तिले अस्थायी संसार र परिस्थितिबाट आफूलाई शाश्वततर्फ ध्यान केन्द्रित गरी, जन्म-मृत्युको चक्रबाट मुक्त भई ब्रह्ममा लीन हुन सम्भव हुन्छ। त्यो अवस्थामा व्यक्तिको आत्माले परमात्मासँग एकता प्राप्त गरेको हुन्छ भन्नेमा सनातन संस्कृति विश्वस्त छ।

आउनुहोस्, हामी पनि जहाँ जुन अवस्थामा छौँ, त्यसैलाई स्वीकार गरी "गोविन्दको भजन गर्दै, सत्यको खोज र शान्ति प्राप्तिको अभियानमा" सरिक बनौं। वेदमा रहेको विज्ञानको अस्तित्व पहिचान गरी जीवनलाई शाश्वत सत्यको मार्गमा लगाउने प्रण गरौँ।