प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-04-19

बुद्धले सुझाएका सुख प्राप्तिको ओखतीको क्याप्सुल !

बुद्धले संकेत गरेको

अथर्ववेदको तत्व ज्ञानको वैज्ञानिक डिकोड

अथर्ववेदको चुरो मर्म संग मिल्ने बुद्धको एक भनाइ सुखको लागि भौतारिने निकै धेरै मानिसको लागि सुख प्राप्तिको ओखती रूपी क्याप्सुल हुन सक्दछ। बुद्ध भन्नु हुन्छ, मानव अस्तित्व निर्माण गर्ने तत्व-गुण साना उपसमूह हुँदै समूहमा एकीकृत भएर निर्माण हुने उर्जाहरू गुणका छन्। जस मार्फत मानव शरीरको निर्माण भएको छ।

जसमा मानव चेतना व्यक्तिको अस्तित्वको सबैभन्दा सूक्ष्म गुण हो। चेतनाले समग्रमा मानसिक संरचना निर्माण गर्दछ।

मानसिक संरचनाले व्यक्तिको बुझाइ निर्माण गर्दछ। बुझाइको कारण व्यक्तिमा भावनाको निर्माण हुन्छ। व्यक्तिको भावनाले उसमा अनुभूति गर्ने शारीरिक अनुभव रूपको गुण निर्माण गरिदिन्छ। त्यही गुणको कारण विगतमा व्यक्तिले ग्रहण गरेको दुख वा अन्यायको अनुभूतिले उ चिन्तित बन्छ।

भविष्यको असुरक्षाको कल्पनाले व्यक्तिमा डरको भावना निर्माण हुन्छ। सकारात्मक भविष्यको कल्पनाले उसमा आशाको किरणको संचार बन्छ।

अनुभूति व्यक्तिका निजी जागरणको वैयक्तिक पक्ष हो।

व्यक्तिमा जागरण हुने वैयक्तिक अनुभूतिले दिने जस्तो अधिक दुख दिने अरू केही पनि कुरा यो संसारमा अस्तित्वमा नै हुदैन।

समूहमा रहेर मानव शरीर निर्माण गर्ने सूक्ष्म गुणले प्राकृतिक रूपमा निर्माण गर्ने चाहना, रिस, तनाव वा दुखको पहिचान गरी जब व्यक्तिले आफ्नो मनलाई विचलित हुनबाट सम्हाल्न सक्दछ, तब उसले आफूलाई चाहना, रिस, तनाव वा दुखबाट अप्रभावित राख्न सक्दछ। यो विधिबाट व्यक्तिले आफूलाई धेरै गहिरो सुख अर्थात् निर्वाणको अवस्थामा पुर्याउन सक्दछ।

त्यसैले बुद्धको भनाइ अनुरूप, जब हामी मनलाई शान्त बनाउन सक्दछौं, तब हामीबाट चाहना र रिस जस्ता भौतिक र मानसिक लगाव उत्पन्न गर्ने खराबीको गुण हट्ने गर्दछ। त्यो अवस्थामा मात्र हामीलाई साँचो सुख मिल्छ।

त्यसलाई मनको शान्ति भनिएको छ।

मनको शान्ति नै मानिसले आफ्नो जीवनमा प्राप्त गर्न सक्ने सबैभन्दा ठूलो उत्तम सुख वा ब्लिस हो।

त्यसैले निर्वाणको अवस्थामा प्राप्त हुने शान्ति जस्तो धन्यतारूपी सुखभन्दा उत्तम अन्य कुनै प्रकारको सुखको यस दुनियाँमा अस्तित्वमा नरहेको बुद्धको बुझाइ भेटिन्छ।

 बुद्ध भन्दछन :

No description available.

There is no fire like lust and no crime like hatred. There is no ill like the aggregates of existence (material form, feelings, perception, mental formations and conciousness) and no bliss higher than peace of Nibbana.

अस्तित्वका समूह गुणहरू (शारीरिक रूप, भावना, बुझाइ, मानसिक संरचना र चेतना) को सामुहिक प्रभावको प्रस्तुतिको अनुभूतिले दिने जस्तो दु:ख अरू केही छैन। निर्वाणको शान्ति जस्तो सुख अरू कुनै हुन सक्दैन।

 तपाईँ, हामी खेती किसानमा रहेर आफ्नो जीविका गर्ने भुईँ मान्छे हौँ। हाम्रो सन्दर्भमा वासना भनेको मनमा विकास हुने तीव्र चाहना र त्यसले कुनै विषय-वस्तुमा बढाई दिने लगाव हो। हामीलाई आफूलाई मन परेको कुनै कुरा पाउन र सधैँ सुखी रहने वातावरण निर्माण गर्न मन लाग्दछ। हाम्रो यो चाहना हाम्रो मनमा नियमित बल्ने आगो जस्तै हुन्छ। जसरी आगोले खेतबारी जलाउँछ, त्यसै गरी हाम्रो यो चाहनाले हाम्रो मनको शान्तिलाई दैनिक रूपमै भित्र भित्र जलाइदिने गर्दछ।

म सामान्य पर्म गरेर, खेतीपाती गरी जीविका चलाउने सामान्य मानिस हुँ। आउने असार भित्र मलाई बलियो हल-गोरु खरिद गर्न अलि धेरै पैसा चाहिएको छ। त्यो चाहना पूरा नहुँदा सम्म मेरो मन रातदिन भित्र भित्र जली रहन्छ। मनमा तनाव हुन्छ। मलाई के पनि थाहा छ भने, मलाइ चाहिएको हल गोरु यो जलन र तनावले होइन, त्यसको लागि चाहिने पैसा वा ऋणको जोगाडले मात्र सम्भव छ। मेरो जली रहेको मन र त्यसले मलाई दिएको तनाव मेरो उद्देश्य प्राप्तिमा प्रतिकुल भूमिका खेलिरहेको छ।

मेरो लागि यो सन्दर्भमा बुद्धको भनाइले के भन्छ भने, "यो मनको आगोलाई मैले सकारात्मक आशाको माध्यमले नियन्त्रण गर्नुपर्छ। नत्र मेरो सुख र भविष्य दुवै त्यही जलन र तनावका कारण खोसिने छ। कारण, 'वासना जस्तो आगो अरू केही छैन।"

बलियो हल-गोरु खरिद गर्न निकै छिटो पैसा कमाउने मेरो मनमा गडिएर रहेको आशक्ति मेरो आजको दिनको मेरो वासना छ। मेरो जरुरत, मेरो निरन्तरको प्रयास अनुरूप बिस्तारै उचित समयमा पुरा हुने निश्चित छ। तर मेरो तत्कालको धेरै पैसा जम्मा गर्ने अप्राकृतिक लगाव म आफैलाई भित्र वाट कमजोर र विचलित गर्ने आगोको रूपमा रूपान्तरित बनिरहेको आजको मेरो यथार्थ हो। यसलाई मैले म आफू जलेर सकिनु धरै अघि अनुभूति गर्न जरुरी छ। यो महसुस गर्नु र तत्कालको तीव्र इच्छा लाई दीर्घकालीन उद्देश्य प्राप्तिको योजनामा परिवर्तन गरी आफ्नो यथार्थ लाई स्वीकार गरी अघि बढ्नु नै हाल मैले बोकी रहेको मेरो आफ्नै सबै भन्दा सङ्क्रामक रोगको उपचार हो। गीताको भनाइ, "कर्म गर, तर फल प्राप्तिको आशक्तिले आफ्नै मनको शान्ति मार्ने काम नगर" भन्ने चुरो मर्मको आज नै मैले बुझेर त्यसलाई महसुस गरेर व्यवहारमा उतार्नु मेरो जीवनको सबै भन्दा पहिलो अनिवार्य प्राथमिकता बनेको छ।

जब व्यक्ति जलन र तनावको चक्र व्यूहमा फस्दछ, तब उसले अन्तर्मुखी भएर आफ्नो कमी कमजोरी पत्ता लगाएर समस्याको समाधानतर्फ अग्रसर हुने धैर्यता गुमाउन पुग्दछ। उसका हरेक कर्मको फलको अप्राप्तिको परिस्थिति आउनुको पछाडि उसले सदैव अर्को पक्ष वा व्यक्तिको दोष देख्न थाल्दछ। उसले दोषी देखेको व्यक्ति वा पक्षप्रति उसको मनमा घृणाको भाव विकास हुन थाल्दछ। घृणा भनेको कसै प्रति मनमा रिस, द्वेष वा नराम्रो बदला भाव राख्नु हो। यो रिसले व्यक्तिलाई गलत गतिविधिमा संलग्न हुन उत्प्रेरित गर्दछ। यसरी विकसित हुने तीव्र उत्प्रेरणाका कारण व्यक्ति आफू गलत काम गर्दै छु भन्ने जानीजानी गलत प्रतिशोध पूर्ण व्यवहार गर्न बाध्य बन्छ।

कहिलेकाहीँ हाम्रो आफ्नो छिमेकीसँग नोक-झोक चल्नु सामान्य नै हो।  कहिलेकाहीँ झगडा पर्छ। जब झगडाको रिस लामो समयसम्म हामी मनमा पालेर राख्दछौँ, तब त्यो रिसको तुसले छिमेकीको सामान्य व्यवहारलाई समेत बढाइचढाइ असामान्य करार गरी हामीलाई ऊसँग झगडा गर्न, गाली गर्न, हानि पुर्‍याउन उक्साउँछ। त्यस समय छिमेकी समेत तातेर प्रतिक्रिया दिने भए हाना-हान परिहाल्छ। पर्दाको साथी र मर्दाको मलामी हुनुपर्ने हाम्रो छिमेकी हाम्रो त्यही दुर्गुणको कारण हाम्रो दुस्मन बन्न पुग्दछन्।  जसले सुरक्षा र मानसिक शान्तिमा नियमित खलल निम्त्याउन भूमिका खेल्दछ।

बुद्धको भनाइ अनुसार, हाम्रो मनमा हामीले पालेर राख्ने घृणा भाव नै हाम्रो सबैभन्दा ठुलो गल्ती रुपी आफ्नो सबैभन्दा घातक दुस्मन हो। व्यक्तिको रिसले उसको नजिकका र टाढाका सबैलाई दुखी बनाउँछ, पोल्दछ नै, रिसाउने व्यक्तिलाई नै सर्बाधिक हानि, नोक्सानी दिने गर्दछ। त्यसैले हरेक मानिस स्वस्थ र मानवीय बन्न आफ्नो मनलाई शान्त राख्न अनिवार्य रहेको सबै प्रकारको घृणा-भाव मनबाट हटाउनु अनिवार्य छ। "घृणा जस्तो गम्भीर अपराध अरू कुनै छैन।"

तपाईँले आफ्नै जीवनलाई निष्पक्ष रहेर अवलोकन गर्नुभयो भने, तपाईँले तपाईँको शरीर र मन सधैँ बदलिरहेको पाउनुहुनेछ। निकै पर भारतको मनीपुरको तपाईँको एक मित्र तपाईँलाई भेट्न र भलाकुसारी गर्न लामो यात्रा गरेर भोलि पोखरा जाने गरी आज तपाईँलाई भेट्न यम्पा फाँट आइपुगेका छन्। त्यसैले आज तपाईँमा निकै उत्साह जागेको छ। तपाईँको चुरीखुरी हेर्न लायक बनेर बढेको छ।

यो समय भोलि ती मित्र पोखरा पुगेर आफ्नै घर मनीपुर फर्कँदै गर्दाको बिछोडले दिने दुख तपाईँको पर्खाइमा कुरिरहेको छ। त्यो बिछोडको पीडा तपाईँले भोलि बेहोर्नुको अर्को विकल्प तपाईँसँग छैन। यो निश्चित प्राय छ कि आजको तपाईँको उत्साह भोलि निराशामा बदलिने छ। आजको तपाईँको चुरीखुरीलाई भोलिको सम्भावित शिथिलताले प्रतिस्थापन गर्ने छ। यसलाई जीवन सानदार रूपमा जिउने प्राकृतिक काइदाको रूपमा तपाइले लिन र स्विकार्न सक्नुभयो भने सायद तपाइको भोलि पनि आज जस्तै आनन्दमय बन्न सक्दछ। 

यो सिजनमा हाम्रो कोलेको खेतमा हरियालीको वाहर छाएको छ। वस्तु भाउको लागि रोपेको घाँसले उक्त जमिनलाई हराभरा बनाएको छ। दुई-तीन महिना भित्र त्यो घाँसको समय पूरा भएपछि त्यो जमिन फेरि खुरी खण्ड र सुख्खा देखिने छ। आज तपाईँको मन खुसी छ। तपाईँको जमिन समेत सुन्दर परि जस्तो देखिएको छ। भोलिको समयमा तपाइको जमिनको सुन्दरता घट्न सक्दछ। यो परिवर्तन नियमित प्राकृतिक परिवर्तन हो। तर पनि यसले तपाईँलाई किन अप्राकृतिक तनाव दिएको छ?

यथार्थमा खुरी खण्ड र सुख्खापन अस्तित्वमा रहेकोले हरियाली र हराभराको महत्त्व रहेको तथ्य हामीले भुलेका छौँ। सुन्दर मात्र नभएर शुद्ध पानी रहेको विशाल पोखरीमा विचरण गरिरहेको माछाले आफ्नो वरपर नै पर्याप्त रूपमा रहेको पानीको अनुभूति गर्न नसकेर तिर्खा मेट्न पानीको खोजमा हिलो भित्र हतारिँदै छिरेर भड्किएको अवस्थामा परेको हालतमा हामीले आफूलाई पुर्‍याई रहेका छौँ।

अज्ञानता बिच आफ्नो दिमागी हालतको उपचार हामी आफैँसँग रहेको भुलेर हामी अन्यत्र त्यसको उपचार खोजिरहेका छौँ। जसरी शुद्ध तलाउ बाट भड्किएर हिलोमा गढ्न पुगेको माछाले तिर्खा मेट्ने शुद्ध पानीको लागि आफ्नै प्राकृतिक निवासमा फर्कन जरुरी छ, हाम्रो दिमागी हालतको उपचारको समेत जरुरत हामी आफ्नै प्राकृतिक संरचनामा प्राकृतिक रूपमा फर्केर मात्र सम्भव देखिन्छ।

बुद्धको भनाइ अनुसार, व्यक्तिको सोच र मन अनुरूप शरीरले गर्ने अनुभूतिले व्यक्तिलाई सधैँ दुखी बनाउने गर्दछ। जसरी दीर्घ रोगले व्यक्तिलाई सधैँ सताउँछ, त्यसरी नै गलत सोच, गलत मान्यता र गलत चाहनाले विकसित गर्ने लगावले व्यक्तिको दैनिक शान्त अवस्थालाई हटाएर व्यक्तिको मनलाई रोगी बनाइदिन्छ। बुद्धका अनुसार, शरीर र मनको (जस्तै: शरीर, भावना, सोच, इच्छा, चेतना) प्राकृतिक गुण पहिचान गर्न नसकेको व्यक्तिको हकमा समग्रमा दुवै उक्त व्यक्ति व्यक्तिको दुखको कारक बनिदिन्छ।

यति सरल सानो कुराको गहिराइलाई बुझ्न धेरै मानिसले आफ्नो सम्पूर्ण जीवनको अन्त सम्मको समय खर्च गरिदिन्छन्। कतिलाई त एक जीवन समेत पर्याप्त हुँदैन। यो अज्ञानताले उनीहरूको जिन्दगी उनीहरूलाई  निकै कठिन र जटिल बनाई दिन्छ। निरस जीवनमा रूपान्तरण गरिदिन्छ। सरल तरिकाले बताउँदा व्यक्तिको जीवनमा "मनको दुःख जस्तो दीर्घ रोग शारीरिक वा मानसिक वा अन्य कुनै दुःख वा दर्द हुन सक्दैन।"

 निर्वाण भनेको मनको त्यस्तो अवस्था हो, जहाँ कुनै चाहना (अप्रत्याशित लगाव), रिस, तनाव वा दुःख भन्ने कुरा अस्तित्वमा नै रहँदैन। यो त गएको पन्ध्र असारमा घरमाथिको धुलपुरे खेतमा बाउसे बनेर तपाईँ र मैले खेतको आली लगाउँदै गर्दा थाकेपछि आनन्द लिएको डुम्रीको रूख मुनिको शीतल छहारी जस्तै हुन्छ। डुम्रीको रूखको शीतल छहारीको आनन्दले दिएको धेरै गहिरो सुखको अनुभूतिको हदको हुन्छ।

एक पटक सम्झनुहोस् त! त्यति बेला हाम्रो मनमा न त  बाउसेको काम गर्न परेकोमा दुःख थियो। न घामले पोलेको दर्दको अनुभूति नै थियो। न त थाकेकोले उक्त काम गर्न नै छोड्ने बिचार आएको थियो। यति दुखले बाउसेको काम काम त गरिँदै छ, के भोलि यस अनुकूल धान फलेर यसको प्रतिफल प्राप्ति होला त ? भन्ने प्रश्न समेत मनमा उब्जेन। यथार्थमा यति छिट्टो कामको प्रगति होला र छिटै आराम गर्न रूख मुनिको छहारीको आनन्द आधा घण्टा सम्म लिन पाइएला भन्ने समेत लागेको थिएन। काम सम्पन्न हुने क्रम अघि बढेकोमा मनले फरक प्रकृतिको आनन्द अनुभूति गरिरहेको थियो। गर्मीको हपहप बिच अरू बेला वातावरण नियन्त्रित एसी रुममा बस्दा समेत चिन्तित हुने पापी मन त्यो समय सानो डुम्रीको रूख मुनिको छाया भित्र स्वर्गीय आनन्दको अनुभूति लिँदै थियो। त्यो पनि दङ्ग परेर।

बुद्ध भन्नुहुन्छ, "जब हामी मनलाई शान्त बनाउँछौँ, अप्राकृतिक चाहना र रिस हटाउँछौँ, प्रतिफल प्रति अलगाव बन्दछौँ, तब हामीलाई साँचो सुख मिल्छ। यो सुख पैसा, खेत, खेतको फसल, त्यसको स्वाद वा कुनै कुराले दिन सक्दैन। साँचो सुख त मनको शान्तिको प्रतिफल हुने गर्दछ। मनको शान्ति नै मानिसले जीवनमा प्राप्त गर्न सक्ने सबैभन्दा उच्चतम सुख अर्थात् आनन्दको रूप हो। त्यसलाई बुद्धले "निर्वाणको शान्ति" भन्ने शब्द चयन गरे। अनि भने, "निर्वाणको शान्ति जस्तो उत्तम सुख दिने अन्य विषय बस्तु यो दुनियाँमा अस्तित्वमा नै छैन।"

तपाईँ त दक्ष किसान हुनुहुन्छ। म त अझै सिकारु किसान कै अवस्थामा छु। किन हो कुन्नि तपाईँलाई खेतीको काम गर्दा अलि धेरै कुराले तनाव दिने गरेको देख्छु। कहिले पानीको पालो नपाइएला भन्ने चिन्ता लिएको देख्छु। कहिले बालीको चिन्ता गर्नुहुन्छ। कहिले बस्तु भाउ मर्लान् भन्ने सुर्तामा रहनु हुन्छ। पल्ला गाउँ सत्र सयका निगम र दोलाराज दाइहरू आएर कुलो  भाँचिदिएर तपाईँको पालोमा कुलोमा पानी नआएर धान खेत सुख्खा रहने हो कि भन्ने चिन्तामा डुबेको पनि देख्छु। कहिले पारि च्यन्लिङ्गबाट आएर घाँस काट्ने बद्री र चन्द्र कुमारहरूले बारीको र आलीको घाँस काटेर लगिदेलान् भन्ने चिन्तामा डुबेको भेट्छु। कहिले पानी धेरै पर्ला र सुरका हरू बगाउला भन्नु हुन्छ। कहिले पानी नपर्ला अनि रोपेको घैया नसप्रेला भनेर चिन्तित बन्नु हुन्छ। तपाइले लिएको तनाव र सुर्ताले तपाइको बालीनाली र खेतीपातीको अवस्थामा खासै परिवर्तन गरेको जस्तो त लाग्दैन। बरु दैनिक रूपमा तपाईँ नै कमजोर बन्दै गरेको अनुभूति गरिरहेको छु।  

बुद्ध भन्नुहुन्छ, "यस्ता सबै खाले जरुरत नरहेका चिन्ताहरू लाई मनमा पाल्नु हुँदैन। हरेक दिन अधिक समय शान्त भएर ढुक्क रहेर बस्ने, गहिरो सास फेर्ने, अरूसँग रिस नराख्ने, सबैको भलो सोच्ने, अरूमा समेत विश्वास गर्ने तर भर भने आफूमा नै पर्ने र आफ्नो कर्ममा विश्वास गर्ने बानी बसाल्नुपर्छ। प्रकृतिको नियति सदैव मानवताको रक्षा गर्ने हुन्छ भन्ने कुरामा यकिन रहनु पर्दछ। आफ्नो कर्म नियमित गर्नु पर्दछ। "

जसरी हामी खेतमा रोपाई गर्न व्यस्त हुँदै गर्दा कलचोके रोपारहरूले गीत गाउँदै धान रोप्दै गरेको वेलाको गीतको माहौलले हाम्रो मन कस्तो फुरुङ्ग भएर हल्का बनेको थियो। सारा थकाई जोसमा परिवर्तन भएर छिटो छिटो बाउसे गर्ने उत्साहले शरीरमा घर गरेको थियो। त्यही बेला कल्पना र सपनाले ल्याएर पिउन दिएको चिसो मोहीले शरीर भर जोसिलो रक्त सञ्चार गराई दिएर मनमोहक आनन्द सवार गरिदिएको थियो। त्यस लगतै सबै लहरै बसेर खाजा खाँदै गर्दा गाडेको मुलाको अचारको खुर्सानी टोक्दै चिउरा र बोडीको तरकारी चपाउँदै गर्दा ज्यानले पुनः काम गर्ने तागत र स्फूर्तिको पुनर्जागरण पाएको थियो। त्यो बेलाको आनन्दमा रहेको जस्तै मनलाई शान्त राख्न उत्साहित गर्न सक्दा सानो-सानो कुराबाट समेत जीवनमा गहिरो सुख मिल्ने गर्दो रहेछ भन्ने कुराको त्यसैले पुष्टि गर्दैन र ?

त्यही सानो-सानो सुखहरू जोडिएर जीवन नै समग्रतामा सुखमय जीवनको रूपमा रूपान्तरित हुन्छ भन्ने तथ्यको उजागर पनि त्यसले गरेन र ? अथर्ववेदको डिकोड गर्दा प्राप्त हुने यही सन्देश बुद्धको भनाइको रूपमा समेत हामीले पटक पटक फरक फरक रूपको प्रस्तुतिमा सुन्न पाएका छौँ। जसको अर्थ यही हो कि "मनलाई अप्राकृतिक र अनावश्यक चाहना बाट मुक्त राखौँ। सबै प्रकारको रिसबाट मुक्त राखौँ। शान्त मनले मात्र साँचो सुखमय आनन्दको उपलब्ध गराउने गर्दछ।" खेतमा मेहनत गरेपछि त्यसमा उब्जने धानको फल जस्तो आनन्द रुपी सुख उद्देश्य प्राप्तिको क्षणिक सुख दिने खालको फल होइन। यो त मनको सुखको फल हो। जसले तपाईँलाई, मलाई सधैँ सुखी बनाउने औषधीको काम गर्दछ। तपाईँको, अनि मेरो पनि जीवनमा नियमित रूपमा वास्तविक सुख प्राप्तिको अनुभूति गर्ने धन्यता उपलब्ध गराउने गर्दछ।