प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेदले धार्मिक र जन हितैषी प्रकृतिको नेतृत्वले ओतप्रोत भएको राष्ट्र प्रमुखलाई राजाको रूपमा पहिचान गर्दछ। राजाको जनलगाव प्रकृतिको अनुकम्पा जस्तो हरेक नागरिकको लागि महत्त्वपूर्ण हुने गर्दछ। जब कुनै भ्रष्ट नेताको हातमा राज्यको शाशन पुग्दछ त्यसले राजकाजमा रहेका उज्ज्वल शासकको प्रभावलाई समेत रोकेर अधर्मी शक्तिले शासन व्यवस्था लाई दूषित गरिदिन्छ। त्यस्तो दूषितको कारक लाई राज्य सञ्चालनको लागि अस्वीकार गरी धर्मको रक्षा नगर्ने नागरिक चुप चाप मौन रहेको भएता पनि पाप कर्ममा संलग्न नागरिक ठानिन्छ। जुन यति ठुलो गम्भीर अपराध हो कि त्यसको फल भ्रष्ट नेताको प्रतिकार नगर्ने पापीले त भोग्छ नै, उसको सन्तानले समेत उसको पापको फल व्यहोर्नु पर्ने हुन्छ। त्यसैले यस्तो पाप लाई वेदमा अपराध कर्म ठानिएको छ।
हरेक मुलुकको नेतृत्व लिने राष्ट्र प्रमुख वा राजाको कर्तव्य सत्य र धर्ममा आधारित हुनुपर्छ। भ्रष्ट नेताले सत्य र धर्ममा आधारित नरहेर निजी स्वार्थ, शक्ति, मैमत्तता र लाभको मोहमा रहेर वैदिक दर्शनअनुसार असह्य मानिने चरित्र प्रदर्शन गर्दछ। त्यस्तो चरित्रको विरुद्धमा र मैमत्तताको प्रतिकारमा नउत्रने जनता लाई सत्यको विपक्षमा उभिएको जनवारको रूपमा लिने गरिन्छ। त्यस्तो चरित्र बोकेको नागरिकले उ मौन रहेकै किन नहोस् नागरिकको हैसियत गुमाउने गर्दछ। जसलाई स्वार्थ लिप्त नेताको चाकर, दाश र समर्थकको रूपमा वैदिक मान्यताले समावेश गर्दछ। अपराधी नेताको समर्थन गर्नु अपराध त हो नै त्यसको प्रतिकार नगरी समाजलाई झन् भ्रष्टहरूको पोल्टामा जान मौन स्वीकृति दिने चरित्र समेत अनागरिक चरित्रको रूपमा वेदले बुझ्ने गर्दछ। अनागरिक चरित्र वृति बोकेको व्यक्तिको जीवन कहिल्यै सुखी र खुसी हुन सक्दैन। जसलाई त्यस्तो व्यक्ति आजीवन नरक वासमा रहने भनी धार्मिक ग्रन्थहरूमा चर्चा गर्ने गरिन्छ।
यः पार्थिवो विचर्षणिः स नो राजा वरूथ्यः।
स नः पर्जन्यो वृष्ट्या स नो ज्येष्ठमुप ब्रुवे॥ अथर्ववेद ३.४.२॥
भावार्थ: नागरिक हितैषी, विवेकशील, र जान रक्षक नेतृत्व नै राजा हो। त्यही नै नागरिकको रक्षक हुन्छन्। तिनैले वर्षाको जल (अमृत) जस्तै जन कल्याण गर्ने गर्दछन्।
अप दस्यून् कृणुहि देववीतये॥ ऋग्वेद १०.१२४.५ ॥
भावार्थ: हे ईश्वर (प्राकृतिक शक्ति) ! दुष्टहरूलाई नष्ट गर, दिव्य मार्गको रक्षा गर।
ऋग्वेदको ऋचा १०.१२४.५ अन्तर्गतको दुष्टहरू को परिभाषामा केवल भ्रष्ट नेताहरू मात्र पर्दैन। भ्रष्ट नेताहरूका मतियार र भ्रष्ट नेताहरूको भ्रष्टता स्विकार्ने वा मौन रहेर प्रतिकार नगर्ने अनागरिक हरू समेत त्यस भित्र समावेश हुने गर्दछ। तिनीहरूको समाप्ति बिना कुनै पनि समाजको कल्याण सम्भव छैन। कुनै पनि मुलुक संवृद्ध बन्न दिव्य मार्गमा लाग्न सक्दैन। अधर्मी शक्तिहरूको विनाश नै धर्म हो। धर्मको विजय हो। भ्रष्ट नेतृत्व र त्यसको सक्रिय वा निष्क्रिय स्वीकार गर्ने अनागरिक लाई "दस्यु" अर्थात् अधर्मीको रूपमा लिई त्यसलाई हटाउनु नै धर्म कर्म र नागरिक तथा मुलुकको जय गर्ने उपाय हो भन्ने वेदको मान्यता भेटिन्छ।
सम्राजं च्छन्दयामसि ॥ अथर्ववेद ४.१६.१-४॥
भावार्थ: जनताले उत्तम शासकलाई मात्र समर्थन गर्नु पर्दछ। अर्थात् निकृष्ट शासकलाई प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन गर्ने पात्र नागरिक अर्थात् जनता हुन सक्दैन। उ अनागरिक हो। त्यो समाजको दुस्मन समेत हो।
मुलुकको लागि शासक चयनमा जनताको भूमिका महत्त्वपूर्ण भूमिका हुने हुँदा यसलाई जनताको प्रमुख जिम्मेवारी मानिन्छ। भ्रष्ट नेतृत्वलाई तिरस्कार गरी, बहिष्कार गरी जन चेतना र एकता बाट भ्रष्ट नेताले नेतृत्व हत्याउन पाउने सम्पूर्ण सम्भावना हटाएर सद्गुणी व्यक्तिलाई आफ्नो मुलुकको राष्ट्राध्यक्ष अर्थात् राजाको रूपमा अगाडि बढाउन तयार नहुने समाजको उन्नति सम्भव छैन। त्यस्तो समाजले पापको घडाले भरिएको विष रुपी सामाजिक वृतिको पुनः पुनः सामना गर्नु पर्ने हुन्छ। यो नै प्राकृतिक नियमको सिद्धान्त हो। धर्मको सिद्धान्त हो। वैदिक कर्म फलको सिद्धान्त हो।
वेदमा धर्म, सत्य र जनकल्याण लाई शासनको आधार नबनाउने हरेक शासकलाई आजको भ्रष्ट नेतृत्वको अर्थ दिने गरी उल्लेख गर्ने गरेको सिद्धान्त पाइन्छ। वैदिक शिक्षा अनुसार अधर्मी शक्ति शासक बन्न पुगेमा त्यसको प्रतिकार गर्नु, सत्य र न्यायको पक्ष लिनु, अधर्मीले गरेको अन्यायको प्रतिकार गर्नु र सम्पूर्ण समाज एकताबद्ध भई धार्मिक नेतृत्व मार्फत अधर्मी शासकलाई प्रतिस्थापन गर्नु हरेक व्यक्ति र समाजको अनिवार्य कर्तव्य रहेको बारे प्रस्ट गर्दछ। वेदको दर्शनले "राजा" को अर्थ केवल शक्ति र अधिकार प्राप्त शासक लाई जनाउने गर्दैन। हरेक नागरिकको सुरक्षा गर्ने तथा सेवकको भूमिकाको अनिवार्य जिम्मेवारी बहन गर्ने कुशल नेतृत्व समेतको भूमिका लाई जनाउने गर्दछ। भ्रष्टाचारी नेतृत्वको सहन वैदिक मूल्य अनुरूप समाजलाई राक्षसीकरण गर्ने अपराधमा सामाजिक सहभागिता हो। जुन आफैमा मानवीयता विपरीतको दानवीय कर्म हो।
धार्मिक एवं लोकहितकारी राजा लाई वेदहरूमा सत्-राजा भन्ने गरिएको भेटिन्छ। हरेक नागरिकको कर्तव्यमा सत्-राजाको चयन गर्नु र उनीहरूको सत् कर्ममा सक्रिय समर्थन गर्नु समेत पर्दछ भनिएको छ। कुटिल, स्वार्थी, भ्रष्ट नेताहरू लाई दुरात्मा, अनार्य, असुर, मृषा वादी आदि संज्ञा दिँदै तिनीहरूको विरोध गर्ने मात्र होइन सक्रिय प्रतिकारमा उत्रेर समाजको उद्धार गर्नु हरेक नागरिकको अनिवार्य कर्तव्य भनिएको छ। असत्य, अन्याय र अधर्म गर्नेहरूलाई समाजको नेतृत्व गर्ने भूमिका वाट तुरुन्त हटाउनु हरेक समाजको अनिवार्य कर्तव्य रहेको समेत वेदमा उल्लेख गरिएको भेटिन्छ।
वैदिक परम्परामा देवी लाई शासन सञ्चालनको शक्ति रुपा मान्ने गरिन्छ। शक्ति स्वरूपा देवी वाणीको रूपमा चर्चित ऋचामा एक असल राष्ट्र सेवकको शक्ति संयोजनको कुशलता बारेको भूमिका उल्लेख भएको भेटिन्छ। जसले 'राष्ट्र' सञ्चालन गर्ने शक्ति सत्य, धर्म र शुभ कर्म प्रेरित तथा आधारित हुनु अनिवार्य रहेको सन्देश दिन्छ।
जब राष्ट्रमा धार्मिक शक्ति स्थापित हुन्छ, तब मात्रै समृद्धि आउँछ भन्ने मान्यता मार्फत 'राष्ट्र' सञ्चालन गर्ने शक्ति ग्रहण गर्नेको वृति सञ्चालित हुनुपर्ने उक्त ऋचाको मान्यता भेटिन्छ। धर्म परायण, लोकहितकारी राजाको कर्तव्य वाट च्युत अनार्य, मृषा वादी भ्रष्ट नेता नै नेता स्वयम् र त्यसलाई स्विकार्ने समग्र समाजको अधर्मको प्रतीक हुन्छ। र त्यो नेता स्वयम् र त्यसलाई स्विकार्ने समग्र समाजको अवनति, दुर्गति र नाशको कारक बन्दछ भन्ने विश्वास गरिएको छ।
अहं राष्ट्री संगमनी वसूनां, चिकितुषी प्रथमा यज्ञियानाम्।
तां मा देव व्यदधुः पुरुत्रा, भूरिस्थात्रां भूर्यावेशयन्तीम्॥
॥ऋग्वेद १०.१२५.५॥
भावार्थ: म नै राष्ट्रको सु-संयोजिका हुँ। म नै सम्पत्तिका संरक्षितता हुँ। म नै यज्ञ कि अग्रणी हुँ। म नै देवताहरूको फरक फरक प्रकृतिको शक्ति हुँ। म नै सर्वव्यापी अवस्थिति शक्तिको कारक हुँ।
यो राजा सत्यधर्मा कृणोति स नो यजमानो भवतु प्रभूतः।
य ईशे अस्य द्विपदस्य चतुष्पदस्य स नः प्रजां पातु पुष्टिं च ददातु॥
॥ऋग्वेद ४.३.१२॥
भावार्थ: सत्य धर्म अनुसार कर्म गरी राज्यको नेतृत्व लिने जिम्मेवारी पुरा गर्न सक्षम कुशल नेतृत्व लाई राजकाज सञ्चालन गर्ने राष्ट्राध्यक्षको रूपको राजाको हैसियत दिइनु अनिवार्य छ। मानव मात्र लाई नभएर पशु, जीव जन्तु समेतलाई न्याय पुग्ने गरी शासन गर्ने कुशलताले युक्त राजाले मात्र मुलुक र नागरिकको समृद्धिको रक्षा गर्न सक्दछ।
य उपवाच मृषा सत्यवाचं हन्ति श्रुधि स्तेनः सन् सखा वृषलस्य।
अकाव्यकाव्यो मनीषी पापस्तं चिदेनं नि हिनोति वेधाः॥
॥ऋग्वेद १०.८७.१६॥
भावार्थ: जो असत्य बोल्दछ, त्यसले सत्य बोल्नेको हत्या गर्दछ। जो असत्य विचार बोकेर हिँड्छ, आफूमा ज्ञान नभए पनि ज्ञान भएको देखाउन झूटो ज्ञान प्रदर्शन गर्दछ, अर्काको विचार चोरेर आफ्नो भनी देखाउँछ, त्यसलाई ईश्वर (प्रकृतिको नियम र नियति) आफैँले नष्ट गर्दछ।
वेदहरूमा रहेको स्पष्ट सन्देश के हो भने प्राकृतिक नियमको सिद्धान्त प्रतिकुल नहुने गरी गरिएको मानवीय कर्म नै धर्म हो। अहिंसा युक्त नैतिक धर्म युक्त कर्म नै सत्यमा आधारित, धार्मिक र न्यायिक कर्म हो। जसलाई मानवीयता भनिन्छ। मानवीयता युक्त आफ्नो अधिकार र कर्तव्यको ज्ञान र अनुभूति रहेको राजा वा नेता नै राष्ट्रको साँचो सेवक हो। जो असत्य, मृषा, कुटिल वा स्वार्थी छ, मानवीयता र सत्यको मार्ग वाट विचलित बन्दछ त्यो नै 'असुर' स्वरूपको राष्ट्रको विनाशक हो। आफ्नो निहित स्वार्थको लागि ज्ञानको दुरुपयोग गरी राष्ट्र विनाशकको भूमिकामा रहने व्यक्ति ब्रह्म-राक्षस हो।
वेदका अनुसार असत्य र भ्रष्ट नेतृत्वको अन्त्य र सत्य-राजाको प्रतिष्ठा नै राष्ट्र-धर्म हो। धार्मिक, न्यायिक, लोकहितकारी शासकको समर्थन गर्नु हरेक नागरिकको कर्तव्य हो। सबै नागरिकको समुचित संरक्षण र सेवा गर्नु राष्ट्र प्रमुखको कर्तव्य हो। असत्यको बाटो हिँड्ने नेताहरू वैदिक धर्म विपरीत सक्रिय रहने समाजको भार हो। त्यसलाई हटाएर, धर्म निष्ठ राजालाई राज्य सञ्चालनको मार्ग प्रशस्त गर्नु वेद अनुरूपको हरेक सनातनी हरुको कर्तव्य हो।
झुटो बोल्ने नेताको बोली नै नेता भ्रष्ट रहेको साँचो पहिचानको रूपमा लिनु पर्दछ। भ्रष्ट नेता सदैव सत्यको राज कायम हुने वातावरणको बाधक हुने गर्दछन्। ईश्वरकै विधानद्वारा त्यस्ता व्यक्तिहरूको विनाश तथा अनिवार्य सर्वनाश अकाट्य छ। तर पनि त्यस्ता व्यक्तिहरूको कर्मले निकै ठुलो समाजको जीवन लाई नारकीय गरिदिने हुँदा तिनीहरूको कर्मको विरोध गर्ने मात्र होइन त्यसको विरुद्ध सक्रिय प्रतिकारमा उत्रेर समाजको थप क्षति हुन वाट जोगाएर उद्धार गर्नु हरेक नागरिकको अनिवार्य कर्तव्य रहेको वेदको मान्यता भेटिन्छ।