प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
ऋग्वेद १.९७.१
"तमसो मा ज्योतिर्गमय"
हामीलाई अहंकार दिने अज्ञान रूपी अन्धकारबाट ज्ञान रूपी प्रकाशको भर्गो ज्योति तर्फ लैजाऊ।
दिपावली पर्व मनाउनुको सार यो ऋचामा अभिव्यक्त भएको छ: जसरि अन्धकार माथि प्रकाशको प्रभुत्व हुँदा त्यहाँ रहेका विषय वस्तुहरू देख्न सकिन्छ। त्यसले त्यसबारे अनुभूति गर्ने समेत अवसर दिन्छ। प्रकाश त्यहाँ नपर्दासम्म अध्यारोमा केही छैन भन्ने भ्रम रहन्छ। प्रकाशको उपस्थितिले त्यो भ्रम तोडिन्छ। हाम्रा हरेक अज्ञानका क्षेत्रको यथार्थ हामी अज्ञानी रहँदैमा अस्तित्वमै नरहने हुँदैन। ज्ञानले तिनीहरू अस्तित्वमा नरहेको भ्रम तोडेर त्यसको उपस्थितिको सत्य र यथार्थ हामीलाई दिने गर्दछ। यो प्राकृतिक नियमकै सिद्धान्त हो कि आफु कुनै विषयवस्तु बारे अन्धकारमा रहँदा त्यस बारेको ज्ञानले त्यसको यथार्थ उजागर गरी हामीलाई सत्यमा पुग्न सहयोग गर्दछ। त्यस्तो ज्ञानलाई भर्गो ज्योति युक्त ज्ञान भनिन्छ।
यजुर्वेद ३६.३
"ओम् ज्योतिषाम् ज्योतिर् अजस्रं भूयात्"
प्रकाशमा सदैव भर्गो ज्योतिको उपस्थिति रहोस्।
श्लोकले ज्ञानको दिव्य शक्ति बारे चर्चा गर्दछ। कुनै अन्धकार कुनामा प्रकाश पुग्नासाथ त्यहाँ के के रहेछ भनेर देखिन्छ। चिजहरू देखिएपछि एकातर्फ त्यहाँ केही छैन भन्ने भ्रम हटिसकेको हुन्छ भने अब त्यहाँबाट प्रकाश हटे पनि त्यहाँ के छ भन्ने ज्ञान हामीले प्राप्त गरिसकेका हुन्छौँ। त्यो बारेको नयाँ ज्ञान भर्गो ज्योति हामीले प्राप्त गरिसकेका हुन्छौँ। तपाईँले अर्को पटक फेरि त्यहाँ प्रकाश दिनुहुँदा, यदि तपाईँले फेरि मात्र त्यही देख्नुभयो जुन तपाईँले पहिले देख्नुभएको र अनुभूति गर्नुभएको थियो भने त्यहाँ प्रकाश त पर्यो तर तपाईँले भर्गो ज्योति प्राप्त गर्नु सक्नुभएन। यो श्लोकले तपाईँलाई हरेक ज्ञानमा भर्गो ज्योतिको उपस्थिति रहोस् भनेको छ। तपाईँको ज्ञान रूपी प्रकाशको स्रोतमा नियमित भर्गो ज्योतिको यहाँ अनिवार्यता महसुस गरिएको छ। दिपावलिमा तपाईँले बाल्ने हरेक प्रकाशको स्रोतले नयाँ भर्गो ज्योतिको जरुरतको संकेत गर्दछ। त्यसैले दिपावलीको शुभ र उज्यालोको प्रकृतिलाई जनाउन त्यहाँ असंख्य दीपहरू बालेर अन्धकारलाई हटाउने मात्र होइन, हरेक प्रकाश रूपी ज्ञानमा भर्गो ज्योति रहेको निश्चय गर भन्ने संदेश दिन्छ। जसले तपाईँलाई ज्ञान प्राप्ति जीवनको एक नियमित यात्रा हो। एक अविचलित यात्रा हो भन्ने प्रष्ट संदेश दिन्छ।
अथर्ववेद १९.५३.५
"दीपो ज्योतिर् अभा भवतु सर्वत्र"
प्रकाशले हरेक पक्षमा सन्तुलित उज्यालो ल्याओस्।
यो ऋचा जीवनमा आफुले जान्न खोजेको विषयवस्तु बारेको ज्ञान प्राप्ति, त्यसको हरेक पक्षको सन्तुलित ज्ञान लिएर त्यसले दिने समग्र भर्गो ज्योतिको प्राप्ति मार्फत मात्र सम्भव हुने तथ्य अघि सार्दछ। जसरि दीपहरू बालेर हरेक कुनामा उज्यालो र समृद्धि त पुग्छ तर त्यही दीपको मुनि भने अध्यारो हुन्छ। अलि पर कम उज्यालो हुन्छ। कुनै स्थानमा ठीक्कको उज्यालो हुन्छ। त्यस्तै, एक भर्गो ज्योति मात्र समग्र विषय जान्न सम्भव हुँदैन। पहिलो भर्गो ज्योतिले दिएको ज्ञानको उपयोग गरी अर्को भर्गो ज्योति मार्फत छुटेको पक्ष बारे ज्ञान लिनु जरुरी हुन्छ। जब समग्र ज्ञान प्राप्ति हुन्छ, त्यसको आधारमा बनाइएको अनुभूति परिपक्व र जीवन उपयोगी हुन्छ। शान्ति र सुखको आह्वानमा त्यसले सहयोग गर्न सक्छ। आपसी भाइचारा त्यस्तै ज्ञानको ज्योतिले विकास गर्न सक्छ। मानवता त्यस्तै अनुभूतिहरूले विकास गर्दछ।
यी तीन श्लोकहरूले दिपावलीको मुख्य उद्देश्य माथि प्रकाश पार्दछन्। अज्ञानमाथि ज्ञान, असलमाथि सत्यको विजय गर्ने र जीवनको यात्रालाई विजय पथमा लान यसले मार्गदर्शन गर्ने गर्दछ।