प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
हनुमान चालीसा
हनुमान (Hanuman) शब्द संस्कृतका दुई मुख्य शब्द "हनु" (अहङ्कार वा नकारात्मक भावनाहरू) र "मान" (विजय मार्फत प्राप्त स्वाभिमान) मिलेर बनेको छ। सनातनी मान्यतामा, यो शब्दले यस्तो शक्तिलाई जनाउँछ, जसले मानिसलाई अहङ्कार, आलस्य, र भय जस्ता नकारात्मक पक्षहरूमा विजय प्राप्त गर्न सहयोग गर्दछ र स्वाभिमानमा जीवन्त रहन प्रेरित गर्दछ। त्यसैले, हनुमान एक भक्तिको प्रतीक हुन्, जसले अडिग आस्था, निःस्वार्थ सेवा, र असीम शक्तिको प्रदर्शन गरेर व्यक्तिको व्यक्तित्वलाई उन्नत बनाउने क्षमता दिन्छन्।
चालिसा (Chalisa) शब्द संस्कृतको "चत्वारिंश" बाट आएको हो, जसको अर्थ ४० भन्ने लाग्छ। हनुमान चालिसा भनेको हनुमानजीको महिमा, शक्तिहरू, र दिव्य कृपाको वर्णन गरिएको ४० श्लोकहरूको सङ्ग्रह हो। प्रत्येक श्लोकमा हनुमानजीका गुणहरू, साहस, भक्तिपूर्ण जीवनशैली, र उनको आन्तरिक आस्थाको (रामप्रतिको) तागतलाई उपयोग गर्ने समर्पणको विस्तृत प्रस्तुति छ।
सनातन संस्कृतिमा, हनुमान चालिसा केवल भजन वा स्तुति मात्र होइन, यो मानव मनको शक्ति र आत्म-उन्नतिको मार्गदर्शन हो। विज्ञानले आफ्नो क्षमता क्वान्टम विज्ञानको तहसम्म पुर्याएर भौतिक क्वान्टम कण र त्यसको शक्तिको पहिचान गर्नु धेरै पहिले, अथर्ववेदमा आधारित हनुमान चालिसा र गणेश वन्दना मार्फत सनातन धर्मका अनुयायीहरूमा यी कुराहरू पहिल्यै पुर्याइ सकिएको थियो। व्यक्तिको मानसिक र शारीरिक शक्तिको तागतबारे हनुमान चालिसा र गणेश वन्दना व्यापक चर्चा छ।
हाल आएर, यी सिद्धान्तहरू विज्ञानले पनि स्विकार्न बाध्य भएको छ। हनुमान चालिसामा उल्लेख गरिएका ती ऊर्जाहरू नै त्यस्ता शक्तिहरू हुन्, जसले प्रत्येक मानिसलाई नकारात्मकता र समस्याहरूबाट कसरी पार पाउने उपाय सिकाएर उसको जीवनलाई वास्तविक अर्थमा परिवर्तन गरिदिन्छ। हनुमान चालिसाले उमेर लाई वास्तवमै जिन्दगीमा परिवर्तन गरिदिन्छ। निराश जीवनलाई रसपूर्ण जीवनमा रूपान्तरण गर्न मद्दत गर्छ।
अष्ट सिद्धिहरू आठ वटा दैवी ज्ञान हुन् जसले आठ वटा दैवी शक्तिहरूको ज्ञानलाई जनाउँछ।
अणिमा महिमा चैव लघिमा गरिमा तथा ।
प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्ट सिद्धयः ।।
।। हनुमान चालीसा र गणेश वन्दना।।
सनातन वैदिक मान्यता अन्तर्गतका हनुमान चालिसा र गणेश वन्दनामा उल्लेख गरिएका ती शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशीत्व हुन्। यी आठ सिद्धिहरूलाई वेद र विज्ञानको दृष्टिकोणबाट व्याख्या गर्दा तिनीहरूले निम्न अर्थ दिने गर्दछ:
अणिमा (Anima) को अर्थ हुन्छ अत्यन्त सानो कणको स्वरूपमा परिवर्तन हुन सक्ने शक्ति। शक्ति न त पैदा नै हुने न त नष्ट हुने यो मात्र एक रूप वाट अर्को रूपमा रूपान्तरण हुने वैज्ञानिक तथ्यको कारण सूक्ष्म कणहरूको अणिमा वृतिको कारण रहेको वेदको मान्यता छ। क्वान्टम स्तरमा कणहरूले पैदा गर्ने द्वैत प्रकृतिको कणको तरङ्ग (Wave-Particle Duality) लाई जनाउने गर्दछ। जुन क्वान्टम कणहरूको गुण वा संसार सँग सम्बन्धित रहन्छ।भगवान् हनुमान चालिसामा सीतालाई लङ्कामा खोज्न जाँदा हनुमान ले यही शक्ति प्रयोग गरेर आफ्नो शरीरको आकार घटाउनु भएको सन्दर्भ आउने गर्दछ।
सूक्ष्म कणहरूको अनन्त ठुलो आकार धारण गर्न सक्ने शक्ति लाई महिमा (Mahima) गुण भनिन्छ। क्वान्टम क्षेत्रको अनन्तताका कारण हुने ब्रह्माण्डको विस्तार (cosmic expansion) लाई वैदिक मान्यतामा प्रकृतिको महिमा (Mahima) गुण भन्ने गरिन्छ। सनातन धर्म अन्तर्गत भगवान् विष्णुले वामन अवतार वाट आफूलाई अनन्त रूपमा रूपान्तरण गरी महाबलीलाई पराजित गर्नु प्रयोग गर्नुभएको शक्ति पछि विज्ञान अन्तर्गत क्वान्टम क्षेत्रमा सूक्ष्म कणहरूको अनन्त ठुलो आकार धारण गर्न शक्ति भनेर पहिचान भएको देखिन्छ। अर्कोतर्फ हनुमानले लङ्का जलाउने प्रयोजनमा र लक्ष्मणका लागि सञ्जीवनी बुटी ल्याउन सुमेरु पर्वत उठाएर ल्याउन प्रयोग गरेको शक्ति समेत ब्रह्माण्डको विस्तार (Cosmic Expansion) शक्ति वृति अर्थात् महिमा (Mahima) गुण थियो।
कणको आफूलाई अत्यन्त हल्का बनाएर भार विहीन बन्न सक्ने शक्ति लाई लघिमा (Laghima) शक्ति भनिन्छ। जसलाई पछि विज्ञानले क्वान्टम टनलिङ र ग्राभिटीको अवधारणा (Concept of Quantum Tunneling and Overcoming Gravity) लाई पार गर्ने क्षमता भनेर पहिचान गर्न सक्यो। क्वान्टम टनलिङ र ग्राभिटी विहीनता गर्ने शक्तिको उपयोग गरी आफ्नो शरीरको तौललाई पखेटाको जत्तिकै हल्का बनाउन, उड्न र आकाशमा तैरिएर आफूले चाहेको ठाउँमा पुग्न हनुमानले अन्य धेरै देवताहरूको प्रसङ्गमा समेत चर्चामा आउने लघिमा (Laghima) शक्ति उपयोग गरेर उनी लङ्का पुगे र फर्किएको प्रसङ्ग मार्फत शक्तिको लघिमा (Laghima) वृतिको व्याख्या हो।
क्वान्टम कणको अत्यन्त गहिरो र अत्यधिक घना ऊर्जा वा भार धारण गर्ने शक्तिको सिद्धान्त लाई वेदमा गरिमा (Garima) भनिन्छ। क्वान्टम भौतिकी अन्तर्गत पहिचान भएको द्रव्य-ऊर्जा समतुल्यता (Mass-Energy Equivalence) को सिद्धान्तले शक्तिको गरिमा (Garima) गुणको पहिचान गरेको हो। व्यक्ति लाइ गहन विचारको प्राप्ति, अत्यधिक घना ऊर्जा वा भार धारण गर्ने क्षमता द्रव्य-ऊर्जा समतुल्यता (Mass-Energy Equivalence) को सिद्धान्त अनुरूप सम्भव हुन्छ। यो सिद्धि रावणको सभामा अङ्गदले प्रस्तुत गरेका थिए। यही सिद्धि प्रयोग गरेका कारण रावणको सभामा कुनै पनि व्यक्तिले अङ्गदको खुट्टा हल्लाउन सकेनन्। त्यस्तै हनुमानले बुढो बाँदरको रूपमा भेष बदलेर यो शक्ति प्रयोग गरी भीमको अहङ्कार लाई चूर्ण गर्न उपयोग गरेका थिए। त्यो समयमा भीमले हनुमानको पुच्छर उठाउन असमर्थ बने। किनकि हनुमानले गरिमा (Garima) सिद्धान्तको उपयोग गरी कम तौलको पुच्छर अत्यन्त भारी तौलको बनाउन सकेका थिए।
क्वान्टम कणले आफ्नो तौललाई न्यूनतम बाट अनन्तसम्म बढाउन कणको अनन्त स्थान र समय पार गर्दै कुनै पनि ठाउँमा पुग्न सक्ने क्षमता लाई त्यसको प्राप्ति (Prapti) शक्तिको रूपमा पहिचान गरिन्छ। विज्ञानले यही शक्तिलाई भर्खरै मात्र कणको क्वान्टम अन्तर सम्बन्ध (Quantum Entanglement) को अवधारणा र आपसमा इनट्याङ्गल रहेका कणहरू बिच हुने सूचना स्थानान्तरण गर्ने शक्तिको रूपमा पहिचान गर्न र प्रमाणित गर्न सफल बनेको छ। सनातन मान्यतामा सिद्ध योगी सर्वत्र उपस्थित देखिने गुण यही कुराको प्रमाण थियो। जब व्यक्ति कुनै कुराको प्राप्तिमा लगातार सम्पूर्ण शक्ति लगाएर लाग्दछ त्यो उसलाई प्राप्त हुन्छ भन्ने कुरा सनातन अन्तर्गत कडा तपस्या बापत प्राप्त हुने वरदान भनी व्याख्या हुने गर्दछ। आफ्नो इच्छा अनुसार कुनै पनि वस्तु प्राप्त गर्न प्राचीन सनातन शास्त्रहरूमा धेरै देवता र असुरहरूले तपस्या गरी सो परमेश्वर वाट वरदानको रूपमा प्राप्त गरेको वर्णन उल्लेख भएको छ। जुन यथार्थमा क्वान्टम कणको क्वान्टम अन्तर सम्बन्ध (Quantum Entanglement) को अवधारणा र आपसमा इनट्याङ्गल रहेका कणहरू बिच हुने सूचना स्थानान्तरण गर्ने शक्तिको उपयोग गरिएको उदाहरणको साक्षी नै हो।
सोच जस्ता अत्यन्त सूक्ष्म कणको कुनै पनि इच्छा वा कार्य पूरा गर्ने शक्ति हुन्छ। चेतना जस्ता परा कण निर्मित हुने उक्त प्रकारका सूक्ष्म कणको शक्तिलाई वा सिद्धि लाई प्राकाम्य (Prakamya) भनिन्छ। जसलाई हालै विज्ञानले क्वान्टम सम्भावनाहरू (quantum possibilities) र इच्छा शक्तिको प्रभावको रूपमा पहिचान गरेको छ। कणको प्राकाम्य (Prakamya) गुणका कारण कुनै पनि इच्छालाई वास्तविकतामा प्रकट गर्न सक्ने शक्ति उपलब्ध हुन्छ। सिद्ध योगीहरू पानी मुनि बाँच्न, अर्को व्यक्तिको शरीरमा प्रवेश गर्न, विज्ञान अन्तर्गत टेलिपोर्ट गर्न सकिने सम्भावना सैद्धान्तिक रूपमा प्रमाणित गर्न सकिनु, व्यक्तिले आफ्नो जीवनलाई लामो समय सम्म जीवित राख्न सक्नु, आफू प्रतिकुल परिस्थितिलाई आफू अनुकूल बनाउन सक्नुको पछाडि सूक्ष्म कणको प्राकाम्य (Prakamya) वृति वा क्वान्टम सम्भावनाहरू (quantum possibilities) को भूमिका देखिन्छ। जब भगवान् विष्णुले वामन अवतार लिएर राजा बलिसँग तीन पाइला भूमिको दान माग्नुभयो, उहाँले आफ्नो प्राकाम्य शक्ति प्रयोग गरी आफ्नो इच्छालाई वास्तविकता बनाउनुभयो। पहिलो पाइलामा उहाँले सम्पूर्ण पृथ्वीलाई नाप्नुभयो, दोस्रो पाइलामा सम्पूर्ण आकाशलाई, र तेस्रो पाइलामा बलिलाई नमन गर्न बाध्य पार्दै उहाँले आफ्नो इच्छालाई परिपूर्ण बनाउनु भयो। यो घटना प्राकाम्य गुणको एउटा उत्कृष्ट उदाहरण हो, जसमा भगवान् विष्णुको आफ्नो आफ्नो रूप र कार्य परिवर्तन गर्ने अद्भुत शक्ति इच्छा अनुसार इच्छा पूर्ति गर्ने प्रयोजनमा उपयोग गर्न सक्नु भयो।
सृष्टिको पूर्ण नियन्त्रण गर्ने शक्तिलाई ईशित्व (Isitva) शक्ति भनिन्छ। जसलाई विज्ञानले क्वान्टम सृजनात्मकता (quantum creation) र ब्रह्माण्डीय ऊर्जाको नियन्त्रण (Control Over Cosmic Energy) भनेर पहिचान गरेको छ। ईशित्व (Isitva) ले व्यक्तिलाई भगवानको (प्रकृति) जस्तै शक्ति प्रदान गर्दछ र प्रकृतिको कुनै पनि कुरा नियन्त्रण र प्रभावमा लिने क्षमता दिन्छ। हाल यो सिद्धिको प्रयोगद्वारा मङ्गल ग्रहमा बस्ती बसाल्न, तुरुन्तै पानी पार्न, हावाको दिशा परिवर्तन गर्ने जस्ता कुराहरू सम्पन्न भएको छ। भविष्यमा पृथ्वीको गति समेत नियन्त्रण गर्न सकिने सैद्धान्तिक रूपमा सम्भव देखिएको छ। यसै अन्तर्गत व्यक्तिले आफ्नो आत्मालाई शरीरबाट अलग गर्ने सक्ने शक्ति पनि प्राप्त गर्न सम्भव हुने मानिन्छ। भगवान् कृष्णको गोवर्धन पर्वत उठाउनु भएको कथा ईशित्व (Isitva) शक्ति अर्थात् क्वान्टम सृजनात्मकता (quantum creation) र ब्रह्माण्डीय ऊर्जाको नियन्त्रण (Control Over Cosmic Energy) शक्ति अस्तित्वमा रहेको वैदिक बुझाइको प्रमाण हो। जब इन्द्रले गोप, गोपी र गाईहरू लाई दण्ड दिन भारी वर्षा र आँधीको बर्सात गरे तव कृष्णले आफ्नो ईशित्व शक्ति प्रयोग गरेर गोवर्धन पर्वतलाई एउटा औँलामा उठाउनु भयो। यसले सम्पूर्ण गोकुल वासीलाई आँधी र वर्षाबाट सुरक्षित राख्यो। यसले सृष्टिमा रहेको दैवी चेतनाको प्रकृतिलाई नियन्त्रण गर्न, वातावरण परिवर्तन गर्न र मानिसहरूको रक्षा गर्न सक्ने क्षमता हुने स्वीकारेको देखिन्छ। कृष्ण चेतनाको प्रकृतिका पानी, हावा र पृथ्वी जस्ता तत्वहरू लाई आफ्नो इच्छाअनुसार नियन्त्रण गर्ने सफल भएको भनिएको छ।
सबै चीजमा आफ्नो नियन्त्रण राख्ने शक्ति लाइ वशीत्व (Vasitva) शक्ति भनिन्छ। जसलाई विज्ञानले ब्रह्माण्डीय शक्ति (Cosmic Energy) र क्वान्टम क्षेत्रको प्रभुत्व (The dominance over the quantum field) सँग सम्बन्धित शक्ति भनेर चर्चा गर्दछ। यसले सिद्ध योगीलाई कुनै पनि व्यक्ति वा जनावरलाई वशमा पार्न र तिनको मन नियन्त्रण गर्न सक्ने क्षमता प्रदान गर्छ भन्ने सिद्धान्त दिन्छ । यो शक्ति प्रयोग गरेर योगीले ब्रह्माण्डका पाँच तत्वहरू लाई वशमा पार्न र कुनै पनि व्यक्ति वा वस्तुलाई पराजित गर्न सक्छ भन्ने मानिन्छ। भागवत पुराणमा उल्लेख गरिए अनुसार यमुना नदीमा काली नागले विषालु बनाएको पानीले गोकुलवासीहरू पीडित बने। भगवान् कृष्णले आफ्नो वशित्व शक्ति प्रयोग गरेर काली नागलाई वशमा पार्नुभयो। उहाँले काली नागको फणामा नृत्य गरेर उसलाई पराजित गर्नुभयो र वचन दिलाउनुभयो कि उसले गोकुल र यमुना नदी छोड्नेछ। जहाँ कृष्ण चेतनाको अद्वितीय क्षमता प्रयोग गरी काली नागजस्तो शक्तिशाली प्राणीलाई वशमा पार्न सम्भव भयो। यसले ब्रह्माण्डीय शक्ति (Cosmic Energy) र क्वान्टम क्षेत्रको प्रभुत्व (The dominance over the quantum field) जस्ता शक्तिको बारे वैदिक समुदाय परिचित रहेको प्रमाण दिन्छ जुन विज्ञानले भर्खर पहिचान गर्दै छ।
हनुमान चालीसामा रहेका प्रत्येक श्लोकले तलका ४० मध्ये कुनै न कुनै आत्मज्ञानको चरणको मार्गबारे चर्चा गर्दै त्यसप्रति अग्रसर हुन मानिसलाई प्रेरित गर्छ।
१. शुद्ध हृदय: हृदयलाई प्रेम, करुणा, र दया भरि शुद्ध बनाउने।
२. श्रद्धा र विश्वास: परमात्माप्रति गहिरो आस्था र अडिग विश्वास।
३. निष्ठा र समर्पण: आफ्नो लक्ष्यप्रति पूर्ण समर्पण।
४. विनम्रता: अहंकारको परित्याग र विनम्रताको अभ्यास।
५. साहस र धैर्य: चुनौती र समस्याहरू सामना गर्ने क्षमता।
६. निःस्वार्थ सेवा: आफ्नो कर्तव्य निःस्वार्थ भावनाबाट पूरा गर्ने।
७. सदाचार: सत्य, धर्म, र न्यायको पालन।
८. आत्मबल: आन्तरिक बल र आत्मविश्वासको विकास।
९. संकल्प शक्ति: आफ्नो लक्ष्य प्राप्तिका लागि दृढ संकल्प।
१०. प्रेरणा: आफूलाई र अरूलाई प्रेरित गर्ने क्षमता।
११. ध्यान: मनलाई स्थिर राख्न ध्यानको अभ्यास।
१२. वैराग्य: संसारिक मोहबाट मुक्त भएर आत्मज्ञानतर्फ अग्रसर।
१३. ज्ञानप्राप्ति: शिक्षाको महत्व र ज्ञानको खोज।
१४. शान्ति: आन्तरिक शान्तिको अनुभव।
१५. सम्बल प्रदान: अरूलाई सहयोग र सम्बल प्रदान गर्ने।
१६. दया भावना: सबै प्राणीप्रति दया र करुणा।
१७. त्याग भावना: व्यक्तिगत इच्छाहरू त्याग्न तयार रहनु।
१८. सत्यताको पालना: जीवनमा सत्य बोल्न र त्यसलाई जीवन्त बनाउन।
१९. मित्रता: सबैप्रति मित्रतापूर्ण व्यवहार।
२०. अनुशासन: जीवनमा अनुशासनको पालना।
२१. धैर्यता: सहनशीलता र धैर्यको अभ्यास।
२२. सकारात्मक सोच: सकारात्मक दृष्टिकोण अपनाउनु।
२३. आत्मचिन्तन: आत्मसमीक्षा गरेर आफ्नो कमजोरी सुधार गर्नु।
२४. सन्तोष: सन्तुष्ट र कृतज्ञ हुनु।
२५. निर्भयता: भयको परित्याग।
२६. सद्भावना: सबैप्रति सद्भाव राख्नु।
२७. दृढता: आफ्नो लक्ष्यमा दृढ रहनु।
२८. उदारता: उदारता र परोपकारको अभ्यास।
२९. आत्मनिरीक्षण: आफ्नो मनोवृत्तिलाई समय-समयमा मूल्याङ्कन गर्नु।
३०. आदर्श जीवनशैली: आदर्श जीवन बाँच्ने प्रयास।
३१. कठिन परिस्थितिमा धैर्यता: चुनौतीका क्षणमा पनि धैर्यता कायम राख्ने।
३२. सहिष्णुता: मतभेदमा पनि सहिष्णुता।
३३. आत्मसंयम: आफ्नो वाणी, व्यवहार र इन्द्रियमा नियन्त्रण।
३४. धर्मको पालना: धर्म र कर्तव्यको पालन।
३५. जीवनको उद्देश्यको खोज: जीवनको उच्चतम उद्देश्य पत्ता लगाउने प्रयास।
३६. आध्यात्मिक अभ्यास: प्रार्थना, पूजा, र ध्यानद्वारा आत्मज्ञानतर्फ लाग्ने।
३७. दिव्यता अनुभव: ईश्वरको नजिक पुग्ने प्रयास।
३८. आध्यात्मिक बल: आत्मज्ञानको माध्यमबाट बल प्राप्त गर्ने।
३९. शक्तिको सही प्रयोग: प्राप्त शक्तिहरूलाई सही दिशा दिनु।
४०. मुक्ति (मोक्ष): आत्मज्ञान र पूर्ण शान्तिको प्राप्ति।
हनुमान चालीसा केवल एक भजन वा स्तुति मात्र नभई, मानव जीवनको आध्यात्मिक र उन्नतिको मार्गदर्शन गर्ने ग्रन्थ हो। वैदिक आध्यात्मिक दृष्टिकोणले हनुमानलाई एक अद्वितीय शक्तिको प्रतीक मान्छ, जसले भक्तिलाई निःस्वार्थ सेवा र अडिग आस्थासँग जोड्छ। चालीसाका प्रत्येक श्लोकले व्यक्तिलाई आफ्नो आन्तरिक शक्ति पहिचान गर्न, अहंकार, भय र नकारात्मकता जस्ता सीमितताहरूलाई पराजित गर्न र आत्मज्ञानको मार्गतर्फ अग्रसर हुन प्रेरित गर्दछ। हनुमानजीको साहस, ज्ञान, र समर्पणले मानवको ब्रह्माण्डीय ऊर्जा र आत्मिक क्षमताको प्रयोगद्वारा जीवनलाई उच्चतम उद्देश्यतर्फ निर्देश गर्न सकिन्छ भन्ने सन्देश दिन्छ।
क्वान्टम ऊर्जा दृष्टिकोणबाट हेर्दा, हनुमान चालीसामा वर्णित सिद्धिहरू – अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व, र वशित्व – मानव चेतना र ब्रह्माण्डीय ऊर्जा बीचको अन्तरक्रियालाई झल्काउँछन्। हरेक श्लोकले ऊर्जा, चेतना, र समय-स्थानको वास्तविकतालाई पुनः परिभाषित गर्दै मानिसलाई आफ्नो सीमाहीन क्षमताहरूको याद दिलाउँछ। हनुमान चालीसा जीवनको गहिराइ बुझ्ने, समस्या पार गर्ने, र आत्म-प्रकाशतर्फ उन्मुख हुने एक साधन हो, जसले व्यक्तिलाई आफ्नो वास्तविक स्वरूप र शक्तिसँग पुनः जोड्न सहयोग गर्दछ।