प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
॥शिवपुराण, रुद्रसंहिता, सतीखण्ड, अध्याय ४३॥
अद्वितीये परे तस्मिन्ब्रह्म्ण्यात्मनि केवले ।
अज्ञः पश्यति भेदेन भूतानि ब्रह्मचेश्वरम् ॥
॥शिवपुराण, रुद्रसंहिता, सतीखण्ड, अध्याय ४३, श्लोक १४॥
ब्रह्म जसलाई आत्मा भनिन्छ त्यो अद्वितीय छ। दोस्रो विहीन छ। अर्थात् अद्वैत छ। अज्ञानी व्यक्तिहरू विभिन्न जीवहरूमा रहेको ब्रह्मलाई फरक फरक रूपमा चिन्ने गर्दछन्। ब्रह्माकै सार अस्तित्वको रूपमा रहेका ईश्वरहरू (जस्तै ब्रह्म, विष्णु र महेश्वर) बिच पनि भिन्नता रहेको अनुभव गर्ने गर्छन्।
शिरःकरादिस्वांगेषु कुरुतॆ न यथा पुमान् ।
पारक्यशॆमुषीं क्वापि भूतॆश्वेवं हि मत्परः॥
॥शिवपुराण, रुद्रसंहिता, सतीखण्ड, अध्याय ४३, श्लोक १५॥
जसरी शरीर त्यसको टाउको वा हात आदि जस्तो आंशिक अस्तित्वमा सीमित हुँदैन। समग्र अस्तित्वको एकीकृत रुपलाइन प्रतिनिधित्व गर्दछ। त्यसरी नै ज्ञानीहरूले फरक फरक भूमिकाको व्याख्या गर्ने प्रयोजनमा उपयोगमा ल्याइएका ईश्वरका फरक फरक भूमिकाको समग्रता लाई ईश्वर रूपको सम्पूर्ण भूमिकाको एकीकृत अद्वैत अस्तित्वलाई बुझ्नु पर्दछ। फरक फरक भूमिकाको व्याख्या गर्ने प्रयोजनमा ल्याइएका फरक फरक देवताहरू मध्ये कुनै एकमा मात्र सीमित भएर त्यसैलाई ईश्वर मानेर गरिने अध्यात्मले वास्तविक ईश्वरको पहिचान हुन वा ज्ञान प्राप्त हुने गर्दैन।
सर्वभूतात्ममेकभावानां यो न पश्यति ।
त्रिसुराणां भिदां दक्ष स शांतिमदिगछ्चति ॥
॥शिवपुराण, रुद्रसंहिता, सतीखण्ड, अध्याय ४३, श्लोक १६॥
जो व्यक्तिले सबै प्राणीहरूमा रहने ईश्वर रुपी त्रिदेव (ब्रह्मा, विष्णु र शिव) बिच भिन्नता नरहेको अनुभूति गर्दछ उसले नै शान्ति (अहिंसा युक्त नैतिक मानवीयताको गुण) प्राप्त गर्दछ।
यः करॊति भेदबुद्धिं त्रिदेवेषु नराधमः ।
नरके स वसेन्नूनं यावदाचंद्रतारकम् ॥
॥शिवपुराण, रुद्रसंहिता, सतीखण्ड, अध्याय ४३, श्लोक १७॥
फरक फरक व्यक्ति वा प्राणीहरूमा निवास गर्ने ईश्वर रुपी त्रिदेव (ब्रह्मा, विष्णु र शिव) बिच भिन्नता देख्ने वा अनुभूति गर्ने व्यक्ति चन्द्रमा र ताराहरूको (सूर्य) अस्तित्व रहुन्जेलसम्म एक दीन व्यक्तिको रूपमा (हिंसा प्रेमी, अनैतिक र अमानवीय पापी गुण वृतिमा) नर्कमा बाँचिरहन्छ।
सनातन पद्धति धर्म (प्राकृतिक नियमको सिद्धान्त) वारेको शिक्षामा केन्द्रित छ।
यसमा अन्तर्निहित ज्ञानको भण्डार लाइ तीन तहको फिल्टर मार्फत परीक्षण गरिन्छ।
१) स्वभाव (svabhāva) – शिक्षा दिने र शिक्षा प्राप्त गर्ने व्यक्तिको चरित्र वा स्वभाव। व्यक्तिले आफ्नो चित्त वृति अनुरूप फरक फरक गहिराइको हदमा ज्ञानको प्राप्ति र अनुभूति सम्भव हुन्छ। त्यसैले व्यक्तिको स्वभाव अनुसार (उसको इच्छा र बौद्धिक क्षमता) उनीहरूलाई फरक-फरक शिक्षा उपलब्ध गराउने गरिन्छ।
२) भूमिका (bhūmika) – शिक्षक र विद्यार्थीको शिक्षा र प्राप्त शिक्षाको उपलब्धि। व्यक्तिले प्राप्त गरेको शिक्षाहरू लाई उसले कसरी ग्रहण गर्छ, मनन गर्छ र त्यसलाई व्यवहारमा लागु गरेर कस्तो प्रगति गर्छ त्यसको आधारमा उसले कुन तहको शिक्षा र जीवन पद्धतिको ज्ञान दिने भन्ने निश्चय गरिन्छ।
३) अधिकार (adhikāra) – व्यक्तिले प्राप्त गरेको शिक्षालाई कुन हदमा बुझ्ने, ग्रहण गर्ने र त्यसलाई व्यवहारमा उतार्ने गर्दछ त्यही अनुसार उसलाई त्यो भन्दा गहन शिक्षा दिने वा नदिने पन्ने पक्षको निश्चय गरिन्छ। जुन कसैले निर्णय गर्ने प्रकृतिको नभएर उ आफैले छान्ने र रोज्ने प्रकृतिको हुन्छ।
सनातन पद्धतिमा शिक्षा अधिकारीलाई तीन भागमा विभाजन गर्ने गरिन्छ:
१) उत्तम अधिकारी (Uttama adhikāris) – उच्च शिक्षित र बुद्धिमान व्यक्ति जो दर्शनशास्त्र, आध्यात्मिक ज्ञान र उच्च शिक्षाहरूमा दक्खल राख्ने गर्दछन् र त्यसको ज्ञान दिने हैसियतमा आफूलाई पुर्याएको हुन्छन्। जस्तै वेदान्त, मीमांसा, योग आदि।
२) मध्यम अधिकारी (Madhyama adhikāris) – औसत बुद्धिमत्ता र उपलब्धि भएका व्यक्ति, सीमित क्षमता भएका व्यक्ति जो आफै जीवनमा केही उल्लेखनीय प्रगति गरेका हुँदैनन्। आफ्नो भविष्य र प्रगति र सम्भावना निर्माण भन्दा अर्काको भविष्य निर्माणको मध्यम स्तरको चेतना निर्माणमा भूमिका खेल्न सक्दछन् तिनीहरूलाई यस वर्गमा पर्दछन्। यिनीहरूलाई थोरै दर्शनशास्त्र र आधारभूत अभ्यास तथा प्राविधिक ज्ञानहरू दिने स्कुल, गुरुकुल, विश्वविद्यालय र प्राविधिक केन्द्र, आयुर्वेद आदिमा भूमिका खेल्न प्रेरित गरिन्छ। व्यक्तिको जरुरत र स्थिति अनुसार सैद्धान्तिक ज्ञान विज्ञानका कुराहरू सिकाइन्छ।
३) कनिष्ठ अधिकारी (Kaniṣṭha adhikāris) – साधारण व्यक्तिहरू जो कम शिक्षित हुन्छन् र कम उपलब्धि र शिक्षा आदिको ज्ञानमा सन्तुष्ट बन्दछन्। आधारभूत र सामान्य विषय बस्तुलाई बुझ्ने र व्यवहारमा उतार्ने तर गहिरा पक्षहरूमा कम क्षमता राख्ने गर्दछन्। यिनीहरूका लागि कथा-कहानीहरू, पर्वहरू, भोज-भतेर, परम्परा र रीतिरिवाजहरूको व्यवस्थापनको जिम्मा दिइन्छ। जस्तै कर्म काण्ड गर्ने व्यक्ति, पुरेत, पण्डित, बाचक, ज्योतिषी, तन्त्र, चिना हेर्ने, साइत जुराउने, पूजा आज्ञा गर्ने आदि। यी व्यक्ति हरुको भूमिका समाजलाई व्यस्त राख्ने, सकारात्मक कर्म गराउन प्रेरित गर्ने र नकारात्मक कर्मबाट ज्ञान दिएर भन्दा पनि केही भय रोपी अलि टाढा राख्न मद्दत गर्ने आदि हुन्छ।