प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
तस्मिन्नन्तक्षणे ताशें दैवी दृष्टिः प्रजायते ।
एकीभूतं जगत्सर्वं न किंचिद्वक्तुमीहते॥प्रेत कल्प २६॥
मृत्युको अन्तिम क्षणको (Near Death Experience) अवस्थाहरूमा व्यक्तिलाई सम्पूर्ण संसार एकमा विलीन भएको अनुभूति हुन्छ। त्यो समयमा उसले आध्यात्मिक दृष्टि (दैवी दृष्टि) पाएको हुन्छ। उक्त समयमा उ संग भन्ने वा सुनाउने केही पनि रहँदैन। त्यसैले केही भन्ने प्रयास पनि गर्दैन। मौन रहन्छ।
व्याख्या: मृत्युको अन्तिम क्षणमा (Near Death) पुग्दै गर्दा मस्तिष्कले प्राकृतिक पीडानाशक केमिकल इन्डोरफिन (endorphins) उच्च मात्रामा उत्सर्जन गर्दछ। इन्डोरफिनको कारण व्यक्तिले शारीरिक पीडाबाट छुटकारा पाउने हुँदा त्यो समयमा उसले शान्तिको अनुभूति गर्दछ।
केही वैज्ञानिकहरूले मृत्युको समयमा व्यक्तिमा समय-स्थानको भावनालाई मेटाउँदै बाहिरी संसारका सबै कुरा एक आपसमा विलीन भएर आफ्नो सम्पूर्ण अस्तित्व नै ब्रह्माण्डसँग मिलिरहेको एकताको गहिरो दर्शनात्मक (Mystical) अनुभूतिको महसुस गराउने डाईमिथाईल ट्रिपटामाइन (Dimethyltryptamine) जस्ता शक्तिशाली मस्तिष्क रसायन उत्सर्जन हुने मान्यता अघि सारेको भेटिन्छ।
त्यस्तै मृत्युको अन्तिम क्षणको अनुभूति (Near Death Experience) गरिरहँदा अधिक सक्रिय बन्ने मस्तिष्कको सेरोटोनिन प्रणालीका कारण व्यक्तिले आफ्नो फरक अस्तित्व कायम रहेको (State of Ego Dissolution) अनुभूति गर्न सकिरहेको हुँदैन। उसले आफ्नो शरीर र बाहिरी संसारका सबै कुरा एक आपसमा विलीन भएर एकै रूपमा मिलिरहेको अनुभूति गर्दछ।
अर्को तर्फ मस्तिष्कको डिफल्ट मोड नेटवर्कको (Default Mode Network) गतिविधिहरू मृत्युको समयमा निकै शिथिल बनिरहेको हुन्छ। जसले गर्दा आत्म-चेतना (self-awareness) र बाहिरी संसारको अस्तित्व बिचको भिन्नता उसको अनुभूतिमा मेटिएको महसुस भएको हुन्छ। त्यही समयमा रगतमा हुने अक्सिजनको कमीका (Hypoxia) कारण मस्तिष्कमा हुने असामान्य गतिविधिले समेत विकास गरेको गडबडी लाई उसको मस्तिष्कले सबै कुरा विलीन भएको रूपमा ग्रहण गरिरहेको हुन्छ।
यसरी मृत्युको समयमा देखिने यो प्रकृतिको जटिल अनुभवले मानिसलाई आफू ब्रह्माण्डको अंश बनेको महसुस गराउने जैविक आधारको विकाश गरिदिन्छ। यस प्रकृतिको तुलनात्मक रूपको जटिल प्रक्रियालाई सहज रूपमा व्यक्त गर्न वैदिक संस्कृतिमा त्यसलाई सम्पूर्ण संसार एकमा विलीन भएको शान्तिपूर्ण आध्यात्मिक दृष्टि (दैवी दृष्टि) प्राप्ति भनी बताउने गरिन्छ।