प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
दस्ताबेज : प्रदेश सरकार
गाँजा खेती नियमन तथा व्यवस्थापन ऐन २०८१ : ओपन प्रस्ताव
प्रस्तावनाः गाँजा खेतीको माध्यमबाट कृषक, घरेलु तथा साना उद्यमीको आर्थिक स्तर बढाउने उद्देश्यले व्यावसायिक तथा औद्योगिक प्रयोजनको हेतु औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा वैकल्पिक खाद्य तथा औषधीय उत्पादनमा प्रदेश भित्र व्यवस्थित गाँजा खेती गर्न तथा गाँजाको प्रशोधन, अनुसन्धान, बिक्री वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार तथा उपभोगको प्रयोजनमा गुणस्तरीय गाँजा उपलब्ध गराउन प्रदेश भित्र व्यवस्थित गाँजा खेती गर्न, आपूर्ति, प्रशोधन, कारोबार, भण्डारण र ढुवानी गर्ने कार्यलाई गैर अपराधीकरण गर्दै कानुनी व्यवस्था गर्न वाञ्छनीय देखिएकोले प्रदेश सभाले गाँजा खेती नियमन तथा व्यवस्थापन ऐन २०८१ जारी गरेको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस ऐनको नाम “गाँजा ऐन, २०८१” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:
(क) “अनुमति पत्र” भन्नाले गाँजा ऐन, २०८१ अन्तर्गत, अनुसूची–२ मा उल्लेखित वर्गका इजाजत पत्र वा इजाजत पत्रहरूको समूह पर्दछ । जसले गाँजा र यसका सबै प्रजातिहरू हरेक वर्गको लागि निर्धारित गरिए अनुरुप प्रदेश भित्र तोकिएको गतिविधिहरू सञ्चालन गर्न पाउने गरी गाँजा व्यवसायमा संलग्न हुन प्रदेश सरकारको औपचारिक अनुमति प्रदान गर्नेछ:
१) खेतीको लागि इजाजत पत्र
२) प्रशोधनको लागि इजाजत पत्र
३) विश्लेषणात्मक परीक्षणको लागि इजाजत पत्र
४) बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि स्थानीय खरिद-बिक्री)
५) बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने )
६) अनुसन्धानको लागि इजाजत पत्र
७) गाँजाको आयुर्वेदिक टनिक, आयुर्वेदिक ओखती तथा लागू औषध इजाजत पत्र
८) गाँजाको अन्य प्रयोगको लाइसेन्स जस्तै: गाँजा औषधालय (फार्मेसी) सञ्चालन।
९) गाँजाको एक भन्दा बढी बर्गमा पर्ने कार्य सञ्चालन।
हरेक प्रकृतिको इजाजत पत्र अन्तर्गत औपचारिक अनुमति प्रधान गरिने गतिविधिहरू अनुसूची–२ मा उल्लेख छ।
(ख) इजाजत प्राप्त निकाय” भन्नाले दफा ६ बमोजिम गाँजा व्यवसाय संचालनको लागि औपचारिक अनुमति प्राप्त व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था, सरकारी वा गैर सरकारी निकाय आदि सम्झनु पर्छ।
(ग) गाँजा उत्पादन भनेको गाँजाको बीउ बाट बीउ सम्म; बीउबाट उपभोग योग्य पदार्थ निर्माण सम्मको गाँजाको खेती गर्ने, प्रशोधन गर्ने लगायतका सम्भव हुने सबै प्रकारका मूल्य अभिवृद्धिका कार्यहरू जनाउँदछ। यस अन्तर्गत सामान्यतः गाँजाको बिउँ तथा बोट बिरुवा व्यवस्थापन गर्ने, खेती गर्ने, फसल काट्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने, ढुवानी गर्ने, बेबलिङ गर्ने, बिउँ तथा बेर्ना उत्पादन गर्ने र उत्पादित फसल तथा तिनका सार तत्त्वको मूल्य वृद्धि गरिने घरेलु, परम्परागत, आधुनिक वैज्ञानिक, सामाजिक तथा सांस्कृतिक मान्यताका गतिविधिहरू समेत पर्दछन्।
(घ) “कृषक तथा कृषक समुह” भन्नाले गाँजा खेति गर्न यस ऐन बमोजिम गाँजा उत्पादन अनुमति प्राप्त व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था आदिको समुह सम्झनु पर्छ । सो शब्दले गाँजा खेतीको लागि इजाजत पत्र प्राप्त कृषकहरुको समुह वा कृषि सहकारी समेतलाई जनाउँदछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १८ बमोजिम नियुक्त गाँजा नियमन तथा नियन्त्रण बोर्डको सदस्य सचिव तथा गाँजा नियमन तथा नियन्त्रण बोर्डको कार्यालयको अधिकार प्राप्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “गाँजा” भन्नाले गाँजाको सम्पूर्ण बोटको भाग जस्तै पात, फूल, बिउ, जरा वा फल सम्झनु पर्छ र सो शब्दले गाँजा जातको भाँग वा सिद्धको पात, फूल, बिउ वा फल, सङ्कलित सार तत्त्व, वासना, गन्ध आदि जनाउँदछ। गाँजाको प्राकृतिक वा कृत्रिम रूपमा गाँजाको सार तत्त्वको उपयोग भई बनेको मह, रस,खोटो, लिस्सा, चोव वा गाँजाको निस्सार वा निष्कर्ष र सम्भावित उत्पादनका गाँजा जन्य सामग्रीहरू लाई जनाउँदछ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तगत बनेको नियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।
(ज) “निरीक्षक” भन्नाले दफा २० बमोजिम नियुक्ति भएको, तोकिएको वा खटाईएको अधिकार प्राप्त जिम्मेवार व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ ।
(झ) “बोर्ड” भन्नाले दफा १५ बमोजिमको गाँजा नियमन तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय आधिकारिक सरकारी संयन्त्र “गाँजा नियमन तथा नियन्त्रण बोर्ड” भन्ने सम्झनु पर्छ।
(ञ) “मन्त्रालय” भन्नाले मूलतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय लगायत गाँजा नियमन तथा नियन्त्रण गर्ने प्रमुख भूमिका रहने भनी पहिचान भएका सम्पूर्ण सरकारी मन्त्रालयहरू लाई जनाउँदछ।
(ट) “लेबल” भन्नाले गाँजा उत्पादन राखिएको भाँडा, वा प्याकको आवरणमा लेखिएको, छापिएको वा अंकित भएको विवरण वा र संकेत सम्झनु पर्छ ।
(ठ) “समिति” भन्नाले दफा २३ बमोजिमको आधिकारिक जिम्मेवारी तथा अधिकार प्राप्त जिल्ला स्तरीय समितिहरू सम्झनु पर्छ।
(ड) "गाँजा औषधालय" भनेर कानुन द्वारा तोकिए अनुसार दक्ष चिकित्सकको सिफारिसमा औषधीय, आयुर्वेदिक ओखती, हिलिङ्ग खाद्य, सामाजिक तथा सामरिक महत्त्वको प्रयोजनको लागि वा अन्य प्रयोगको लागि गाँजा तथा गाँजामा मिश्रित उत्पादनको तोकिएको परिणाममा बिक्री वितरण गर्ने खुद्रा पसल लाई जनाउँदछ। कानुनी रूपमा मान्यता प्राप्त अनुसन्धान तथा अध्ययन तथा परीक्षणको कानुनले तोकेको दायराको खुद्रा अथवा ठुलो परिणाममा गाँजा तथा गाँजा मिश्रित पदार्थ बिक्री वितरण वा दान दिइने व्यवसाय तथा उद्यम लाई समेत "गाँजा औषधालय" भनिनेछ। गाँजा औषधालय गाँजाको मौजाद राख्न, कम्पाऊंन्डीङ्ग वा मिश्रण बनाउन, प्याकिङ गर्न आदि लगायत र बिक्री वितरण, निर्यात आदि गर्न कानुनी रूपमा प्राधिकार प्राप्त आधिकारिक उद्यम सम्झनु पर्दछ।
ढ) इजाजत पत्र वा अनुमति पत्र: प्रदेश भित्र गाँजाको कारोबारमा संलग्न हुन चाहने हरेक निकायले कारोबारमा संलग्न हुन अगावै अनिवार्य औपचारिक इजाजत प्राप्त गर्न अनिवार्य हुने छ। औपचारिक इजाजत प्राप्त गर्न ऐनको अधीनमा रहेर कुनै एक वा एक भन्दा बढी प्रकारको इजाजत पत्रको लागि लाइसेन्सको लागि तोकिए बमोजिम गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रार लाई आवेदन दिन पर्ने छ।
ण) प्रतिबन्ध, उमेर: उपदफा (ड) बमोजिमको आवेदन दिनको लागि एक व्यक्ति कम्तीमा १९ वर्षको हुनुपर्दछ। अन्य निकायको आवेदकको हकमा उक्त निकायको प्रत्येक सञ्चालक, अधिकृत र शेयर धारक कम्तीमा १९ वर्षको उमेर पुगेको हुनु पर्ने छ।
त) गाँजा र भाँगको पहिचान: गाँजामा हुने नशा दिने सार तत्त्व टिएचसि (delta9THC) अर्थात् शिव तत्त्वको मात्राको आधारमा गाँजा वा गाँजाको प्रजाति भाँग बिचको अन्तर यकिन गरिने छ। सुकेको गाँजा भनेर १० देखि १२% चिस्यान रहेको गाँजाको भागलाई जनाउने छ। १२% चिस्यान रहेको सुकेको गाँजामा सार १% भन्दा धेरै टिएचसि वा शिव तत्त्व रहेमा त्यसलाई गाँजा र १% वा सो भन्दा कम टिएचसि वा शिव तत्त्व युक्त गाँजालाई गाँजाको प्रजाति भाँग मानिने छ। १ प्रतिसत भन्दा कम टिएचसि वा शिव तत्त्व हुने गाँजाको प्रजाति हेम्प लाई भाङगोको नामले समेत जानिने छ।
थ) गाँजा व्यवसाय भन्नाले व्यापारिक वा अन्य पक्षलाई व्यापारिक लाभ उपलब्ध गराउने नियतले गाँजाको खेती गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै प्रकारको गाँजाको कारोबारमा संलग्न हुन, ओसार पसार गर्न, बिक्री वितरण गर्न, उपहार दिन, आयत वा निकासी गर्नु आदि सबै पर्दछन्। जसलाई यो ऐन द्वारा नियन्त्रित गाँजा व्यवसाय समेत मानिने छ। कानुनले तोकेको मात्राको निजी प्रयोजनको लागि हुने गाँजाको प्रयोग तथा १% वा सो भन्दा कम टिएचसि वा शिव तत्त्व हुने भाँग आदि भने प्रतिबन्धित गाँजाको कारोबार अन्तर्गत नपर्ने हुँदा उक्त गतिविधिहरू नियन्त्रित गाँजा व्यवसाय अन्तर्गत पर्ने छैन।
परिच्छेद २:
अनुमतिपत्र सम्बन्धी व्यवस्था
३. अनुमतिपत्र नलिई गाँजा गाँजा व्यवसाय गर्न (गाँजाको कुनै पनि प्रकार को कारोबारमा संलग्न हुन वा ओसारपसार गर्न वा बिक्रि गर्न वा आयत वा निकासी गर्न) प्रतिबन्ध गरिएको छ।
(१) कसैले पनि अनुमतिपत्र नलिई गाँजा खेति गर्न, कारोबारमा संलग्न हुन, ओसापासार गर्न र गाँजाको बिक्रि वितरण गर्न, आयात वा निर्यात गर्न पाउने छैन।
२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कामको लागि अनुमतिपत्र लिनुपर्ने छैनः
क) पाँच जना सम्म परिवार रहेको एक घर परिवारमा बढीमा दुई र पाँच भन्दा अधिक परिवार रहेको घर परिवारमा बढीमा चार वटा सम्म मानव तथा जनवारको औषधीय घरायसी प्रयोजनको लागि गाँजाको बोट उमार्न र आफ्नै लागि घरेलु रूपमा प्रयोग गर्न छुट हुने छ।
ख) कपडा बनाउने वा त्यस्तै अन्य औद्योगिक प्रयोजनको लागि रेसा उत्पादन गर्ने वा १% प्रतिशत भन्दा कम टिएचसि भएको खाद्य पदार्थको रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्रि वितरण गर्न।
४. गाँजा व्यवसायको लागि इजाजत चाहने उद्यमीलाई निवेदन आव्हान गरि सार्वजनिक सूचना जारी गर्ने:
(१) प्रदेश सरकारले सूचना प्रकाशन गरी यस ऐन बमोजिम गाँजा खेति र व्यवसाय गर्न निवेदन दिन सुचना जारी गर्ने छ। दश करोड भन्दा बढी लगानीको गाँजा व्यवसाय सञ्चालनको लागि तथा मुलुक बाहिर गाँजाको आयात वा निर्यातमा संलग्न हुने कारोबार अनिवार्य रूपमा गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रारको अफिसमा आवेदन दिई इजाजत पत्र प्राप्त गर्नु पर्ने छ। दस करोड भन्दा थोरै कारोबार हुने गाँजा व्यवसाय सञ्चालनको लागि जुन जिल्लामा गाँजा व्यवसाय सञ्चालन हुने हो त्यही जिल्लाको कृषि ज्ञान केन्द्रमा अवस्थित स्थानीय जिल्ला स्तरीय समितिहरू मार्फत आवेदन लिने व्यवस्था गरिएको छ।
२) उपदफा (१) बमोजिम स्थानीय तह वा क्षेत्रमा गाँजा खेतीको लागि इजाजत पत्र चाहने कृषकले आफ्नो वा एकाघर परिवारको दर्ता श्रेस्ता कायम रहेको जग्गामा गाँजा खेति गर्न पाउने अधिकतम क्षेत्रफल समेत तोक्नु पर्नेछ । विदेशी नागरिक तथा नेपालको नागरिकता नरहेका गैर आवासीय नेपाली लाई गाँजा खेतीको लागि इजाजत पत्र उपलब्ध हुने छैन। गाँजा खेतीको लागि इजाजत प्राप्त गर्न व्यक्तिको हकमा नेपाली नागरिक मात्र तथा अन्य निकायको आवेदकको हकमा उक्त निकायको प्रत्येक सञ्चालक, व्यवसायका सम्पूर्ण हिस्सेदार अनिवार्य रूपमा नेपाली नागरिक रहेको हुनु पर्ने छ। गाँजा खेतीको लागि दिइने इजाजत पत्र बाहेक अन्यमा नागरिकता सम्बन्धको अनिवार्य प्रावधान प्रावधान राखिएको छैन।
३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो वा एकाघर परिवारको नाममा नेपालभर कँही पनि जग्गा नभएकाहरुको हकमा नेपाल सरकारको अधिकार प्राप्त निकायको स्विकृतिमा नेपाल सरकारको कुनै जग्गा वा कुनै अन्य व्यक्तिको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर गाँजा खेति गर्न तोकिए बमोजिम अनुमति दिईनेछ । विदेशी नागरिक तथा नेपालको नागरिकता नरहेका गैर आवासीय नेपालीको लागि यो सुविधा उपलब्ध हुने छैन।
५. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः
(१) दफा ४ बमोजिम प्रदेशको कुनै पनि स्थानमा गाँजा व्यवसाय गर्न चाहने कृषकले अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात संलग्न गरी गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रार लाई अथवा सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रमा तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
क) निवेदकको नाम, थर र ठेगाना,
ख) निवेदक लाई उपलब्ध कारोबार गरिने स्थान र संरचनाको निवेदनमा माग गरिएको विवरण। गाँजा खेतीको लागि दिइने इजाजत पत्रको हकमा निवेदकको नाममा रहेको जम्मा खेतियोग्य जमिनको क्षेत्रफल र त्यसमध्ये गाँजा खेति गरिने जग्गाको कित्ता नं र जम्मा क्षेत्रफल तथा सो पुष्टि गर्ने जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपि। कारोबार गरिने स्थान र संरचनाको स्वामित्व वा भाडामा उपलब्ध भएको प्रमाणित कागजात। उक्त स्थानमा प्रस्तावित अनुरूपको गाँजा कारोबार गर्न स्थानीय गाऊ वा नगरको आधिकारिक निकायको स्वीकृत प्रदान गरिएको कागजात वा कुनै आपत्ति नरहेको आशयको पत्र ।
ग) निवेदक वा सञ्चालक वा व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायका हिस्सेदारहरुको नाम र तिन पुस्ते खुल्ने विवरण। व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायका हिस्सेदारहरुको नागरिकताको सक्कल प्रमाण पत्र सहित नागरिकताको प्रमाणित प्रतिलिपि।
घ) गाँजा व्यवसाय सञ्चालनको लागि माग गरेको औपचारिक अनुमति वा इजाजतको प्रकार। बढीमा दश अनुच्छेदमा माग गरेको व्यवसायको प्रस्तावित गतिविधिको विवरण।
ङ) अनुमति प्राप्त गतिविधि बाहेक अन्य प्रयोजनमा गाँजाको उपयोग हुनवाट रोक्न गाँजा व्यवसायलाई अनुशासित, व्यवस्थित राखी गाँजाको अनधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिएको वा गरिने व्यवस्थाको विवरण।
२) यस ऐन बमोजिम उत्पादन गरिएको गाँजा वा गाँजा जन्य नियन्त्रित उत्पादन निकासी गर्न वा बिक्रि वितरण गर्न चाहने व्यवसायीले त्यसको अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात सहित कार्यकारी निर्देशकसमक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
क) निवेदक वा व्यवसाय को नाम, थर, वतन,
ख) मुलुक भित्र विक्रि वितरण गर्न चाहेको क्षेत्र वा स्थान। विदेश निर्यात गरिने अवस्थामा निर्यात हुने मुलुकको व्यवसाय वा निकायको गाँजा कारोबार गर्ने कानुनी हैसियत दर्साउने कागजात तथा खरिद आदेशको प्रतिलिपि वा वार्षिक रूपमा खरिद गरिने एकमुष्ट खरिद सम्झौता।
ग) प्रचलित कानून बमोजिम व्यवसाय दर्ताको प्रमाणपत्र,
घ) तत्काल विगतको एक आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,
ङ) गाँजाको उत्पादन, खरिद, बिक्री, क्षति, विनाश, प्रशोधन आदिमा हुन गएको तौलको स्वाभाविक घटबढ लगायत कारोबारको क्रममा प्रयोग गरिएको गाँजा र गाँजा जन्य पदार्थको सम्पूर्ण मात्रा (ग्रामको तह सम्म) तथा अनपेक्षित चोरी, नोक्सानी आदिको यथार्थ विवरणको अभिलेख राख्न सक्ने विद्युतीय ट्रेसिबिलिटी प्रणाली व्यवस्था भएको पुष्टि गर्ने विवरण, र
च) इजाजत पत्र वा अनुमति पत्र प्रदान गर्ने रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले जरुरत ठानी माग गरिएको तोकिए बमोजिमका अन्य विवरण तथा कागजात,
३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिंदा तोकिए बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।
त्यसरी दस्तुर तोक्दा दफा (२) (क) मा तोकिए बमोजिम फरक फरक वर्गका इजाजत पत्र वा इजाजत पत्रहरूको समूह को लागि फरक फरक हुने गरी तोक्न सकिनेछ ।
६. अनुमतिपत्र दिनेः
(१) दफा ५ बमोजिम प्राप्त निवेदन उपर सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थपजानकारी वा विवरण लिन आवश्यक देखेमा निजले निवेदक सँग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।
२) उपदफा (१) बमोजिम आवश्यक जाँचबुझ गर्दा रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले निवेदकलाई अनुमतिपत्र दिन कानुनले तोके अनुरूपको कानुनी प्रक्रिया तथा आवश्यक कागजात पुगेको भेटिएमा तोकिए बमोजिमको दस्तुर लिई रित पुगेको सात दिन भित्र अनिवार्य रूपमा अनुमतिपत्र दिनु पर्नेछ।
३) इजाजत प्राप्त निकायले यो ऐन तथा यस ऐन अन्तरगत तोकिएका शर्तहरु पालना गर्नु पर्नेछ।
७. अनुमतिपत्र दिन इन्कार गर्न सकिनेः
(१) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै अवस्थामा सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले गाँजा व्यवसाय गर्नको लागि प्राप्त अनुमतिको निवेदन उपर कारबाही गरी इजाजत दिन इन्कार गर्न वा माग गरिए भन्दा फरक हुने गरी आंशिक रूपमा एक वा एक भन्दा धेरै प्रकारको इजाजतहरू प्रदान गर्न सक्नेछ।
(क) गाँजा व्यवसाय सञ्चालनको लागि माग गरेको निवेदक माग गरिएको प्रकारको इजाजत प्राप्त गर्न कानुनी रूपमा योग्य नभेटिएमा। विगत पाँच वर्ष भित्र अदालत वाट अपराधी करार भएको भेटिएमा।
उपदफा (क) मा जुनसुकै कुरा लेखिएको भएतापनि पाँच वर्ष भित्र अदालत वाट अपराधी करार भएको नभएको बारे निवेदकको लिखित बयान लाई मुख्य इजाजत पत्रको दिने नदिने निर्णयको लागि प्रमुख आधार मानिने छ।
(ख) गाँजा व्यवसाय सञ्चालक वा उक्त व्यवसायको साझेदारको रुपमा १८ वर्ष भन्दा कम उमेरको व्यक्तिको संलग्नता हुने देखिएमा।
(ग) गाँजा व्यवसायमा अनधिकृत पहुँच जोगाउन सकिने भरपर्दो व्यवस्था नभएको वा अनुमतिपत्र दिंदा गाँजाको गैर कानूनी रुपमा प्रयोग हुने विश्वसनिय आधार भएमा। विश्वसनीय आधारको रूपमा मूलतः इजाजत पत्रको लागि प्राप्त निवेदन इजाजतको लागि विचाराधीन रहँदाको अवस्थामा स्थानीय उजुरी प्राप्त भएमा त्यसको छानबिनको क्रममा प्राप्त हुने सम्बन्धित क्षेत्रको गोप्य पुलिस रिपोर्टको सूचना लाई मानिने छ।
(घ) तोकिए बमोजिमको अन्य विशेष अवस्थामा। अन्य विशेष अवस्थामा इजाजत पत्र दिन इन्कार गर्ने सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी वा निजको कार्यालयले इजाजत पत्र दिन इन्कार गरिनुको कारण अदालतको आदेशमा अदालतको इजलास बाहेक निवेदक वा अन्य कुनै पक्षलाई उपलब्ध गराउने छैन। कारणको रूपमा मात्र अन्य विशेष अवस्था लेखिने छ।
(२) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएता पनि दफा २ क (४) बमोजिम बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने) सम्बन्धमा देहायको कुनै अवस्थामा गाँजा आयात वा निकासी गर्न वा बिक्रि वितरण गर्न निवेदन दिने निवेदकलाई सोको लागि अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ:
(क) विगत आर्थिक वर्षको कर वा सरकारी दस्तुर बुझाउन बाँकी रहेको
(ख) अनुमतिपत्र दिंदा गाँजाको अनधिकृत विक्रि वितरण हुने देखिएमा
(ग) तोकिए बमोजिमको अन्य विशेष अवस्थामा। तोकिए बमोजिमको अन्य विशेष अवस्थामा मूलतः कूटनैतिक नियोग, इन्टरपोल र नेपाल प्रहरी मार्फत लक्षित आयात वा निकासी निर्यात गर्ने मुलुक वा आयात हुने मुलुक वा दुवैको कानुनको शासनको विपरीत दुरुपयोग हुने सम्भावना रहेको आशयको सूचना हुने गर्दछ। अन्य विशेष अवस्थामा इजाजत पत्र दिन इन्कार गर्ने सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी वा निजको कार्यालयले इजाजत पत्र दिन इन्कार गरिनुको कारण अदालतको आदेशमा अदालतको इजलास बाहेक निवेदक वा अन्य कुनै पक्षलाई उपलब्ध गराउने छैन। कारणको रूपमा मात्र अन्य विशेष अवस्था लेखिने छ।
८. अनुमतिपत्रको अवधि र नवीकरण:
(१) ईजाजतको अवधि दस वर्षको हुनेछ।
(२) ईजाजत प्रत्येक पाँच वर्षमा सामान्य नवीकरण शुल्क बुझाएर नवीकरण गराउनु पर्नेछ।
(३) ईजाजत नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले ईजाजतको अवधि समाप्त हुनुभन्दा बढीमा छ महिना अगावै तोकिए बमोजिमको ढाँचामा सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी समक्ष नवीकरणको लागि निवेदन दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम प्राप्त आवश्यक जाँचबुझ गरी तोकिए बमोजिमको दस्तुर लिई सम्पूर्ण कागजात पुगेको सात दिन भित्र ईजाजतको नवीकरण गरिदिनु पर्नेछ।
५) हरेक दश वर्षमा पुनः अर्को दश वर्षको लागि ईजाजतको अवधि थपिने छ। व्यवसाय नवीकरणमा मूलता हरेक पाँच वर्षमा सामान्य शुल्क लिई सरकारी लिखत अद्यावधिक गर्ने कार्य हुने छ। ईजाजतको अवधि थप गर्ने समयमा परिवर्तित नियम कानुन र अन्य सम्बन्धित विषय बस्तु समेतको विचाराधीन गरी इजाजत पत्रको सेवा र सर्तका दायरा आदि बारे समेत पुनरावलोकन गरी जस्तो छ त्यस्तै वा स्वीकृत कार्य तथा गतिविधिको दायराको थप-घट सहित ईजाजतको अवधि थप गर्न सकिने छ।
९. अनुमतिपत्र खारेज गर्न सकिने:
(१) देहायको कुनै अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकृतले अनुमतिपत्र खारेज गर्न सक्नेछः
(क)अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा
(ख)अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लिखित शर्त विपरीत कुनै काम गरेमा
(ग) दफा ८ बमोजिमको लगातार दुई अवधिभित्र अनुमतिपत्र नवीकरण नगराएमा
(घ) विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्तिको प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय कायम नभएमा वा खारेज भएमा
(ङ) अनधिकृत व्यक्तिलाई गाँजा विक्रि वितरण गरेमा वा उपलब्ध गराएमा
(च) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम राख्नु पर्ने विक्रि वितरणको अभिलेख नराखेमा वा त्यस्तो अभिलेख बोर्ड वा प्रचलित कानून बमोजिमको अधिकारीलाई उपलब्ध नगराएमा
(छ) अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्र खारेज गर्नको लागि निवेदन दिएमा
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र खारेज गर्नु अघि सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ। तर सो उपदफाको खण्ड (छ) बमोजिमको अवस्थामा त्यस्तो मौका दिई रहनु पर्ने छैन ।
(३) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज गरेकोमा चित्त नबुझ्ने व्यक्तिले खारेज गर्ने निर्णय भएको मितिले ३५ दिनभित्र सम्बन्धित अदालत समक्ष उजूरी दिन सक्नेछ। त्यसरी परेको उजूरीमा प्रचलित कानुन बमोजिम अदालत वाट हुने निर्णय अन्तिम हुनेछ ।
परिच्छेद–३
उत्पादन तथा विक्रि वितरण सम्बन्धी व्यवस्था
१०. लेबुल, ट्रेडमार्क, र्यापर्स तथा प्याकिङ्ग:
(१) उत्पादकले आफूले उत्पादन गरेको पदार्थको प्याकेट तथा र्यापर्समा देहायको विवरण भएको लेबुल लगाउनु पर्नेछ :
(क) प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबुल, ट्रेडमार्क चिन्ह तथा अनुमतिपत्र नम्बर। गाँजा बेच्ने, वितरण गर्ने, आयात तथा निर्यात गर्ने इजाजत पत्र धारक उद्यमको हकमा सम्पर्क नम्बर सहितको सम्पर्क ठेगाना।
(ख) उत्पादकको नाम, ठेगाना, गाँजा र गाँजा जन्य पदार्थमा रहेको टिएचसिको मात्रा, उत्पादन गरिएको वर्ष र महिना खुल्ने गरी लेखिएको लट नम्बर। सुकेको वा ताजा गाँजा उत्पादन गर्ने साना कृषकको हकमा सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको अनुमानित टिएचसिको मात्रा उल्लेख गर्ने।
(ग) गाँजाको वर्ग जस्तै सुकेको वा ताजा गाँजा, गाँजाको एक्स्ट्र्याक्ट, टपिकल गाँजा वा हिलिङ्ग खाद्य गाँजा आदि वा अन्य।
(घ) प्याकेट तथा र्यापर्स भित्र रहेको गाँजाको परिमाण, सुरक्षित प्रयोगको मिति (एक्सपाएरि डेट) वा पुनः परीक्षण (रि-टेस्ट) मिति र उचित भण्डारणको अवस्था बारे जानकारी।
(ङ) तोकिए बमोजिमको चेतावनी मूलक सन्देश: सुकेको वा ताजा गाँजा बाहेकको अवस्थामा उत्पादकले गाँजाजन्य पदार्थको बट्टा, र्यापर्स,प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा गाँजा जन्य पदार्थ स्वास्थ्यलाई हानिकारक हुन् सक्ने भएको डाक्टरको सल्लाह वाट मात्र सेवन गर्न ऐनले तोके बमोजिमको चेतावनी मूलक सन्देश प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नु पर्नेछ।
(च) गाँजा नियमन तथा नियन्त्रण बोर्डले पहिचान गरी निर्देशन गरेको अन्य हानिकारक तत्व तत्त्व आदि बारे सूचना तथा लिनु पर्ने सावधानी वारेको सूचना।
छ) उत्पादकले गाँजा जन्य पदार्थको प्याकेट तथा र्यापर्समा उमेर नपुगेको बालकको ध्यान आकर्षण हुने कुनै किसिमको लोगो, चिन्ह, शब्द र चित्र राख्न पाउने छैन। गाँजाको प्याकिङ अत्यन्त सहज र सामान्य देखिन अनिवार्य छ।
(२) उपदफा (१) बमोजिमको कृषक बाहेक गाँजा प्रशोधन गरी खाद्य पदार्थको निर्माण गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले लेबुल राख्दा खाद्य पदार्थ सम्बन्धि प्रचलित कानून बमोजिम तथा गाँजाबाट औषधि उत्पादन गर्ने उत्पादकले औषधि सम्बन्धी प्रचलित कानून बमोजिमको लेबुल राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमम लेबुल राख्दा त्यस्तो लेबुलमा सो पदार्थको उपभोगबाट पर्न सक्ने प्रभावको बारेमा तोकिए बमोजिमको चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्नेछ।
११. अभिलेख राख्नु पर्ने:
(१) उत्पादकले गाँजा र गाँजा जन्य उत्पादनमा देहायको अभिलेख तोकिए बमोजिमको ढाँचामा अद्यावधिक रुपमा राख्नु पर्नेछ र त्यस्तो विवरण गाँजा नियमन तथा नियन्त्रण बोर्डले तोके बमोजिमका निकायमा दिनु पर्नेछ।
(क) गाँजा खेति गरिएको जग्गाको कित्ता नम्बर र जम्मा क्षेत्रफल,
(ख) फसल तयार हुने क्रममा रहेको गाँजाको वयस्क बोटको संख्या,
(ग) फसल भित्रयाए पछि वयस्क गाँजाको बोटबाट प्राप्त सुकेको गाँजाको कुल परिमाण,
(घ) गाँजा वा भाँगको दाना उत्पादन गरेकोमा त्यसको परिमाण,
(ङ) बिक्रि गरेको गाँजाको परिमाण र मिति,
(च) तोकिए बमोजिमको अन्य विवरण ।
(छ) गाँजाको बिरुवा र काटिएको गाँजा वाट भएको उत्पादन, प्रशोधन गरिएको मात्रा, प्रशोधित पदार्थको मात्रा, उत्पादनको स्थानान्तरण वा बिक्रीको मात्राको रेकर्ड।
(ज) प्रशोधनको क्रममा घटेको तौल, व्यापारी वा अन्य उद्यममा बिक्री गरेको मात्रा, मौजादमा रहेको गाँजा तथा गाँजा जन्य पदार्थको मात्रा, गाँजाको गुणस्तर परीक्षणमा प्रयोग भएको, अनुसन्धानमा प्रयोग भएको, औषधालय तथा अन्य निकायमा निकासा भएको गाँजाको मात्रा।
(झ) आफूसँग रहेको पहिलेको मौजाद, उत्पादनमा भएको, हानि, चोरी वा नोक्सानी, प्रशोधनको क्रममा घटेको मात्रा, बिक्री गरिएको जम्मा गाँजाको मात्रा र आफूले प्राप्त गरेको र मौजादमा रहेको मात्राको किताब प्रस्ट रेकर्डमा राख्नु पर्नेछ। उक्त रिकर्डको वासलात अनिवार्य रूपमा सम्पूर्ण ट्रानज्याक्सन ट्रेसिबल र रिकनसाईल हुन अनिवार्य छ।
(ण) गाँजाको कारोबारीले मान्यता प्राप्त स्वतन्त्र तेस्रो पक्षद्वारा गाँजाको लेनदेनको वार्षिक अडिट पूरा गर्नु पर्ने छ।
(त) गाँजा कारोबारको परिणाम तथा आय व्ययको हिसाब किताब तथा अभिलेखहरू प्रस्ट राख्नु पर्नेछ।
(२) उपदफा (१) मा लेखिए देखि बाहेकका अन्य अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन, प्रशोधन तथा विक्रि वितरण गरेको गाँजा तथा त्यसबाट बनेको औषधिजन्य पदार्थको विक्रीको दैनिक विवरण राख्नु पर्नेछ र त्यस्तो विवरण राख्दा खरिद गर्ने व्यक्तिको नाम, थर वतन,उमेर, नागरिकता नम्बर वा राष्ट्रिय परिचय नम्बर, त्यस्तो औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर तथा तोकिए बमोजिमको विवरणको अभिलेख राख्नु पर्नेछ।
(३) गाँजाबाट औषधि उत्पादन गर्ने वा गाँजाको निकासी गर्ने व्यक्तिले प्रत्येक वर्ष आफुले गरेको उत्पादन तथा निकासीको विवरण बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिमको अभिलेखको विवरण अनुमतिपत्र प्राप्त व्यक्तिले मासिक रुपमा बोर्डमा पठाउनु पर्नेछ ।
(५) बोर्डले यस दफा बमोजिमको अभिलेख विद्युतिय प्रणालिको विकास गरी अनलाईनबाट समेत अद्यावधिक गर्न, अभिलेख गर्न र पठाउन सकिने व्यवस्था गर्न सक्नेछ।
१२.विक्रि वितरणमा बन्देज :
(१) अनुमतिपत्र प्राप्त इजाजत पत्र धारी निकायले देहायको बाहेक अन्यथा हुने गरी गाँजा तथा गाँजा जन्य पदार्थको विक्रि वितरण गर्न वा निशुल्क रुपमा वितरण गर्न वा उपहार दिनु हुँदैन:
(क) गाँजा नियमन तथा नियन्त्रण बोर्ड वाट अनुमति प्राप्त निकाय, अनुमति प्राप्त औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योग, बोर्ड वाट अनुमति प्राप्त आयात वा निर्यात कारोबार गर्ने निकाय र विदेशी मूलका अन्तर्राष्ट्रिय गाँजा तथा गाँजा जन्य पदार्थका कारोबारी। यो ऐन जारी हुँदाका बखत १% प्रतिशत वा सो भन्दा भन्दा कम टिएचसि भएको गाँजाको भाग वा गाँजा जन्य बस्तु नियन्त्रित गाँजा अन्तर्गत नरहेकोले खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामाग्री जो सुकैलाई बिक्रि वितरण गर्न यस ऐनमा लेखिएको कुराले कुनै बाधा पर्ने छैन ।
(ख) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकको प्रेष्कृप्सनको आधारमा सम्बन्धित व्यक्तिलाई
(ग) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले निकासी गर्दा निकासी गरिने मुलुकको कानून बमोजिम त्यस्तो गाँजा खरिद गरिलिन स्वीकृति प्राप्त व्यक्ति वा कम्पनीलाई।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि खरिद कर्ताको नाम, थर, ठेगाना समेतको अभिलेख राखि तोकिए बमोजिमको परिमाणमा नबढ्ने गरी बिक्रि वितरण गर्न बाधा पर्ने छैन । तर १८ वर्ष उमेर पूरा नभएका व्यक्ति वा १८ वर्ष उमेर पूरा नभएको व्यक्ति साझेदार रहेको व्यवसाय भनी जानकारी भएको अवस्थामा उनीहरूलाई गाँजा तथा गाँजा जन्य पदार्थ बिक्रि वितरण गर्न पाईने छैन।
(३) उपदफा (२) को प्रयोजनको लागि अनुमति पत्रवालाले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र त्यसरी प्रमाण माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ।
(४) कसैले पनि शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय र प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको स्थलमा गाँजा बिक्री वितरण गर्न गराउन पाउने छैन।
१३. परामर्श उपलब्ध गराउने :
गाँजा कृषक तथा व्यवसायीले आवश्यक सम्झेमा आफूले कारोबार गर्ने गाँजाको मापदण्ड निर्धारण गर्न उत्पादन तयार भएपछि सम्बन्धित निरीक्षक वा समिति सँग परामर्श माग गर्न सक्ने छन्। सम्बन्धित निरीक्षकले गाँजा कृषकको हकमा परामर्श माग भएको दिन वाट प्राविधिक पक्षको समय बाहेक एक हप्ता भित्र परामर्श उपलब्ध गराउने छन्।
१४. विज्ञापन तथा प्रायोजन गर्न नपाइने :
कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट गाँजा तथा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन । कसैले पनि नि:शुल्क रूपमा गाँजा जन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन। तर खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामाग्री वा यस्तै अन्य औद्योगिक वस्तुको प्रचलित कानून बमोजिम विज्ञापन गर्न बाधा पर्ने छैन ।
परिच्छेद–४
बोर्ड तथा कर्मचारी सम्बन्धी व्यवस्था
१५. बोर्डको गठन:
(१) प्रदेश भर गाँजा तथा गाँजा जन्य पदार्थको बिक्रि वितरणको अनुगमन तथा नियमन सम्बन्धी काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको गाँजा नियमन तथा नियन्त्रण बोर्ड गठन गरिएको छ:
(क) मुख्य सचिव - प्रदेश सरकार - अध्यक्ष
(ख) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय – सह-अध्यक्ष
(ग) प्रदेशको जिल्ला प्रशासन कार्यालयहरू हेर्ने प्रमुख - सदस्य
(घ) प्रदेशको जिल्ला प्रहरी कार्यालय कार्यालयहरू हेर्ने प्रमुख - सदस्य
(ङ) प्रदेशको लागू औषध नियन्त्रण ब्युरो कार्यालयहरू हेर्ने प्रमुख - सदस्य
(च) प्रदेशको लागू कर तथा आन्तरिक राजस्व कार्यालयहरू हेर्ने प्रमुख - सदस्य
(छ) निर्देशक, प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान – सदस्य
(ज) क्षेत्रीय निर्देशक, आयुर्वेद विभाग – सदस्य
(झ) क्षेत्रीय निर्देशक, औषधि व्यवस्था विभाग– सदस्य
(ञ) क्षेत्रीय निर्देशक, आयुर्वेद विभाग – सदस्य
(ट) क्षेत्रीय निर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग - सदस्य
(ठ) विषय विज्ञहरू - ३ जना (गाँजा उत्पादन, प्रशोधन, औषधि)
(ड) कार्यकारी निर्देशक– सदस्य सचिव
(२) उपदफा (१) को खण्ड (ड) बमोजिम तोकिएको कार्यकारी निर्देशक, रजिस्ट्रार, विषय विज्ञहरू क्याबिनेटले नियुक्त गर्ने छ। उनीहरूको पदावधि बढीमा चार बर्षको हुनेछ। बोर्डको हित विपरितको काम गरेको अवस्थामा जुनसुकै समयमा क्याबिनेटले हटाउन सक्नेछ। हटाउनु अघि स्पष्टिकरणको मनासिव मौका दिईनेछ ।
(२) बोर्डको कार्यालय मुख्यमन्त्रीको सचिवालयमा रहनेछ। गाँजा नियमन तथा नियन्त्रण बोर्डको जिल्ला स्तरीय संयन्त्र शाखा कार्यालयको रुपमा जिल्ला कृषि ज्ञान केन्द्रमा अवस्थित रहने छ।
१६.बोर्डको बैठक र निर्णय:
(१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ।
(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुपस्थितिमा सदस्य– सचिवले समितिका सदस्यहरुसँग परामर्श गरी सह-अध्यक्षको अध्यक्षतामा तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्न सक्नेछ।
(४) बोर्डको बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य–सचिवले बोर्डका सदस्यहरुलाई दिनेछ।
(५) बोर्डको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(६) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डका सह-अध्यक्षले गर्नेछन।
(७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(८) बोर्डको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ।
(९) बोर्डले आवश्यक ठानेमा बोर्डको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
१७. बोर्डको काम, कर्तव्य र अधिकार:
बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
(क) गाँजा तथा यसको विभिन्न उत्पादनको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने।
(ख) गाँजाको गैरकानूनी खेती, गाँजा जन्य उत्पादनको बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा मन्त्रालयलाई आवश्यक सुझाब पेश गर्ने।
(ग) गाँजा र गाँजा जन्य उत्पादनको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सुझाब दिने।
(घ) गाँजा तथा गाँजा जन्य उत्पादनको बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने।
(ङ) सुकेको गाँजा र त्यसको उत्पादन खरिद बिक्रीको नियमन र सहजीकरण गर्ने।
(च) गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई सहजीकरण गर्ने, विक्रीबाट उठेको राजस्व नेपाल सरकारको खातामा जम्मा गर्न सहजीकरण गर्ने।
(छ) गाँजाको उपभोग तथा यसले पार्ने प्रभावको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने।
(ज) कृषकबाट खरिद गरेको गाँजा तथा गाँजा जन्य उत्पादनको भण्डारणको लागि आवश्यक संरचना निर्माण गर्न सहजीकरण गर्ने।
(झ) गाँजाको औषधिय उपयोगको सम्बन्धमा अनुसन्धान गर्न, सहजीकरण गर्ने।
(ञ) ऐनको प्रतिकुल हुने गरी गरिएको गाँजा खेति नष्ट गर्ने, गराउने।
(ट) कृषकबाट गाँजाको बिक्रि मूल्य निर्धारण गर्न सहजीकरण गर्ने।
(ठ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने।
(ड) बोर्डको वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृति गर्ने।
(ढ) गाँज उधम गरे वापत बुझाउनु पर्ने रोयल्टीको दर निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गर्ने।
(ण) मन्त्रालयबाट स्वीकृत मापदण्डको अधिनमा रही कृषकले उत्पादन गरेको गाँजाको न्यूनतम बिक्री मूल्य मूल्य निर्धारण गर्न सहजीकरण गर्ने।
(त) कृषकलाई प्राविधिक सहयोग उपलब्ध गर्ने, गराउने तथा गाँजा खेति सम्बन्धी तालिम तथा अन्य जानकारी कृषकलाई उपलब्ध गराउने।
(थ) गाँजा खेति तथा यसको उत्पादन, प्रसोधन, प्रडक्ट डेभलपमेन्ट तथा विक्री वितरणको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने, गराउने।
(द) गाँजाबाट स्थानीय ज्ञानको आधारमा उत्पादन हुने स्थानीय सामाग्री सम्बन्धी ज्ञानलाई संरक्षण गर्ने र त्यसमा नेपालको वौद्धिक अधिकार स्थापित गर्ने, गराउने।
(ध) तोकिए बमोजिमको काम गर्ने गराउने।
ण) गाँजा नियमन तथा नियन्त्रण बोर्ड आफै नियमनकारी निकाय भएकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफूलाई लाभ पुग्ने गरी यसका कार्यकारी पदाधिकारी तथा बोर्ड आफै गाँजाको खरिद विक्रीमा संलग्न हुन पाउने छैनन।
१८. कार्यकारी निर्देशक तथा रजिष्ट्रारको नियुक्ति
(१) बोर्डको कार्यकारी प्रमुखको रुपमा एकजना कार्यकारी निर्देशक रहनेछ । इजाजत पत्र जारी गर्ने, नवीकरण गर्ने तथा खारेज गर्ने आदिको रजिष्ट्रारको कार्य सम्पन्न गर्न जिम्मेवारी समेत कार्यकारी प्रमुखको हुने छ।
२) प्रदेश सरकारले कार्यकारी निर्देशक र रजिस्ट्रार पदमा उपयुक्त व्यक्तिलाई नियुक्त गर्न वा तोक्न सक्नेछ ।
३) कार्यकारी निर्देशक र रजिस्ट्रारको पदावधि चार वर्षको हुनेछ । पदावधि पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन वा तोकिन सक्नेछ ।
(३) कार्यकारी निर्देशक र रजिस्ट्रारको काम, कर्तव्य, अधिकार र पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(४) प्रदेश सरकारले कार्य बोझको आधारमा कार्यकारी निर्देशकको सिफारिस र सचिवालयको सल्लाहमा उपयुक्त व्यक्तिलाई रजिस्ट्रार नियुक्त गर्न वा तोक्न सक्नेछ।
१९. बोर्डको कर्मचारी:
(१) बोर्डको कार्य सञ्चालनको निमित्त बोर्डमा आवश्यक संख्यामा कर्मचारी रहनेछन् ।
(२) बोर्डलाई आवश्यक पर्ने कर्मचारी बोर्ड आफैले नियुक्त गर्ने छ। बोर्डको अनुरोधमा केही समयको लागि कर्मचारीको आवश्यकता मन्त्रालयले समेत उपलब्ध गराउन सक्ने छ।
(३) बोर्डका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा बोर्डले तोके बमोजिम हुनेछ ।
परिच्छेद–५
बोर्डको कोष सम्बन्धी व्यवस्था
२१.बोर्डको कोष:
(१) बोर्डको एउटा छुटैृ कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः
(क) प्रदेश सरकार बाट प्राप्त रकम
(ख) अनुमतिपत्र दस्तुर तथा नवीकरण दस्तुर वापत प्राप्त रकम
(ग) अन्य स्रोतबाट प्राप्त रकम
(२) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषबाट देहायका खर्च व्यहोरिनेछ:
(क) गाँजा नियमन तथा नियन्त्रणको क्षमता अभिवृद्धिको लागि पूर्वाधार विकास गर्न
(ख) गाँजा व्यवसायले समाजमा पुर्याई रहेको प्रभाव को अध्ययन गर्न तथा सामाजिक जनचेतना जागृत गर्न।
(ग) औषधि उत्पादन वैकल्पिक प्रयोग आदि जस्ता विषयमा तथा अनुसन्धान गर्न
(घ) वातावरण संरक्षण गर्न
(ङ) बोर्डको प्रशासनिक कार्य सञ्चालन गर्न।
(४) कोषको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
२२. लेखा र लेखापरीक्षण:
(१) बोर्डको आय व्ययको लेखा प्रदेश सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) बोर्डको लेखाको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।
परिच्छेद–६
(क) इजाजतको लागि प्राप्त निवेदनको आवश्यक छानबिन र कागजातको प्रामाणिकता हेर्ने लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरी गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्टार समक्ष अनुमतिको इजाजत उपलब्ध प्रदान गर्न सिफारिस सहित लेखि पठाउने। आफ्नो कार्य क्षेत्र भित्र गाँजा तथा यसको विभिन्न उत्पादनको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा गाँजा नियमन तथा नियन्त्रण बोर्ड समक्ष सुझाव पेश गर्ने।
(ख) आफ्नो कार्य क्षेत्र भित्र गाँजाको गैरकानूनी खेती, गाँजा जन्य उत्पादनको बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा गाँजा नियमन तथा नियन्त्रण बोर्ड लाई आवश्यक सुझाब पेश गर्ने।
(ग) आफ्नो कार्य क्षेत्र भित्र गाँजा र गाँजा जन्य उत्पादनको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन गाँजा नियमन तथा नियन्त्रण बोर्ड लाई सुझाब दिने।
(घ) आफ्नो कार्य क्षेत्र भित्र गाँजा तथा गाँजा जन्य उत्पादनको बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने।
(ङ) आफ्नो कार्य क्षेत्र भित्र सुकेको गाँजा र त्यसको उत्पादन, खरिद बिक्रीको नियमन र सहजीकरण गर्ने।
(च) आफ्नो कार्य क्षेत्र भित्र गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई सहजीकरण गर्ने, विक्रीबाट उठेको राजस्व नेपाल सरकारको खातामा जम्मा गर्न सहजीकरण गर्ने।
परिच्छेद–७
कसूर र सजाय सम्बन्धी व्यवस्था
२५. कसूर तथा सजाय:
(१) कसैले देहायको कुनै काम गरेमा यस ऐन विपरितको कसूर गरेको मानिनेछ:
(क) दफा ६ बमोजिम अनुमतिपत्र प्राप्त नगरी गाँजा खेति गरेमा वा त्यसको निकासी वा बिक्रि वितरण गरेमा
(ख) दफा १० बमोजिम लगाउनु पर्ने लेबुल नलगाएमा
(ग) दफा ११ बमोजिम राख्नु पर्ने विवरण वा अभिलेख नराखेमा वा त्यस सम्बन्धी झुटृा विवरण तयार गरेमा
(घ) दफा १२ विपरित गाँजाको बिक्रि वितरण गरेमा
(ङ) दफा १४ विपरित विज्ञापन गरेमा
(च) यो ऐन विपरितको अन्य कुनै काम गरेमा ।
(२) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय गर्न सक्नेछ:
(क) उपदफा (१) को खण्ड (क) वा (घ) बमोजिमको कसूरमा १ वर्षसम्म कैद र एक लाख रुपैंयाँ सम्म जरिवाना
(ख)उपदफा (१) को खण्ड (ख), (ग) वा (ङ) बमोजिमको कसूरमा ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
(ग)उपदफा (१) को खण्ड (च) बमोजिमको कसूरमा एक महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना
२६.अनुसन्धान तथा तहकिकात:
(१) यस ऐन अन्र्तगतको कसूर सम्बन्धि मुद्दाको अनुसन्धान तथा तहकिकात निरीक्षकले गर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात गरिएको मुद्दामा निरीक्षकले सम्बन्धित सरकारी वकिलको राय लिएर मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।
२७. सरकारवादी हुने:
यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा समावेश भएको मानिनेछ।
परिच्छेद–८ विविध
२८. रोयल्टी तथा करः
यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले प्रचलित कानूनमा निर्धारण भए बमोजिमको रोयल्टी तथा कर बुझाउनु पर्नेछ ।
२९. उपसमिति वा कार्यदल गठन गर्न सक्नेः
(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कुनै कार्य सम्पादन गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।
३०. वार्षिक प्रतिवेदन:
(१) बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको विवरण सहित सो वर्ष भरमा आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन मन्त्रालयले संघीय संसदमा पेश गर्नुपर्नेछ र सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।
३१. अधिकार प्रत्यायोजनः
(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अध्यक्ष वा सह-अध्यक्ष वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकले ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
३२. मुख्य मन्त्रीको सचिवालयले निर्देशन दिन सक्ने:
मुख्य मन्त्रीको सचिवालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्ने छ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।
३३. प्रदेश सरकार सरकारसँग सम्पर्क:
बोर्डले प्रदेश सरकार सँग सम्पर्क राख्दा मुख्य मन्त्रीको सचिवालय मार्फत राख्नु पर्नेछ ।
३४. सहयोग गर्नु पर्ने:
यस ऐन बमोजिमको कुनै काम कारबाही सम्पादन गर्ने सिलसिलामा निरीक्षकले स्थानीय प्रशासनको सहयोग माग गर्न सक्नेछ। त्यसरी सहयोग माग भएमा आवश्यक सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।
३५. नियम बनाउने अधिकार:
यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
३६. अन्य व्यवस्था:
३६.१ दश प्रतिशत चिस्यान रहेको सुकेको गाँजामा एक प्रतिशत भन्दा धेरै टिएचसि रहेको गाँजा लाई मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजाको रूपमा राखिएको छ।
३६.२ दश प्रतिशत चिस्यान रहेको सुकेको गाँजामा एक वा एक प्रतिशत भन्दा कम टिएचसि रहेको गाँजा लाई मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) विहीन गाँजा मानी त्यसलाई भाँग र सिद्धको वर्गीकरण गरिएको छ।
३६.३ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजा तथा त्यसको सार तत्त्वहरूमा अत्यन्त महत्त्वपूर्ण औषधीय गुणको रहेकोले तिनी हरूलाई छुटै गाँजा ऐन ल्याई तिनीहरूको नियन्त्रित खेती, उत्पादन, प्रशोधन र औषधीय प्रयोग लाई व्यवस्थापन गरिने छ।
३६.४ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजा औषधिजन्य प्रयोजनका लागि हाल उपयोगमा ल्याउन औषधीय गुणको नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्न प्रदेश भित्रका नगरपालिका तथा गाउँपालिकाहरूलाई अनुमति दिइएको छ।
३६.५ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) को प्रभावकारी मात्रा विहीन भाँग र सिद्ध तथा मनोद्वीपक पदार्थ नहुने गाँजाको दाना, डाँठ, जरा तथा हेम्प र होप (बियर तितो बनाउने गाँजा जन्य कोपिला) आदि लाई औषधीय र नगदे बालीका रूपमा नेपाल अधिराज्यभर खेती तथा उद्यम गर्न खुल्ला गरिएको।
३६.६ तत्कालको बाधा अड्काउ फुकाउन प्रभावकारी मात्रामा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) हुने गाँजाको प्रदेश भित्रका स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूलाई औषधीय प्रयोजन र नगदे बलिको रूपमा नियन्त्रित खेती, प्रशोधन, अनुसन्धान र उपयोग गर्न नियमावली बनाइ लागु गर्ने अधिकार दिइएको छ।
३७. निस्तेज रहने व्यवस्था गरिएको:
लागू औषध (नियमन्त्रण) ऐन, २०३३ को ११ (ग) औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्ने व्यवस्था अनुरूप उल्लेख भएको “यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम जफत वा कब्जा गरिएको लागू औषधमध्ये गाँजा र अफिम नेपाल सरकारले उपयुक्त देखेमा औषधी बनाउने प्रयोजनको लागि कुनै औषधी बनाउने निकायलाई आवश्यक परिमाणमा उपलब्ध गराउन सक्नेछ।“ भन्ने ऐनको चुरो मर्म र आशय लाई मध्य नजर राख्दै प्रदेश भित्र लागु हुने गरी लागू औषध (नियमन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड (१) र उपखण्ड (२) तथा खण्ड (ख) र खण्ड (ग), दफा ४ को खण्ड (क), दफा ११ को खण्ड (क) र दफा १४ को खण्ड (क), (ख) (ग) र (घ) तथा तिनको आधारमा बनेको सम्पूर्ण कानुन, निर्णय, कानुनी कारबाहीको सजाय तथा अन्य व्यवस्था गाँजा ऐन, २०८१ द्वारा प्रदेश भित्र निस्तेज रहने व्यवस्था गरिएको छ।
प्रदेश सरकार गाँजा खेती नियमन तथा व्यवस्थापन ऐन २०८१ ओपन प्रस्ताव:
https://drive.google.com/file/d/1xwQAft2EJjKyj3CfO9m2QubjHOXoybKb/view?usp=sharing