प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-01-31

कठै! कांग्रेसको अर्थ न व्यर्थको नवप्रवर्तन भेला !!

नवप्रवर्तनका लागि लगानीको वातावरण बनाउने भनी नेपाली काँग्रेसले गरेको भेला "काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर" बन्ने उखानको चरितार्थ हुने गरी नेपाललाई विदेशी समान बेच्ने बिदेसी उत्पादनको एकाधिकार बजारको रूपको आफ्नो उत्पादनमा आधारित उद्योग धन्दा मृत मुलुकमा परिवर्तन गर्न निश्चय गरिदिने एक द्वार प्रणालीको आवश्यक बनेको निष्कर्ष निकालेर त्यही नीति लिने निचोडमा पुगी सकिने अवस्थामा समापन बन्दै छ।

आजको दुनियाँमा एक द्वार प्रणाली (Single Window System) भनेको एउटा यस्तो प्रशासनिक, व्यापारिक र सरकारी प्रक्रियाहरूलाई एकल प्रवेश बिन्दु मार्फत व्यवस्थापन गर्छ। अर्काको समान आफ्नो मुलुकमा ल्याउने, बिचका दलाल व्यापारीले थोरै कमाउने र मुलुकको धन जुन देशले त्यो समान बेचेको हो उसलाई सुम्पने जस्ता प्रक्रियाको अधिक मैत्री हुने गर्दछ। सेवाग्राही (व्यक्ति, व्यवसाय वा संस्था) ले एउटै पोर्टल, कार्यालय, वा संयन्त्र प्रयोग गरेर आवश्यक स्वीकृति, प्रमाणपत्र, अनुमतिहरू वा सरकारी सेवा त प्राप्त गर्न सक्छन्। मुख्य रूपमा सरकारी प्रक्रियाहरूलाई सरल, छरितो, पारदर्शी र कुशल बनाउन सहयोग त हुन्छ तर यसले आफ्नै मुलुकमा आफै श्रम प्रयोग गरी, संसारको बजारमा प्रतिस्पर्धा गर्न सक्ने आफ्नो परम्परागत ज्ञान र सिपमा आधारित भएर आफ्नो उत्पादनमा भर पर्ने उद्योग धन्दाको उत्पादन मार्ने निश्चित भएको विदेशी उत्पादन प्रवर्धनमा अधिक सहयोग पुर्याउने गर्दछ।

मुलुकको जरुरत, बिपीको समाजवादको कोर मूल्य तथा जनता प्रतिको जिम्मेवारी भन्दा पनि हामी केही गर्दै छौ भन्ने हौवा पिटाउने र सस्तो लोकप्रियता लिने उद्देश्यले गरिएको जस्तो प्रस्ट अनुभूति दिने नेपाली काँग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागको पार्टी कार्यालय को १६ माघ देखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको सुरुवातको छलफल नवप्रवर्तन (Innovation) प्रवर्द्धनको आधारभूत जगमा केन्द्रित हुन् सकेन।

नवप्रवर्तन मुद्दा र चासो दुवैमा केन्द्रित नदेखिएको यो सम्मेलनका आयोजकहरू नवप्रवर्तन भनेको कुन चराको नाम हो भन्ने विषयमा जानकार त छन् भन्ने प्रश्न मेरो मनमा पैदा गरिदियो। मेरो अनुभूतिमा यो सम्मेलन फगत "काम खतम, पैसा हजममा" सीमित हुने र सुरु हुँदै असफल बनेको एक कलाविहीन राजनैतिक नाटक रुपी जात्राको मञ्चन भन्दा अधिक हुन सकेन।

एक द्वार प्रणाली प्रशासनिक सरलताको लागि उपयोगी प्रणाली भए पनि नवप्रवर्तन (Innovation) प्रवर्द्धन गर्न यसको अधिक नकारात्मक सीमित प्रभावकारिता हुन्छ। एक द्वार प्रणाली सक्षम गर्ने तर लगानी अमैत्री वातावरण लाध्ने कार्यले नवप्रवर्तन गर्न तम्सने पाराले स्थानीय साना उद्यमी र तिनलाई सहयोग गर्ने भनेर लागेका महावीर पुनहरूको लागि धुरुधुरु रोएर रगतको आँसु पिएर उद्देश्य प्राप्तिमा लाग्दा समेत उल्टो अपजस सहनु पर्ने वातावरण निर्माण गरिदिन्छ।

नवप्रवर्तन बहु आयामिक हुन्छ। एक द्वार प्रणाली जस्ता सीमित अवधारणामा केन्द्रित रहेर मुलुक रहँदा नवप्रवर्तनका लागि अभ्यास, परीक्षण, अनुकूलन र निरन्तर सुधार जस्ता विषयको लागि मुलुक भित्र निराशाको वातावरण बन्छ। उदाहरणको लागि हिजो गाउँ गाउँमा बिजुली, बाटो, स्कुल र स्वस्थ चौकी पुर्याए मूलक उधमिकरण बन्छ र धनी मुलुक बन्छ भनी यिनै नेताहरूले ३० वर्ष सम्म खोके। राज्य आफूले सञ्चालन गरे। आज जुन जुन गाउँमा ती सुविधा पुगे त्यहाँको युवा विदेश पलायन भए। हिजोको चहलपहल युक्त गाउँ आज युवा विहीन वृद्धहरूको लागि समय बिताउने काल पर्खने काँडा घारी बनेको छ।

यसको पछाडिको कारण हो बिदेसी सामान स्वदेशमा उधम हुन् सक्ने सम्भावना लाइ मारिदिएर स्वदेशमा बिना रोक तोक छिर्न दिने नीति।

मुलुकमा गलत तरिकाले कमाएको धन विदेश सहज पुग्न सक्ने कुरालाई केन्द्रमा राखी कुरा ठुला गरेर नियम परिमार्जन गर्दै लागु गरिने एक द्वार प्रणाली । एक स्थिर र मानक प्रक्रिया लागू गर्ने एक द्वार प्रणाली मोडेल जसले अभ्यास, परीक्षण, अनुकूलन र निरन्तर सुधार जस्ता सजीवता चाहिने नवप्रवर्तनको बाटो रोक्ने काम गरिदिन्छ। मुलुकको उत्पादन मैत्री उद्यमशीलता विकासको लागि चाहिने गतिशील प्रयोग र गतिशील नीति बनाउन रोकेर नवप्रवर्तनको लागि अनिश्चितता दिने कठिन, प्रतिकुल बडा हाकिम प्रकृतिको शासक जन्माउने जडता वृति बोकेको शासन।

नवप्रवर्तनका लागि मुलुकमा विभिन्न एप्लाइड उद्यमको अनुसन्धान गर्ने व्यवहारिक इनोभेसन गर्ने संस्था, स्टार्टअप तथा सरकारी संयन्त्रहरू को समन्वय चाहिन्छ। एक द्वार प्रणाली भनेको एकै प्रक्रियालाई सबैमा लागू गर्ने मोडेल भएकाले, यो विविध र अनुकूलनमय नवप्रवर्तन परियोजनाहरू सँग मेल खान सक्दैन। इनोभेसनको ठिक विपरीतको मार्गमा काम गर्ने दलाल मैत्री मुलुकको प्रशासन बनाउने तरिका हो।

एक द्वार प्रणालीले यथार्थमा सरकारी निकायहरू बढी नियन्त्रण गर्ने अधिकार दिन्छ । कमिसन खोर कर्मचारी तन्त्र, नेता तन्त्र र कमिसन खोर प्रणाली लाई संस्थागत गर्दछ। निर्णय गर्ने प्रक्रियामा झन् ढिलाइ (Bureaucratic Bottlenecks) ल्याउने गर्दछ । नवप्रवर्तनका लागि परिवर्तित अवस्थामा आवश्यक पर्ने छिटो निर्णय गर्ने क्षमतामा बाधा पुग्ने वातावरण विकास गर्दछ।

अर्कोतर्फ भएकै व्यवसाय लाई बिना नियमित सुधार गर्न यसले सहज बनाउने गर्दछ। नियमित सुधारको काममा असहज हुने व्यवस्था ती मुलुकहरूमा अवलम्बन गरिन्छ जहाँ आफ्नो उत्पादन केही हुँदैन, आयातमा मुलुक निर्भर हुन्छ। व्यापार भनेको बेदेशीको समान बेच्ने, दलाली प्रकृतिको स्किम बेच्ने, इन्सुरेन्स, बैङ्क जस्ता अनुत्पादक चिजमा लगानी गर्ने कुराहरू हुन्छ। रात दिन एक द्वार प्रणाली भनेर खोक्ने व्यवसायी आफ्नो उत्पादनमा व्यापार गरिरहेको हुँदैन। बिचमा सेवा सुल्क लिने दलाली उसको जीविकोपार्जन र व्यवसायको सेतु हुन्छ। उनीहरूको एकै चिन्ता हुन्छ कि मुलुक भित्रको आफै उत्पादनले , आन्तरिक उत्पादनले उनीहरूको पकडमा रहेको सानो सानो इलाकाको बजार विस्थापन नगरोस्। उनीहरूको व्यापारिक हैकम कायम रहो।

नवप्रवर्तन अक्सर तीव्र परीक्षण (rapid prototyping), बजार परीक्षण, नीति समायोजनमा निर्भर हुन्छ। एक द्वार प्रणाली त्यसको ठिक विपरीतको असहज वातावरण बनाउने तरिका हो । नवप्रवर्तनमा उत्पादक र उपभोक्ता बिच प्रडक्ट डेभलपमेन्टको समय देखि सहकार्यको जरुरत हुन्छ। कोक्रीएसन बिना नवप्रवर्तन सम्भव हुँदैन। अर्को तर्फ सिद्धान्तको पढाइ हुने विश्व विद्यालय आदिको थेसीस जस्ता कमले समेत मुलुकमा इनोभेसन दिँदैन। उद्यम गर्ने उद्यमीको उद्योगमै कोक्रिएसन रुपी व्यवहारिक उत्पादनको रियल टाइम मार्केट टेस्ट गर्दै इनोभेसन सम्पन्न गर्नु पर्ने हुन्छ। जुन कुनै विदेशीले दिएको दान, प्रविधिको सहयोग वा एड बाट सफल बनाउन सकिने कुरा हो। न त सरकारले अनुसन्धान गर्ने भनी राखेको राजस्वमा परजीवी बनेर स्थापित सङ्घ संस्थाले समेत गरेर हुने कुरा हो।

यो त महावीर पुनले गर्न खोजेको जस्तो आफ्नो प्रतिभाशाली नागरिकले स्थानियातामा भिजेको सीप र ज्ञानलाई विज्ञानको आधुनिक ज्ञानको समेत उपयोग गरी प्रतिस्पर्धात्मक बनाएर स्थानीय बजारमा बिकिरहेका विदेशी र आयातित उत्पादनको त्यो भन्दा सस्तोमा प्रतिस्थापन गर्न सफल हुने उद्यमको विकास गर्ने विषय हो।

एक द्वार प्रणालीको भित्री नियत मुलुक भित्र इनोभेसन लाई स्थायित्व हुन नदिने हुन्छ। विदेशी उत्पादनको लागि मुलुकलाई एकाधिकार बजार बनाइ राख्ने बल्छीको रूपमा समान बिक्री गर्ने मुलुकको कूटनीतिक नियोगले केही ग्रान्ट आदि दिएर र आफ्नो सामानको कमिसन एजेन्ट मार्फत त्यो मुलुकको सरकारलाई प्रभावमा लिएर आधुनिक मिठो भाषाको अन्तर्राष्ट्रिय बजार ट्र्याप गर्ने उपायको रूपमा गरिब मुलुकहरूमा एक द्वार प्रणाली त्यहाँ कार्यरत विदेशी वित्तीय संस्था हरुको दबाबमा लागु गर्ने गरिन्छ।

एक द्वार प्रणाली जीवितता मरेको एक स्थिरतामा केन्द्रित मोडेल भएकाले त्यसले स्वतन्त्र अनुसन्धान, क्रस-सेक्टर सहयोग वा उद्यमशील सोच आदि लाई प्रोत्साहित नगर्ने मात्र होइन कि प्रोत्साहन गर्ने वातावरण नै मारिदिन्छ। जोखिम मोडेल (Risk-Taking) भनिने नवप्रवर्तनको लागि युवालाई जोखिम लिने साहस, प्रयोग र असफलता लाई सामाजिक र राष्ट्रिय रूपमा स्वीकृत वातावरण बनाउन एक द्वार प्रणालीको भूमिका नकारात्मक हुन्छ। त्यसैले नवप्रवर्तनलाई सहयोगी वातावरण बनाउन लागेको हरेक मुलुकले आफ्नो परिस्थितिकी तन्त्र (collaborative ecosystem) आदि इनोभेसनको सुपर क्लस्टरको रूपमा विकास गर्ने गर्दछन्। उद्यमीले नवप्रवर्तनमा गरेको सम्पूर्ण खर्च राज्यले नीति र रोबष्ट ट्याक्स रीबेटको सिस्टम बनाएर बेहोर्ने गर्दछ।

सरकारी एक द्वार प्रणाली जोखिम न्यूनीकरण गर्ने प्रशासनिक मोडेल भएकाले, उच्च जोखिमयुक्त नवप्रवर्तन परियोजनाहरूलाई यसले प्राथमिकता दिँदैन। यो मात्र मुलुक भित्र वित्तीय बैकहरूको नाफा निश्चित गरी दलाल एजेन्ट मोडलको व्यवसायलाई जिउन संस्थागत गरिने पुँजीवादी अवधारणा हो। नेपालमा चाहे एनआरएनएको नाममा, उद्योगपतिहरूको सङ्गठनको नाममा, कुनै वित्तीय सङ्घ संस्थाको सहयोगको नाममा, जुन सुकै रूपमा भएका नवप्रवर्तन भेला आदिमा नियोजित रूपमै एक द्वार प्रणाली माग गरेर समापन गर्ने गरेको ५० वर्ष जति भएको हामीले देख्ने गर्दछौ।

आज नेपालमा राजनीति सबै भन्दा कम लगानीको कम जोखिमको व्यवसाय बनेको छ। राजनैतिक व्यवसायमा लागेकाहरूले समेत यो हप्ता व्यवस्थापनको पारदर्शी र प्रभावकारी तर नवप्रवर्तनका लागि नेपालमा काल बनेको एक द्वार प्रणालीको माग र सिफारिस गरेर यसलाई समापन गर्ने दिसामा गएको प्रस्ट बनेको छ । यसले नेपालमा नवप्रवर्तनका लागि जरुरी हुने लचकता, सहकार्य, तीव्र निर्णय क्षमता र आवश्यक प्रयोगात्मक वातावरणको हत्या गर्ने गरी परिवर्तित एक द्वार प्रणाली लागु गर्न हालका अर्थमन्त्री लाई यो भेला पछि काँग्रेसी सिफारिस प्रस्तुत हुने छ। समाज बादी अर्थमन्त्री विष्णु दाइले यसलाई आँखा चिम्लेर लागु गर्ने छन्।

मेरो नजरमा, नेपाली काँग्रेसले नवप्रवर्तन लाई प्रवर्द्धन गर्न सरकार लाई सुझाव दिने नामको नाटक गर्न आयोजना गरेको यो मेलाले अर्थमन्त्री लाई एक द्वार प्रणाली लगाउनु भन्ने सिफारिस दिने छ। त्यसले दिने प्रतिफल भने नेपालमा थप दस बिस बर्स मुलुकमा खुला र बहु-स्तरीय नीति तथा सहकार्य मोडेल स्थापित हुन नसक्ने र इनोभेसनको घाँटी रेटिने कर्मको नियन्त्रित नियमितताको ग्यारेन्टी गरिदिने छ।

हिजो त्यहाँ सुनिएका चर्का चर्का आवाज त्यसले दिने प्रभाव बारे जान्न नसक्दा उद्योगी-व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाउन कानुनी जटिलता हटाएर एक द्वार प्रणाली लागू गर्नु पर्नेमा केन्द्रित भएको भन्ने अर्थ दिने जस्तो सुनिन्थ्यो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको तर त्यसलाई छिट्टै कार्यान्वयनमा लान उनलाई एक द्वार प्रणाली तुरुन्तै चाहिएको आशयको भाषण ठोके। नेपाल महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीको नेपाली उत्पादनलाई प्राथमिकता दिन त्यसको ठिक नतिजा दिने सुधारिएको एक द्वार प्रणालीको जरुरी भएको तर्क थियो। ज्ञवालीलाई सहज ढङ्गले उद्योग व्यवसाय गर्न आर्थिक नेटवर्किङ महत्त्वपूर्ण भएकाले बैङ्क र वित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरूका लागि विश्वास गरिदिनु पर्ने लागेको रहेछ। त्यसले इनोभेसन चाहिँ कसरी गर्दछ भन्ने कुरा ज्ञवाली बाट आएन।

बिदेसिने युवाहरूलाई नेपालमा राख्न कानुनी झन्झटबाट मुक्त गर्ने , सहज लगानीको वातावरण चाहिने तर्क बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेको थियो। तिनीहरूलाई इनोभेसनको पूर्वाधारको रूपमा आइडिया इन्कुबेसन र स्टार्ट द स्टार्ट अपको जरुरत भने उनले देखेनन्। उनको जोड संसारभर विपरीत नतिजा दिएको एक द्वार प्रणाली लागु गर्नु पर्नेमा थियो। विश्व दृष्टि बाट नेपाल नियाल्दा नेपालको हाल सम्मकै सबै भन्दा कुशल युवा उद्यमीको आवृतिमा देखा पर्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरिलाई समेत एक द्वार प्रणाली नै चाहिएको रहेछ। उनको लागि वित्तीय संस्थाले ठुलो लगानीको वातावरण पहिले नै सिर्जना गरिसकेको उनको अनुभूति रहेछ। संसारभर कसरी इनोभेसनको पूर्वाधार तयार भएकोले त्यहाँका उद्यम सफल भएको छ त्यो प्रत्यक्ष आफैले देखे भोगेका निर्वाणले समेत इनोभेसनको पूर्वाधारको जरुरतको आफ्नो अनुभव, उनलाई थाहा भएको कुरा त्यहाँ राखेनन्। उनको चासो अन्तर्राष्ट्रिय लगानी गर्न सहजै डलर बाहिर लान ल्याउन सकिने गरी परिवर्तित एक द्वार प्रणाली चाहिएको मा केन्द्रित देखियो।

त्यसो त औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय नवप्रवर्तनको दायरा बढ्दै गएको गज्जबको अनुभव र निष्कर्ष बताए। उनले बुझेको नवप्रवर्तनमा स्वदेशमै निर्मित स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगले विदेशी मालको स्थानीय बजार प्रतिस्थापन नदिने प्रकृतिको हालको बिजनेस मोडलको सुरक्षा गर्नु पर्ने उद्देश्य लिएको हुनु पर्ने भन्ने आयो। त्यस्तो व्यवस्थाको दायरा नेपालमा केही वर्षयता देखि फराकिलो बन्दै गएकोले सहज वातावरण नियमित होस् भन्ने उनको तर्क सुनियो।

त्यहाँ झुल्किएका राजनैतिक उद्यम समालिरहेका युवा नेताहरूले औपचारिक / अनौपचारिक रूपमा त्यहाँ माग भए अनुरूपका परिवर्तित एक द्वार प्रणाली लागु गर्न दिएको सल्लाहले उनीहरू उत्सुक बनेको र हिजै बाट त्यसलाई लागु गर्न सक्रिय बनेको आशय खोक्दै थिए। जे होस् यी वृत्तान्त बाट नयाँ नेपालमा इनोभेसनको जात्रा कुन रूपमा प्रदर्शन हुँदै रहेछ, सो बुझ्न हामी जस्ता पर्यवेक्षक लाई सहज बन्यो।

यो पनि निश्चित बन्यो कि इनोभेसनको वास्तविक यात्रामा रहेका महावीरहरूले त्यहाँ निकै धेरै रगत, पसिना बगाउन र चप्पल फटाउन पर्ने वातावरण विद्यमान रहेछ। मुलुकमा इनोभेसनको जग बसाल्न सडक सडकमा किताब बेच्दै हिँडेको दृश्यमा देखिएका महावीरहरूको एक दुई पुस्ताको जीवन लाग्ने अवस्था बनेछ।

कठै! काँग्रेसको अर्थ न व्यर्थको नवप्रवर्तन भेला !!