प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेदमा समाज शास्त्रको समेत व्यापक चर्चा गरिएको छ। वेदको अनुसार समाजको सबै भन्दा घातक रोग भ्रष्टाचार हो। इतिहास को नै सबै भन्दा जर्जर अवस्थामा आज नेपालको राज्य व्यवस्था चलिरहेको छ। जसको ऐना मुलुकको सञ्चालनमा रहेका हरुको विगत र हालको अनुहारले प्रस्ट गर्दछ। वेदको अनुसार यो प्रकृतिको जर्जर भ्रष्टाचारको व्यावहारिक समाधान निकै चुनौती पूर्ण हुने गर्दछ। कारण नियमित जर्जर भ्रष्टाचार कायम गरेर भ्रष्टाचारी समूहको नियन्त्रणमा सत्तामा तव सम्म रहन्छ जब सम्म मुलुकको नागरिकमा सामाजिक र नैतिक संवेदनशीलता हराउने गर्दछ। आफ्नो बिग्रिरहेको भविष्यको बारेमा अन देखा गरेर तत्कालको सानो सीमित स्वार्थ रोज्नामा आफूलाई केन्द्रित गर्दछ।
भौतिक सुख सुविधामा सीमित मानिसको स्वभाव कृतघ्न, अस्थिर, छली, डरपोक र लोभी हुने गर्दछ। त्यसैले भौतिक लाभ हानिमा सीमित रहने व्यक्तिको स्वभाव कुनै न कुनै रूपमा भ्रष्टाचार मैत्री हुन्छ।विकसित देशहरूमा भ्रष्टाचार प्रायः उच्च तहमा मात्र सीमित रहन्छ र यसले आम नागरिकको दैनिकीको जीवनमा त्यसको त्यति धेरै प्रत्यक्ष असर गरेको आम नागरिकले महसुस गर्दैन। आज नेपाल संसारकै सबैभन्दा भ्रष्ट राष्ट्र मध्ये एक बनेको छ जहाँ हाकाहाकी भ्रष्टाचार गरिन्छ। हाकाहाकी भइरहेको भ्रष्टाचारको समर्थन गर्ने समेत विशाल भिड देखिन्छ। आम सञ्चारमा त्यस्तो हाकाहाकी भइरहेको भ्रष्टाचार लाई समाजको भविष्य निर्माणको लागि गरिएको समाचार छापेर तेस्रो पक्षको समर्थन प्रस्तुत गरिन्छ।
नेपालमा भ्रष्टाचार सबै तहहरूमा छ, जसले नागरिकहरूको दैनिक जीवनमा नगर वार्डको प्रशासन देखि सामाजिक सेवासम्म असर गरिरहेको भएता पनि त्यसलाई समाजले संस्थागत रूपमा स्वीकारेको छ।हाकाहाकी भइरहेको भ्रष्टाचारको समर्थन गर्न नसक्नेहरूको चेहरा समाजमा निकै कलुषित हुने गरी प्रस्तुत हुन्छ। त्यसको बहिस्कार गर्ने आत्मिक क्षमता समेत समाजमा रहेका नागरिकहरूले गुमाएको देखिन्छ। आज संसारको अवस्था हेर्दा सिंगापुर, फिनल्याण्ड, अस्ट्रेलिया जस्ता केही देशहरूले भ्रष्टाचारलाई निजी र सार्वजनिक दुवै क्षेत्रमा घातक रोगका रूपमा लिएर केही सुधारात्मक कार्य गरेको देखिएता पनि संसारका प्राय अधिक शासन व्यवस्थामा भ्रष्टाचारलाई धेरै हदसम्म नियन्त्रण गरी केही हद सम्म स्वाभाविक मानी त्यसमा व्यवहारिक स्वीकृति दिने गरेको देखिन्छ। जुन सरदार ५% हुने गरेता पनि नेपालमा भने यो डर कम्तीमा २४% छ।
नेपालमा हरेक नागरिकले तिरेको रु १००० सेवा वा सामानको मूल्यमा कम्तीमा २४० रुपियाँ भ्रष्टाचारको कारण थोपरिएको सामाजिक भारको मूल्य हुने गरेको छ।
एक उद्योगपतिले आफ्नो उत्पादन ५% भ्रष्टाचार लागत भएको देश बाट २४% भ्रष्टाचार लागत भएको देशमा सार्न खोज्दछ भने उसले करिब १८.१% प्रतिस्पर्धात्मकता गुमाउन पुग्दछ। अर्को तर्फ स्थानीय उपभोक्तामा आधारित वस्तु वा सेवा निर्माण गर्ने उद्योगको नाफा मार्जिन विभिन्न कारकहरू अनुसार फरक फरक छ। जसलाई उद्योगको प्रकार, बजार अवस्था र भौगोलिक क्षेत्र आदिले प्रभाव गर्दछ। तथापि स्थानीय उपभोक्तामा आधारित वस्तु वा सेवा निर्माण गर्ने उद्योगको विश्वव्यापी औसत स्थूल नाफा मार्जिन (Gross Profit Margin) औसत: ३०% देखि ३५% हुने गर्दछ। जुन कुल राजस्व (Revenue) बाट वस्तुको उत्पादन लागत (COGS) घटापछिको हुने आउने बाँकी प्रतिशत हो। जसको शुद्ध नाफा मार्जिन (Net Profit Margin) औसत मात्र ८.५४% हुन आउँछ। जुन सम्पूर्ण खर्च (सञ्चालन खर्च, कर, व्याज आदि) घटाएपछि बाँकी हुने नाफा हो।
यसमा मात्र ५% ग्लोबल भ्रष्टाचारको लागत जोडिएको हुँदा २४% नेपालको हालको भ्रष्टाचार लागत अन्य मुलुकको भन्दा १९% उच्च रहेकोले नेपालको कानुनमा पूर्ण रूपमा बाँधिएर नेपालमा हुने हरेक उत्पादन मूलक व्यवसायले अत्यन्त उच्च व्यवस्थापन गर्दा समेत कम्तीका १०% घाटा बेहोर्न पर्ने गरी हाम्रो सोसल र राजनैतिक इञ्जिनियरिङ्ग भएको छ। यसरी आजको नेपाल आजको अवस्थामा यो व्यवस्था मानै परिवर्तन गरी करेक्सन नगर्दा सम्म उत्पादन मूलक व्यवसाय टिक्न नसक्ने विदेशीको एकाधिकार बजार हुनु बाहेक अर्को विकल्प नरहेको मुलुकको रूपमा रूपान्तरण गरिएको छ। मुलुकमा जति ठुलो भ्रष्ट भनेर चिनियो तिनले त्यति नै ठुलो राज्य व्यवस्थाको खटनपटनको जिम्मेवारी पाउने गरी राजनीति लाई व्यापारीकरण गरिएको नेपाली बजारको आफ्नो उत्पादन बिदेसी समान वा सेवा संग प्रतिस्पर्धा गर्नु पर्दा उल्टो १०% घाटा सहनु पर्ने गरी इञ्जिनियरिङ्ग भएको छ। जहाँ बिदेसी समान वा सेवा संग प्रतिस्पर्धा गर्नु नपर्दा समेत १८.१% ले नेपाली मुलुकको उत्पादनले बजारमा प्रतिस्पर्धात्मक क्षमता ता च्युत हुने प्रशासनिक व्यवस्था भएको छ।
सामवेदको ऋचा १७९ र ९१३ अनुसार नौ वटा राक्षसी वृति ग्रस्त टाउकाहरू भ्रष्टाचारका मूल नायक हुने गर्दछ। जसलाई नव मुखी राक्षस भनेर वर्णन गर्ने गरिन्छ। व्यक्तिको नियतमा हुने नौ प्रकृतिका भ्रष्टाचार वृति पाँच इन्द्रिय, पाँच ज्ञानेन्द्रिय र मनको प्रभावमा पर्दछ। ९ भ्रष्ट वृतिका ११ फरक फरक प्रकृतिको प्रभावका कारण ९ × ११ = ९९ प्रकृतिको द्वार वाट व्यक्तिको कर्म मार्फत समाजमा भ्रष्टाचार वृति क्रियाशील हुने गर्दछ। व्यक्तिको मनोविज्ञानमा रहने दुष्ट प्रवृत्ति सङ्केत गर्न रामायणमा रावणका नौ टाउकाहरू रहेको कुरा गरिन्छ। रावणका नौ टाउकाहरूले हामीलाई आफू भित्र कै पापी वृति तर्फ सङ्केत गर्दछ।
जसलाई सक्रिय हुन् नदिएर हामी आफ्नो कर्म मार्फत पाप हुन नदिने प्रण गर्दै प्रत्येक वर्ष दसैँमा त्यसलाई हामी जलाउने गर्छौ। महाभारतका धृत राष्ट्रका ९९ दुष्ट पुत्रहरू यथार्थमा ९ भ्रष्ट वृतिका ११ फरक फरक प्रकृतिको प्रभाव हामीलाई भ्रष्ट बनाउन सक्ने ९९ स्रोतहरूको प्रतीक हो। जसले मानव कर्म नौ प्रकारका भ्रष्टाचार वाट प्रभावित हुने ९९ तरिका हुने वा त्यसको ९९ मार्ग हुने सङ्केत हो।
वेदले ज्ञान रुपी प्रज्ञालाई भगवानको नाम दिएको छ। प्राकृतिक नियमको सिद्धान्त मान्नु लाई वेदले धर्म भन्दछ। आफ्नो जिम्मेवारीको कर्म सम्पन्न गर्ने क्रममा अनिवार्य रहेको बाहेकको हिंसा र अनैतिक आचार लाई वेदले अपराध मान्दछ। प्राकृतिक नियम अमैत्री कर्म तथा अहिंसा युक्त झुटो बोल्ने कार्य पाप कर्म भित्र पर्दछ। पाप वा हिंसा युक्त झुटो बोल्ने कर्म र अनैतिक अचार युक्त कर्म सबै अपराध कर्म भित्र पर्दछ। जसलाई वेदले राक्षसी वा दुष्ट कर्म भन्ने गरेको छ।
ऋग्वेदको ऋचा १-१०४-३ अनुसार सरकारी कोषको दुरुपयोग गर्ने (घुस खाने) मानिसहरू भगवानको चोर हुन्। यिनीहरू अपराध बापतको दण्ड समेत अनिवार्य भोग्नु पर्ने नियत वाट गुज्रन पर्दछ। त्यो पनि यही जीवन कालमा। मरे पछि उनीहरू यम दण्डको नरकमा पतन हुने गर्दछन्। पाप र अपराध कर्मको फल बापतको कारबाहीको नियति भोग्नु पर्ने अवस्था वाट उनीहरू लाई कसैले बचाउन सक्दैन। भगवद्गीता ले समेत यही कुरा पुष्टि गर्दछ। ऋग्वेदको ऋचा १-८४-१३ अनुसार अपराधी व्यक्तिको मनोविज्ञान ९९ भ्रष्ट शक्तिहरू (वृति) मा एक वा सो भन्दा अधिक सङ्ख्यामा सक्रिय रहने गर्दछ जसले उनीहरू लाई अपराधमा लिप्त गराउने गर्दछ।
यजुर्वेद ३०-२२ अनुसार भ्रष्ट व्यक्तिहरू राज्यको चार वर्णाश्रम (वैदिक वर्गीकरण अनुरूपमा ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र रुपी हरेक पेसाहरू) मा सहभागी हुने अवसर वाट वञ्चित गरिनु पर्दछ। चार वर्णाश्रममा रहेका राष्ट्र सेवकहरू यस्ता व्यक्तिहरू सँग घुलमिल समेत हुन नपाउने गरी राज्यको कानुन निर्माण गरिनु पर्दछ। ऋग्वेदको ऋचा ५-६१-८ अनुसार घुस खाने, घुस दिने र भ्रष्टाचारलाई समर्थन वा संरक्षण गर्ने सबै व्यक्तिहरू अपराधी नै हुने भएकोले तिनीहरू सँग चार वर्णाश्रममा रहेका राष्ट्र सेवकहरूले दूरी कायम राख्नु भनिएको छ। ऋग्वेदको ऋचा १-४२-४ ले निजी प्रयोजनको लागि (अनिवार्य सामाजिक कर्ममा नजाने पारिश्रमिक बाहेकको) दान र उपहारको नामको चन्दा, उपहार, दान आदि लिने गुरुहरू समेतलाई घुस्याहा र भ्रष्टाचारी करार गरेको छ।
वेदको बुझाइमा जब समाजले भौतिक चीजहरू लाई फगत जड अर्थात् निष्क्रिय तत्व सम्झन्छ, पृथ्वी आदि उत्खनन आदि गरी दोहन गर्न हुने कुरो मान्दछ तब भ्रष्टाचार मौलाउने गर्दछ। निर्माण तत्वको सन्दर्भमा भगवान् शब्दले चेतना वा चैतन्य लाई जनाउने गर्दछ। ऋग्वेदको अनुसार प्रत्येक परमाणु भगवान् अर्थात् चेतना निर्मित छ। चेतना निर्मित परमाणुको संयोजनले निर्मित हरेक भौतिक तत्व समग्र चेतना अर्थात् परमात्मा वा प्रकृतिको नियम मैत्री कार्य गर्ने नियत अर्थात् इनर्सियाको गुणले भरिपूर्ण हुन्छ। प्राकृतिकको स्रोतहरूको अन्धाधुन्ध दोहन हुने कर्म पुरा गर्न प्रकृतिको नियम अमैत्री कर्मको जरुरत पर्दछ। जसलाई वेदले पाप कर्म शब्द प्रयोग गरेको छ।
मोह, लोभ, आलस्य जस्ता तमोगुण वृतिले व्यक्तिमा भ्रष्टाचार वृति हाबी हुने गर्दछ। भ्रष्टाचार वृतिले मुलुकको सञ्चालनमा भने तमोगुण प्रधान अर्थतन्त्रको विकास गरिदिन्छ। लोभी वृतिका व्यक्तिहरूमा मायाको (भ्रम) सुनौलो पर्दा भित्र सत्य लाई लुकाई दिने कार्य गर्दछ। जसका कारण माया मोहमा परेको व्यक्ति बाह्य भौतिक सुखमा अलमलिन पुग्दछ। आफूले भोगेको भौतिक सुखको अनुभूति भित्र आफ्नै हृदयमा बास गर्ने परमात्माको अंशको खोजी गरी यथार्थ पहिचान गर्नु पर्ने विषय बस्तु सम्म पुग्न उसलाई उसको अहङ्कारले दिँदैन।
वैदिक सन्दर्भमा आशक्ति, बन्धन र सांसारिक अल्झन हरू जनाउन "पासा" शब्दको प्रयोग गरिन्छ जसले विशेष गरी माया (भ्रम), कर्म (कर्मको परिणाम) र जन्म-मृत्युको चक्र (संसार) को कारक मानिन्छ। कठोपनिषद् (१.३.३-४) ले जीवलाई जन्म-मृत्युको चक्रमा अड्काएर राख्ने डोरी वा जालको बन्धनको रूपमा पासोलाई लिने गर्दछ। संसार तीन तत्व बाट बनेको हुन्छ। पति अर्थात् परम चेतना। पासा अर्थात् अज्ञान, कर्म र मायाको बन्धन। र पशु अर्थात् सीमित चेतनामा बाँधिएको जीवात्मा। यही कारण महाभारतमा द्यूत-क्रीडा अर्थात् जुवालाई पनि पासा भनिएको छ। युधिष्ठिर र शकुनिको जुवाको खेल मार्फत सांसारिक लोभ, मोह र ठगी मार्फत सांसारिक मोह र वासनाले कसरी व्यक्तिलाई पतन गराउँछ भन्ने देखाउने अभिप्राय लिइएको छ। ऋग्वेदको ऋचा १०-३४-१३ अनुसार जुवा खेल (विशेष गरी पासा) भ्रष्टाचारको मुख्य कारणहरू मध्ये एक हो। महाभारतको पासा क्रीडाले जन्माएको भीषण परिणाम मार्फत भ्रष्टाचारले मानिसको नैतिक गुणहरू कसरी नष्ट गरिदिन्छ र उसलाई केवल भौतिक ज्ञानमै सीमित गरिदिन्छ भन्ने देखाउने गर्दछ। ऋग्वेदको ऋचा १-१२९-६ अनुसार केवल भौतिक ज्ञान अर्थात् विज्ञान लाई पूर्ण ज्ञान ठान्नु सबै भन्दा ठुलो अज्ञानता हो। जसले समाजमा पढे लेखेको भनिएको वर्ग लाई चरम भ्रष्टाचारीको रूपमा रूपान्तरण गरिदिने जोखिम थपिदिन्छ।
कुनै पनि समाजमा भ्रष्टाचार रहेको वा नरहेको जान्ने वेदको फर्मुला अनुसार यदि समाजमा एक जना पनि मानिस भोकले मरेको भेटिन्छ भने त्यो समाजमा भ्रष्टाचारको प्रवेश भइसकेको छ। यो परिस्थिति तव मात्र आउँछ जब राज्यमा अवर्ण अर्थात् गैर-वैदिक व्यवसायमा विश्वास गर्नेहरू राज्य सत्तामा रहने गर्दछन्। अवर्ण शब्दको अर्थ हो वर्ण बाहिरका वा वर्णविहीन राजकाज। भ्रष्टाचार विहीन समाज निर्माण गर्नको लागि ब्रह्म ज्ञानीहरू अर्थात् ज्ञान र विज्ञानमा पोख्त रहेकाहरू ब्राह्मण पेसामा (विज्ञान, प्रविधि र वैदिक ज्ञान प्रवर्धन) रहनु पर्दछ। ब्राह्मण पेसा अन्तर्गत ज्ञान, शिक्षा, योजना निर्माण तथा प्रविधि विकास, नव प्रवर्तन आदि पर्दछ। कुशल वैज्ञानिक, शासक, युद्ध कलामा पोख्त, सुरक्षा विज्ञ आदि क्षत्रिय पेसामा (राजकाज सञ्चालन) रहनु पर्दछ। कुशल व्यापारी, अर्थ शास्त्री, कृषि तथा पशुपालन विज्ञ,सम्बन्धित व्यवसायका विषय विज्ञहरू वैश्य पेसामा (व्यापार र उद्यम) रहनु पर्दछ। साथै आफूलाई प्रविधि, कला, सेवा, हस्तकला, श्रम आदि जस्ता विषयमा सहभागी हुँदा आनन्द महसुस गर्ने उत्कृष्ट निर्माणमा पोख्त मेधावी व्यक्तिहरू शूद्र पेसामा (कर्मचारी) लागेको हुनु पर्दछ।
हरेक व्यक्तिले आफ्नो पेसा आफ्नो क्षमता र सम्बन्धित विषयमा उसको विज्ञता, चाख, र मूलतः उसको निजी शौख अनुरूप आफ्नै छनौटमा आफैले तय गरेको हुनु पर्दछ। जसलाई वर्ण व्यवसायमा अर्थात् वैदिक व्यवसाय भन्ने गरिन्छ।
जब राज्यमा अवर्ण व्यवसायको रीति थिति बस्दछ तव शक्ति, प्रतिष्ठा र धनका लागि समाजका नागरिकहरू आपसमा प्रतिस्पर्धा गर्न थाल्दछन्। आफ्नो क्षमता, खुबी र शौख अनुरूपको व्यवसायमा लागेर समाजलाई दिगो नव प्रवर्तनको बाटोमा लान नैतिक, अहिंसा प्रेमी, प्रकृति मैत्री जीवन जिउन उद्धत रहनु पर्ने मानवीयता विहीन मनोविज्ञानले व्यक्ति आक्रान्त बन्दछ। त्यस्तो समाजमा हुर्कने बढ्ने अधिकतम सङ्ख्याका व्यक्तिमा चरम आशक्ति र अहङ्कार भाव भएको चरित्र निर्माण हुन पुग्दछ। समाजमा नैतिकता समाप्त हुन्छ।
नैतिकता समाप्त भएको समाजले चार्वाक नीतिमा विश्वास गर्ने र त्यसैमा रमाउने गर्दछ। त्यहाँ धन, सम्पत्ति, पद र शक्तिको आधारमा व्यक्ति पूजा हुने गर्दछ। व्यक्तिले कुन तरिका वाट धन, सम्पत्ति, पद वा शक्ति हासिल गरेको हो त्यस्तो कुरा गौण बन्छ। छलछाम पूर्ण रूपमा जसरी भए पनि कमाएर बाचुन्जेल भौतिक आनन्दका साथमा जीवन कटाउने विषय नै सफल व्यक्तिमा गनिन्छ। सम्पत्ति भएको वा शक्तिमा रहेको व्यक्तिको मात्र इज्जत र सम्मान गरिने चलन स्थापित हुँदै गर्दा झुट बोल्ने, घुस दिने, घुस खाने जस्ता भगवानको चोरहरू मार्फत समाजलाई नै अपराधीकरण गरिन्छ। यस्ता समाजमा रहेका व्यक्तिहरू लोभको सिकार भई बाह्य पूजा, दान र आडम्बरको समेत प्रदर्शन गर्ने गर्छन्। यजुर्वेद र ईशोपनिषद्ले उल्लेख गरे अनुसार बाहिरी रूपमा धार्मिक देखिए पनि भित्री रूपको अन्धकारबाट ग्रस्त यस्ता व्यक्तिहरू यथार्थमा दैनिक अझ गहिरो अन्धकार तर्फ जाँदै गरेको हुन्छन्। जसलाई ब्रह्म राक्षस रूप भनिन्छ।
कौटिल्यको (चाणक्य) अर्थशास्त्रको अवधारणा अनुरूप राजनीतिलाई घोषित रूपमै व्यापारमा रूपान्तरण गरिएको तथा राज्य सत्तालाई भ्रष्टाचार मार्फत सामाजिक सम्पत्तिको दोहन गरी आफू र आफ्नो पुर्खाको लागि कमाउने साधनको रूपमा खुलेआम उपयोग गरिने मुलुक सर्वाधिक पतित राजनीति कर्मी सासित मुलुक हुने गर्दछ। नेपालको हालको अवस्थाको चित्रित गर्ने यस्तो मुलुकमा राज्यले भ्रष्टाचार रोक्न केवल औपचारिक प्रतिबद्धता देखाउने तर व्यवहारमा भने भ्रष्टाचार मौलाएको र दिन प्रतिदिन झन् तीव्र गतिमा फैलिरहेको देखिने हुन्छ। यस्तो शासन कायम रहेको मुलुकको अवस्था विद्यमान राज्य व्यवस्था लाई जन विद्रोह बाट नाफाले सम्म वास्तविक सुधारका लागि वैज्ञानिक शासन, पारदर्शिता, स्वराज्य र नैतिक शिक्षाको प्रवर्धन जस्ता विषय लागु गर्न सम्भव रहँदैन।
ऋग्वेदको अनुसार प्रत्येक मानिसको यस पृथ्वीमा जन्मनुको विशेष उद्देश्य रहेको हुन्छ। ऋग्वेदको भनाइ अनुसार निर्गुण ब्रह्मलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हरेक व्यक्तिको यो पृथ्वीमा मानवको रूपमा जन्म भएको हो। जहाँ निर्गुण ब्रह्मको अर्थ हुन्छ अव्यक्त र निराकार परमात्मा। जसलाई वेदले विश्वकर्मा भन्ने गर्दछ। विश्वकर्मा एक परम वास्तुकार हुन् जसले हामी रहेको महान् अद्भुत सृष्टि र त्यसको सञ्चालन प्रणालीको निर्माण गरेका छन्। त्यसैले विश्वकर्मा सृष्टि वा संरचना गर्ने परम शक्ति रुपी ब्रह्माण्डीय चेतना हुन्। सृष्टि निर्माणको देवता हुन्। महान् ब्रह्माण्डीय संरचनाको संरक्षण गर्नका लागि विश्वकर्माले शाश्वत ब्रह्माण्डीय नियमको सिर्जना गरे। जसलाई वेदमा ऋत भनिन्छ। वैज्ञानिक प्राविधिक भाषामा त्यसलाई प्राकृतिक नियमको सिद्धान्तको नामले बुझिन्छ।
विश्वकर्माको ऋत अर्थात् शाश्वत ब्रह्माण्डीय नियमहरू जब सम्म नियमित रूपमा लागु हुने गर्दछ, तव सम्म ब्रह्माण्डीय संरचनाको निमित्त सञ्चालन प्रक्रियाको संरक्षण हुन् सम्भव बन्दछ। ब्रह्माण्डीय संरचनाको निर्माण गर्ने क्रममा शाश्वत ब्रह्माण्डीय नियमलाई समेत खलल गर्न सक्ने सम्मको तागत युक्त उत्कृष्ट चेतना रहेको जीवको जरुरतको अनुभूति गरियो। त्यसै अनुरूप मानवीयता रुपी कर्तव्य पालन गर्ने जिम्मेवारीमा बाँधेर विश्वकर्माले पृथ्वीमा मानिसको नियमित अस्तित्व कायम रहने पद्धतिको निर्माण गरे। त्यसै अनुरूप आफ्नो विवेक अनुरूप शाश्वत ब्रह्माण्डीय नियम मैत्री रहेर वा नरहेर आफ्नो गतिविधिहरू स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने हदको सुद्ध चेतन शक्ति लिएर पृथ्वीमा जन्मने अवसर मानिसले प्राप्त गर्यो। विश्वकर्माको योजना मुताबिक मानवीयताको कर्तव्य पालन गर्ने सर्त सहित उत्कृष्ट मानव चेतना र विवेक लिएर पृथ्वीमा जन्मने हरेक मानिसको जीवनको उद्देश्य विश्वकर्माको ब्रह्माण्डीय संरचनाको निमित्त सञ्चालन र संरक्षण गर्ने जिम्मेवारी पुरा गर्न विश्वकर्मालाई सहयोग पुर्याओस् भन्ने नै हो। जुन प्रकृति मैत्री जीवन पद्धति अङ्गालेर तथा मानवीयताको नैतिक गुणमा कायम रहेर पुरा हुने गर्दछ। वैदिक अवधारणा अनुसार आफैले निर्माण गरेको शाश्वत ब्रह्माण्डीय प्राकृतिक नियमहरू विश्वकर्मा स्वयं ले समेत कडाइका साथ पालन गर्नुहुन्छ र त्यसको पालन गर्न आफ्नो विवेकको प्रयोग गरेर ब्रह्माण्डीय सृष्टिमा कुनै ठुलो क्षति हुन् नदिने कार्यमा हरेक व्यक्ति सक्रिय रहोस् भन्ने अपेक्षा समेत विश्वकर्माको हुने गर्दछ।
ब्रह्माण्डीय सृष्टिको सुरक्षाको भूमिकामा समाजका व्यक्तिहरूको सामूहिक भूमिकाको निकै ठुलो प्रभाव रहन्छ। जब कुनै समाजको सदस्यले प्राकृतिक नियमहरूको उपेक्षा गर्न थाल्छ तव त्यहाँ भ्रष्टाचारको वीज रोपिन पुग्दछ। जब त्यो वीजले फक्रने र फुल्ने मौका मिल्दछ त्यो समाजको निकै भित्री तह सम्म पस्न थाल्दछ। जसको विकसित रूपमा मुलुक सर्वाधिक पतित राजनीति कर्मी सासित हुन पुग्दछ। यो अवस्था मानवीयताको कर्तव्य पालन गर्ने सर्त सहित उत्कृष्ट मानव चेतना र विवेक लिएर पृथ्वीमा जन्मने हरेक मानिसको लागि लज्जाको विषय हुनु पर्दछ। यस प्रकृतिको निकृष्ट अपराधको साक्षी रहेर बस्नुपर्ने अपराध कर्म वाट आफूलाई बचाउन समाजको हरेक जिम्मेवार र धार्मिक व्यक्ति सचेत हुनु पर्दछ। वेदको अवधारणा अनुरूप नै हालको सर्वाधिक पतित शासक शासित अवस्था वाट नेपाललाई मुक्त गर्न विद्यमान अवस्था सुधारेर सम्भव रहँदैन। त्यसको लागि राज्य व्यवस्था लाइनै जन विद्रोह मार्फत फाल्नु आवश्यक रहेको कुरा बुझ्नु जरुरी छ।
नेपाल आमाको धर्ती रुपी कोखमा जन्मिएका हरेक व्यक्तिले नेपाललाई वैज्ञानिक, धार्मिक, पारदर्शी, स्वराज्य र नैतिक शासन युक्त नेपाल कायम गर्न सक्रिय बनेर मात्र मातृभूमिको ऋण तिर्न सक्ने यथार्थको महसुस गर्न जरुरी छ। साथै नेपालमा आफू जन्मनुको पछाडिको आफ्नो जीवनको उद्देश्य पुरा गर्न हालका नेपालको इतिहासकै सर्वाधिक पतित शासक मुक्त नेपाल निर्माण गर्न हाल विद्यमान अवस्था सुधार तर्फ लाग्ने होइन मौजुदा भ्रष्टाचारी व्यवस्था कै विकल्प खोज्न सक्रिय हुन् पर्ने समय अव परिपक्व बनेको कुरा यकिनका साथ निश्चय गर्न सकिन्छ।