प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Updated at:- 2025-03-04

व्यास सर्किट

वैदिक तीर्थ व्यास सर्किट र यसको महत्त्व

वेद र विज्ञानको गहिराइमा पुगेर हेर्दा नेपालको महत्त्वपूर्ण जल प्रवाहको रूपमा चिनिने गण्डकी नदी र त्यसको काखमा रहेको व्यास गुफा र देवघाटको अत्यन्त ठुलो वैदिक महत्त्व छ। यसलाई गहिरिएर बुझ्न सक्दा वेद व्यास र गणेशको कार्य क्षेत्र दमौलीको व्यास गुफा, आयुर्वेदका प्लास्टिक सर्जन र आचार्य सुश्रुतको कर्म क्षेत्र देवघाट, पाणिनीको कर्म क्षेत्र गुल्मी अर्घाखाँची जस्ता क्षेत्र किन हुन् पुगेको रहेछ भन्ने जान्न सहज हुने छ। गण्डकी नदीको  प्रमुख सहायक नदीहरू काली गण्डकी, बुढी गण्डकी, सेती गण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशूली भएकोले यसलाई सात सहायक नदीहरूको सङ्गम "सप्तगण्डकी भनिन्छ। चितवन - नवलपरासी  क्षेत्रमा प्रवेश गरिसकेपछि यसलाई "नारायणी" नामले पुकारिन्छ।भारतीय भूभागमा पुगे पछि यस लाई फेरी "गण्डक" नदी कै नामले चिन्ने गरिन्छ।

 

नारायणी - गण्डक भाग अथर्व वेदको चुरो सांख्य सिद्धान्तको प्रवर्तक ऋषि कपिलको कार्य क्षेत्र हो। ऋषि कपिलले कपिल बस्तु वरपर आफ्नो जीवनको कठोर तपस्या र सिद्धान्त प्रतिपादन पुरा गरे। सेती-मादी प्रभावको व्यास गुफाको शक्तिले ध्यान मार्फत ज्ञान लिने उनी नियमित देवघाटमा मोक्ष स्नान गर्ने गर्दथे। 

 

चितवन जिल्लाको देवघाट नजिक काली गण्डकी (पश्चिमबाट), सेती गण्डकी (उत्तर-पश्चिमबाट), त्रिशूली, बुढी गण्डकी र मर्स्याङ्दी नदीहरू मिलेर नारायणी नदीको रूप लिन्छ। यसै कारणले यसलाई "सप्तगण्डकी" अर्थात् सात सहायक नदीहरूको सङ्गम भनिएको हो।  देवघाट धाम र भरतपुर नगरको किनार हुँदै यो नदी बग्दछ र नारायणगढमा अवस्थित पक्की पुलले यसको पार्श्वलाई जोड्छ। नवलपरासीको त्रिवेणीबाट यो भारततर्फ प्रवाहित हुन्छ। उल्लेखित नदी किनारहरूमा हाल लोमान्थाङ, जोमसोम, बेनी, बागलुङ, कुस्मा, रिडी, देवघाट, नारायण घाट र त्रिवेणी जस्ता मानव बस्ती तथा नगरहरू विकसित भएका छन्।

 

वैदिक अवधारणा अनुरूप गण्डक (Gaṇḍaka) शब्द पाँच प्रकारका पन्च तत्व वा त्यसको प्रभाव मध्येको कुनै एक तत्व लाई जनाउन प्रयोग गरिन्छ। ज्ञानको हिसाबमा चर्चा गर्दा  पाँच प्रकारका तत्व लाई  पञ्च-गण्डक भनिन्छ जसले पाँच तरहका जीवनका अवस्थाहरू लाई जनाउने गर्दछ। ती पाँच अवस्थाहरू नरक (नर्क) अवस्था, पशु अवस्था, प्रेत (भूत) अवस्था, देवता (स्वर्ग)  अवस्था तथा नर अर्थात् मानव अवस्थालाई सङ्केत गर्दछ। ध्यानको दृष्टिकोण वाट कुरा गर्दा संसार-चक्रका पाँच अवस्थाहरू मध्ये कुनै एक अवस्था जनाउन समेत गण्डक (Gaṇḍaka) शब्दको प्रयोग हुन्छ।

 

सेती (Seti) शब्द संस्कृत भाषाको सीव्यति (sīvyati) शब्द वाट बनेको हो। जहाँ सीव्यति (sīvyati) शब्दको अर्थ सेतुम् अर्थात्  एक आपसमा जोड्ने तत्व गुणको अर्थ दिन्छ। पन्च तत्व गुणका हरेक गुणलाई जोड्ने वृति बोकेको तत्व सेती गण्डक तत्व हो। जसले पन्च तत्व गुण मध्येका हरेक तत्व गुण कुनै पनि अव्यक्त बस्तु व्यक्त भएर अस्तित्व देखिन त्यो रहनको लागि जरुरी हुने खालि स्थान अर्थात् आकाश तत्व गुणको उपलब्धता गराउने गर्दछ। त्यसैले सेती गण्डक लाई आकाश तत्वको रूपमा बुझिन्छ।

 

संस्कृतमा मादी (mādī) शब्दले अव्यक्तता लाई व्यक्त गर्ने उत्पादनशील स्त्री ऊर्जा गुणको सङ्केत गर्दछ। गर्व धारण गर्न तैयार रहेको उत्पादनशील प्रकृति रुपी हिरण्य गर्भको अव्यक्तता व्यक्त हुने पहिलो तत्व गुण नै मादिन् (maādin)   गुण हो। पन्च तत्व गुणको परिवेशमा मादी (mādī) शब्दले ध्वनी शक्तिको वायु गुणलाई जनाउने गर्दछ। मादी नदीले निरन्तर प्रवाहमा रहने क्वान्टम वेब फङ्गसनको अविरल वायु तत्व गुण तर्फ सङ्केत गरेको हुन्छ। 

 

मर्स्याङ्दी (marsyāṅdī) शब्द मर्स्य (masya) + आङ्ग (āṅga) + ई (ī) मिली बनेको छ। जहाँ मर्स्यको अर्थ शुद्ध गुण वा रूपको भन्ने लाग्दछ। आङ्गको अर्थ मुख्य शरीर हो। ई प्रत्यय उत्पादन वृति बोकेको स्त्री शक्ति गुण जनाउन जोडिने गरिन्छ। पन्च तत्व गुणको सन्दर्भमा मर्स्याङ्दी (marsyāṅdī) शब्दले मुख्य शरीरको निर्माण गर्ने सुद्ध तत्व अर्थात् पृथ्वी तत्व गुणलाई जनाउने गर्दछ।

 

त्रिशूली (Triśūli) शब्दले त्रिशूलको शक्ति लाई जनाउने गर्दछ। जुन उत्पादनशील हुने हुँदा स्त्री गुणको सङ्केत गर्न  त्रिशूल लाई त्रिशूली भनी उल्लेख गर्ने गरिन्छ जुन दिव्य अधिकार र शक्तिको प्रतीक हो। मुख्यतया पार्वती वा नव दुर्गा देवी शक्ति युक्त तीन टाँड वा भाला भएको ॐ तत्व वा हतियार त्रिशूलीले सत्त्व, रजस्, तमस् तीन गुणहरू तथा  जाग्रत, स्वप्न र सुषुप्ति जस्ता तीन आध्यात्मिक अवस्थाहरू लाई जनाउँछ। प्राकृतिक ब्रह्माण्डीय चेतनाको उपयोग गरी  एक रूप वाट अर्को रूपमा परिवर्तन हुने क्षमताको सम्पूर्ण ब्रह्माण्डीय ऊर्जा गुण लाई पन्च तत्वको दृष्टिकोणले अग्नि तत्व गुणको रूपमा पहिचान गरिन्छ। नदी शब्दले त्यसको अविरल अटुट प्रवाहलाई सङ्केत गर्दछ।

 

वैदिक मान्यतामा व्यक्तिले आफ्नो जीवनमा आफूले लिएको उद्देश्य प्राप्ति गर्नुमा उसको उद्देश्य प्राप्तिको खातिर भएको लगनशीलता अर्थात् भक्ति वृतिको निकै ठुलो भूमिका हुने ठानिन्छ। जसलाई भक्तिको शक्ति भन्ने गरिन्छ। शक्ति भनेको प्रकृतिको तागत अर्थात् शिवको अर्धाङ्गिनी पार्वतीको नाम हो। जब भक्ति पूर्वक खाना निर्माण गरिन्छ, त्यो प्रसाद बन्दछ। भक्ति पूर्वकको यात्रा तीर्थ बन्दछ। भक्ति पूर्वकको सङ्गीत कीर्तन हुन्छ। भक्ति पूर्वक गरिएको कर्म सेवा मानिन्छ। भक्ति पूर्वक निर्माण गरिएको गृहस्थी वा घर मन्दिर बन्दछ। भक्ति पूर्वक उपलब्ध गराइएको पानी वा पेय वा ज्ञान अमृत बन्ने ठानिन्छ। अमृतलाई मूलतः जल तत्व भनिन्छ।

 

समय, शक्ति र कालकी (मृत्यु) देवी भनेर काली (Kālī) लाई चित्रित गरिन्छ। जो  आफैँ भयमा परि रहेका छन्, तिनीहरूलाई तिनीहरूको अज्ञानताको कारण विकसित त्यस्ता भयको शृङ्खलालाई ज्ञानको (अमृत ज्ञान) उपलब्धता मार्फत सम्बोधन गरी समाप्त गर्ने गुण काली शक्तिमा निहित हुने गर्दछ। कालिका (Kālikā) समेत भनेर सम्बोधन गरिने काली (Kālī) शक्ति जीवनमा देखिएका कालो बादल रुपी भ्रम वा विषाक्तता वाट मुक्त गर्ने देवीको रूप को हुन्छ। पन्च तत्वको सन्दर्भमा जल तत्वले त्यस्तो भूमिका निभाउने हुँदा  काली (Kālī) नदी भनेर जल तत्वको असीमित अटुट प्रवाह गुणको तत्वलाई सङ्केत गरेको बुझिन्छ। त्यसैले काली गण्डकीमा भेटिने विष्णुको विष्णुको सुदर्शन चक्र अङ्कित हुने शिलाहरू अर्थात् शालिग्राम भेटिने र यो विष्णुको अवतार भएको विश्वास गरिन्छ। सृष्टिको न्याय र संरक्षणको प्रतीक विष्णु जीवनको समेत संरक्षक हुन्।आध्यात्मिक ऊर्जा र शक्तिको प्रतीक शालिग्रामको पूजा गर्दा व्यक्तिलाई शान्ति, सफलता र मोक्ष (मुक्ति) प्राप्त हुने विश्वास गरिन्छ।

 

बुडी गण्डकीमा  (Budī Gaṇḍakī) प्रयोग भएको "बुडी" शब्दको अर्थ परम्परागत प्राचीन ज्ञान र समयको प्रवाह भन्ने बुझिन्छ। तान्त्रिक तथा वेदान्तिक परम्परामा, प्रकृतिको दिव्य शक्तिको प्रवाहको प्रकट स्वरूपका रूपमा नदीलाई लिने गरिन्छ। तसर्थ, "बुडी गण्डकी" नाम देवीको प्राचीन ज्ञानको प्रतीक हो। जसलाई ब्रह्माण्ड चेतनाको शक्तिको अंश मानिन्छ। देवीको प्राचीन ज्ञानको त्यो अंश त्यस्तो ज्ञान हो, जसले व्यक्त भौतिक (अपरा) जीवनलाई अव्यक्त परा-गुण रुपी शक्ति मार्फत निरन्तर पोषण गर्ने गर्दछ। सामान्य व्यवहारिक रूपमा, यसलाई व्यक्तिले आफ्नो आत्मबलको रूपमा महसुस गर्दछ।

 

वेदान्त र योग दर्शन अनुसार, मन (Mind), अहङ्कार (Ego), चित्त (Memory) र बुद्धि (Intellect) चार वटा तत्वहरू मिलेर अन्तःकरण (Inner Instrument) वा मानसिक तन्त्र निर्मित हुने विश्वास गरिन्छ। अन्तःकरणको चिन्तनशील पक्ष अर्थात् मन, विचार, कल्पना, इच्छा, भावना, र संवेदनाहरूको केन्द्रका रूपमा आत्मबल गुणको भूमिका हुन्छ। बुडी गण्डकीले व्यक्तिमा निरन्तर कायम रहने आत्मा बलको पक्ष सङ्केत गर्ने गर्दछ।जसलाई मनको (Mind) रूपमा पहिचान गर्ने गरिन्छ।

 

दरौंदी शब्द संस्कृत शब्द दरिद्र (dāridra) + अह (aha) को नेपाली अपभ्रंश रूप हो। दरिद्र (dāridra) शब्द दारिद्र्य (dāridrya) बाट आएको हो। जसको अर्थ अभाव (Abhāv) वा असन्तुष्ट (Indigence and Neediness) अभावग्रस्त अवस्था (Abhāvagrasta Avasthā) गुण हो। अहम् (aham) वाट आएको अह (aha) शब्दको अर्थ "क्षण" वा "समय" भन्ने लाग्दछ। जसले अहङ्कारको पैदा गर्ने कारक समयलाई सङ्केत गर्दछ। जसले  वेदान्त र योग दर्शन अनुसारको अन्तःकरणको चित्त (Memory) गुण वृतिको सङ्केत गर्दछ। संस्कृत वाट दरौंदी शब्दमा अपभ्रंश भएको र हिम नदी वाट उत्पत्ति नभई जमिनको निकासको पानी वाट बनेको दरौंदी नदीले व्यक्तिको मनले विकास गरेको चित्त वृतिको सङ्केत गर्दछ।

 

भगवान् विष्णु लाई नारायण भनी सम्बोधन गरिन्छ। नारायणी नारायणको शक्तिस्वरूपा वा पत्नी हुन्। अद्वैत वेदान्तमा नारायणीले शुद्ध चैतन्य शक्ति बुझाउने भएता पनि भगवान् विष्णुको फरक फरक शक्तिको प्रकृति उनका फरक फरक  दिव्य पत्नीहरूको रूपमा चर्चा गरिन्छ। जसमा धन, समृद्धि र ऐश्वर्यकी देवी लाई लक्ष्मी (श्रीदेवी) भनिन्छ। धैर्य, स्थिरता र पोषणको प्रतीक लाई पृथ्वीको दिव्य स्वरूप भू-देवीको रूपमा मानिन्छ। बल र साहसकी देवी, रक्षा शक्ति लाई नीलादेवी भनिएको छ। समग्रमा नारायण सम्पूर्ण प्राणीहरूको आश्रय स्थान उपलब्ध गराउने प्राकृतिक शक्ति हुन्। जुन सप्त शक्ति अर्थात् पाँच पन्च तत्व, मन र चित्त वाट बनेको हुन्छ। यसरी नारायणी नदीले एक व्यक्तिको समग्र शरीरलाई सङ्केत गर्दछ। सनातन संस्कृतिमा जलको श्रोतको नजिक मन्दिरको स्थापना गरी शरीर विज्ञान बारे समाजमा वैदिक चेतना फैल्याउने कार्य गरिन्छ। 

 

मानव शरीर भूदेवी (Bhudevi) अर्थात् पृथ्वी (Prithvi - Earth) तत्व, लक्ष्मी (Lakshmi) अर्थात् जल (Apah - Water) तत्व, दुर्गा (Mahakali) अर्थात् अग्नि (Agni - Fire) तत्व, नीलादेवी (Neela Devi)  अर्थात् वायु (Vayu - Air) तत्व, सरस्वती (Saraswati) अर्थात्  आकाश (Aakash - Space) तत्व, गायत्री (Gayatri Devi) अर्थात्  मन (Mana - Mind) तत्व, योगमाया (Yogamaya / Dharti Mata) अर्थात्  चित्त / बुद्धि (चित्त / Buddhi - Intellect) तत्व गरी पन्च तत्व शक्ति गुण र अन्तःकरण निर्मित हुन्छ।

 

व्यक्तिले भौतिक शरीरका इन्द्रियहरू मार्फत भौतिक संसारको अनुभूति गर्दछ। यो अनुभूतिका कारण उसले आफूलाई अस्तित्ववान ठान्छ र "म" को रूपमा स्थापित गर्दछ, जसलाई अहंकार भनिन्छ। अनुभूति र अहंकारले व्यक्तिमा चाहनाको विकास गराउँछ, जसले उसको मनलाई चञ्चल बनाउँछ र चित्त वृत्तिको निर्माण गर्छ। चित्त वृत्तिबाट उत्पन्न चाहना कर्ममार्फत व्यक्त हुन्छ। यस अनुभूतिको निरन्तर अनुभवले बुद्धि र अहंकार दुबैको विकास गराउँछ, जसले झन् बढी लगाव उत्पन्न गर्छ। अन्तःकरणको यो सक्रियताले व्यक्ति भौतिक मायावी संसारको सुख-दुःखमा जकडिन्छ र दैनिक जीवनमा पूर्ण रूपमा डुब्छ।

 

वेदको साङ्ख्य सिद्धान्त अनुरूप संसारको हरेक चिज चेतना निर्मित छ। जुन समग्र चेतनाको रूपमा अद्वैत अस्तित्वमा रहन्छ। जसलाई ब्रह्माण्ड चेतना वा परमेश्वर भनिन्छ। त्यही ब्रह्माण्ड चेतनालाई नै परमात्मा भनिएको छ। ब्रह्माण्ड चेतनाको अत्यन्त सीमित चेतनाको अंश नै हरेक व्यक्तिमा रहने आत्मा हो। उक्त आत्मा अवलोकन कर्ताको रूपमा रहेर व्यक्तिको पन्च तत्व निर्मित शरीर र अन्तःकरणको संयोजन गरी व्यक्ति लाई जीवित शरीरको रूपको भौतिकता रूप प्रदान गर्दछ। आत्मा व्यक्तिको जीवित शरीरको सबै भन्दा शुद्ध र शाश्वत सत्य रूप शक्ति हो। जुन मूलतः आकाश तत्व  र वायु तत्वको करीबीमा रहन्छ।

 

सेती-मादी दोभानमा रहेको व्यास गुफा त्यसैले भौतिक संसारको सबै भन्दा शुद्ध र शाश्वत भूमि हो। वेद व्यासले मात्र ध्वनिको रूपमा रहेको चार वेद लाई गणेशको सहयोगमा लिपि बद्ध गर्न त्यही कारण व्यास-गुफा लाई आफ्नो कर्म क्षेत्र बनाए।  हाम्रा परम्परागत ऋषिहरूले  व्यास-गुफा लाई वैदिक ज्ञानको केन्द्र र त्यस वरिपरिका प्राकृतिक डाँडा काँडा, तलाउ, गुफा र नदीका दोभानहरू लाई सबै भन्दा शक्ति शाली ध्यान केन्द्रको रूपमा लिएर आफ्नो सफल साधना गर्न सफल बने।

 

मुक्तिनाथ हुँदै आउने काली गण्डकी नदीमा विष्णुको प्रतीक शालिग्राम भेटिन्छ। काली गण्डकी नदी समेतका सप्तगण्डकी नदी तनहुँ - चितवन - नवलपरासीको देवघाटमा मिलन भएपछि मानव चोलाको निर्माण कर्म पुरा हुन्छ। निर्माणको क्रममा न त पाप, न पुण्यको कोरा, स्वच्छ अवस्थाको जीवनको निर्माण देव घाटको सङ्गममा पुरा हुने गर्दछ। त्यसैले देव घाट मोक्ष स्नानको दिव्य स्थान हुन गएको हो। जहाँ स्नान नगरी भगवानहरुको समेत मोक्ष वा मुक्ति सम्भव रहँदैन। त्यही कारण कलिगण्डकी नदीले ल्याउने विष्णुको प्रतीक रुपी शालिग्राम शिला नदीको बहावले देव घाट मोक्ष स्नान हुदै गण्डक नदीको त्रिवेणी धाम पार गरे पछि प्रभाव विहीन बन्ने सनातन मान्यता छ।

 

नारायणी नदी मानव जीवन र कर्मको प्रतीकको रूपमा चितवनको भागमा निरन्तर बहने गर्दछ। जुन गण्डकको रूपमा गङ्गामा मिसिए पछि भारतको प्रयाग राज सम्म पुग्दछ। जहाँ अमृत स्नान गर्ने गरिन्छ। वेदको अनुसार हरेक मानिसले भोग्ने दुख सुखको कारण उसको चेतना र ज्ञानका कारण उसले गरेको कर्म संग सम्बन्धित हुन्छ। व्यक्तिले आफ्नो जीवनलाई र हरेक गतिविधि लाई प्रकृति मैत्री गर्नु आवश्यक हुन्छ।  प्रकृति मैत्री नैतिक मानवीय कार्य लाई धर्म भनिन्छ। प्राकृतिक अमैत्री कर्म लाई पाप भनिन्छ। त्यस्तै ज्ञानको अभावमा गरिएको वा हुन गएको प्रकृति अमैत्री कर्म वा अपराध कर्म लाई प्रज्ञापराध भनिन्छ। जुन अनैतिक र अमानवीय रहेता पनि पाप कर्म अन्तर्गत नै राखिन्छ। त्यसैले पाप कर्मलाई ज्ञानको प्राप्तिले सच्चाएर पुनः आफूलाई पाप कर्म गर्न वाट रोक्न सकिन्छ। जसलाई पाप मोचन भनिन्छ। सेती-मादी दोभान, देव घाट, गण्डकको त्रिशुली घाट  र प्रयाग राजमा हुने अमृत स्नानले तसर्थ पाप मोचन हुने भनिन्छ। यी सबै स्थानमा गरिने अमृत स्नानले दिने पाप मोचनको प्रभावकारिताको  फलको शक्ति समान हुने गर्दछ। 

 

जब व्यक्ति जानाजानी पाप कर्म गर्दछ, जसले अन्य प्राणी, बिरुवा, वा जीवजन्तुलाई पीडा दिन्छ वा पीडाको अनुभूति गराउँछ, अथवा त्यो कर्म अनैतिक वा अमानवीय हुन्छ, त्यसलाई अपराध कर्म भनिन्छ।अपराध कर्मको फल व्यक्तिले मानव जीवनमा रहँदा कुनै न कुनै रूपमा भोग्नैपर्छ। संसारको निर्माणक्रममा हरेकले आफ्नो अपराध कर्मको फल जुन जीवनमा सो अपराध गरेको हो त्यही जीवनमा अनिवार्य भोग्नैपर्ने परिस्थिति आउने गरी प्राकृतिक नियमको व्यवस्था भएको छ।

 

यदि कुनै व्यक्तिले अपराध कर्मको फल भोगिसकेपछि पनि त्यसको प्रायश्चित गर्दैन भने, त्यसको असर मृत्यु पश्चात् समेत व्यहोर्नु पर्ने शास्त्रीय मान्यता छ। अपराध कर्मको प्रायश्चित गर्ने उत्तम उपाय भनेको आफ्नो सामर्थ्यलाई अज्ञानताबाट मुक्त गर्ने ज्ञानको प्रवाहमा लगाउनु हो भन्ने शास्त्रको धारणा छ। वैदिक परम्परामा अपराध कर्मको प्रायश्चित गर्न पुण्य कर्म गर्ने तथा मोक्ष स्नान गर्ने सिफारिस गरिएको छ। अपराध कर्मको फल जीवितै भोग्नुका साथै पुण्य कर्मद्वारा ज्ञान प्रवाहको सहजता गर्नुपर्ने हुन्छ। तर, सनातन मान्यतामा मोक्ष स्नानका लागि उपयुक्त स्थान भने देवघाट मात्र हो।

 --- विद्यावारिधि: अथर्ववेदाचार्यः नारायण घिमिरे।