मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको कसीमा कुशे औँसी।

पिताजीको स्मरणको दिन

 नारायण घिमिरे |

 

मेरी धर्म पत्नी कल्पना रिजाल तिहारको भाइ टिकाको लागि केही समय आफ्नो भई भेट्न अमेरिकाको भर्जिनिया तर्फ लागिन। छोरो लि घिमिरे (रिजाल) एक हप्ताको लागि म सँग नै आफ्नै निवास टोरन्टो, क्यानडामा रह्यो। भाइ टिकाको टिको टालो सकिने बित्तिकै हप्ता  दिनमै श्रीमतीजी बिली बिशप टोरन्टो सिटी सेन्टर एयरपोर्ट हुँदै घर फर्कने भइन।

 

आइल्याण्डको एयरपोर्ट पुग्न आफ्नो एसयुभीलाइ सानो जहाजमा राखी हामी बाउछोरा उनको स्वागतमा टापुमा भएको सुन्दर एयरपोर्ट पुगियो। पोर्टमा आगमनको खासै कुनै फर्मालीटि पुरा गर्नुपर्ने थिएन। श्रीमतीजी आइपुगिन। मैले ए तिमि आइ पुगेको हो भने। उनले हो भनिन। छोरोले हाइ भन्यो। उनले हेलो भनिन। हामी बाऊ छोरा आफ्नो सवारी भए तिर लागियो। श्रीमतीजी हाते झोला घिसार्दै हाम्रो पछि-पछि लागिन। स्वागतको औपचारिकता सकियो।

 

घर फर्कने क्रममा एयरपोर्टको भ्यालेट पार्किङ वाट चलाएर आफ्नो गाडीलाई यात्रुको नौकामा घुसाई दिएर टापुको हवाई पोर्ट वाट टोरोन्टो फर्कने क्रममा श्रीमतीजी सँग यात्रा बारे सोध्ने समय मिल्यो। आठ दस सिटे सानो टूईनएटर जहाज उड्ने क्रममा अत्यन्त हल्लाउने हुँदा अमेरिका वाट क्यानडाको यात्रामा शरीर थिलो-थिलो पारि दिन्छ। अति झ्याँक झुक पार्ने हुँदा दु:ख युक्त बनेको सहज बुझिने यात्रा रमाइलो भएको र आफ्नो परिवार सँग पुन: भेट्न सकिने उत्साहले कुनै अप्ठ्यारो महसुस गर्न नदिएको बताइन।

 

नेपाली भन्दा अङ्ग्रेजीमा कुरा गर्ने वानी भएको हाम्रो छोरो हामी बिच नेपालीमा कुरा हुँदै गर्दा प्राय: खासै  त्यति वात मार्ने गर्दैन। त्यो दिन अचम्म भयो। उसले बाटोमा आम सँग अचानक प्रकृतिको सवाल गर्‍यो। जुन पहिले कहिल्यै सुनिएको थिएन। उसको सवाल थियो “आमा तिमीले हप्ता लामो मामा घर बस्दा मलाइ सम्झियो कि सम्झिएन? बाउ सँग तिमि फोनमा बोलेको त मैले सुनेको थियो।”

 

श्रीमतीजी छोरोको अनायास प्रश्नले अवाक् र दङ्ग बनिन। केही समयको सन्नाटा पनि उनीले भनिन “छोरा तिमीलाई मैले जन्मिदा सबै भन्दा पहिले देखेको थिए। तिमि यति माया लाग्दो थियौ कि तिमीलाई देखेकी त्यही मायालु अनुहार याद आउँछ। मन वाट तिमीलाई लिएर खेलाऊ खेलाऊ भन्ने हुन्छ। मैले तिमीलाई सम्झन त पहिला बिर्सन सक्नु पर्‍यो नि। बिर्सन नै नसके पछि कसरी सम्झने?”

 

नेपालीमा आएको आफ्नो सवालको जवाफ  कुरो ले भन्न खोजेको के हो भन्ने नै छोरोले मेसो पाएन। प्रतिक्रियामा के भन्छ के भन्छ भन्यो। उसले थप्यो मामु मैले तिमीलाई सोधेको कुरोको जवाफ देउ न ! के भन्छ के भन्छ यो मान्छे !  सवाल जवाफ सुन्दै गरेको मलाई त्यो कुराकानीले रोमाञ्चित गरायो। मैले छोरोलाई अङ्ग्रेजीमा सबै कुरो सम्झाए। उसले मात्र ओप ! टु मच फिलोसपिकल भनेर चुप लाग्यो। ममीको कुरो छोरो लाई धेरै दार्शनिक लाग्यो। खासै मन परेन। उसले सिधै सम्झिया वा सम्झिएन भन्ने उत्तरको अपेक्षा गरेको थियो। ममीको मनमा भने यो छोरो नभएर छोरी भएको भए यस्तो गहिरो कुरो बुझ्ने थियो भन्ने परेछ। मलाइ पछि सुनाउँदै थिइन्।

 

वैदिक परम्पराको कुशे औँसीलाई हाम्रोमा पिताजीको स्मरणको दिन र कहिले कहीँ बाउको मुख हेर्ने दिन पनि भन्ने गरिन्छ। आमाको स्मरणको र मुख हेर्ने दिन भनेर हाम्रो अर्को छुटै दिन मातातीर्थ औंसी छ। वैदिक मान्यताले हरेक सन्तानले आफ्नो माता पिता र प्रकृति वा ईश्वर लाई कहिल्यै भुल्न नसक्ने गरी उसको जीवनको स्मरणको ईनर-ईञ्जिनियरिङ्ग हुने यकिनका साथ स्पष्ट गरेको भेटिन्छ।

 

तर्क शास्त्रको आधारमा यदि तपाईँ कसैलाई भुल्ने नै सक्नु हुन्न भने सम्झने प्रसङ्ग कसरी आउँछ? यो प्रश्न र हाम्रो मान्यता बिचको आध्यात्मिक खाडलको पहिचान बिना हामीले वैदिक कुशे औँसीको परम्परा जे कारण ले बस्यो त्यसको पहिचान गर्न नसकेको तर्फ सङ्केत गर्दछ।

 

यसै सन्दर्भमा कुशे औँसीको हाम्रो परम्परा पिताजीको स्मरणमा सीमित रहेको भन्दा अलि गहिरो मूल्य र मान्यताको जगमा उभिएको प्रस्ट हुन्छ । सायद यो उत्सवको वेद र विज्ञानमा आधारित उत्खननले ती पक्षहरू हाम्रो सामु प्रस्ट पार्न सहयोग गर्न सक्छ।

 

नेपालीमा भनिने औँसी लाई संस्कृतमा भने अमावास्या (Amāvāsyā) वा अमावासी / अमावासी  (Amāvāsī) भन्ने गरिन्छ। त्यसको अर्थ नयाँ चन्द्रमाको दिन भन्ने लाग्दछ। उक्त दिन लगतैको दिन वाट शुक्ल पक्ष तिथिको गणना गर्न सुरु गरिन्छ। त्यसको पन्ध्र दिनमा पूर्णिमा पर्दछ। शुक्ल पक्ष सकिन्छ। पूर्णिमा को दिन पछिको तिथिहरू लाई कृष्ण पक्ष भनी गणना गर्न थालिन्छ। पन्ध्र दिनको गन्ती पश्चात् अमावास्या आउँछ। कृष्ण पक्ष समाप्त हुन्छ। यो चक्र नियमित रहन्छ।

Photo source: Wikipedia

शाब्दिक रूपमा अमावस्याको अर्थ सूर्य र चन्द्रमा एकै साथ सँगै बस्ने र त्यसपछि नयाँ-चन्द्रको सुरु हुने विन्दु वा अवधि मानिन्छ। त्यस्तो समय बिन्दु जति बेला सूर्य र चन्द्रमाको देशान्तर बराबर हुने गर्दछ। जसका कारण पृथ्वीमा त्यो समय बिन्दुको रात पूर्ण अन्धकार मय रात हुने गर्दछ।

 

 

खगोल शास्त्रमा चट्टान वाट बनेको  सूर्यको परिक्रमा गर्ने ग्रह भन्दा सानो वस्तुहरू लाई हामी क्षुद्र ग्रह अर्थात् एस्टोरोईड भन्ने गर्दछौ। क्षुद्र ग्रहहरू ग्रहभन्दा साना तर उल्का अर्थात् मेटीओर भन्दा ठुला हुन्छन्। उल्काहरू पनि अन्तरिक्षको सानो आकारको  चट्टान नै हो।  जुन पृथ्वीको वायुमण्डल सम्म आइपुग्ने गर्दछ।

 

पृथ्वीको वायुमण्डलमा उल्काहरू प्रवेश गर्दा तिनीहरू जल्न पुग्दछ। जसले गर्दा आकाशमा प्रकाशको लामो धर्सा सिर्जना गरिदिन्छ। त्यसैले त्यस्ता पिण्डहरू लाई हामी शुटिंग स्टार अर्थात् सिकारी तारा भन्ने गर्दछौ। पृथ्वीमा जब एकै पटकमा धेरै उल्काहरू आइ पुग्दछ तब तिनीहरू उल्काको  वर्षा भए जस्तो देखिने हुँदा त्यसलाई उल्का पिण्डको वर्षा अर्थात् मेटीओराइट भन्ने चलन छ।

 

धूम केतु भनेको पुच्छ्रे तारो अर्थात् उल्का हो। भयङ्कर डरलाग्दो धूम केतु (उल्का) लाई भने रौद्र केतु भनिन्छ। बृहत् संहिता अध्याय ११ मा उल्लेख भए अनुसार कतिपय औँसीको समयमा पृथ्वीको  पूर्वी  गोलार्धको आधा भाग वाट कपाल केतु नामको केतु देखिने गर्दछ। त्यसको पुच्छर धुवाँको रङ्गको हुन्। आकाशमा जब कपाल केतुको गतिविधिहरू देखिन्छ तब मानव जातिले भोक, मृत्यु, खडेरी र रोग आदि बाट पीडित हुने गरेको अनुभव गर्ने गर्दछन्।

 

दक्षिण-पूर्वको आकाशको एक तिहाइ भागमा भने कतिपय औँसीको समयमा मन्द रातो रङ्गको रौद्र केतु (डरलाग्दो धूम केतु) देखिने गर्दछ। आकाशमा रौद्र केतु देखिदा समेत मानिसले कपाल केतु देखिदा जस्तै प्रभाव उत्पन्न भएको महसुस गर्ने गर्दछन्।

 

विज्ञानको चर्चित परिकल्पना (हाइपोथेसिस) अनुरूप सूर्यले पृथ्वीको  भूमध्य रेखालाई  काट्दै गर्दाको हप्ता दिन वरपर सूर्यको सौर्य वायु (तातोको लप्का अर्थात्  प्लाज्मा) पृथ्वीको उत्तर-दक्षिण चुम्बकीय क्षेत्र भित्र घुस्न पुग्दछन्। सौर्य वायु पृथ्वीको चुम्बकीय क्षेत्रभित्र अ-समानान्तर हुने गरी प्रवेश गर्दा सौर्य वायुको पृथ्वीको चुम्बकीय क्षेत्र सँग पृथ्वीको चुम्बकीय क्षेत्रको टकराब हुन्छ। जसले गर्दा आर्कटिक विस्फोट सहितको उज्यालो पैदा हुन्छ। जसलाई म्याग्नेटोस्फेरिक सबस्टोर्म भनिन्छ।

 

म्याग्नेटोस्फेरिक सबस्टोर्मले माथिल्लो वायुमण्डलमा रातो-हरियो रङ्गको विशाल अरोरा निर्माण गर्दछ। सबस्टोर्महरू दिनको २-७ पटक सम्म आउने गर्दछ। पृथ्वीको वायुमण्डलले म्याग्नेटोस्फेरिक सबस्टोर्मले दिने क्रयाक वाट पृथ्वीको सम्पूर्ण जीवहरूलाई बचाउने गर्दछ। सूर्य र चन्द्रमाको देशान्तर बराबर हुने समयमा कहिले काहीँ पृथ्वीको वायुमण्डलमा पुग्ने असरले म्याग्नेटोस्फेरिक सबस्टोर्मको क्रयाक वाट वायुमण्डलले अपेक्षा गरे बमोजिमको सुरक्षा दिन वाट चुक्दछ।

 

वायुमण्डलले अपेक्षा गरे बमोजिमको सुरक्षा दिएको अवस्थामा भने म्याग्नेटोस्फेरिक सबस्टोर्मको समयमा पृथ्वीको चुम्बकीय क्षेत्रहरू सूर्यको चुम्बकीय क्षेत्रहरू सँग प्रत्यक्ष जोडिएको ऊर्जाशील समय हुने गर्दछ। वैदिक मान्यतामा सूर्यको चुम्बकीय क्षेत्रहरू सँग प्रत्यक्ष सम्पर्कमा आएको पृथ्वीको चुम्बकीय क्षेत्रहरू मनोवैज्ञानिक सबलता दिने प्रकृतिको रहन्छ।

 

ऋग्वेदको पुरुष सुक्तम् १०-९०-१५ ले मानिसको मन र मस्तिष्क (Mind) चन्द्रमा मार्फत परावर्तन भएर आउने प्रकाशको किरणमा हुने ऊर्जाले निर्माण गर्ने तथा दृष्टि र दृष्टिकोण (Eye & Vision) निर्माणमा सूर्यको प्रत्यक्ष प्रकाशको ऊर्जाको भूमिका रहने कुराको सङ्केत गर्दछ। औँसीको समय सूर्य र चन्द्रमाको देशान्तर बराबर हुने समय हो। उक्त समय मानवको व्यक्तित्व विकासको सबै पक्ष बराबरीमा मिलेको समय रहेकोले त्यो पिता-मातालाई सम्झना योग्य तिथि जुरेको समयको रूपमा लिनु तर्क सङ्गत नै देखिन्छ।

 

प्रयोगशालामा गरिएको अनुसन्धानमा धूम केतु वा पुच्छ्रे्रताराको टुक्रा प्रिस्टिन स्पेस रकमा मिथाएल-एमाइन भेटिएको थियो। जीवको अस्तित्वको प्रतिनिधित्व गर्ने मिथाएल एमाइन प्रिस्टिन स्पेस रकमा भेटिनु आचार्य जनक कुरा थियो। किनकि बिना कुनै शक्ति ब्रह्माण्डको भ्याक्युम वा खाली ठाउँमा बायोमोलिकुल मिथाएल एमाइन बन्न सक्ने सम्भावना तत्कालीन विज्ञानको समझ बाहिरको कुरा थियो।

 

मिथाएल एमाइनलाई प्रयोगशालामा जब अल्ट्रा हाइ-भ्याकुम भित्र पानीको बरफको उपस्थितिमा बिना कुनै इनर्जी छोडियो यो ग्लाइसिनमा परिवर्तन बन्यो। यसले जीवनको उत्पत्तिको बिन्दु बारे नयाँ तत्त्व उजागर गर्न सफल बन्यो। धूम केतु वा पुच्छ्रे्रताराहरू सौर्य मण्डलमा बन्नु भन्दा पनि पहिले अस्तित्वमा थिए भन्ने तर्कको पुष्टि भयो।

रसायन शास्त्रमा जव रियाक्सन हुनको लागि कुनै शक्तिको वा विकिरणको आवश्यकता पर्दैन अर्थात् जब कुनै थाहा भएको शक्ति बिना नै रासायनिक गतिविधिहरू सम्भव बन्दछ त्यसलाई डार्क-केमेस्ट्री भनिन्छ। अन्धकारमा बिना कुनै इनर्जीको खपत गरि भ्याक्युम अवस्थामै सम्भव भएको उक्त रियाक्सन “डार्क-केमेस्ट्री” नै थियो।

 

सैद्धान्तिक मोडेल अनुसार ६८% डार्क-इनर्जी, २७% डार्क-म्याटर र मात्र ५% सामान्य पदार्थ वाट सारा ब्रह्माण्डको निर्माण भएको वैज्ञानिकहरूको अनुमान छ। यहाँ हामीले देख्न सकिने सबै ताराहरू, ग्रहहरू र आकाशगङ्गाहरू लाई सामान्य पदार्थ भनिएको हो। बाँकी रहस्यमय अन्धकारलाई डार्क-इनर्जी र डार्क-म्याटर अन्तर्गत राखिएको छ।

 

अन्धकारको चरित्र कस्तो हुन्छ र के वाट बनेको छ त्यो हाल सम्म हामीलाई थाहा हुन सकेको छैन। वैज्ञानिकहरू अन्धकार हुनु भनेको त्यहाँ केही पनि नभएको अथवा पूर्ण रित्तो रहेको अवस्था पक्कै होइन भन्ने ठान्दछन्। वेदले त्यसलाई आकाश वा इथर भन्ने गर्दछ। त्यसको अर्थ हो व्यक्त चिज रहने स्थान वा संरचना स्थापना गर्नको लागि खाली महसुस हुने र सम्भव पारिदिने ठाउँ।

 

विज्ञानले हरेक पदार्थको आफ्नै आकर्षण- विकर्षण र गुरुत्वाकर्षण रहनु सँग अन्धकार / डार्क इनर्जीको केही न केही लेनादेना हुनुपर्छ भन्ने अनुमान गर्दछ। भर्खरै हुँदै गरेका अनुसन्धानहरू वाट वैज्ञानिकहरूमा डार्क-इनर्जी र डार्क-म्याटर एकै सिक्काका दुई भागहरू रहेको महसुस गराएको भेटिन्छ।

 

ऋगबेदको नसडिया सूत्रले ब्रह्माण्डको सृष्टि अघि कुनै आकार, पिण्ड, चिज वीज र प्रकाश जस्ता चीज अस्तित्वमा थिएन भन्दछ। ब्रह्माण्ड हटाउन नसकिने, अज्ञात, स्थिर र निष्क्रिय तरल पदार्थ युक्त अँध्यारोले भरिएको थियो भन्दछ। साङ्ख्य दर्शनले जीवनको अस्तित्व पैदा गर्ने इच्छा शक्ति (चेतना वा इन्फरमेसन) र निष्क्रिय अँध्यारो तरल बस्तु सृष्टि अघि अस्तित्वमा थियो भन्दछ।

हिजो विज्ञानले अन्धकारमा बिना कुनै इनर्जीको खपत गरी भ्याक्युम अवस्थामै सृष्टि सम्भव नहुने हुँदा यस कुरा लाई वाहियात मान्दथ्यो। आज विज्ञान आफैले त्यो सम्भव बनाएर, आफैले प्रतक्ष हेरेर,  महसुस गरेर उक्त कुरा साँचो रहेछ भनी आफैले पुष्टि गरिरहेको छ।

 

मनुस्मृतिले निष्क्रिय अन्धकार पदार्थ वास्तवमै जड, हाम्रा इन्द्रियहरूले महसुस गर्न नसकिने, अनौठो रहने उल्लेख गर्छ। ऋगबेद त्यही अन्धकार वाट निकै तीव्र गतिमा प्राकृतिक इच्छा शक्तिको (चेतना वा इन्फरमेसन) बलमा प्रकृतिको गर्भमा असङ्ख्य आकाश गङ्गाहरू सहित ब्रह्माण्ड अस्तित्वमा आए भन्दछ। ऋगबेदका अनुसार अव्यक्त पदार्थ अथवा अँध्यारो  र सिर्जित व्यक्त संरचनाले ब्रह्माण्ड भरियो। गतिशील ब्रह्माण्डको निर्माण सम्भव बन्यो।

 

हाम्रो परम्परागत मान्यताले अव्यक्त पदार्थलाई औँसीको नाम दिएको देखिन्छ।  अन्धकार युक्त औँसीको रातलाई हाम्रो परम्पराले अव्यक्त समयको प्रतीक ठान्दछ। अव्यक्त पदार्थ हाम्रो जीवनको अस्तित्व निर्माणको पक्ष हो। शास्त्रले माता पछि पितालाई बन्दनीय वा पूजनीयको दर्जा दिने गर्छ। माता एवं पिताले आफ्नो सन्तानको पालन-पोषण निस्वार्थले गर्ने गर्दछन्। यसैले माताको साथ पितालाई ईश्वरको साक्षात् रूप पनि भनिएको छ।

 

विज्ञान र वेद दुवैको निचोडमा मानिसको सृष्टि हुने मुख्य बीज तत्त्व डार्क-केमेस्ट्री हो। जसरी अन्धकारको अस्तित्व पृथ्वीको उदयको रहस्य हो त्यस्तै हरेक व्यक्तिको अस्तित्वको पछाडि उसको माता र पिताको सम्पूर्ण कुर्बानी रहस्यको रूपमा रहेको हुन्छ। त्यसैको जगमा उभिएर भाद्र कृष्ण औँसीको दिनलाई कुशे औँसी भन्दै बुबाको मुख हेर्ने दिन र मातातिर्थ औँसीलाई आमाको मुख हेर्ने दिनका रूपमा उत्सवको रूपमा मनाउने वैदिक परम्पराको स्थापना भएको छ।

एक अद्भुत अन्धकारको श्रोतवाट पैदा भएको हाम्रो अस्तित्व रुपी जीवनमा जसले सम्पूर्ण उपायहरूको जोहो गरी हामीलाई उज्यालो जीवनमा प्रवेश गरायो त्यसमा हरेकको आमा-बुबाको अतुलनीय देन रहन्छ। हाम्रो वैदिक परम्पराले आफ्ना सन्ततिलाई उक्त सन्दर्भ सम्झाउन वर्षको कम्तीमा एक चोटि फरक फरक औँसीको दिन माता र पिताको सम्झना गर्ने दिनको रूपमा मनाउने चलन चलाएको प्रस्ट हुन्छ।

 

नेपालमा सुच्यग्र, यज्ञभुषण, क्षुरपत्र आदि नाम वाट समेत चिनिने कुश (Eragrostis cynosuroides and Desmostachya bipinnata) वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुबैमा अनिवार्य प्रयोग गरिने हानिकारक जीवाणु नाशक, सूर्यको विकिरण रोक्ने औषधीय झार हो। हाम्रो परम्परा देखिनै कुश कागज, फिल्टर सामग्री आदि निर्माण गर्न तथा आन्तरिक चोटपटक लाग्दा, छालामा पिड्का उठ्दा लेप बनाएर उपचार गर्न उपयोग भइरहेको छ।

 

कुशको पानीको एक्सट्रेकमा एन्टिअक्सिडेन्ट, फिनेल, ग्लाइकोसाइड आदि पदार्थ भेटिन्छ। कुशको सूर्यको विकिरणलाई छालामा जानबाट रोक्ने क्षमताका कारण कुशको लेदोबाट बनाइने लेपन सनस्क्रिनको रूपमा प्रयोग गर्न सकिन्छ। कुशको हानिकारक विकिरणबाट सुरक्षा गर्ने क्षमता बिजुलीको  ग्याजेटहरू द्वारा उत्सर्जित हुने विकिरणबाट जोगिन घरमा प्रयोग गर्ने गरिन्छ।

 

कुशको जरा र फुल औषधीय हुन्छ। यसको जैविक घाँसको रूपमा कुशको ठुन्को बनाउने भागलाई जब पोटासियम हाइड्रोअक्साइडमा घोलेर दुई घण्टा ८०० डिग्री सेन्टिग्रेड ताप क्रममा पोलेर उच्च घनत्वको  कार्बन बनाइयो तब त्यसको विद्युतीय इलेकट्रोन तुरुन्तै चार्ज र डिस्चार्ज गर्ने क्षमता देखायो। यसरी डढेको कुशबाट आउने कार्बनका उत्कृष्ट इलेक्ट्रोकेमिकल गुणहरू अर्थात् इलेकट्रोन रिटेन्सन क्यापेसिटि सुपर क्यापेसिटरको इलेक्टट्रोड़ सामग्री बनाउन उत्कृष्ट हुने प्रारम्भिक रूपमा यकिन बन्यो।

 

कोसिडिया (Coccidia) एक एकल-कोशिका परजीवी अर्थात् प्रोटोजोआको (Protozoa) सङ्क्रमणले रगत देखिने पखाला वाट कुखुरा बिरामी हुने र बढ्न नसक्ने हुन्छ। यसको उपचारमा बिरुवाको सार तत्त्व रोक्सारसोन (Roxarsone) नामक अर्गानोअर्सेनिक यौगिक (3-nitro-4-hydroxyphenylarsonic acid) पोल्ट्री फिडमा एडिटिवको रूपमा हाल्न अमेरिकी एफडिए (US FDA) ले समेत स्वीकृति दिएको छ। रोक्सारसोनले कुखुरामा हुने त्यस्तो प्रोटोजोआ परजीवीहरू लाई मारिदिन्छ। फलतः कुखुरा पालकहरूले सलक्क बढेको, राम्रो वजनको मासुको राम्रो रङ्ग देखिने कुखुराको उत्पादन सम्भव बनाउने गर्दछन।

 

कुखुराको दानमा हालिने रोक्सारसोन नामक अर्गानोअर्सेनिक यौगिकले खाना र वातावरणमा अर्सेनिकको मात्रा बढाउने गर्दछ। मानिसमा आर्सेनिकको लामो समयसम्मको सम्पर्कले गम्भीर प्रकृतिको स्वास्थ्य समस्या निम्त्याउँछ। त्यसको लागि मानिसको रगतको प्लाज्मामा आर्सेनिकको मात्रा नियमित नाप्ने गरिन्छ। रगतको प्लाज्मामा आर्सेनिकको मात्रा नाप्ने प्रक्रियामा कुशको कार्बन वाट बन्ने सेन्सर प्रभावकारी हुने बुझिएको छ।

 

राम्ररी कुश भिजाइएको पानीको ब्याक्टेरिया र ढुसी जस्ता रोगाणु प्रतिरोधी क्षमता हुन्छ। कुश पानी लाई उमालेर काटेको र घाउ भएको ठाउँ सफा गर्न प्रयोग गर्न सकिन्छ। कुशको ओखतीको रूपमा समेत प्रयोग हुन्छ। जस्तै परम्परागत उपचार अन्तर्गत पुरानो दीर्घ प्रकृतिको ज्वरोको लागि २० – २५ ग्राम जरा वा कुशको फूल ५०० मिली लिटर पानीमा उमालेर २५० मिली लिटर पुग्दा सम्म पकाइन्छ। त्यसलाई छानेर आएको पानी दिनको १५-२० मिली लिटर दिनको तीन पटक तीन दिनसम्म खान सल्लाह दिइन्छ।

 

पखाला चल्दा फूल १०-१५ ग्राम कुशको फूल २५० मिली लिटर पानीमा राखी पानी आधा कम  नहुँदा सम्म उमालिन्छ। उक्त पानी छानेर  आएको झोल दिनको दुई पटक पिउन दिइन्छ। नखुलेको पिसाब खुलाउन १०-१५ ग्राम सफा जरालाई २ गिलास  पानीमा पानीको रङ्ग सुनौलो वा पहेँलो नहोउन्जेल उमालिन्छ। उक्त पानीलाई चिसो पार्दा वसने लगभग १ गिलास  छानेर पिउन दिइन्छ। जसले १०-२० मिनेटमा पिसाब खुल्ने वा आउने बनाउँछ। कुशको जराको धेरै प्रकारको आयुर्वेदिक ओखती बनेको छ।

 

 

आयुर्वेदिक  फार्माकोपियाले कुशको जरा पिसाब फेर्न गाह्रो हुने समस्यामा, मिर्गौलाको पत्थरीको प्रारम्भिक उपचार, योनि वाट सुलसुल  तरल पदार्थ डिस्चार्ज हुने समस्या, पटक पटक हुने व्यक्टेरियल इन्फेक्सन आदिको उपचार गर्न उपयोगी हुने उल्लेख गरेको छ। हेम्पको जस्तै कुश समेत भित्री वस्त्रमा उपयोग गर्दा लाभदायी भेटिएको छ।  हाल कुशको योग गर्ने चकटी, गुन्द्री, हातमा बाँध्ने डोरो आदिमा प्रयोग भइरहेको छ।

 

वैज्ञानिक अनुसन्धानले देखाए अनुरूप कुशको औँठी बनाउने पात र काण्डको पानीमा डुबाएर बनेको झोल पदार्थले हल्का अम्ल मिसिएको पानीले फलाम र स्टिलमा खईलाग्न दिन वाट जोगाउने गर्दछ। कुशको फाइबर अत्यन्त बलियो हुने हुँदा डोरी, कुचो,  गुन्द्री आदि उत्पादन हुन्छ। पानीमा लामो समय सम्म नगल्ने हुँदा पूजा गर्ने पवित्र कुशको औँठी बनाउन, लास मुनि फैलाएर लास लाई सुद्ध राख्न प्रयोग हुन्छ।

 

जब तपाईँ कुशको ठुन्को लाई लिएर त्यस भित्रको संरचना लाई ठुलो बनाएर हेर्नु हुन्छ तब महसुस गर्नु हुनेछ कि हाम्रा फेसन र गहनाका डिजाइनहरू तिनै आकृतिमा आधारित रहेर विकास गरिएको रहेछ।

मिलेर बलिष्ठ संरचना दिने त्यो आकृति प्रकृतिको नजिक हुने हुँदा त्यस्तै आकृतिमा बनाइएका नानाका बुट्टा, शृङ्गार तथा गहनाका डिजाइनले परावर्तन हुने प्रकाशले हाम्रो अनुभूतिलाई रोमाञ्चित र आत्म विभोर गरिदिने र हाम्रो इन्द्रियहरले समेत आरामको अनुभूति गर्दछ।

 

हिजो हाम्रा पुर्खा समूहमा परिवारको दयाराम मिलेर बस्ने गर्दथे। परिवारको हरेक सदस्यको जीवनको बौद्धिक र मनोवैज्ञानिक सबलताको सबै आवश्यकताहरू पुरा गरिदिने काम आमाले गर्ने गर्थिन। त्यसको लागि चाहिने सर्दमको रूपमा परिवारको नाना, दाना र सामाजिक तथा पारिवारिक सुरक्षा पिताजीको जिम्मेवारी थियो।

 

कुश आफैमा नाना, दाना र सामाजिक तथा पारिवारिक सुरक्षा वर्धक गुण युक्त भएकाले पिताजीको हाम्रो जीवन निर्माणमा भएको योगदानको सम्मान गरी त्यो दिन लाई उत्सवको रूपमा मनाउन समेत  कुशे औँसीको दिन लाई पिताजीको सहयोगको सम्झना गर्दै आफूलाई धन्य महसुस गर्ने दिनको  रूपमा तोकिएको हुनुपर्दछ।

31Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: