मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञान किन ?

आदरणीय मित्रहरू,

मलाई मेरा धेरै मित्रहरूले वेद र विज्ञान किन भन्ने प्रश्न गर्नु हुन्छ। आज म मेरो मुख खोल्ने निश्चयमा पुगे। यसैले हजुरहरुको जिज्ञासाको उत्तर दिने छ।

वास्तवमा वेद र विज्ञान किन ?

 

जब तपाईँ धर्म  र अधर्मको कुरा गर्नु हुन्छ तब तपाइ लाई यो कुरा त्यो मानिस आस्तिक कि नास्तिक भनेको भन्ने लाग्छ होला। वेदको गहिराइमा पुगेर हेर्दा त्यो कुरा होइन।  धर्म भनेको प्रकृति मैत्री रहेर, सबैलाई समान सम्झेर, यो संसार मेरो मात्रा होइन सारा चराचरको हो भन्ने अनुभूति गरेर अहिंसा पूर्ण नैतिक कार्यमा आफूलाई संलग्न गराउने कर्म गर्नु हो।

 

यथार्थमा भन्ने हो भने प्रकृतिको नियम सङ्गत आफ्नो कर्म गर्नु लाई धर्म भन्दछ। जसको तपाइले गरेको कार्य भन्दा उक्त कार्यको नियत प्रदान हुन्छ। दुर्घटना वाट चोट लागेको मानिसलाई निको गर्न डाक्टरले अप्रेसन गर्दा  मान्छे लाई दुख्छ, बच्चा जन्माउने क्रममा स्त्री लाई पिडा हुन्छ। तर त्यसको नियत अहिंसा युक्त त छदै छ तरिका समेत प्राकृतिक नियम मैत्री हुने गर्दछ। त्यसैले एक डाक्टर र एक आमाको त्यो कर्म साहसिक धर्म कर्म हो।

 

त्यसो भए यो आस्तिक – नास्तिक भनेको के हो भन्ने प्रश्न फेरी आउँछ। आफ्नो घरको कागती, बेसार, अदुवा र तिते पाती चिया नचिन्ने आयातित चिया कफीको पारखी बनेको हामीलाई नास्तिक (Hertodox) र आस्तिक (Orthodox) भनेर ईश्वर मान्ने (Theist) र ईश्वर नमान्ने (Atheist) भन्ने पश्चिमा विचार भनेको भनी अनजानमै बोली दिने गर्दछौ। अर्को तरीका वाट फरक तर्क पेस गर्ने गर्दछन्। जुन अत्यन्त ठुलो भ्रम (Blunder) हो। त्यसो हैन।

 

लेनिन र माओका सिद्धान्त घोकेर एकाएक सामाजिक लेखक र वरिष्ठ साहित्यकार बनेकाहरू हुस्किको चुस्की पिएकै भरमा अनुभवी फिलोसोपर बनेर जो व्यक्ति यो लोक (This  World) र परलोक (Transcendental  World) हुन्छ भन्नेमा विश्वास गर्दछन् ती आस्तिक र नगर्ने नास्तिक भनी खोकेको र लेख आदि लेखने गरेको भेटिन्छ। यस अन्तर्गत दुनियाँ बाहिर समेत केही छ भन्ने आस्तिक र छैन भन्ने नास्तिक भन्ने गरेको भेटिन्छ। दुर्भाग्यवश त्यो पनि सही होइन।

यथार्थमा आस्तिक र नास्तिक शब्द वेद संग सम्बन्धित छ। वैदिक समयमा वेदलाई शब्द प्रमाण मान्ने गरिन्थ्यो। अर्थात् वेदमा भएका कुरा सत्य भनी फेरी प्रमाणित गरिरहन नपर्ने सत्य कुरा ठानिन्थ्यो। अकाट्य सत्य मानिन्थ्यो। त्यसैको आधारमा कुनै कुरा सत्य रहेको नरहेको बारे वेद के भन्छ भनेर खोजिन्थ्यो।

 

जो व्यक्ति वेदको कुरालाई अन्तिम सत्य ठान्दछन्, वेदको कुरालाई शब्द प्रमाण मान्न सकिनेमा विश्वास राख्दछन्  उनीहरूलाई आस्तिक भनिन्छ। जो वेद लाई अन्तिम सत्य मान्दैनन्, वेदको कुरालाई शब्द प्रमाण मान्न सकिनेमा विश्वास राख्न सक्दैनन् उनीहरूलाई नास्तिक भनिन्छ।

 

वैदिक कालको निकै लामो समय सम्म पृथ्वीमा हाम्रो समाज आस्तिक रह्यो। कालान्तरमा वेदमा रहेको कुनै प्राणी हत्या र कुनै प्राणीको देवत्व करण आदि जस्ता वेदको व्याख्याले जन्माएको स्थापित असहज परम्परा स्विकार्न सकेन। त्यहाँका तत्काल गरिएका व्याख्या यदि वेदका सन्देश हुन् भने वेदको सबै कुराहरू लाई यथास्थितिमै हुबहु शब्द प्रमाण मान्न सकिनेमा आफू विश्वस्त हुन सकेन। त्यसको विरोधमा मूलतः तिन विचार धारा जन्मियो।

 

ऋषि बृहस्पतिको दर्शनमा आधारित चार्वाक दर्शन, महापुरुष महावीरको (जम्मा २४ त्रिशङ्करमा अन्तिम त्रिशङ्कर) जैन र महापुरुष बुद्धको बुद्ध दर्शन। यी तिन दर्शनले तत्कालीन वेदका व्याख्या लाई यथास्थितिमै हुबहु शब्द प्रमाण प्रमाणको रूपमा स्विकार्दैन।

जैन दर्शन पछि दुई फक्लेटा भयो। श्वेतांबर  र दिगम्बर। बौद्ध समेत दुई ठुलो परम्परा हीनयान  र  महायानमा विभाजित भयो। त्यसपछि फेरी बुद्ध दर्शनमा १९५६ मा अर्को नयाँ तेस्रो परम्परा (बिसौँ शताब्दी को डा. अंबेडकरको मध्यम वाट) जन्मियो। त्यो थियो पुनर्जीवित रूप नवयान।

 

चार्वाक अलि फरक दर्शन छ। जस अन्तर्गत जसरी हुन्छ आफ्नो जीवनलाई मोज मस्तीमा लिप्त गराऊ, जिऊ भन्ने दर्शनको विकास गरिएको छ। यसले हाम्रो यो जीवन भन्दा पहिले पनि कुनै जीवन थिएन मरेपछि पनि सबै सकियो भन्ने मान्दछ।

जैन र बुद्ध दर्शन भने वैदिक दर्शन सुरुको दर्शन भएकोले यसमा जीवन बारे अत्यन्त विरोधाभास कुराहरू रहे। कति कुराहरूको गलत प्रयोग भयो। किनकि त्यसमा सुरुवाती रहेकाले स्वाभाविकै पूर्ण रूपमा प्रस्ट अवधारणा आउन नसकेको भन्ने चुरो विश्वासमा वेदलाई प्रमाण नमानी त्यसमा आफ्नो मान्यता अनुरूप नाजीकैको तर सुधारिएको विश्वासमा केही फरक नयाँ दर्शन प्रतिपादन गरियो। तत्कालीन समयमा वैदिक संरचनागत मान्यताको खिलाफमा नै यी फरक तिन दर्शन अघि आएकोले यिनीहरू नास्तिक मान्यताको मानिए।

कालान्तरमा वेदको गहिरो अध्ययन पश्चात् कतिपय नास्तिक दर्शनमा रहेका कतिपय कुराहरू वेदमा नै उल्लेख रहेको सङ्केतहरू मानिसहरूले भेट्टाउन थाले। वेदका राम्ररी उत्खनन नभएका पक्ष लाई फरक फरक छ सिद्धान्तमा टुक्राएर हेर्न सकियो। जसले गर्दा वेदमा भएका कुरा प्रमाणको रूपमा लिन सकिने तर त्यसको भनाइहरू जे भनिएको रहेछ त्यो अनुरूप बुझ्न सक्नु पर्ने निष्कर्ष निक्लियो। त्यो अनुसार वेदलाई पुनः गहिराइमा पुगेर त्यसको गहिरा पक्षमा चिन्तन भयो।

 

जस अनुरूप सांख्य (Sāṅkhya) दर्शन र योग (Yoga) दर्शन, न्याय दर्शन (Epistemology  ज्ञान मीमांसा) र वैशेषिक दर्शन (Metaphysics  तत्त्व मीमांसा,  अध्यात्म विज्ञान, आत्मतत्त्वज्ञान),  तथा मीमांसा (सामूहिक कार्यको वा यज्ञको विस्तृत विवेचना) र वेदान्त (Vedanta उपनिषद, वेदको अन्तिम भाग, वेदको सार) गरी आपसमा सम्बन्धित छ दर्शन मिलाएर वेदको गहिरो ज्ञान समाजमा ल्याइयो। जस अन्तर्गत वास्तवमै वेदका कुरा प्रमाणको रूपमा लिन सकिने कुरा पुन: पुष्टि गरियो।

 

उल्लेखित छ वटा दर्शनलाई जब तपाईँ एकै ठाउँमा  जोड्नु हुन्छ त्यसलाई षट् (छ वटा) दर्शन भनिन्छ। त्यही षट् दर्शनलाई श्रुति मानियो। सनातन संस्कृति वा दर्शन भनियो। सनातन संस्कृति वा दर्शन अन्तर्गत हुने सनातन मैत्री कर्मलाई सनातन धर्म भनियो। जसलाई पछि हिन्दु धर्म नाममा व्यापक प्रचार गरियो। सनातन धर्मको व्याख्या गर्ने नियतमा विभिन्न स्मृतिहरूको समेत रचना गरी त्यसलाई समाजमा पुर्‍याइयो।

 

तिनै स्मृतिहरूमा कालान्तरमा कलियुगका व्यक्ति वा सामाजिक स्वार्थ, अहङ्कार र प्रतिशोध साध्ने अवसर, कुलीन वर्गमा आफूलाई परिवर्तन गर्ने भित्री कुनियत अन्तर्निहित सन्देशहरू समेत असल सन्देशका पुरिया भित्र समावेश गरी समाजमा सम्प्रेषण गर्ने,  जातपात, कुल, घराना, लिङ्ग, सानो ठुलो आदिको नाममा सामाजिक शोषण गर्ने उपायको रूपमा समेत दुरुपयोग हुन थाल्यो।

 

यसो हुनुको पछाडि निकै गम्भीर कारणहरू छन्। वैदिक कालमा अक्षरमा लेख्ने चलन थिएन। सबै कुराहरू मन्त्र वा सूत्रको रूपमा बनाएर पुस्तान्तरण गरियो। घोकेर सम्झेर हस्तान्तरण गरिने सूत्र निकै कम शब्दमा बनाउनु जरुरी थियो। जसमा गहिरो अर्थ दिने ऋचा उपयोग हुन्थ्यो। जुन सर्व धारणको ज्ञानले बुझ्न सहज भएन। त्यसलाई डिकोड गरी व्याख्या जरुरी हुन्थ्यो।

तुलनात्मक रूपमा छोटो टिप्पणीहरूलाई वाक्य वा वृत्ति (टीका) भनिन्छ। टीकाको अर्थ स्पष्ट गर्नका लागि रचना गरिएका कथा वा व्याख्या हरूलाई टिप्पणी लेख्नु (भाष्य) भनिन्छ। मन्त्र वा सूत्रको व्याख्या गर्न थप सरल भाष्य र टीकाहरू उपयोग गर्न जरुरी थियो। त्यसै गरियो।  त्यसै अनुरूप  जटिल रूपको उपनिषद् (वेद व्यास), अलि सहज सूत्रको रूपको महर्षि बद्रयन (वेद व्यास) को ब्रम्ह्सुत्र र सहज भाषाको गीता (वेद व्यासको) बाहेक अन्य निकै विवादित समेत बन्न पुगे। यिनै तिन हाम्रो सहज रूपमा बुझ्ने ग्रन्थ बन्यो। अरू हाम्रो लागि बुझ्न अलि असहज प्रकृतिका थिए।

 

 

समस्या त्यही डिकोड गरी छोटो टिप्पणीहरूको  व्याख्यामा  भेटियो। किनकि फरक फरकको व्याख्या आफ्नो अनुरूप आए। त्यो आपसी विवाद युक्त भनाइहरू आउनुको कारक बन्यो।

 

यस कमजोरी लाई पश्चिमा मेसिनरिको  हुस्किको चुस्की पिएकै भरमा आफ्नो कलम घुमाइ दिने सामाजिक लेखक र वरिष्ठ साहित्यकार बनेकाहरूले सनातन विरुद्ध आगो उकेल्ने अवसरको रूपमा सदुपयोग गरे। वेदको “व” समेतको ज्ञान नभएको उनीहरूको अन्दाजमा वेद विज्ञान विपरीत कुरा हो।  सनातन संस्कृति आधुनिक विज्ञान विपरीतको पक्ष हो। यसको हुर्मत आफूले समेत कहिल्यै गहिरिएर नपढेको विज्ञानकै नाममा लिन सकिन्छ भन्ने भ्रममा परे। उनीहरूको त्यो अनुमानको भरमा चलाएको अतिरञ्जनाले  विगतको झन्डै ४० वर्षले नेपाली साहित्य, शिक्षा र सामाजिक चेतना सम्प्रेषण गर्ने माध्यमहरूमा एकाधिकार अधिपत्व जमाउन सफल पनि भयो। उनीहरू आफूले आफूलाई सम्पूर्ण सनातनीहरूको मकै बारी एक्लै फाँडी  दिन सक्ने महिषासुर अवतारमा अनुभूति गर्ने बने। त्यही  अहङ्कारले उनीहरूले विज्ञानको कुरा मात्र समाजले मानु पर्छ भन्ने मान्यता स्थापित गर्न सके।  यद्यपि उनीहरूको नियत खराब थियो। कसैलाई मर्का पारेको थियो। त्यो फरक कुरा हो।  तर विज्ञानले प्रमाणित गरेको कुरा मान्नु त अत्यन्त राम्रै कुरा थियो।

 

यथार्थमा वेदका कुराहरू सत्य छन् र थिए। केही समय विज्ञान संग वेदका कुराहरू परीक्षण गर्ने क्षमता थिएन।  तर विज्ञानले बिस्तारै त्यो क्षमता समेत प्राप्त गर्दै छ।  यसै बिच क्वान्टम मेकानिक्सले विज्ञानमा नयाँ मोड दिन सक्यो। वेदका कुराहरू विज्ञानको मार्फत वाट एक पछि अर्को गर्दै वैदिक सनातनीहरूले आशा गरे भन्दा चाडै प्रमाणित गरी दिन थाल्यो। क्वान्टम मेकानिक्सको कुरा बुझ्दै जाँदा हामीलाई समेत मन्त्र वा सूत्रले यथार्थमा यसो भनेको रहेछन् भनी व्याख्या गर्न थप सरल बन्यो। तिनका अन्तर्यमा पुगेर भाष्य र टीकाहरू उपयोग गरी नयाँ तरिकाले व्याख्या गर्न अब हामी वेद र विज्ञानको सहारा लिन सक्ने बनिएको अवस्था हो। मैले त्यसै कारण वेद र विज्ञानको शृङ्खला सुरु गर्ने जमर्को गरेको हुँ।

आदरणीय मित्रहरू,

मलाई मेरो यात्रा सहज छैन। यो फिल्डमा निकै धेरै समय, शक्ति र साधन श्रोतको जरुरत पर्दछ। तपाईँहरूको आशीर्वादले मैले मेरो हालको आम्दानीको मात्र २५% खर्च गरी आफ्नो गुजारा गरेर ७५% यस कार्यमा लगाएरै भए पनि मैले प्राप्त गरेको कुराहरू निःशुल्क तपाईँहरूमा ल्याउन सकेको छु।  त्यसमा म ईश्वर प्रति धन्य छु।  आभार व्यक्त गर्दछु। म यो काममा लागि रहने प्रतिज्ञा समेत गर्दछु।

 

मलाई यो काममा भएको विरोधमा कुनै आपत्ति छैन। मलाई निरुत्साहित गर्न आउने साथीहरूमा पनि म नाराज हैन। मात्र हैरान छु।  परमात्मा कै कृपाले होला मलाई मेरो अत्यन्त नजिकका मानव रुपी साक्षात् देवी तथा देवहरू, यथार्थमा हाम्रा पनि र राम्रा पनि आफन्तले नबोलेर नै निकै ठुलो मनोवैज्ञानिक प्रेरणा दिई रहेका छन्।

निरुत्साहित गर्न आउने साथीहरूले दिने हैरानीले कहिले कहीँ अनुसन्धान गर्न जरुरी हुने एकान्त र एकाग्रता लाई मार्ने रहेछ। त्यसैले त्यस्तो प्रयास लाई रोक्न सामाजिक सञ्जालको प्रयास लाई ब्लक गर्ने र फोन कल इमेल बेवास्ता गर्ने गर्दै मेरो काम अघि बढी रहेको छ।  मेरो साधन र श्रोत ले भ्याए सम्म मा अवश्य यो वेद र विज्ञानको पाटो लागि अघि लाने छु।  जति सक्छु गर्ने छु।भेटेको कुराहरू तपाई हरू सामु राख्ने छु। मेरा गल्तीहरू हाम्रो नयाँ पुस्ता ले पक्कै पक्डिएर सुधार गर्ने छन्। के को चिन्ता रहो र।

लामो गन्थनको लागि माफी माग्दै सबैलाई नमन गरे। तपाईँहरू वाट प्राप्त झन्डै २-३ हजार प्रश्नमा वेद र विज्ञान किन भन्ने अधिक रहेकोले यो सार्वजनिक टिप्पणी लेखे। कसैलाई रिसानी भएमा, यसले कसैलाई मर्का पार्‍यो भने पुनः  माफी माग्दै जदौ अनि नमस्कार भने। जय होस्।  जय सनातन। जय वेद र विज्ञान।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: