मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ईश्वरको खोजीमा।

नारायण नारायण नारायण

भागवत गीता अनुसार भगवानको खोजी गर्नेमा मुख्य: पाँच प्रकारका मानिसहरू भेटिन्छ। धर्मको नाममा समेत चिनिने संस्कृति अन्तर्गतका उनीहरूलाई पार्थिव नाटकका अभिनेता मानिएको छ। उनीहरू मध्ये कोही मन्दिरहरूमा जाने गर्दछन्। कोही अनुष्ठान गर्दछ। कोही योग ध्यान अभ्यास गर्दछ।  कसैलाई प्रकृतिसँग नजिक रहेर बस्न मन पर्छ । कतिपय आफू जहाँ जे अवस्थामा छन त्यसैलाई आत्मीय रूपमा स्विकारेर बसिदिन्छन् । त कतिपय उल्लेखित एक भन्दा धरै गतिविधिमा संलग्न बनेर रमाउने गर्दछन्।

 

  • पहिलो प्रकारको धार्मिक मानिसहरूमा भगवानको त्यस्ता खोजकर्ताहरू पर्दछन् जसको परम्परा, पारिवारिक पृष्ठभूमि आदिका कारण आफ्ना आमाबाबु तथा मान्यजन बाट प्रेरित भएर उनीहरू बाल्यकालदेखि नै भगवानको पूजा, आजा र आराधनामा संलग्न थिए। म यो धार्मिक कार्यहरू किन र के का लागि गर्दै छु भन्ने बारे बिना ज्ञान वा अल्प ज्ञानमा नै उनीहरूमा धार्मिक कर्म गर्ने संस्कार र बानीको विकाश भएको हुन्छ। गीतामा उनीहरूलाई दुःखको अनुभूति हुँदा भगवानको नजिक पुग्ने व्यक्ति भन्दै आर्त को नाम दिइएको छ। कुनै कर्मको फलको आशा, भाग्यको डर, व्यक्तिगत रोग, आपत् विपथ, तनाव, त्रास, निराशा आदि जस्ता जीवनका विभिन्न उल्झन, कठिनाइहरू वाट मुक्तिको नियतमा, पीडा मुक्ति, भाग्य अप्राप्तिको भय आदिमा उनीहरू प्राय: त्यस्ता कर्ममा गर्न अधिक प्रोत्साहित भेटिन्छ।

 

  • दोस्रो प्रकारमा नितान्त: डर उन्मुख साधकहरू पर्ने गर्दछन्। उनीहरू कहिले आफू नरकमा परिने डर, कहिले समाजमा नास्तिक व्यक्तिमा गनिएला भन्ने प्रकृतिको डरमा भगवानको खोजीमा भेटिन्छन। त्यस्तो व्यक्तिमा अधिक समय आफ्नो सुरक्षा बारे चिन्तित हुने डराउने प्रवृत्ति हाबी हुन्छ। आफ्नो त्यही मनोविज्ञान अन्तर्गत उनीहरू भगवानको पूजा गर्छन्, प्रार्थना गर्छन् र धार्मिक मन्दिरहरूमा जान्छन्। मनोवैज्ञानिक रूपमा आफू सुरक्षित बनेको अनुभूति लिन्छन्। उनीहरूलाई जिज्ञासु भनिएको छ। जिज्ञासु व्यक्तिहरूले स्व-सुरक्षा र स्वार्थको आवेगमा ईश्वरत्व खोज्दछ भनिएको छ। कतिपयले म भगवानको जिज्ञासु हुँ भनी रहँदा उनीहरूको आशय भने यो प्रकृतिको जिज्ञासु नहुन सक्छ।

 

 

  • तेस्रो प्रकारका मानिसहरू भने नितान्त: इच्छा उन्मुख व्यक्तिमा पर्दछन। उनीहरूमा मृत्यु पछि स्वर्ग, वैकुण्ठ, परमात्माको सान्निध्यको वास आदि प्राप्तिको आकाङ्क्षा भेटिन्छ। उनीहरू केही राम्रो प्राप्त गर्ने लोभ वा मोहमा हुने गर्दछन्। उनीहरूलाई अर्थार्थी भनिएको छ। जीवन सहज गर्न सहयोगी हुने धन दौलतको लालसा र भौतिकवादी समृद्धिको पछि लाग्ने गुण यस प्रकारमा मानिसमा भेटिन्छ। यस्ता व्यक्तिहरू स्वभावले अत्यन्त महत्त्वाकाङ्क्षी हुन्छन्। धन र शक्तिको लालसाले अन्तरमन भरिएको हुँदा उनीहरू आत्म केन्द्रित सिद्धान्त बोक्ने र लाद्ने मनोवृत्ति बोकेका धन, दौलत, भौतिक सम्पत्ति प्राप्ति, शक्ति प्राप्ति जस्ता क्षणिक खुसीको वरिपरि घुमी रहन्छन् । त्यही चुरो उद्देश्य प्राप्तिको लागि भगवानको खोजीमा रहेका हुन्छन्।

 

  • चौथो प्रकारमा तर्क उन्मुख साधकहरू पर्दछन्। जसले सधैँ जीवन र मृत्युको रहस्यलाई शास्त्र र शास्त्रहरूमा आधारित तर्क र तर्कहरूद्वारा प्रकट गर्ने प्रयास गर्दछ। ईश्वरको उपस्थिति लाई प्रमाणित गर्ने निरन्तर कोसिसमा रहन्छ। चौथो प्रकारमा पर्ने व्यक्तिहरू ज्ञानी व्यक्ति त हुन्छन् नै, तर पनि सांसारिक असीमित ज्ञानको अगाडी आफूले प्राप्त गरेको ज्ञान नगण्य रहेको बुझ्दछन्। आफूलाई के थाहा छैन भन्ने पर्याप्त जनाकारी राख्दछन्। हिजोको आफू भन्दा अधिक ज्ञान प्राप्त गरेको, चारित्रिक सुधार गरेको, नैतिक सबलताले भरिएको, अधिक अहिंसावादी वास्तवमै सुधारिएको आफूको रूपमा आफूलाई दैनिक परिवर्तन गर्ने ध्याउन्नमा तल्लीन हुन्छन्। त्यसैले उनीहरू सदैव ज्ञान प्राप्तिको लागि भावुक बन्छन्। भगवान् प्रति आफ्नो निःशर्त प्रेम अर्पण गर्छन्। केही बोल्नु, माग्नु, कुनै असन्तोष व्यक्त गर्न तिर लाग्दैनन्। यो गुणको व्यक्तिहरू मात्र सुन्न, जान्न आफ्नो ध्यान केन्द्रित गर्दछन्। धन, दौलत, भौतिक सम्पत्ति प्राप्ति, शक्ति प्राप्ति जस्ता लालसामा आफ्नो मिठासपूर्ण बोली, लेखन र प्रवचनद्वारा अरूलाई प्रभावमा लिन चाहने निकै ठुला र प्रख्यात ठानिएका समाजका पण्डितहरू, गुरुहरू र धर्मशास्त्रीहरू आदिको यो संस्कार बोकेका व्यक्तिहरू निकै धरै आलोचनाको पात्र बन्ने गर्दछन्।

 

  • पाँचौँ प्रकारका व्यक्तिमा भने आराम उन्मुख व्यक्तिहरू पर्दछन्। उनीहरू विभिन्न देवताहरूको पूजा, अर्चना, आराधना आदि गर्दछन्। पवित्र स्थानहरूमा यात्रा गर्छन्। प्रवचन सुन्छन्। आफ्नो विश्रामको चुरो कारणले धार्मिक समारोहहरू तथा भेलाहरूमा सहभागी हुन्छन्। निकै ठुलो सङ्ख्याका धार्मिक आराम उन्मुख व्यक्तिहरू जीवनको यात्राको क्रममा घृणा र बोझको अनुभूतिले दबिएको अनुभव सँगै आफ्नो स्मृतिमा लिएर घुमिरहेका हुन्छन्। उनीहरूले गरेको प्राय सबै कामहरू समय बिताउन, निजी मनोरञ्जन, सामाजिक मनोरञ्जन र आफ्नै आत्मा शान्तिको उद्देश्यका खातिर हुने गर्दछ। यिनीहरूमा धर्म, भगवान्, अध्यात्म आदिमा निकै विश्वास हुन्छ। तर पनि जीवनमा शान्ति प्राप्तिको आफ्नो हकमा भने आफू वञ्चित बनेको अप्रकट मनोभाव वाट यिनीहरू मुक्त बन्न सकिरहेको देखिँदैन।

 

 

हिजो के भयो भन्ने कुराले कुनै पनि समाजको बर्तमानमा शान्ति स्थापना गर्न र भोलिको दिन उज्ज्वल गर्ने दिसाको पूर्वाधार  निर्माण गर्न निश्चय नै भूमिका हुने गर्दछ। त्यसो भएता पनि प्रभाव र व्यावहारिकताको हिसाबमा आज हामी के गर्दै छौ भन्ने कुराले हाम्रो भोलिको बिहानी कस्तो हुने भन्ने निर्धारण गर्न अहम् भूमिका खेलिदिन्छ।

 

सुरक्षित र सुविधाजनक भोलिको खोजीमा भगवानको प्राप्तिमा हिँड्दै गर्दा जब सम्म संसारलाई वेद र विज्ञानको आँखा वाट हेरिन्न र ईश्वरको यथार्थता वारेको तथ्य बुझ्न कोसिस हुन सक्दैन तब सम्म मानिस अप्राप्तिमा आफ्नो अमूल्य जिन्दगीको सम्पूर्ण अंश गुजारी दिन बाध्य हुन पुग्दछ।

 

ईश्वरको यथार्थता वारेको तथ्य बुझ्न पहिला वेद र विज्ञानको सम्बन्ध बारे जान्न र बुझ्न जरुरी छ। वेद र विज्ञान दुवैको आफ्नो आफ्नो सीमितता र धर्म बुझ्न अनिवार्य छ। वेद र विज्ञान बिचको प्रेम तथा घृणा मात्र होइन विषय विशेष र समय सन्दर्भ विशेषमा देखिने मौनता आदि बारे बुझ्नु पर्ने छ।

 

यसो हुन सक्दा मानिसमा निकै परिपक्व आध्यात्मिक चिन्तन विकास हुने छ। परिपक्व आध्यात्मिक चिन्तनले अहिंसा र मानवताको धर्म बोध गर्न तथा ईश्वर अर्थात् परमेश्वरको सहज साक्षात्कार प्राप्त गर्न सम्भव पारिदिने छ।

 

वेद र विज्ञान यस पृथ्वीको फरक फरक काल खण्डको विज्ञानको संश्लेषणको अभिलेख हो। आपसमा सम्बन्धित रहेता पनि मानव चेतना मार्फत विकसित यी पद्धतिहरू आपसी संयोजन वाट अस्तित्वमा रहेको नभई फरक फरक व्यावहारिकतामा स्वाभाविक विकास भएको देखिन्छ। बजारमा बोलिने गरेका वेदवाट विज्ञान जन्मियो भन्ने भनाइहरू तथा विज्ञान वाट वेद जन्मिएको हो भन्ने दुवै दाबी पूर्ण रूपमा असान्दर्भिक विषय बनेको छ। जब विज्ञानको अन्त हुन्छ तब अध्यात्म सुरु हुन्छ भन्ने बुझाइ समेतमा सत्यता भेटिँदैन।

 

संसारको जुन सुकै चिज किन नहोस् त्यसको व्यक्त अव्यक्त पक्ष जान्न बुझ्न विज्ञान र वेद दुवैको अवधारणाको अनिवार्यता पर्दछ। जसरी आज विज्ञान सम्मत तर्कलाई वैज्ञानिक तर्क र विज्ञान असम्मत तर्कलाई अवैज्ञानिक तर्क भनिन्छ, त्यस्तै वैदिक कालमा वेदको अवधारणा मान्नेलाई आस्तिक र नमान्नेलाई नास्तिक भनिन्थ्यो।

 

यहाँ निर बुझ्नु पर्ने गहिरो कुरा के हो भने वैदिक कालमा मानिस आस्तिक हो वा नास्तिक भनी छुट्टाउने उसले वेद मान्छ वा मान्दैन भन्ने आधार लिने गरिन्थ्यो। कुनै धर्म मान्ने वा नमान्ने आधारमा त्यसो गरिन्थ्यो। किन?

 

किन कि यसको निकै ठुलो कारण छ। वेद परम्परागत वैदिक कालमा विकसित उत्कृष्ट विज्ञानको समग्र सङ्ग्रह थियो। 

 

जस्तै गौतम बुद्ध नास्तिक हुन्। उनले वेदलाई हु-बहु मानेनन्। उनले वेदको सबै कुरा लिए तर वेदका ऋचालाई व्याख्या गर्ने ऋषिहरूले आफ्नो तर्कको आधारमा गरेको विश्लेषणमा रहेको सामाजिक विभेद र उच्च नीचता समेत समाजको दर्दको कारक रहेको बुझे। त्यसले समाजमा दिएको साफरिङ्गको उनले भित्र वाट अनुभूति गरे। अहिंसा प्रेमी  बुद्धले त्यसको विरुद्ध अत्यन्त मार्मिक गहिरो निर्माणको सिद्धान्त अन्य सिद्धान्त सँगै संसारलाई दिन सके। संसारले उनको सिद्धान्त निकै सह्रायो। सिद्धार्थ गौतम वाट बुद्ध बनेका बुद्ध लाई संसारले भगवान मान्यो। कृष्ण, राम जस्तै बुद्धले पनि ईश्वरको हैन भगवानको दर्जा पाए।

 

हाम्रोमा भौतिक बादी चार्वाक समेत नास्तिक फिलोसोफरको रूपमा देखा परे। उनले मानव इन्द्रियले देख्न सक्ने र महसुस गर्न सक्ने भौतिक जगत बाहेक अन्य सबै कुरा असत्य र काल्पनिक हो भने। जीवनमा जसरी सुकै होस् मात्र मोज गर, मोज नै मोजमा जीवन बिताऊ भन्ने तर्क गरे। ऋण लिएर हुन्छ वा साथी भाइ संग नतिर्ने नियतले सापटी लिएरै किन नहोस् बस मोज गर भने। नियत मात्र आनन्दमा रहने लिनु भने। पिउँदा आनन्द आउँछ भने, मस्ती हुन्छ भने रक्सी पिऊ भने। यति पिऊ कि पिउँदा पिउँदै थाकेऊ भने आराम गर्न पनि रक्सी नै पिऊ भने। रक्सी धेरै पिएर अचेत भएर भुईँमा लडे पछि जब होस् खुल्छ फेरी उठ र सुरु गर पिउन भने।

 

चार्वाकको तर्कले भन्छ कि जे गर्दा आनन्द आउँछ त्यही गर। मोजमा मस्तीमा जीवन बिताऊ। जीवन भन्दा पहिला पनि कुनै अर्को जिन्दगी  थिएन । जीवन पछि समेत केही त्यस्तो सत्य भन्ने चिजको अर्को जिन्दगी छैन। चार्वाकको तर्कलाई ठुलो समुदायले अस्वीकृत गरिदियो। त्यसलाई राज्यले कानुन बनाएरै नैतिक र कानुनी आम्दानी मात्र मानिसले आफ्नो अनुरूप खर्च गर्न पाउने नियम विनियम बनाएर नै समाज सञ्चालनको खाका तैयार गरी लागु गर्‍यो।

 

वेदले आफ्नो महत्त्वपूर्ण शक्ति अव्यक्तताको विज्ञान वारेका तथ्यहरूको उत्खननमा लगाएको छ। जस्तै कुनै वीज लाई हेर्दा त्यस वीजको उम्रिएर  ठुलो रुखको रूपमा विकसित हुने सम्भावनाको पक्ष अव्यक्त हुन्छ। तर त्यो सम्भावना वीजमा नरहेको भने हुँदैन। विज्ञानले व्यक्तताको विज्ञान वारेका तथ्यहरूको उत्खननमा समय व्यतीत गरिरहेको छ।

 

व्यक्त र अव्यक्त संरचना बिचमा एउटा निकै मिहिन शुक्ष्म तह देखिन्छ। त्यस तहलाई व्यक्तता र अव्यक्तताको सेतु भनिन्छ। शून्य र इन्फिनिटी निर्मित उक्त सेतु विज्ञानको क्षेत्रमा स्पेश (आकाश) -टाईम (काल)- दिशा (डिरेक्सन) आदिको भूमिकामा देखिने गर्दछ। व्यक्तता र अव्यक्तताको सेतुको सन्दर्भमा वैदिक विज्ञान र वैज्ञानिक विज्ञानको आफ्नो आफ्नो चरित्र अनुरूपको फरक फरक दृष्टिकोण  आउने गर्दछ। सारमा भने ती बुझाइहरू एक आपसमा बाझिने किसिमको नरहेको तर्क द्वारा सिद्ध गर्न सकिने प्रकृतिको छ।

 

फरक सन्दर्भको विशेष ज्ञानको रूपमा वैदिक विज्ञान र वैज्ञानिक विज्ञान दुवैले अत्यन्त महत्त्वपूर्ण ज्ञानहरू दिने गरेका छन्। वैदिक विज्ञानको कुशलताको क्षेत्रमा वैज्ञानिक विज्ञान माइथोलोजी (पौराणिक कथा) त होइन जस्तो लाग्दछ। वैज्ञानिक विज्ञानको कुशलताको क्षेत्रमा वैदिक विज्ञान माइथोलोजी (पौराणिक कथा) रहेको जस्तो आभास हुने गर्दछ। दुवै पक्षको यथार्थ आधिकारिता तथ्य सहित नकार्न सक्ने गरी कसैले पनि हाल सम्म प्रमाणित गर्न सकेको अवस्था छैन। तर्क र व्याख्याको आधारमा वैदिक विज्ञान र वैज्ञानिक विज्ञान दुवैको निचोड आपसमा स्वीकार्य र सम्भाव्य सम-भावको रहेको पुष्टि गर्न सकिएको छ। मानिसहरूमा दुवै अवधारणा सत्यको नजिक रहेको अनुभूति बनिरहेको हालको स्थिति हो।

 

वेदले अव्यक्त पक्षको व्यवहारिक ज्ञानको उत्खननमा अत्यन्त धेरै समय खर्च गरेको र त्यसैमा अति धेरै महत्त्व दिएको भेटिन्छ। विज्ञानले भने आफ्नो सम्पूर्ण शक्ति व्यक्त पक्ष वारेको ज्ञानको उत्खननमा लगाएको छ। वेदको दृष्टिकोणमा व्यक्तताको इञ्जिनियरिङ्गको पक्षमा वेदको समय खर्चनु त्यति सान्दर्भिक हुँदैन।  किनकि ईनर इञ्जिनियरिङ्गको अवधारणाको गहिरो समझले मात्र मानिसको मनमा गढेर रहेको चिन्ता निर्मूल गर्दै मानिसलाई चिन्ता तथा सफरिङ्गको चुरो कारण वाट मुक्त गर्न सकिन्छ। त्यसैले वेदमा मानवको व्यक्त संरचनाको इञ्जिनियरिङ्ग न्यून महत्त्व र सन्दर्भको विषय बन्ने गरेको छ।

 

वैदिक ज्ञानको चुरो उद्देश्य मानिसलाई दुःख, दर्द, सफरिङ्ग आदि वाट मुक्त गर्नु हो। उल्लेखित बाहेकका अन्य कुराहरूमा वैदिक दृष्टिकोण खासै चासो राख्ने गर्दैन। मानिस मानिस हुनु अघि के थियो र मानिसको देह त्याग पश्चात् ऊ स्वर्ग वा नर्क कता जान्छ जस्ता विषयमा वैदिक दृष्टिकोणमा बाल मतलब गरिँदैन। किनकि  स्वर्ग वा नर्क जस्ता स्थानहरू अस्तित्वमा नै नरहेको वेदको मान्यता छ। कुनै विशेष कारणले विभिन्न कथा आदिमा उपमा लिने प्रयोजनमा मात्र स्वर्ग वा नर्क जस्ता काल्पनिक स्थानहरूको चर्चा भएको मान्दछ वेद। वेदले जीवित रहेका सबै प्राणी तथा मानिस अन्ततोगत्वा मुक्ति हुनुको विकल्प नरहेको अत्यन्त सुन्दर दृष्टिकोण प्रस्तुत गर्दछ।

 

मानिसलाई दुःख, दर्द, सफरिङ्ग आदि वाट मुक्त गर्ने उद्देश्य पुरा गर्ने सन्दर्भमा मात्र वेदमा सांसारिक व्यवहारिक कुराहरू वारेको विभिन्न विषयहरूको चर्चा परिचर्चा हुने गर्दछ। विभिन्न वैदिक कालिन ज्ञान र विज्ञानका पक्षहरू बारेको अनुसन्धान र बुझाइहरूको तिनै सन्दर्भमा निस्किएका निचोडहरूको वेद भित्र चर्चा र व्याख्या भेटिन्छ। जुन वैज्ञानिक दृष्टिकोण वाट अत्यन्त ठुलो महत्वको हुने गरेको छ।

 

जीवनमा घटेका हरेक कुराहरू कुनै निश्चित उद्देश्य प्राप्तिका लागि हुने गरेको निचोड दिने वैदिक ज्ञानले मानिस लाई बिना खर्च सन्तोषी, सन्तुलित र सुखी बनाउन सहयोग गर्दछ। वेदको निचोड अनुरूप जीवनको निश्चित उद्देश्य र वास्तविकता बारे ज्ञान दिएर मानवमा निहित रहेका हरेक प्रकारका दुःख, दर्द, सफरिङ्ग आदि वाट मुक्ति दिलाउन सहयोग पुर्‍याउन सकिन्छ।

 

वेदको अर्को अत्यन्त महत्त्वपूर्ण पक्ष के हो भने यसले धर्मको नाममा हुने गरेको लिङ्ग तथा जातको विभेद, सानो ठुलोको विभेद, शोषण, दमन, हिंसा आदिको सक्रिय प्रतिकार गर्दछ। आफूले आफूलाई युग द्रष्टा जस्ता के के द्रष्टाको पगरी भिडाउने, आफ्नो फाइदाको लागि कुरा चपाएर धर्मको नाममा लुट्ने, मानव जीवनमै आफूले ब्लिस पाएको, समाधि प्राप्त गरेको आदि दाबी गर्ने, आफूले आफूलाई परमेश्वर घोषणा गर्ने जस्ता पाखण्ड तथा कुनै चन्दा वा दान दिएर धर्म हुने, कसैको गोडा मोलेर मुक्ति प्राप्त हुने जस्ता विकृति पूर्ण अपराधको वेदले पूर्ण निन्दा गर्दछ।

 

विज्ञानलाई मानव दुःख, दर्द, सफरिङ्ग  चिन्ता जस्ता विषयको चुरो कारणादिको अनुसन्धान संग खासै मतलब रहँदैन।  अव्यक्त संरचना सम्बन्धको कुनै पनि वैदिक विज्ञानको निचोडमा आधुनिक विज्ञानले न त समर्थन गर्दछ। न त विरोध नै । अव्यक्तता बारेको अनुसन्धान आफ्नो दक्षता र अनुसन्धानको प्राथमिकताको क्षेत्र नरहेको विज्ञानले बताउने गर्दछ।

 

व्यक्त संरचनाको इञ्जिनियरिङ्गको अनुसन्धानको क्रममा ईनर इञ्जिनियरिङ्गको दायरा जोडिने तहको सेतुको क्षेत्रको पर्याप्त ज्ञानको अभावमा व्यक्त संरचनाको इञ्जिनियरिङ्ग लाई सही रूपमा पहिचान गर्न नसकिने हुँदा क्वान्टम मेकानिक्सको क्षेत्र भन्दा अलि गहिरो क्षेत्र सम्म विज्ञानले आफ्नो अवधारणा विकास गर्ने गरेको छ। उक्त बिन्दुको वैज्ञानिक अनुसन्धानको निचोडहरू यथार्थमा वैदिक कालिन विज्ञानको दृष्टिकोण संग तुलना गर्न सकिने स्थितिमा रहेकाले वेद र विज्ञानको दृष्टिकोण सबैको चासोको विषय हुन गएको हो।

 

अन्यथा विज्ञानको अनुसन्धानको चुरो प्राथमिकताको क्षेत्र प्रविधि विकास गरी मानवको  भौतिक जीवन सहज गर्ने, मानवको अस्तित्व र सुरक्षाको ग्यारेन्टी गर्ने आदिमा केन्द्रित हुनु हो। विज्ञानको हाल सम्मको कर्म भौतिक संसारलाई मानव भौतिक जीवन शैली मैत्री बनाउनेमा सीमित रहेको छ। वेदको अवधारणा अनुसार वेद र विज्ञानको उचित समझले मात्र एक मानिसले आफूलाई तर्क उन्मुख साधक बनाउन सक्दछ। त्यसैको बलमा आत्मा र परमात्मालाई समयमै पहिचान गरी आफ्नो जीवन लाई सफल अर्थपूर्ण जीवनमा ढाल्न सक्दछ।

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)।

41Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: