मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्वेदको मुख्य कडी: ब्रह्माण्डसँग हर्मोनीमा रही स्वास्थ्य रहने । 

नारायण घिमिरे |

आयुर्वेदिक चिकित्सा र आध्यात्मिकतामा क्वान्टम फिजिक्स कसरी जोडिएको छ भन्‍नेबारे जानकारी राख्‍न सक्दा हामीले हाम्रो परम्परागत वैदिक विज्ञानबारे केही प्रस्ट हुन सक्नेछौँ । तीन प्रमुख विषय आयुर्वेदिक चिकित्सा, आध्यात्मिकता र क्वान्टम फिजिक्स सर्सर्ती हेर्दा एक आपसमा निकै टाढाका विषय जस्तो लाग्दछ । जब तपाई यिनीहरू बारे निकै गहिरिएर अध्ययन गर्नुहुन्छ, तब तिनै पक्ष मानवीय इलेक्ट्रोमककग्नेटिक फिल्डको माध्यमबाट गैररेखीय रूपमा प्रस्टसँग जोडिएको अनुभूति गर्न सक्नुहुन्छ ।

जब तपाईं संवेदनशील बन्‍नुहुन्छ, तपाईंले यसको अनुभूतिसमेत गर्न सक्नुहुन्छ । सरल रूपमा बताउँदा आयुर्वेदिक चिकित्सा, आध्यात्मिकता र क्वान्टम फिजिक्स तिनै क्वान्टम युनिफाइड फिल्डमार्फत जोड्ने गर्दछ । व्यक्तिको क्वान्टम युनिफाइड फिल्डले गैररेखीय अर्थात नन-लिनियर मानवीय रेडिएसन (औँरा) निकाल्दछ । मानव औँराको उच्च फ्रिक्वेन्सीको इलेक्ट्रिक फिल्ड प्रयोग गरी सबैले देख्‍ने गरी फोटो समेत खिच्‍न सकिन्छ । किर्लियन फोटोग्राफी भनिने उच्च फ्रिक्वेन्सीको इलेक्ट्रिक फिल्ड प्रयोग गरी फोटो खिच्दा मानव शरीर बाट नियमित रूपमा प्रसारण हुने औँराको फोटनहरू लाई धेरै गुणा वृद्धि गरी सबैले देख्‍न सक्ने गरी फोटो खिच्‍न सम्भव बनाउँछ ।

 

शरीरका लगभग ९९ प्रतिशत एटमहरू हाइड्रोजन, कर्बोन, नाइट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छन् । हामीले खाने खाना, पेय पदार्थ र श्वासमा समेत पोटासियम-४० र कार्बन-१४ जस्ता रेडियोनिउक्लाईडस हुन्छ । जुन शरीरका मलिकुलसँग मिल्छ र बिखन्डनभई रेडिएसन निकाल्छ । जस्तै पोटासियम-४० बिखन्डन हुँदा यसले इलेक्ट्रोनको एन्टीमेटर्स ‘पोजिट्रोंन’ बनाउँछ । एटमको इलेक्ट्रोनसँग जबर्जस्त ठोक्किन गई गामा-रे को फर्ममा रेडिएसन निकाल्दछ । यसरी हाम्रो शरीरले आन्तरिक रूपमा रेडिएसन (औँरा) निकाल्छ ।

 

कुनै पनि निर्जीव वा सजीव वस्तुको वरिपरिको हावा इलेक्ट्रिफाइड गरिन्छ (वा हुन्छ) अर्थात् विद्युतीय विकिरणमार्फत इलेक्ट्रिफाइड बन्दछ, उक्त वस्तुको वरिपरिको इलेक्ट्रिफाइड हावा अथवा विद्युतीय विकिरणमा रहेका प्रकाशको प्याटर्नहरू किर्लियन फोटोग्राफीको मध्यमबाट  क्यापचर गरी फोटो खिच्‍न सकिन्छ । मानवको शरीरले नियमित निकाल्ने प्रकाशको किरण (औँरा) लाई समेत यो प्रविधिबाट फोटो खिच्‍न सम्भव बनेको हो ।

 

एलोपेथिक औषधि विज्ञानका हालको अभ्यासहरूमा मानव शरीरको विभिन्‍न प्रकारको ऊर्जाहरूलाई आणविक चिकित्सा, रेडियोलोजी र इमेजिङ जस्ता डायग्नोस्टिक्स विधिहरूमा उपयोग हुने क्वान्टम फिल्ड डाइनामिक्सको उपयोग गरेर मापन गरिन्छ । उक्त डायग्नोस्टिक प्रक्रियाहरूले दिने बिरामीको स्वास्थ्यसँग सम्बन्धका धेरै जानकारी प्राप्त गरेपश्चात् बिरामीको रोगको पहिचान वा अनुमान गरिन्छ ।

 

क्वान्टम फिल्ड डाइनामिक्स विधिहरूबाट रोगको पहिचान भए पश्चात् बायो-फिजिक्स थेरापीहरूको उपयोग बाट सूक्ष्म ऊर्जामा रहेका गडबडीहरूको निदानको उपायहरू अपनाउनु कतिपय अवस्थामा अत्यन्त सान्दर्भिक देखिन्छ । तर पनि एलोपैथिक औषधि विज्ञानमा उपचारको लागि बायो-फिजिक्स थेरापीहरूको सट्टा पुनः जैविक रसायन मतलब बायोकेमेस्ट्रीमा नै फर्किने गरिन्छ । जसले गर्दा विश्व व्यापीरूपमै निकै ठुलो सङ्ख्यमा  बिरामीहरू आफ्नो रोगको उपचारमा एलोपैथिक औषधि विज्ञानमा भन्दा इनर्जी मेडिसिनको विकल्पतर्फ अधिक आकर्षित भएको भेटिने गर्दछ ।

 

क्वान्टम फिजिक्सले हामीलाई ऊर्जा र पदार्थबीच कुनै भिन्‍नता नरहेको सिकाउँदछ । मानव शरीरका सबै प्रणालीहरूमा परमाणुको (एटम) स्तरदेखि अणुको (मलिकुल) स्तरसम्म सबै नै नियमित निश्चित गतिशीलतामा रहेर शरीरको सन्तुलन कायम गर्ने गर्दछन् । मानिसको स्वास्थ्य र स्फूर्तता कसरी कायम राख्छ सकिन्छ भनेर बुझ्‍नका लागि निश्चित गतिशीलतामा रहने सूक्ष्म ऊर्जाको कसरी सन्तुलन वा रिजोनेन्स कायम गराउन सकिन्छ भन्‍ने जानकारी प्राप्त गर्नु अनिवार्य हुन्छ ।

 

इनर्जी मेडिसिन अर्थात ऊर्जामा आधारित औषधीय प्रणालीमा भने शरीरको प्रणालीहरूलाई होमियोस्टेसिस वा सन्तुलनमा फिर्ता ल्याउन ज्ञात सूक्ष्म ऊर्जाको फिल्डको उपयोग गरि प्रणालीहरूमा भइरहेको ऊर्जाबारे सूचनाहरू संकलन गरी असन्तुलनको आकलन गरिन्छ । रोगको पहिचानपश्चात् मानव स्पर्श वा कुनै उपकरणहरूको सहयोगमा सूक्ष्म ऊर्जामा रहेका गडबडीहरूको उपचार गर्ने विधि अवलम्बन गरिन्छ । यसरी गरिने इनर्जी मेडिसिनको भविष्य एलोपैथिक औषधि विज्ञानले आफ्नो चिकित्सकीय उपचार पद्धतिमा बायोकेमिस्ट्री र भौतिक विज्ञानलाई कुन हदसम्म जोडेर संयुक्त उपचार विधि विकास गर्ने क्षमतामा राख्दछ त्यसैमा निर्भर रहनेछ ।

 

मानवसहित सबै जीवित प्राणीहरूले अत्यन्त मलिनो प्रकाशको उत्सर्जन गर्ने गर्दछ । जसलाई बायोफोटन उत्सर्जन भनिने गर्दछ । मानव बायोफोटन उत्सर्जनको पहिचान गर्ने रोबष्ट तरिका, तिनीहरूको सामान्य लक्षण, फरक फरक अवस्थामा तिनीहरूमा हुने परिवर्तन, उत्सर्जन प्रणालीमा देखिने विविधता आदिबारे गहिरो अध्ययन गर्नसक्दा भविष्यमा मानव बायोफोटन उत्सर्जनको लक्षणहरूको मापनमार्फत मानव शरीरको रोगको कारणहरू पहिचान गर्न, चिकित्सकीय उपचार विधिहरू विकास गर्न सम्भव हुनसक्ने बलियो आधारहरू देखिएको छ ।

 

मानव सेलहरूमा एक निश्चित प्रकारका विशिष्ट रिसेप्टर्स हुने गर्दछ । सेलको उक्त रिसेप्टर्समा प्राप्त हुने संकेतका आधारमा सेलहरू विभिन्‍न तरिकाले सक्रिय हुने गुण देखाउँदछन् ।

 

जस्तै : उदाहरणका लागि इन्सुलिन हर्मोनको संकेत प्राप्त गर्नासाथ मांसपेशीका कोषिकाहरू हतार हतार रगतबाट ग्लुकोज लिने र भण्डार गर्ने काममा लाग्दछन् । त्यही इन्सुलिन हर्मोनको संकेत प्राप्त गर्दा कलेजोको कोषहरू भने ग्लुकोजको  उत्पादन रोक्ने गर्दछन् । जसले गर्दा हाम्रो शरीरले रगतमा ग्लुकोजको मात्राको नियमन र नियन्त्रण हुने गर्दछ । शरीरको यस्तो प्रकारको बायोलोजिकल प्रक्रिया जसमा एक सेलले सेल बाहिरको पदार्थसँग आफ्नो सतह भित्र र सतहमा पाइने अणुहरूमार्फत पठाउने संकेतहरूलाई सिग्नल ट्रान्सडक्सन भनिन्छ ।

 

सेलहरू सामान्यतया रासायनिक पदार्थहरूको प्रयोग गरी संकेतहरूको सञ्चार गर्ने गर्दछन् । संकेत पठाउने सेलले  प्रोटिन वा अन्य अणुहरू उत्पादन गरी आफ्नो सतहबाट सेल बाहिर द्रबित गर्दछ । उक्त केमिकल सेल बाहिरको तरल पदार्थमा तैरिएर छिमेकी सेलको विशिष्ट रिसेप्टर्समा पुग्दछ । जब पठाएको संकेत वा लिगान्ड्स लक्ष गरिएको सेलको रिसेप्टरमा बाँधिन्छ, यसले सेलको भित्र आन्तरिक परिवर्तन गरी रिसेप्टरको आकार र गतिविधि परिवर्तन गरी उक्त संकेत वा लिगान्ड्सलाई सेल भित्र पुर्याउदछ । छिमेकी सेलभित्र उक्त लिगान्ड्स आन्तरिक संकेतको रूपमा परवर्तन भई लक्षित प्रतिक्रिया उत्पन्‍न गराउँदछ ।

 

क्वान्टम फिल्ड डाइनामिक्स विधिहरूमा मानव बायोफोटन उत्सर्जन, कोषिकाहरूको सिग्नल ट्रान्सडक्सन तथा र कोषिकाहरूबीच हुने आन्तरिक संकेतहरूको सञ्चार प्रणालीहरूको आधारमा मानव स्वस्थ र स्फूर्तिको पहिचान तथा उपचारमा सहयोगी हुने व्यापक रूपमा स्वीकार्ने  गरिन्छ । भविष्यको परिप्रेक्ष्यमा विभिन्‍न सेलहरूको भोल्टेज क्षमता, तिनीहरूबीचको सञ्चार आदिले स्वास्थ्य र स्वास्थ्य सँग सम्बन्धित सन्तुलन तथा विकृतहरूसँग कसरी कस्तो साइनो राख्दछन् भन्‍ने बुझ्‍न सक्दा अत्यन्त लाभदायी हुनेछ ।

 

मानव बायोफोटन उत्सर्जन लगायतका उल्लेखित विधिहरूको सैद्धान्तिक पक्षबारे जानकारी राखी व्यवहारमा विस्तार गर्न अझै निकै धेरै अध्ययन अनुसन्धानको जरुरतको आवश्यकता रहेको देखिन्छ । मानिसमा हुने सामान्य गडबडी, कुनै रोग देखिँदाको अवस्था तथा नियमित बुडौलीले छोप्दै जाँदा उसको शरीरमा रहने ऊर्जाको पैटर्नमा देखिने फरक पन आदिको अध्ययन मार्फत उचित सुधारात्मक तथा उपचारात्मक सुधार पद्धतिको विकास गर्न समेत मानव बायोफिल्डमा (वा मानव ऊर्जाको क्षेत्र) आधारित इनर्जी मेडिसिन उपचार पद्धतिको ठूलो भूमिका हुने निश्चित छ ।

 

आयुर्वेदको संन्दर्भमा भने कुनै निश्चित सेल वा अत्यन्त सूक्ष्म निकायको एक्लो कार्यभन्दा तिनीहरूले समूहमा गर्ने कार्यको सामूहिक प्रतिफल मानिसले महसुस गर्ने गरी ऊर्जा सन्तुलन राखी स्वस्थ राख्‍न वा ऊर्जाको सन्तुलन खस्कन गई विभिन्‍न दोषहरू अर्थात् विकृतिहरू उत्पन्‍न गर्न जिम्मेवार हुने गर्दछ । उक्त सैद्धान्तिक आधारहरूलाई दैनिक जीवन पद्धति र स्वस्थ उपचारमा व्यावहारिक रूपमा सम्भव तुल्याउन प्रतिरोधात्मक, सुधारात्मक तथा उपचारात्मक साइको-न्युरो-ईम्युनोलजी (दिमाग तथा शरीर) जीवन पद्धति, हिलिङ खाद्य, आयुर्वेदिक उपचार तथा औषधीय पद्धतिहरू विकास गरिएको छ ।

 

जसअन्तर्गत स्नायु तथा ऊर्जाका चक्र प्रणालीहरू मात्र नभएर विचार, आहार, हर्बल वा प्राकृतिक उपचार, ध्यान वा मेडिटेसन, योग तथा यौगिक श्वास-प्रश्वास विधि आदिको संयोजनमार्फत ऊर्जाको सन्तुलन गरिने विधिहरूको उपयोग गरिने गर्दछ ।

 

क्वान्टम युनिफाइड फिल्डको अवधारणालाई कम्पन शक्ति भन्‍ने आयुर्वेदमा कम्पन शक्ति तथा त्यसको सह-उत्पादन शक्तिहरूको गठ जोडबाट बन्‍ने पन्च तत्त्वहरूद्वारा नै संसारका हरेक पदार्थ निर्मित रहेको मान्यता लिइन्छ । तिनै पन्च तत्त्वको संयोजनबाट कफ, पित्त र वात दोष निर्माण भएर बन्‍ने शरीरमा चेतन शक्ति र जीवन्त शक्ति जोडिएर सम्पूर्ण रूपमा मानव अस्तित्व सम्भव बनेको छ । एक मानव कफ, पित्त र वात नाम गरिएका त्रिदोषहरूको सन्तुलित संयोजनले स्वस्थ रहने र सन्तुलन गुमाउँदा विकृतिको सिकार बन्‍ने अवधारणा आयुर्वेदको अवधारणा हो ।

 

आयुरको अर्थ जीवन र वेदको अर्थ ज्ञान रहेको अयुर्विज्ञानको आयुर्वेदमा ब्रह्माण्डसँग हर्मोनीमा रहेर अधिकतम स्वास्थ्य प्राप्त गर्ने दृष्टिकोण र कार्यविधिहरू उल्लेख छ । जसको आधारभूत सिद्धान्तमा इनर्जी मेडिसिन अर्थात् ऊर्जामा आधारित औषधीय प्रणालीसमेत समावेश रहेको प्रस्टसँग अनुभूति गर्न सकिन्छ । त्यसैले त आयुर्वेदलाई नयाँ पुस्ताको मुख्य रोजाइको उपचार तथा जीवन पद्धति ठान्‍ने गरिन्छ।

(१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन्।)
0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: