मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक सूर्य सिद्धान्त र क्वान्टम फिजिक्स – सञ्चालन शक्ति !!

क्वान्टम फिजिक्स र सूर्य सिद्धान्तका (वैदिक) अवयवहरू:

 

नारायण घिमिरे

 

नाम संस्कृतको मन्त्रमा प्रयोग हुने ध्वनि र ध्वनि प्रवाहको मिहिनताको (लय) आधारमा सूर्य देवताका सात घोडाहरूको नाम राखिएको छ। संस्कृतका ति नामहरु गायत्री, वृहती, उष्णिहा, जगती, त्रिष्टुभ्, अनुष्टुभ र पङ्क्ति हुन्।

यसलाई यदि तपाईँ आधुनिक वैज्ञानिक व्याख्यालाई विचार गर्नुहुन्छ भने सूर्य वाट उत्सर्जित हुने सेतो प्रकाशको किरणको शक्तिलाई सूर्य देवता र उक्त  सेतो प्रकाश निर्मित हुने सात रङ्गका किरणहरू बैजनी, इन्डिगो, निलो, हरियो, पहेँलो, सुन्तला र रातोलाई सात घोडाको रूपमा बुझ्नु हुन्छ।

(सूर्यको प्रकाशको शक्ति सात वटा घोडा लाई नागको डोरीको सहायताले रथमा बाँधिएको सुनौलो रथ वाट संसारभर छरिने वेदको व्यवहारिक व्याख्यामा चुम्बकीय र विद्युतीय तरङ्गले दिने ईलेक्ट्रोम्यागनेटिक पथको नागबेली आकारको प्रवाहको गतिलाई नाग द्वारा बाँधिएर यात्रा गर्ने रथको रूपमा व्याख्या भएको देखिन्छ। सेतो प्रकाश आफै रथ भएको र त्यसको सात किरण त्यो सेतो प्रकाश तान्ने घोडा रहेको बुझ्न सकिन्छ।)

शाब्दिक रूपमा यहाँ ‘गाय’ को अर्थ ‘गायन द्वारा’ र ‘त्रि’ को अर्थ ‘मुक्ति दिने’ भन्ने लाग्दछ। कम्पन निर्मित संरचनाको अर्थ दिने गायत्री लाई वेदको जन्मदाता मानिन्छ। किनकि ज्ञानको लागि विचार विमर्श र मन्थनको जरुरत पर्दछ। त्यसैले विचार विज्ञान कम्पनको रूप हो। विचारले अव्यक्त लाई अभिव्यक्त गरी संरचनाको उत्पत्ति गर्ने इच्छा शक्तिको निर्माण गर्दछ।

 

‘वृहती’ ले ‘निश्चित तालको फरक फरक प्रकार’ लाई जनाउने गर्दछ। शब्दको लयको रूपमा यस छन्द भनिन्छ भने संरचनागत रूपमा यसले ओईभलेन्थ अर्थात् तरङ्गको लम्बाईलाई  जनाउने गर्दछ। ‘उष्णिहा’ ले उच्चारणको हद वा केन्द्रबाट ओईभलेन्थको अधिक दुरी  अर्थात् तरङ्गको उचाइलाई जनाउने गर्दछ।

 

‘जगती’ ले निर्माणको जग अर्थात् मूल आधारलाई जनाउने गर्दछ। शब्दको रूपमा यसलाई एउटा लयमा मिलेको निश्चित अर्थ दिने वाक्यको प्रस्फुटनको रूपमा लिने गरिन्छ। संरचनागत रूपमा जगतीले प्रकाशको किरण यात्रा गरेको सिधा रेखालाई जनाउने गर्दछ।

 

‘त्रि’ को अर्थ यहाँ ‘तिन’ हुन्छ। ‘ष्टुभ्’ को अर्थ ‘एक आपसमा जोडिएको’ भन्ने लाग्दछ। त्रिष्टुभ् शव्दले तरङ्गको लम्बाई, चौडाई र नियमित यात्रामा रहेको कम्पनको यात्राको मार्ग बीच पटक पटक हुने संयोग वा मिलनको अर्थ दिन्छ।

 

अनुष्टुभ शब्दले नम्बर आठ लाई जनाउँदछ। संस्कृत प्रणालीमा अङ्कहरू, वस्तुहरू, प्राणीहरू र अवधारणाहरू समेत नाम द्वारा नै अभिव्यक्त गरिन्छ। तिनीहरू शास्त्रको ज्ञान अनुरूपको गहिराइ दिने सङ्केतको रूपमा उपयोग गरिन्छ। यहाँ अनुष्टुभ शब्दले अर्को आठौँ पक्ष रहेको भन्ने सङ्केत गर्दछ। जसलाई ‘समय’ तर्फ गरिएको सङ्केत भनी बुझ्दा समग्रताको तात्पर्य बुझ्न सहज हुन्छ।

 

पङ्क्ति शब्दले समग्र पक्षको अन्तिम रूप  वा प्रभाव वा भावलाई बुझाउँछ। समग्रमा सात वटा विभिन्न रङ्गका किरणहरू अर्थात् प्रभावहरू निश्चित समयमा एक आपसमा  मिल्न गई सेतो प्रकाशको किरणको समग्र रूप निर्माण भएको हुन्छ । जुन विद्युतीय र चुम्बकीय गुण मिश्रित मात्र छैनन्, तिनीहरू नियमित कम्पनमा रहेर उतार चढावका साथ गतिशील रहने दैविक ऊर्जा रुपी शक्तिको श्रोतको रूपमा वातावरणमा क्रियाशील रहेको छन्।

 

सप्त त्वा हरितो रथे वहन्ति देव सूर्य।

शोचिष्केशं विचक्षण॥ ऋग्वेद १.५०.८॥

 

दिव्य प्रकाश फैलाउने सूर्य, तपाईँका चम्किलो प्रकाशका सात उप-क्रमहरूको प्रवाहले तपाईँलाई अत्यन्त चमक युक्त दिव्य शक्तिको रूपमा स्थापित गरेको छ।

 

शिवमा निहित शक्तिका गुणहरूका कारण सम्पूर्ण प्रकटीकरण सम्भव रहेको विश्वास गर्ने वैदिक शास्त्रमा शिवका हरेक शक्तिहरूको फरक फरक प्रकारको गुणहरू प्रस्ट गर्न रुद्र शक्ति बारे चर्चा गर्ने गरेको देखिन्छ।

जीवित तथा निर्जीव सबै पदार्थहरूको संरचनाको क्वान्टम रूप कम्पनको अवस्थामा रहेर नियमित गतिशीलतामा रहने गर्दछ। यसरी कहिल्यै नरोकिने सजीव कम्पनको रुपलाइन रुद्र-रूप भन्ने गरिन्छ। नियमित कम्पनमा रहने पदार्थको क्वान्टम संरचनाले लिने प्राकृतिक रुद्ररूपको प्रकृतिको कुनै सीमित रूपमा कैद गर्न सम्भव रहँदैन। शास्त्रले बुझ्न, बुझाउन सहज होस् भन्नाका खातिर सामान्य रूपमा एघार प्रकारको कम्पनको प्रोटोटाइपको परिकल्पना गरी एघार रुद्रको नामकरण गरेको छ।

 

हरेक पदार्थहरूको संरचनामा रहेको फरक फरक अणुहरूको फरक फरक कम्पन रहने हुँदा तिनीहरूले समग्रतामा पैदा गर्ने कम्पनको प्रभाव लाई भगवान् शिव भन्ने गरिन्छ। यसैलाई शास्त्रमा एघार रुद्रहरूको सृष्टिकर्ता शिव भन्दै शिवलाई समेत रुद्रकै नाम दिने गरिएको हो।

 

सम्पूर्ण सृष्टिको श्रोतको रूपमा मानिएको सूर्यको सेतो प्रकाशको निर्मित हुने परमाणुको प्रोटोटाइप गरिएको एघार प्रकृतिको अविरल कम्पनलाई कपाली, पिङ्गल, भीम, विरूपाक्ष, विलोहित, अजेश (अजपाद), साशन, शास्ता, शम्भु, चण्ड र ध्रुवा (भव) नामको रुद्र भनी नामकरण दिइएको छ।

भ्रूणको समयमा सूक्ष्म रहेको एकल मस्तिष्कको कोशिका वाट अर्बौँ अर्बको मस्तिष्क कोशिका, मस्तिष्क वाट मेरुदण्ड सम्म फैलिएको तन्तु, र शरीर भरका स्नायुका भागहरू निर्माण गर्ने, क्षतिग्रस्त र उपयोग हीन रहेकालाई नष्ट गर्दै नयाँ संरचनाको पुनः पुनर्निर्माण गर्न कार्यमा उपयोग हुने सूर्यको किरणमा हुने क्वान्टम शक्तिलाई कपाली रुद्र भनिएको छ। मस्तिष्क, मेरुदण्ड र स्नायु युक्त स्नायु प्रणालीको निर्माणमा कपाली रुद्र सक्रिय देखिन्छ।

 

पिङ्गल रुद्रले स्नायु प्रणाली सँगको हर्मोनीमा काम गर्ने पाइनल ग्रन्थि, पिट्यूटरी ग्रन्थि, थाइरोइड ग्रन्थि, थाइमस, एड्रेनल ग्रन्थि, प्यान्क्रियाज, अण्डाशय, अण्डकोष जस्ता शरीर भर फैलिएको इन्डोक्राइन प्रणालीको निर्माण, सञ्चालन र पुनर्निर्माणको क्वान्टम शक्ति लाई जनाउने गर्दछ। मस्तिष्क सँग समीपमा रहेर काम गर्ने  पिङ्गल रुद्र नियमित कार्य सञ्चालनको लागि विशेष सन्देश आदान प्रदान गर्ने हर्मोन, इन्जाइम आदि निर्माण र परिचालन तथा तथा प्रतिरक्षा प्रणालीको सञ्जाल सक्रिय गर्न भूमिका खेल्ने अग्नि वा शक्ति लाई जनाउने गर्दछ।

 

हड्डीको रातो मासी, टी-सेल निर्माण गर्ने अङ्ग थाइमस, लिम्फेटिक भेसल्स, थोरैसिक डक्ट, स्प्लिन, लिम्फ नोड्स आदि मिलेर रोग प्रतिरोधात्मक लिम्फेटिक प्रणाली बनाउने गर्दछ। लिम्फेटिक प्रणालीले तन्तु र कोशिकाहरू सफा तरल पदार्थ आपूर्ति गर्न रगतमा पुर्‍याउने र तन्तु र कोशिकाहरूमा रहेको फोहर तरल पदार्थ लाई त्यहाँ वाट बाहिर निकालेर शरीरलाई सङ्क्रमण हुन बाट जोगाउने र रोग प्रतिरोधी सेतो रक्त कोशिकाहरू (लिम्फोसाइट्स) हरुको आपूर्ति गर्दछ। शरीरको समग्र प्रतिरक्षा प्रणाली लाई चुस्त राखी शरीरमा हुने सङ्क्रमण विरुद्ध क्रूर एवं डरलाग्दो प्रत्याक्रमण गर्ने तागतको निर्माण गर्ने रुद्र शक्ति लाई भीमको रूप दिएको भेटिन्छ। भीम रुद्र मूलतः लिम्फेटिक प्रणालीमा उपयोग हुने अग्नि वा शक्ति लाई जनाउने गर्दछ।

 

दृश्य प्रणालीमा आँखा र मस्तिष्क दुवै समावेश हुन्छ । जब वस्तु वाट परावर्तित प्रकाश तपाईँको आँखामा प्रवेश गर्दछ तब प्रकाशले आँखाको रेटिनामा रहेका प्रकाश रिसेप्टरहरू लाई अप्टिक स्नायु मार्फत विद्युतीय सङ्केतहरू पठाउन उत्प्रेरित गर्दछ। त्यसरी प्राप्त सङ्केत मस्तिष्कको पछाडि रहेको दृश्य अनुभूति गर्ने भागले प्राप्त गर्दछ।

 

त्यसरी प्राप्त दृश्यको आकृतिलाई मस्तिष्कले पुनः शुद्धीकरण गर्दै अघिल्लो भागमा पुर्‍याउने गर्दछ ताकी त्यसलाई हेर्न र अनुभूति गर्न सकियोस्। दुई आँखाको सामान्य क्षमताले देखेको दृष्टि लाई मस्तिष्कले पुनः शुद्धीकरण गरी हामीलाई भौतिक पक्ष हरुको अवगत गराउने गर्दछ। त्यसरी प्राप्त भौतिक स्वरूप तथा त्यसलाई हामीले हाम्रो अन्तस्करणको विवेक रुपी असामान्य तेस्रो नेत्र समेतको क्षमता उपयोग गरी विषय र सन्दर्भको आकलन र अनुभूति गर्न सहयोग पुर्‍याउने अग्नि वा ऊर्जा लाई विरूपाक्ष रुद्र भनिएको छ। विरूपाक्ष रुद्र दृश्य प्रणाली जागरूक राख्ने प्रकाशको शक्ति हो।

 

अजको अर्थ जन्म र मृत्यु नभएको (समय सँग असम्बन्धित) अनन्तकाल देखि विद्यमान रहेको र पादको अर्थ फुट प्रिन्ट अर्थात् निशानी जनाउने शब्द अजपाद लाई अजेश भनिन्छ। अजेशले शरीर जीवित रहन शरीर सँग मिलन हुनुपर्ने आत्माको शरीर सँगै टाँस्ने शक्तिको अर्थ दिन्छ। अजपाद रुद्र हरेक कोशिका कोशिका लाई जीवित राख्न त्यहाँ निवास गर्ने आत्मा र कोशिका बिचको अभौतिक र भौतिक पदार्थ बिचको सहकार्य गराउने शक्तिलाई जनाउने गर्दछ। जीव जीवित रहन जरुरी हुने आत्मा र सम्पूर्ण आत्माहरूको महासागर परमात्माको श्रोतको रूपमा हरेक निश्चित प्रकाशको ऊर्जाको प्रकृति जसले तिनीहरू बिच सजीव सम्बन्ध स्थापना गर्दछ त्यसलाई अजपाद रुद्र (अजेश) भनिएको छ।

 

शाब्दिक रूपमा शासनले पोषणयुक्त खानपान प्राप्त गर्ने, उपभोग गर्ने र नियन्त्रित स्वशासनको लागि कायम गर्ने प्रवृत्ति लाई जनाउने गर्दछ। खानामा रहेका पौष्टिक तत्त्वहरू अवशोषित गर्न पर्याप्त रूपमा सानो नभएसम्म र त्यस वाट उत्पन्न हुने फोहोरहरू सहजै हटाउन सक्ने नबन्दा सम्म पाचन प्रणालीले खाना सानो सानो टुक्रामा परिवर्तन गर्दछ।जसलाई पाचन प्रक्रिया भनिन्छ।

 

पचेको खानालाई कोशिकाले आफूभित्र शोषण गर्ने गर्दछ। सास फेर्ने प्रक्रियामा वातावरणको हावा लाई फोक्सोमा लगी त्यस वाट अक्सिजन निकाल्ने र रक्त प्रवाह बाट अङ्गहरू, तन्तु हुँदै कोशिकाको मिटोचोनड्रिया सम्म लगी पचेको खाना वाट जरुरत अनुरूप शक्ति तथा अन्य महत्त्वपूर्ण पदार्थमा परिवर्तन गर्ने कार्य सम्पन्न गर्दछ। पचेको सारतत्व र अक्सिजन वाट शक्ति र पानीको निर्माण हुन्छ। शक्ति र पानी शरीरले उपयोग गर्दछ। त्यहाँ फोहरको रुपमा उत्सर्जन हुने  कार्बन-डाइअक्साइड रगतले सोसी फोक्सो हुँदै हावामा फालिन्छ।

 

खानाको नपचेको भाग लाई भने शरीर बाहिर निष्कासन गरिन्छ। यसरी पाचन प्रक्रियामा उपयोग हुने शक्तिको रुपी रुद्रलाई शासन भनिन्छ। पाचन प्रक्रिया, श्वास प्रश्वास प्रणाली र उत्सर्जन प्रणालीमा संलग्न हुने सम्पूर्ण प्रकारको अग्नि तत्त्वलाई शक्ति दिने प्रकाशको किरणको ऊर्जाको प्रकृति लाई शासन रुद्र (सिंहासन, कुब्जिका – फायर वा दिव्य अग्निको ऊर्जा) भनिएको छ।

 

शिव शक्तिको समुन्द्र मन्थनबाट जन्मेको शक्तिको रूपमा मानिने शास्ताले ब्रह्मचारी अवस्थाको शक्ति बारे गहिरो ज्ञान दिन्छ। प्रजनन प्रणालीको प्रमुख उद्देश्य प्रजातिहरूको अस्तित्व सुनिश्चित गर्नु हो। प्रजातिहरूको अस्तित्व कायम राख्न कम्तीमा केही व्यक्तिहरूले सन्तान उत्पादनमा भाग लिनु जरुरी छ। त्यसैले प्रकृतिले मैथुन कार्यको पुरस्कार स्वोरुप चरम सुखको अनुभूतिको व्यवस्था गरेको छ। जसले लामो समयको चरम सुख अर्थात् परम सुखको अनुभूति कस्तो हुने गर्छ भन्ने बारे अल्पकालीन अनुभव लिने सौभाग्य समेत उपलब्ध गराउने गर्दछ।

 

सन्तान उत्पादनको सन्दर्भमा, प्रजनन प्रणालीको अण्डा र शुक्राणुका कोशिकाहरू उत्पादन गर्ने, प्रजनन सम्पन्न गर्ने, शुक्राणुहरूको सुरक्षित ढुवानी र अन्डा कोष भित्र सुरक्षा गर्ने, विकासशील सन्तानको पालनपोषण गर्न हर्मोन उत्पादन आदि गर्न जस्ता कार्यहरू संलग्न हुन्छन्। प्रकाशको किरणको शक्ति जुन त्यस्ता कार्यहरू सञ्चालनमा जरुरी हुने अग्नि अर्थात् ऊर्जाको श्रोतको भूमिकामा रहन्छ त्यसलाई शास्ता रुद्र भनिएको छ।

 

शम्भु शब्दले सुख दिने, समृद्धि दिने अवस्था लाई जनाउँदछ।शरीरभर फैलिएर रहेको रासायनिक सङ्केतहरू र तिनीहरूको सम्प्रेषण गर्न कोशिकाहरूमा रहेका रिसेप्टरहरूको एक विशाल संरचना लाई इन्डोक्यानाबिनोइड सिस्टम भनिन्छ। मस्तिष्कमा हुने धेरै क्यानाबिनोइड रिसेप्टरहरू मध्ये सीबिवान रिसेप्टरहरू मस्तिष्कका न्यूरोट्रांसमिटर हरूको स्तर र गतिविधि नियन्त्रण गर्दै जरुरत अनुरूप  तत्काल प्रतिक्रिया दिँदै जुनसुकै प्रणालीको गतिविधिलाई माथि वा तल समायोजन गर्न सक्षम रहन्छन्।

 

चाहे त्यो भोक होस्, तापक्रम होस् वा सतर्कता होस् ती रिसेप्टरहरू लाई जरुरत अनुरूप उत्तेजित गर्न शरीरले इन्डोक्यानाबिनोइड अणुहरू उत्पादन गर्दछ जसलाई आनन्दमाइड भनिन्छ। जसले गर्दा मानिसले आनन्द र ब्लिस वा धन्यताको महसुस गर्दछ। हामीलाई सञ्चालन गर्न दिमागको सञ्चालन गर्न ड्राइभरको भूमिका खेल्दछ। आनन्द, ब्लिस जस्ता आध्यात्मिक पुरस्कार मार्फत अनुभूति लाई पुरस्कृत गर्न आनन्दमाइडको उत्पादन, नियन्त्रण र परिचालन गर्न अग्नि अर्थात् ऊर्जाको श्रोतको रूपमा रहने प्रकाशको ऊर्जालाई शम्भु रुद्र भनिएको छ।

 

छन्दले मानिसको संस्कारका निर्माणमा महत्त्व पूर्ण भूमिका खेल्ने मन सँग सम्बन्धित अभौतिक चिज “चित्त” लाई जनाउँदछ। व्यक्तिमा निहित हुने ज्ञान सँग निर्भर नहुने अनुशासनहरू अपौरुषेय अनुशासन भनिन्छ। अपौरुषेय अनुशासनको उद्देश्य मानिसको भित्री र बाहिरी दुवै पक्षको इन्जिनियरिङ गरी मानिसलाई यथार्थको बोध गराउने र सुखी आनन्दित गर्ने नै हो। वेदहरूमा उपनिषदहरू पनि समावेश छन्। वेद र वेदाङ्गहरूले निर्देशित गर्ने अनुशासन लाई अपौरुषेय (महामानव चरित्र) भनिएको छ। त्यसैले वेद र वेदाङ्गहरू अपौरुषेय ग्रन्थहरूको रूपमा समेत चिनिन्छन्।

 

अपौरुषेय ग्रन्थहरूको मनसँग सम्बद्ध सर्तहरू (संस्कार) मध्ये एउटालाई छन्दस् भनिएको छ। जसरी विज्ञानको प्रस्ट ज्ञानको लागि खगोल विज्ञान, गणित र ज्यामितिको मद्दत जरुरी पर्दछ त्यसरी नै मानवीय भावनाहरूले पैदा गर्ने इच्छा, चाहना, प्रिय-छनौट, आनन्द, स्वतन्त्र इच्छा, स्वैच्छिक आचरण आदि बारे बुझ्न छन्दस् चरित्रको ज्ञानको जरुरत पर्दछ। रुद्रच्छन्दले भने शरीरको भौतिक संरचना वा अस्थिपञ्जर प्रणालीको सङ्केत गर्दछ। जसका कारण एकै खाले चिजको फरक फरक रूप, सौन्दर्य र आकारको संरचना सम्भव बन्दछ।

 

मत्स्य (जीवको कोशिकाको भागको जीवन) पुराण अनुसार रुद्र चण्ड (छन्द र चण्डको उच्चारण एकै प्रकारको हुन्छ) अंधकासुर दैत्यको रगत चुसेर नष्ट गर्ने उद्देश्यले सृष्टि गरिएको दिव्य मातृ शक्ति भनिएको छ। अंधकासुर शरीरको पसिना अर्थात् शरीरको समग्र सञ्चालनको क्रममा पैदा हुने फोहर वाट उत्पादित शक्ति हो। जसले शरीरकै ऊर्जा उपयोग गरी शरीर लाई हानि पुर्‍याउने कार्य गर्दछ। मांसपेशी प्रणाली, त्यस अन्तर्गत हुने कोशिकाको झोलिए पदार्थ, रक्त संचार प्रणाली र ति प्रणालीहरुमा हुने संक्रमण वाट जीवन रक्षा गर्ने रोगाणु प्रतिरोधी क्षमताको चर्चा हुने गर्दछ।

 

रगतमा फोहरको धेरै जम्मा भएमा रगत अधिक एसिडिक (न्यून पिएच) बन्दछ। त्यो समयमा मिटोचोनड्रियामा खानाको सारतत्व र अक्सिजन वाट शक्ति निर्माण गर्दा निस्कने कार्बन-डाइअक्साइड रगतमा घुल्न सक्दैन। रगतमा नघुलेको कार्बन-डाइअक्साइड कोशिकाको झोलमै रहेर कोशिकाहरु लाई मारी दिन्छ। यसरि घुलनशीलता विहीन कार्बन-डाइअक्साइड र रगतमा अम्लीयपन थप्ने फोहरहरू लाई अंधकासुर दैत्यको उपमा लिइएको छ।

 

समग्रमा चण्ड (छन्द) रुद्र मानिसको आन्तरिक स्वभावको स्वरूप निर्धारण गर्ने चित्त निर्माण गर्ने र रुद्रच्छन्द (चण्ड) ले शरीरको समग्र संरचनाको खाका तैयार गर्ने अस्थिपञ्जर प्रणाली, मांसपेशी प्रणाली र रक्त संचार प्रणाली तथा शरीरको झोलीय पदार्थहरूको निर्माण गर्ने सुर्यको किरणमा हुने शक्तिलाई सङ्केत गर्दछ।

 

सुखको महसुस गर्ने देवता भनेर चिनिने ध्रुवा (भव) लाई जल (तरल तत्त्व), रोगाणु विसर्जन पथ (नल), अमृत-पोषण तत्त्व (सोम), चमक (ध्रुव), वायु तत्त्व (अनिल), अग्नि तत्त्व (नला) आदि लाई समयको विभिन्न प्रहर (प्रत्युष) अनुरूप बाहिरी दुनियाँ (प्रभास) वाट अलग राखी सुरक्षित व्यवस्थापन गर्ने प्रणाली ठानिन्छ।

 

सबै दिशाहरू वाट (ध्रुव) मानिसको शरीरको सुरक्षामा पृथ्वी तत्त्वको जमिनको रूपमा जिम्मेवार रहने एक स्थिर प्रकृतिको अङ्ग छालालाई जनाउने गर्दछ। मानव प्रकटीकरण, आवरण र सुरक्षाको शरीरको सबै भन्दा ठुलो अङ्ग छालाको निर्माण, मर्मत संहार र सञ्चालनको लागि उपयोगी हुने सूर्यको किरणको ऊर्जा लाई ध्रुवा (भव) रुद्र भनेर उल्लेख भएको छ।

 

वेदहरूमा सूर्यदेवको शक्ति शिव (रुद्र), विष्णु र ब्रह्म भन्दा पनि शक्तिशाली र शीर्ष देवताहरूको रूपमा उल्लेख छ। हिरण्य गर्भ भनेकै सूर्यको शक्ति हो भन्ने रूपमा व्याख्या छ। तैत्तिरीयारण्यक अध्याय १० अनुसार सूर्य सर्वोच्च ब्राह्मण (प्रकृतिको शक्तिको मुख्य श्रोत) हुनुहुन्छ।

 

ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै कुरा सूक्ष्म रुपमा कम्पनमा रहेर मात्र अस्तित्वमा रहन संभव हुन्छ। हाम्रा शरीरका सूक्ष्म भागहरू समेत नियमित कम्पनमा रहेर समग्र शरीर अस्तित्वमा रहेको हुन्छ। ती कम्पन र कम्पन भित्र कैद हुने ऊर्जाको उपस्थिति मानव इन्द्रियहरूको पहिचान क्षमता भन्दा बाहिर रहने हुँदा हामीले महसुस गर्ने गर्दैनौ। ती ऊर्जाहरू लाई हामी मानव सूक्ष्म शरीरको रूपमा लिने गर्दछौ।

 

क्वान्टम फिजिक्सका अनुसार मानव सूक्ष्म शरीरको संरचना भौतिक (फिजिकल), जीवन्त (भाइटल), मानसिक (मेन्टल), आध्यात्मिक (सुपरमेन्टल) र आनन्द  (ब्लिस) गरी पाँच तहका सूक्ष्म ऊर्जाहरूको गठ जोड वाट बनेको छ। उक्त सूक्ष्म ऊर्जाहरू (सप्टल ईनर्जी) को प्रमुख श्रोत प्राकृतिक सार्वभौम (युनिभर्सल) ऊर्जा हुने गर्दछ।

 

हरेक वस्तुको संरचना निर्माण गर्ने तत्त्वहरू त्यसको ध्वंसको क्रममा तिनीहरूको सङ्गठित हुने क्रम परिवर्तन गर्ने र पुनर्संयोजन मार्फत त्यस वस्तु लाई अर्को रूपमा लैजाने गर्दछन्। उक्त क्रममा शरीरको सूक्ष्म ऊर्जाहरू एक रूप वाट अर्को रूपमा परिवर्तन हुने गर्दछ। तिनै शक्तिहरूको अनन्त चल्ने निर्माण र गठ जोडको नियमित सिलसिलाले पदार्थको निर्माण भएको हुन्छ। हाम्रो समग्र शरीर जीवित अस्तित्वमा रहन समेत समेत सोही प्रकृतिको नियमित क्रमभङ्गताको सुचारुपन कायम रहन जरुरी हुन्छ। जसलाई कायम गरेर नै हामी तत्कालीन रूपमा जीवित रहिरहेका छौ।

 

युनिभर्सल ऊर्जाको स्थिर र गतिशील गरी दुई प्रकृतिका सूक्ष्म ऊर्जाहरू सूक्ष्म शरीरको आधारभूत संरचना निर्माणमा भाग लिने गर्दछ। सूक्ष्म ऊर्जाहरूको कम्पन एकताबद्ध बनेर कहिले आपसी मिलन र कहिले आपसी टकराबको प्रक्रिया मार्फत गतिशील तथा जडता युक्त (स्थिर प्रकृतिको) कम्पन निर्माण गर्दछ। सूक्ष्म ऊर्जाहरूले त्यसरी निर्माण गरेको स्थिर र गतिशील कम्पन द्वारा जडता युक्त र गतिशील संरचनाहरूको केन्द्र तैयार बन्दछ।

 

गतिशील र जडता युक्त संरचनाहरूको केन्द्रको आपसमा हुने थप एकताबद्धताले सन्तुलित सूक्ष्म संरचनाहरू तैयार गर्दछ। सन्तुलित सूक्ष्म संरचनाहरूको थप एकताबद्धताले शरीर निर्माणको आधारभूत तत्त्वहरू निर्माण हुन्छ। तिनै आधारभूत तत्त्वहरूको फरक फरक गुण र मात्रामा हुने संयोजनले शरीरको विभिन्न संरचनाहरू तथा सम्पूर्ण रूपमा पूरक शरीरको निर्माण गरेको छ।

 

हरेक सूक्ष्म कणहरू मिलेर निर्माण हुने जडता र गतिशीलताको (मेकानिक्स) सहकार्य र सञ्चालनको कार्यात्मक नियम तथा गतिविधिहरू मार्फत निश्चित संरचनाको नियमित सञ्चालन हुने गर्दछ। यसरी संरचनाको निर्माणको क्रममै ईनर इन्जीनियरिङ्ग भएको सञ्चालनको विधि र प्रक्रिया लाई नियमित गर्न सहयोगी वातावरणले मात्र त्यसको सुचारुपन लाई नियमित गर्न सक्दछ। कुनै पनि रूपमा अन्तर्निहित प्रतिकुल वातावरणले प्रतिकुल परिणाम दिन्छ।

शरीरको हरेक सूक्ष्म भागको स्वास्थ्य अवस्था त्यसलाई निर्माण गर्ने संरचनाले लिएको कम्पनको ढाँचा र समग्र सञ्चालनको प्रक्रियाको सुचारुपनमा निर्भर गर्दछ। यो यथार्थ हामीले देख्न सक्ने अभिव्यक्त र हाल सम्म अव्यक्त वा काल्पनिक रूप (निराकार) संरचनाको निर्माण र कार्य सञ्चालनमा समेत लागु हुने गर्दछ।

 

जसरी एक व्यक्ति स्वास्थ्य रहन यो कुराहरूको तारतम्य मिल्नु जरुरी हुन्छ त्यसरी नै एक मेसिनको सहज सञ्चालन, बोटबिरुवाको स्वस्थ, जनावरको स्वास्थ्य आदिमा समेत यो पक्षको भूमिका जोडिएको हुन्छ।

 

यथार्थमा हरेक व्यक्तिले देख्ने सपनाको पूर्ति, लक्ष्यको पूर्ति, सम्बन्धहरूको विकास, परिवारको मिलन, भावनामा सहजता, सोचाइमा हुने सबलता, व्यवसायको उन्नति आदि मात्रमा आपसी हार्मोनी वा कम्पनको हार्मोनी सीमित नरहेर ग्रहहरूको स्थायित्व, ब्रह्माण्डको स्थायित्व आदि सबैमा लागु हुने गर्दछ।

 

हरेक निर्जीव र सजीव कुराको आफ्नै आफ्नो पाराको कम्पन हुने गर्दछ। प्रकृतिमा रहेका हरेक निर्जीव र सजीव कुराको कम्पनको आधारमा आफ्नो निश्चित स्वास्थ्य अवस्था निर्माण हुन्छ। हरेक प्रकारको कम्पनले अर्को कम्पनलाई प्रभाव दिने गर्दछ। निश्चित प्रकृतिको कम्पनमा अर्को प्रकृतिको कम्पनको प्रभावले कम्पनको गुण र सञ्चालन विधिमा फरकपन दिने हुँदा यो दुनियाँमा रहेका हरेक चिज अर्को चिज सँग ज्ञात अज्ञात अन्तर सम्बन्धको साइनोले जोडिएको हुन्छ।

 

मानिसको स्वस्थ अवस्थामा समेत यो कुरा अनिवार्य रूपमा लागु हुने गर्दछ। मानिसको स्वस्थ अवस्थामा वरपरको मानिस र वातावरणको प्रभावको अहम् भूमिका रहने गर्दछ। आफ्नो वरपरको वातावरण, जीव तथा निर्जीव वस्तुहरूको उपस्थिति र तिनीहरू बिच निरन्तर चलिरहने गतिविधिहरूले कम्पनमा दिने सहजता तथा असहजताले मानिसको स्वस्थ अवस्थामा ठुलो भूमिका खेलिदिने गर्दछ। जसले गर्दा आफू रहेको वातावरणमा घटित हुने दैनिक घटनाहरूबाट प्रभावित नरहन मानिसको लागि असम्भव बन्दछ।

 

मानव स्वास्थ्य उपचार सँग जोडिएको शब्द हिलिङ्ग अर्थात् रोगको निको पार्ने प्रक्रिया मानिसलाई आफ्नो पूर्ववत् पूर्ण स्वस्थ अवस्थामा पुर्‍याउने प्रक्रिया हो। पूर्ण स्वस्थको प्राप्ति पश्चात् मौलिक स्वास्थ्य अवस्थामा मानिसलाई निरन्तर कायम राख्ने विशिष्ट अवधारणा समेत हो। जसमा आन्तरिक र बाह्य वातावरणलाई मौलिक स्वास्थ्य मैत्री बनाउने गतिविधि निर्माण समेत पर्दछ। मानिसको आन्तरिक स्वास्थ्य अवस्था (मौलिक स्वास्थ्य) कायम राख्न शरीरले व्यवस्थित गर्ने सम्पूर्ण चाँजो पाँजो र प्रतिरक्षा प्रणालीको क्षमता स्तर उमेर, समय परिस्थिति सँगै कमसल र अव्यवस्थित बन्दै जान्छ।

 

निको पार्ने प्रक्रिया अन्तर्गत सम्भव भएसम्म स्वास्थ्य अवस्था लाई खस्कन नदिन, खस्किहाले पुनः स्थापना मार्फत चुस्त गर्ने गरी निको पार्ने पद्धतिको डिजाइन गरिन्छ। उक्त पद्धति वैज्ञानिक दृष्टिकोणले समेत सान्दर्भिक रहन र प्रभावकारिताको मापन गर्न सकिने प्रकृतिको हुनु पर्दछ। जस्तै: आज अस्पतालहरूमा विभिन्न प्रकृतिको कम्पनका ढाँचाहरू मापन गर्ने र मूल्याङ्कन गर्न सम्भव हुने आधुनिक परीक्षणका उपकरणहरू उपलब्ध छ। तिनीहरूको सहयोग वाट मानिसको स्वस्थ अवस्थाको यकिन गर्न सम्भव बनेको छ।

 

कुनै कारणले असुरक्षाको अचानक सामना गर्न पर्दा दिमागको निर्देशन अनुरूप मानिसले कि त त्यस विरुद्ध लड्न (फाइट) जाइलाग्छ, कि डराएर (फ्राईट) बस्छ, कि चम्पट कसेर भाग्छ (फ्लाइट)। केही समयमा डर रुपी बाह्य ऊर्जा  सहजै वातावरणमा फालिन्छ र हटेपछि मानिस सामान्य अवस्थामा फर्कन्छ। बाहिरी आघातको असर अधिक प्रभावी रहेको समयमा मानिसमा वेदनाको रूपमा सञ्चित आघात दिने बाह्य ऊर्जा उसको मानसपटल वाट सजिलै हट्दैन। त्यसलाई शरीरले वेदना र पिडा रुपी ऊर्जाको पोकोको (सिस्ट) रूपमा सञ्चित गरी राख्दछ।

 

मस्तिष्कको पछाडि रहेको बाह्र जोडी स्नायुहरूको सेट लाई  क्रेनियल स्नायु भनिन्छ। मानिसलाई स्वाद, गन्ध, आवाज र संवेदनाहरू महसुस गर्न मद्दत गर्ने क्रेनियल स्नायुहरू मस्तिष्क, अनुहार, घाँटी र धड (हात, गोडा र टाउको बाहेकको शरीर) बिचमा विद्युतीय सङ्केतहरू पठाउँछन्। मस्तिष्क वरिपरि स्नायु र तरल पदार्थको नाडी, पल्सहरुको प्रवाहको प्रकृति र खोपडीको हड्डीहरू चल्ने प्रक्रियाको आधारमा तिनीहरूको प्रवाह लाई सहजीकरण गर्न गरिने हल्का कोमल स्पर्श रुपी टच वा मसाज हो क्रेनियोसेक्रल थेरापी।

 

क्रेनियोसेक्रल थेरापी मार्फत नकारात्मक वेदना र पिडाको पोकोको (सिस्ट) रूपमा सञ्चित ऊर्जा बाहिर फालेर मानिसलाई राहत दिन सकिने व्यावसायिक हिलरहरुको मान्यता छ। जुन व्यवहारिक रूपमा प्रभावकारी देखिएता पनि औषधि विज्ञान वाट पुष्टि भई सकेको छैन। हिलिङ्ग अवधारणामा हृदय (मुटु), श्वासप्रश्वास प्रणाली र क्रेनियोसेक्रल प्रणाली लाई मानव जीवनलाई स्वस्थ कायम राख्ने मुख्य तीन प्रणाली ठानिन्छ।

 

क्रेनियोसेक्रल थेरापीमा एक कोमल हातको हल्का स्पर्श मार्फत केन्द्रीय स्नायु प्रणाली र वरपर झिल्ली भित्र तरल पदार्थहरूको प्रवाह र स्नायुहरूको पल्सको महसुस गर्दै हल्का कोमल स्पर्श रुपी टच वा मसाज गरिन्छ। क्रेनियोसेक्रल थेरापीको अवधारणा अनुरूप नाडी (सूक्ष्म पल्सहरु) छामेर आवश्यक पर्ने उपचारको क्षेत्रहरू पहिचान गर्ने सकिन्छ। पहिचान गरिएको क्षेत्रहरूमा हल्का टच मार्फत ट्युनिङ्ग गरेर क्रेनियोसेक्रल प्रणालीलाई सन्तुलनमा ल्याई शरीर लाई आफ्नो उपचार आफै गर्न सहयोग पुर्‍याउन सकिने विश्वास गरिन्छ।

 

क्रेनियोसेक्रल थेरापीले बिरामीमा केन्द्रीय स्नायु प्रणालीमा तनाव कम भएको, दुखाइ घटेको, मानसिक र प्रतिरक्षा क्षमता बढेको, स्वस्थ र कल्याण प्राप्ति भएको भावना जगाउन मद्दत गर्दछ। क्रेनियोसेक्रल थेरापीले बिरामीको ढाड दुख्ने, डिप्रेसन र न्यूरोलोजिकल विकृतिहरूको उपचार गर्न समेत उपयोगी हुने विश्वास गरिन्छ। मानवीय मनोवैज्ञानिक धेरै अवस्थाहरू जहाँ शल्यक्रिया र औषधिहरूको अत्यन्त सीमित उपचार र भूमिका रहने गर्दछ त्यहाँ क्रेनियोसेक्रल थेरापीले धेरै मद्दत गर्ने गर्दछ।

 

(खाद्य तथा औषधि विज्ञ, टोरोन्टो, क्यानडा।)

यस दुनियाँमा एक प्रेमीको मन अर्का प्रेमीको मन सँग स्याटलाइट मन अर्थात् परमात्मा (युनिभर्सल मन) मार्फत जोडिएको हुन्छ। त्यसैले त त्यहाँ माया-प्रेम, प्रेम – घृणा र उपकार – पाप आदि भावनाहरू उज्ज्वलित हुने गर्दछन्।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE