मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अव कर्णालीमा फोर्टिफाइड चामल ?

नारायण घिमिरे।

 

भर्खरै नेपाली बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सन् २०१९ मा स्तरोन्नति गरिएको चामललाई वितरणमा ल्याउने सम्झौता भए अनुरूप कर्णालीमा स्तरोन्नतिपछिको (फोर्टिफाइड) चामल सुपथ मूल्यमा वितरण गरिएको समाचारहरू फैलिएका छन्। समाचार अनुसार पहिलो दिनमै मुगुको खत्याड गाउँपालिका–११ राता पानी वडा नम्बर ११ स्थित महिला उत्थान तथा कृषि सहकारी संस्थान बाट दुई सय क्विन्टल चामल बिक्री भएको कम्पनीले आगामी वर्षमा कर्णालीको मुगु, कालिकोट, जुम्ला, हुम्ला र डोल्पामा ७४ हजार क्विन्टल फोर्टिफाइड चामल  सरकारले तोकेअनुसार प्रतिकिलो ५७ रुपैयाँका दरले बिक्री गर्ने योजना छ।

 

तराई क्षेत्रका किसानसँग अरुवा मोटा र अरुवा मकवानपुरे धान सरकारको न्यूनतम समर्थनमा मूल्यमा खरिद गरेर बर्दियाको राजापुर स्थित खाद्य तथा व्यापार संस्थाको मिलबाट फोर्टिफाइड गरी नेपाली नागरिकहरू लाई बिक्री वितरण गरिएको छ। सरकारी स्वामित्वको  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बजारमा फोर्टिफाइड चामल लानुको मूल कारण यो नागरिकको स्वास्थ्य सुधारका लागि कोशे ढुङ्गा साबित हुने भनिएको छ।

 

प्रस्तावित योजना अनुशार तराई क्षेत्रका किसान सँग किनेको अरुवा मोटा र अरुवा मकवानपुरे धानको चामलमा  ०.५ देखि २.० प्रतिशत फोर्टिफाइड चामलको दाना मिसाइने छ र त्यसैलाई खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागले फोर्टिफाइड चामल भनी बजार जान अनुमति दिने छ। खाद्य प्रविधि र गुणस्तर मार्फत नेपाल सरकारले नियमन गर्ने मापदण्ड पुरा गर्न फोर्टिफाइड चामलमा फलामको मात्रा ३९ देखि ७२ मिलिग्राम प्रति किलोग्राम, जिङ्क ३२ देखि ५९ मिलिग्राम प्रतिकिलोग्राम, भिटामिन-ए ०.८९ देखि २.२१ मिलिग्राम प्रति किलोग्राम, फोलिक एसिड ०.२४ देखि ०.५९ मिलिग्राम प्रति किलोग्राम, बि-१२ भिटामिन  ०.००७ देखि ०.०२ मिलिग्राम प्रति किलोग्राम सिफारिस गरिएको छ।

 

उल्लेखित पोषक तत्त्वहरूको अतिरिक्त, थायामिन (भिटामिन बी-१) प्रति किलोग्राम २.३  देखि ५.६ मिलिग्राम, नियासिन (भिटामिन बी-३) २०.५ देखि ५०.७ मिलिग्राम प्रति किलोग्राम, पाइरिडोक्सिन (भिटामिन बी- ६) १.९  देखि ४.८ मिलिग्राम प्रति किलोग्रामको दायरामा थप्न सकिने छ। त्यस्तै दूषित पदार्थ, विषाक्त पदार्थ र अवशेषको स्तर सरकारले तोकेको अधिकतम स्तरभन्दा बढी हुन नदिइने, फोर्टिफाइड चामलको उत्पादन, प्याकेजिङ्ग, ह्यान्डलिङ, भण्डारण र ढुवानी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वीकृत शुद्धता कार्यविधि अनुसार हुनुपर्ने भनिएको छ।

 

किसान सँग किनेको अरुवा मोटा र अरुवा मकवानपुरे धानको चामलमा मिसाउने प्रयोजनमा तैयार हुने फोर्टिफाइड चामलको दाना बनाउन ओराइजा सेटिभा लिनन नामक धानको सग्लो चामललाई पिसेर पिठो बनाइने छ। त्यसमा तोकिए अनुसारको मापदण्ड पुग्ने गरी सूक्ष्म पोषक तत्त्व मिसाउने र त्यसलाई पुन प्रशोधन गरी एक्सट्रुजन प्रविधि प्रयोग हुने चामलको अत्यधिक प्रशोधन गरिदिने मिसिन वाट पुन चामल जस्तै आकारको चामल तैयार बनाइने छ। जुन जरुरत अनुसार ०.५ देखि २.० प्रतिशत  किसान सँग किनेको अरुवा मोटा र अरुवा मकवानपुरे धानको चामलमा मिसाएर बनेको चामल फोर्टिफाइड चामल हुने छ। त्यही चामल जनताको पोषण उन्नत गर्ने चामलको रूपमा वितरण हुने छ।

 

 

प्राविधिक यथार्थमा अत्यधिक प्रशोधित खाना भित्र एक्सट्रुजन प्रविधि प्रयोग जबरजस्त कोचिएको सूक्ष्म पोषक तत्त्व युक्त फोर्टिफाइड चामलको कृत्रिम दाना मिसाएर चामलमा बाँड्नुले केही गम्भीर समस्या दिने प्रष्ट देखिएको छ।

 

१) पहिलो समस्या: समकालीन प्रमाणहरूले देखाए अनुरूप फलामको कमी न त व्यापक छ न विश्वव्यापी (अनिवार्य) समाधान चाहिने हदको देखिन्छ। समस्या फोर्टीफिकेशन मार्फत हैन रैथाने आहारमा प्रवर्धन गर्नुपर्ने। लामखुट्टेको टोकाई वाट बच्नु, जुका चुर्ना वर्मको सङ्क्रमण रोक्न ध्यान दिनु पर्ने प्रमुख देखिएको छ। यूएसएआईडीको अनुदान सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको सर्वेक्षणको स्वास्थ्य सर्वेक्षण २०२२ प्रमुख सूचकहरू पेज ३८ -३९ ले देखाए अनुसार १५ – ४९ वर्षका महिलाहरूमा एनिमियाको प्रकोप २००६ को ३६% बाट २०१६ मा ४१% मा  पुगे पनि २०२२ मा ३४ % मा घटेको देखिन्छ। त्यस्तै ६–५९ महिना उमेरका बालबालिकामा रक्त अल्पताको व्याप्ति सन् २००६ मा ४८% रहेकोमा सन् २०१६ मा ५३% पुगेको र २०२२ मा ४३% मा घटेको थियो। सामान्यतया बाल बालिकामा  ९.५ देखि १३  ग्राम/डिएल, वयस्क महिलामा १२.१ देखि १५.१ ग्राम हेमोग्लोबिन प्रति डेसिलिटर सामान्य मानिन्छ। सर्वेक्षणमा बाल बालिकामा  हल्का समस्या भएको भनेर १०.०–१०.९ ग्राम/डिएल, मध्यम समस्या भएको भनेर (७.०–९.९ ग्राम/डीएल र गम्भीरमा ७.० ग्राम / डिएल भन्दा कम हेमोग्लोबिन भएको भनी रिकर्ड राखिएको थियो। महिलामा हल्का समस्या भएको भनेर १०.०–११.९ ग्राम/डिएल, मध्यम समस्या भएको भनेर (७.०– १०.९ ग्राम/डीएल र गम्भीरमा ७.० ग्राम/डिएल भन्दा कम हेमोग्लोबिन भएको भनी रिकर्ड राखिएको थियो। १३  ग्राम/डिएल भन्दा अधिक हेमोग्लोबिन भएको लाई नन-एनिमिक भनिएको थियो।

 

यसरी महिला तथा बाचाहरूमा देखिएको ५ ग्राम प्रति डेसिलिटर (g/dl) को कमी स्थानीय आहार व्यवस्थापन, खानासँगै चियाबाट जोगिने र लामखुट्टेको टोकाई, हुकवर्म वा अन्य हेल्मिन्थ्सको सङ्क्रमण वाट जोगाउने वाट उत्तम व्यवस्थापन गर्न सकिन्छ। यो कुरा किन पनि महत्त्वपूर्ण छ भने सर्वेक्षणमा पुरुषहरू खासै विघ्न उच्च जोखिममा देखिएका छैनन्।

 

२) दोस्रो समस्या: उच्च रक्त अल्पता फैलिएको भन्ने निचोड नै प्राविधिक रूपमा सही मान्न नसकिने अवस्थाको छ।  एकातर्फ रक्त अल्पता लागि हेमोग्लोबिन मापनमा  प्रयोग भएको  ब्याट्री सञ्चालित पोर्टेबल होमोक्यु दुइसय एक प्लस उपकरणले औँला वा छालामा घोची आउने केशिकाको  रगतको नमुना लिएर नाप्ने विधि आफैमा विश्वासिलो हुँदैन किनकि यसले प्राय कम हेमोग्लोबिनको मात्रा देखाउने गर्दछ। अध्ययनहरूले शिराबाट लिइएको रगतको नमुना प्रयोग गर्ने मेसिनले भन्दा  ब्याट्री सञ्चालित पोर्टेबल होमोक्यु दुइसय एक प्लस उपकरणले रगतमा  हेमोग्लोबिन (लगभग १ ग्राम/डिएल कम रेकर्ड गर्छ। दोस्रो, एनीमियाको बोझ अनुमान गर्न लीने डब्लुएचओको हेमोग्लोबिन कट-अफ समेत धेरै उच्च रहेको भारत लगायत विश्वव्यापी प्रमाणहरूले सङ्केत गर्दछ। तसर्थ रिपोर्टमा प्राप्त तथ्याङ्क आफैमा भएको भन्दा अधिक भयावह देखाउने पाराको छ।

 

३) तेस्रो समस्या : चामलको फोर्टिफिकेसन विधि मानौँ एक रामवाण औषधी हो जुन उपभोक्ताले आफ्नो खानपानमा कुनै पनि परिवर्तन नभई उनीहरूमा रहेको पोषणको अभाव पूर्ति गर्दछन् भन्ने प्रकृतिको सफेद झुट फोर्टीफाईड चामल वितरण गर्ने क्रममा व्यापक रूपमा भनिएको देखिन्छ। यो साँचो होइन।  एक त ०.५ देखि २.० प्रतिशत सम्म हालिएको अत्यधिक प्रशोधित कृत्रिम दाना प्राकृतिक जस्तै बन्ने लगभग असम्भव हो। उनीहरूको झुट सत्य हुन फोर्टिफाइड चामलको दाना प्राकृतिक चामलको दानाको रङ्ग र आकार, तौल, पानीमा हाल्दा तैरने, पाके पछि सिता हुने सबै ठ्याक्कै मिल्ने हुनु पर्दछ। खाना पकाउँदा फरक तरिकाले तैरने वा डुब्ने हुनु भएन।  त्यसो नहुँदा फोर्टिफाइड दानाले पूर्ति गर्ने भनिएको सूक्ष्म पोषक तत्त्वहरू चामल धुँदा पखालिने, कम हुने र पकाउने क्रममा समेत नष्ट हुने गर्दछ। हालको खान पकाउने विधिमा समेत सुधार नगरी लक्षित पौष्टिकता पूर्ति हुने भन्ने सरकारी निकायको दाबी यो अर्थमा निकै हास्यास्पद समेत छ। जुन जैविक विविधताको दृष्टिकोणबाट समेत वाञ्छनीय छैन।

 

४) चौथो समस्या : आहार विविधता थपिदिएर पुरा गर्न सकिने विषयलाई निराशा जनक र अव्यवहारिक कार्यक्रम मार्फत पुरा गर्न चाहने नीतिगत अदूरदर्शिता। सर्वेक्षण मार्फत हाल देखिएको समस्या समाधानको लागि दैनिक २५० देखि ३०० ग्राम विविध रैथाने गेडागुडी र सागपात हाल भई रहेकै स्थानीय खानपानमा थपेर आइरन लगायतको जरुरतको पोषक तत्त्वको आवश्यकताहरू सजिलै पूर्ति गर्न सक्ने विधि राज्यले लत्त्याएको छ। सर्वेक्षणले तराईमा बस्ने महिलाहरू (४५%) पहाडमा (२०%) र हिमाली (२३%) क्षेत्रमा बस्ने भन्दा अधिक एनिमिक देखिएको तथ्य सार्वजनिक गरेको छ। मधेसका आधाभन्दा बढी महिला (५२%) रक्त अल्पताबाट पीडित छन्। जुन चामलको फोर्टिफिकेसन विधिले समाधान गर्ने प्रकृतिको छैन। मदेशको स्थानीय  रैथाने गेडागुडी र सागपात, माछा  आदि मार्फत वाट सूक्ष्म पोषक तत्त्वको अभाव पूर्ति गर्नुको विकल्प छैन। यो स्थिति बुझ्दा बुझ्दै राज्यले दुर्गम भन्दै कर्णालीमा कार्यक्रम लानुको पछाडि पोषण समस्या नै मुख्य राज्यको उत्प्रेरक कारक होला र भन्ने प्रश्न उब्जाउने गर्दछ। मुलुकभर सामुदायिक संलग्नताका साथ खेती गर्ने अभ्यासहरू परिवर्तन गर्दै पोषक तत्त्व अधिक हुने रैथाने बाली उत्पादन र विविध फलफूल र तरकारीहरूको खेतीलाई आहार विविधता अनुरूप लान निराश देखिएको सरकारी संयन्त्र रासायनिक खेती लाई जैविक खेतीमा लान समेत निराश बन्नु तर लागु गर्नु अघि नै फाइदा नदिने निश्चित रहेको यस्ता कार्यक्रममा बेस्सरी खटिनु पछाडिको उत्प्रेरक कारक खोजी गर्न जरुरी देखिन्छ।

 

५) पाँचौँ समस्या: चामलको फोर्टिफाइड गरेर एनीमियालाई सफलतापूर्वक रोक्न सक्छ भन्ने दाबी नै प्राविधिक रूपमा त्रुटि पूर्ण छ। चामलको दानामा ५५ – १८३ मिलिग्राम प्रति १०० ग्राम फाइटिक एसिड (मायो-इनोसिटोल-६-फस्फेट) हुन्छ जसले फलाम र अन्य आवश्यक खनिजहरूको अवशोषणलाई कडा रूपमा रोक्ने हुनाले यसलाई एन्टीन्युट्रीसनल फ्याक्टर मानिन्छ। पोषण विज्ञानको क्षेत्रमा भएको अनुसन्धान अनुरूप चामल जस्ता अन्नले मानिसको आन्द्रामा पुगेको फलाम लाई अवशोषण हुन वाट रोक्ने कुरा पोषण विज्ञानको सामान्य कखरा नै हो। पोषण विज्ञानमा स्थापित यो यथार्थ लाई २५ अक्टोबर २०१९ मा प्रकाशित फोर्टिफाइड चामलमा गरिएका १७ वटा फरक फरक सरकारी र अन्य परीक्षणहरूको फरक फरक निचोड बारे कोक्रेन डाटाबेसमा संलग्न मेटा-विश्लेषणको निष्कर्षले (https://doi.org/10.1002/14651858.CD009902.pub2) पुष्टि गर्दछ। जस अनुसार फलामको एक्लै वा अन्य सूक्ष्म पोषक तत्त्वहरूसँग चामलको फोर्टिफिकेसन गर्ने कार्यले एनीमियाको जोखिम घटाउन खासै सहयोग नगर्ने र फलामको कमीको जोखिमलाई कम गर्ने मापन गर्न सकिने हदमा सहयोग नहुने कुरा उल्लेख गरेको छ। यसबाहेक, फोर्टिफाइड चामलमा भिटामिन ए राखेर हेमोग्लोबिन र सीरम रेटिनोलमा  सकारात्मक प्रभाव हुने निश्चितता एकदमै कम देखि न्यून फेला परेको उल्लेख छ।

 

प्राविधिक रूपमा तौलेर हेर्दा फोर्टिफाइड चामललाई पोषणयुक्त गर्ने प्रमुख प्रेरणा (Incentive) नेपाली आहारमा दैनिक फलाम लगायतका पोषण तत्त्वको आवश्यकता पूरा गर्न अपर्याप्त रहनु मानिएको छ। जुन पूर्ति गर्नु समेत अनिवार्य छ। तर त्यसको नाममा जुन विधि र उपाय सुझाइएको तिनीहरू प्राविधिक तथा पोषण विज्ञानको तथ्य  र रासनलका आधारमा फगत महत्वाकान्छी देखिन्छ।

 

६) छैटौँ समस्या: सिफारिस भएको फलामको मात्रा सुरक्षित भनिनु नै दुर्भाग्य पूर्ण। फोर्टिफाइड चामलमा फलामको मात्रा ३९ देखि ७२ मिलिग्राम (औसत ६० मिलिग्राम)  प्रति किलोग्राम तोकिनु र यसले दैनिक थोरै मात्र फलाम दिन्छ, जुन हानिरहित हुन्छ भनी सरकारी विज्ञहरूको विश्वास नै पोषण विज्ञान तथा उपलब्ध प्रशोधन प्रविधिको प्रभावकारिता अनुरूप पूर्ण रूपमा गलत देखिन्छ। दैनिक २००-३०० ग्राम (औसत २५० ग्राम)  फोर्टिफाइड भात खाँदा दैनिक ६ देखि १० मिलिग्रामसम्म आइरन उपलब्ध हुन्छ। १९ देखि ५० उमेर समूहको महिलाको लागि दैनिक १८ मिलिग्राम र पुरुषको लागि दैनिक ८ मिलिग्राम आइरन सिफारिस गरिन्छ। फोर्टिफाइड भात खाँदा पुरुषको ९० प्रतिशत र महिलाको आवश्यकताको ७० प्रतिशत थप आइरन हो। दैनिक रूपको यस्तो आहार अधिक फलामको सेवनको जोखिमको स्तर हो। जसले मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको जोखिम बढाउने र अक्सिडेटिभ तनाव र आन्द्राको गट माइक्रो वायोम जीवाणुहरूको उपनिवेश खलल गर्ने स्तरको हस्तक्षेप हुन सक्दछ। खाद्य सुरक्षाको चिन्ता गर्नेहरूले त्यसमा हालिएकाअतिरिक्त भिटामिन वा खनिजहरूको मात्रा तोकिएको दैनिक अधिकतम मात्रा नाघेर विषाक्त मात्रामा नपुग्ने यकिन गर्नु पर्ने हुन्छ। नेपालमा यो हदमा प्रयोजनमा ल्याइएको आइरन विषाक्त मात्रामा पुग्ने अधिक जोखिम छ। यो सन्दर्भमा सन् २००४ डेनमार्कमा सरकारले  चामलको सिरम्ला (राइस क्रिस्पीज) मा  अतिरिक्त भिटामिन वा खनिजहरू हाल्न कानुन बनेर प्रतिबन्धित गरेको कुरा मनन गर्न जरुरी छ।

 

यति कुरा भदै गर्दा हामीले यहाँ निर यो कुरा पनि भुल्नु हुँदैन कि खाद्य विज्ञानमा फुड फोर्टीफिकेसन (सुदृढीकरण) र इनरिचमेन्ट (संवर्धन) गरी खानामा पोषक तत्त्वहरू थप्ने दुई तरिका निकै चर्चित छन्।  विश्व स्वास्थ्य सङ्गठन (WHO) र संयुक्त राष्ट्र सङ्घको खाद्य र कृषि सङ्गठन (FAO) द्वारा परिभाषित गरिए अनुसार यिनीहरूको परिभाषामा थोरै फरक छ। जसले फोर्टिफिकेशन शब्द खानामा “अत्यावश्यक सूक्ष्म पोषक तत्त्व अर्थात् ट्रेस तत्त्वहरू सहित भिटामिन र खनिजहरू लाई जानाजानी बढाउने अभ्यास लाई जनाउँदछ।

 

खाद्य आपूर्तिमा पोषण तत्त्वको गुणस्तर सुधार गर्न र स्वास्थ्यलाई न्यून जोखिममा पुर्‍याएर जनस्वास्थ्यमा लाभ प्रदान गर्नका लागि खाद्य पदार्थ प्रशोधन गर्नु अघि ती पोषक तत्त्वहरू त्यसमा मूल रूपमा थिए वा थिएनन् भन्ने कुराको ख्याल नगरी त्यसमा तोकिएको मापदण्ड अनुरूप अत्यावश्यक सूक्ष्म पोषक तत्त्व थप्ने काम गरिन्छ। जबकि इनरिचमेन्टमा भने खाद्य प्रशोधनको क्रममा नष्ट हुन गएका वा गुमेका सूक्ष्म पोषक तत्त्वहरू लाई पुन त्यसमा तोकिएको मापदण्ड अनुरूप थप्ने कार्य लाई जनाउँछ। एफएओले विश्व व्यापी रूपमा खानामा पोषक तत्त्वको कमीका घटनाहरू घटाउन सुरु फुड फोर्टीफिकेसन (सुदृढीकरण) र इनरिचमेन्ट (संवर्धन) तरिका समेत अपनाउन सिफारिस गर्दछ।

 

स्थानीय चामल फोर्टीफाईड गर्न हाल नेपालमा अवलम्बन गरिएको चामलमा फोर्टीफाईड अल्ट्राराइस ग्रेन हाल्ने विधि हाम्रो जस्तो अव्यवस्थित बजारको लागि उपलब्ध सूक्ष्म पोषण तत्त्व वितरण प्रणाली मध्येको अधिक व्यवहारिक तरिका पक्कै हो। जसले सिद्धान्त: समुदायको खानामा व्याप्त पोषक तत्त्वको अभावको पूर्ति अन्तर्राष्ट्रिय नियामक मापदण्डहरू अनुरूप सूक्ष्म पोषण तत्त्व मिलाइएको चामलको पीठोबाट बनेको फोर्टिफाइड एक्स्ट्रुडेड दाना (अल्ट्रा राइस ग्रेन) लाई स्थानीय चामलसँग मिल्दोजुल्दो देखिने गरी आपूर्ति गर्दछ ।

 

झन्डै उस्तै आकार, प्रकार  र घनत्वको अल्ट्रा राइसको दाना स्थानीय चामलसँग तोकिएको अनुपातमा मिसाएर बनेको चामल २-३ पटक पखाल्दा कम पोषण तत्त्व खेर जाने, फकाउँदा भातको सिता बलियो नै बस्ने, चामलको स्वाद, रङ्ग र बनावट स्थानीय चामल जस्तै रहने हुन्छ। प्रभावकारी ढुवानी, स्टोरेजमा आफै सुरक्षित स्थानीय खानपानको तौर तरिकामा कुनै हस्तक्षेप नगर्ने यो विधि उपभोक्ताहरूलाई अधिक स्वीकार्य विधि हो।

 

तर यहाँ प्रश्न सरकारको प्राथमिकता को हो। रैथाने उत्पादन र रैथाने उत्पादनको तागत बिर्सेर सरकार स्थानीय प्राकृतिक र जैविक समाधानको उपाय भुलेर अनावश्यक, सामाजिक व्ययभार थोपर्ने दिसा उन्मुख हुनु हो। प्रभावकारी स्थानीय स्वस्थ विकल्प हुँदा हुँदै जनताको स्वस्थ जोखिममा पार्न सक्ने प्रचुर सम्भावना बोकेको विधि र तारिका तर्फ अधिक हौसिनु को हो।  

 

भारत लगायत विश्वका विभिन्न मुलुकहरूको अनुभवमा र खाद्य विज्ञानको आँखा वाट नियाल्दा समेत नेपालमा हालै गरिब पिछडिएको र पर्याप्त नियमित ढुवानीको व्यवस्था हुन नसकेको भूभागमा फोर्टिफाइड चामल वितरण कार्यक्रमहरू सुरु गरिएको भएता पनि तिनीहरू अनावश्यक र प्रतिकुल स्वस्थ जोखिम निम्त्याउने सम्भावना युक्त देखिएको भनिएको छ।

 

विगतमा गेट्स फाउन्डेसनको ८ करोड लिएर देखाउने उद्देश्य पोषणको नाममा कुपोषण घटाउने तर वास्तविक उद्देश्य जङ्क फुडको व्यापार प्रवर्द्धन गर्ने उद्देश्य ले विगतमा स्वर्णिम वाग्लेको नेतृत्वमा चौधरी ग्रुपले आफ्नो चाउचाउलाई  फोर्टिफाइड गरी गाऊ गाउँ पुर्‍याउने विवादित बलियो नेपाल अभियान अन्तर्गतको पोषणको नाममा पत्रु खानाको व्यापार गर्ने नियति व्यापक जनदबाबका कारण असफल भएको थियो। अनौठो संयोगको रूपमा त्यस पछि हाल नेपालमा अत्यधिक प्रशोधित खाना भित्र एक्सट्रुजन प्रविधि प्रयोग गरी जबरजस्त सूक्ष्म पोषक तत्त्व कोचिएको फोर्टिफाइड एक्स्ट्रुडेड अल्ट्रा राइस ग्रेन वितरण गर्ने कार्यक्रम निकै उत्साहका साथ भित्रिएको छ।

 

यहाँ उल्लेख भएका यथार्थ यो क्षेत्रको नयाँ आविष्कार होइन। सांसारिक यथार्थ हो। यो कुरा जान्दा जान्दै निकै विकटमा गरिबिको नियति भोगिरहेका जनताहरूको आय आर्जन हुने र स्वस्थ समस्या समेत समाधान हुने विकल्प लिनुको सट्टा राज्य किन आफ्नो स्वस्थको लागि आफ्नो रैथाने हैन कुनै व्यापारीले दिने सुधारेको चामल युक्त भात खान पर्ने जस्ता राष्ट्रिय भ्रम दिन उद्धत बनिरहेको छ ? यो योजना भित्र  सीमित व्यापारिक वर्गको फाइदा उठाउने अवसर, मुलुक लाई विदेशी कम्पनीको थप एकाधिकार बजार बनाउने जोखिम बाहेकको अन्य प्रेरणाको भूमिका भेटिँदैन।

 

यहाँ मनन गर्नु पर्ने अन्य प्राविधिक कुराहरू के छन् भने विश्वको कुनै पनि भागमा चामलको फोर्टिफिकेसन विधि प्रयोग भएको सुदृढीकरण विधिले कुपोषणको समस्या हटाउन र न्यून गर्न समेत प्रभावकारी भएको कुनै प्रमाणित उदाहरण हामी संग छैन। बजारमा पाइने ९९ प्रतिशत भिटामिन सेन्थेटिक छन्। जुन हानिकारक रसायनको प्रयोगबाट तयार हुन्छन् भन्ने तथ्यलाई हामीले नजर अन्दाज गर्नु हुँदैन। धेरै जसो भिटामिनहरू प्राकृतिक रूपमा पाइने तत्त्वको नक्कल गरिएर समान जस्तो देखिने गरी कृत्रिम रूपमा बनाइएका छन्। सुदृढीकरणको नाममा यी सेन्थेटिक भिटामिनहरू रैथाने उत्पादनको सम्भावनालाई विस्थापन गरी गरिब दूर दराजका नागरिकका भान्सामा लादिने छन्।

जसले उनीहरूको स्वस्थ र सम्पन्नतामा दीर्घकालीन हानि दिने छ। जुन कालान्तरमा मानव शरीरमा जम्मा हुँदै गएर मुलुक लाई नै हिजो विषादीको अनियन्त्रित प्रयोगले थोपरे जस्तो दशकौँ लामो स्वास्थ्य बोझ थपिदिने जोखिमका साथ हाम्रो समाजमा भित्रिएको छ।

 

(खाद्य तथा औषधि विज्ञ)

4Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: