मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अर्थ न व्यर्थको गाँजाको क्लिनिकल ट्रायल चाहिने हल्ला !!

क्लिकल ट्रायलको नाममा गाँजाको गैर-अपराधीकरण गर्ने कार्य ढिला नगरौँ।

नारायण घिमिरे

खाना होस, ओखती होस् वा अन्य बस्तु त्यसलाई आफ्नो शरीर भित्र छिराउन अनुमति दिनु अघि हरेक उपभोक्ताले त्यस वाट आफूलाई हुन सक्ने बेफाइदा र फाइदाको ज्ञान पाउनु पर्ने उसको नैसर्गिक अधिकार हो। हरेक चिजको बारेमा त्यसको प्रयोग अघि नै त्यसको जोखिम र अन्य चासोका पक्ष वारेको सूचनाको प्राप्तिलाई सूचित सहमति भनिन्छ (Informed Consent)।

 

खादै गरेको खाना, ओखती र ड्रग होस वा आफ्नो शरीर भित्र घुस्न अनुमति दिने रेक्टल, भजिनल र अन्य सपोसिटरीज जस्ता चिजले त्यसको उपभोक्ता स्वास्थ्य, मनोरञ्जन र अन्य पक्षमा के कस्तो प्रभाव पार्दछ भन्ने बारे त्यसको उत्पादकले अनिवार्य रूपमा उपयुक्त सूचना दिन जरुरी हुन्छ। राज्यले त्यसलाई आफ्नो नीति मार्फत अनिवार्य गरेर कार्यान्वयन गरिनु पर्दछ।

 

गाँजाको सन्दर्भमा समेत अन्य खाना, पेय, धूम्रपान, सुर्ती, रक्सी, सप्लिमेन्ट, आयुर्वेदिक ओखती, औषधि आदि जस्तै तिनको जोखिमको हद अनुरूप सूचित सहमतिको लागि सहयोग पुर्‍याउने सूचना र परीक्षण आदि हुन जरुरी छ।

 

व्यावसायिक उत्पादनमा रहेको कतिपय जोखिम युक्त तत्त्वहरुको मात्रामा अनिवार्य नियन्त्रण, उत्पादन, प्रशोधन र बिक्री वितरणमा तोकिएको मापदण्डको अवलम्बन गरी गुणस्तर कायम गराएर पुरा गर्न सकिन्छ। धेरै अवस्थामा यो विधि वाट उत्पादनले सर्व साधारणमा पुर्‍याउने जोखिमको डर न्यून गर्न सम्भव हुन्छ।

 

उल्लेखित डिजाइन (प्रोसेस इन्जीनियरिङ्ग) द्वारा वस्तुको गुणस्तर र जोखिम नियन्त्रण गर्ने विकल्प उपलब्ध हुँदा सम्म राज्यले त्यो विधिलाई अनिवार्य अवलम्बन गर्नु जरुरी हुन्छ।

 

अनावश्यक परीक्षण प्रक्रियाको बोझ हटाएर व्यापार लागत कम गरी सर्वसाधारणलाई समाजमा जीविका धान्न जरुरी हुने खर्चको लागत घटाउन पर्ने आफ्नो अनिवार्य दायित्व राज्यले पुरा गर्न यो विधि प्रभावकारी हुन्छ।

 

औषधीय प्रयोजनमा उपयोग गरिने कतिपय पहिचान भएको जोखिम युक्त सक्रिय तत्त्व (Active Ingredients) हरुको सन्दर्भमा भने त्यसको जोखिमको हद अनुरूप क्लिनिकल ट्रायल लगायत अन्य सुरक्षाको प्रत्याभूति दिने परीक्षणहरू मार्फत उत्पादन त्यसको उपभोक्ताहरुको लागि सुरक्षित रहेको राज्यको स्तर वाट यकिन गरिनु अनिवार्य बन्दछ। उत्पादकले आफुले दावा गरेवमोजिमको आफ्नो उत्पादनले दिने प्रभाव पुष्टि गर्ने विश्वासिलो आधार आफैले राज्यलाई अनिवार्य प्रस्तुत गर्नु पर्दछ।

 

विश्वासिलो आधार कतिपय अवस्थामा त्यस्तै प्रकृतिको सक्रिय तत्त्वहरूको वारेको वैज्ञानिक अनुसन्धानहरूले देखाएको  नतिजा, पुष्टि, निचोड आदि हुन सक्दछ। परम्परागत प्रयोगको नतिजालाई समेत स्विकार्न हुन सक्दछ।

 

अति जोखिम युक्त अवस्थाको उपचार वा धेरै जोखिम युक्त दावाको लागि भने क्लिनिकल ट्रायल लगायतका परीक्षणहरूको आधार माग्न जरुरी पर्न सक्दछ।

 

लेबलमा दाबी गरेकोको प्रभवकारिता दाबी गरे अनुरूप रहेको हुने प्रमाण सहित पेस गर्नु उत्पादकको अनिवार्य जिम्मेवारी हो। प्राप्त प्रमाण तथा अन्य आधार सन्तोषपूर्ण रहेमा उत्पादनलाई स्वीकृत लेबल प्रयोग गरी बजारमा बिक्री वितरणको लागि लैजान स्वकृति दिनु राज्यको अनिवार्य कर्तव्य हो। यस्तो विधिले मात्र राज्यले नागरिकको सुरक्षा गर्नुपर्ने आफ्नो पहिलो दायित्व पुरा गर्न सक्दछ।

 

व्यावसायिक उत्पादनको रुपमा निर्मित गाँजाको जोखिम, वेफाइदा तथा फाइदाहरू विभिन्न सचेतता अभियानहरू मार्फत सम्पूर्ण पक्ष सम्म पुर्‍याउने, सामाजिक कल्याणको वृद्धि एवं जोखिमको हद न्यून गर्ने अनिवार्य नीतिहरू बनाउने, जारी गर्ने र कार्यान्वयन गर्ने दायित्व समेत राज्यको हो।

 

संसारमा लामो समय देखि रक्सी, सुर्ती र तमाखु, चुरोट, कफी र चिया जस्ता चिजहरू बजारमा देखिए पनि गाँजाको प्रयोग गैर अपराधीकरण नगरिएकाले यसको व्यवसाय कानुनी बनेपछि नयाँ उद्योगको रूपमा देखिने छ। रक्सी, सुर्ती, तमाखु, चुरोट, कफी र चिया भन्दा गाँजाको कारोबारले मुलुकको अधिक स्थानीय उत्पादनको उपयोग गर्ने, स्थानीय रोजगार दिने, प्राप्त हुने मुनाफा ग्रामीण क्षेत्रमा प्रवाह हुने प्रकृतिको बन्ने छ।

 

गाँजामा पाइने धेरै तत्त्व मद्येको एक टिएचसी नशा दायक तत्त्व रहेकोले गाँजा गलत हातमा नपुगोस्, मुनाफा राज्यको कर प्रणाली भित्र समेट्न तथा महँगो गाँजाको भौतिक सुरक्षा आदिको पक्ष व्यवस्थापन राज्यको लागि चुनौती पूर्ण छ। गाँजाको अवैधानिक बाटोबाट हुन सक्ने चोरी पैठारी रोक्न अर्को चुनौती छ ।

 

औषधीय रूपको गाँजाको सेवन गर्ने क्रममा उल्लेख गरिए अनुरूप भए नभएको यकिन गर्न प्रभावकारी उपायको अवलम्बन  गर्न जरुरी पर्दछ। औषधीय रूपमा लिइने गाँजाको प्रभावकारिता तथा स्वस्थमा रहेको जोखिमको हदको यकिन गरी सुरक्षित प्रमाणित भएका ओखतीहरू मात्र बजारमा पुग्न दिने चुस्त व्यवस्थापनको उपस्थिति अर्को चुनौती बनेर देखा परेको छ।

 

हाल नेपालमा गाँजाको गैर अपराधीकरण गर्ने क्रममा गाँजाको तस्करी रोक्न, अवैधानिक कारोबार रोक्न, उमेर नपुगेको बच्चाको हातमा गाँजा पुग्न नदिन, गाँजा तस्करी वाट तस्करले छिन्ने मुनाफा राजस्वमा पुर्‍याउन, गाँजाको कारण समाजको जोखिम नियन्त्रण गर्न र यसको सक्दो फाइदा लिने बारे प्रचुर मात्रामा बहस भएका छन्। हाम्रा सबै छिमेकमा ओखतिय रूपमा प्रयोग गर्न कहिल्यै प्रतिबन्ध नभएको गाँजा हाम्रोमा ओखतिय रूपमा प्रयोग समेत कानुनले प्रतिबन्ध नगरे पनि प्रतिबन्धित रहेको सरह व्यवहार कार्यान्वयन भएको छ।

 

हाल संसद्मा दर्ता भएको गाँजालाई ओखतिय उपयोगमा मात्र प्रयोग गर्न दिने नियतले ल्याइएका प्रस्तावित विधेयक, विभिन्न सरकारी लेखा पत्र र गाँजा कारोबारीलाई पुलिसले गर्ने थुन छेक र अदालती कारबाहीहरूले यसलाई पुष्टि गर्दछ। हाम्रा सरकारी निकायले औषधीय प्रयोजनको लागि मात्र गाँजा खोल्ने भन्ने उद्देश्यले ल्याएको विभिन्न आशयको परिपत्रहरूमा औषधीय प्रयोजनको नाममा औषधीय भनेर के लाइ संकेत गर्न खोजेको हो त्यो प्रस्ट छैन। वास्तवमा सरकार आफै यस बारे रनभुल्लमा रहेको बुझ्न सकिन्छ।

 

उदाहरणको लागि रक्सी, सुर्ती, तमाखु, चुरोट, कफी र चिया भन्दा गाँजा कुनै रूपमा फरक छैन। फरक भनेको रक्सी, सुर्ती, तमाखु, चुरोट, कफी र चिया जन्य पेय भन्दा गाँजा जन्य पेय मानव स्वस्थको लागि लागि उच्च फाइदा जनक छ। जब तपाईँ प्राकृतिक रूपमा उम्रिएको रक्सी, सुर्ती, तमाखु, चुरोट, कफी र चिया सामान्य प्रशोधन पश्चात् खाना वा शरीरको  पुनर्ताजकीकरणको लागि खानु हुन्छ तब त्यसलाई सामान्य उपयोगको मात्रा तोकेर निश्चित गुणस्तरमा  उत्पादन,  निर्माण र वितरण भएको यकिन पश्चात् बजारमा बिक्रीको लागी जान  अनुमति दिनु हुन्छ।

 

रोग विशेषको उपचारको लागि त्यसको निश्चित सारतत्त्व जस्तै: इथाईल-अल्कोहल (रक्सी), निकोटिन (सुर्ती,सुर्ती, तमाखु, चुरोट),  टेनिन (कफी र चिया), क्याफिन (चिया र कफी) आदि निकालेर त्यसलाई ड्रगको सक्रिय तत्त्व बनाएर प्रभावकारी डोजको औषधिको रूपमा बजार पठाउनु हुन्छ । यसरी बन्ने ड्रगको लागि भने खाना तथा पेयको लागि गरिने सक्रिय तत्त्वको मात्रा, खानको लागि सुरक्षित रहेको वैज्ञानिक पुष्टि तथा गुणस्तरको यकिन दिने व्यवस्थापनको अलावा ओखती औषधिको रूपमा काम गर्न प्रभावकारी र सुरक्षित  रहेको यकिन दिलाउने केही हप्ताको क्लिनिकल ट्रायलको नतिजाको समेत हेरी बजारमा जाने अनुमति नम्बर सहित बजार जान स्वीकृति दिनु न्यायोचित देखिन्छ।

 

सोही रक्सी, सुर्ती, तमाखु, चुरोट, कफी र चिया वा तिनको सारतत्व लाई ति तत्वहरुले शरीरमा  दिने निश्चित प्रभावको लागि उपयोग गर्न नेचुरल हेल्थ प्रडक्टको रूपमा प्रयोग गर्न दिन भने वैज्ञानिक अनुसन्धान, परम्परागत सफल प्रयोग र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी निकायहरूले मान्यता दिएको अनुसन्धानले उक्त तत्त्व मानव स्वस्थको लागि तोकिएको मात्रामा सेवनको लागि सुरक्षित गरेको सिफारिस आदि  प्रमाणको आधारमा कुनै क्लिनिकल ट्रायलको जरुरी नपर्ने गरी गुणस्तरको ग्यारेन्टीका साथ बजारमा जान दिनु उपयुक्त विकल्प हुन सक्दछ।

जस्तै: पार्किन्सन्स रोग, पित्त थैलीको पत्थरी, टाइप-२ मधुमेह, ग्यास्ट्रोइंटेस्टाइनल क्यान्सर, फोक्सोको क्यान्सर र स्तन क्यान्सर आदि बाट बच्न क्याफिन वा कफीको प्रयोग गर्न सकिन्छ। त्यस्तै टाउको दुखाइ, कम रक्तचाप, मोटोपन र हाइपरएक्टिभिटी नियन्त्रणमा फरक फरक कफीको प्रयोग हुन्छ।

 

धूम्रपान छुटाउन र सुर्ती चुरोट आदिमा मानिसको  निर्भरता हटाउने उपचारको क्रममा निकोटिनको नियन्त्रित मात्रा चुईगम, औषधीय मिठाई, प्याच, लोजेन्ज, इनहेलर, नाकको स्प्रे आदि मार्फत दिन सकिन्छ।

 

आयुर्वेदिक, परम्परागत चाइनिज, युनानी, हर्बल आदिमा आधारित प्राकृतिक उपचारको ओखतीहरू लाई सप्लिमेन्टको रूपमा लिएर सायदै क्लिनिकल ट्रायल आदि गर्नु अनिवार्य ठानिन्छ। उत्पादन संसारकै लागि नयाँ सप्लिमेन्टको रहेको र सरकारी तथा भरपर्दो निकाय वाट त्यस तत्त्वको सुरक्षाको बारे जरुरत अनुरूपको अध्ययन नभई सकेको अवस्थामा भने प्राय: क्लिनिकल ट्रायल आदिको अनिवार्यता गरिनु पर्दछ।

 

एलोप्याथिमा औषधिको एक्टिब तत्त्वको सहायताले रोगको उपचार गर्ने अवधारणा हुन्छ। आयुर्वेदमा प्रकृतिका पाँच तत्त्वहरूको संयोजनबाट उपचारलाई सहजीकरण गर्न पोलिहर्बल जडीबुटीको प्रयोग हुन्छ। होमियोप्याथीमा मानव शरीरको फिजियोलोजीमा परिवर्तन ल्याउने उद्देश्यले पोलिहर्बल जडीबुटीको प्रयोग हुन्छ र शरीरका प्रणालीहरू लाई सहज अवस्थामा फर्काउने काम गरिन्छ। होमियोप्याथी रोगको उपचारमा र आयुर्वेद शारीरिक, मानसिक र आध्यात्मिक पूर्ण स्वस्थता तर्फ केन्द्रित हुन्छ।

 

आयुर्वेदिक, परम्परागत चाइनिज, युनानी, हर्बल उत्पादनहरू लाई अमेरिकाको  एफडिएले धारा २०१ (पी) अन्तर्गत “नयाँ औषधि” को वर्गमा राखेको छ। एफडिएको अनुसार औषधि निर्माणका कच्चा पदार्थहरू उसले प्रकाशित गरेको सामान्यतया सुरक्षित र प्रभावकारी (GRAS ) सामग्रीहरूको सूचिमा सुची बद्ध हुन जरुरी छ। त्यस्ता ओखतीका सबै कच्चा पदार्थहरू उक्त सूचिमा हाल सम्म समावेश छैन। सो अवस्थामा  देखाउदै एफडिएले त्यस्ता ओखतीको लेबलिङ्गमा दाबी गरिए अनुरूपका सुझाव र सर्तहरूलाई मान्यता दिन आफू असमर्थ भएको निर्णय दिने गरेको छ।

 

आफ्नो उत्कृष्ट उत्पादनलाई खेर जान नदिन र त्यस वाट पुरा फाइदा उठाउन भारतले आफ्नै आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमीओपैथीको आयुष मन्त्रालय बनाएको छ। भारतमा यस्ता उत्पादनका औषधिहरू लाई आयुष मन्त्रालयको नियमहरूको पालना गर्ने गरी नियमन गरी आयुष मानक चिन्ह दिएर प्रमाणित गरी बजार जाने अनुमति उपलब्ध गराएको छ।

परम्परागत चाइनिज मेडिसिनको हकमा पनि चीन सरकारको त्यस्तै प्रकृतिको कानुन अनुरूप आफ्नो जनता र उद्यमीहरू लाई न्याय गरेको छ।

 

आयुर्वेद, होमियोप्याथी र प्राकृतिक उपचारको ओखतीको लागि गाँजाको क्लिनिकल ट्रायलको जरुरत नपर्न सक्दछ। औषधिको एक्टिब तत्त्वको सहायताले ओखती मुलो हुने एलोप्याथि ओखतीमा गाँजा वा गाँजाको सारतत्व जान्छ भने त्यसलाई क्लिनिकल ट्रायल गरी प्रभावकारिता र स्वस्थ सुरक्षाको पुष्टि गर्ने थप प्रमाण खोजिनु सान्दर्भिक हुन सक्दछ।

 

यहाँ निर आए पछि आयुर्वेद, होमियोप्याथी र प्राकृतिक उपचार विधि अन्तर्गतका ओखतीहरूलाई सप्लिमेन्ट अन्तर्गत राख्ने, चुरोट सुर्ती र रक्सी लगायतको चिजहरू लाई छुटै छुट्टै कानुन अनुरूप बजारीकरण गर्ने नीति लिएको क्यानडा सरकारले गाँजाको उत्पादन, प्रशोधन र बजारीकरणको लागि गैर अपराधीकरण गर्ने कानुन बनाउँदै गर्दा किन औषधीय मात्र नभएर मनोरञ्जन, खाद्य तथा पेय, धूम्रपान र ई-भेप आदिको रूपमा समेत नियमन गर्ने निश्चयमा पुग्यो भन्ने कुराको चुरो पक्ष बुझ्न सकिन्छ।

 

सन् २०१८ मा क्यानडा सरकारले चिकित्सा  र गैर-चिकित्सा उद्देश्यका लागि गाँजा वैधानिक गर्ने कानुन बनाउँदै गर्दा क्यानडामा उमेर पुगेका गाँजाका उपभोक्ताहरूले निश्चित सहज प्रक्रिया पुरा गरी सहजै गाँजाको बड्स (कोपिला वा फूल), तेल, खानेकुरा, कन्सनट्रेड  (चरेस आदि) र टोपिकल्स (दल्ने, घस्ने  तेल वा बाफ वा लेदो) किन्न पाउने गरी  कानुन बनायो।

 

गाँजाको सुरक्षित उत्पादन उपभोक्ताले सिधै किन्न सक्दा त्यस वाट ओखती बनाउन जरुरी नहुने, कुनै रोग विशेषमा डाक्टरले गाँजा खाऊ वा गाँजाको निश्चित लोसन वा इ-भेप वा खानामा हालेर खाऊ भन्ने प्रिस्क्रिपसन दिँदा बिरामीले ती चिजहरू प्रिस्क्रिपसनको आधारमा किनी उपयोग गर्न सक्ने भयो।

 

जस्तै: बेसार दैनिक खानामा हाली खाएर पनि ओखती हुन्छ र आफ्नो स्वस्थमा सुधार गर्न सकिन्छ। रुवा-खोकीले हदै च्याप्दा एक ठुलो चम्चा फुको बेसार लोकल शुद्ध मह सँग घोलेर सिधै खाएर रोग मुक्त हुन सकिन्छ।

 

गाँजाको औषधीय उपयोगको सम्बन्धमा समेत डाक्टरको सिफारिसको आधारमा बड्स, तेल, खानेकुरा, कन्सनट्रेड वा टपिकल्स किन्न पाउँदा बिरामीले आफ्नो अनुकूल त्यसको सेवन गर्न पाउने भयो। यो कार्यले सिधै ओखतिय रहेको गाँजाको पुनः ओखती बनाएर त्यसको  क्लिनिकल ट्रायल आदिको लफडा थपेर प्रक्रियामा कुनै भ्यालु एड नगर्ने विधिको अन्त: गरिदियो।

 

यथार्थमा क्लिनिकल ट्रायलको अनिवार्यताले सप्लाई चेन महँगो बनाउने बाहेक कुनै प्राविधिक फाइदा थप्ने स्थिति थिएन। गाँजाका यस्ता उत्पादन बजार जानको लागि क्लिनिकल ट्रायल अनिवार्य गरिदिँदा अर्को ब्ल्याक मार्केटको थप जोखिम निम्त्याउने स्थिति देखियो। क्लिनिकल ट्रायलको अनिवार्यताले निम्त्याउने सङ्कुचित सप्लाई चेनको कारणले थप महँगो बन्ने क्यानेडियन गाँजाले आयुस र परम्परागत चाइनिज मेडिसिन अन्तर्गत बन्ने औषधीय गाँजा सँग बजार प्रतिस्पर्धा गर्न सक्ने स्थिति रहन्थेन।

 

क्यानडामा गाँजा खाद्य र औषधि ऐन अन्तर्गत नियम हुने लागू औषध हो। औषधीय उत्पादनहरू हेल्थ क्यानडाले तोकिए बमोजिमको गुणस्तरको मापदण्ड अनुरूप नियमित नियन्त्रण गर्न अनिवार्य गुड म्यनुफ्याकचरिङ्ग प्राक्टिस (जीएमपी निर्देशिका) पालन गरी उत्पादन हुनु अनिवार्य हुन्छ।

 

गैर औषधीय प्रयोजनमा जाने गाँजाको गुणस्तर भने जीएमपी निर्देशिका भन्दा कम कडा प्रकृतिको खाद्य उत्पादनमा लागु हुने कृषिको गुड प्रडक्सन प्राक्टिस (जिपिपी निर्देशिका) अनुरूपको भए पुग्छ।

 

एकै उद्योगले मनोरञ्जन तथा चिकित्सा दुवै क्षेत्रमा गाँजा आपूर्ति गर्ने उद्देश्यमा गाँजाको उत्पादन गर्दाको अवस्थामा त्यसको उत्पादन एकथरी जिपिपी निर्देशिकाको मापदण्ड अनुरूपको हुन्छ भने अर्को थरी जीएमपी निर्देशिकाको मापदण्ड अनुरूपको हुन्छ।

 

निष्पक्ष भएर कुरा गर्दा केही कम्पनीहरूले अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न अनुसन्धान-ग्रेडका गाँजाका उत्पादनहरू उत्पादन गर्ने गरेका छन्। तिनैका आधारमा आएका नतिजाहरू व्यावसायिक उत्पादनका गाँजा हरूमा हुने तत्त्वले समेत दिन्छन् भन्ने मान्यतामा यो व्यवसाय अघि बढेको छ।

 

अनुसन्धान-ग्रेडका गाँजाका उत्पादनहरू दिने नतिजा व्यावसायिक ग्रेडका गाँजा सँग मिल्दछ भनी यकिन गर्न गर्ने बाहेकको विकल्प नहुँदा कुनै पनि गाँजाको उत्पादक लाई क्लिकल ट्रायलको लागि बाध्य पारिनु क्लिकल ट्रायलको मर्म विपरीत बेतुकको कार्य हुनेछ।

 

उल्लेखित अप्ठ्यारो अवस्थामा गाँजाको उत्पादन गर्ने कृषि व्यवसाय तथा उत्पादित गाँजाको प्रशोधन गर्ने उद्योगले आफ्नो उत्पादनहरू लाई मेडिकल बजारको बिक्रीको लागि भनी स्वीकृति लिन पर्ने व्यवस्थाको कुनै भ्यालु एड देखिँदैन।

 

तसर्थ क्यानडामा तिनीहरूले आफ्नो उत्पादन बिरामीहरूलाई बेच्न किने क्लिनिकल ट्रायल वा अन्य टेस्ट गर्न जरुरी ठानिन्न। गाँजाको कृषि उत्पादनमा गुड प्रडक्सन प्राक्टिस र प्रशोधनमा  गुड म्यनुफ्याकचरिङ्ग प्राक्टिस पुरा गरे पुग्दछ।

जस्तै हलेदोको गानाको पाउडर बनाएर बन्ने बेसर हाम्रो भान्सामा हुने सामान्य मसला हो। गरम तितो स्वाद दिने बेसार खानालाई स्वाद र रङ्ग दुवै दिने गर्दछ। बेसरको कर्क्युमिन नामक रसायन बेसारको औषधीय गुनको सक्रिय तत्त्व हो। बेसारले शरीर सुन्निएको निको गर्ने, ज्यान दुखेको ठिक गर्ने गर्दछ। परागकण मुख, नाक, आँखा र घाँटीको सम्पर्कमा आउँदा हुने एलर्जीको कारण हुने नेपाली बेथाको उपचारमा समेत बेसार उपयोगी हुन्छ।

 

डिप्रेसन घटाउने, कोलेस्ट्रोल कम गर्ने, कलेजोको निश्चित प्रकारको रोगमा, चलाउने आदिको उपचारमा समेत बेसारको प्रयोग हुन्छ। बेसार वाट बेसारको मूल औषधीय तत्त्व कर्क्युमिन निकालेर त्यस लाइ औषधिको रूपमा प्रयोग गर्दा भने अन्य ओखती सँगै खाँदा एक सय तिस वटा  ओखती सँग कर्क्युमिनले इन्टररियाक्सन गरेको र मध्यम प्रकृतिको हानि पुर्‍याएको रिकर्ड भेटिन्छ।

 

जस्तै: डिप्रेसन र चिन्ताको उपचार गर्ने  डुलोसेटिन (Cymbalta or duloxetine) र  ज्वरो, दुखाइ, सुन्निने र रगत जम्ने समस्याको उपचार गर्ने एस्पिरिन (Aspirin or salicylates) सँग नै यसले विरोधाभास पैदा गरी शरीरलाई मध्यम रूपको जोखिम दिन्छ।

 

दैनिक खानपानमा खाने बेसार खासै समस्या दिने प्रकृतिको नहुँदा नहुँदै र माथिका दुई ओखतीले दिने प्रकारको उपचार गर्ने गुणको नै देखिँदा देखिँदै पनि त्यसको सक्रिय तत्त्व मात्र निकालेर बनेको ओखतीको फरक आचरण देखाउने गरेको भेटियो।

 

बेसारको अनुभवमा अन्य पोलिहर्बल ओखतिय तत्त्वमा हुने जस्तै परम्परागत खानाको रूपमा बेसारको औषधीय तत्त्व खान मार्फत आन्द्रामा पुर्‍याएको भन्दा फरक किसिम वाट बेसारको औषधीय तत्त्वको ठुलो कन्सन्ट्रेसन शरीर भित्र पुर्याउदा त्यसले शरीरमा देखाउने  भूमिका फरक देखियो।

 

यथार्थमा परम्परागत रूपमा खाने औषधीय खाद्य वा सप्लिमेन्टको परिवर्तित रूप वा डोजेज फर्ममा शरीरमा दिने क्रममा यसको भूमिका फरक प्रकृतिको हुन सक्ने र फरक प्राकृतिक चरित्र मानव स्वस्थ सुधारमा सकारात्मक वा नकारात्मक वा न्युट्रल कस्तो प्रकृतिको हुने हो अनुमान गर्न नसकिने स्थितिको बन्ने पुष्टि गर्दछ।

 

जब बेसारको कर्क्युमिन मात्र निकालेर औषधि बनाइन्छ भने परम्परागत बेसार प्रयोगको अनुभव र लिट्रेचर रिभियु तथा वैज्ञानिक तथ्यको गठ जोडमा मात्र सीमित भएर त्यसलाई बजार जान दिनु हुँदैन। बेसार वाट निकालेको कर्क्युमिनले मानव स्वस्थमा पुग्ने असर र प्रभावको यकिन हुने अनुभव, लिट्रेचर रिभियु, वैज्ञानिक तथ्य र क्लिनिकल ट्रायल परीक्षणको नतिजा समेतको पुनरावलोकनको आधारमा कर्क्युमिन राखी तैयार गरिएको ओखतीलाई मात्र बजार जान दिनु जरुरी बन्छ। यो अवस्थामा क्लिनिकल ट्रायल जोखिमको हदको अनुमानको लागि भ्यालु-एड दिने अवस्थामा रहन्छ। र त्यसको अनिवार्यताको जरुरत ठानिन्छ।

 

जस्तै: बेसारको कर्क्युमिनले क्यान्सर हुन अगावै कोशिकाहरूलाई विकृत बन्न वाट जोगाउने गर्दछ जसले गर्दा यो क्यान्सरको ओखती हो भन्ने तथ्य स्थापित बनेको भए पनि कर्क्युमिनले मानव इम्युनोडेफिशियन्सी भाइरस (एचआइभी) सङ्क्रमित भएका र नभएका दुवै थरिका महिलाहरूको पाठेघरको सतहमा देखिने असामान्य कोशिकाहरूको वृद्धि रोक्छ भन्ने वारेको उत्तर दिने क्लिनिकल ट्रायलको नतिजा प्रभावकारी देखिए पछि मात्र पाठेघरको क्यान्सरको ओखतीको रूपमा कर्क्युमिन प्रयोग गर्ने अनुमति दिन सकिन्छ।

 

त्यस्तै कर्क्युमिनले कोशिकाहरू वृद्धिको लागि आवश्यक हुने केही इन्जाइमहरू अवरुद्ध गरेर ट्युमर कोशिकाहरूको वृद्धिलाई रोक्छ भन्ने तथ्य स्थापना बनिसके पछि पनि प्रोस्टेट क्यान्सरको शल्यक्रिया पछि पुन क्यान्सरको सङ्क्रमण कम गर्न वा रोक्न मद्दत गर्न कर्क्युमिन युक्त ओखती सिफारिस गर्न त्यसको अर्को क्लिनिकल ट्रायल जरुरी हुन्छ।

 

बेसारको कर्क्युमिन पानीमा नघुल्ने तर चिल्लोमा घुल्ने पदार्थ भएकोले यसलाई शरीरले सजिलै लिन सक्ने बनाउन यसलाई तेल वा चिल्लोमा मिसाएर उपयोग गर्नु उपयुक्त हुन्छ। चिल्लोमा घुलाएको बेसारको कर्क्युमिन मानिसको स्नायुको विकास हुने क्रममा स्नायुको ट्युमर बढ्ने समस्या अर्थात्  न्यूरोफिब्रोमेटोसिस टाइप-१ नियन्त्रणमा उपयोगी हुने सैद्धान्तिक प्रक्षेपण सहजै गर्न सकिन्छ। क्यान्सरमा बेसारको प्रयोगको असङ्ख्य वैज्ञानिक अनुसन्धानको नतिजाको आधारमा न्यूरोफिब्रोमेटोसिस टाइप-१ नियन्त्रणमा कर्क्युमिन उपयोगी हुने पुष्टि गर्ने प्रशस्त वैज्ञानिक आधार समेत दिन सकिन्छ।

 

न्यूरोफिब्रोमेटोसिस आफैमा अत्यन्त संवेदनशील स्थिति रहेकोले वैज्ञानिक पुष्टि हुने आधार जति सुकै गहिरो होस न्यूरोफिब्रोमेटोसिस टाइप-१ भएका बिरामीहरूको उपचारको लागि कर्क्युमिन र उच्च फेनोलिक एक्स्ट्रा भर्जिन ओलिभ ओएललाई औषधि बनाएर उपचार गर्न अनिवार्य क्लिनिकल ट्रायलको जरुरत पर्दछ।

 

त्यसैले माथिका सबै अवस्थाको उपचारमा कर्क्युमिनको क्लिनिकल ट्रायल अनिवार्य गरिएको थियो।

 

समग्रमा, जब तपाई परम्परागत रूपमा उपयोग हुँदै आएको बेसारको प्रयोग गरेर कुनै रोग लाग्न वाट बाच्नु हुन्छ वा रोगको रोकथाम गर्ने औषधि निर्माण गर्नु हुन्छ तब त्यहाँ क्लिनिकल ट्रायलको निकै कम जरुरत पर्ला। तर त्यसको निश्चित सारतत्वको प्रभावले औषधीय गुण खोज्नु हुन्छ भने त्यसको क्लिकल ट्रायल पक्कै जरुरी हुनेछ। बेसारको अवस्था गाँजा सँगै समेत मिल्दोजुल्दो छ। किनकि दुवै प्राकृतिक रूपका बिरुवाका उत्पादन हुन्। दुवै खाना तथा ओखतीको रूपमा सहजै उपयोग हुन्छ।

 

गाँजाको ४८० भन्दा अधिक ओखतिय तत्त्वमा एउटा टिएचसी समुहको  तत्त्व लागु औषध हो। जुन रक्सी भन्दा ११४ गुणा सुरक्षित रहेको वैज्ञानिक रूपमा प्रमाणित छ। बिचको प्रतिबन्धका केही दशक गाँजाको प्रयोग कानुनी रुपमा भएन।गाँजाको उपयोग मानव सभ्यताको इतिहासको जानकारी भएदेखि मानव प्रयोगमा रहेको पुष्टि बनेको छ।

 

संसारको उदाहरण हेर्ने हो भने कोका एउटा रूख हो। कोकाको रुखको फलको बिउ वाट बनेको कोको पाउडर वाट चकलेट लगायतका धेरै कुराहरू बन्दछ। जसरी कर्कलो र मोरिङ्गाले मानव स्वस्थको लागि जरुरी हुने अधिक तत्त्व दिन्छ त्यस्तै कोको पाउडर समेत अत्यन्त धेरै मानव स्वास्थ्यका पोषण तत्त्व हुने पृथ्वीको उत्तम उपहार हो।

 

कोकाको (Erythoxylon coca) पात वाट बन्ने पाउडर अत्यन्त घातक ड्रग कोकेन (Cocaine) बन्छ। अत्यन्त कम मात्रामा भने त्यो ओखतिय समेत हुन्छ। कोकेन दुर्व्यसन सेवन गर्ने व्यक्ति मात्र नभएर सम्पूर्ण समाजको सुरक्षा र समुन्नतमा ठुलो खती पुर्‍याउने खराब चिज हो। यति हुँदा हुँदै हामी कोका खेती र कोका पाउडर प्रतिबन्ध गरिरहेका छैनौ। सबै पक्षको नियमन गर्दै खराब पक्ष लाइ प्रतिबन्ध र राम्रो पक्ष लाई सुरक्षा गरी कोका खेती बिना रोक तोक चलेको छ। गाँजा यसमा हुने एउटा रक्सी भन्दा ११४ गुणा सुरक्षित तर लागु तत्त्व भएकै आधारमा प्रतिबन्ध भएको होइन भन्ने कोकाको उदाहरण वाट हामीलाई प्रस्ट हुन्छ। त्यसो हो भने नेपालमा गाँजा भने किन बन्द गरियो भन्ने वारेको चुरो कुरो र त्यसको सामाजिक पक्ष बुझ्न यहाँ सान्दर्भिक रहन्छ।

 

नेपालको औषधि ऐन दोस्रो संशोधन २०५७ ले आफ्नो परिभाषा अन्तर्गत औषधि भन्नाले मानिस, पशु वा पंक्षी लाई हुने रोगको निदान गर्न, उपचार गर्न वा रोकथाम गर्न, रोग निको पार्न वा साम्य गर्न वा मानिस, पशु वा पंक्षी लाई रोग ल्याउने किराको नाश गर्न मानिस, पशु वा पंक्षी को शारीरिक बनावट वा प्रक्रियालाई असर पार्न प्रयोग गरिने पदार्थ वा त्यस्तो पदार्थमा लगाउने साधक पदार्थ समेत लाई सम्झनु पर्छ भनी लेखेको छ।

 

त्यसको दफा ३१ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न विभाग वाट अनुमति पत्र लिनु पर्ने उल्लेख छ। जसमा भनिएको छ “कसैले  कुनै नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न चाहेमा सो कामको लागि विभाग वाट तोकिए बमोजिम अनुमति पत्र लिनु पर्ने छ।”

 

त्यसैमा दिइएको स्पष्टीकरणमा यस दफाको प्रयोजनको लागि क्लिनिकल ट्रायल भन्नाले कुनै नयाँ औषधि प्रयोगमा ल्याउन उचित छ वा छैन भन्ने कुरा यकिन गर्ने उद्देश्यले अनुमति पत्रमा तोकिए बमोजिमको अस्पताल वा यस्तै अन्य चिकित्सालयमा रोगी वा अन्य व्यक्तिको स्वेच्छा अनुसार निजलाई सेवन गराई परीक्षण गर्ने कार्य सम्झनु पर्छ भन्दछ।

 

ऐनको दफा ३२ मा औषधि उत्पादन गर्दा औषधिको प्रणाली र अन्य खुलाउनु  पर्ने भनिएको छ। जसमा औषधिको उत्पादन गर्दा त्यस्तो औषधि एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक र युनानी प्रणाली मध्ये कुन प्रणालीको औषधि हो सो खुलाई लेबुलमा उल्लेख गर्नु पर्ने छ। औषधि उत्पादन गर्दा त्यसको सेवन वाट हुन सक्ने सम्भावित प्रतिकुल असर सम्बन्धमा तोकिए बमोजिम उल्लेख गर्नु पर्ने छ भनी लेखिएको छ।

 

सोही ऐनको दफा ३३ मा छुटै लागु र विषालु औषधि भन्ने शब्द प्रयोग छ। त्यसमा  लागु र विषालु औषधिको सम्बन्धमा लागु र विषालु औषधि सुरक्षित राख्नु पर्ने भनिएको छ।

 

त्यसको थप व्याख्यामा तोकिएको लागु तथा विषालु औषधिमा स्पष्ट लेबुल लगाई तोकिए बमोजिम सुरक्षित राख्नु पर्ने भनिएको छ। लागु तथा विषालु औषधि बिक्री वितरण गर्ने व्यक्तिले आफूले बिक्री वितरण गरेको लागु र विषालु औषधिको अभिलेख तोकिएको ढाँचामा राख्नु पर्ने छ र चिकित्सकबाट लेखिदिएको त्यस्तो लागु र विषालु औषधि सम्बन्धी प्रेशक्रिप्सन त्यस्तो अभिलेख साथ संलग्न गरी राख्नु पर्नेछ भनिएको छ।

 

नेपालको सन्दर्भमा गाँजा औषधीय प्रयोजनमा उपयोग गर्न कानुनी रूपमा कहिले पनि प्रतिबन्धमा नरहेको लागु औषध हो। उक्त ऐनको दफा ३३ मा लागु र विषालु औषधि भनी छुट्टै शब्द गाँजा लगायतका लागु अन्य लागु औषधको कसरी नियमन गर्ने भन्ने नियतमा लेखिएको हो।

 

नेपालको लिखित ऐनले कहिल्यै प्रतिबन्ध नगरेको गाँजाले  सरकारी दादा गिरीमा नेपालमा आज सम्म व्यवहारिक प्रतिबन्धको नियति भोगी रहेको छ। गाँजाको लागि नेपालमा नियोजित  सरकारी दादागिरी सञ्चालन गर्न त्यहाँ अधिक राजकीय र केही सामाजिक उत्प्रेरक सक्रिय छन्।

 

पहिलो गाँजाको प्रतिबन्ध गरिदिँदा तत्कालीन मुट्ठीभरका शासकले यसको प्रतिबन्धले हुने नेपालको आर्थिक क्षति बापतको अत्यन्त ठुलो रकम कागजी विकास कार्यक्रमको नाममा आफ्नै प्रयोजनमा प्राप्त गर्ने अवस्था बन्यो।

 

दोस्रो गाँजाको प्रतिबन्धले चुरोट र रक्सीको बिक्री चरम मात्रामा पुग्ने प्रस्ट थियो। मुलुकमा चुरोट र रक्सी उत्पादनको लाई लाइसेन्स  दिँदा मात्र पनि तत्कालीन शासकले बिक्रीको मुनाफाको झन्डै ७५ % भन्दा अधिकप्राप्ति हुने सुनिश्चित वातावरण थियो।

 

अर्को तर्फ कम लगानीमा आउने नाफाको २५% समेत उद्यमी ले राख्न पाउने हुँदा समेत अन्य व्यवसायले दिने मुनाफा भन्दा दसौँ गुणा धेरै थियो।  त्यसले समेत भूमिका खेल्यो। समाजमा भने गाँजा र रक्सी अम्मल भएकोले मानिस बिगार्ने विश्वास थियो।

 

बहुदल पश्चात त सरकारमा रहने दल लाइ थोरै चट्नी दिए पुग्ने वातावारण बन्यो। सम्पूर्ण अथाह मुनाफा उधमको प्रतक्ष र अप्रतक्ष साझेदारले बाढ्ने लिने हुँदा गाँजा प्रतिबन्धमा जतिपनि खर्च गर्ने आर्थिक हैसियत रक्सि क्षेत्रले प्राप्त गर्यो।

 

अघोषित रुपमा तत्कालीन शासकको संरक्षणमा चुरोट, रक्सीको उत्पादन र बिक्रि व्यापक गर्दै गाँजा र घरेलु रक्सी रोक्दा समाजमा सुधारको लागि तात्कालिक शासक कटिबद्ध रहेको भ्रम दिने मौका थियो। त्यसै गरियो।

 

लिखितम कानुन अनुरूप औषधीय प्रयोजनमा गाँजाको उत्पादन र प्रयोगमा कहीँ कतै प्रतिबन्ध नरहेको, नभएको गाँजा राज्यको अपराधपूर्ण दमनकारी बल प्रयोगमा सम्पूर्ण रूपमा प्रतिबन्ध गर्न राज्य सफल बन्यो। जसले गर्दा गाँजा आजसम्म व्यवहारिक रूपमा नेपालमा प्रतिबन्धमा रहेको छ। गाँजा रोक्ने चुरोट, सुर्ती र रक्सीका माफियालाई राज्यको ढुकुटी खर्च गरी सुरक्षा दिएर पोस्ने गतिविधि यथास्थितिमै छ।

 

अत्यन्त ठुलो राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब पछि नेपालका शासकहरू हाल गाँजा गैर कानुनी गर्ने तर्फका कामहरूमा कछुवा गतिमै भए पनि लागि परे जस्तो गर्ने गरेका छन्। कुनै राजनीतिक निर्णय बिना नेपालको बिउरोक्र्याट सँग गाँजा खुलाउने आफ्नै आत्मा बल छैन। निकट भविष्यमा जनदबाब र भारतमा समेत गाँजा खुल्ला बनी पैदा हुने निश्चित बनेको बोर्डर दबाबमा नेपालमा गाँजा खुलाउने राजनीतिक निर्णय आएको अवस्थामा त्यसको कार्यान्वयन ढिलाइ गरिदिन सक्ने मनग्य तागत भने नेपालको बिउरोक्र्याटिक संयन्त्र सँग छ।

 

हिजो जुन शक्तिले लामो समय नेपालमा गाँजा प्रतिबन्ध गरी लुट्नु सम्म फाइदा लुट्यो र हाल सम्म लुटिरहेको छ त्यही शक्ति झ्याल वाट छिरी तिनै बिउरोक्र्याटिक संयन्त्र लाई भ्रम छर्न सफल बनेको आशङ्का गर्ने आधारहरू भेटिएका छन्। जसले गाँजाको गैर कानुनी पश्चात् पनि सहजै गाँजा नखुल्ने परिवेश पैदा गरिदिन सक्ने छ।

 

त्यसको प्रष्ट संकेत गएको हप्ता नेपाली समाचारहरूमा देखिएका अर्थ न व्यर्थका गाँजाको क्लिनिकल ट्रायल रूपमा उचालिएको मुद्दा लाई लिन सकिन्छ। गाँजा खेती र प्रशोधनको अनुमतिमा क्लिनिकल ट्रायल जस्ता प्रोपकाण्डाहरु कुन नियत र जरुरत बोधले किन मञ्चन गरिए? एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक र युनानी प्रणालीका दबाइहरू समेत नेपाली औषधिको कानुनी परिभाषामा पर्ने कुरा सर्लक्कै बिर्सिएर अन्यत्र जस्तै मात्र एक्टिब कम्पाउन्ड बेस ओखती मात्र ओखती हो अन्य सबै सप्लिमेन्ट भने जस्तो गरी यस्ता कुरा किन अघि बढे?

 

काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो आगराको कुरा गर्नु पर्ने वेलामा किन गाग्राको कुरा गर्न थालियो ? त्यो पनि यस्तो कुरा जसले नेपालमा गाँजा लाई नियम अनुसार कानुनी नै गरे पनि अर्को ८-१० वर्ष तस्करकै हातमा यसलाई छोड्ने प्रपञ्चको तैयार गरिदिन्छ। मुलुक लाई झन् बरबाद पारिदिन्छ। यसमा स्वयम नेपालको स्वस्थ मन्त्रालय, त्यसका अन्य निकाय र एक ताका गाँजामा चासो लिएर छलफल चलाएको देखिएको नीति आयोग आदि र नेपाल सरकार समेत खासै जानकार बने जस्तो भेटिएन। त्यसमा संवेदनशील बनेको पनि भेटिएन।

 

(खाद्य तथा औषधि विज्ञ)

40Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: