मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कृषि विज्ञहरूलाई घाँडो बनेको कण्टकारी !

नारायण घिमिरे

मेरो बाल्यकाल तनहुँको आँबु सत्रसयको मित्रता माविमा पढ्ने र यम्पा फाँटमा हुर्कने गरी बित्यो। सानो हुँदा स्कुलको, गाउँको छेउ छाऊ जता ततै बगरल्ति हुने अंगेरि खाने र खाए पछि कालो कालो देखिने निलो जिब्रो आफ्ना गुच्चा खेल्ने दौँतरी लाई देखाउँदै हामी लज्जावती झार छुन जाने गर्ने गर्दथ्यौ। छोयो कि झार सुत्थ्यो । हामी निकै मनोरञ्जनका साथ हा हा हा गर्दै हाँस्ने गर्थ्यौ। घर बाट ऎई कान्छा खाजा खान अईजा भन्ने आमाको बोली सुनेपछि घर जाने भुटेको मकै चपाउने, दूध पियो अनि अनि मोजा गोलो बनाएर तयार गरेको हाते भकुन्डो लिएर किङ्ग खेल्न जाने गर्दथ्यौ। जीवन रोमाञ्चकारी थियो।

 

जीवनको चार दशक पुरा गर्दै गर्दा कृषि प्रविधिमा संसारमै अब्बल कहलाएको क्यानडाको टोरन्टोमा रहेर सक्रिय रूपमा नयाँ औषधीय पदार्थ, हिलिङ्ग फुड र फुड सप्लिमेन्टको प्रडक्ट डेभलपमेन्ट गर्दै गर्दा पुनः त्यही अङ्गेरिको बारेकै प्रोजेक्टले नेपालको बाल्यकाल ताजा गराउँछ।

 

दैनिकीको कार्य प्रोटोकल अनुसार प्रयोगशालाबाट प्राप्त सबै सूचनाहरू पुनरावलोकन गर्नु पर्छ। भेटिएका मालाबाथ्रिन केमिकल ए, एफ; नोबोटेनिन बि, जी, एच, जे; केम्पफेरोल लगायतका धेरै प्रोपराइटरी औषधीय गुण भएका केमिकल बारे सूचना सूचीकृत गरिन्छ। बिरुवाको सार तत्त्वमा पाइने गुण अनुसार प्रडक्ट डेभलपमेन्टको योजना बनाइन्छ।

 

 

जस्तै अङ्गेरिको सार तत्त्वमा हुने केमिकल डायरीया, डिसेन्ट्रीको अब्बल ओखती हुन्छ। अल्सर, पायल्स र छालाको दाग निको हुने औषधिमा पनि यसमा पाइने केही केमिकलहरू रहेको हुन्छ। उक्त निचोडको आधारमा योजना तर्जुमा हुन्छ। जसमा अङ्गेरिको तिनै गुणहरू व्यवशाहिकिकरण हुने गरी आयुर्वेदिक तरिकाको औषधीय फर्मुला बनायो, सप्लिमेन्ट बनायो अनि बजारमा जाने कानुनी अनुमतिको जरुरी प्रक्रियाहरू पुरागरी बजारमा पठाउने गतिबिधि समेटिन्छ।

 

 

अङ्गेरिमा भेटिने औषधीय गुणका सार तत्त्व, निलो रङ्ग, एन्टीअक्सिडेन्ट युक्त पदार्थ, र मानव परजीवी र ब्याक्टेरिया हरूसँग लड्न सक्ने गुणका विभिन्न सार तत्त्वहरू समेत रहेका कारण खानामा हिलिङ्ग गुण निर्माण गर्न, खाना तथा औषधिमा जाने  फ्लेभर बनाउन र प्राकृतिक निलो रङ्ग बनाउन यो उचित कच्चा पदार्थ हुने गर्छ।

 

 

उक्त निचोडको आधारमा प्रयोगशालामा अर्को समानान्तर योजनाहरू तर्जुमा हुन्छन्। जसमा अङ्गेरिको तिनै गुणहरूको सदुपयोग गरी नयाँ इनोभेटिव फ्लेभर, खानाको रङ्ग, खानाको स्वाद, खानामा औषधीय वा हिलिङ्ग गुण थपिदिने तत्त्व बनाउने योजना हुन्छ। अङ्गेरिमा एन्टी भईरल गुण समेत भेटिदा अङ्गेरि लाई भिटामिन “सी” को धनी अमला सँगै मिलाएर रुवा, मर्की आदि हुँदा जरुरी हुने एन्टीभाइरल डोज दिने सप्लिमेन्ट बनाउन अर्कै टोलि खटाईन्छ।

 

 

लज्जावती झारको सन्दर्भ पनि लगभग उस्तै उस्तै छ । अनुसन्धान र प्रयोगात्मक परीक्षणले यसमा मिमोसिने, २-हाइड्रोक्सी-मिथाएल-क्रोमन-४-ओन लगायतको केमिकलहरू हुने बताउँछ। यसमा हुने सार तत्त्वले डिप्रेसन कम गर्छ।

 

 

निद्रा नलाग्दा दिइने औषधिहरू मा भेटिने तत्त्वमा यी तत्त्वहरू समेत पर्दछ। नाक, पायल्स, खुट्टा सुन्निँदा सुन्निने हुँदा दिइने मलममा समेत यसका सार तत्त्व उपयोगमा आउँछ। नारिबलेको तेलसँग मिसाए बनाएको लेपनले अल्सरमा आराम दिलाउँछ। अथाह गुणको धनी लज्जावती झारको उपयोग उपयुक्त क्रिम बनाउन, औषधि बनाउन, हिलिङ्ग फुडको इन्ग्रिडियन्टको फर्मुला बनाएर आय आर्जन गर्ने पेसा विकास गर्न सकिन्छ।

 

कुनै पनि बस्तुलाई टुक्राएर हेर्दा केही हदसम्म त्यसको आन्तरिक बनावट बुझ्न सकिन्छ। तर त्यसले कसरि कार्य सम्पन्न गरिरहेछ भन्ने बुज्न समग्रतामा जानु पर्छ। हिजो विज्ञानले बस्तुलाई टुक्राएर त्यसको आंशिक जनाकारी लिने र जानकारीको संन्सलेषण मार्फत समग्र जानकारी लिने कोसिस गर्थ्यो।

 

आज त्यही विज्ञान सन्सार बुज्न आयुर्बिज्ञानको समग्रमा प्राप्त हुने ज्ञानको संयोजनबाट निचोड निकाल्ने विधाको उपयोग गर्न थालेको छ। विज्ञानको आंशिक  जानकारीको संन्सलेषण र आयुर्बिज्ञानको समग्रमा प्राप्त हुने ज्ञान दुवै मिसाउँदा आज मानिसलाई सन्सार बुझ्न र प्रगति पथमा लम्कन सजिलो बन्दै छ ।

 

सन्सार नयाँ सिराबाट बगिरहँदा हामी भने आज पनि मिति गुज्रिसकेका र असफल प्रमाणित बनिसकेका सिद्धान्त बादी विधामा विज्ञता हासिल गरेका भुईफुट्टाबादी विज्ञहरूको दर्शन पक्डेर ठेलगाडामा बसी रकेटसँग दौडको प्रतिस्पर्धा गरिरहेको आत्म रतिमा दङ्ग बनी रहेका छौ। आफूलाई प्रकृतिको वरदान र खुबीको रूपमा प्राप्त अवसरहरूको सामर्थ्य लाई हामी नजर अन्दाज गरिरहेका छौ।

 

प्रकृतिको वरदानको रूपमा रहेको मुलुकमा सजिलै हुने औषधि जन्य र सुगन्धित हर्बलका खेती र उद्यमले दिने मानव कल्याणकारी उपज हाम्रो हेलत्वमा परेको छ। देशको सम्बृद्दीमै महसुस हुने गरी टेवा दिने अथाह आय दिने विषय हामीले कुरा कुरा माकुराका रूपमा लिई रहेका छौ।

 

नेपालमा आजको दिनमा त्यहाँका कृषि विज्ञहरूले सबै भन्दा कवाडी ठानी फाँडेर कोदो वा घैया लगाउन जनता लाई सल्लाह दिने कण्टकारि बारे उदाहरणको लागि यहाँ केही केही चर्चा गरौँ।

 

 

कण्टकारीको पात अन्य बिरुवाको पातभन्दा गाडा हरियो मात्र हुन्न, उद्योगमा यसको पातबाट अरू बिरुवाको पात बाट भन्दा सजिलै निकै धेरै क्लोरोफिल निकाल्न सकिन्छ।

 

 

पानी जमी रहने घना बस्तीमा औलो, डेंगु, फाइलेरियासिस जस्ता रोगहरू लामखुट्टे र संखेकिरा को प्रकोप बाट हुने गर्छ। कन्टकारीको पातको एक्सट्रेक्ट जमेको पानीमा रहेको लामखुट्टे र संखेकिराको लार्भाको नियन्त्रण गर्न काम आउँछ।

 

 

कण्टकारीमा भेटिने लुपियोल, एपिजिनिंन र सोलामार्जिन अल्कलोइड क्यान्सर भएको सेल हेप-३-बि मात्र २ घण्टामा पुन जीवित नहुने गरी मार्न सफल देखिए पछि यो क्यान्सरको औषधिको लागि खोजिने बिरुवा बनेको छ। आज तपाई महिलाका लागि बजारमा गर्व निरोधक चक्की भेट्नु हुन्छ। पुरुषको लागि वीर्य निरोधक चक्की बनी सकेको छैन।

 

 

कण्टकारीमा हुने सोलासोडिन नामक अल्कलोइडले पुरुषको अण्डकोषमा एसिड फसफेटेज इन्जाइमको गतिविधि घटाउने र वीर्य उत्पादन घटाउँदै लैजान सहयोग गर्छ। कालान्तरमा यो पुरुषको वीर्य निरोधक चक्की बनाउन सहयोगी हुनसक्ने देखिएको छ।

 

 

मानिसमा कलेजो बिग्रने विकृति रोक्न जरुरी हुने एन्टीअक्सिडेन्ट गुण भएको फ्री रेडिकल हटाउने युनानी प्रविधिको अति ख्याति प्राप्त ओखती हो जिग्रिन। १४ ओटा मेडिसिनल हर्ब बाट बन्ने जिग्रिन कण्टकारी बिना बन्ने गर्दैन। त्यसैले युनानी ओखती बनाउनेहरू कण्टकारीको एक्सट्रेक्ट लाई ठुलो मूल्य तिरी किन्न तयार हुने गर्छन्।

 

 

आयुर्वेद प्राय: धेरै जटिबुटीहरु मिलाएर औषधि बनाउने प्रविधि हो। पाँच ओटा बृहत् मूल्य भएका रुखका जराहरूको मिश्रण (जसलाई विराट पञ्च मोला भनिन्छ ) र पाँच ओटा बृहत् औषधीय मूल्य भएका हर्बका जराहरूको मिश्रण (जसलाई लघु पञ्च मोला भनिन्छ) मिलाएर बन्ने “दस मोला” आयुर्वेदमा निकै धेरै रोगमा जाने ओखतीको आधार सामग्री हुने गर्छ। कण्टकारी उक्त दसमोलाको एक भाग रहेकाले अति मुल्यवान आयुर्वेदिक हर्बल हो।

 

 

कण्ठकारी जटिबुटीको रूपमा हाल प्राय जसो खोकी, फोक्सोको दम, ज्वरो आदि प्रयोजनमा बन्ने आयुर्वेदिक ओखतीहरूमा निकै धेरै प्रयोग हुने गरेको छ। त्यो बाहेक दुखाई कम गर्ने, पसिना निकाल्ने, ज्वरो नियन्त्रण गर्ने, भोक जगाउने, खाना पचाउने, कब्जियत हटाउने, रगत सफा गर्ने, जुका-चुर्नाको ओखती, यौन वर्धक टनिक आदिमा प्रयोग हुने गरेको छ।

 

 

आज नेपालका प्रधान मन्त्री देखि प्राय: धेरै संसदहरु हामीले किन कण्टकारी र कण्टकारी जस्ता हजारौँ जटिबुटीको फाइदा लिन सकेनौ भनी तिनै क्षेत्रमा काम गर्ने सरकारी क्षेत्रका एक्स्पर्ट गनिएका नेपालका बिज्ञहरु सँग प्रश्न गर्ने गरेका भेटिन्छन। भित्ताले सुन्ला मितले सुन्दैनन् भने जस्तै हाम्रो कर्मचारी तन्त्र लाई यो र यस्ता कुराको कुनै मूल्य रहेकै भेटिँदैन।

 

 

गाउँघरमा आफै उम्रेका कण्टकारिको झयांङ फाँडेर हुर्याईदिने र त्यो कण्टकारीले भन्दा एक सय पचास गुणा कम आम्दानी दिने घैया र कोदो लगाउन भनी एडिबी बाट ऋण लिई लिई आधुनिक खेती प्रणालीका नाममा सुधारिएको कृषि गरिएको उल्लेख भएको प्रगति विवरणहरुमा मन्त्रालयमा ताली ठोकिने क्रम कहिल्यै रोकिएन।

 

 

हाम्रा कृषि विज्ञहरूलाई घाँडो बनेको कण्टकारीले कहिल्यै हाम्रा गाउँघरको गुणकारी कण्टकारि हुने अवसर पाएन। मेरो सरकार! बाह्र वर्षमा भाग्य पनि फर्कन्छ भन्थे। पचास वर्ष भई सक्यो। अझै पनि समय परिपक्व बनेको छैन र? अब त यस तर्फ अलि दरिलै मुटु गरेर लाग्ने कि? नेपालको जय होस।

 

(लेखक नेपाली मूलका क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: