मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पानीसरो भनिने जनैखटिरा !!

नारायण घिमिरे

पानीसरो भनेर चिनिने जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । मानिस सानो रहदा ठेउला भनिने चिकेन पक्स रोग लागेको हुन सक्छ वा त्यसको भाइरस भेरिसेला जोस्टरको सङ्क्रमणमा परेको हुन सक्छ।  जब केही समयमा चिकनपक्सको भाइरस निष्क्रिय हुन्छ उक्त भेरिसेला जोस्टर कहिले कहीँ निष्क्रिय हुँदै गर्दा मस्तिष्क र मेरुदण्डको स्नायु बिचको भागमा जीवनपर्यन्त सुषुप्त डोर्मेंट अवस्थामा अस्तित्वमा रहन सक्छ। भरिसेला-जोस्टर भाइरस डिएनए भाइरस हो। यसको संरचनामा बाहिरी ग्लाईको प्रोटिन वाला झुस सहितको बोसीय तत्त्वले बनेको खाम, सबैभन्दा भित्री दुई त्यान्द्रामा बनेको डिएनए जिनोम, डिएनए जिनोमलाई घेरेर बसेको न्युक्लियो क्यापसिड तथा डिएनए र न्युक्लियो क्यापसिड तथा बोसीय खामको बिचको तह टेगुमेंट गरी प्रमुख चार तह हुने गर्दछ। सङ्क्रमणको समयमा म्यूकोसल साइटबाट लिम्फ नोडहरूमा पुगेर रोग प्रतिरोधी टी-कोषहरू लाई परास्त गरी यसले  सङ्क्रमण सफल पार्ने ठानिन्छ।

 

जब मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति कमसल हुन्छ तब नर्वस सिस्टम रहेको निष्क्रिय भाइरस लाई सक्रिय बन्न परिस्थिति अनुकूल बन्दछ। त्यो समयको फाइदा उठाएर भेरिसेला जोस्टरले शरीरलाई पुन सङ्क्रमण गर्न सक्दछ।  उक्त सङ्क्रमण भने पानीसरो भनेर चिनिने जनै खटिराको (हर्पसजोस्टर) रूपमा देखिन सक्छ। भाइरल सङ्क्रमण युक्त जनै खटिरा हुने क्रममा स्नायु प्रणालीमा रहेको उक्त अवसरवादी भाइरसले आफ्नो पहिलो आक्रमणको स्थानमा नशालाई बनाउँदछ।

 

नसा जुन बाटो गएको छ सङ्क्रमण पनि त्यही बाटोमा भएको देखिन्छ। सङ्क्रमणले बनाएको घाउको डोब हेर्दा जनै जस्तो देखिने भएर यसलाई जनै खटिरा भनिएको हो। नाम जनै खटिरा भए पनि जनै लगाउने उमेर नपुगेको वा जनै नलगाउने समेत भेरिसेला जोस्टरको सङ्क्रमणको सिकार हुन सक्दछन् । एड्स रोगी, किड्नी रोगी, मधुमेह, मुटुको रोगी, दीर्घ क्यान्सर भएका, लामो समय प्रेडनिसोन जस्ता स्टेराएड्स औषधिको सेवन गर्नेमा शरीरको आन्तरिक रोग प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा ऊनीहरूमा जनै खटिरा हुने सम्भावना अधिक रहन्छ।

 

रोगमा स-साना पानीफोका जस्ता खटिरा आउने चिलाउने,  असह्य दुख्ने पीडादायक छालाको भाईरल ईन्फेक्सन सबै उमेरका मानिसलाई हुन सक्छ। ठेउला हुँदा शरीरको रोग प्रतिरोधात्मक इम्युन सेलहरूले सम्पूर्ण रूपमा भेरिसेला जोस्टर भाइरसलाई निष्क्रिय पारिदिन सक्ने तालिम प्राप्त नपाइसकेको मानिसमा पुनः सङ्क्रमण हुँदा हुने जनै खटिरो पुन निको हुने क्रममा भने रोग प्रतिरोधात्मक इम्युन सेलहरूले यसलाई शरीरभित्र पराजित गरी पूर्ण रूपमा दबाउन सफल बन्ने गरी आफ्नो प्रतिरोधी क्षमता विकास गर्न सकेको देखिन्छ। त्यसैले एक पटक लगिसकेपछि यो पानीसरो पुनः दोहरिने सम्भावना देखिँदैन वा कम हुन्छ।

 

सुरुवातमा छालामा डाबरहरू देखिएर सुरुवातको लक्षण देखाउने जनै खटिरा प्राय: शरीरको माथिल्लो भाग वाट सुरु हुन्छ। प्राय: पिठ्युँ, छाती, पेट, हात, पाखुरा, खुट्टा लगायत जुनसुकै भागमा देखिन सक्छ। पानीसरोको सङ्क्रमणमा जहाँ वाट सङ्क्रमण भएको हो त्यहाँ वाट दुखेको चिलाएको लक्षण देखिन्छ। बिस्तारै रातो–रातो डाबर आउन सुरु गर्ने,  मसिनो डाबर खटिरा बन्दै घाउ हुने, त्यो फैलँदै गएर लाने लगाएको जस्तो आकारमा बढ्ने हुन्छ। अति साह्रै दुख्ने, ज्वरो आउने, चिलाउने, पोलेको जस्तो लाग्ने, झस्का हान्ने समस्या जन्माउँछ। यसको अलावा कसै-कसैलाई जोर्नीहरू र टाउको दुख्ने, चर्को घाम सहन नसक्ने, थकाई लाग्ने आदि हुने गरेको छ। जनै खटिराको कारण आँखाको दृष्टि कमजोर भएको, मुख बाङ्गो बनेको, ब्रेन हेमोरेज हुने सम्मको अवस्था निम्ताएको छ। लागेको दुई-तीन हप्तामा ठिक हुने जनै खटिरा दीर्घ रोगबाट पीडित बिरामीको हकमा कहिले काहीँ दुई वर्षसम्म दुःख दिएको भेटिएको छ।

 

 

आधुनिक औषधि विज्ञान अन्तर्गत जनै खटिराको उपचारको लागि तीन एन्टिभाइरल औषधिहरू छन्। जोभिरयाक्स (एसाइक्लोभिर), फमविर (फाम्सिक्लोभिर) र भल्ट्रेक्स (भ्यालासाइक्लोभिर)। रोगको प्रतिरक्षा प्रणाली कमसल भएका व्यक्तिहरूको लागि भने  एसिक्लोभिर दिने गरिन्छ। आधुनिक औषधि विज्ञानको नजरले हेर्दा एसाइक्लोभिर, भ्यालासाइक्लोभिर र फाम्सिक्लोभिर सबैनै नियुक्लियोसाइड एनालग हो। सबैले भाइरसको डिएनए लाई रेप्लिकेट हुन नदिएर त्यही डल्लाएर राखी सङ्क्रमण फैलन नदिने नीति लिएर रोगको नियन्त्रण गर्छ।

 

पानीसरोको दुई वटा एन्टिभाइरल खोपहरू जोस्टभ्याक्स र सिनग्रिकस उपलब्ध छ। भेरिसेला जोस्टर भाइरसको खोपमा अत्यन्त कमजोर रूपको भेरिसेला जोस्टर भाइरस लाई नै चिनी, जिलेटिन, नुन, अजिनामोटो, सोडियम फस्फेट, पोटेशियम फस्फेट, पोटेशियम क्लोराइड र युरिया सँगै मिसाएर बनाइएको हुन्छ। कमजोर क्षमताको भेरिसेला जोस्टर भाइरसको स्ट्रेनले शरीरको टी-सेल हरुलाई क्षमतावान भेरिसेला जोस्टर भाइरसको आक्रमण हुँदा सफलापूर्वक भिड्ने तालिम दिने गर्छ। खोपको दुई डोज लगाउँदा ९५% सम्म प्रभावकारिता हुने भनिन्छ। जनै खटिराका खोपहरू धेरै सुरक्षित मानिन्छ। खोप लगाउँदा कतिपयमा टाउको दुख्ने, घाँटी दुख्ने, रातोपन र सुन्निने लक्षण हुन सक्छ। त्यो बेला एसिटोमिनोफिन वा टाइनानोल, आइबूब्रुफिन वा एड्भिल, एस्पिरिन आदि दिने गरिन्छ।

 

रोगीको शारीरिक र मानसिक अवस्थाको आधारमा होमियोप्याथिक चिकित्सामा जनै खटिराको राम्रो उपचार छ। दक्ष र अनुभवी होमियोप्याथिक चिकित्सकहरुले पानीसरोको होमियोप्याथिक ओखतीहरूमा आर्सेनिकएल्ब, सिकोटा विरोसा,  थुजा,  मेजेरियम,  आईरिस भर्स, रेनन्क्युलस, रसटक्स, डल्कामारा, केन्थरिस, परुनस स्पाईनोसा, सोरिनम,  टरेन्टुलाक्युबेन्स आदी दिने गरेको बताउँछन्।

 

आयुर्वेदले जनै खटिरा जस्ता सङ्क्रमणलाई जीवन्त शक्तिको (जस्तै भाइरस जस्तो सक्रिय जीवको) सक्रियताले शरीरमा फैलँदै जाने छालाको सङ्क्रामक रोग ठान्दछ। सङ्क्रमणको क्रममा रगतमा पैदा हुने असन्तुलनले पित्त दोषको विकास गर्ने जसका कारण छाला, लिम्फ़, रगत, मांसपेशी सबैतिर जनै खटिरा फैलन जाने मान्दछ।

 

भर्खरैका अध्ययनहरूले देखाए अनुरूप एउटा कोशीका वाट अर्को कोशिकामा आरएनए डिएनए र प्रोटिन सार्न प्रयोग हुने सानो क्यानल एक्सोजोमहरूले जनै खटिराको भाइरस सार्न र नसामा सङ्क्रमित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। जनै खटिराको भाइरस प्रभावित रहेको भागमा जुकालाई रगत चुस्न दिँदा उक्त सङ्क्रमित एक्जोसमहरू बाहिर फाली दुखाइ घटाउने, जलन घटाउने र रोगको फैलावटको डर घटाउन  सहयोग पुग्ने गाउँ घरे तरिका प्रभावकारी बन्ने गर्दछ।

 

दर्द कम गर्ने र घाऊ  निको गर्न जेठी मधु; अल्सर प्रकृतिको घाऊ निको पार्ने, रगतमा चिनीको मात्रा घटाउने, रगत वाट फोहर विषादी हटाएर सफा गर्ने, जोर्नीको दर्द घटाउने, छालाको पिड्का कम गर्ने हरिद्रा; एन्टीअक्सि डेन्ट र इम्युन बुस्टरको रूपमा हर्रो, रगत सफा गर्न निम, एन्टी-भाइरल गुणको लागि अर्जुन फल, मनोबैज्ञानिक स्थिरता र एन्टी-भाइरल गुणको लागि अश्वगन्धा, एन्टी-भाइरल गुणको लागि पानी अमला, एन्टी-भाइरल गुणको लागि चिराइतो, चिट चिट दुख्ने र पोल्ने दर्द नाशक मजिठो, एन्टी-भाइरल गुणको लागि चन्दन, एन्टी-भाइरल, एन्टी क्यान्सर, एन्टीअक्सि डेन्ट र इम्युन बुस्टरको आदि गुणको लागि बेसार जस्ता जडीबुटी जनै खटिरा हुँदा निको गर्न खाने ओखती हुन्।

 

सुद्ध गाइको घीऊ, अन्य जडीबुटी हरू तथा माथि उल्लेखित जडीबुटीहरू हाली बनाएको क्रिम वा लोसनको लेपले पानीसरोको दर्द कम गर्न र अन्ततः निको गर्न सहयोग गर्दछ। सुद्ध गाइको घीऊ र तिलको तेलले जनै खटिराले छाला र नशामा पार्ने सानो सानो माइक्रोक्रयाक निको पर्ने हुँदा निको गर्ने प्रक्रिया छिट्टो गर्ने र आराम दिलाउने काम गर्दछ।

 

एक टेबल चम्चा तिलको गेडामा ५२ क्यालोरी ऊर्जा, ४ ग्राम चिल्लो, १ ग्राम कार्बोहाइड्रेट, २ ग्राम प्रोटिन, ४ मिली ग्राम तामा, २ मिलिग्राम मैंगनीज, ८७ मिलिग्राम क्याल्सियम, ३१ मिलिग्राम म्याग्नेशियम, ३ मिलिग्राम फलाम, ५७ मिलिग्राम फस्फोरस, ७ मिलिग्राम जिङ्क, १ मिलिग्राम थायामिन आदि हुन्छ। यसमा हुने लिगनन नामक फ़ाईटोकेमिकल खाना वाट रगतमा चिनी घोलिने प्रक्रियालाई लामो बनाएर पाचन प्रक्रियामा सुधार ल्याउने गर्छ। एन्टीडायबेटीक छन्। यसको तेलले नसाको भित्तामा बोसोको लेऊ जम्न नदिएर हृदय रोग हुन वाट रोक्छ। तेलको बिटा सिटोसटेरोलले नसा लाई दह्रो गर्दछ। रक्त सञ्चार राम्रो पार्दछ।

 

तिलको तेलको सार तत्त्व सिसामिन र सिसामोलिन रक्त चाप घटाऊ छ।  क्याल्सियम, फस्फोरस र मैंगनीजले हड्डी दह्रो पार्छ। यसमा पाइने म्याग्नेसियम र फाईटेट कोलोन क्यान्सर निवारक हुन्। प्रशस्त एन्टीअक्सिडेन्ट युक्त हुने तिलको तेलको एन्टी-ब्याक्टेरियल र एन्टी-भाइरल गुण हुन्छ। छाला लाई नरम गर्ने, च्यातिएको छाला जोड्ने र घाऊ निको गर्न सघाउँछ। यसमा हुने ओमेगा ३, ६ र ९ रौँ र कपाल पलाउन सहयोग गर्ने तत्त्व हुन्। छाला लाई हेरचाह गर्ने तथा पाप्रा, चायाँ, कत्ला पर्न नदिने गर्दछन्।

 

जनै खटिरा आउँदा छाला सूर्यको किरण सँग संवेदनशील बन्छ। तिलको तेलले सूर्यको किरणको युभी किरण वाट छालालाई छोपेर जोगाउँछ। छाला बिग्रन समेत दिँदैन।आइरनले रगतमा अक्सिजन समात्ने क्षमता बढाउँछ। जिङ्कले घाऊ निको पार्न, इम्युनिटी बढाउन, आँखाको तेज कायम राख्न सहयोग गर्छ। तिलको तेलमा पाइने जिङ्क, तामा, मैंगनीज एन्टी भाइरल छन्। यिनीहरूले भाइरसको डिएनए लाई रेप्लिकेट हुन नदिएर त्यही डल्लाएर राखी सङ्क्रमण फैलन नदिने काम गर्छ। जुन काम जनै खटिरामा दिइने प्राय: सेन्थेटिक ड्रग र  होमियोप्याथिक ओखतीहरूले गर्ने गर्दछन्।

 

आयुर्वेदिक उपचारमा तिलको तेल १५ एमएल, जेष्ठामधु ३ ग्राम, बबूल ३ ग्राम, लज्जावती  २ ग्राम, लोध्र  २ ग्राम, पिपल २ ग्राम, बर २ ग्राम, डुम्रि २ ग्राम,  बेसार २ ग्राम, मदिरा १ एमएल, खसखसको तेल ०.१ एमएल मिलाएर बनाएको क्रिम दलिन्छ। त्यस्तै बजारमा सङ्क्रमण भएको भागमा दल्ने निर्गुन्दी तेलहरू पनि छन्। जसमा तिलको तेल १० एमएल, मजिठो ०.६२ ग्राम, बेसार १५६.३६ मिलिग्राम, सिमली १० ग्राम र  नेपाली केवारा २.५ ग्राम हालिएको हुन्छ।

 

चिलाएको ठाउँमा नङले नभई हल्का कपडाले माथि वाट हल्का दबाब दिने, भाइरल रोग रहेकाले शरीरको सरसफाइ र सुक्खा पन राख्न कोसिस गर्ने, मनतातो पानीले नुहाउने, प्रयोग गरिने गौ छा, कपडा, काइँयो आदि तातोपानी वाट रोगाणु रहित गर्ने, तनाव घटाउने, प्रशस्त सुत्ने, लामो समय घाममा नबस्ने आदि सल्लाह दिन्छन। भाइरसको सङ्क्रमण हुँदा खाने पिउने प्रशस्त झोलिलो, तातो पौष्टिक खाना खाने तर भाइरस लाई बढवा दिने सुख्खा नटस, मिठाई, गौ, जौ, भटमास आदि कम सेवन गर्न भनिन्छ।

 

जनै खटिराको समयमा आयुर्वेदमा भने मुङको दाल, साली चामलको भुजा, र कालो किसमिस खान प्रेरित गरिएको छ।  रोगको सङ्क्रमण हुँदै गर्दा मसलेदार खाना, होल फुड, फेर्मेंट गरिएको खाना, धेरै क्षारीय खाना, नयाँ फलेको अन्न, अधिक मदिरा नखान भन्दै दिउसो सुत्ने नगर्न, घाममा नजान, धेरै चिन्ता लिने रिसाउने बानी छोड्न सुझाइएको छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

176Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: