मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आजैको मितिवाट तिम्रो पोइ हुन पाऊ !

तिम्रो पोइ हुन पाऊ!

नारायण घिमिरे  

विवाहको उमेरमा पुगेकी तरुणी युवतिमा विवाह गर्ने अभिलासा पैदा हुनु स्वोभाबिकै हो। विवाह गर्ने सोच बनाएकी युवतिले आफ्नो मनले खाएको तरुनो भेट्दा उक्त तन्देरी सँग लगन गाँठोमा बाँधिने रहर विकास हुन हुनु झन् स्वोभाबिक मान्नु पर्दछ।  युवतिले भेटेको तन्देरी पनि युवतिले इच्छा गरे अनुरूप उनै सँग विवाह गरी घर जम गर्न पाए धन्य हुने थिए भन्ने सोचाइ पुगे भने त्यो अवस्था लाई माङ्गलिकता वा शुभ-लाभको अवस्था ठानिन्छ। शुभ-लाभको अवस्थामा एकको अर्को प्रतिको सम्मान र समर्पण भाव पैदा हुने हुँदा आफ्नो इच्छा अनुरूप एक तरुनी महिलाले तन्देरी पुरुष सँग विवाह बन्धनमा बाँधिन निश्चय गर्ने शुभ साइत जुरेको मानिनु पर्छ। युवतीले आफू आफूले मन पराएको युवा सँग विवाह बन्धनमा बाँधिने निश्चयमा पुगेको आफ्नो माता-पिता, परिवार  र आफन्त लाई जानकारी दिन स्वयंवर मतलब आफूले आफ्नो लागि आफै जीवन साथी चुन्ने चुन्ने औपचारिक कार्यक्रम गरिन्छ।

 

स्वयंवर अगाडी महिलाको छनौटको भाग्यमानी पुरुषको को रहेछ भनी स्वोयंम तरुनी युवतिको माता-पिता, नजिकका आफन्त र साथी भाइ समेतमा गोप्य रहने हाम्रो परम्परागत चलन हो। विवाह स्वयंवर पश्चात् समाजलाई साथी राखी उमेर पुगेको केटा-केटीले आफू दुवै एक अर्काको राजी खुसीले संयुक्त जीवन जिउने निश्चय गरेको भन्दै औपचारिक सम्झौतामा बाँधिने परम्परागत शुभ कार्य हो। विवाहको क्षण वाट उमेर पुगेको केटा-केटी दुवैलाई आफूलाई चित्त बुझेको र आफैले चुनेको जीवन साथी सँग संयुक्त जीवन यापन गर्न पारिवारिक, सामाजिक र कानुनी स्वीकार्यता र मान्यता प्राप्त भएको ठानिन्छ।

 

तरुणी शब्दको अर्थ नव युवती, तरुनी वा पठ्ठी भन्ने हुन्छ। तरुनो शब्दले तरुण वा जवान वा तन्नेरी भन्ने जनाउँदछ। तरुणी वा तरुनो शब्द उमेर समूह भन्दा पनि शारीरिक, मनोबैज्ञानिक र यौनिक सबलताको अर्थमा बुझ्ने गरिन्छ। पुरुष शब्दले सामान्यतः लोग्ने मान्छे भन्ने बुझिने भएता पनि यसको चुरो अर्थ मानव जाति भन्ने लाग्दछ। जुन भाले वा पोथी जुन सुकै लिंगको हुन सक्छ। विवाहको लागि सोच विचार गर्दै गर्दाको अवस्थामा वैवाहिक बन्धनमा बाँधिने निश्चय गर्ने जोडीका दुवै सदस्य मनोबैज्ञानिक र शारीरिक हिसाबमा वीर,  आँटी तथा पुरुषार्थ पनको गुण र विशेषता युक्त चरणमा रहेको परिकल्पना गरिएको देखिन्छ। जहाँ पुरुषार्थ शब्दले सकारात्मत मानव ऊर्जा इंकित गर्दछ।

 

वेदले विवाहलाई  सुसंस्कृत मानव वंश सुचारु गर्ने सहयोग पुर्‍याउने मानव धर्म मान्दछ। संस्कृतमा धर्मको अर्थ सद्भाव, स्थिरता, स्व-अनुशासन र लोक कल्याणमा सहयोग पुर्‍याउने महत्त्वपूर्ण गतिविधि भन्ने लाग्दछ। सारमा विवाह लोक कल्याणकारी, राम्ररी  संस्कार गरिएको शिक्षादीक्षा, नैतिक-मर्यादा, सत्सङ्ग आदि प्राप्त सु-सभ्य मानव जातिको नियमितता गर्न सहयोग पुर्‍याउने शुभ लगन हो। संस्कृतमा श्रीमतीलाई सह-धारिणी शब्द दिइएको छ। सह-धारिणीको अर्थ हो श्रीमानको समान हैसियतमा रहेकी धर्मधारा। धर्मधाराको अर्थ श्रीमान् लाई सहीमार्गमा हिँडाउने तागत राख्ने जीवन साथी। फलित ज्योतिष अनुसार अशुभ तथा अनिष्टकारी मानिने नवग्रह मध्ये सातौँ ग्रहहो शनि।

 

शनि सूर्य र पत्नी छायाको पुत्र ठानिन्छ। सूर्य लगातार सकारात्मक ऊर्जा उत्सर्जन गरिरहँदा सूर्यको निकै परको दुरीमा रहने, सूर्यको विपरीत गुण हुने शनि आफ्नै माता-पिताको सकारात्मक ऊर्जाको अवशोषण गर्ने र नकारात्मक चेतनाको विस्तार गरिदिने चरित्रको मानिन्छ। संसारको हरेक प्रकारको दुर्गुण र दुस्मनीलाई जित्न सक्ने तागत माया, दया र करुणामा मात्र रहने गर्छ। हरेक स्त्री जाति शरीरको संरचनाको हिसाब वाटनै माया, दया र करुणाको खानी नै रहन्छिन्। उनमा रहेको सहनशीलता र हरेक हन्डर टक्कर विरुद्धको तागतिलो प्रतिरोधी क्षमताले उनीसँग शनि ग्रहको नकारात्मक पक्षलाई समेत शुभ गर्ने क्षमता “शुभाशनी” रहन्छ। फलतः परिवार र समाजमा एकताको “सुवासना” तथा सबै आ-आफ्नो स्थानमा आफ्नै परिधिमा राजी खुसी रहने “शुभ-आसन” पैदा गर्न सम्भव बन्दछ। शुभाशनी युक्त सुवासनी- सुभासनी स्वास्नीको रूपमा पुजिञ्छिन।

 

हाम्रो परम्परामा विवाहको सबैभन्दा पहिलो साक्षी आगो राखि सामान्य तय: वेदको मन्त्र उच्चारण गरी विवाह सम्पन्न हुन्छ। जाँहा यज्ञमा हुने आगो एक पवित्र सार्वभौम ऊर्जाको प्रतिमूर्तिको प्रतिक हो। हाम्रो परम्परा अनुरुप स्व-विवेकले, आफ्नै चाहनाले, कसैको करकाप वीना, कुनै लोभमा नपरी, पवित्र मनले जीवन भर समान हैसियत र सम्मानमा रहने सर्तमा मात्र विवाह गर्ने छुट मानव जातिलाई रहन्छ। अन्यथा आजीवन ब्रह्मचारीको जीवन चुन्ने विकल्प रोज्न सुझाइन्छ।

 

एक अर्कोको सहयात्रा गर्ने कसम खादै जीवन भर अनिवार्य समान हैसियत र सम्मानमा रहने अनुबन्ध रहने सर्तमा शुभ विवाहको  पवित्र सम्झौतामा वा लगन गाँठोमा कसिन सम्भव ठानिन्छ । विवाहको पहिलो साक्षी जागियाको आगो छान्नुको अर्थ आफूले भर्खरै गरेको औपचारिक बाचा, सम्झौता र प्रणको व्यवहारिक अनुभूति दिलाउने मनोबैज्ञानिक काइदा नै हो।

 

विवाहको प्रण र सम्झौताको मूल मर्मले हरेक विवाहित जोडीले गृहस्थाश्रमको नियम अनुसार आफ्नो घर चलाउन पर्ने बाध्यकारी व्यवस्था गरेको छ। उक्त बाध्यात्मक व्यवस्थाका कारण विवाहलाई विवाह बन्धनमा बाँधिनु भनिएको हो। गृहस्थाश्रमको लागि विवाहित जोडीले एक-आपसमा अनिवार्य सहिष्णुता, आत्म-त्याग, उपकारी मनोवृत्ति जस्ता गुण युक्त बन्नु जरुरी हुन्छ। विवाहले दुवैलाई आफ्नो जीवन साथी प्रति उच्च सम्मान गर्न, पूर्ण समर्पित रहेर सहयोग गर्ने चरित्रको निर्माण गर्न र त्यसलाई घर परिवारको संस्कारको रूपमा विकास गर्न सहयोग पुर्याउदछ। जुन चरित्र हरेक मानव भ्रूणमा रहदा विकसित बनी सकेको हुन्छ। मात्र उक्त विकसित चरित्रलाई व्यवहारमा उतार्न विवाह बन्धनले प्रभावशाली भूमिका खेल्ने गर्छ।

 

हाम्रो समाजको सचेत भनिएको वर्गले जब सामाजिक हित भन्दा आफ्नो निजी स्वार्थलाई उच्च स्थानमा राख्न सुरु गर्‍यो तब हाम्रा परम्परागत उत्कृष्ट चलन, मान्यता र मूल्यहरूलाई मानिसहरुले आफूलाई जसरी सहज हुन्छ त्यसरी व्याख्या गर्ने घृष्टता गरेको भेटिन्छ। समय क्रममा मानिसका निजी स्वार्थहरू बिस्तारै समूहगत, धर्मगत, लिङ्गगत, जातीगत स्वार्थमा बदलियो। मानवता, इमान, जमान, व्यक्तिगत स्वच्छन्दता, सामाजिक न्याय सबै समूहगत मुनाफा, फाइदा, शक्ति प्राप्ति, वैभव प्राप्ति, सम्मान प्राप्ति आदिको निहित स्वार्थको चपेटामा पर्न गए।

 

गुट गत र पेसा गत स्वार्थले जकडिएको समाजमा बदनियत पूर्ण रूपमा स्थापित चलनहरू सामाजिक परम्परा, कानुन र धर्मको नाममा शोषण र उत्पीडनको मध्यम बने। विवाह पद्दति समेत त्यसको सिकार बन्यो। दुई आत्मीय मनहरू स्वविवेकले मिलेर जीवन यापन गर्ने जस्तो नितान्त निजी कार्य समेत आफन्त, समाज, पण्डित, नेता र शासकको श्री र संवृद्धि प्राप्तिका साधन बने। फगत सामाजिक, आर्थिक, मनोबैज्ञानिक, पारिवारिक, धर्मगत, जातगत लगायतका विभिन्न करकापमा सम्पन्न अत्यधिक विवाहहरू विवाहकै बिन्दु वाट एक पक्षले अर्को पक्षलाई राजी खुसीको ट्याग लगाई दिएर बलात्कार गर्न स्वीकृति प्रदान गर्न योजना गरिएको कानुनी सामाजिक कार्यमा सीमित बनिदिन थाल्यो।

 

वेदको शब्दहरूमा खेल्दै आफ्नो कलुषित नियत प्राप्ति गर्न ठुला ठुला धार्मिक गुरु कहलिएका अधर्मका महिषासुरहरुले अधार्मिक स्मृति लेखन मार्फत सफेद झुटलाई कृतिका रूपमा समाजमा स्थापित गराएर हाम्रो निजी जीवन जिउने स्वच्छन्दता माथि समेत निर्मम बलात्कार गर्न पुगे। वेदको मर्म लाइनै उल्लङ्घन गर्दै नेपाली समाजमा विगतमा मुलत: आठ प्रकारका विकृत पूर्ण विवाहहरु अस्तित्वमा देखिए। आज हुने विवाहहरू समेत यिनै विकृत पूर्ण विवाहको गहिरो प्रभाव वाट गुज्रिरहेको तपाई हामीले अनुभूति गर्न सक्दछौ।

 

ब्रह्म विवाहमा गुरुकुलमा स्नातक तह उतिर्नगरि चार वेदको अध्ययन पूरा गरेको केटा लाई केटीका आमा बुबाले बिहे गरी अन्माएर पठाउने विवाह लाई ब्रह्म विवाह भनियो।  वेदको अध्ययन पूरा गरेको केटा प्रतिभाशाली हुने भन्दै छोरीको कन्यादान गर्ने विवाहको परम्परा भनियो। कन्यालाई गाई बस्तु जस्तो दान दिने विलासीको बस्तु ठान्ने नियत बोकेको समाजको बौद्धिक मानिने वर्गको स्वार्थ सिद्ध गर्न तिनै वर्गले धर्मको कलुषित व्याख्या गरी ब्रह्म विवाह उत्कृष्ट विवाह भन्ने घृष्टता गरियो। सूर्यको चन्द्रमा सँग ब्रह्म विवाह भएको भन्ने भ्रम समेत तिनै वर्गबाट छरियो। जबकि  वेदमा न त कन्यादान भन्ने शब्द छ। बरु कन्याको दान गर्न सक्ने हैसियत यो प्रकृतिमा कसैसँग रहँदैन भन्ने पक्षमा वकालत गर्दछ।

 

सुन्दर कन्याको माता पिताले मन्दिरको पुजारी र पुरोहितलाई धन दौलत र सम्मान सहित सुम्पने विवाहलाई देव विवाह भनियो। एक सामान्य परिवारमा खुसीको मौका होस् वा दु:खको, जुनसुकै कार्यमा पनि पुजारी र पुरोहित लाई धन दौलत सम्मान अनिबार्य मिल्ने सामाजिक रीतिको विकास गरियो। घरमा हुर्किएका सुन्दर बालिका समेत दानको लागि उनीहरू नै योग्यताको पहिलो सूचिमा पर्ने योग्य देव रहेको धारणा समाजको भित्री तह सम्म स्थापित गरियो। राजाको वा तत्कालीन शासकको सुराकीको काम गर्ने यस्ता देवहरूका संरक्षक रहेका राजा-महाराजा महादेवको असली रूप भन्दै समाजमा सङ्गठित शोषण र उत्पीडनको सञ्जाल निर्माण गरियो।

 

 

कुनै तपस्वी वा ऋषिले केटीको बाबु आमालाई एक वा दुई जोडी गाई वा गोरु तथा केही लुगाहरू दिएर  उपहार दिएर  केटीको बाबु-आमाले गर्ने कन्यादान स्वीकार गर्ने विवाहलाई अर्श विवाह भनियो। अर्श विवाहमा दुलही अमुल्यहुने स्विकार्ने, दुलहीको रूपमा आफ्नी छोरी दिएर  ऋषिको “गृहस्थ धर्म” सफल पारिदिने व्यक्तिलाई कृतज्ञता स्वोरुप उपहार दिने गरिएता पनि कन्याको आत्मा अधिकार, स्वतन्त्रता र महिला दानमा लिन दिन सकिने बस्तु होइनन भन्ने धारणाको यो पद्धतिको विवाहले समेत उलङ्घन गरेको देखिन्छ।

 

विवाह जस्ता जबरजस्ती लादिएको रीति रिवाजको सन्दर्भमा तपस्वी तथा ऋषिहरू समेत तत्कालीन माहदेब कहलिने राजा महाराजा र देव कहलिने राजाका सुराकीका रूपमा गाउँ गाउमा आफूलाई देव घोषणा गर्दै पण्डित्याइँ गर्ने उत्पीडक वर्गको संयन्त्रको मतियारको भूमिकामा उपस्थित रहने गरेको बुझिन्छ। समाजको बौद्धिक वर्गनै कुनै न कुनै रूपमा मुलुकको शोषण मार्फत आफ्नो जीविका सहज गर्ने उक्त प्रवृत्ति नेपालमा हाल सम्म निर्मूल हुन सकेको छैन।

 

धनी ब्याक्तिको सम्पत्तिमा रजाइँ गरी छोरीले यस आरामको जीवन बिताउन सक्छिन भन्ने लोभमा माता पिताले धनी केटालाई विवाह मार्फत मान सम्मान सहित दान दिने विवाह प्रजापत विवाह हो। यस्तो विवाहमा अर्काले जोडेको सम्पत्तिमा मोजमस्ती लिन सकिने र जीवन सुखी रहने नियत लुकेको हुन्छ। जुन न त वेदको नियमको अनुरूपको नै हो। न उक्त प्रकारको विवाहले नारीको जीवन नारकीय हुन वाट रोक्न सक्ने कुनै आधार नै भेटिएको छ।

 

केटा र केटी बिच राजी खुसीले आफ्नै चाहना अनुरूप गरिने विवाह गन्धर्व विवाह हो। आज भोलिको प्रेम विवाह जस्तो विवाह हो गन्धर्व विवाह जहाँ स्वयंवर जस्ता कार्यक्रम हुन्थ्यो। तर कलुषित कन्यादान भन्ने हुने गर्थेन। स्वयंवर पश्चात् हुने विवाहमा कन्यादान भन्ने कतै सुनिदैन्थ्यो। कन्यादानको कार्यक्रम बिचमा घुसाउन सक्दा विवाहमा थप आय गर्न सकिने रणनीति अन्तर्गत बिचमा पण्डितहरूले  गन्धर्व विवाह विवाहमा समेत कन्यादान थपेको बुझिन्छ।प्रेम विवाह नामकरण भएको  गन्धर्व विवाहमा आज भोलि इन्गेजमेन्टको नाममा सक्कली स्वयंवर हुने, तर भागेर विवाह गर्न नपर्दाको अवस्थामा नकार्न अनिवार्य ठानिने कन्यादान हुने, दाइजो समेत खोजिने कुप्रथा भित्रिएको भेटिन्छ।

 

केटीको रगतको नाता गाँसिएको आफन्त लाई मारी वा घाइते बनाएर जबरजस्ती उनको माता पिता बाट लुटी लगेर उनको कुमारीत्व नष्ट गरी गरिने विवाह लाई राक्षस विवाह भनियो। जुन पहिले पनि गैर कानुनी मानिन्थ्यो। तर शक्ति र पहुँचमा रहेका, गुन्डा गर्दीमा संलग्नहरू वाट यस्तो दुष्कर्म पटक पटक हुने गरेको देखिन्थ्यो। त्यस्तै केटीको माता पिता लाई धन सम्पत्ति दिएर खरिद गरी हुने विवाहलाई असुर विवाह भनिन्थ्यो। सुतेको समयमा वा कुनै नसाको उन्मादमा रहदा, मनोबैज्ञानिक हिप्नोटिजम गरि, मोहनी लगाई, मनोबैज्ञानिक समस्यामा रहदा वा क्षणिक प्रभावमा पारेर करकापमा केटी मानिसको कुमारीत्व लुटी आफूसँग विवाह गर्न बाध्य पार्ने विवाहलाई पिशाच विवाह भनिन्थ्यो।

 

पीडित पक्षमा पुगेको अन्याय र अमानवीय व्यवहारको करण वाट भन्दा चुरो कारणमा राक्षस विवाह, असुर विवाह र पिशाच विवाहमा पण्डित तथा पण्डितका रक्षक राजा महाराजाहरूको आम्दानीको श्रोत नहुने अवस्था रहने भएकाले गैर कानुनी भनिएको थियो।पण्डित तथा राजा महाराजाहरूलाई उचित नजराना दिन सक्दा यस्ता विवाह पनि उनीहरूले अव उपरान्त कानुनी मानिने घोषणा गरिदिन्थे।

 

संस्कृत भाषामा श्रीमानलाई जनाउने विभिन्न शब्दहरू छन्। जस्तै: पति, भर्त्ता, भर्त्तृ, स्वामी, स्वामिन्, वरः, वोढा, वोढृ, विवोढा, वरयिता,वरयितृ, कान्तः, परिणेता,  परिणेतृ, परिणायकः, नाथः, इष्टः, दयितः, प्रियः, प्रियतमः,धवः, उपयन्ता,उपयन्तृ, परिग्रहीता,परिग्रहीतृ, क्षेत्रिकः, हृदयेशः, प्राणेशः, जीवितेशः, प्राणनाथः,प्राणाधिनाथः,वेत्ता, वेत्तृ आदि। त्यस्तै संस्कृतमा श्रीमती लाई पनि धेरै शब्द वाट इंकित गरिन्छ। जस्तै: भार्य्या, वामाङ्गं, स्त्री, पत्नी, जाया, दारा, वधूः, बधूः, कलत्रं, गृहिणी,गेहिनी, पाणिगृहीता, सहधर्म्मिणी, प्रेष्ठा,वनिता, द्वितीया, सधर्म्मिणी, प्रेयसी, गृहं, अर्द्धाङ्गं,धूता, परिग्रहं,क्षेत्रं, दयिता,कान्ता, वल्लभा, प्रिया, प्रियतमा, रमणी, नायिका, प्राणेशा, प्राणसमा, प्राणसखी, विवाहिता आदि।

 

हाम्रो आफ्नो परम्परागत रैथाने चलन चल्तीको जिब्रोमा बसेको मिठो भाषामा श्रीमान् लाई लोग्ने वा पोइ वा बुडो भन्ने गरिन्थ्यो। श्रीमतीलाई भने पत्नी, स्वास्नी वा बुढी। परिवारको छनौटवाट केटीले वरण गरेको पुरुष पति कहलिन्थे। केटीको आफ्नै छनौटको केटा भने पोइ कहलिन्थे। परिवारको छनौटका श्रीमान् परे वा केटीको रोजाइको परे भन्न नचाहँदा उनी लोग्ने कहलिन्थे। विवाह पश्चात् बच्चा बच्ची समेत जन्मिसकेको लोग्नेलाई भने बुडो भन्ने शब्द उपयोग हुन्थ्यो।

 

प्रजापत विवाह  वा असुर विवाह भएका कन्याको कुनै मानव अधिकार नरहने हुँदा उनीहरू लाई अरबी भाषा बाट सापटी लिएको शब्द “महिला” प्रयोग गरिन्थ्यो। वेदको सार अनुरूप सम्पन्न गन्धर्व विवाह कानुनी थियो। स्वास्नी र पोइ राम्रो अर्थ दिने सम्मानित शब्द नै थिए। तर पनि गन्धर्व विवाहले पुजारी, पुरोहित र शासक  लाई धन दौलत जोड्ने अवसर वाट विमुख पार्ने जोखिम रहेकाले विवाहित युवती र युवाले प्राप्त गर्न स्वास्नी र पोइ शब्द पुजारी, पुरोहित र शासकको हमेसा कटु आलोचना र निन्दाको शब्द बने। समाजले अन्ततः हो मा हो मिलायो।

 

भनिन्छ केटा मानिस प्राय: सम्भोगको लागि प्रेम तर्फ आकर्षित बन्ने गर्दछन। केटी भने माया प्राप्तिको लागि सम्भोग तर्फ आकर्षित हुन्छिन्। हाम्रो मान्यतामा बिहे गर्ने उमेर पुगेको हरेक केटा मानिस हलक्क बढेको मस्त शरीरको जो सुकै युवती देख्दा आकर्षक हुने कमजोरी सहित जन्मेको हुन्छ। त्यसैले विवाहमा केटाले मन पराएको केटी हो-हैन भन्दा केटीले मन पराएको केटा सँग भयो भएन भन्ने कुराको ठुलो अर्थ रहने गर्दछ। स्वयंवरमा आफूले चुनेको केटाको श्रीमती बन्ने हुँदा स्वयंवर मार्फत बनेकी श्रीमती लाई स्वास्नी भनिन्थ्यो। हक्की स्वभावको निडर तर ममतामयी, आफ्नो निर्णय आफै लिने चतुर केटी मान्छेलाई स्वास्नी मान्छे भनिन्थ्यो। नत्र आइमाईको संज्ञा पाउँथ्यो।

 

परिवारको छनौटको कन्यादान गरी दिइएकी श्रीमती पत्नी कहलिन्थिन। झुक्क्याएर गरिएको वा लुटको विवाहको महिला दासी वा रखेल ठानिन्थिन। स्वयंवर वाट चुनिएका वरले वेदको विधिपूर्वक बधूको हात औपचारिक रूपमा ग्रहण गर्ने पाणिग्रहण प्राप्त गृहिणीले मात्र स्वास्नीको दर्जा पाउँथिन। त्यस्ता सौभाग्यशाली पुरुष “पोइ” कहलिन्थे। पोइ सँग पोइको घर जाने कामलाई पोइला जाने भनिन्थ्यो। पोइलाई आफ्नै घरमा राख्दा श्रीमतीलाई जोई भनिने र श्रीमान् लाई जोइल गएको भनिन्थ्यो। परिवारको छनौटको विवाहमा भने पति सँग घरजम गर्न जाने काम लाई जन्म घर छोडेर कर्म घर घरजम गर्न गएको संज्ञा दिइन्थ्यो। पतिलाई आफ्नै घरमा राख्दा घर ज्वाइँ बसेको भनिन्थ्यो।

 

 

धर्म वा संस्कारको नाममा वेदले स्विकार्न नसक्ने दुराशय युक्त अवलेह हरु लाई जानेर वा नजानेर नकार्न नसकी वा मौन स्वीकृतिमा पच्छाउँदै गर्दा  हामी नेपाली समाजका निकै ठुलो तप्का आज महिला उत्पीडन र शोषण गर्ने प्रणालीको मौन संरक्षक बनिरहेका छौ।  म पनि त्यसैको एउटा मूकदर्शक पात्र बनिरहेको अनुभूति हुन्छ। आफू वाट भई सकेका त्रुटिहरू लाई विगतमा फर्केर सुधार्न सम्भव नहोला। तर भविष्यमा यस्ता गल्तीहरू अन्यत्र दोहरिन नदिन भूमिका खेल्न सकिन्छ।  हालको लागि मैले भने एक  प्रायश्चित गर्ने अठोट लिएको छु। आफ्नै कन्यादान मार्फत विवाह बन्धनमा बाँधिएको धर्मपत्नी सँग आफूलाई सकिन्छ आजैको मिति वाट सकिन्न अर्को जन्ममा आफूलाई पोइको रूपमा स्विकारी दिन अनुरोध गर्ने।

 

 

मेरी प्रियतमा, म तिम्रो पति, सम्भव हुन्छ भने आजैको मिति वाट हुदैन भने अर्को जुनीमा तिम्रो पोइ हुन पाऊ भन्ने ईश्वर सँग इच्छा  जाहेर गर्न चाहन्छु । मेरो यो एकतर्फी  अभिलाषा हुन सक्छ।  तिम्रो सहमति बेगर मैले प्रकट गर्ने मागले तिम्रो अन्तरमनको स्वतन्त्रताको हिंसा गरिदिने छ। मानव अधिकार भन्दा ठुलो अन्तरमन वाट आफ्नो जीवन / गन्तव्य आफ्नै इच्छा अनुरूप जिउन पाउने धर्माधिकार बृहत् रहन्छ।

 

हिंसाको माग लिएर ईश्वर सम्मुख पुग्ने मानवको इच्छा पूर्ति गर्ने अधिकार स्वोयंम ईश्वर सँग समेत रहदैन। प्रकृतिले तोकिदिएको अधिकार क्षेत्र अन्तरगत हरेक हिंसा सजायको भागी हुनुपर्छ।  तिमीलाई गुमाउन नपर्ने र सजायको भागी नबन्ने बाटो पकड्न मैले तिम्रो मन र मेरो मन बिचको एक साक्षात्कार भेटवार्ताको अपेक्षा गरेको छु। मेरो इच्छा ईश्वर सँग  जाहेर गर्नु अघि तिमि सँग अनुरोध सहितको एक बिन्ती बिसाउने निश्चय गरेको छु। मलाई आजैको मिति वाट तिम्रो पोइको रूपमा स्विकारी दिनु न है। अर्को जुनीमा पनि तिमि मेरो स्वास्नी बन्दिनु नि है। तिम्रो पोइ हुने मेरो इच्छा पुरा गरिदिनु न है।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE