मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

औँसी मनाउनुको औचित्य स्थापित

औंसी  मनाउनुको बैज्ञानिक पक्ष

नारायण घिमिरे

प्रोटिन एक जैविक अणु अथवा बायोमोलिकुल हो जुन एमिनो एसिडहरुको बिल्डिङ ब्लकहरूले बनेको हुन्छ। जीवित बस्तुहरूको लागि प्रोटिन शक्ति वा तागतको स्रोत मात्र हैन जैविक कोषहरू धेरै प्रोटिन मेसिनरीहरुबाट संचालित हुने गर्छ। केही वर्ष अगाडी वैज्ञानिकहरूले पहिला एमिनो एसिड अथवा एमिनो एसिड सँग सबै गुण मिल्ने अणुहरू अन्तरिक्षमा फेला पारे। त्यस्तै वर्षौँ पहिले नै जिउँदो जीवनको लागि महत्त्वपूर्ण हुने अन्य अणुहरू समेत अन्तरिक्षमा भेटिए। साथै एमीनो एसिडका सिक्रीहरू समेत भेट्टाइयो। तर पूर्ण प्रोटिन बनाउन पुग्ने मात्रामा भने भेटिएको थिएन।

 

निर्जीव पदार्थवाट सजीव पदार्थ बन्न सबैभन्दा पहिले निर्जीव पदार्थले सजीव पदार्थको बायोमोलिकुल बनाउनु अनिबार्य हुन्छ। उक्त बायोमोलिकुललाई हामी एमिनो एसिड भन्ने गर्छौ। तिनै एमिनो एसिडहरू निर्धारित सिक्रि जस्तो लहराको गुजुल्टो बनाएर मिलेर प्रोटिनहरु बनाउदछ। प्रोटिनहरू वाट सजीव पदार्थहरू निर्माण भएको भेटिन्छ।

 

हालै प्रयोगशालामा गरिएको अनुसन्धानमा धूम केतु वा पुच्छ्रे्रताराको टुक्रा प्रिस्टिन स्पेस रकमा मिथाएल-एमाइन भेटिएको थियो। जीवको अस्तित्वको प्रतिनिधित्व गर्ने मिथाएल एमाइन प्रिस्टिन स्पेस रकमा भेटिनु आचार्य जनक कुरा थियो। किनकि बिना कुनै शक्ति ब्रह्माण्डको भ्याक्युम वा खाली ठाउँमा बायोमोलिकुल मिथाएल एमाइन बन्न सक्ने सम्भावना तत्कालीन विज्ञानको समझ बाहिरको कुरा थियो।

 

मिथाएल एमाइनलाई प्रयोगशालामा जब अल्ट्रा हाइ-भ्याकुम भित्र पानीको बरफको उपस्थितिमा बिना कुनै इनर्जी छोडियो यो ग्लाइसिनमा परिवर्तन हुने निश्चित भए पछि यसले जीवनको उत्पत्तिको बिन्दु बारे नयाँ तत्त्व उजागर गर्न परीक्षण सफल बन्यो। किनकि सिधान्त: ग्लाइसिन एक प्रकारको एमिनो एसिड हो जुन मिथाएल एमाइन वाट बन्ने गर्छ। ग्लाइसिन निर्माण भएपछि यो एमिनो एसिडको प्रिकर्सर बन्ने, अन्य फंगसनलग्रुपहरू बनाइ प्रोटिन बन्ने र अन्ततः जीवनको उत्पत्ति सम्भव हुने तथ्यहरू पहिले नै थाहा भएका कुराहरू भए।

 

अनुमान अनुसार ग्लाइसिन लगायत सम्भवतः अन्य धेरै एमिनो एसिडहरू नयाँ ताराहरू ग्रहहरूमा परिणत हुनु भन्दा पहिलै बाक्लो कालो बादल सँगै अस्तित्वमा थिए। नयाँ अनुसन्धानहरुले एमिनो एसिडहरू सैद्धान्तिक रूपमा तारा र ग्रहहरूको उत्पत्ति हुनु भन्दा पहिले देखिनै अस्तित्वमा रहेको तथ्य उजागर समेत गर्यो।

 

विज्ञानका अनुसार धूम केतु वा पुच्छ्रे्रताराहरू सौर्य मण्डलमा बन्नु भन्दा पनि पहिले अस्तित्वमा थिए। सौर प्रणाली मूलतः बरफका धुलोका कणहरूबाट बनेको देखिन्छ। नयाँ ताराहरू बनेको क्षेत्रहरूमा तापक्रम −२६३° डिग्री सेल्सियसको आसपासमा रहने गर्छ। जब उक्त तापक्रममा बरफका धुलोका कणहरू घनाबादल जस्तो आईसी-म्यानटल बनाएर बसेको देखिन्छ। चिसो आईसी-म्यानटलमा ग्लाइसिन लगायत सम्भवतः अन्य धेरै एमिनो एसिडहरू लामो समय ठुलो सङ्ख्यामा सुरक्षित रहन सक्दथ्यो।

 

रसायन शास्त्रमा यदि रियाक्सन हुनको लागि कुनै शक्तिको विकिरणको आवश्यकता पर्दैन वा कुनै शक्ति बिना नै सम्भव बन्छ भने त्यसलाई डार्क-केमेस्ट्री भनिन्छ। भ्याक्युम अवस्थामै अन्धकारमा बिना कुनै इनर्जीको खपत गरि संभब भएको देखिएको यो रियाक्सन लाई “डार्क-केमेस्ट्री” अन्तरगत राखियो।

 

सैद्धान्तिक मोडेल अनुसार ६८% डार्क-इनर्जी, २७% डार्क-म्याटर र मात्र ५% सामान्य पदार्थ वाट सारा ब्रह्माण्डको निर्माण भएको वैज्ञानिकहरूको अनुमान छ। यहाँ हामीले देख्न सकिने सबै ताराहरू, ग्रहहरू र आकाशगङ्गाहरू लाई सामान्य पदार्थ भनिएको हो। वाकी रहस्यमय अन्धकारलाई डार्क-इनर्जी र डार्क-म्याटरमा राखिएको हो।

 

अन्धकारको चरित्र कस्तो हुन्छ र के वाट बनेको छ त्यो हाल सम्म हामीलाई थाहा हुन सकेको छैन। वैज्ञानिकहरू अन्धकार हुनु भनेको त्यहाँ केही पनि नभएको अथवा पूर्ण रित्तो रहेको अवस्था पक्कै होइन भन्ने ठान्दछन्। विज्ञानले हरेक पदार्थको आफ्नै आकर्षण- विकर्षण र गुरुत्वाकर्षण रहनु सँग अन्धकार/डार्क इनर्जीको केही न केही लेनादेना हुनुपर्छ भन्ने अनुमान गर्दछ। भर्खरै हुँदै गरेका अनुसन्धानहरू वाट वैज्ञानिकहरूमा डार्क-इनर्जी र डार्क-म्याटर एकै सिक्काका दुई भागहरू रहेको महसुस गराएको भेटिन्छ।

 

ऋगबेदको नसडिया सूत्रले उल्लेख गरे अनुसार ब्रह्माण्डको सृष्टि अघि कुनै आकार, पिण्ड, चिज वीज र प्रकाश जस्ता चीज अस्तित्वमा थिएन। हटाउन नसकिने, अज्ञात, स्थिर र निष्क्रिय तरल पदार्थ युक्त अँध्यारोले भरिएको थियो। साङ्ख्य दर्शन अनुरूप केवल जीवनको अस्तित्व पैदा गर्ने तत्त्व र निष्क्रिय अँध्यारो तरल बस्तु सृष्टि अघि अस्तित्वमा थियो।

 

मनुस्मृतिले यस निष्क्रिय अन्धकार पदार्थ वास्तवमै जड, हाम्रा इन्द्रियहरूले महसुस गर्न नसकिने, अनौठो रहेको उल्लेख गर्छ। ऋगबेदका अनुसार त्यही अन्धकार वाट निकै तीव्र गतिमा प्रकृतिको गर्भमा असङ्ख्य आकाश गङ्गाहरू सहित ब्रह्माण्ड भित्र अस्तित्वमा आए। जसमा अदृश्य तरल पदार्थ अथवा अँध्यारोले अन्तरिक्षमा भरियो। गतिशील ब्रह्माण्डको निर्माण भयो।

 

पुरुष सूक्तको दोस्रो पदले बताए अनुरूप सुरुवातको अविनाशी तरल पदार्थ युक्त अँध्यारो ब्रह्माण्डको मूल तत्त्व ऊर्जाको रूपमा प्रवाहित भईरहेछ। त्यसको अत्यन्त सानो अंशमात्र ब्रह्माण्ड भित्र रहेका विभिन्न पदार्थहरुको निर्माणमा सक्रिय रहँदै आएको छ।

 

सूक्तको तेस्रो पदका अनुसार ब्रह्माण्डमा मूल ऊर्जाको रूपमा प्रवाहित ऊर्जा मद्येको अत्यन्त थोरै ऊर्जा मात्र ब्रह्माण्डको ऊर्जाको रूपमा रहेर सम्पूर्ण ब्रह्माण्डको निर्माण, परिमार्जन र रूपान्तरणमा उपयोगमा आइरहेको छ। जसको ठुलो अंशको सृष्टि चक्र भित्र निष्क्रिय रूपमै राखी कुनै उपयोग गरिएको छैन।

 

पुरुष सूक्तको छैटौँ पद अनुसार विशाल, अनन्त र अविनाशकारी अस्तित्वको अत्यन्तै सानो हिस्सा मात्र सृष्टिको सम्पूर्ण चक्रलाई नियन्त्रणमा राख्न पर्याप्त देखिएको छ। बाँकी रहेको विशाल हिस्सा निष्क्रियअँध्यारो ऊर्जाको रूपमा अस्तित्वमा रहेको देखिन्छ।

 

हाम्रो परम्परागत मान्यतामा उक्त अन्धकारलाई शक्तिको रूपमा मान्दै हामीले औँसीको नाम दिएका छौ। जुन हाम्रो आफ्नो अस्तित्व सँग गहिरो साइनो राख्छ। भाद्र कृष्ण औँसीको दिनलाई कुशे औँसी र बुबाको मुख हेर्ने दिन भनिन्छ। मातातिर्थ औँसीलाई भने आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ।

शास्त्रले माता पछि पितालाई बन्दनीय वा पूजनीयको दर्जा दिने गर्छ। माता एवं पिताले आफ्नो सन्तानको पालन-पोषण निस्वार्थले गर्ने गर्दछन्। यसैले माताको साथ पितालाई देवता पनि भनिएको छ। कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुबैमा अनिवार्य प्रयोग गरिने हानिकारक जीवाणु नाशक, सूर्यको विकिरण रोक्ने औषधीय झार हो।

 

बुबाको र आमाको मुख हेर्ने औँसीको दिनमा बिहानै उठी नुहाई धुवाई गरी आमा बुबा  प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी उपहार दिई मिष्टान्न खुवाई मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भनिन्छ। वर्षभरिमा प्राय एक चोटि या दुइचोटी सम्म सोमबारे औँसी पर्ने गर्दछ। सोमबारे औँसीको दिन मौन रहेर स्नान र ध्यान गर्ने तिथिको रूपमा मनाइन्छ।

 

विज्ञान र वेद दुवैको निचोडमा मानिसको सृष्टि हुने मुख्य बीज तत्त्व डार्क-केमेस्ट्रीको देन हो। मानिसको अन्त: पनि ब्रह्माण्ड मै अन्धकारमा पुगेर समाप्त हुन्छ। एकातर्फ अन्धकार वा अल्ट्रा हाइ-भ्याकुम भित्र पानीको बरफको उपस्थितिमा बिना कुनै महसुस वा मापन गर्न सकिने शक्तिको उपयोग वाट जीवनको अस्तित्व पैदा गर्ने तत्त्वको उत्पत्ति हुने गरेको भेटिन्छ। अर्को तर्फ अन्धकार वाट प्राप्त शक्तिनै ब्रमाण्डको सञ्चालनको सबै शक्तिको श्रोत रहेको तर्फ प्राप्त सबै सूचनाहरूले सङ्केत गर्छ।

 

एक अद्भुत अन्धकार जसले हाम्रो जीवनको लागि सम्पूर्ण उपायहरुको जोहो गर्‍यो त्यो सबै हामीले आफ्नो आमा-बुबाहरू मार्फत नै प्राप्त गर्छौ। तिनै आमा-बुबाहरूले नै हाम्रो लालन पोषण र सुरक्षा गर्ने गर्छन। त्यो अर्थमा बुबा होस् वा आमा प्रति आफ्नो धन्यता र कृतज्ञता प्रकट गर्न औँसीकै दिन छानिएको हो। अद्भुत शक्तिशाली अन्धकारको पर्यायको रूपमा।

 

ध्यान अथवा मेडिटेसन गर्नु आफ्नो अन्तर आत्माको पहिचान गरी अन्तर मनको यात्रामा निक्लनु हो। हरेक अन्तर मनको यात्रामा समेत त्यही स्थिर, निष्क्रिय तर तरल अँध्यारोको अनुभूति पश्चात् आफूलाई चिन्न सहयोग गर्ने हुँदा सोमबारे औँसीको दिन नै छानिएको हो। यो अर्थमा तिनै प्रकृतिको औँसी मनाउनुको औचित्यको वैज्ञानिक तथा वैदिक दुवै पक्ष वाट स्थापित भएको मान्नु पर्छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

2Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: