मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लुटको धन लुकाउन परदेश सयर !!

क्यानेडियन रिपोटर्स।

हाम्रोमा संसारको भन्दा ठिक विपरीत सुशासनको नर्मस स्थापित भएको छ। नागरिकले कानुन उलङ्घन गरे निरीह राज्यले घुस खान्छ । निरीह राज्यका निकायले कानुन उलङ्घन गरे जनताले भोट हाल्ने सर्तमा मासु भात खान्छ। पत्रकारले कानुन उलङ्घन गरे माफिया वर्गको मान सम्मान खान्छ । लामै टिके सङ्गठित माफिया करणको सम्मानित सदस्यता प्राप्त गर्छ।

 

पानीमा रहेको माछाले पानी नखाए के खाने त भन्दै सरकारी कर्मचारी भनेकै मुलुक लुट्ने लाइसेन्स प्राप्त मालिक हो भन्ने चुरो सिद्धान्तको जगमा उभिएर चोर लाई चोरी गर्न पाउन, लुटेरालाई मुलुक लुट्न पाउन, तस्करलाई कानुनी रूपमा तस्करी गर्ने लाइसेन्स दिन नयाँ नेपालको कल्पना गरिएको रहेछ। व्यापारी लाई नक्कली भ्याट बिल बनाएर कमाउन, नेता लाई जनता नै बेची दिएर कुम्ल्याउन ल्याएको गाणतन्त्रमा मुलुकको लुटेको धन माफिया एनआरएन मार्फत विदेशमा पुर्‍याएर सुरक्षित राख्नको लागि विगतमा ठुलो ठुलो क्रान्ति रुपी छलाङको नाटक मञ्चन भएको रहेछ।

 

नेपाली सुशासनको यो अचम्मको दैनिकी मान्यता भित्र सामाजिक न्याय र सुशासनको माग गर्नेलाई अपराधी करार गरेर जेल नेल को व्यवस्था हुनु पर्ने त्यसो भने भई सकेको छैन। सायद त्यसो हुन सकेन। अब नयाँ अनुहार नारा, रूप र जोसमा आएका पार्टी रुपी नयाँ जोगी भेषका भोगीहरू वाट त्यो उद्देश्य समेत निकट भविष्यमा पूर्ति गराइने छ। पर्खौँ। मात्र समयको कुरा हो। नेपालको  आजको वास्तविक नारा भाग शान्ति, जय नेपाल बनेको छ।

 

जहाँ सम्म कारबाहीको कुरो छ, ती सबैलाई नियतिले मात्र कारबाही गर्न सकी रहेको छ।  उनीहरूले मुलुक जति लुटेको किन नहुन, घुस र कमिसन जतिसुकै हसुरेको किन नहोस् , पद र शक्तिको जतिसुकै दुरुपयोग गरिरहेका किन नहुन  उनीहरू शान्त संग रहन सकिरहेका छैनन्। उनीहरू हर घण्टा आफ्नो ताला मुनिको जमिन भासिएको अनुभूति गरिरहेको प्रतीत हुन्छ।

 

न तिनको सम्पत्ति र पदको इज्जत कसैले गर्दछ। न त तिनलाई समाजमा इज्जत पूर्ण रहन सक्ने अवसर नै प्राप्त छ। परिस्थितिले गर्ने कारबाही कानुनले दिने भन्दा अधिक पीडादायी हुने रहेछ। यथार्थमा आज तिनीहरूको नीद हराएको छ। उनीहरू मुलुकमा बदनाम छन्। मुलुक बाहिर सुरक्षित अवतरणको सम्भावनाको खोजीमा त्यो वर्ग संग सम्बन्धित कोही न कोही कि आफन्त कि बिचौलिया संसारको कुन कुनामा भड्किएको आत्माको रूपमा घुमिरहेको भेटिनु आज सामान्य दृश्य बनेको छ।

 

हिजो आज युरोप, अमेरिका क्यानडा र अष्ट्रेलिया जस्ता मुलुकमा नेपालमा भ्रष्टाचार गरी जम्मा गरेको भ्रष्टहरूको रकम ती मुलुकहरूमा लिईदिएर सामान्य प्रतिफल मात्र दिए हुने सर्तमा नगदका विश्वासिला ग्राहकको खोजी गर्न पुगेका नेपाली बिचौलिया र मतियारहरू हरेक हप्ता झन्डै चार सयको हाराहारीमा भेटिन थालेको छ।

 

उनीहरूको कुरोको अन्तिम चुरो यही हुन्छ – “प्रतिफल जे सुकै होस् कम्तीमा सवा रकम जोगिनु पर्‍यो। तोकिए अनुरूप पाउन पर्‍यो।“  सर्तमा उनीहरू विदेशमा रहँदा पकेट खर्च धान्ने सामान्य मुनाफा मिलोस। अकल्पित खराब अवस्थाको सबैभन्दा खराब अवस्थामा समेत सवा वा सम बचाई दिनु पर्‍यो। थोरै थोरै गरी आठ देखि दश वर्ष भित्रमा उनीहरूको सन्तान यता आउँदा सम फिर्ता मिल्ने ग्यारेन्टी हुनु पर्‍यो।

 

नेपाली बजारमा व्याप्त भ्रष्ट अर्थ व्यवस्थाले विदेशी बजारमा विकास गरेको टुरिस्ट लगानीको यो मोडलको फर्मुला बोकेका पैसाका ग्राहक खेतालाको रूपमा खोज्ने दलालहरूको नियमित परदेश भ्रमणले परदेशको टुरिजम बजारमा राम्रै योगदान दिन सकेको छ।

 

हाल विदेशमा व्यापक बनेको नेपाली टुरिस्ट लगानीको ट्रेन्डको समाचारले बजार पाउन वाट रोक्न नेपाल तिर सुन तस्करी र अन्य काण्ड माथि काण्डको व्यापक चर्चा परिचर्चा हुने गरेको छ। एकातिर हल्ला गर्ने अर्को तिर काम फत्ते गर्ने परम्परागत नेपाली माफिया कल्चर यस पटक समेत नेपालमा जमेर उपयोगमा आएको देखिन्छ।

 

यसैबिच नेपालमा भने नेपालको बैक वाट पैसा गयो चाहिँ कहाँ भने चर्चा दिनहुँ हुने गरेको सुनिन्छ।

 

मुलुक लुट्न र लुटेको धन सुरक्षित रूपमा राख्ने अभियान अनुरूप विदेशी भूभागको सयरमा रहेका टुरिस्ट इन्भेष्टरहरू विदेशी मुलुकमा पुग्दा भने हाम्रो समाजलाई भ्रष्ट्राचार मुक्त बनाउने भाषण दिने मात्र गरेको भेटिन्न विभिन्न भगवानको दर्शन गरी आफ्नो उद्देश्य पुरा गरिदिन भगवान् संग गम्भीर याचना समेत गरिरहेको अवस्थामा भेटिने गर्दछ।

 

उनीहरूले कहिल्यै सोचेको सम्म देखिँदैन कि गलत श्रोतको लुटेको धनको रक्षा गर्न दैविक शक्तिको सहयोग मिल्दैन। न त उनीहरूले यो कुरा बुझेको देखिन्छ कि उनीहरू संरक्षणको लागि लागिपरेको लुटेको धनको उद्देश्य आनन्द प्राप्ति हो। तर यसले आनन्द हैन पिडा दिन्छ।

 

पवित्र वेद सबैको लागि लेखिएको दस्ताबेज हो। यिनै लुटेरा र भ्रष्ट्राचारका मतियार हरुको मुद्दा वारेका समेत वेदले समाजलाई प्रस्ट मार्गदर्शन दिने गर्दछ।

एकदम शानदार जवाफहरू लेखिएको छ। जुन केही यहाँ चर्चा गरिएको छ।

 

यजुर्वेद ४०…/ १ वा इ ईशोपनिषदमा स्पष्ट गरिएको कुराहरूको आधारमा तलको कुरा भन्न सकिन्छ।

 

हे मानव ! यो सम्पूर्ण जगत स्थिर तथा गतिशील ईश्वरको (प्रकृतिको) सर्वोच्च शक्ति (भगवान्) द्वारा निर्मित छ।

त्यसैले मानवताको मूल्याङ्कनको अवयवहरू तिम्रा हरेक स्थानमा हुने कर्मको मूल्याङ्कनमा समेत उपस्थित हुन्छ। किनकि यो सर्वोपरि छ। तिम्रै शरीर भित्र, दिमाग भित्र, स्मरण भित्र तिम्रा गलत र अपराध पूर्ण गतिविधिको अवलोकन कर्ताको रूपमा चेतनाको रूपमा व्याप्त छ।

 

त्यसैले सुखको आनन्द लिऊ। सुखको लोभमा दुख दिने धनको लोभी नहोऊ। यो सम्पत्ति कसैको पनि होइन। तिमि न त तिम्रै आत्माको न तिम्रो वरपरको संसारको मालिक नै हौ। यस ब्रह्माण्डको मालिक प्राकृतिक नियमको सिद्धान्त अर्थात् ईश्वरले प्रत्येक बिन्दु बिन्दुमा व्याप्त छ।

हरेक चेतना चेतनामा रहेर तिम्रो कर्मको मूल्याङ्कन त्यसले गरिरहेको छ।

 

तिमि संसारको मालिक नभएकाले तिमीले गलत तरिका बाट जाममा गरेको सम्पत्ति धन दौलत र संसारका सुविधाहरूको स्वामित्व ग्रहण गरी त्यसको प्रयोग त गर्न सकौला तर त्यसबाट तिमि आनन्दित हुन सक्ने छैनौ। त्यही धन सम्पातिले उचित समयमा तिमीलाई यति पोल्ने छ कि त्यति बेला मैले सायद यसको स्वामित्व नलिएको भए मेरो आजको जीवन कान्ति आनन्द पूर्ण हुने थियो भन्ने अफसोसमा पर्ने छौ। तर त्यति बेला सम्म निकै ढिला भई सकेको हुने छ।

 

यो कुरा ख्याल गर कि सम्पत्ति, धन दौलत र संसारका सुविधाहरूको स्वामित्व ग्रहण गर्ने तरिका भोग र चरम सुख गर्ने नियतको भावनाविनाको  हुनुपर्छ। सत् कर्मको प्रतिफलमा प्राप्त उपलब्धिको रूपमा रहनु पर्दछ।

 

तिम्रो लोभ तिम्रो अज्ञानताको उच्चतम स्तर हो। तिमि न त तिम्रो वरपरको संसारको मालिक हुन सक्छौँ, न त तिमि मरे पछि त्यसलाई तिम्रो साथमा लान समेत सक्दछौ। त्यसैले अन्ततः के पाउने छु, कमाउने छु र उपलब्धि गर्ने छु भनी तिमि यो पाप कर्मको मतियार बनी रहेका छौ। लुटेरा हरुको धन विदेशी भूमिमा लगेर लुकाउन तिमि तिम्रो आफ्नै सम्पूर्ण सुख, शान्ति र आनन्दको कुर्बानी गरेर अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त छौ ।

 

तिम्रो गलत प्रक्रियाले जम्मा भएको तिम्रो सम्पत्ति आज जो संग मित्रता गरी तिमीले यहाँ खर्च गर्ने चाँजो पाँजोमा लागेका छौ त्यसैले भोलि तिम्रो यही लुटको व्यापारको गोप्यताको कमजोरीको उपयोग गरी तिम्रा सारा लगानी र सुखको सपना खाइदिने छ। तिम्रा सारा धन, मान, सान सबै हराउने छ। यो जान्दा जाँदै त्यसैको पछि दौडनु, सानो फाइदाको लोभमा अर्काको अपराध लुकाउने मतियार बन्नु र त्यसको लागि विदेशमा रहेका अन्यलाई समेत तिम्रो मुलुकको अपराधको जालोमा गाँस्ने तिम्रो कार्य वास्तवमै गम्भीर महा-मूर्खता र अपराध हो।

 

याद गर संसारको आनन्द लिने एउटै उपाय भनेको अनुचित लाभको लोभ, मोह र भ्रम बाट अलग हुनु हो। सतही रूपमा हेर्दा यो हास्यास्पद जस्तो देखिन सक्दछ। अस्वाभाविक तर्क जस्तो देखिन सक्छ तर यो परम वास्तविकता हो।  तिम्रो अज्ञानताले यो वास्तविकताको महसुस गर्न दिएको छैन। तिमीलाई स्यालले अङ्गुर अमिलो भनेको जस्तो भान पारिदिएको छ। तर यथार्थ त्यस्तो छैन।

 

आफ्नै मातृभूमि लुटाएर परदेशी अर्थ बजार सिञ्चित गर्ने व्यापारी रुपी हे महामूर्ख मानव, अलि गहिरो रूपमा सोच, तिम्रो मनमा सवार हालको  लुटको धनले फुपूको श्राद्ध गर्ने लहडवाट तिमीले प्राप्त गर्ने भनेको अर्काको स्वामित्वमा तिमीले लुट वाट जम्मा गरेको धन सम्पत्ति पुर्‍याएर पछि स्वामित्व पुनः सुरक्षित प्राप्त गर्नेको लालसा हो। कुबाटो वाट तिमीले आर्जेको यो सम्पत्ति तिमि वाट पनि कुबाटो हुँदै अन्यत्र पुग्ने निश्चित छ। यो वेदको यकिन हो। तिमीमा रहने भनेको मात्र त्यसले निम्त्याउने चिन्ता र मानसिक यातना र पिडा मात्र हो।

 

हरेक चिन्ताहरू केही स्वामित्वको चाहनाबाट सुरु हुन्छ। तसर्थ महामूर्ख र अज्ञानी व्यवहारहरू छोडेर साँचो अर्थमा संसारको आनन्द लिने मार्ग समात। लुटेको धनले तिमीलाई पोल्ने छ। पोल्न अघि त्यसलाई धर्म कर्ममा लगाएर आफ्नो पाप कर्मको  प्रायश्चित गर। वैदिक कार्यमा खर्च। अनैतिक चरित्र र अनैतिक आर्जन वाट अलग नभएसम्म मानव अन्तरात्मामा आनन्दको लागि स्थान उपलब्ध हुँदैन।

 

तिमीले लुट्न जानेछौ। कुकर्मको अन्तर्राष्ट्रिय सञ्जाल खडा गर्ने कला सिके छौ। त्यसमा मास्टरी नै गरे छौ।  तर दुर्भाग्य त्यसले तिमीलाई शान्ति दिँदैन। चैनको जीवन दिँदैन। गहिरिएर मनन गर, आजकै यही समयमा तिम्रो जीवन बाहिर वाट आहा र सानदार देखिएको छ। भित्र त तिमि  खोक्रो र छ्या जीवन लिएर कुदी रहेका छौ।  तिमि के खोजी रहेका छौ स्वयं तिमि लाई थाहा छैन।

 

खप्परमा काटेको कुखुरा जस्तो तिमि बेचैन भएर देश विदेश भ्रमणमा छौ। आफ्नो पीडाको रन्कोमा तिमि यति दु:खी भएर रन्थनिएका छौ कि दुई जना भेट्यो कि प्रगति कसरी गर्ने र मुलुक कसरी बनाउने भन्ने आफ्नो झुटो कहानी बनाएर बक्दै महामानव देखिने प्रयत्नमा भौँतारिएका छौ। अब त आफूले आफैलाई ढाँट्ने कला समेत तिमीले सिकी सकेका छौ।

 

संक्षेपमा भन्नुपर्दा, तिमीले बुझ्न नसकेको चुरो पक्ष के देखियो भने संसारमा कुनै पनि चीजमाथि तिम्रो स्वामित्व छैन। अरू कुरा त छोड तिम्रै शरीर माथि तिम्रो स्वामित्व छैन। तिमीले जतिसुकै प्रयास गरे पनि तिमीले प्राप्त गर्न चिज तिमीले सोचे अनुकूलको तिमीलाई सुख, सुविधा, मान, सम्मान र आनन्द आदि दिने निश्चित छैन। यो चाही निश्चित छ कि त्यो तिमि सँग संग जाने छैन।

 

जब तिमीले यो अवधारणालाई बुझ्न सक्दछौ तब तिमि यस्ता भ्रष्टाचार र लुटमा संलग्न हरुको मतियार हुने कार्यमा संलग्न बान्ने छैनौँ। तिमि त्यति बेला भ्रष्टाचारी बन्छौ, लुटेरा र अपराधीहरूको मतियार बन्दछौ जब तिमीले आफ्नो भित्री विवेकको कुरा सुन्न छोड्छौँ। आफ्नो ज्ञानलाई लोभ र लालचको अज्ञानको पर्दाले छोपेर आफै संग झुटको खेती गर्दछौ। सु:ख हुने भ्रममा दुखको पोकोको भरिया बन्ने निश्चयमा पुग्दछौ।

 

संक्षेपमा भन्नुपर्दा, तिमीले बुझ्न नसकेको चुरो पक्ष के देखियो भने संसारमा कुनै पनि चीजमाथि तिम्रो स्वामित्व छैन। अरू कुरा त छोड तिम्रै शरीर माथि तिम्रो स्वामित्व छैन। तिमीले जतिसुकै प्रयास गरे पनि तिमीले प्राप्त गर्न चिज तिमीले सोचे अनुकूलको तिमीलाई सुख, सुविधा, मान, सम्मान र आनन्द आदि दिने निश्चित छैन। यो चाही निश्चित छ कि त्यो तिमि सँग मर्दा सँगै भने पक्कै जाने छैन।

 

जब तिमीले प्राकृतिक नियमको यो वैदिक अवधारणालाई बुझ्न सक्दछौ तब तिमि यस्ता भ्रष्टाचार र लुटमा संलग्नहरुको मतियार हुने कार्यमा संलग्न बान्ने छैनौँ। तिमि त्यति बेला भ्रष्ट्राचारी बन्छौ, लुटेरा र अपराधीहरूको मतियार बन्दछौ जब तिमीले आफ्नो भित्री विवेकको कुरा सुन्न छोड्छौँ। आफ्नो ज्ञानलाई लोभ र लालचको अज्ञानको पर्दाले छोपेर आफै संग झुटको खेती गर्दछौ। सु:ख हुने भ्रममा दुखको पोकोको भरिया बन्ने निश्चयमा पुग्दछौ।

 

यहाँनिर यो कुरा ध्यानमा राख्नु कि वेदमा कदापि धन सम्पत्ति कमाउन जाममा गर्न नहुने उल्लेख गरेको छैन। यथार्थमा वेदले सय हातले कमाऊ हजार हातले खर्च गर भन्ने सिद्धान्त दिन्छ। यसको मतलब के हो भने विवेक पूर्ण बनी इमानदारीका साथ, सहकार्यका साथ धन सम्पत्ति कमाउनु पर्छ र आफ्नो जीविका आफै धान्ने अनिवार्य बन्नु पर्दछ भन्दछ वेद। त्यसलाई सय हात भनिएको हो।

 

धन, सम्पत्ति, शक्ति, प्रशंसाको भोक असीमित हुन्छ त्यसैले आफ्नो लागि मनग्ये तर सीमित धर्म कर्म रुपी कमाइको पक्षमा वेद रहन्छ। आफ्नो कमाइ आफूमा मात्र सीमित नराखी त्यसको केही अंश आफ्नो जीवन सहज गर्न भूमिका खेल्ने सम्पूर्ण पक्षको लाभको लागि समेत प्राकृतिक नियमको सिद्धान्त अनुरूप समाजको हितमा, वातावरण र प्रकृतिको हितमा समेत खर्च गर्नुपर्छ भन्दछ वेद ।

 

भ्रष्ट व्यक्तिले आफ्नो लागि मात्र कमाउँछ। अरूको लागि लगानी गर्न चाहँदैन। उल्टो जायज नाजायज सबै उपाय वाट अरूलाई लुट्ने आफूलाई पोस्ने कार्यमा लिप्त हुन्छ। वेदमा त्यस्ता भ्रष्टको भाग्यको स्थानमा सय प्रतिशत यकिनका साथ दुर्भाग्य मात्र लेखिएको हुने उल्लेख भएको छ। त्यसमा सबैको ध्यान जानु जरुरी देखिन्छ।

 

अथर्ववेद ५.१८.२ अनुसार आफ्ना व्यक्तिगत इच्छा र स्वार्थ हाबी भएका नेता र नेतृत्वहरू, शासकहरू प्राय मुलुक, समाज र बृहत्तर मानवीयताको संरक्षण पुर्‍याउने तथा हितमा रहेको कार्यहरूको नियत बस उपेक्षा गर्ने, अनुभवी विज्ञ तथा विद्वानहरूको बुद्धिमानी सल्लाहहरू बेवास्ता गर्ने र आफ्नो घुमाएर आफ्नो स्वार्थ सिद्धि गर्ने कार्यहरू सम्पन्न गर्ने इरादामा रहने गर्दछ।

 

त्यस्ता व्यक्तिहरू जति सुकै धनी, शक्ति, साधन र श्रोतले परिपूर्ण हुन् व्यवहारिक रूपमा निकै छिटै पराजित त हुन्छन् नै तर मानसिक रूपमा समेत पुनः  पुनर्स्थापना गर्न नसकिने गरी दीर्घकालीन पिडामा पुग्ने गर्दछ। त्यस्तो प्रकृतिका नेता र नेतृत्वको अत्यन्त क्षणिक सानदार वर्तमान हुन सक्छ तर तिनीहरूको समय मानवको दिन चर्या रुपी भविष्य सम्म हुन सम्भव रहँदैन। जुन अकाट्य प्राकृतिक नियमको सिद्धान्त हो।

 

अथर्ववेद ५/१८/५ अनुसार पैसा र धन दौलत लाई अधिक महत्त्व दिने, मानवता, आफ्नो इमान, जमान कर्तव्यको बेवास्ता गर्ने, सत्यलाई बेवास्ता गर्ने, आंशिक सत्यको सहारा लिएर गैर कानुनी रूपमा व्यक्तिगत र पारिवारिक सम्पत्ति आर्जन गर्न; भ्रष्ट्राचार, लुट, अन्याय, अत्याचार आदि जस्ता गतिविधिको मतियार बन्ने; भ्रष्ट्राचार, लुट, अन्याय, अत्याचारको विरोधमा उठ्ने विवेकी आवाजहरू लाई नरम र कमजोर ठानेर बेवास्ता गर्ने, दमन गर्ने लोभी शासकहरूले यथार्थमा समाजमा ठुलो हिंसात्मक सामाजिक प्रतिकारको आगो सल्काइरहेका हुन्छन्।

 

त्यो आगोको लप्काले अन्तमा तिनीहरूलाई नै समाप्त गर्दछ। सर्वशक्तिमान् प्राकृतिक नियमको सिद्धान्तले प्राकृतिक रूपमै त्यो वर्ग र सामूहिक शोषक वर्गको विनाश निम्त्याउने गर्दछ। यसमा कुनै अपवादको सम्भव छैन।

 

त्यसैले आफ्नै मातृभूमि लुटाएर परदेशी अर्थ बजार पोस्न नेपालका भ्रष्ट्राचारी नेता, शासक, कालो व्यापारी र अन्य माफियाका खेताला बनी केही शक्ति शाली एनआरएन रहेर नेपालमा जमेकाहरू समेतको सहयोगमा युरोप, अमेरिका क्यानडा र अस्ट्रेलिया जस्ता मुलुकमा हालका वर्षहरूमा सक्रिय रूपमा नियमित यात्रामा देखिने गरेका नेपाल आमाको रगतको होली खेल्ने हे नेपाली टुरिस्ट लगानी कर्ताहरू हो ! बिचौलिया र राजनैतिक व्यापारी रुपी महामूर्ख मानवहरू हो ! एक पटक तिम्रो उद्धारमा रहेको वेदले उल्लेख गरे अनुरूपको तिम्रो अज्ञानता जसले तिमीलाई मति भ्रष्ट गराउँदै आफ्नै पिडा युक्त नष्टको बाटोमा  लागि रहेको छ त्यसको बारे सोच्नको लागि समय निकाल। चिन्तन गर।  मनन गर।

114Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: