मुलुकलाई अफगानिस्तान बन्नवाट रोकौँ।
नारायण घिमिरे ।
हरेक मान्छेको जीवनमा आफ्नै अनुभव र अनुभूतिहरू हुन्छन्। तनहुँको बन्दीपुरस्थित याम्पा फाँटमा जन्मी हुर्केको आँबु गाविसको सत्रसयको स्कुलमा पढेको एउटा उरन्ठेउलो केटोको रूपमा स्कुले जीवन पार गरियो । ९–१० कक्षा पुगेपछि गोरखा च्याङ्लीको शिवरात्रि मेला जाने र आँबु गाविसमा रहेको तर हाम्रै गाउँ याम्पा फाँटको खेतबारी सिँचाइ हुने आँधी खोलाको मुहानका रूपमा रहेको आंदिमुलमा ठूला एकादशी जात्रा गएको स्मरण जीवन भर ताजा बस्ने रहेछ ।
विभिन्न मेला र पूजा–आजा हुने धार्मिक एवं ऐतिहासिक स्थलहरूको धनि नेपालमा मलाई आफ्नै गाउँको आंदिमुल जात्रा भन्दा रमाइलो अन्त कहीँ लागेन। आफू जन्मेको गाउँ र नेपाली परिवेशको तुलनामा क्यानडाको टोरन्टो होस् कि अमेरिकाको मेनहाटन सबै फिक्का लाग्ने। आफ्नो चिनेजानेको खासै कोही नभएको, आत्मीयता नबसेको हुँदा थुप्रै मान्छे र विकासको संरचना भएको भएता पनि आत्मीयता नभएको स्थानहरु दिउँसै चिच्याएर हिँड्ने मरुभूमि भन्दा पनि बिरानो र उकुसमुकुस लाग्ने स्थानको हैसियतमा पुग्ने रहेछ।
हाम्रा जात्राहरूमा जम्मा हुने लगभग आठ दश हजार सहभागीमा झन्डै हजारभन्दा धेरै आफ्नै स्थानीय समुदायका चिने-जानेका मानिस हुन्थे। आफैँले देखेका चिनेका, कतिपय बोलीचाली नभएका भएपनि बोली मिसाउन पाए हुन्थ्यो भन्ने रहरले बहाना गरी–गरी नजिक पुगिने भावनात्मक चिनारी प्राप्त भएका हुने गर्दथे। तिनीहरुको नजिक परेपछि आफ्नै बोली नफुट्ने परिस्थिति महिनौँसम्म दिमागमा घुम्ने रमाइला पलका अनुभव बन्दथे । बहाना खोजी खोजी आफ्ना समकक्षी उमेरका महिलाहरू नजिक पुग्ने तर नजिक पर्दा केही बोल्न नसक्ने, आफ्नै मुटु ढुक–ढुक भएर भाग्न हतार हुने आलो-काँचो स्कुले कुरकुरे बैँसको अनुभवहरूबाट सायदै केही सिकियो होला । तर ती अनुभवका स्मरणहरूले जीवन रसिलो र आशालाग्दो बनाएको अनुभूति हुन्थ्यो ।
जात्राहरूमा स्थानीय आफैँले पकाएका खानाका परिकारहरू सेल रोटी, तरुल, भ्याकुर बटुकी, गुन्द्रुक, भट्ट, भुटेको मकै, सिस्नोको सुप, सुकुटी, लोकल कुखुराको मासु, कोदो, फापरको ढिँडो बेच्न राखिएको हुन्थ्यो। भुटेको बदाम, उखु, उसिनेको सकर खण्ड, तरुल, सिँगडा, आलु चप, पकौडा, भटमास आदि किनेर खान पाउँदा दङ्ग फुरुङ्ग परिन्थ्यो। चिया र सिया दुवै मिल्ने रहेछ । आफूले त सिया भनेको लोकल रक्सी रहेछ र घर पालुवा लोकल पिउनुको अर्कै मूल्य रहेछ भन्ने कुरा ठूलो भएपछि मात्र चाल पाइयो।
गाउँघरको खानामा मनसुली वा बासमती धानको भात, साग र काउलीको गुन्द्रुक, खसीको मासु, लोकल कुखुराको मासु, ढिँडो, भट्ट, मस्यौरा, कर्कलो, नीयूरो, तामा आदि सामान्य जस्तै थियो। सबैको घरमा उक्त खानेकुराहरू प्राय: पाक्दथ्यो।गुन्द्रुक र भट्टको झोल तरकारी, साधेको अचार आदि मेरो अति मन पर्ने खाना थियो ।
हामी स्कुलमै रहँदाको समयमा गाउँमा विकासे योजनाहरू देखिए । तिनीहरूको प्रभावले ठूला गाह्राहरूमा तरकारी, सागसब्जी र प्लास्टिकका टनेलहरू बाक्लै हालेर बेमौसमी खेती गर्ने तरिका गाउँलेहरूले सिके। विकासे योजना आएपछि रैथाने तरकारीहरू बेमौसमी काउली, काँक्रा, मुला, क्याप्सिकम, गाँजर, जुकिनी फर्सी, बोडी, करेला, बन्दा, भन्टा, इस्कुस, परवर आदि सबै खेती हुन थाल्यो । लोकल गाई र मुर्रा भैँसीहरू जुर्रो नहुने धेरै दूध दिने विकासे गाईले विस्थापन गर्यो। लोकल कुखुरालाई बोइलरले र घाँस-पराललाई दानाले पालो दियो ।
गोलभेँडाका टनेलहरू जताततै देखिन्थे । बाहिर वाट प्रगति देख्दा के के न भए जस्तो लाग्दथ्यो। भित्री कथा भने फरक थियो। मल बिदेसी, बिउ विदेशी, विषादी बिदेसी, हलो, कुटो, कोदाली, करौँती विदेशी र प्रविधि, प्लास्टिक सबै बिदेसी। सत्तरी हजार हात पर्दा खर्च काटेर २-४ हजार हाता पर्ने गर्दथ्यो। त्यो पनि बच्चा बच्ची अङ्ग्रेजी स्कुलमा हाल्ने भन्यो सकिने।
गाउँको विकासे योजनाले कृषिको तालिम र विषाक्त पदार्थको कुन हदको स्वास्थ्यमा जोखिम, वातावरणको र माटोमा पुग्ने हानिको ज्ञान नभएका सोझा किसानको हातमा अनियन्त्रित विषादी, हर्मोन, इन्जाइम, विकासे मल थमाइदियो। योजना चलेको सात वर्ष भित्र नै गाउँमा क्यान्सरबाट मर्ने, कहिल्यै नसुनेको रोग लाग्ने, स्वस्थ्य बिग्रने विकृति देखिन थाल्यो। स्थानीय कृषिका उपजहरू, दूध आदि पहिले जस्तो पोसिलो नहुने स्वाद, नआउने र खाना खाएपछि अघाएको सन्तुष्टि नदिने बरु अमन अमन हुने जस्ता अवगुण दिने प्रवृत्ति आएको हो कि जस्तो महसुस हुन थाल्यो।
विस्तारित परिवारका रूपमा रहेको समाज एउटा व्यापारिक जनसंख्यारूपी यान्त्रिक बजारमा परिवर्तन बन्यो। समाजमा जे कुरा पनि आफुलाई पुग्ने निजी फाइदा र बेफाइदामा तौलिने संस्कृतिले जरो गाड्यो। अइचो पैँचो सबै कम हुँदै गयो। वैदिक कृषि-कर्म वैश्य कालिन कृषि पेसा तथा उद्यममा परिवर्तित बने। कृषि पेसामा भित्रिएको तत्काल नाफा लिने नाफाखोर प्रवृत्तिले सिफारिस गरे भन्दा धेरै बिसादी, मल आदि हालिदिएर कृषिका उत्पादनहरूले विश्वासको सङ्कट भोग्नु पर्यो। हरेक सुन्दर खाद्य वस्तु ओठमा हरिताल घसेकी सुन्दर नगर वधूको चुम्बन जस्तै जीवनको पासो बनेर बजारमा आएको भेटिन थाल्यो।
शाकाहारी खाना दूध, दही, खीर, पनिर, मोही, अचार, सेल रोटी, तरकारी, खीर आदि स्वाद र पोषण तत्त्व कम रहेका भेटिन थाले। स्थानीय उत्पादन उहिलेका उत्पादन जस्तो स्वाद र पोषण तत्त्व दिने हैसियत विहीन बनिदिए। बजारमा खाद्यका रूपमा बिक्रीका लागि उपलब्ध हुने भारतबाट आयातित हुन वा हाम्रा आफ्नै स्थानीय किन नहुन कम्तीमा ९८ प्रतिशत मापदण्डको हिसाबमा अखाद्य बने। उत्पादन, ढुवानी र भण्डारणमा हरेक कृषिका उपजहरू रोग र किराबाट जोगाउन अनिवार्य विषादी हालिएकै हुन थाले।
अरू त अरू अर्गानिक भनिएका समेत खाद्यको गुणस्तरको मापदण्ड पुरा गरेका हुन छाडे। अर्ग्यानिक नाम बजारमा अलि धेरै उपभोक्ता लुट्ने उपाय बन्यो। उत्पादन र बिक्रीमा तौल बढाउन प्रयोग भएका छरिएका हार्मोन, इन्जाइम मिश्रित खाद्य तथा अखाद्य रङ्ग अत्याधुनिक कृषि प्रणालीको उपजका रूपमा भान्सामा पुग्ने हाम्रो दैनिक खाना बन्न पुग्यो। मूलक वासीको स्वस्थमा कम्तीमा तिन दशकको लागि जोखिममा पुर्याइयो।
गाउँबाट स्कुल स्तरको परीक्षा एसएलसी दिएपछि अमृत क्याम्पसमा विज्ञानको प्रवीणता प्रमाणपत्रको जाँच दिनु अगाडि लामो फुर्सद मिल्यो। त्यो बेलाको फुर्सदको समयमा तास खेलेर समय बिताउने लत लाग्यो। मेरो बुबा मलाइ लत्ता-कपडा, किताब-कापी र खानपानका लागि जति पनि पैसा दिने तर तास खेल्ने, रक्सी खाने जस्ता काम गरेको थाहा पाए तोरीको फुल देख्ने गरी झापड हान्नु हुन्थ्यो । बुबाको आँखा छली छली तास खेल्न पर्दथ्यो ।
सबै सुतेपछि कुटमिरेको लाहुरे दाइ हरिलाई लिएर सुटुक्क कान्छा हिन जाम भन्न आइपुग्थे। बुबालाई रक्सी नपिउने, अर्काको चेली–बेटी, बुहारी माथि कहिल्यै आँखा नलगाउने लाहुरे दाइ तास खेल्दैनन् भन्ने विश्वास रहेछ। हरि झन् पढ्न राम्रो भएकाले लाहुरे दाइ र हरिसँग जता गए पनि केटो लाइनमा छ भन्ने ठम्याई हुन्थ्यो बुबाको। कहिल्यै कता गइस ? के गरिस ? भनी सोध्नु हुन्थेन । बेला बेलामा लाहुरे लाई हाम्रो कान्छोले चुरोट, रक्सी खाने-नखाने, तास खेल्ने नखेल्ने, तरुनी केटीको पछि लाग्ने-नलाग्ने सोध्ने गर्नु हुँदो रहेछ बुबाले। लाहुरेले छैन बरा के त्यसो गर्थे भनी दिने रहेछन्। आफूले त्यसो भनेको भनी पटक-पटक लाहुरेले सुनाउँथे। हजुर वा नारन त चुप लागेर बस्छन् । कसैले एक दुई हात खेलौँ न त भन्दा भो बाले गाली गर्नु हुन्छ भन्छन्। घरमा एक्लै बस्न मन नलागेर हामी सँग गएका हुन् भनी दिए भन्थे।
केटीको पछि लागेको वा चुरोट खाएको वा रक्सी खायो भने त लाहुरेले नै सुराकी जस्तै काम गरिदिने हुँदा सम्भव थिएन। हरि र लाहुरेबाहेक अरूसँग घर बाहिर जाने अनुमति कहिल्यै मिल्दैनथ्यो। लुकी-लुकी तास खेल्नेबाहेक अन्य मनोरञ्जनको च्याप्टर भने आफ्ना लागि बन्द थियो । तास चैँ खेलिन्थ्यो ।
हाम्रो बेलामा नजिकै ठूलो बजार थिएन । खाने भनेको पिपल गेडी मिठाई, माला मिठाई, सुन्तला मिठाइ, बिस्कुट, खसीको मासु-चिउरा, चिउरा तरकारी, चिया हुन्थ्यो । हाम्रो घरमा कुखुराको मासु र अण्डा समेत प्रतिबन्धित थियो। माछा बुबा लाई एलर्जी जस्तै हुने हुँदा खाने गरिन्थेन। नजिकैको जुन सुकै पसलमा गएर जे लिए पनि, खाए पनि पसलेको उधारो खाता भनिने कपीमा लेख्थे। सबै बुबाले तिरिदिनु हुन्थ्यो। बुबाको क्रेडिट हिष्ट्री राम्रो भएर हो कि किन हो, मैले आफूलाई चिया माग्दा मेरो नजिक भएको मेरो साथी समेत लाई बनाएर दिने गर्थे। सबै हाम्रो खातामा लेख्थे। बुबालाई भने हाम्रो कान्छो चिया अलि धेरै पिउँछ भन्ने परेको रहेछ।
फुर्मास गर्न भनी पैसा माग्ने बहाना केही हुन्थेन । किन हो कुन्नि मैले एसएलसी दिएर आएपछि आमाबाट बुबाको जानकारी बेगर महिनाको ७५ रुपियाँ फुर्मास गर्न भनी मैले प्राप्त गर्न थाले। त्यति बेला खसीको मासु चिउराको ५ रुपियाँ मात्र पर्दथ्यो । सुरुमा सबै पैसा उपन्यास किनेर पढ्न खर्च गर्ने गर्दथे । पछि अलि अलि तासमा खर्च हुन थाल्यो । उपन्यास किन्न पैसा त बुवाले पनि दिनु हुन्थ्यो। पछि पुस्तक पसलमा बुबाले उदारो खाता खोलिदिनु भयो। जे चाहियो उठाउने गर्दथे। मैले पढे पछि ती उपन्यास साथीहरूले लान्थे। साथीहरूले लगेको किताब मलाई खासै फिर्ता हुन्थेन। कहिले कहीँ केटीहरूले समेत माग्थे। त्यो बेला जसले लागेको हो उसको घरमा हुर्रिएर पुगी ल्याएर केटीहरूलाई दिने गर्दथे। प्राय: केटीहरूले भने नमागे पनि पढीसकेपछि उपन्यास अनिवार्य फिर्ता गर्दथे।
कसैले केही अनुरोध गरी केहि सहयोग माग्यो भने त्यसै त्यसै हौसिएर सहयोग गर्ने बानीले केटी होस् वा केटा सबै सँग निकै छिटै नजिकको साथी बनी हाल्ने हुन्थ्यो। पहिलो प्रभाव अन्तिम प्रभाव हुने भने जस्तै पूर्ण परिचित नहुँदै मान्छे सँग तुरुन्तै नजिक हुँदा उनीहरूको आफु वाट आशा अधिक हुने रहेछ। त्यसमा मात्र एउटा आशा पुरा गर्न नसक्दा अल्पकालमै दुरी बढ्ने समेत हुने गर्दथ्यो। केटीहरूमा भने उनीहरूले व्यक्त नगरेका कुराहरू समेत उनीहरूको मनको कुरा बुझेर पुरा गरोस भन्ने चाहना राख्ने अधिक भेटिन्थे। केटी साथीहरू सँग निकै धेरै दोस्ती तोडिनुको कारण भने प्राय: दुई वा धेरै साथी केटीहरू समूहमा रहदा उनीहरू सँग हुने कुराको क्रममा आफूले भन्दा अर्कोले धेरै महत्त्व पाएको विषय मुख्य कारक हुने गर्दथ्यो।
तास खेल्ने पैसाको मलाई समस्या थिएन । तास खेल्न चार जना चाहिने । हामी तिन जना भई हालियो। कहिले प्राइमरी स्कुलको मास्टर, कहिले भान्दाइ, कहिले कान्छो, कहिले ज्वाइँ आदि हामी सँगै नारिन आइपुग्दथे। बेलुकी १२ बजे – एक बजेसम्म तास खेलिन्थ्यो । तास खेल्ने घर सधैँ जेठदाइको हुन्थ्यो । पछि थाहा भयो, हरेक दिन जेठ्दाइ लाहुरेलाई तास खेल्न आउनु भन्ने रहेछन्। उनको निमन्त्रणा हार्न नसक्ने रहेछन् लाहुरे। त्यति बेला गाउमा बिजुली बत्ती थिएन । तास खेल्दा मट्टितेलको टुके बत्तीको धिप–धिपे उज्यालोको सहारा लिइन्थ्यो।
मास्टरहरू निकै तास चोर्ने हुँदा जहिले पनि जित्दथे । दुई जना मास्टर खालमा छन् भने त कलब्रेकमा मिलेर खेल्ने हामीलाई धुलो बनाउँथे। हरेक चार पटक खेले पछि हार जित हुन्थ्यो । जित्नेले बत्तीको भनी १-रुपियाँ दिन पर्थ्यो । जेठदाइको कान्छी बुहारीले बिचमा १–२ पटक कालो चिया दिन्थिन । अनि जित्ने सँग मलाई जितौरी भन्दै १–२ रुपियाँ हाँस्दै लिन्थिन। तास खेल्नेले प्राय: चुरोट किनेर खान्थे । मैले भने कहिले कहीँ दूध हालेको चिया र पाउरोटी अडर गर्दथे । चार रुपियाँ भएपछि खालको सबैलाई पुग्थ्यो।
तास खेल्ने काम सकिए पछि कसले कति मारियो कति हारियो भन्ने हिसाब गरी घर गइन्थ्यो । महिना भरमा हिसाब गर्दा प्राय सबैले नै ४०–५० रुपियाँ हारेकै हुन्थ्यो । लाहुरे सँग जेठ दाइले भान्जा पर्छन् भनी जितौरी लिन्थेनन। जेठ्दाइ कि बुहारीलाई लाहुरेले ए कान्छी लौ जितौरी लैजा भन्दा समेत भो दाइ बाउले कराउँछन् भन्थी। जुवा खेल्दा हामीलाई जुवाको अथित्व दिने घर मुली जेठदाइले जितौरी समेत गरेर मासिक सय डेढ सय बनाउँथे । एसएलसी पास भए पछि कलेज गइयो। खाद्य प्रविधिमा ग्र्याजुएसन पश्चात् केही कूटनीतिक नियोग, सरकार र निजी क्षेत्रको आफ्नै काम पनि गरियो । लामो अनुभव पछि महसुस भयो कि हाम्रो मुलुक नै त्यही जेठदाइको जुवा घर जस्तै चलेको रहेछ।
झन्डै आधा शताब्दीदेखि अस्तित्वमा रहेका नाफाखोर विदेशी बैंक, दातृ निकाय जस्ता जेठ्दाइहरूको घरमा मुलुकको सदैव वास हुने गरेको रहेछ। नेताहरू लाहुरे दाइको भूमिकामा रहेछन् । खेलमा जो सुकैले जितोस् जितौरी भेट्ने जेठ्दाइ कि कान्छी बुहारीको भूमिकामा रहेछन् हाम्रा कर्मचारी तत्रका टाउकेहरू। जनता भनेको म, हरि र भान्दाइ जस्तै बोलाई बोलाई लगेर दैनिक लुटिने। राजनैतिक पार्टीको नेताका सिफारिसमा आउने ठेकदारहरू मास्टर जस्तै खालमा जब बस्यो मिलेर हुन्छ वा तास चोरेर हुन्छ अन्य दुई सोझा खेलाडीलाई जसरी पनि भुट्ने झ्याली खेलाडी ।
समयको गतिसँगै नेपालमै स्वरोजगारमा जाने योजना तत्कालीन माओवादी जनयुद्ध नाम दिइएको सामाजिक अराजकताले फस्टाउन दिएन। ग्रामीण भेगमा भएका उद्योगधन्दा प्रायः सबै बन्द हुने मेसोमा आफ्नो उद्योग पनि बन्द हुन पुग्यो । नेपालमा गरिखाने उपाय देखिएन। मुगलान पसियो। क्यानडा आएको लामो समय यहाँको परिस्थिति बुझ्न र स्थानीय श्रम बजारमा बिक्ने खुबी र क्षमता विकासमै बित्यो। आफूसँग भएको सम्पूर्ण तागत, पैसा र उत्साह त्यसैमा खर्च भयो।
बल्लतल्ल केही सीप र अनुभवले वैज्ञानिक तथा रसायन शास्त्री नामको सरकारी जागिर मिल्यो। सरकारी जागिर सुरु गर्दा अलिकति अन्यत्र भन्दा पारिश्रमिक र सुविधा धेरै त हुने तर त्यो जागिर प्राप्त गर्न अघि जरुरी हुने शिक्षा, तालिम र अनुभव प्राप्तिमा खर्च भएको अत्यन्त धेरै खर्चको सवा ब्याज र यहाँको अत्यन्त महँगो दैनिक जीविकोपार्जन गर्न चाहिने मूल्य धान्न अत्यन्त कष्टकर हुने रहेछ। सरकारी बैज्ञानिक तथा टेक्निकल अफिसरको जागिरको कमाइले जीवन धान्न निकै धौ धौ पर्यो। कहिले केही बचत गरि घर किन्ने, बच्चाको शिक्षा र स्वास्थ्यको खर्च पुरा गर्ने, परिवारको खर्च, अन्य जिम्मेवारी सबै हेर्दा जीवन र भविष्य कहालीलाग्दो बनेको महसुस बन्यो।
सरकारी जागिरले पारा नलाग्ने भएपछि निजी क्षेत्रको अनुसन्धान र इनोभेसन मार्फत कटिङऐज विकासे कार्य गर्ने खाद्य तथा औषधि विज्ञानको जागिरमा हाम–फाल्न बाध्य भइयो । क्यानडा लगायतका संसारका ओईसिडी र अन्य ७५ भन्दा बढी मुलुकहरुमा आफ्नै मुलुकको व्यापारीको स्वामित्वमा रहेको कुनै पनि निजी क्षेत्रले इनोभेसन र कटिङऐज प्रविधिमा सहभागी हुन्छन् भने उनीहरूको लागि स्थायी इनोभेसन / अनुसन्धान तथा प्रयोगात्मक विकास ग्रान्ट उपलब्ध गराउने गर्दा रहेछन। उक्त स्थायी इनोभेसन ग्रान्ट अन्तर्गत मुलुकको विकास तथा आर्थिक उन्नति गर्न प्रत्यक्ष भूमिका खेल्ने इनोभेटिब आविष्कारको क्षेत्रमा काम गर्ने निजि क्षेत्रको कम्पनीका वैज्ञानिक तथा व्यावहारिक अनुसन्धानमा संलग्न विज्ञ, वैज्ञानिक, प्रविधिज्ञहरूलाई दिने तलब र सुविधाको कम्तीमा ८५ प्रतिशत नगदको पूर्ति सरकारले आफ्नो राजस्व वाट अनुदानको रुपमा गरिदिने रहेछ ।
व्यावसायिक योजना तर्जुमा गरी निजि कम्पनीहरूमा नियम पु¥याएर नियुक्ति पाएका वैज्ञानिक तथा व्यावहारिक अनुसन्धानमा संलग्न विज्ञ, प्रविधिज्ञहरूलाई दिइने तलब–भत्ता आदिको ८५ प्रतिशत सरकारले व्यहोर्ने हुँदा निजी क्षेत्रलाई आफ्नो जरुरत पर्ने विज्ञ, वैज्ञानिक, प्रविधिज्ञ आदिलाई उनीहरूको जीवन सहज हुने गरी पारिश्रमिक र सुविधा दिन गाह्रो नहुने प्रचलन संसारको प्राय सबै औद्योगिक मुलुकहरूमा रहेछ। क्यानडामा समेत त्यो सुविधा उपलब्ध हुँदा निजी क्षेत्रको प्राविधिक निर्देशकको (फ्लेबरिष्ट, खाद्य तथा औषधि विज्ञ) उपलब्ध जागिरले घर खर्ची सहज रूपमा धान्ने र अलिकति चैनको सास फेर्नसक्ने वातावरण दियो।
निजी क्षेत्रको प्राविधिक निर्देशकको जिम्मेवारी प्राप्ति पछि जीवनमा अलि बढी क्रिटिकल भएर विषय वस्तुको अनुसन्धान र खोजी गर्न, थोरै खर्च गरी विचारहरू प्राप्त गर्न, त्यस माथि केही खर्च थपी प्राप्त विचारलाई व्यवसायमा ढालेर ज्यामितीय गुणात्मकतामा आम्दानी गर्न सक्ने क्षमता विकास गर्ने इनोभेसनका काइदाहरू सिकायो। जीवनमा तिमीले के सुनेका छौ, के पढेका छौ, कति पढेका छौ त्यो संसारको कुनै सरोकारको विषय हैन भन्ने बुझियो। तिमीसँग उत्पादनमूलक सीप, गुण र खुबी के छ र त्यसलाई संसारका मानवको जीवन सहज गर्ने गरी उपयोगमा ल्याउन सकिने उपाय वा भिजन तिमि सँग के छ भन्ने कुराको मात्र अर्थ रहेको अनुभूति दिलायो।
तिम्रा ज्ञान, सम्पत्ति, पद, शक्ति, पहिचान र लोकप्रियता अरूका लागि भैँसीलाई सुनका गहना सरह नै हुन् । तिम्रा सम्पत्ति, पद र प्रतिष्ठा हैन तिमीले अरूलाई गर्ने व्यवहार नै समाजमा तिम्रो मूल्य निर्धारण हुने विषय हुन् भन्ने आत्मबोध भयो । खाद्य र औषधि विज्ञान क्षेत्रका साना ठूला झन्डै नौ सय जति वनस्पतिमा आधारित हिलिङ खाद्य, औषधि र तिनीहरूको रङ, स्वाद र वासना निर्माण गर्ने अनुसन्धान तथा इनोभेसन कार्यहरूमा प्रत्यक्ष संलग्न भएर आफूसँग भएका सीमित ज्ञान र अनुभव लाई अनुभूतिमा परिवर्तन गर्ने अवसर मिल्यो। अनुसन्धानहरु वाट प्राप्त निचोडहरुले विकास गरेको इनोभेसनको अबसर र अनुभूतिको सदुपयोग गरी कसरि आफ्नो मुलुकलाई इनोभेसनको हबमा परिवर्तन गर्दै आर्थिक रूपमा सम्पन्न पार्न भूमिका खेल्न सकिन्छ भन्ने कुराहरू प्रतक्ष अनुभूति गर्ने अवसरहरू मिल्यो।
नेपालीमा एउटा उखान छ । बर्मा गए पनि कर्म सँगै जान्छ। आफू जहाँ पुगे पनि नेपालको वारेका घरी–घरी चाहिने नचाहिने सोचहरू दिमागमा खेली रहन्छ । नेपाल वाट नियमित जसो आउने दु:खद समाचार हेर्दै गर्दा, नैराश्यपूर्ण विकासका गतिविधिको दर देख्दै गर्दा, नियमित अवनति माथि अवनति प्राप्तिको घटना बिच नेता मानिएका र सामाजिक अभियन्ता ठानिएकाहरु मुलुकले समय अनुकूल उन्नति गरिरहेको दाबी पढ्नु पर्दा तिनीहरूका तर्क हजम नै गर्नै नसकिने हालतमा पुर्याउछ।
विकासको बारे कुरा गर्दा १०० वर्ष अगाडि भालु हिँड्ने बयर घारी भएको काठमाडौँ आज नव वधूको रूपमा बिजुली बल्ने, मोबाइल फोन युक्त गाडी र यातायात पुगेको सहर बनेको दाबी सुन्नु पर्दछ । संसारले के गरे र काहा पुगे, हामीले के गर्न सकियो, हाम्रो विकासको अवसर र सम्भावना के थियो कसैको चासो रहेको देखिन्न। तथ्यमा आधारित रहेर आफ्नो आजको यथार्थ स्विकार्दै भोलिको नयाँ नेपालको उन्नतिको चित्र कोर्ने हुटहुटी न त कुनै जनता, न नेता वा योजनाविद्हरूमै देखिन्छ।
योजना आयोग र नीति आयोग जस्ता गरिब जनताको लागि श्रीपेच भनेजस्तो निकम्मा, सरकारी ढुकुटीको काल, अन्यत्र मुलुक वाट लोपोन्मुख हुँदै जाँदा हाम्रोमा हरेक प्रदेशसम्म विस्तारित भएको सुन्नु पर्छ। झन्डै आधा शताब्दी देखि हाम्रा जेठ्दाइहरूको घर बनेका नाफाखोर विदेशी बैक र दातृ निकायका पूर्व कर्मचारीहरू जो तत्काल दिइएको सरकारी जिम्मेवारी सकिएपछि समेत पुनः विदेशी बैङ्क र दातृ निकायमा नियुक्ति मिल्ने पाइप लाइनका कर्मचारीहरू हुन् , तिनीहरू अर्थशास्त्री, विषय विज्ञ, विश्लेषक, विकास विज्ञ र वरिष्ठ विद्वान वर्ग आदिको नाममा ती निकायका प्रमुखका रूपमा उदाएर मुलुकलाई दिनमा एक गुणा र रातमा चार गुणा सक्रिय रहेर मुलुकलाई धराशायी बनाउने ताला चाबी सुम्पिने गरिएको छ।
मेरा अनुभूति अनुरूप अफगानिस्तानमा भर्खरै घटेको राजनीतिक परिवर्तन वाट नेपालले समेत सिक्न पाउने अत्यन्त महत्त्वपूर्ण सन्देशहरू छन् । अफगानिस्तानमा हाम्रोमा जस्तै योजना आयोग, नीति आयोग जस्ता निकाय राजनैतिक दलका कार्यकर्ता रहेका तर कूटनीतिक नियोग फण्डडित कागती विज्ञहरूले भरिएको थियो। हाम्रोमा जस्तै आफ्ना रैथाने सिप, प्रविधि र स्थानीय अवसरहरू लाई आधुनिकीकरण गरी स्थानीय विकासको मूल धारमा जानवाट रोक्ने हजारौ मुलुकमारा नीति, नियम, विनियम र संस्कार रोपिएको थियो। मुलुकलाई बिदेसी समान, विचार, धर्म र संस्कारको एकलौटी बजार बनाइएको थियो। मुलुकको हित चिताउनेहरू मुलुकभित्र एक्लो वृहस्पति बन्थे। राज्य र आतङ्ककारी दुवैतर्फबाट उत्पीडनको सिकार बन्थे ।
मुलुकवासीलाई अँध्यारोबाट उज्यालोतिर लैजाने कार्य पाएको शिक्षण संस्था, तालिम तथा अभिमुखीकरणका निकायहरू सर्टिफिकेट धारी गफास्टहरू अटाउने व्यावसायिक अनुभव हिन, विकासको अनुभव हिन, सीपहीन, इनोभेसनको भिजनहीन पिएचडी भनिने कागजी डिग्रीधारी भुइँफुट्टाहरूको अखडा बनेको थियो । अर्को तर्फ बिदेशमा रहेर चुस्त धन कमाएका भनिने प्रवासी अफगानहरू अफगानिस्तानस्थित भ्रष्ट कर्मचारी, शासक, राजनैतिक कार्यकर्ताहरूको भ्रष्टाचारजन्य कमाइहरू चुस्त कमिसन लिएर स्विस बैंकमा जम्मा गर्न पुलको रुपमा काम गरी चुस्त कमाउने धन्दामा लिन भेटिन्थे।
विदेशमा खर्बौँ सम्पत्तिको मालिक भनी मुलुकभर प्रचारित प्रवासी अफगान भनी मिडियाले नियमित लेख्ने सेठहरू, पुँजीपतिहरू सदैव अफगानिस्तानमै भेटिन्थे। अरब र खराबभन्दा सानो कुरै गरेको सुन्न पाइन्थ्यो। राजनैतिक दलका सबै मुख्य नेताहरू र भविष्य देखिएका युवा नेताहरूसँग उनीहरूको प्रत्यक्ष सम्पर्क थियो। उनीहरूका आसेपासे र आफन्तहरू उल्लेखनीय रूपमा सरकार, योजना आयोग, बैंक, परराष्ट्र, नीति आयोग र प्रशासनका महत्त्वपूर्ण ओहोदामा नियुक्ति भएका देखिन्थ्यो। राज्य संरक्षित नेता, व्यापारी, कर्मचारीमा पिउनदेखि प्रधानमन्त्री / राष्ट्रपतिसम्म जसरी पनि राजस्व ठगीमार्फत अचुक कमाउने मन्त्र धारी निरन्तर मुलुक चुस्ने परजीवी यन्त्रमा रूपान्तरित थिए । अन्तिम अवस्थामा पुलिस तथा सैन्य निकाय समेत चरम भ्रष्टाचारको अखडा बनेको थियो। एउटा उच्च दर्जाको सुरक्षा अधिकारीले फर्जी कागती आर्मी र पुलिसको नाममा हजारौँ सैनिकको तलब भत्ता समेत बुझ्ने र प्रवासी अफगान मार्फत विदेशमा पुर्याउने चलन व्यापक रूपमा संस्थागत बनेको थियो। स्वयम मुलुककै प्रमुखलाई समेत उक्त कुराहरुको राम्रो जानकारी थियो।
संसारमा मानव इनोभेसनको हत्या गर्ने मुख्य भूमिकामा आजका आधुनिक शिक्षाका स्कुलहरू, विश्वविद्यालयहरू र तिनीहरूले अङ्गीकार गरेका सबैलाई एउटै सोलीमा कोचेर पढाउने अध्यापनका तरिका तथा प्राज्ञिक संस्कृति जिम्मेवार रहयो भन्ने निचोडमा संसार पुगेको छ। उक्त निचोडलाई स्विकारी संसारले विश्वविद्यालयहरू लाई व्यावसायिक इनोभेसन गर्ने जिम्मेवारी वाट बिदा गर्दै प्राज्ञिक अनुसन्धानमा मात्र सीमित गरिदिन थालेको छ। योजना हैन परीक्षणले योजना तर्जुमा गर्ने नीति अवलम्बन गर्दै निजी क्षेत्रको सहभागिता बिना इनोभेसनका गतिबिधिहरु सञ्चालन गर्न राजस्व खर्च हुन नदिने नीति संसारभर कडाइका साथ लागु हुने क्रम व्यापक छ।
नेपालमा जस्तै अफगानिस्तानमा पनि इनोभेसनको नाममा पुरानो बोतलमा नयाँ रक्सी राखेजस्तो च्याउसरि विश्वविद्यालय खोल्ने नाममा स्थानीय तहसम्म भ्रष्टाचार संस्थागत बनेको थियो। मुलुकमा इनोभेसनको कल्चर विकास गर्ने न त इनोभेसन केन्द्रहरूको स्थापना गरिए, न त उद्यमी अनुकूल नीति नियम नै बन्यो। सफल उद्यमी, व्यवसायी, प्रशासक, कुशल विज्ञ वा आफ्नो हैसियतमा उभिनेहरू राजनीतिमा जानुहुन्न भन्ने आम धारणा विकास गरिएको थियो। घुमाएर हैन आजको नेपालमा जस्तै राजनीति सरकारकै संरक्षणमा खुल्लम-खुल्ला डाँका मार्न पाउने अवसर भन्दा पनि छिटो रातारात अर्बौं कमाउने पेसाको रूपमा स्थापित बनेको थियो।
अफगानिस्तानमा जसरी दातृ निकाय र कूटनीतिक निकायबाट प्लान्टेडहरूले मुलुकलाई तिनै दातृ निकायबाट खुलेआम लुटाउन उत्प्रेरकको भूमिका खेले, मुलुक महँगो प्रशोधन वाट मात्र मूल्य प्राप्त गरिने मिनिरल र रेयर अर्थ बाहेक केही नभएको तन्नम भूमिमा परिवर्तित बन्यो, विदेशी र दातृ निकायको स्वार्थ समेत पूर्ति भयो, तब प्लान्टेड अफगानहरू समेत मुलुकवाट पोका का पोका डलर र कार समेत लिएर भागे। अब विदेशमै कुनै नियोगको फेरी जागिरे बन्ने छन्। आफ्नै भनिएकाहरू आफू भागे तर आफू जन्मिएको मातृभूमि भने अर्को अतिवादको पोल्टामा हालिदिएर हिँडे। आजको नेपाल समेत माथिको अवस्था सँग निकै नजिक रहेको अनुभूति जो कोहीले गर्ने गर्दछ। उक्त परिस्थितिले निकै छिट्टै हामि पनि अफगानिस्तान बन्ने त हैनौ भन्ने शङ्का पैदा गरिदिने गर्दछ। यो बारेमा आम नागरिक तहमा समयमै सचेत बन्न अपिल गर्ने हो कि?
(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा)
WRITE COMMENTS FOR THIS ARTICLE