मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आधुनिक गणेश पुराण।

वेद र विज्ञानको कसीमा गणेश शक्ति !!

अथर्ववेदाचार्य नारायण नारायण नारायण।

भगवान् गणेशका केही व्यवहारिक तथ्यहरू बारे आधुनिक गणेश पुराण वाचन गर्ने अनुमति मागे। दैनिक जीवनका बाधाहरू हटाउने शक्तिको रूपमा गणेशको पूजा गर्ने हाम्रो चलन छ। प्रकृति शक्तिलाई वैदिक भाषामा ईश्वर भनिन्छ। सामूहिक चेतना समेत भनिने ईश्वरको फरक फरक शक्तिलाई फरक फरक देवताको नाममा पूजा गरिन्छ। पञ्चायतन पूजाले पाँच प्रकारको देवहरूको पूजा लाई जनाउने गर्दछ। जसमा गणेश, नारायण, शिव, अम्बिका र सूर्यको पूजा हुने गर्दछ।

 

वेदका अनुसार सृष्टिको निर्माणको मुख्य रसायन वा कच्चा सामग्री चेतना हो। गणपति उपनिषादमा उल्लेख भए अनुसार सृष्टिमा रहेका हरेक संरचनालाई कुन संरचनाले कुन हदको चेतना प्राप्त गर्ने त्यसको यकिन गरी त्यसै अनुरूप उपलब्ध गराउने शक्ति गणेश हो।

 

वेद अनुसार सृष्टिमा रहेका हरेक संरचना सूचनाको श्रोत मात्र होइन निश्चित चेतनाको भण्डारको व्यक्त रूप समेत हो। हरेक व्यक्त रूपले असीमित अव्यक्त सम्भावना बोकेको हुन्छ। त्यो संरचना जसलाई आफू र आफ्नो वातावरणमा रहेको सूचनाको बोधको अनुभूति शक्ति हुन्छ, त्यसलाई जीव भनिन्छ। जुन संरचना लाई आफू र आफ्नो वातावरणमा रहेको सूचनाको बोधको अनुभूति शक्ति हुँदैन, त्यसलाई हामी निर्जीव भन्दछौ।

 

निर्जीव संरचना लाई सजीव राख्न आत्माले शरीरको निर्जीव चेतना सजीव हुने गरी संयोजन गर्न जरुरी हुन्छ। त्यसको लागि सामूहिक चेतना वाट चेतनाको अंश छुट्टाएर त्यसलाई व्यक्तिगत चेतना बनाउने र व्यक्तिको आत्माको रूपमा परिवर्तन गर्ने भूमिका गणेश शक्तिको हुने गर्दछ। तसर्थ हरेक जीवको चेतना निर्माण पूर्व त्यस जीवमा कुन हदको चेतनाको स्तर दिने हो त्यसै अनुरूप चेतनाको अंश बनाएर त्यस जीवको आत्मा निर्माण गर्ने काम गणेश शक्तिले गर्ने गर्दछ।

 

मानिसको हकमा गणेश शक्तिले सम्पूर्ण जीव मद्येको सर्वोच्च चेतना प्राप्त हुन सक्ने गरी चेतनाको हद कायम गरी आत्माको ईनर इञ्जिनियरिङ्ग गर्ने हुँदा गणेश शक्तिलाई मानव चेतना निर्माण पूर्वको शक्ति भनिन्छ। वेदको ज्ञानलाई मानिसले प्राप्त गर्न सक्ने ज्ञानको हद भनी मानिन्छ। ज्ञानको सिर्जना सामूहिक चेतना अन्तर्गत नै रहेकोले त्यसलाई बुझेर व्यक्तिको चेतनामा निर्धारित मात्रामा राखिदिने गणेशको कामलाई उनको वेदको लेखन कार्य मानिन्छ।

गणेशलाई व्यासको रचनाको सम्पूर्ण वेदको लेखक भनिन्छ।

 

वैदिक मान्यतामा  निर्माण र ध्वंसको निश्चित चक्रको फ्रेम वर्क अनुरूप ब्रह्माण्डको निरन्तर प्रकटीकरण हुने, विघटन हुने र पुनः प्रकटीकरण हुने चक्रीय रूप चलिरहने गर्दछ। अनन्त चक्रीय रूपको काल चक्र लाई “समय चक्र” समेत भनिन्छ। विज्ञानले भन्ने समय वा टाइम्स भने ब्रह्माण्डको प्रकटीकरण हुँदा सुरु हुने र विघटन हुँदा समाप्त हुने प्रकृतीको हुन्छ।

 

समय चक्र अनुरूप प्रकटीकरण हुने, विघटन हुने र पुनः प्रकटीकरण हुने ब्रह्माण्ड प्रकटीकरण वा व्यक्त रहँदाको भौतिक रूप समेत नियमित चक्रमा घुमेर आफूलाई सन्तुलित गरेको हुन्छ। समय चक्र भित्रकोको नियमित चक्रमा घुमी राख्ने ब्रह्माण्ड भित्र अस्तित्वमा आउने हरेक जीवहरू समय क्रममा अस्तित्वमा आउने र हराउने जीवन चक्र अनुरूप विभिन्न जीवको रूपको जीवन चक्रमा परिवर्तित हुँदै नियमित अस्तित्वमा देखिने गर्दछन्।

 

ब्रह्माण्डको प्रकटीकरणको समयमा अस्तित्वमा आउने र हराउने जीवन चक्रमा रहेका जीवहरूको जीवनको जीवितताको संयोजनमा आत्माको सक्रिय भूमिका हुने गर्दछ। आत्माको सक्रिय संयोजन हुँदा सम्म भौतिक रूपमा जीवित देखिने जीवको शरीर आत्माले संयोजन गर्ने कार्य छोडी दिँदा मर्ने गर्दछ।

 

जब आत्माले कुनै जीवको जीवितताको संयोजन कार्य छोड्दछ तब आफूले पहिले संयोजन गरेको जीवको कर्म अनुरूप आत्माले अनुभूति गरेको अनुभव अनुरूप कि अर्को कुनै जीवको जन्मँदै गरेको जीवनको संयोजन गर्ने भूमिकामा पुग्दछ, कि संयोजनको भूमिका वाट स्वतन्त्र रहन पाउँदछ।

 

आत्मा एक जीव वाट अर्को जीवको जीवितताको संयोजनको भूमिकामा पुग्ने प्रक्रिया अनुरूप जीवको जन्म, मरण र पुनर्जन्मको जन्म चक्रको सांसारिक चोला  चलिरहन्छ।

 

आत्मा जीवनको जीवितताको संयोजनको भूमिका वाट स्वतन्त्र रहन पाउँदा संयोजनको भूमिका वाट स्वतन्त्र आत्मा सामूहिक आत्मा वा परमेश्वरमा मिल्न पुग्दछ। जसलाई हामी आत्मालाई सांसारिक जीवन चक्रमा घुम्ने चोलाबाट मुक्ति मिलेको ठान्दछौ। सामूहिक आत्मा भनेको सामूहिक चेतना हो। आत्मा आफै सामूहिक आत्माको एक अंश हुने गर्दछ।

 

वैदिक दर्शनशास्त्र अनुसार ठुला हुन् वा सूक्ष्म सबै वस्तुहरू सार रूपमा एक नमुना हुन्। नमुना भनेर यहाँ वैचारिक चिजको रूपमा रहेको चेतनाको स्वरूप भन्न खोजिएको हो। जुन भौतिक तत्त्व होइनन्। मात्र अभौतिक अस्तित्व हो। जुन तत्त्व भौतिक हुँदैन त्यसलाई बुझ्न र सम्झन, यो यस्तो चिज रहेछ भनी प्रस्ट हुन हामीलाई त्यस वारेको वैचारिक व्याख्याको जरुरी हुन्छ। वर्णनको जरुरी हुन्छ। कुनै चिजको व्याख्या वा  वर्णन गर्न हामीलाई त्यसको अवधारणा समेतको जरुरी हुन्छ। त्यसको अर्थ हामीमा निश्चित हदको चेतनाको जरुरत पर्दछ।

 

जसरी कुनै चिजको वर्णन गर्न बिचारको जरुरी हुन्छ, त्यसरी नै सृष्टिको भौतिक निर्माण पनि बिचार वाट नै भएको हुन्छ भन्ने वैदिक मान्यता छ। जसरी आफ्नै स्वतन्त्र छनौट अनुरूप कुनै कर्म गर्न तपाइमा पहिला त्यो कर्म गर्ने इच्छा शक्ति जागृत हुन जरुरी हुन्छ त्यसरी नै सृष्टिको भौतिक निर्माणको कर्म सम्पन्न गर्न समेत सृष्टिकर्तामा सृष्टि गर्ने इच्छा शक्तिको जरुरी हुन्छ। सृष्टिको सृष्टिकर्ता चेतना आफै रहेकोले चेतनाको स्वतन्त्र इच्छा शक्तिको कारण  सृष्टिको भौतिक निर्माण हुन पुगेको छ।

 

सृष्टि गर्ने इच्छा शक्ति वा बिचार आफैमा चेतनाले विकास गरेको मन हो। सृष्टिको सुरुवात गर्न, सञ्चालन गर्न र  ध्वंसको लागि समेत चेतनाको इच्छा शक्तिको अनिवार्य जरुरी हुन्छ। सृष्टिको सुरुवात हुनु पहिलेको चेतनालाई सामूहिक चेतना र सामूहिक चेतनाको सृष्टिको सुरुवात गर्ने चाहलाइ सामूहिक मन भनिएको छ।

 

त्यही सामूहिक चेतनाको अंश व्यक्तिमा रहँदा त्यसलाई व्यक्तिको चेतना र व्यक्तिको चेतनाले लिने इच्छा शक्तिलाई व्यक्तिको मन भनिएको छ।

 

वैदिक अवधारणा अनुरूपको सृष्टिको भौतिक निर्माणको मोडेल विज्ञान अन्तर्गत हामीले बुझ्ने भौतिक स्पेस-टाइम-दिशाको संयोजन भन्दा अलि गहिरो छ।

 

वैदिक अवधारणा अनुरूपको सृष्टिको भौतिक निर्माणको आधार पक्ष स्पेस-टाइम- दिशा नै हो। सृष्टिको भौतिक निर्माण हुँदै गर्दाको अर्थात्  सृष्टि निर्माणको योजना हुँदै गरेको वेलाको प्रकृतिले विकास गरेको स्पेस, टाइम र दिशाको स्वरूप सृष्टिको भौतिक निर्माण पछिको स्पेस-टाइम- दिशा भन्दा नितान्त फरक हुने गर्दछ।

 

यसलाई प्रस्ट गर्न एउटा उदाहरण लिऊ। जस्तै तपाइले कुनै तैयारी चित्र कोर्नु छ भने पहिले तपाइले सिसा कलमको अस्थायी छाया आकृति बनाउने गर्नु हुन्छ। आकृतिको आकार र प्रस्तुति चित्त बुझ्दो हुँदा त्यस माथि स्थायी पेन्टको सहारा लिएर पेन्टिङ पुरा गरिन्छ। सृष्टिको भौतिक निर्माणको क्रमको सृष्टिलाई आकार दिन चेतनाको शक्तिले योजना बद्ध स्पेस, टाइम र दिशाको आकृति (FORM) निर्माण गर्ने गर्दछ।

 

प्रकृतिको रूपमा सृष्टिको भौतिक निर्माणको पक्ष पुराभई सक्दा योजना बद्ध स्पेस, टाइम र दिशा सृष्टिको भौतिक निर्माणको आधार पक्षको स्पेस, टाइम र दिशाको रूपमा रूपान्तरित हुन्छ। जसले अव्यक्त प्रकृतिलाई व्यक्त भौतिक जगतको रूपमा सृष्टिको कार्य पुरा गर्न जरुरी हुने ब्रह्माण्डको भौतिकी पक्ष रुपी स्पेस-टाइम-दिशालाई सृष्टिको अस्तित्व कायम रहे सम्म रहने व्यवस्था गरिदिन्छ।

 

यहाँनेर बुझ्न जरुरी के छ भने योजनाको समयको (सिमान्टिक) स्पेस, समय र दिसा बन्द प्रकृतिको, विभिन्न तहमा रहेको र चक्रीय प्रकृतिको अर्थात् निर्माण हुने, विखण्डन हुने अनि पुन: निर्माण हुने किसिमको हुने गर्दछ। यद्यपि ब्रह्माण्डको भौतिकि बारे विज्ञान मार्फत व्याख्या गर्न सकिने  स्पेस, टाइम र दिशा भने खुला, समतल र रैखिक हुने गर्दछ। जसको सुरुवात र अन्त मात्र हुने गर्दछ। जस्तै जीवको जीवन र आयु तथा ब्रह्माण्डको जीवन र आयु संग सम्बन्धित स्पेस, टाइम र दिशा।

 

वैदिक मान्यतामा अव्यक्त सर्वोच्च सत्य जसले संसारमा रहेका सबै अस्तित्वको निर्माण गर्ने ऊर्जाको स्रोतको आधार निर्माण गर्दछ त्यसलाई जनाउन ब्राह्मण शब्द प्रयोग भएको छ। परम अपरिवर्तनीय वास्तविकता जुन सम्पूर्ण उत्पत्तिको कारण र आधार मात्र होइन तिनीहरूको अन्तिम गन्तव्य समेत ठानिने ब्राह्मण एक आधिभौतिक परम सत्य प्राप्तिको लक्ष्य हुने गर्दछ।

 

समय र सृष्टिको उत्पत्ति एकै साथ हुने हुँदा सृष्टिको उत्पत्ति हुनु भन्दा भन्दा पहिले कुनै भूतकाल हुने कुरै भएन। सृष्टि भन्दा पहिले केवल सृष्टि कर्ता रहन्छन्। सृष्टि कर्ता तर्फ सङ्केत गर्न वैदिक मान्यताले एक अद्वैत ब्राह्मणको परिकल्पना गरेको देखिन्छ। अद्वैत ब्रह्माको सङ्कल्प वा इच्छा शक्ति वाट ब्रह्माण्डको सृष्टि भएको छ। अद्वैत द्वैत अर्थात् दुईको सम्भावनाको कारक बन्दछ।

 

हरेक निर्जीव प्राकृतिक संरचना प्रकृतिक नियमको सिद्धान्त अनुरूप सञ्चालन हुन गणपति केन्द्र बिना संभव रहदैन। विभिन्न गणरुपी संरचना वीचको गणपति केन्द्र बिना अर्थात् आपसी आकर्षण र विकर्षणको गुरुत्व चरित्र बिना समग्र संरचना आफैमा सन्तुलित बन्न सक्दैन। निर्जीव शक्तिको गणरुपी संरचना वीचको प्राकृतिक नियमको सिधान्तको धर्म कायम गर्ने शक्तिलाइ वैदिक शक्तिले गणेश शक्ति भन्ने गर्दछ।

 

जीवित प्राकृतिक संरचनाको सन्दर्भमा समेत जब एउटा रूप धेरै रूपहरूमा परिणत हुन्छ त्यहाँ पूर्ण व्यक्तिको निर्माण सम्भव बन्दछ। भूतकालको संरचनाहरूको जगमा निर्मित समूहको रूपमा जीव र परिवार हुँदै समाजको संरचना निर्माण हुन्छ। समाजमा रहेका हरेक व्यक्तिहरू लाई गण भनिन्छ।

 

हाम्रो व्यावहारिकतामा धेरै गणहरू रहेको समाजमा  गणहरू बिच मैत्रीपूर्ण जीविकामा रहने परिस्थितिको समन्वय गर्न जरुरी पर्दछ। साथै समाजलाई अनुशासित रूपमा सत्कर्ममा लाग्न प्रेरित गर्न र नलाग्दा दण्डित गर्न समेत गणाधिपतिको आवश्यक हुन्छ ।

 

गणपतिको केन्द्र निर्देशित प्रणालीलाई वैदिक समाजले गणेश प्रणालीको नाम दियो।

 

शास्त्रले व्यक्तिगत स्वार्थलाई भन्दा सामाजिक हितलाई प्राथमिकता दिएर गणतन्त्र शासन प्रणालीको परिकल्पना अनुरूप यता-उता छरिएका शक्तिहरूलाई जोड्ने र समग्र सत्कर्म र प्रगतिको सुनिश्चित गर्न गणपति भावनाको विकासको शक्तिलाइ गणेश भन्ने नाम जुरायो।

 

त्यही गणपति भावनाको प्राप्तिको साङ्केतिक लक्ष्य प्राप्तिको दिशा देखाउन गणपति अर्थात् गणेश शक्तिको अपरिहार्यता समाजमा बारम्बार सम्झाउन गणेशको स्तुति गर्ने, आराधना गर्ने र पूजा समेत गर्ने वैदिक चलन परम्परागत रुपमा हाम्रो समाजको व्यावहारिकतामा स्थापित भएको देखिन्छ।

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: