मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको राडारमा नाग पञ्चमी !

नारायण घिमिरे 

वेद र विज्ञानको दृष्टिमा नाग पञ्चमी पिङ खेलेर मनाउनु पर्ने पर्व समेत हो। हामीले त्यो पिङ खेल्ने चलन सुनेनौ, देखेनौ होला। तर यो चलन संसारभर हाल समेत जीवित छ। भारतमा त झन् यत्र तत्र भेटिन्छ। नेपालमा पनि सुदूरपश्चिमका थारु समुदाय खास गरी राना थारुहरूले नाग पञ्चमीको दिन पिङ खेल्छन्।

 

नाग देवतालाई श्रीखण्डको सुगन्ध विशेष मन पर्ने भएकाले नाग पूजामा श्रीखण्ड चन्दनका साथै भस्मको प्रयोग गर्नु राम्रो मानिन्छ। त्यस्तै नागलाई सेतो रङ्ग मन पर्ने भएकोले नाग पूजाको दिन दूधले स्नान गराइन्छ। नाग पूजामा सेतो कमलको फूलको समेत प्रयोग गरिन्छ। यस्तै नाग पञ्चमीको दिनमा यी सम्पूर्ण कार्य पूर्ण रूपमा गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ र राहुको महादशा समेत नाश भएर जान्छ भनिन्छ।

 

सबेरै नुहाइधुवाई गरेर चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूल ढोकामाथि स्थानीय गाईको गोबरले नागको चित्र टाँसेर गाईको दूध र दुबो चढाई पूजा अर्चना गर्ने गरिन्छ। रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले नागहरूप्रति कृतज्ञता ज्ञापन गर्न पूजा अर्चना गर्ने चलन रहेको जनविश्वास पनि छ।

 

नाग देवताको निवास पाताल हो। पातालको सम्पूर्ण संरचना नाग द्वारा निर्धारित तजबिज अनुसार सञ्चालन हुने सङ्केत गर्दछ। यहाँ पाताल भनेर सृष्टिको प्रमुख आधारको कुरा गरिएको हो। जुन अव्यक्त अर्थात् हाम्रो इन्द्रियहरूले देख्न नसक्ने स्मरण तथा चेतना हाम्रो इन्द्रियले देख्न सक्ने व्यक्त  संरचनाको निर्माणको नियम बारे सम्झाउने प्रयास हो।

 

हामीले हाम्रो आफ्नै कुनै भौतिक संरचना निर्माण गर्न समेत भूमि भित्र वाट आधार प्राप्त गर्न कुनै न कुनै किसिमको जगको निर्माण गर्न जरुरी हुन्छ। उक्त निर्माण कार्यमा समेत नाग द्वारा निर्धारित तजबिज अर्थात् प्राकृतिक नियमको सिद्धान्त पछ्याउनु पर्ने हुन्छ। जसलाई नाग देवतालाई प्रसन्न पार्न विशेष पूजा गर्नुपर्दछ भनिएको छ। भौतिक संरचना भनेको हामीले सहजै देख्ने व्यक्त संरचना नै हो।

 

ऋग्वेदको पुरुष सुक्तम्  १०.९० अन्तर्गतका  तलका सूक्त ७, १४ र १५ हरूले पाताल र अन्य लोकको बारे आधारभूत ज्ञान दिन सक्छ।

 

सप्तास्यासन् परिधयस्त्रिः सप्त समिधः कृताः।

देवा यद्यज्ञं तन्वाना अबध्नन्पुरुषं पशुम् ॥७॥

 

विराट सृष्टिको निर्माण गर्न, असीम रूपमा विस्तार गर्न र सम्पूर्ण जीवनलाई एक सूत्रमा बाँधेर अनन्त रूपमा परिचालन गर्न अव्यक्त प्राकृतिक शक्तिको हात रहेको छ। त्यसैलाई ईश्वरीय शक्ति भनिएको हो।

 

नाभ्या आसीदन्तरिक्षं शीर्ष्णो द्यौः समवर्तत।
पद्भ्यां भूमिर्दिशः श्रोत्रात्तथा लोकाँ अकल्पयन् ॥१४॥

 

सम्पूर्ण संरचनाको निर्माणको आधारभूत सिद्धान्त अनुरूप पृथ्वी अर्थात् भौतिक शरीर (Earth or Main body) अस्तित्वमा रहेको छ। नियमित कम्पन वा गतिशीलतामा रहने (Ear or Vibration) संरचना निर्माणका परा तथा अपरा आधार तत्त्वहरूको संयुक्त गुण वा संस्कारले वस्तुको दिसा (Directions & attributes) निर्धारण गर्दछ। त्यसैको समग्र आधारमा संसार निर्माण तथा सञ्चालनको आधारभूत सिद्धान्तको निर्धारण गरिदिन्छ।

 

चन्द्रमा मनसो जातश्चक्षोः सूर्यो अजायत ।

मुखादिन्द्रश्चाग्निश्च प्राणाद्वायुरजायत ॥१५॥

 

मन र मस्तिष्क (Mind) चन्द्रमा मार्फत परावर्तन भएर आउने प्रकाशको किरणमा रहने ऊर्जाले निर्माण गर्दछ । दृष्टि र दृष्टिकोण (Eye & Vision) निर्माणमा सूर्यको प्रत्यक्ष प्रकाशको ऊर्जाको भूमिका छ। बुद्धि र शक्तिको (Indra & Agni or Fire) निर्माण सूचनाको ग्रहण तथा खान पान (Mouth – Talk and Eat) सँग सम्बन्धित छ। शरीरको आन्तरिक सञ्चारको प्रवाह (Vayu or Wind)  श्वासले (Breath) सञ्चालन गर्दछ।

 

यसै बिच कठोपनिषद् १.३.३ लेख्दछ:

 

आत्मानं रथिनं विद्धि । शरीरं तु रथं एव ।
बुद्धिं तु सारथिं विद्धि । मनः च प्रग्रहम् एव॥

 

आत्मा मूल गुरु हो। शरीर रथ हो। बुद्धि रथ हाँक्ने सारथि हो। मन रथलाई नियन्त्रण गर्ने लगाम हो। उक्त चार रूपकहरूको संयुक्त रूप मान्छे हो ।

समग्रमा भन्दा मानसिक र आध्यात्मिक सबलताले मानिस आध्यात्मिक बन्दछ। अन्तर-आत्मा केन्द्रित हुन पुग्दछ। आफ्नो जीवनको लक्ष प्राप्ति तर्फ अघि बन्दछ। मानसिक र आध्यात्मिक रूपको निर्बलताले मानिस शरीर केन्द्रित बन्न पुग्छ। शरीरको सुख भोग नै जीवनको अन्तिम उद्देश्य भन्ने निश्चयमा पुग्दछ। मानिसको मानसिक र आध्यात्मिक सबलताको क्षेत्रलाई स्वर्ग लोक, जीवन चक्र व्यतीत हुने भौतिक संसार लाई मर्त्य लोक र शरीरको सुख भोगको सबलताको क्षेत्र लाई पाताल लोक मानिन्छ।

 

व्यवहारिक रूपमा वैदिक परम्पराको यथार्थ शास्त्र अन्तर्गत मानव जीवनको सन्दर्भको भौतिक शरीरको संरचनाको व्यक्त पक्ष लाई  पृथ्वी अर्थात् भौतिक शरीरको रूपमा बुझ्ने गरिन्छ। भौतिक शरीर निर्माणको सूक्ष्म व्यक्त तथा अव्यक्त दुवै प्रकृतिको संरचना लाई भने पातालको रूपमा लिने गरिन्छ।  हामीले भन्ने गरेको स्वर्ग, मृत्यु र नरक तिनै चिज यही पृथ्वी मै अवस्थित छ। जब मानिसले आफ्नो वास्तविक यथार्थ पहिचान गर्न असफल हुन्छ उ जनावर रुपी आवेगहरूमा रमाउन थाल्दछ। त्यो उसको पतन मार्ग वा काम, क्रोध र लोभको दुःखमय संसारको  यात्रामा रहेको भन्ने बुझिन्छ। त्यसैलाई नै नरक भनिएको हो।

 

 

जब मानिस चेतनाको अधिकतम वृद्धि बाट आफ्नो आफ्नो जीवनको उद्देश्य वा लक्ष अर्थात् आत्म-ज्ञान प्राप्ति गर्दछ तब उसले काम, क्रोध, लोभ,  मोह,  मद र मात्सर्य जस्ता सुख प्राप्ति गर्नको लागि वाधक हुने प्राकृतिक अवरोधकहरू वाट मुक्त बन्दछ। इन्द्रिय-विजयमार्फत उसले  परम-सुख प्राप्त गर्न सक्दछ। त्यसै अवस्थालाई स्वर्ग-लोक अर्थात् शान्ति, सद्भावको र आनन्दमय ब्लिसको जीवन वा संसार भनिएको हो।

 

संस्कृतमा नागको दोहोरो अर्थ छ। नागको अर्थ सर्प तथा पर्वत दुवै लाग्दछ। पर्वतको अर्थ स्थिर पहाड हो। पहाड जस्तै देखिने पर्वत स्वरूपको बादलको  स्थिर संरचना भन्ने समेत अर्थ लाग्दछ पर्वतको ।

 

नेपाली साहित्यमा प्रतिष्ठित व्यक्ति लाई जनाउन नागधिपति, शालीन सहरलाई जनाउन नगर (जस वाट नगरपालिका वनेको छ),  बहुमूल्य पत्थरलाई नागमणि, सुन्दर फुललाई नाग मल्ली, इन्द्र जस्ता पराक्रमीको हात्तीलाई नगेन्द्र भनी लेख्ने चलन छ।

 

ततोऽधस्तात्पाताले नागलोकपतयो वासुकिप्रमुखा:  शङ्खकुलिकमहाशङ्खश्वेतधनञ्जयधृतराष्ट्रशङ्खचूडकम्बलाश्वतरदेवदत्तादयो महाभोगिनो महामर्षा निवसन्ति येषामु ह वै पञ्चसप्तदशशतसहस्रशीर्षाणां फणासु विरचिता महामणयो रोचिष्णव: पातालविवरतिमिरनिकरं स्वरोचिषा विधमन्ति ॥ श्रीमद्भागवत पुराण ५.२४.३१॥

 

श्रीमद्भागवत पुराण (५.२४.३१) लेख्दछ सतलको मुनि पाताल वा नागलोक भनिने अर्को संसार छ। जहाँ शंख, कुलिका, महाशंख, श्वेता, धनंजय, धृतराष्ट्र, शंखचूड, कम्बल, अश्वतारा र देवदत्त जस्ता अनेक राक्षसी सर्पहरू र नागलोकका स्वामीहरू बस्छन्। तीमध्ये वासुकी मुख्य हो।

 

नागहरू मध्ये कसैको पाँच, कसैको सात, कसैको दस, कसैको सय र कसैको हजार टाउको हुन्छ। ति टाउकोहरु बहुमूल्य रत्नहरू सजिएका हुन्छन। तिनै रत्न वाट निस्कने प्रकाशले सारा स्वर्गलोकलाई उज्यालो बनाउँछ।

 

श्रीमद्भागवत पुराण ११ औं अध्याय, १२ औं स्कन्दमा वर्षको प्रत्येक महिना सँग सम्बन्धित नागको नाम उल्लेख छ।

 

वेदको व्याख्या गर्ने उद्देश्यमा लेखिएको स्मृति  श्रीमद्भागवत पुराणमा (५.२४.३१) नागहरूको कार्यक्षेत्र आँखाले देखिने भौतिक संसार भित्रको नाग-लोक वा पाताल भनी अणु र परमाणुको सङ्केत गरिएको छ। पाताल लोक कजाउने मुख्या राजाको रूपमा वासुकी नागराज भनी उल्लेख मात्र गरिएको छैन वासुकी नागराज धेरै रिसाउने स्वभावको भनी उल्लेख छ।

त्यो यथार्थमा क्वान्टम पार्टिकलहरू क्वान्टम युनिफाईड फिल्डमा  संयोजन गरी  अणु र परमाणु बन्ने संरचनाको उल्लेख हो। किनकि  युनिफाईड फिल्डमा क्वान्टम पार्टिकलहरू आफ्नो नियमित कम्पनको कारण निश्चित गतिमा बादल जस्तो रूपमा निरन्तर घुमेर मात्र एक स्थायी संरचनाको रूपमा अणु र परमाणु निर्माण भएको छ। तिनीहरू पनि निश्चित कम्पनको सहायताले भौतिक रूपमा देख्न सकिने अणुमा परिवर्तन भएका छन्। हरेक कम्पनमा रहेको संरचनाको उड्ने भमराको भर्भरावट जस्तै अबाज हुने गर्दछ। जसलाई उनीहरूको रिसाउने स्वभाव सँगै जोडिएको छ।

 

नाग पञ्चमीको दिन ५ वटा टाउका भएका वा अष्टकुलि नागको आकृति बनाई अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक र शंख नाम भएका अष्ट नागहरूको विशेष पूजा गरिन्छ। संसारभर व्यापक रूपमा अभ्यास गरिएको र सबैभन्दा लोकप्रिय २० औँ शताब्दीमा लेखिएको आयुर्वेदिक ग्रन्थ प्रयोगसमुच्चयका अनुसार सुरुमा अष्ट नागहरू मात्र थिए । तिनै अष्ट नागहरू वाट अन्य सबै सर्पहरूको फैलावट भएको हो।

 

अनन्त (Anant) शब्दको अर्थ अन्तको कुनै सीमितता नरहेको कुरालाई जनाउँछ। जुन नियमित रूपमा चल्ने निर्माण र ध्वंसको निरन्तरताको अवधारणा हो। जसले सूर्यको सेतो प्रकाशको मुख्य ऊर्जाको क्षमताको वर्णन गर्दछ। नाट्य शास्त्र ३.१-८ अन्तर्गत वासुकी (Vāsuki) शब्द रङ्गपूजाको (raṅgapūjā) दैवी शक्ति हो। जसले सूर्यको इन्द्रेणी रङ्गको हरेक किरणले बोक्ने विशेष प्रकारको कम्पन र ऊर्जा तर्फ सङ्केत गर्दछ। सात रङ्गको प्रकाशको शक्ति वासुकीले सेतो प्रकाशको मुख्य उर्जाको निर्माण भएको अर्थमा वासुकी लाई ऊर्जाको संयोजनको मुख्य पात्र मानिन्छ।

 

संस्कृतमा अव्यक्त निराकार तर अदभूत उर्जा तथा असीमित उपचार क्षमताको जलको (सोम रस) संयोजनको कारक वाट प्रकट हुने कमलको फूलले एक अबोध र निर्दोष व्यक्तिमा व्यक्तिमा रहने मन, शरीर र वाणीको शुद्धतालाई संकेत गर्न प्रयोग हुन्छ। शुद्धता पूर्ण अव्यक्त निर्माण सामग्री निर्मित व्यक्त ब्रह्माण्डको निर्माणको प्रक्रियाको प्रतिनिधित्व गर्न पद्म (Padma) शब्दको उपयोग भएको छ।

 

कमलको फुलको समेत उपमा लिइने पद्म (Padma शब्दले  तसर्थ प्रकट भएको व्यक्त ब्रह्माण्डको प्रतिनिधित्व गर्दछ। तक्षक (Takṣaka) शब्दको अर्थ शृष्टिको नाटकीय ईनर-इञ्जिनियरिङ्गको मुख्य सूत्रधार तथा योजनाकार भन्ने लाग्छ। कर्कोटक (Karkoṭaka) शब्द एकै श्रोत वाट विकास भएका चिजहरूको लामो शृङ्खलाको  बिछोड पछि हुने मिलनको अनुभूतिले दिने आनन्द र समृद्धिको (अर्थात् सुखद निर्माणको) अर्थ दिन्छ।

 

महापद्म (Mahāpadma) शब्द लाख, मिलियन भने जस्तै अत्यन्त धेरै सङ्ख्यामा उपस्थित रहने असङ्ख्य सङ्केत गर्न प्रयोग हुन्छ। कुलिर (Kulīra) शब्द निश्चित बिन्दुमा निर्देशित गर्ने गँगटाको घुमाउरो खुट्टा र जटिल आणविक गाँठले बनेको अणुको संरचना जस्तो लाग्ने  लुपयुक्त देखिने बनावटको संरचनालाई जनाउन प्रयोग भएको छ। शङ्ख (Śaṅkha) शब्दले नाट्य मण्डपको जग बसाल्ने क्रममा उत्पन्न हुने कम्पन ध्वनिको सङ्केत गर्दछ।

 

एक पटक गहिरिएर सोचौँ । आज हामी मानिस निर्मित विभिन्न विकिरणले भरिएको वातावरणमा बाँची रहेका छौ। त्यो बाहेक प्राकृतिक रूपमै हामी बाँचिरहेका क्षेत्र विद्युतीय र चुम्बकीय ऊर्जा मात्र नभएर सूक्ष्म क्वान्टम ऊर्जा (कम्पन रुपी भौतिक शरीर निर्माणको सार अर्थात् युनिफाईड फिल्ड) रहेको छ।

 

त्यो बाहेक हामी बस्ने ब्रह्माण्ड प्राणिक प्रवाह (Pranic Flow) अर्थात् चेतना निर्मित छ। त्यो भनेको हाम्रा वेदना, संवेग, आवेग र ब्लिस आदिको अनुभवले पैदा गरेको चेतनाले भरिएको भनेको हो। उल्लेखित सम्पूर्ण प्रकारका ऊर्जाहरूको संयन्त्रलाई हामी कस्मिक फोर्स भन्ने गर्दछौ।

 

कस्मिक फोर्सले हाम्रो वरपरको अन्तरिक्षको आवरण बनाएको हुन्छ। उक्त आवरण बन्ने क्रममा हरेक प्रकारको ऊर्जाको केन्द्रीकृत बिन्दु अर्को केन्द्रीकृत बिन्दु सँगै मिलनको जरुरी हुन्छ। त्यो धागो जस्तो नरहेर नियमित यात्रामा हुने कुहिरो वा बादल जस्तो हुने गर्दछ।

 

तर पनि तिनीहरू निश्चित ओइभको मोसनमा एक आपसमा सम्बन्धित हुन्छ। नाग अर्थात् जेलिएर निरन्तर हल्ली बस्ने तर सन्तुलित सर्पले संसारको त्यही वास्तविकताको हामीलाई स्मरण गराउने गर्दछ।

 

सूर्यको किरण वाट हाम्रो जीवनको निर्माण हुने प्राण र पन्च तत्त्व सबै (हरेक तत्त्वको) निर्माण भएको छ। हामीले देख्ने सेतो किरण सात वटा रङ्गी चङ्गी इन्द्रेणी रङ्गको किरण वाट वनेको छ।

 

यथार्थमा सात वटा घोडाले तानेको सेतो किरण रुपी रथमा तपाईँ हाम्रो जीवन बन्न जरुरी हुने ऊर्जा सूर्य वाट पृथ्वी सम्म आइपुगेको हुन्छ।

 

यी आठ कुराहरू एक आपसमा काल्पनिक डोरीले बाँधिएर यहाँ सम्म आएर हाम्रो जीवन बनेको छ भन्ने स्मरण समेत नाग पञ्चमीको नागले तपाई हामीलाई स्मरण गराउने गर्दछ।

 

त्यसैले नाग पञ्चमी हामीले हाम्रो आफ्नै आत्मा बारे गहिरो आत्मा बोध गरी उत्सवको रूपमा मनाउनु पर्ने चाड हो। जीवनको जालो बुझ्ने, महसुस गर्ने र त्यस वाट जीवन बारे गहिरो अनुभूति लिने अवसर समेत हो।

 

सृष्टिको ईनर-इञ्जिनियरिङ्ग बारे बताउने वेदका अत्यन्त गहिरा मर्महरू तपाईँ हामीलाई अत्यन्त सहज तरिका वाट बुझाउन हाम्रो परम्परामा नाग पञ्चमी जस्ता निकै धेरै चाडबाड र स्मृति ग्रन्थहरू लिखित कथाको विभिन्न पात्रको रूपमा हाम्रो समाजमा उपलब्ध छ।

 

विज्ञानले हाल विषय वस्तुको अनुसन्धानमा प्राप्त गर्न सकेको अद्वितीय क्षमताले हामीलाई प्रस्ट गर्न सकेको संसारको भौतिक, मानसिक र आध्यात्मिक पक्ष निकै रोचक र घोचक छ।

 

वेद र विज्ञानका यस्ता गहन पक्ष र यथार्थताको उजागर भएका पक्षहरूको अध्ययन गरी हाम्रा परम्परागत वेदका चुरो मर्महरू पहिचान गरी हाम्रो समाज सामु जे हो त्यही पुर्‍याउने नयाँ जिम्मेवारी आज तपाईँ हाम्रो काँधमा आइलागेको छ।

 

108Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: