मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक दृष्टिमा नागमणि ।

नारायण घिमिरे

 

नागमणि वारेको वैज्ञानिक लेख सबैभन्दा पहिले प्रोफेसर हेन्सोल्डट, पिएचडीले सन् १८९० मा हार्पर नामक मासिक पत्रिकामा प्रकाशित गरेको भेटिन्छ। उनको उक्त लेख पश्चात् वैज्ञानिक समुदायमा यथार्थमा नागमणि रहने तर त्यो सर्पको शरीर भित्र बन्ने जैविक प्रकृतिको नभएर सर्पले बाहिर वाट सङ्कलन गरी राख्ने एक प्रकारको प्राकृतिक रेयर अर्थ युक्त मुल्यवान खनिज रत्न वा पत्थर भएको खुलासा भयो। उक्त वैज्ञानिक खुलासा पश्चात् यस वारे वैज्ञानिक समुदायमा समेत धेरै चासो बढेको र यस्तै प्रकृतिको मुल्यवान खनिज रत्नहरू बारे खोजीहरू व्यापक बनेको देखिन्छ।

 

प्रोफेसर हेन्सोल्डटले लेखे अनुसार अनुसार उनले कोब्रा मोती भनेर चिनिने प्राकृतिक रूपको नाग मणि श्रीलङ्कामा उनकै आँखाले देखे। सीलोन छोड्नु पहिले उक्त मोतीका केही टुक्राहरू उनले किनेर आफू सँगै ल्याए। त्यसको परीक्षण वाट उनलाई उक्त मणि क्लोरोफेन नामक अत्यन्त दुर्लभ खनिज रहेको थाहा भयो।

 

विविधता युक्त रातो-गुलाबी (पिङ्क), रातो, रातो-खैरो, पर्पल (बैजनी) र हरियो रङ्गमा पाइने क्लोरोफेन आफैमा एक दुर्लभ क्याल्सियम फ्लोराइड युक्त फ्लुओरस्पर हो। कुनै कुनै प्रकारका क्लोरोफेनहरु अत्यन्त संवेदनशील प्रकृतिको हुन्छन्। केही समय मानिसको हातले च्याप्प समातेर लिँदा मात्र पनि हातको छिन भरको हल्का तातोले मात्र पनि अन्धकारमा घन्टौँ इलेक्ट्रो-म्याग्नेटिक रेडिएसन निकाली प्रकाश निकाल्न अर्थात् फास्फोरेन्सको लागि पर्याप्त हुने गर्दछ।

 

 

जस्तै: बर्लिनका प्रख्यात खनिज विज्ञ गुस्तभ रोजले साई बेरियाको अल्ताई पर्वतहरूमा पाइने प्रख्यात क्लोरोफेनका गिट्टी वा टुक्राहरू मात्र दिनभर सूर्यको किरण प्राप्त गरेको भरमा अन्यत्र वाट कुनै तातोपन नलिई रातभर तीव्र रूपमा आफैले निकालेको प्रकाशको चमकले चम्कने गरेको पाएका थिए।

 

फ्लोराइट सामान्यतया छोटो तथा लामो तरङ्गको पराबैंगनी प्रकाशका  अन्तर्गतको नीलो-बैजनी रङ्गको प्रकाश उत्पादन गरी चम्कने गर्दछ। कुनै कुनै भने क्रिम वा सेतो रङ्गको प्रकाश निकालेर समेत चम्किएको भेटिन्छ। यथार्थमा क्याल्सियम फ्लोराइट निर्मित प्राय धेरै क्लोरोफेनहरु  फ्लोरोसेन्स गुण युक्त हुने गर्दैनन्। जब उक्त फ्लोराइटमा  यट्रीएम, युरोपियन, समारिएम वा तिनका अन्य तत्त्वहरू क्याल्सियम फ्लोराइट युक्त खनिजमा न्यून मात्रामा अर्थात ट्रेस मात्रामा मिसिन्छ तब फ्लोरोसेन्स अर्थात प्रतिदीप्ति सम्भव रहने अनुमान गरिन्छ।

 

दिनभर सूर्यको किरणवाट विशेष प्रकारका क्लोरोफेनको ईलेक्ट्रोनहरु इनर्जी खिची लिएर उत्साहित बनी माथिल्लो अर्बिटमा गएर घुम्ने गर्दछ। बेलुकीको समयमा सूर्यको किरण वाट शक्ति प्राप्त नहुने हुँदा आफ्नै नियमित स्थानको कम ईनर्जिको अर्बिटलमा फर्कने क्रममा दिउसो खिचेर राखेको शक्ति ओकल्ने गर्दछ। यसरी ओकलिएको वा फालिएको शक्ति प्रकाशको किरणको रूपमा बाहिर निस्कने हुँदा रातको समयमा क्लोरोफेन चम्कने गर्दछ।

 

जुनकिरीले रातिको समयमा प्रकाश निकाल्छ। जुनकिरी मानिसले मन पराउने कारण के हो भने तिनीहरूले आफैले हरियो र पहेँलो रङ्गको अत्यन्त सुन्दर प्रकाश उत्पादन गर्ने गर्दछन्। जुनकिरी आफैमा बायोलुमीनिसेन्ट गुण युक्त हुन्छ। जुनकिरीको शरीरमा रहेको जैविक प्रकाश उत्पादन गर्ने दुई प्रमुख मलिकुल लुसी-फिरिन र लुसी-फिरेज निकै लामो समय देखि औषधि विज्ञानमा प्रयोग हुँदै आएको छ। जुनकिरीको पछाडिको भागको फोटिक अङ्गले प्रकाश उत्पादन गर्ने दुवै मलिकुलहरु लाई एक्लै-एक्लै नियन्त्रणमा लिने गर्दछ। फोटिक अङ्गमा जुनकिरीले लुसी-फिरिन र लुसी-फिरेजलाई एकापसमा मिसिन दिन्छ तब त्यहाँ प्रकाशको किरण निस्कन्छ।

जीवविज्ञान र चिकित्सा प्रणालीको अनुसन्धानमा प्राय गरेर जैविक अणुहरू पत्ता लगाउन आवश्यक पर्दछ। उदाहरणको लागी क्यान्सरको  उपचार गर्नको लागि डाक्टरहरू लाई के बिरामीको शरीरमा क्यान्सरको ट्युमरका कोशिकाहरूको उपस्थित छ वा छैन भनी यकिन गर्ने अत्यन्त छिटो र भरपर्दो तरीका हरुको आवश्यकता पर्दछ। हाल सम्म उक्त कुराहरू पत्ता लगाउने विभिन्न परीक्षणका विधिहरू उपलब्ध भएता पनि तिनीहरू प्राय धेरै समय लिने र अधिक खर्चिला छन्।

 

 

यसै सन्दर्भमा वैज्ञानिकहरूले जुनकिरीमा प्रकाश निकाल्ने खुबी राख्ने इन्जाइमलाई रासायनिक रूपमा टूईक्स वा फरक प्रकृतिको इञ्जिनियरिङ्ग गरी आफूले पहिचान गर्न चाहेको जैविक अणुका प्रकारहरू बिरामीमा रहेको नरहेको यकिन गर्नको लागि सङ्केत दिने प्रयोजनमा उपयोग गर्न सफल बने।

 

जुन अत्यन्त सस्तो, सरल र लक्षित गरिएको जैविक अणुहरू छिट्टो पत्ता लगाउन सक्ने उपाय बन्न सक्यो। फलतः आज जुनकिरीको फो-टिक अङ्गमावाट प्राप्त गरिने लुसी-फिरिन र लुसी-फिरेज क्यान्सर, स्ट्रोक, एड्स, स्वतः प्रतिरक्षाका विकारहरू, रगतका विभिन्न रोगहरू, हृदयाघातको क्षति यकिन गर्न उपयोगमा आउँदछ। त्यसमा पनि अति महत्त्व पूर्ण प्रकृतिको स्नायुहरूको क्षति हुने  अल्जाइमर जस्ता रोगहरू तथा कोषहरू लाई मार्न वा बढ्न नदिनको लागी औषधिको प्रयोग गर्न आवश्यक पर्ने अन्य विकारहरूको वारेको  परीक्षणमा समेत लुसी-फिरिन र लुसी-फिरेज उपयोगमा आउने गरेको छ।

 

 

बायोलुमीनिसेन्ट रासायनिक प्रतिक्रियामा संलग्न हुने लुसी-फिरिन एक फोटो-प्रोटिन हो जसले प्रकाश निकाल्छ। लुसी-फिरिनले पहेँलो वा हरियो प्रकाश बनाउनको लागी चार्ज आयोनको आवश्यकता पर्दछ। जुनकिरीको शरीरको मनोबैज्ञानिक, भौतिक र रासायनिक प्रतिक्रिया तथा अझै राम्रोसँग बुझी नसकिएको प्रतिक्रिया मार्फत लुसी-फिरेज नामक इन्जाइमको सहजीकरणमा प्रकाश बन्ने प्रक्रियाहरू ट्रिगर हुने गरेको भेटिएको छ।

 

 

समग्रमा रासायनिक उत्प्रेरक इन्जाइम लुसी-फिरेज अक्सिजन सँगै जोडिएर सब्सट्रेट प्रोटिन लुसी-फिरिन सँगको रासायनिक प्रतिक्रिया सम्पन्न गराएर प्रकाश उत्पादन सम्भव पार्दछ। अक्सि-लुसी-फिरिन र  पानी सह-उत्पादनको रूपमा पैदा हुन्छ।

 

 

भाले-पोथीको मिलन र मौसमी सम्भोगमा रमाउने जुनकिरी एक सम्भोगको मौसम देखि अर्को सम्भोगको मौसम सम्म एक-दुई वर्ष मात्र बाँच्ने गर्दछ। सम्भोगको मौसममा तसर्थ प्राय: भाले-पोथी जुनकिरीहरू आफ्नो सिकारीहरू वाट बच्न र सम्भोगको लागि विपरीत लिङ्गी साथीहरू लाई आफू तर्फ आकर्षण गर्न प्रकाश निकाल्ने अनुमान गरिन्छ।

 

 

समुद्रमा हुने ऐङ्गलर फिस नामक एक प्रकारको माछाले समेत प्रकाश उत्पादन गर्छ। गहिरो समुन्द्रमा एका तर्फ सूर्यको प्रकाश पुग्दैन भने अर्को तर्फ पानीको उच्च दबाब र धेरै कम तापक्रम हुने गर्दछ। उक्त स्थानमा जीविकोपार्जन गर्ने ऐङ्गलर फिस नामक जातिको पोथी माछा जैविक रूपमै प्रकाश उत्पादन गर्ने बायोलुमीनिसेन्ट गुण युक्त हुन्छिन।

 

 

आफ्नो शरीरको माथिल्लो भागमा रहेको एन्टेना जस्तो भागमा बस्ने ब्याक्टेरिया र आफू दुबैलाई फाइदा पुग्ने गरी जीवित रहेको सिमवायोन्ट ब्याक्टेरियाको सहयोगमा ऐङ्गलर फिसको जुँगा जस्तो भागमा प्रकाश उत्पन्न हुन्छ।

 

 

ठुलो मुख भएको पोथी ऐङ्गलर फिसको मुखमाथि रहेको प्रकाशको कारण आकर्षित हुने जीवहरू ऐङ्गलर फिसको मुखमा आफै पर्न जाने हुँदा कम परिश्रम गरेर नै खान र आफ्नो जीविका गर्न उक्त प्रकाशले ऐङ्गलर नामक माछा लाई सहयोग गर्दछ।

 

तुलनात्मक रूपमा हर्दा भाले जुनकिरीले उत्पादन गर्ने प्रकाश जुनकिरी आफैले उत्पादन गर्ने जैविक प्रकाश हो।  ऐङ्गलर फिस नामक पोथी माछाको जुँगामा उत्पादन हुने प्रकाश भने त्यहाँ टाँसिएर रहने माछामा आश्रित रहने ब्याक्टेरियाहरूको जैविक प्रकाश हो। जबकि नाग-मणि वाट प्राप्त हुने प्रकाश भने पृथ्वीमा पाइने एक रेयर-अर्थको रूपमा रहेको सूर्यको किरण सँग संवेदनशील रहने विशेष प्रकारका क्लोरोफेन नामक पत्थर वा मिनिरल वाट प्राप्त हुने अजैविक मणिको प्रकाश हो।

 

 

सर्पहरूको राजा समेत भनिने नाग राजा वा कोब्रालाई कैदमा उत्तम पालन पोषण गरी राख्दा २० देखि ३० वर्ष सम्म मात्र बाँचेको रेकर्ड छ। जङ्गलको सङ्घर्ष पूर्ण जीवन उजाड स्थान, अभाव र अन्य परिस्थिति सँगको नियमित जुधाइको अवस्थामा तिनीहरूमा हुने धेरै सङ्ख्याको शिशु मृत्यु दर, रोगहरू, सिकारीहरू, खराब मौसम, दुर्घटनाहरू, वा खानाको लागी प्रतिस्पर्धाले निम्त्याउने  मृत्यु दरको कारण तिनीहरू लामो समय बाच्ने सम्भावना रहँदैन। त्यसैले तिनीहरू कैदको पूर्ण पालन पोषणको अवस्था भन्दा धेरै बाच्ने स्थिति देखिँदैन। र भेटिएको समेत छैन।

 

 

कुनै जमानामा रेयर अर्थको खानी भएको स्थान हुँदै बहने नदी जब अर्कै बाटो बग्दछ वा सुक्दछ त्यहाँ नदीको बगेको डोब तथा जमिन माथि र भित्र सुख्खा ढुङ्गाका बगरहरू भेटिने गर्दछ। उक्त बगरहरू क्लोरोफेनका चामलका गेडा जस्तै अन्दाजी २ सेन्टिमिटर लम्बाई र २ सेन्टिमिटर चौडाइका ४-५ ग्राम जति तौलका सा-साना गेगरहरू समेत मिसिएका हुन्छन्। त्यो भन्दा ठुला गिट्टी वा साना बालुवाको रूपमा समेत उक्त विशेष प्रकारका क्लोरोफेन मणिहरू रहने गर्दछन्। यस्ता स्थानहरू श्रीलङ्का, बर्मा, उराल (साइबेरिया) आदि जस्ता ठाउँहरूमा धेरै पाइने बताइन्छ।

 

श्रीलङ्का, भारत, नेपाल आदि स्थानमा उक्त क्लोरोफेन मणिहरू लाई सरपेन्ट स्टोन, नाग-ढुङ्गा, कोब्रा-मणि वा नाग-मणि समेत भनिन्छ। साई-बेरियामा भेटिएको उक्त प्रकारको क्लोरोफेन हातको तातोको प्रभाव बाट सेतो चमक, उम्लेको पानीको प्रभावले हरियो प्रकाश र जलेको कोइलाको तातोको प्रभावले पन्ना जस्तो हरियो प्रकाश दिने गरेको भेटिएको छ। भर्जिनियाको अमिलिया कोर्ट हाउसमा रहेको क्लोरोफेन लाई लामो समय देखि थर्मोलुमीनिसेन्टको रूपमा मान्यता प्राप्त छ।

 

 

किनकि यो बायोलुमीनिसेन्ट जस्तो जीवले उत्पादन गर्ने प्राकृतिक किरण नभएर तातोको कारण निर्जीव पदार्थले उत्पादन गर्ने थर्मोलुमीनिसेन्ट हो। उक्त  क्लोरोफेनमा युभी-रे अर्थात पराबैंगनी किरणहरूको सम्पर्कमा ल्याउँदा निलो प्रकाश सहित चम्कने गर्दछ। त्यो तातो सँग यति संवेदनशील छ कि मानव हातको तातो बाट समेत हरियो चमक वा प्रतिदीप्ति दिने गर्दछ।

 

 

सर्पको जातिहरूमा सम्भवतः कोब्रा एक मात्र सर्पको जाति हो जसले कीराहरू खाने गर्दछ।कोब्राहरू कमिला, फट्याङ्ग्रा, विभिन्न प्रकारका बीटल वा किराहरू आदि खाने गर्दछ। यो मध्ये कोब्राको प्राथमिकतामा राती सजिलै पकड्न सक्ने जुनकिरीहरू तथा प्रकाशमा आकर्षित हुने किराहरू खाएर बाँच्ने पर्दछ। अत्यन्त साना किराहरू, फट्याङ्ग्रा,कमिला आदि पक्डिएर दैनिक पेट भर्ने काम कोब्राको लागि अत्यन्त झन्झट पूर्ण र थकाई लाग्दो कार्य हो।

 

 

कीट विज्ञहरूका अनुसार उड्ने र प्रकाश निकाल्ने जुनकिरीहरू भाले प्रजातिको हुने गर्दछ। पोथी जातका जुनकिरीहरू भाले भन्दा कम हुने, धेरै ठुला हुने र उड्न प्राय: नसक्ने प्रकृतिको हुन्छ किनकि तिनीहरू सँग प्राथमिक प्वाँखहरू मात्र रहने गर्दछ। तसर्थ तिनीहरू भुईँमा घाँसमा चुपचाप शान्त सँग बस्छन्। पोथी जातका जुनकिरीहरूले रातमा हरियो बत्ती उत्सर्जन गर्दछन् जुन भाले जुनकिरीको तुलनामा धेरै चहकिलो हुन्छ। कहिले फिका हुने र कहिले चम्किने गरी नियमित अन्तरालहरूमा  उत्सर्जन हुने पोथी जुनकिरीको प्रकाशले आकाशमा उडेका भाले जुनकिरीहरू पोथी जुनकिरी तर्फ आकर्षित हुने गर्दछन्। पोथीको खोजीमा उक्त प्रकाशको निकटतामा पुग्दछन।

 

 

क्लोरोफेनले समेत अँध्यारोमा गाढा हरियो रङ्गको प्रकाश उत्सर्जन गर्ने  गर्दछ जुन पोथी जुनकिरीले उत्सर्जन गर्ने प्रकाश जस्तै देखिन्छ। क्लोरोफेनले दिने प्रकाशलाई देखेर भाले जुनकिरीहरू लाई पोथी जुनकिरी रहेको भ्रम दिन सम्भव तुल्याएर सजिलै आफ्नो सिकार पार्न सकिने कुरा कोब्राहरूले जेनेटिक वा परम्परागत रूपमै सिकेका हुन्छन्। हरियो रङ्गको प्रकाश देख्यो कि पोथी जुनकिरी भेटिएको भ्रममा पर्ने भाले जुनकिरीले गल्ती गर्ने कमजोरी लाई कोब्राले उपयोग गर्ने गर्दछ। अनुभव वाट कोब्रा जति धेरै उमेरको भयो त्यति क्लोरोफेनको जम्मा गर्ने, सुरक्षा गर्ने र उपयोग गरी जुनकिरी लगायत कमिला, फट्याङ्ग्रा, विभिन्न प्रकारका बीटल आदिको सजिलै सिकार गर्ने कायदा सिक्ने गर्दछन।

 

 

सुरुमा सिकारको खोजीमा सुक्खा नदीको तट आदिमा घुम्दै गर्दा त्यहाँ रहेको चम्किलो क्लोरोफेनको टुक्राको चमकमा आकर्षित भएर जम्मा भएका कीरा, लार्भा आदि  खाने गर्दछ। दैनिक सिकार खोज्ने क्रममा चम्किलो क्लोरोफेनको टुक्राको वरपर सजिलै सिकार भेटिने अनुभवले कोब्रा लाई भोग लग्यो कि त्यहाँ पुर्‍याउने बानी विकास गरिदिन्छ र त्यहाँ दैनिक फर्किने गर्दछ। केही समयमा उक्त स्थानमा क्रमशः अन्य धेरै कोब्राहरू समेत आउने र खानको लागि प्रतिस्पर्धा हुने गर्दछ।

 

 

आन्तरिक प्रतिस्पर्धाले कोब्राले आफ्नो लागि छुटै क्लोरोफेनको व्यवस्था गर्न र एकाधिकार जमाउन उक्त  क्लोरोफेन आफैसँग बोकेर हिँड्छ र यसलाई आफ्नो महत्त्वपूर्ण खजानाको रूपमा जोगाएर राख्न सिक्दछ। जसलाई आफ्नो निश्चित स्थानमा लुकाउने र चाहिदा प्रयोग गर्ने गरी क्लोरोफेनको उपयोग गर्न कोब्राले सिक्दछ। जुन उसको खाने मूल आधारमा परिवर्तन हुन्छ। हुन पनि क्लोरोफेन कोब्राको लागि खाना प्राप्ति गर्ने सजिलो साधन बनिदिन्छ।

 

नियमित खानाको जगेडा गर्न अब कोब्राले क्लोरोफेनको टुक्राहरू रातको समयमा घाँसमा जम्मा गर्ने गर्छ र त्यही आराम सँग बस्दछ। उक्त प्रकाश सँग आकर्षण भएका किराहरू जब प्रकाश तर्फ जान्छन् तब कोब्राको मुखमा पर्न बाध्य हुन्छन्।  कोब्राले सजिलै कीराहरू समात्न र खान सक्दछ।

 

 

अनुसन्धानहरुमा जब भर्खरको सानो कोब्राले क्लोरोफेनको टुक्राहरू भेट्दछ त्यसले उक्त टुक्राहरु आफूसँगै लिएर जाने गरेको भेटिन्छ। यसले कोब्राहरूले क्लोरोफेनको टुक्राहरू आफूलाई खाना खोज्न सजिलो हुने गर्दछ भन्ने ज्ञान विरासत वाट अथवा परम्परागत स्मरण वाट प्राप्त गर्ने कुरा तर्फ इङ्गित गर्दछ।

 

 

कोब्रा जब धेरै बुढो हुन्छ तब उसको खानको लागि सिकार खेल्ने तागत क्षीण बनेको हुन्छ। धेरै उमेरको कोब्राले धेरै क्लोरोफेनको टुक्राहरू जम्मा गर्ने र धेरै प्रकाशले सिकार सजिलो पारिदिने गर्दछ। यदि कसैले कोब्राले जिबन भर लगाएर जम्मा गरेको उक्त क्लोरोफेनको टुक्राहरू देखेर लगिदिएमा धेरै उमेरको कोब्रा खानाको अभावमा मर्ने स्थिति सम्म आउने गर्दछ।

 

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

 

 

67Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: