वैज्ञानिक दृष्टिकोणमा होली पर्व !

नारायण घिमिरे
होलि सम्बन्धका दुइ कथाहरु चर्चित छन्। त्यसमा हिरण्यकश्यप संग जोडिएको सन्दर्भ निकै चर्चित रहेकाले यहाँ त्यसै सन्दर्भमा चर्चा गरिएको छ।
हिरण्यकश्यप एक अत्यन्त शक्तिशाली राजा थिए। शक्तिशाली भएता पनि नियतगत रुपमा उनि एक असुर वा असत्यवादी राजाको रुपमा स्थापित थिए।
असुरको अर्थ हो आफ्नो निजि स्वार्थ, भोज, मोज र भौतिक आनन्दमा मात्र सिमित रहने। तत्कालको मात्र सोच्ने।
दुरगामी नकारात्मक प्रभाब नियन्त्रण आफ्नो जिम्वेवारी महसुस नगर्ने। विज्ञानको प्राकृतिक सिधान्त विपरित प्रकृति बिनास तथा पर्याबरनिय सन्तुलन खलवलाउन हरपल उद्दत हुने।
हिरण्य कश्यपका प्रह्लाद नामका छोरा थिए। समय क्रममा मोज, मस्ती, आफ्नो स्वार्थ सिद्धि केन्द्रित सोचले पितमा विकास भएको खराब नियत संग प्रह्लाद परिचित बने। वुवाको सोच अनुसार प्राकृतिक नियमको सिद्दान्त विपरीत कार्यहरु संचालन गर्ने हो भने समाजमा बढ्ने अन्यायले सामाजिक सत्भाव खलल हुने तथा प्राकृतिक र पर्यवरणीय बिनासले विभिन्न प्रलयहरु निम्तने र सम्पूर्ण चराचरहरुले अपुरणीय क्षति र दुख व्यहोर्न पर्ने यथार्थको ज्ञान प्रह्लादमा भयो।
आफ्नो पिताको गलत विचारधाराले समाज र लोकको कल्याण नगर्ने उल्टो बिनास निम्तने दिब्य ज्ञान पाएका प्रह्लादले बुवाको विचारधारामा रहेको अपूर्णतालाइ पुरा गर्न जरुरि सम्झे।
प्रह्लादले आफ्नो पिताको विचारधारा भन्दा फरक विचारधारा समाजमा पुर्याउने कोशिस गरे।
प्रह्लादका कतिपय फरक बिचार धारा पिताका विचारधाराको बिपरित हुन पुग्यो। प्रह्लादले सत्यको पक्षमा उभिन आफ्नो बिपरित मतहरु पिताको सामू समेत बिन्ति गरे।
पितालाई उनले विष्णु सिद्दान्त अबलम्बन गर्नु पर्ने तर्क सारे।
वैदिक परम्परामा विष्णु सिदान्त ब्रहमाण्डको सन्तुलित संचालनको लागि पालना गर्नुपर्ने प्राकृतिक नियमका सिद्दान्तको पालन गर्नु हो।
ब्रहमाण्डको सन्तुलित संचालनको लागि अनिवार्य रुपमा पालन गरिनु पर्ने पर्यावरण र प्राकृतिक संरक्षण लगायतका प्राकृतिक नियमका सिद्दान्तहरुको पालना गर्नुपर्ने नियम हो।
तपाइलाई थाहै छ हाम्रो गाउँ माथि सुन्दर बनले लिएको जमिन हाम्रो सबैको खेति गर्ने जमिन भन्दा सात गुना धेरै छ।
त्यो बन फडानी गरी खेती गरेमा अर्को साल सम्म खान पुग्ने गरी अन्न उब्जाउन सकिन्छ।
अर्को साल अनिकाल परे पनि मौजादमा रहेको अन्नले एक सालको अनिकाल टर्दछ।
तर गाउँले ले त्यो गर्दैनन्। दु:ख गर्छन्।
एक वाली को सट्टा तिन वाली लगाउने गर्दछन्। तर वन फाँड्न दिँदैनन्।
किनकि वन जब फाँडिन्छ गाउँमा चाहिने वेला वर्षा हुँदैन।
जब वर्षा हुन्छ अधिक हुन्छ। पहिरो जाने गाउने विनाश गर्ने गरी हुन्छ।
चराचुरुङ्गी र जनावरहरू विस्थापित हुन्छन्।
हावामा अक्सिजनको मात्रा घट्न जान्छ। खेतको पनि उब्जनी घट्दछ।
बिस्तारै गाऊ मरुभूमिमा परिवर्तन हुन्छ।
अन्ततः मानव जातिले मात्र हैन सम्पूर्ण वनस्पति र चराचर जगत् सबैले दुख पाउँछन्।
आफ्नो लागि दुई दिन धेरै उब्जनी गर्न बन फाँड्ने विचारधारा असुर विचार हो।
प्रकृतिको नियम बुझेर भएको जग्गामा मेहनत गरी खेती गर्ने र वन जोगाउने बिचार प्राकृतिक नियमको सिद्धान्त मान्ने दिव्य बिचार हो।
विष्णु सिद्धान्त हो। विष्णु भक्ति हो।
प्राकृतिक नियमको सिदान्त उल्लघनले दिने दिर्घकालिन असर वारे ज्ञान नभएका असुर राजा हिरण्य कश्यपले प्रह्लादको बिष्णु भक्ति र आफ्नो विचार प्रतिको अनादार लाइ प्रह्लादको बचपना र घमण्डको रुपमा लिए।
छोरा प्रह्लाद लाई सम्झाउने उनको सबै कोसिस नकाम बने पछि प्रह्लादको घमण्ड नष्ट गर्न हिरण्य कश्यपले आफ्नी बहिनि होलिकाको सहयोग लिने निश्चय गरे। उनले आफ्नी बहिनी होलिकालाई प्रह्लादको घमन्ड नष्ट गर्न वा प्रह्लादलाइ मारिदिने आदेश गरे।
प्रलादलाइ मारिदिने मतलब आफुलाई तत्काल उपलब्ध भएको विकल्पको प्रयोग गरि आफनो तत्काल उन्नति हुन सक्ने निश्चित भएको हिरण्य कश्यपको बिचारको बिपरित तत्कालको फाइदा अनदेखा गर्दै (हुने वा नहुने निश्चित नभएको) लामो समयमा उक्त विकल्प धेरै हानिकारक सिद्ध हुने तर्कमा दृढ रहेका प्रह्लादको मनका बिचारहरु बिमर्श वाट नष्ट गरिदिने।
यहाँ हिरण्यकश्यपको आँखाले दोषपूर्ण देखेको प्रह्लादको विचार परिवर्तन गर्न भूमिका खेल्न होलिकाको सहयोगको अपेक्षा गरेका हुन्।
हिरण्य कश्यप आफ्नो विचार धारा सही रहेको विश्वासमा थिए।
ऊनी आफ्नो विचार मार्गमा फर्केको अर्थात उनको मान्यतामा सुध्रिएको वा पुनर्जन्म भएको प्रह्लाद चाहन्थे।
वैदिक मान्यतामा ज्ञानको प्राप्ति पछि एकै भौतिक शरीर रहेको किन नहोस् मान्यता परिवर्तन भएपछि उसको पुनर्जन्म भएको मानिन्छ। जस्तै रत्नकार डाँकु महर्षि वाल्मीकि भए। बोधिसत्त्व ज्ञान प्राप्त गर्नु अघिका सिद्धार्थ ज्ञान प्राप्ति पश्चात् गौतम बुद्ध बने।
अर्थात् हालको आध्यात्मिक मान्यता बोकेको प्रह्लादको हत्या गर्ने। नयाँ भौतिक वादी मान्यता बोकेको प्रह्लादको जन्म गर्ने।
आगो अग्निको प्रतीक हो। हाम्रो आँखाले ब्रह्माण्डको तिन तहमा अस्तित्वमा रहेको अग्नि देख्ने गर्दछ। पृथ्वीमा आगो, वायुमण्डलमा चट्याङ्ग पर्दा चम्किने बिजुली र आकाशमा सूर्य (तारा) ।
तीन वटै रूपहरूमा रहेको अग्निले विभिन्नरूपका ऊर्जाहरू दिने गर्दछ। जुन जुन गतिविधिले उर्जा उत्पादन गर्छ त्यसलाई वैदिक भाषामा अग्नि बन्ने गरिन्छ।
चाहे त्यो तातो निकाल्ने आगो होस्, वा खाना पचाउने विभिन्न रसहरु हुन्, बलेको दाउरा होस् कि एउटा शक्तिलाई अर्को शक्तिमा रुपान्तरण गर्ने कुनै पनि प्रक्रिया।
प्रकाश र तातोपन अग्नि वाट आउने दुई प्रमुख प्रकारको ऊर्जाको अभिव्यक्ति हो।
प्रकाश आफैमा पवित्र रहने र तातो पनले अशुद्धता लाई शुद्धतामा लैजाने तागत राख्ने हुँदा अग्नि शुद्धता र पवित्रताको प्रतीक समेत हो।
ब्रह्माण्डमा तातो पनको जुन भूमिका हुन्छ चिसो पनको पनि त्यस्तै भूमिका रहन्छ।
यो सन्दर्भमा अग्नि लाई जीवन (प्रकाश) र जीवनको गतिविधिको (तातोपन) प्रतीक समेत मानिन्छ।
वैदिक अवधारणामा ब्रह्म शब्दले वेदको सम्पूर्ण ज्ञानको प्रतिनिधित्व गर्दछ। मानव जीवनको सबै भन्दा पवित्र पक्ष उसको ज्ञान रहने वैदिक मान्यता छ।
ज्ञान बिना कुनै पनि कुराको निर्माणको सम्भव हुँदैन। त्यसैले ब्रह्मालाई सम्पूर्ण सृष्टि र त्यसभित्रका सम्पूर्ण परा र अपरा वस्तुहरूको निर्माण कर्ता मानिन्छ।
कथा अनुसार ब्रह्माजी वाट हिरण्य कश्यपकि बहिनी होलिकालाई आगोले नजलाउने आशीर्वाद प्राप्त थियो।
अग्निलाई वैदिक मान्यताले एक निष्पक्ष साक्षीको रूपमा ग्रहण गर्दछ।
अग्निको सहायता वाट सम्पूर्ण भौतिक कुराहरूलाई राख गरी त्यसको चुरो सारतत्वमा परिवर्तन गराएर त्यसको असली गुण पहिचान गर्न सकिन्छ।
अग्निको उपस्थितिमा सत्य मात्र जीवित रहन्छ। अग्निले असत्यको सदैव विनाश हुन्छ।
मानिसमा पैदा हुने क्रूरता र अहङ्कार समाजमा सत्यता वा सद्गुणका पक्ष लुकाउने र असत्यता वा दुर्गुणका पक्ष सही रहेको भ्रम फैलाउने कारकको भूमिका खेलेको हुन्छ।
आगोले नजलाउने आशीर्वाद प्राप्त भन्नुको अर्थ प्राकृतिक रूपमा होलिकाको जीवनको निर्माण हुने क्रममा विकसित भौतिक र आध्यात्मिक संरचनाहरू अग्निको प्रभावले गलाउन नसक्ने गरी निर्मित थियो भन्ने नै हो।
वैदिक मान्यतामा अग्निले कुनै पनि विषयको वारेको अज्ञानता तथा भ्रमहरू नष्ट गर्न त्यसको वास्तविक सारतत्व बाहिर निकाली ज्ञान उपलब्ध गराउन सहयोग गर्दछ। ब्रह्माण्डमा भौतिक वाहेक आध्यात्मिक वा मानसिक अग्नि समेत अस्तित्वमा छ।
हरेक पदार्थ निर्माण हुने संरचना पृथ्वी, जल, वायु, अग्नि र आकाश गरी पाँच तत्त्वले बनेको हुन्छ। आगो तत्त्व लाई बत्ती वा दियो द्वारा प्रतिनिधित्व गरिन्छ। प्रकाश र ताप निकाल्ने वस्तु लाइ आगो तत्त्वको प्रतिनिधित्व ठान्ने गर्ने हाम्रो परम्परामा आकाश लाई होलीको रङ्गको रूपमा लिने गरिन्छ।
शरीर निर्माणको पाँच तत्त्व मध्येको एक आकाश तत्त्व सबैभन्दा रहस्यमय तत्त्व हो। किनकि यसलाई छुन, देख्न वा महसुस गर्न समेत सकिँदैन। तर पनि यसलाई वैदिक मान्यतामा समावेश गर्नुको गहिरो कारण छ।
आकाशमा नै हाम्रो वरपरको रहने हाम्रो ऊर्जाको इनर्जी फिल्ड (अस्तित्वको क्षेत्र) रहने गर्दछ। हाम्रो डिएनएको अणुमा सुरक्षित रहेर बस्ने सम्पूर्ण स्मरण वा मेमोरीको इनर्जी फिल्ड त्यही डिएनए वोरपरको आकाशमा ईनक्यापसुलेट अर्थात् एउटा निरन्तर रूपमा चलायमान शक्तिको पोकोको रूपमा सुरक्षित भएर रहने गर्दछ।
हाम्रो पुर्खाको वारेको आनुवंशिक स्मरण, विगतका हाम्रा जीवनका अनुभवहरू, ब्रह्माण्डसँगको हाम्रो सम्बन्ध र हाम्रो आफ्नै भौतिक शरीर र आध्यात्मिक कौशलताक विकासको ढाँचाको मुख्य ब्लु प्रिन्ट वा पाण्डुलिपि बारेका सम्पूर्ण जानकारी त्यही क्षेत्रमा सुरक्षित रहने गर्दछ।
हाम्रो आफ्नो व्यवहार, के मन पर्ने र के मन नपर्ने जस्ता कुराहरू, निर्णय क्षमता, शारीरिक स्वास्थ्य, अन्य तत्त्वहरू सँगको अन्तरसम्बन्ध, समन्वय तथा कल्याणको खातिर हुने विविध गतिविधिहरू वारेको कोडिङ यसै क्षेत्रमा सुरक्षित सूचनाले निर्धारण गर्दछ।
आफ्नो जीवनका सूचनाको केन्द्रहरू वाट नकारात्मकता हटाउने र आफ्नो जीवन पद्धति भित्र ज्ञानको ज्योति, समृद्धि र ब्लिसको प्रचुरतालाई आमन्त्रित गर्न सकारात्मक ऊर्जा अर्थात् पवित्र अग्निको ठुलो भूमिका रहने गर्दछ। ऊर्जा मानिसको दैनिक गतिविधि सञ्चालन गर्ने देखि मानिसको वातावरण सँगको सम्पर्क स्थापना गर्न समेत जरुरत हुन्छ।
प्रकृति मैत्री हुँदा मात्र मानिस र वातावरण बिच ऊर्जाले सन्तुलित सम्बन्ध कायम गर्न सम्भव बन्दछ। हाम्रो जीवनको सम्पूर्ण पक्ष लाई सञ्चालन गर्ने आकाशमा सुरक्षित सूचनाहरू पुनः संरचना मार्फत प्रकृति मैत्री बनाएर सकारात्मक हर्मोनि विकास गर्न पवित्र अग्नि तत्त्व अर्थात सकारात्मक ऊर्जाको जरुरी हुन्छ।
ऊर्जा अर्थात् अग्नि तत्त्वको सन्दर्भमा पवित्र अग्निले ज्ञानको ज्योतिले (प्रकाशको किरण) सम्भव बनाउने सत्य ज्ञानको बोध लाई जनाउने गर्दछ।
प्रकृति लाई वैदिक भाषामा देवता भनिन्छ। मानव र देवता बिचको सम्बन्ध पवित्र ज्ञानको ऊर्जा मार्फत स्थापित भएको हुन्छ।
मानव र देवता बिचको सम्बन्ध घनिभूत हुँदै गर्दा मानिस धन्यता अर्थात् ब्लिसको चरण वाट गुज्रने गर्दछ।
धन्यता अर्थात् ब्लिसको चरणमा रहँदा मानिसको आफ्नो भन्नु वा सुनाउनु वा माग्नु केही हुँदैन। मात्र सुन्ने, महसुस गर्ने र धन्यताको अनुभूति गर्न चरणमा पुगेको हुन्छ।
हिरण्य कश्यपले आफ्नो बिचार सही र प्रह्लादको विचार गलत प्रमाणित गर्न होलिकाको सहयोग माग्नुको पछाडि होलिका अग्निको प्रभावले गलाउन नसक्ने संरचना निर्मित थिइन।
वैदिक मान्यतामा संरचनागत रूपमा (ब्रह्माको वरदान स्वरूप) अग्निको शक्तिले गलाउन नसक्ने क्षमताको हुनुको अर्थ विशुद्ध वा पवित्र ज्ञान युक्त हुनु नै हो।
पवित्र ज्ञानको अर्थ त्यो शिक्षा जुन प्रकृतिको नियम लाई बुझ्दछ। उक्त नियम लाई सबैको कल्याण हुने गरी कसरी उपयोग गर्नु पर्दछ भन्ने समझ राख्दछ। कसैलाई अकारण हानि पुर्याउन हुन्न भन्ने चेत बोकेको सधैँ सत्यको पक्ष लिने चेतनाको शिक्षा।
हाम्रो समाजमा दाजु बहिनीको आफ्नो छुटै अत्यन्त पवित्र मायाको सम्बन्ध रहन्छ। कुनै स्वार्थ रहित विश्वासको।
हिरण्यकश्यपले समेत आफ्नो बहिनी लाई सत्यको खोजी गर्न सहयोग माग्नुले दाजु बहिनी बिचको सम्बन्ध लाई प्रस्टाउने गर्दछ।
आफ्नो दाजुको लागि होलिकाले समेत प्रह्लाद सँगै अग्नि परीक्षामा बस्न स्वीकार गरिन। प्रह्लादलाई सँगै लिएर पवित्र अग्नि अर्थात् विचार विमर्शको आगोमा जल्न अर्थात हिरण्य कश्यपको पक्षमा वकालत गर्दै प्रतिस्पर्धा गर्न होलिका तैयार भइन।
लामो समय चलेको प्रतिस्पर्धामा होलिकाले हिरण्य कश्यपको मान्यता स्थापित गर्न सफल हुन सकिनन्।
विचार विमर्शको क्रममा प्रह्लादको बिचार सही भएको प्रमाणित बन्यो।
होलिका प्रह्लादले लिएको बिचार सही रहेको स्विकार्न बाध्य भइन। अर्थात् बहसको आगोमा होलिका जलिन।
अन्ततः हिरण्य कश्यप आफ्नो विचारधारा गलत रहेको मान्य बाध्य भए।
अर्थात् पुरानो विचारधारा बोकेका हिरण्य कश्यपको मृत्यु भयो र नयाँ विचार बोकेको एक दैव शक्तिको उदयले समाजमा असत्यको अगाडी सत्यको विजय भयो।
सत्यवादी आफ्नै छोरा सही र आफू असत्य वादी रहेको यथार्थताको ज्ञान पाउन अत्यन्त शक्तिशाली असत्य वादी राजा हिरण्य कश्यप लाई समेत आफ्नो बहिनीको सहयोगको जरुरत पर्यो।
दाजु बहिनीको एक आपसको पवित्र प्यारको नाताको सहाराले (भगवान् विष्णुको नरसिंह अवतार) असत्य वादी समाजलाई सत्यवादी समाजमा रूपान्तरण गर्न मद्दत पुर्यायो।
होलीको पौराणिक कथामा होलिकाको मृत्युको सन्दर्भ लाई प्रह्लादको सत्यवादको विजयको सङ्केतको रूपमा चित्रित भएको छ।
असत्य माथि सधैँ सत्यको विजय हुने अवधारणा स्थापित गरेको यस कथाले समाजमा सत्यको स्थापनामा एक बहिनी रुपी होलिकाको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने सन्दर्भ सम्झाउन होली पर्व मनाउने परम्परा स्थापित गराएको छ।
समाजमा शान्ति र सत्यको स्थापनामा दाजु-भाइ र दिदि-बहिनी बिचको एक आपसको पवित्र प्यारको सम्बन्ध कसरी प्रभावकारी रहने गर्दछ भन्ने उदाहरण समेत निकै मार्मिक रूपमा प्रस्तुत गर्न सफल भएको छ।
(खाद्य तथा औषधि विज्ञ घिमिरे वेद र विज्ञानका चिन्तक हुन। )
WRITE COMMENTS FOR THIS ARTICLE